सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यशैयाको पुस्तकका विशेषताहरू—भाग २

यशैयाको पुस्तकका विशेषताहरू—भाग २

यहोवाको वचन जीवित छ

यशैयाको पुस्तकका विशेषताहरू—भाग २

अगमवाणी गर्ने जिम्मा यशैयाले विश्‍वासी भई पूरा गरिरहेका छन्‌। इस्राएलको दस-गोत्रविरुद्ध गरिएका ईश्‍वरवाणीहरू पूरा भइसकेका छन्‌। अब भने यरूशलेमको भविष्यबारे तिनी केही भन्‍न लागिरहेका छन्‌।

यरूशलेम सहर नाश हुनेछ र त्यहाँका बासिन्दालाई कैदी बनाएर लगिनेछ। तर यस्तो अवस्था सधैंभरि रहनेछैन। केही समयपछि साँचो उपासना पुनःस्थापित हुनेछ। यशैया ३६:१ देखि ६६:२४ सम्मको मुख्य सन्देश यही नै हो। a यी अध्यायहरूमा गरिएका प्रायजसो भविष्यवाणीको अन्तिम पूर्ति अहिले हाम्रो समयमा भइरहेको छ भने केही चाहिं छिट्टै पूरा हुनेछन्‌। त्यसैले यी अध्यायहरूमा छलफल गरिएका कुराहरूलाई ध्यान दिनु लाभकारी हुन्छ। यशैयाको पुस्तकको यस भागमा मसीहबारे गरिएका रोचक भविष्यवाणीहरू पनि छन्‌।

“हेर, ती दिन आउँछन्‌”

(यशैया ३६:१–३९:८)

राजा हिजकियाहले शासन गरेको १४ औं वर्षमा अश्‍शूरीहरू यहूदामा आक्रमण गर्छन्‌। यहोवा यरूशलेमलाई जोगाउने बाचा गर्नुहुन्छ। यहोवाको एउटा स्वर्गदूतले १,८५,००० अश्‍शूरी सेनालाई मार्दा यरूशलेममाथि हुन सक्ने आक्रमण टर्छ।

हिजकियाह बिरामी हुन्छन्‌। यहोवाले तिनको प्रार्थना सुन्‍नुहुन्छ, तिनलाई निको पारिदिनुहुन्छ र तिनको उमेर पनि १५ वर्ष बढाइदिनुहुन्छ। हिजकियाहलाई बधाइ दिन बेबिलोनका राजाले आफ्ना गुप्तचरहरू पठाउँदा उनीहरूलाई आफ्नो सारा सम्पत्ति देखाएर हिजकियाहले मूर्ख काम गर्छन्‌। यशैया हिजकियाहलाई यहोवाको यो सन्देश सुनाउँछन्‌: “हेर, ती दिन आउँछन्‌ जब तेरो घरमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म जम्मा गरेका सबै थोकहरू बाबेलमा लगिनेछन्‌।” (यशैया ३९:५, ६) लगभग १०० वर्षपछि यो भविष्यवाणी पूरा हुन्छ।

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

३८:८—यहाँ बताइएको “कदम” के थियो, जहाँ घामको छाया सऱ्‍यो? ईसापूर्व आठौं शताब्दीसम्ममा मिश्र र बेबिलोनमा धूप-घडी (सूर्यघडी) प्रयोग गर्न थालिसकेकोले यहाँ बताइएको कदमले हिजकियाहका बुबा आहाजसँग भएको धूप-घडीको कोणले पार्ने छायालाई संकेत गरेको हुन सक्छ। अथवा यसले दरबारभित्रको एउटा भऱ्‍याङको खुड्‌किलोलाई संकेत गरेको हुन सक्छ। भऱ्‍याङनजिकैको खम्बाको छाया बिस्तारै खुड्‌किलोमा सर्थ्यो र यही छाया हेरेर कति बजेको हो पत्ता लगाइन्थ्यो।

हाम्रो लागि पाठ:

३६:२, ३, २२, NRV. शेब्नालाई भण्डारेको जिम्माबाट हटाइयो तापनि तिनलाई तिनीपछिका भण्डारेको सचिवको रूपमा राजाको सेवा गरिरहन दिइयो। (यशैया २२:१५, १९) यहोवाको संगठनमा पाएको जिम्मेवारीबाट हामीलाई कारणवश हटाइयो भने, यहोवाको निम्ति जे-जति गर्न सकिन्छ, त्यसैमा खुसी भएर उहाँको सेवा गरिरहनु पर्दैन र?

३७:१, १४, १५; ३८:१, २. आपत्‌ आइपर्दा यहोवालाई प्रार्थना गरेर आफ्नो सम्पूर्ण भरोसा उहाँमा राख्नु बुद्धिमानी हो।

३७:१५-२०; ३८:२, ३. अश्‍शूरीहरू यरूशलेमविरुद्ध लड्‌न आउँदा यरूशलेम हाऱ्‍यो भने यहोवाको नाउँमा कलंक लाग्न सक्छ भनेर हिजकियाह अत्यन्तै चिन्तित थिए। आफूलाई लागेको रोगले मृत्यु हुन सक्छ भनेर थाह पाउँदा पनि हिजकियाहलाई आफ्नैबारे मात्र चिन्ता लागेन। उत्तराधिकारी नजन्माईकनै आफ्नो मृत्यु भयो भने राज्य गर्ने दाऊदको वंश नाश हुनेछ भनेर तिनी साह्रै चिन्तित थिए। अश्‍शूरीहरूसितको युद्धमा तिनको पक्षको नेतृत्व कसले गर्ने होला भनेर पनि तिनीलाई पर्नु पीर पऱ्‍यो। हिजकियाहजस्तै हामी पनि आफ्नो छुटकाराभन्दा यहोवाको नाउँ पवित्र होस्‌ र उहाँको उद्देश्‍य पूरा होस्‌ भन्‍ने चाहन्छौं।

३८:९-२०. जीवनमा यहोवाको प्रशंसा गर्नुजस्तो अर्को महत्त्वपूर्ण काम अरू कुनै छैन भन्‍ने शिक्षा हिजकियाहले गाएको गीतबाट पाउँछौं।

“त्यो फेरि बनाइनेछ”

(यशैया ४०:१–५९:२१)

यरूशलेम नाश हुनेछ र मानिसहरूलाई कैदी बनाएर बेबिलोन लगिनेछ भनेर भविष्यवाणी गरेलगत्तै साँचो उपासना पुनःस्थापित हुनेछ भनेर पनि यशैया अगमवाणी गर्छन्‌। (यशैया ४०:१, २) यशैया ४४:२८ यसो भन्छ, “त्यो [यरूशलेम] फेरि बनाइनेछ।” बेबिलोनीहरूका देवीदेवता आफूसित “लिएर हिंडेका थोकहरू” अर्थात्‌ पोकापन्तरासरह हुनेछन्‌। (यशैया ४६:१) बेबिलोनको पतन हुनेछ। नभन्दै, दुई शताब्दीपछि यी सब दुरुस्त पूरा भए।

यहोवाले आफ्ना सेवकहरूलाई “अन्यजातिहरूकहाँ एउटा ज्योति” जस्तै बनाउनुहुनेछ। (यशैया ४९:६) बेबिलोनका “स्वर्गहरू” अथवा शासक वर्ग “धुवाँजस्तै लोप हुनेछन्‌” र बेबिलोनी जनता “भुसुनाजस्तै मर्नेछन्‌” तर ‘कैदमा परेकी सियोनको छोरीले आफ्नो घिच्रोको बन्धन फुकाल्नेछे।’ (यशैया ५१:६, NW; ५२:२) आफ्नो कुरा सुन्‍नेहरूलाई यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीहरूसित सदाको करार बाँध्नेछु, अर्थात्‌ दाऊदमाथिको मेरो अटल प्रेम।” (यशैया ५५:३) परमेश्‍वरको धार्मिक आवश्‍यकताअनुसार जीवन बिताउनेहरूले ‘यहोवामा रमाहट गर्छन्‌।’ (यशैया ५८:१४) तर अर्कोतिर, मानिसहरूको अधर्मले ‘तिनीहरूलाई तिनीहरूका परमेश्‍वरबाट अलग गर्छ।’—यशैया ५९:२.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

४०:२७, २८—इस्राएलले किन यसो भन्यो: “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, र मेरो इन्साफ परमेश्‍वरदेखि गइहालेको छ”? बेबिलोनमा भएका केही यहूदीहरूलाई आफूले भोगिरहेको अन्याय यहोवादेखि लुकेको छ अथवा यहोवाले देख्नुहुन्‍न जस्तो लागेको हुन सक्छ। तर शक्‍तिशाली अनि कहिल्यै नथाक्ने पृथ्वीका सृष्टिकर्ताले भेट्टाउनै नसक्ने ठाउँमा बेबिलोन छैन भनेर तिनीहरूलाई स्मरण गराइयो।

४३:१८-२१—निर्वासित यहूदीहरू घर फर्कंदा किन तिनीहरूलाई “बितेका कुराहरूलाई नसम्झ” भनियो? यसको मतलब यहोवाले विगतमा दिनुभएको छुटकारालाई बिर्सनुपर्छ भन्‍न खोजिएको होइन। बरु, तिनीहरूले अनुभव गर्न लागेको “नयाँ कुरो” अर्थात्‌ सीधै मरुभूमिको बाटो भएर यरूशलेम जाँदा पनि तिनीहरू सकुशल हुने कुरा सम्झेर त्यसैको आधारमा उहाँको प्रशंसा गरेको यहोवा चाहनुहुन्थ्यो। “महा सङ्‌कष्टबाट” आउने ‘एक ठूलो भीडले’ पनि यहोवाको महिमा गर्ने थप नयाँ कारण व्यक्‍तिगत रूपमा अनुभव गर्न पाउनेछ।—प्रकाश ७:९, १४.

४९:६—येशू मसीहको सेवकाई इस्राएलमा मात्र सीमित भए तापनि उहाँ कसरी “अन्यजातिहरूकहाँ एउटा ज्योति” हुनुभयो? येशूको मृत्युपछिको घटनालाई यसले संकेत गरेको हो। यशैया ४९:६ उहाँका चेलाहरूमा पूरा भयो भनी बाइबल बताउँछ। (प्रेरित १३:४६, ४७) “पृथ्वीको अन्तसम्म” मानिसहरूमा उज्यालो छर्दै आज अभिषिक्‍त मसीहीहरूले “अन्यजातिहरूकहाँ एउटा ज्योतिको” रूपमा सेवा गर्दैछन्‌ र यस कार्यमा ठूलो भीडका उपासकहरूले तिनीहरूलाई सघाइरहेका छन्‌।—मत्ती २४:१४; २८:१९, २०.

५३:१०—कुन अर्थमा यहोवा आफ्नो पुत्रलाई चोट पार्न इच्छुक हुनुभयो? अरूको पीडा बुझ्न सक्ने कृपालु परमेश्‍वर यहोवालाई आफ्नो प्रिय पुत्रले दुःख पाएको देख्दा पक्कै दुःख लागेको हुनुपर्छ। तैपनि, येशू राजीखुसीसाथ आज्ञाकारी हुनुभएकोले र उहाँले भोगेको पीडा अनि मृत्युले जुन उद्देश्‍य पूरा हुन्थ्यो, त्यो देखेर यहोवा आनन्दित हुनुभयो।—हितोपदेश २७:११; यशैया ६३:९.

५३:११—मसीहले “धेरैलाई धर्मीको गणनामा ल्याउने” ज्ञान के हो? पृथ्वीमा आउँदा, मानव हुँदा अनि बिनाकारण दुःख भोगेर मर्नुपर्दा येशूले बटुल्नुभएको अनुभव नै त्यो ज्ञान हो। (हिब्रू ४:१५) यसरी येशूले आफ्नो जीवन बलिदान दिंदा अभिषिक्‍त मसीहीहरू र ठूलो भीड परमेश्‍वरसामु धर्मी साबित हुन सके।—रोमी ५:१९; याकूब २:२३, २५.

५६:६, NRV—“विदेशीहरू” को हुन्‌ र कुन अर्थमा तिनीहरूले यहोवाको ‘करार पालन गरेका’ छन्‌? “विदेशीहरू” येशूका “अरू भेडा” हुन्‌। (यूहन्‍ना १०:१६) यस करारसित सम्बन्धित व्यवस्था पालन गरेर, यस करारमार्फत तयार पारिएका प्रबन्धहरूलाई पूरापूर समर्थन गरेर, अभिषिक्‍त मसीहीहरूले जुन आध्यात्मिक आहार लिन्छन्‌, त्यही लिएर अनि राज्यको प्रचार र चेला बनाउने काममा अभिषिक्‍त मसीहीहरूलाई समर्थन गरेर तिनीहरू यो ‘करार पालन’ गर्छन्‌।

हाम्रो लागि पाठ:

४०:१०-१४, २६, २८. यहोवा बलवान्‌ अनि कोमल हुनुहुन्छ, सबैभन्दा शक्‍तिशाली अनि बुद्धिमान्‌ हुनुहुन्छ र उहाँको समझ हामीले बुझ्नै नसक्ने अथाह छ।

४०:१७, २३; ४१:२९; ४४:९; ५९:४. राजनीतिसितको साँठगाँठ र मूर्तिहरू “केही पनि होइनन्‌।” यीमाथि भरोसा गर्नु व्यर्थ छ।

४२:१८, १९; ४३:८. परमेश्‍वरको लिखित वचन हेरेनौं अनि उहाँले ‘विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत’ दिनुभएका निर्देशनहरू पनि सुनेनौं भने हामी आध्यात्मिक तवरमा अन्धो र बहिरो हुन्छौं।—मत्ती २४:४५.

४३:२५. यहोवाले आफ्नै खातिर हाम्रा अपराध मेटिदिनुहुन्छ। हामी पाप र मृत्युको बन्धनबाट मुक्‍त हुनु र हामीले जीवन पाउनुभन्दा उहाँको नाउँ उच्च पार्नु नै बढी महत्त्वपूर्ण छ।

४४:८. हामीलाई यहोवाले आड दिनुहुन्छ किनकि उहाँ चटानजस्तै स्थिर र अटल हुनुहुन्छ। त्यसकारण, एक मात्र ईश्‍वर यहोवा हुनुहुन्छ भनेर साक्षी दिन हामी किन डराउनु र?—२ शमूएल २२:३१, ३२.

४४:१८-२०. मूर्तिपूजा गर्नु हृदय भ्रष्ट छ भन्‍ने संकेत हो। हाम्रो हृदयमा यहोवाको जुन स्थान छ, अरू कुरालाई त्यो स्थान ओगट्‌न दिनु हुँदैन।

४६:१०, ११. यहोवासित ‘आफ्नो उद्देश्‍य ठहराउन सक्ने’ क्षमता छ अर्थात्‌ उहाँ आफ्नो उद्देश्‍य पक्का पूरा गर्न सक्नुहुन्छ। उहाँ मात्र सत्य परमेश्‍वर हुनुहुन्छ भन्‍ने यो बलियो प्रमाण हो।

४८:१७, १८; ५७:१९-२१. यहोवाले छुटकारा दिनुहुन्छ भनेर उहाँमाथि भर पऱ्‍यौं, उहाँसित नजिक भयौं र उहाँको आदेश ध्यानसित सुन्यौं भने हाम्रो शान्ति नदीको पानीजस्तै प्रशस्त हुनेछ र हाम्रो धार्मिकता समुद्रको छालजस्तै धेरै हुनेछ। परमेश्‍वरको वचनमा ध्यान नदिनेहरू चाहिं “छाल उठेको” अशान्त “समुद्रझैं” हुन्छन्‌। तिनीहरूलाई शान्ति हुँदैन।

५२:५, ६. बेबिलोनीहरूले साँचो परमेश्‍वर कमजोर हुनुहुन्छ भनेर अनुमान गर्नु गलत थियो। इस्राएलीहरू दास हुनुको कारण यहोवा तिनीहरूसित प्रसन्‍न नहुनुभएकोले नै हो भन्‍ने कुरा तिनीहरूले बुझेनन्‌। अरूमाथि विपत्ति आइपर्दा ‘यस्तै कारणले गर्दा होला’ भनेर हत्त न पत्त अनुमान गरिहाल्नु बुद्धिमानी होइन।

५२:७-९; ५५:१२, १३. परमेश्‍वरको राज्यको प्रचार गर्ने र चेला बनाउने काममा आनन्दित हुने हामीसित कम्तीमा पनि तीनवटा कारण छन्‌। आध्यात्मिकताको निम्ति भोकाएका मानिसहरूका लागि हाम्रो खुट्टा सुन्दर साबित हुन्छन्‌। हामी यहोवालाई “मुखामुख” देख्छौं अथवा उहाँसितको हाम्रो सम्बन्ध घनिष्ठ हुनेछ। हामी आध्यात्मिक तवरमा पनि सम्पन्‍न हुनेछौं।

५२:११, १२. ‘यहोवाको पात्र’ बोक्न अर्थात्‌ पवित्र सेवाको लागि यहोवाले गर्नुभएका प्रबन्धहरूको लागि योग्य हुन हामी आध्यात्मिक अनि नैतिक तवरमा शुद्ध हुनै पर्छ।

५८:१-१४. भक्‍त अनि धर्मी भएको स्वाङ गर्नु व्यर्थ छ। साँचो उपासकहरूले निष्कपट भई परमेश्‍वरको भक्‍ति गर्नुपर्छ अनि भाइहरूप्रति प्रेम प्रकट गर्नुपर्छ।

५९:१५ख-१९. यहोवाले मानिसहरूको मामिला नियालेर हेर्नुहुन्छ र आफ्नो निश्‍चित समयमा हस्तक्षेप गर्नुहुन्छ।

सियोन “सुन्दरताको मुकुट” हुनै पर्छ

(यशैया ६०:१–६६:२४)

प्राचीन समय र अहिले हाम्रो समयमा साँचो उपासना पुनःस्थापित गर्ने कुरालाई औंल्याउँदै यशैया ६०:१ मा यसो भनिएको छ: “उठ्‌, प्रकाशमान हो, किनकि मेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ।” सियोन ‘यहोवाको हातमा सुन्दरताको मुकुट हुनै पर्छ।’—यशैया ६२:३.

बेबिलोनमा निर्वासित हुने पश्‍चात्तापी सँगी इस्राएलीहरूको निम्ति यशैया यहोवालाई प्रार्थना गर्छन्‌। (यशैया ६३:१५–६४:१२) अगमवक्‍ता यशैया सच्चा अनि झूटा सेवकहरूबीचको भिन्‍नता छुट्याउँछन्‌ र यहोवाको सेवा गर्नेहरूलाई उहाँ कसरी आशिष्‌ दिनुहुन्छ भनेर घोषणा गर्छन्‌।—यशैया ६५:१–६६:२४.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

६१:८, ९—“सदाको करार” के हो र “सन्तान” को हुन्‌? यो “सदाको करार” यहोवाले अभिषिक्‍त मसीहीहरूसित बाँध्नुभएको नयाँ करार हो। अनि ‘सन्तानचाहिं’ अभिषिक्‍त मसीहीहरूले घोषणा गरेको सन्देश सुनेर ग्रहण गर्ने लाखौंको संख्यामा भएका “अरू भेडा” हुन्‌।—यूहन्‍ना १०:१६.

६३:५—परमेश्‍वरको क्रोधले उहाँलाई कसरी सम्हाल्यो? परमेश्‍वर आफ्नो क्रोधलाई अर्थात्‌ धार्मिक रिसलाई वशमा राख्न सक्नुहुन्छ। धार्मिक न्याय गर्न उहाँलाई आफ्नो क्रोधले समर्थन अनि उत्प्रेरित गर्छ।

हाम्रो लागि पाठ:

६४:६. असिद्ध मानिसहरू आफैलाई बचाउन सक्दैनन्‌। पापको पश्‍चात्ताप गर्न तिनीहरूले जतिसुकै धर्म-कर्म गरे तापनि ती धर्म-कर्म सजिलै सफा नहुने फोहोर लुगाझैं छन्‌।—रोमी ३:२३, २४.

६५:१३, १४. यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको आध्यात्मिक आवश्‍यकताहरू प्रशस्त मात्रामा पूरा गरिदिएर तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ।

६६:३-५. पाखण्डीहरूलाई यहोवा घृणा गर्नुहुन्छ।

“आनन्द गर”

बेबिलोनमा निर्वासित जीवन बिताइरहेका विश्‍वासी यहूदीहरूले साँचो उपासना पुनःस्थापित हुने भविष्यवाणी थाह पाउँदा कत्ति सान्त्वना पाए होलान्‌! यहोवाले भन्‍नुभयो: “तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। किनकि हेर, म यरूशलेमलाई हर्षित र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।”—यशैया ६५:१८.

आज हामी पनि पृथ्वीलाई अँध्यारोले निलेको र मानिसहरूलाई निष्पट्ट अँध्यारोले ढाकेको समयमा बाँचिरहेका छौं। (यशैया ६०:२) अहिलेको समय “डरलाग्दो समय” हो। (२ तिमोथी ३:१) तर, यहोवाले उद्धार गर्नुहुन्छ भनेर यशैयाको पुस्तकमा लेखिएको सन्देशले हामीलाई धेरै सान्त्वना दिन्छ।—हिब्रू ४:१२. (w07 1/15)

[फुटनोट]

a यशैया १:१ देखि ३५:१० सम्मका विशेषताहरूको छलफलका लागि डिसेम्बर १, २००६ अंकको प्रहरीधरहरा-मा “यहोवाको वचन जीवित छ—यशैयाको पुस्तकका विशेषताहरू—भाग १” शीर्षकको लेख हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

अश्‍शूरीहरूबाट बचाउनुहोस्‌ भनेर हिजकियाहले प्रार्थना गर्नुको प्रमुख कारण तपाईंलाई थाह छ?

[पृष्ठ ११-मा भएको चित्र]

“शुभ समाचार ल्याउनेको खुट्टा डाँडाहरू हुँदो कति सुन्दर छ!”