सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिकाउनुहोस्‌

बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिकाउनुहोस्‌

बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिकाउनुहोस्‌

“सबै देशका जातिहरूलाई चेला बनाओ, . . . तिनीहरूलाई . . . सिकाओ।”—मत्ती २८:१९, २०.

१. बाइबलबारे के भन्‍न सकिन्छ?

 यहोवाको वचन पवित्र बाइबल, पृथ्वीमा पाइने सबैभन्दा पुराना पुस्तकहरूमध्ये एक हो र धेरै मात्रामा वितरण भएको पुस्तक पनि। बाइबलको केही भाग २,३०० भन्दा बढी भाषामा अनुवाद भएको छ। यसको अर्थ, संसारका झन्डै ९० प्रतिशत मानिसले आफ्नै भाषामा बाइबल पढ्‌न पाएका छन्‌।

२, ३. (क) बाइबलको शिक्षाबारे यत्तिबिघ्न गन्जागोल हुनुको कारण के हो? (ख) कस्ता प्रश्‍नहरू हामी विचार गर्नेछौं?

लाखौं मानिस बाइबलको केही अंश दिनहुँ पढ्‌छन्‌। अझ कतिले त सुरुदेखि अन्तसम्म दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढेका छन्‌। हजारौं धार्मिक समूहले आफ्नो शिक्षा बाइबलमा आधारित छ भनेर दाबी गरे तापनि बाइबलले सिकाउने कुरामा तिनीहरूको एकमत छैन। बुझ्नै नसकिने कुरा त, एउटै धर्मका सदस्यहरूको समेत आपसमा कुरै मिल्दैन। जस्तो कि: बाइबल, यसको सुरुवात र महत्त्वबारे जे-जस्तो धारणा छ, त्यस विषयमा कसै-कसैलाई शंका लाग्छ। अर्का थरीका मानिसहरू चाहिं यसो भन्छन्‌, ‘बाइबल भनेको विशेष समारोहमा बाचा बाँध्न अथवा अदालतमा सत्य बोल्न शपथ लिंदा चलाइने पवित्र पुस्तक मात्र हो।’

साँच्चै भन्‍नुपर्दा, बाइबलमा मानिसहरूलाई चाहिने परमेश्‍वरको शक्‍तिशाली वचन वा सन्देश छ। (हिब्रू ४:१२) यसकारण हामी यहोवाका साक्षीहरू, मानिसहरूले बाइबलको शिक्षा सिकून्‌ भन्‍ने चाहन्छौं। यसबाहेक, येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई अह्राउनुभएको यो काम पूरा गर्न पनि हामी एकदमै खुसी छौं: “सबै देशका जातिहरूलाई चेला बनाओ, . . . तिनीहरूलाई . . . सिकाओ।” (मत्ती २८:१९, २०) प्रचारमा जाँदा सफा मन भएका मानिसहरू पनि भेट्‌छौं, जो संसारमा व्याप्त धार्मिक गन्जागोल देखेर दिक्क भएका छन्‌। हामीलाई सृष्टि गर्ने परमेश्‍वर को हुनुहुन्छ भनेर उनीहरू जान्‍न चाहन्छन्‌ अनि जीवनको अर्थबारे बाइबलले के सिकाउँछ, बुझ्न चाहन्छन्‌। आउनुहोस्‌, यसै सेरोफेरोमा आधारित तीनवटा प्रश्‍न विचार गरौं, जुन प्रश्‍नको उत्तर पाउन मानिसहरू आतुर छन्‌। हरेक प्रश्‍नको उत्तर खोज्ने क्रममा, धर्मगुरुहरूले कस्ता गलत कुरा सिकाइरहेका छन्‌ सो विचार गर्नुका साथै बाइबलले वास्तवमा सिकाउने कुरा फेरि केलाएर हेर्नेछौं। प्रश्‍नहरू यस प्रकार छन्‌: (१) के परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ? (२) हामी यहाँ किन छौं? र (३) मरेपछि हामीलाई के हुन्छ?

के परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ?

४, ५. मानिसहरूलाई परमेश्‍वर हाम्रो चासो राख्नुहुन्‍न जस्तो लाग्नुको कारण के हो?

आउनुहोस्‌, के परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ? भन्‍ने प्रश्‍नबाट छलफल अघि बढाऔं। दुःखको कुरा, धेरैलाई परमेश्‍वर हाम्रो चासो राख्नुहुन्‍न जस्तो लाग्छ। किन होला? एउटा कारण त, हामी बसिरहेको संसारलाई घृणा, युद्ध अनि दुःखकष्टले गाँजेको छ। उनीहरू भन्छन्‌, ‘परमेश्‍वरलाई हाम्रो चासो भए उहाँले यस्तो खराब कुरा हुन दिनुहुने थिएन।’

मानिसहरूलाई परमेश्‍वर हाम्रो चासो राख्नुहुन्‍न जस्तो लाग्नुको अर्को कारणचाहिं धर्मगुरुहरूले यस्तै छाप पारिदिएकोले हो। दुःख आइपर्दा धर्मगुरुहरू अक्सर के भन्छन्‌, विचार गर्नुहोस्‌। सवारी दुर्घटनामा एउटी आमाले आफ्ना दुई कलिला छोराहरू गुमाउँदा पादरीले यसो भने, “परमेश्‍वरको इच्छा नै यस्तो थियो। उहाँलाई अरू दुई जना स्वर्गदूत चाहिएछ।” यस्तो कुरा गरेर धर्मगुरुहरूले वास्तवमा सबै खराब कुराको दोष परमेश्‍वरलाई दिइरहेका हुन्छन्‌। तर चेला याकूबले लेखे: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” (याकूब १:१३) यहोवा परमेश्‍वर हामीमाथि खराब कुरा कहिल्यै ल्याउनुहुन्‍न। साँच्चै भन्‍नुपर्दा, “परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न।”—अय्यूब ३४:१०.

६. संसारमा भइरहेको दुष्ट काम अनि दुःखकष्टको पछाडि को छ?

कुरा यसो हो भने, दुष्टता र दुःखकष्टले किन उग्र रूप लिंदैछ? यसको एउटा कारण हो: धेरैजसो मानिस परमेश्‍वरको धार्मिक व्यवस्था र सिद्धान्तअनुसार जीवन बिताउन चाहँदैनन्‌। यस प्रकार तिनीहरूले आफू परमेश्‍वरको शासनअन्तर्गत बस्न नचाहेको देखाइरहेका छन्‌। अर्को शब्दमा भन्‍नुपर्दा, मानिसहरू चालै नपाई परमेश्‍वरको शत्रु शैतान अर्थात्‌ दियाबलको मुट्ठीमा पर्दैछन्‌ किनभने “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यस तथ्यलाई विचार गर्दा, अवस्था खराब हुनुको कारण सहजै बुझ्न सक्छौं। शैतान दुष्ट छ, त्यसको मन घृणा, छल र क्रूरताले भरिएको छ। यसकारण, त्यसको अधीनमा रहेको संसारका मानिसहरूले पनि त्यसकै जस्तो व्यक्‍तित्व झल्काइहाल्छन्‌। यी सब कारणले गर्दा नै दुष्टताले उग्र रूप लिएको हो।

७. हामीले दुःखकष्ट भोग्नुका केही कारण के-के हुन्‌?

हामीले भोग्ने दुःखकष्टको अर्को कारण हो, मानव असिद्धता। पापी मानिसहरूको मन अरूमाथि प्रभुत्व जमाउनेतर्फ झुकेको हुन्छ। यसरी प्रभुत्व जमाउन खोज्दा लडाइँ अनि शोषण भएको छ र मानिसले अचाक्ली दुःख भोगेका छन्‌। साँच्चै, उपदेशक ८:९ (NRV) मा कत्ति सत्य कुरा गरिएको छ! यस पदले भन्छ: मानिसले “अरूमाथि प्रभुत्व गरेर आफैलाई हानि” गरेको छ। दुःखकष्ट हुनुको अर्को पनि कारण छ, त्यो हो: “समय र अवसर।” (उपदेशक ९:११) गलत समयमा गलत ठाउँमा पर्दा मानिसहरूमाथि अक्सर विपत्ति आइलाग्छ।

८, ९. यहोवा हाम्रो साँच्चै चासो राख्नुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

यहोवाले दुःखकष्ट ल्याउनुहुन्‍न भनी थाह पाउँदा सान्त्वना मिल्छ। तर हाम्रो जीवनमा जे भइरहेको छ, के उहाँलाई यसबारे साँच्चै चासो छ? अवश्‍य! यहोवा हाम्रो चासो राख्नुहुन्छ भनेर हामीलाई थाह छ किनभने मानिसलाई खराबीको पछि लाग्ने अनुमति दिइनुको कारण उहाँको प्रेरित वचनमा बताइएको छ। परमेश्‍वरले यसरी अनुमति दिनुको पछाडि दुइटा महत्त्वपूर्ण विवाद मुछिएका छन्‌। ती हुन्‌: उहाँको सार्वभौमिकता र मानिसको निष्ठा। यहोवा सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ। त्यसैकारण दुःखकष्ट हुने अनुमति दिनुको कारण उहाँले हामीलाई बताइरहनु जरुरी छैन। तैपनि, उहाँ हामीलाई कारण बताउनुहुन्छ। किन? किनकि उहाँ हाम्रो चासो राख्नुहुन्छ।

परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ भन्‍ने कुराको थप प्रमाण विचार गर्नुहोस्‌। नूहको दिनमा पृथ्वी दुष्टताले भरिंदा उहाँ “मनमा साह्रै दुःखित” हुनुभयो। (उत्पत्ति ६:५, ६) अहिले आएर कतै परमेश्‍वरको भावना बदलियो कि? अहँ! बदलिएको छैन, किनभने यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मलाकी ३:६) परमेश्‍वरलाई अन्याय पटक्कै मन पर्दैन र मानिसहरूले दुःख पाएको देख्दा उहाँलाई पनि दुःख लाग्छ। मानिसको शासन अनि शैतानको प्रभावले गर्दा जे-जति हानि भएको छ, परमेश्‍वरले ती सबलाई छिट्टै सच्याउनुहुनेछ भनी बाइबलले सिकाउँछ। परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ भन्‍ने के यो चित्तबुझ्दो प्रमाण होइन र?

१०. मानिसहरूले दुःख पाइरहेको देख्दा यहोवालाई कस्तो लाग्छ?

१० हामीमाथि आइपर्ने विपत्तिहरू ईश्‍वरकै लीला हो भनी धर्मगुरुहरू परमेश्‍वरबारे नचाहिंदो कुरा गर्छन्‌। तर साँचो कुरा के हो भने, यहोवा परमेश्‍वर मानिसहरूले भोगिरहेको दुःखकष्ट अन्त्य गर्न चाहनुहुन्छ। पहिलो पत्रुस ५:७ भन्छ: “उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” बाइबलले वास्तवमा सिकाउने कुरा यही हो!

हामी यहाँ किन छौं?

११. मानिस पृथ्वीमा हुनुको कारणबारे संसारका धर्महरू के भन्‍ने गर्छन्‌?

११ अब हामी थुप्रैको मनमा उठ्‌ने दोस्रो प्रश्‍न विचार गरौं। प्रश्‍न छ: हामी यहाँ किन छौं? यस प्रश्‍नको जवाफमा संसारका धर्महरू भन्‍ने गर्छन्‌, ‘मानिस त यस पृथ्वीमा केही दिनको पाहुना मात्र हो।’ तिनीहरूको विचारमा पृथ्वी भनेको अर्कै संसारमा जानुअघि एकछिन थकाइ मार्ने चौतारो मात्र हो। अझ केही पादरीहरू त परमेश्‍वरले एक दिन पृथ्वीलाई नाश गर्नुहुनेछ भनी झूटो कुरा सिकाउँछन्‌। यस्तो शिक्षाको कारण थुप्रै मानिसले भन्‍न थालेका छन्‌, ‘आखिर, एक दिन मर्नै पर्छ, बाँचुन्जेल मस्ती गरौं!’ हामी यहाँ किन छौं भन्‍ने सन्दर्भमा बाइबलले वास्तवमा के सिकाउँछ?

१२-१४. पृथ्वी र मानिसको लागि परमेश्‍वरको उद्देश्‍यबारे बाइबलले के सिकाउँछ?

१२ पृथ्वी र मानिसको लागि परमेश्‍वरको एउटा अति राम्रो उद्देश्‍य छ। यहोवाले पृथ्वी “व्यर्थको वस्तु सृष्टि गर्नुभएन” तर “त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) साथै, “कहिल्यै नडग्मगाओस्‌ भनेर” उहाँले “पृथ्वीको जग बसाल्नुभयो।” (भजन १०४:५) पृथ्वी र मानिसको लागि परमेश्‍वरको उद्देश्‍यबारे यस्तो कुरा थाह पाएपछि हामी यहाँ हुनुको कारण बुझ्न सक्छौं।

१३ पृथ्वीलाई मानिसहरू बस्न लायक ठाउँ बनाउन परमेश्‍वरले निकै ध्यान दिनुभयो भनेर उत्पत्तिको पहिलो र दोस्रो अध्यायबाट थाह पाउन सक्छौं। यसरी पृथ्वी तयार पारेपछि हेर्दा यहोवालाई सबै कुरा “साह्रै राम्रो” लाग्यो। (उत्पत्ति १:३१) परमेश्‍वरले पहिलो पुरुष तथा स्त्री, आदम र हव्वालाई मनै हर्ने सुन्दर बगैंचामा राख्नुभएको थियो र प्रशस्त मात्रामा मीठा-मीठा खानेकुरा दिनुभएको थियो। ती पहिलो मानव जोडीलाई यसो भनिएको थियो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” उनीहरूले सिद्ध छोराछोरी जन्माउनुका साथै बगैंचारूपी घरको सिमाना बढाउँदै लैजानुपर्ने थियो। उनीहरूले पशुपक्षीमाथि मायालु ढङ्‌गमा अधिकार पनि गर्नुपर्ने थियो।—उत्पत्ति १:२६-२८.

१४ सिद्ध मानव परिवार पृथ्वीमा सधैंभरि बसोबास गरोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य छ। परमेश्‍वरको वचन भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) हो, मानिसहरू पार्थिव प्रमोदवनमा सधैं बाँचून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। बाइबलले वास्तवमा सिकाउने कुरा यही हो!

मरेपछि हामीलाई के हुन्छ?

१५. मरेपछि हामीलाई के हुन्छ भन्‍ने विषयमा संसारका धेरैजसो धर्मले के सिकाउँछन्‌?

१५ अब हामी धेरैलाई अलमल्लमा पार्ने तेस्रो प्रश्‍न छलफल गरौं। प्रश्‍न छ: मरिसकेपछि हामीलाई के हुन्छ? मरेपछि पनि मानिसको शरीरका केही भाग जीवित रहिरहन्छन्‌ भनी संसारका धर्महरूले सिकाउँछन्‌। दनदनी आगो बलिरहेको नरकमा सधैं सास्ती दिएर परमेश्‍वरले दुष्टहरूलाई सजाय दिनुहुन्छ भनी केही धर्मले सिकाउन छाडेका छैनन्‌। के यस्तो शिक्षा साँचो हो? मृत्युबारे बाइबलले वास्तवमा के सिकाउँछ?

१६, १७. बाइबलअनुसार मरेपछि मानिसको अवस्था कस्तो हुन्छ?

१६ परमेश्‍वरको वचन भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन।” हो, मरेकाहरूले “केही पनि जान्दैनन्‌,” तिनीहरू सुन्‍न, देख्न, बोल्न, महसुस गर्न र विचार गर्न सक्दैनन्‌। तिनीहरूले केही प्रतिफल कमाउन सक्दैनन्‌। कमाऊन्‌ पनि कसरी? केही गर्न सके पो! यसबाहेक, “तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्‌” किनकि तिनीहरू आफ्नो भावना व्यक्‍त गर्नै सक्दैनन्‌।—उपदेशक ९:५, ६, १०.

१७ यस विषयमा बाइबलले भन्‍ने कुरा सरल र स्पष्ट छ—मरेपछि मानिस कतै बाँचिरहँदैन। पुनर्जन्ममा विश्‍वास गर्नेहरूले भनेझैं मरेपछि पनि जीवित रहिरहने अनि अर्कै रूपमा जन्म लिने तत्त्व हाम्रो शरीरभित्र छैन। यस कुरालाई हामी यसरी बुझाउन सक्छौं: हामीले आनन्द उठाइरहेको जीवन मैनबत्तीको ज्वालाजस्तै हो। मैनबत्ती निभाएपछि त्यसको ज्वाला कतै पनि जाँदैन। त्यसको अस्तित्व नै हुँदैन।

१८. मरेकाहरूले केही पनि जान्दैनन्‌ भनी बाइबल विद्यार्थीले बुझेपछि तिनी कस्तो निचोडमा पुग्न सक्छन्‌?

१८ यो सरल तर अकाट्य सत्यले कस्तो असर पार्न सक्छ, एउटा उदाहरण विचार गरौं। मरेकाहरूले केही पनि जान्दैनन्‌ भनेर जब बाइबल विद्यार्थीले बुझ्छन्‌, तब मरिसकेका आफ्ना पुर्खाहरू जीवित हुँदा जत्ति नै रिसाएको भए पनि उनीहरूले हानि गर्न सक्दैनन्‌ भन्‍ने निचोडमा तिनी पुग्छन्‌। मरिसकेका आफ्ना प्रियजनहरूले सुन्‍न, देख्न, बोल्न, महसुस गर्न वा सोच्न सक्दैनन्‌ भनेर पनि तिनले बुझिहाल्छन्‌। यसकारण, मरेका मानिसहरू बैतरणीमा एक्लै भौंतारिरहेका वा दनदनी बलिरहेको आगोको कुण्डमा तड्‌पिरहेका हुनै सक्दैनन्‌। बाइबलको शिक्षाअनुसार परमेश्‍वरको सम्झनामा भएका मरेका मानिसहरूको पुनरुत्थान हुनेछ। कत्ति उज्ज्वल आशा, हैन?—यूहन्‍ना ५:२८, २९.

हाम्रो लागि तयार पारिएको नयाँ पुस्तक

१९, २०. मसीहीको नाताले हाम्रो कर्तव्य के हो र विशेष गरी प्रचारकार्यमा चलाउन कस्तो बाइबल सहायक तयार पारिएको छ?

१९ मानिसहरूले सोध्ने थुप्रै प्रश्‍नमध्ये जम्मा तीनवटा मात्र हामीले विचार गऱ्‍यौं। तीनवटै प्रश्‍न केलाएर हेर्दा बाइबलको शिक्षा स्पष्ट र सरल रहेछ भनी बुझ्यौं। बाइबलले सिकाउने कुरा जान्‍न चाहनेहरूलाई यस्तो सत्य बताउन पाउनु आनन्दको कुरा हो! तर अझै पनि महत्त्वपूर्ण प्रश्‍नहरू बाँकी छन्‌, जसको चित्तबुझ्दो जवाफ सफा मन भएकाहरूले पाउनुपर्छ। मसीहीको नाताले मानिसहरूलाई यस्ता प्रश्‍नहरूको जवाफ भेट्टाउन मदत गर्नु हाम्रो कर्तव्य हो।

२० हुन त, स्पष्ट अनि मन छुने ढङ्‌गमा बाइबल सत्य सिकाउनु ठूलो चुनौती हो। तर यसरी सिकाउन र विशेष गरी प्रचारकार्यमा चलाउन सकोस्‌ भनेर ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ हाम्रो लागि एउटा पुस्तक तयार पारिदिएको थियो। (मत्ती २४:४५-४७) यो २२४ पृष्ठे पुस्तकको नाउँ हो: बाइबलले वास्तवमा के सिकाउँछ?

२१, २२. बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने पुस्तकमा भएका विचार गर्न लायक केही पक्ष के-के हुन्‌?

२१ यहोवाका साक्षीहरूले सन्‌ २००५ मा आयोजना गरेको “ईश्‍वरीय आज्ञाकारिता” विषयक जिल्ला अधिवेशनमा यो पुस्तक विमोचन गरिएको थियो। यस पुस्तकमा विचार गर्न लायक थुप्रै पक्ष छन्‌। जस्तो: यस पुस्तकमा भएको पाँच पृष्ठे भूमिकाले गृह बाइबल अध्ययन सुरु गर्न निकै मदत गरेको छ। भूमिकामा भएका चित्र तथा बाइबल पदहरू छलफल गर्न तपाईंलाई सजिलो लाग्नेछ भन्‍ने ठानेका छौं। बाइबलका अध्याय र पदहरू पत्ता लगाउने तरिका देखाउन पनि यस भूमिकामा भएको विषयवस्तु चलाउन सक्नुहुन्छ।

२२ यस पुस्तकको लेखन शैली सरल र स्पष्ट छ। सकेसम्म विद्यार्थीहरूलाई पनि समावेश गरेर उनीहरूको हृदय छुने प्रयास गरिएको छ। प्रत्येक अध्यायमा परिचयात्मक प्रश्‍नहरू र “बाइबलले के सिकाउँछ” भन्‍ने पेटी छ। अध्यायको सुरुमा सोधिएका प्रश्‍नहरूको जवाफ ती पेटीहरूमा पाउन सक्छौं। राम्रा-राम्रा चित्र, क्याप्सन अनि उदाहरणले बाइबल विद्यार्थीलाई नयाँ विषयवस्तु बुझ्न धेरै मदत गर्नेछ। पुस्तकको हरेक अध्याय सरल बनाउने कोसिस गरिएको छ। विद्यार्थीलाई थप जानकारी दिनुपऱ्‍यो भने, १४ वटा महत्त्वपूर्ण विषय विस्तृत रूपमा छलफल गरिएको परिशिष्ट हेर्न सक्नुहुन्छ।

२३. बाइबल अध्ययन गर्दा बाइबलले सिकाउँछ पुस्तक चलाउने सम्बन्धमा कस्ता सुझावहरू दिइएका छन्‌?

२३ बाइबलले सिकाउँछ पुस्तक विभिन्‍न शैक्षिक स्तर तथा धार्मिक पृष्ठभूमिका मानिसहरूलाई मदत गर्ने हेतुले तयार पारिएको छ। बाइबल विद्यार्थीलाई बाइबलबारे केही थाह छैन भने, एउटा अध्याय सिध्याउन दुई-तीन चोटि अध्ययन गर्नुपर्ने हुन सक्छ। हतार नगरी छलफल गर्नुहोस्‌ र विद्यार्थीको हृदयसम्म पुग्ने प्रयास गर्नुहोस्‌। पुस्तकमा चलाइएको उदाहरण विद्यार्थीले बुझेनन्‌ भने, व्याख्या गर्नुहोस्‌ अथवा अर्कै उदाहरण चलाएर बुझाउनुहोस्‌। राम्रो तयारी गर्नुहोस्‌, पुस्तकलाई प्रभावकारी ढङ्‌गमा चलाउने सक्दो कोसिस गर्नुहोस्‌ र “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्न मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌।—२ तिमोथी २:१५.

अमूल्य सुअवसर पाएकोमा कृतज्ञ हुनुहोस्‌

२४, २५. यहोवाले आफ्ना जनहरूलाई कस्ता अमूल्य सुअवसरहरू दिनुभएको छ?

२४ यहोवाले हामीलाई अमूल्य सुअवसरहरू दिनुभएको छ। जस्तो कि: उहाँबारे साँचो कुरा सिक्न हामीलाई मदत गर्नुभएको छ। हामीले यस सुअवसरलाई कहिल्यै हल्कासित लिनु हुँदैन! नबिर्सौं, परमेश्‍वरले घमन्डीहरूबाट आफ्नो उद्देश्‍य छिपाएर नम्रहरूलाई ती प्रकट गर्नुभएको छ। यस सम्बन्धमा येशूले भन्‍नुभयो: “हे पिता स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाउनुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।” (मत्ती ११:२५) ब्रह्‍माण्डकै सबभन्दा शक्‍तिशाली परमेश्‍वर यहोवाको सेवा गर्ने नम्र व्यक्‍तिहरूको समूहमा गनिन पाउनु धेरै ठूलो सम्मान हो!

२५ परमेश्‍वरले हामीलाई उहाँको विषयमा अरूलाई बताउने सुअवसर पनि दिनुभएको छ। नबिर्सनुहोस्‌, यहोवाबारे झूटो कुरा सिकाउनेहरूले उहाँलाई गलत ढङ्‌गमा प्रस्तुत गरेका छन्‌। यसले गर्दा थुप्रैको मनमा यहोवा हाम्रो चासो नराख्ने कठोर परमेश्‍वर हुनुहुन्छ भन्‍ने गलत छाप परेको छ। परमेश्‍वरबारे भनिएका गलत कुरा सच्याउन के तपाईं इच्छुक मात्र होइन, उत्सुक पनि हुनुहुन्छ? के तपाईं सफा मन भएका मानिसहरूले यहोवाबारे सत्य कुरा थाह पाऊन्‌ भन्‍ने चाहनुहुन्छ? चाहनुहुन्छ भने, प्रचार गर्ने र सिकाउने काममा जोसिलो भई भाग लिएर यहोवाको आज्ञा पालन गर्न चाहन्छु भनी देखाउनुहोस्‌! सत्यको खोजी गर्नेहरूले बाइबलले वास्तवमा जे सिकाउँछ, त्यही सिक्नु जरुरी छ। (w07 1/15)

तपाईंको जवाफ कस्तो छ?

• परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौं?

• हामी पृथ्वीमा किन छौं?

• मरेपछि हामीलाई के हुन्छ?

• बाइबलले सिकाउँछ पुस्तकका कुन-कुन पक्ष तपाईंलाई विशेष गरी उपयोगी लाग्यो?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

धर्मीहरू प्रमोदवनमा सधैंभरि बस्नेछन्‌ भनी बाइबलले सिकाउँछ