सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छोराछोरी हो, ‘आमाबाबुको आज्ञा पालन गर्नुहोस्‌’

छोराछोरी हो, ‘आमाबाबुको आज्ञा पालन गर्नुहोस्‌’

छोराछोरी हो, ‘आमाबाबुको आज्ञा पालन गर्नुहोस्‌’

“ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ।” —एफिसी ६:१.

१. चेताउनी सुनेमा तपाईंको सुरक्षा कसरी हुन सक्छ?

 आज्ञाकारी भई चेताउनी सुनेमा ज्यान जोगिन्छ, नसुनेमा ज्यान गुम्न सक्छ। कस्ता चेताउनी? उदाहरणका लागि, “आश्‍चर्य रीतिले बनिएको” हाम्रो शरीरले दिने चेताउनीहरू। (भजन १३९:१४) जस्तै, हामी आँखाले आकाशमा कालो बादल मडारेको देख्छौं। कानले गडऱ्‍याङगुडुङ मेघ गर्जेको सुन्छौं। त्यसपछि झिलिक्क बिजुली चम्कँदा हाम्रो आङ सिरिङ्‌ङ हुन्छ र रौं ठाडो भएको महसुस गर्छौं। यी कुराहरू खतराको संकेत हुन्‌ भनेर सिकाइएकाहरूलाई अब सुरक्षित ठाउँमा ओत लाग्नुपर्छ भनेर थाह हुन्छ। किनभने त्यसपछि ज्यानै लिने चट्याङ र असिनासितै आँधीबेहरी आउन सक्छ।

२. छोराछोरीलाई चेताउनी किन चाहिन्छ र तिनीहरूले किन आमाबाबुको आज्ञा पालन गर्नुपर्छ?

तपाईं स-साना केटाकेटीलाई पनि हुन सक्ने खतराहरूबारे चेताउनी चाहिन्छ र त्यो चेताउनी दिने जिम्मेवारी तपाईंका आमाबाबुको हो। तपाईंलाई आमाबाबुले यस्तो भन्‍नुभएको होला: “आगो नछोऊ है, पोल्ला!” “खोलामा नजाऊ है, डुबिएला!” “यताउति हेरेर मात्र बाटो काट्‌नु है!” दुःखको कुरा, आमाबाबुको आज्ञा पालन नगर्दा छोराछोरीहरू घाइते भएका छन्‌ वा ज्यान समेत गएको छ। आमाबाबुको आज्ञा पालन गर्नु “उचित” हो। यो बुद्धिमानी कुरा पनि हो। (हितोपदेश ८:३२, ३३) आमाबाबुको आज्ञा पालन गर्नु हाम्रा प्रभु येशू ख्रीष्टलाई “बढता खुसी तुल्याउने” कुरा हो भनेर बाइबलको अर्को एउटा पदले भन्छ। हो, परमेश्‍वरले तपाईंलाई आमाबाबुको आज्ञा पालन गर्नू भनी आज्ञा दिनुहुन्छ।—कलस्सी ३:२०; १ कोरिन्थी ८:६.

आज्ञाकारी हुँदा पाइने चिरकालीन इनाम

३. हामी धेरैजसोको लागि ‘साँच्चैको जीवनको’ अर्थ के हो र छोराछोरीले त्यो कसरी पाउन सक्छन्‌?

आमाबाबुको आज्ञा पालन गर्दा तपाईंको ‘अहिलेको जीवन’ त सुरक्षित हुन्छ नै, यसले ‘पछि हुने साँच्चैको जीवनलाई’ पनि आनन्दित बनाउनेछ। (१ तिमोथी ४:८; ६:१९) हामी धेरैजसोको लागि त्यो साँच्चैको जीवन भनेको परमेश्‍वरको नयाँ संसारमा कहिल्यै मर्नु नपर्ने जीवन हो जुन उहाँले उहाँका आज्ञा मान्‍नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। ती आज्ञामध्ये एउटा एकदमै महत्त्वपूर्ण चाहिं यो हो: “आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो) र तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌।” त्यसैले, तपाईंले आमाबाबुको आज्ञा मान्‍नुभयो भने तपाईं खुसी हुनुहुनेछ। तपाईंको भविष्य सुरक्षित हुनेछ र पार्थिव प्रवोदवनमा सधैंभरि बाँच्न पाउनुहुनेछ।—एफिसी ६:२, ३.

४. छोराछोरीले कसरी परमेश्‍वरको आदर गर्न र त्यसबाट फाइदा उठाउन सक्छन्‌?

तपाईंले आमाबाबुको आज्ञा पालन गर्दा उहाँहरूको मात्र होइन तर परमेश्‍वरको पनि आदर गरिरहनुभएको हुन्छ किनभने आमाबाबुको आज्ञा पालन गर्नू भनी तपाईंलाई आज्ञा दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ। तपाईंलाई पनि फाइदै हुन्छ। बाइबल भन्छ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फाइदाको निम्ति तँलाई सिकाउँछ।” (यशैया ४८:१७; १ यूहन्‍ना ५:३) आज्ञाकारी हुँदा तपाईंलाई कसरी फाइदा हुन्छ? यसले तपाईंका आमाबाबुलाई खुसी तुल्याउँछ र अवश्‍यै उहाँहरूले आफ्नो त्यो खुसी तपाईंलाई आनन्द लाग्ने किसिमले व्यक्‍त गर्नुहुनेछ। (हितोपदेश २३:२२-२५) तर सबैभन्दा ठूलो कुरा, स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा परमेश्‍वर खुसी हुनुहुन्छ र उहाँले तपाईंलाई एकदमै राम्रो इनाम दिनुहुनेछ! अब हामी हेरौं, यहोवाले येशूलाई कसरी आशिष्‌ र सुरक्षा दिनुभयो। येशूले आफूबारे यसो भन्‍नुभएको थियो: “म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।”—यूहन्‍ना ८:२९.

येशू मेहनती हुनुहुन्थ्यो

५. येशू सिपालु कामदार हुनुहुन्थ्यो भनेर विश्‍वास गर्न सक्ने कस्ता कारणहरू छन्‌?

येशू मरियमको जेठो छोरो हुनुहुन्थ्यो। उहाँका धर्मपिता यूसुफ काठको काम गर्थे अर्थात्‌ सिकर्मी थिए। येशूले पनि सिकर्मी काम गर्नुभयो र यो काम उहाँले युसूफबाट नै सिक्नुभएको थियो। (मत्ती १३:५५; मर्कूस ६:३; लूका १:२६-३१) तपाईंको विचारमा येशू काठको काम गर्न कत्तिको सिपालु हुनुहुन्थ्यो होला? पृथ्वीमा आउनुअघि स्वर्गमा हुनुहुँदा बुद्धिको मूर्त रूप येशूले यसो भन्‍नुभयो: म मुख्य ‘कारीगरको रूपमा परमेश्‍वरको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें।’ स्वर्गमा हुनुहुँदा येशू सिपालु कारीगर हुनुहुन्थ्यो र उहाँसित परमेश्‍वर खुसी हुनुहुन्थ्यो। तपाईंको विचारमा उहाँ पृथ्वीमा हुनुहुँदा त्यो पनि ठिटो छँदा, काठको काममा सिपालु हुन के उहाँले मेहनत गर्नुभएन होला र?—हितोपदेश ८:३०, NRV; कलस्सी १:१५, १६.

६. (क) तपाईंको विचारमा बालक छँदा येशूले घरको कामकुरा गर्नुहुन्थ्यो भनेर किन भन्‍न सकिन्छ? (ख) कुन तरिकामा छोराछोरीले पनि येशूले जस्तै गर्न सक्छन्‌?

बाइबलमा बताइएजस्तै प्राचीन समयका अन्य केटाकेटीहरू झैं बालक छँदा येशू पनि कहिलेकाहीं अवश्‍यै खेल्नुहुन्थ्यो। (जकरिया ८:५; मत्ती ११:१६, १७) तैपनि, येशूले बुबा यूसुफबाट काठको काम सिक्नुबाहेक घरको कामधन्दा पनि सघाउनुपर्थ्यो किनभने उहाँ गरिब र ठूलो परिवारको जेठो छोरो हुनुहुन्थ्यो। पछि उहाँ प्रचारक हुनुभयो र व्यक्‍तिगत सुखसुविधाहरू त्यागेर आफूलाई परमेश्‍वरको सेवामा समर्पित गर्नुभयो। (लूका ९:५८; यूहन्‍ना ५:१७) तपाईंले पनि येशूले जस्तै गर्न सक्नुहुन्छ कि? के तपाईंका आमाबाबुले तपाईंलाई कोठा सफा गर्न वा घरको अरू काम गर्न अह्राउनुहुन्छ? के उहाँहरूले तपाईंलाई सभाहरूमा गएर र अरूलाई प्रचार गरेर परमेश्‍वरको उपासना गर्न प्रोत्साहन दिनुहुन्छ? तपाईंको विचारमा बालक येशूलाई उहाँका आमाबाबुले यस्ता काम अह्राउँदा उहाँले के गर्नुभयो होला?

बाइबलको असल विद्यार्थी तथा शिक्षक

७. (क) निस्तार चाड मनाउन येशू कोसित यरूशलेम गएको हुनुपर्छ? (ख) अरूहरू घर फर्कंदै गर्दा येशू कहाँ हुनुहुन्थ्यो र उहाँ त्यहाँ किन हुनुहुन्थ्यो?

यहूदीहरूको तीन वटा चाडको बेला सबै पुरुषहरूलाई यहोवाको उपासना गर्न मन्दिरमा जानू भनी आज्ञा दिइएको थियो। (व्यवस्था १६:१६) येशू १२ वर्षको हुनुहुँदा उहाँको सम्पूर्ण परिवार नै निस्तार चाड मनाउन यरूशलेम गएको हुनुपर्छ। मतलब, यूसुफ र मरियमका अरू छोराछोरीहरू पनि गएको हुनुपर्छ। साथै, येशूको परिवारसित सलोमी जो सायद मरियमकी बहिनी हुन्‌, तिनका पति जब्दी, तिनीहरूका छोराहरू याकूब र यूहन्‍ना पनि गएका थिए होलान्‌। पछि याकूब र यूहन्‍ना येशूका चेला भए। a (मत्ती ४:२०, २१; १३:५४-५६; २७:५६; मर्कूस १५:४०; यूहन्‍ना १९:२५) घर फर्कंदाखेरि येशू आफन्तहरूसितै आइरहेका होलान्‌ भनेर यूसुफ र मरियमले सोचेको हुनुपर्छ। त्यसैले उहाँ नभएको पहिला त यादै गरिएन। अन्तमा तीन दिनपछि यूसुफ र मरियमले उहाँलाई मन्दिरमा “शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोद्धै गरिरहनुभएको भेट्टाए।”—लूका २:४४-४६.

८. येशूले मन्दिरमा के गर्नुभयो र मानिसहरू किन छक्क परे?

येशूले शिक्षकहरूलाई कुन तरिकामा “सोद्धै” हुनुहुन्थ्यो? उहाँले सायद जिज्ञासा मेटाउन वा जानकारी हासिल गर्न मात्र प्रश्‍न सोधिरहनुभएको थिएन। यहाँ चलाइएको ग्रीक शब्दले न्यायिक जाँचपड्‌ताल गरेजस्तो गरी प्रश्‍न सोध्नु अर्थात्‌ अदालतमा जस्तो सोधपूछ गर्नु भन्‍ने अर्थ बुझाउन सक्छ। हो, ठिठो छँदा नै येशू बाइबलको असल विद्यार्थी भइसक्नुभएको थियो। उहाँले जान्‍नेबुझ्ने धर्मगुरुहरूलाई चकित पार्नुभएको थियो। बाइबल बताउँछ: “सुन्‍नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क पर्दथिए।”—लूका २:४७.

९. बाइबल अध्ययन गर्ने सन्दर्भमा तपाईं कसरी येशूको उदाहरण पछ्याउन सक्नुहुन्छ?

तपाईंको विचारमा येशूले कलिलै उमेरमा आफ्नो बाइबल ज्ञानद्वारा अनुभवी शिक्षकहरूलाई समेत कसरी चकित पार्न सक्नुभयो होला? वास्तवमा उहाँको आमाबाबु परमेश्‍वरको डर मान्‍ने व्यक्‍तिहरू थिए र उनीहरूले उहाँलाई सानैदेखि परमेश्‍वरका निर्देशनहरू सिकाए। (प्रस्थान १२:२४-२७; व्यवस्था ६:६-९; मत्ती १:१८-२०) साथै, यूसुफले बालक येशूलाई धर्मशास्त्र पढेको र छलफल गरेको सुन्‍न सभाघरमा पनि अवश्‍यै लाने गर्थे। के तपाईंका आमाबाबुले पनि तपाईंसित बाइबल अध्ययन गर्नुहुन्छ र तपाईंलाई सभाहरूमा लैजानुहुन्छ? येशूले जस्तै के तपाईं पनि उहाँहरूको प्रयासको मोल गर्नुहुन्छ? येशूले जस्तै के तपाईं पनि आफूले सिकेको कुरा अरूलाई बताउनुहुन्छ?

येशू अधीनमा बस्नुभयो

१०. (क) येशू कहाँ हुनुहुन्छ भन्‍ने कुरा उहाँका आमाबाबुलाई किन थाह हुनुपर्थ्यो? (ख) छोराछोरीका लागि येशूले कस्तो राम्रो उदाहरण बसाल्नुभयो?

१० तपाईंको विचारमा तीन दिनपछि बल्ल येशूलाई मन्दिरमा भेट्टाउँदा मरियम र यूसुफलाई कस्तो लाग्यो होला? अवश्‍यै तिनीहरू ढुक्क भए! तर आफू कहाँ छ भन्‍ने कुरा आमाबाबुलाई थाह नभएको देखेर येशू छक्क पर्नुभयो। किनभने येशू चमत्कारपूर्ण ढंगमा जन्मनुभएको हो भनेर मरियम र यूसुफ दुवैलाई थाह थियो। त्यसबाहेक, तिनीहरूलाई सबै कुरा थाह नभए पनि येशू भावी मुक्‍तिदाता र परमेश्‍वरको राज्यका राजा हुनुहुनेछ भनेर त पक्कै थाह भएको हुनुपर्छ। (मत्ती १:२१; लूका १:३२-३५; २:११) त्यसैकारण, येशूले तिनीहरूलाई यस्तो प्रश्‍न गर्नुभयो: “तपाईंहरूले मलाई किन खोजिरहनुभयो? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाह थिएन?” तर त्यसपछि येशू आज्ञाकारी भई आमाबाबुसित खुरुखुरु आफ्नो घर नासरत फर्कनुभयो। बाइबल बताउँछ: ‘उहाँ तिनीहरूको अधीनमा बस्नुभयो।’ त्यसबाहेक, “उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन्‌।”—लूका २:४८-५१.

११. आज्ञाकारी हुने सन्दर्भमा तपाईं येशूको उदाहरणबाट कस्तो पाठ सिक्न सक्नुहुन्छ?

११ सधैं आमाबाबुको आज्ञा पालन गर्नु भनेको येशूको अनुसरण गर्नु हो। यसो गर्न के तपाईंलाई सजिलो लाग्छ? वा उहाँहरू आधुनिक जमानालाई प्रायः बुझ्दै बुझ्नुहुन्‍न र उहाँहरूभन्दा आफूलाई धेरै कुरा थाह छ जस्तो तपाईंलाई लाग्छ? हो, केही कुराबारे सायद उहाँहरूलाई भन्दा तपाईंलाई धेरै थाह होला। जस्तै: मोबाइल फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक सर-सामानहरू चलाउनेबारे। तर येशूबारे विचार गर्नुहोस्‌ त जसको “समझ र जवाफहरूमा” अनुभवी शिक्षकहरू छक्क परेका थिए। येशूको तुलनामा तपाईंको ज्ञान त केही पनि होइन भनेर सायद तपाईं मानिलिनुहुन्छ। तैपनि, येशू आफ्ना आमाबाबुको अधीनमा बस्नुभयो अर्थात्‌ उहाँहरूको कुरा सुन्‍नुभयो। त्यसको अर्थ, उहाँ आमाबाबुको हरेक निर्णयसित सधैं सहमत हुनुहुन्थ्यो भन्‍ने होइन। तरैपनि, उहाँ किशोर छउञ्जेल “तिनीहरूका अधीनमा बस्नुभयो।” तपाईंको विचारमा उहाँको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?—व्यवस्था ५:१६, २९.

आज्ञाकारी हुनु एउटा चुनौती हो

१२. आज्ञाकारी हुँदा कसरी तपाईंको ज्यान जोगिन्छ?

१२ आज्ञाकारी हुनु सधैं सजिलो हुँदैन। उदाहरणको लागि, केही वर्षअघिको घटनालाई लेऔं। दुई जना केटी आकाशे पुल हुँदाहुँदै तलैबाट बाटो काट्‌न लागेका थिए। आकाशे पुल चढ्‌दै गरेका साथी जोनलाई तिनीहरूले बोलाउँदै भने, “आऊ न जोन, हामी सँगै बाटो काटौं।” जब जोन अन्कनाए, एउटी चाहिंले खिसी गर्दै भनिन्‌: “तिमी त कस्तो डरछेरुवा!” जोन डरछेरुवा त थिएनन्‌, तिनले भने: “म त ममीको कुरा मान्छु।” आकाशे पुल चढेको एकैछिनमा तिनले गाडीको टायर घिस्रिएको ठूलो आवाज सुने र यसो तल हेरेको त, ती केटीहरूलाई एउटा कारले हिर्काइसकेको रहेछ। एउटी केटी त त्यहीं घटनास्थलमै मरिन्‌, अर्की चाहिं नराम्ररी घाइते भइन्‌ र तिनको खुट्टै काट्‌नुपऱ्‍यो। ती केटीहरूलाई पनि तिनीहरूका आमाले आकाशे पुलबाट बाटो काट्‌नू भनेका थिए तर तिनीहरूले सुनेनन्‌। पछि तिनीहरूका आमाले जोनकी आमालाई यसो भनिन्‌: “मेरा छोरीहरू पनि तपाईंको छोरोजस्तो ज्ञानी भइदिएको भए यो दिन आउने नै थिएन।”—एफिसी ६:१.

१३. (क) तपाईंले किन आमाबाबुको आज्ञा पालन गर्नुपर्छ? (ख) आमाबाबुले भनेका कुरा छोराछोरीले कति बेला मान्‍नु हुँदैन?

१३ परमेश्‍वर भन्‍नुहुन्छ: “ए बालक हो, . . . आफ्ना आमाबाबुको आज्ञा पालन गर।” परमेश्‍वर किन यसो भन्‍नुहुन्छ? किनभने तपाईंले आमाबाबुको आज्ञा पालन गर्नुहुँदा परमेश्‍वरको पनि आज्ञा पालन गरिरहनुभएको हुनेछ। त्यसबाहेक, तपाईंभन्दा तपाईंका आमाबाबु धेरै अनुभवी हुनुहुन्छ। उदाहरणको लागि, माथि बताइएको दुर्घटना हुनुभन्दा पाँच वर्षअघिको कुरा हो। जोनकी आमाको एउटा साथीको छोरा पनि त्यही बाटो काट्‌दा मरेका थिए! हो, आमाबाबुको आज्ञा पालन गर्नु सधैं सजिलो हुँदैन। तर परमेश्‍वर आमाबाबुको आज्ञा पालन गर्नू भन्‍नुहुन्छ। अर्कोतिर, यदि तपाईंका आमाबाबु वा अरू कसैले तपाईंलाई झूटो बोल्न, चोर्न वा परमेश्‍वरलाई मन नपर्ने कुरा गर्न लगाउँछन्‌ भने त्यतिबेला तपाईंले “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” त्यसैकारण, “आफ्ना आमाबाबुको आज्ञा पालन गर” भन्‍नुअघि बाइबलमा “प्रभुमा” भनिएको छ। त्यसको अर्थ, परमेश्‍वरको आज्ञा भंग नभएसम्म सबै कुरामा आमाबाबुको आज्ञा पालन गर्नुपर्छ।—प्रेरित ५:२९.

१४. सिद्ध व्यक्‍तिलाई आज्ञाकारी हुन किन सजिलो हुन्छ, तैपनि तिनले पनि किन आज्ञाकारी हुन सिक्नुपर्छ?

१४ यदि तपाईं येशूजस्तै “पापीहरूबाट अलग” र “निष्कलंक” अर्थात्‌ सिद्ध हुनुभएको भए आमाबाबुको आज्ञा पालन गर्नु सधैं सजिलो हुन्थ्यो होला? (हिब्रू ७:२६) तपाईं सिद्ध भएको भए अहिले जस्तो खराब गर्ने झुकाव तपाईंमा हुने थिएन। (उत्पत्ति ८:२१; भजन ५१:५) तर येशूले पनि आज्ञाकारी हुन सिक्नुपऱ्‍यो। बाइबलमा यस्तो लेखिएको छ: “[येशू] पुत्र हुनुहुन्थ्यो, तैपनि उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो।” (हिब्रू ५:८) शासना भोग्दा येशूले कसरी आज्ञाकारी हुने पाठ सिक्नुभयो जुन पाठ उहाँले स्वर्गमा कहिल्यै सिक्नुभएको थिएन?

१५, १६. येशूले आज्ञाकारी हुन कसरी सिक्नुभयो?

१५ परमेश्‍वरको निर्देशन पाएर यूसुफ र मरियमले बालक येशूलाई खतराबाट जोगाए। (मत्ती २:७-२३) तैपनि पछि परमेश्‍वरले येशूबाट आफ्नो असामान्य शक्‍ति हटाउनुभयो। येशूले भोग्नुभएको मानसिक र शारीरिक पीडा यति कठिन थियो कि उहाँले “बेसरी कराई, आँसु बगाएर . . . प्रार्थना र अन्तरबिन्ती गर्नुभयो” भनी बाइबल बताउँछ। (हिब्रू ५:७) यो घटना कहिले भएको हो?

१६ विशेष गरी यो घटना येशूको पार्थिव जीवनको अन्तिम समयतिर भएको हो जतिबेला शैतानले उहाँको निष्ठा तोड्‌न हर प्रयास गरेको थियो। आफू अपराधी ठहरिएर मर्नुपर्दा पिताको नाउँ कलंकित होला भन्‍ने पीरले येशूलाई साह्रै पिरोलेको थियो। त्यसैकारण, ‘उहाँले [गेतसमनीको बगैंचामा] प्रार्थना गर्नुहुँदा उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तो भुइँमा खसिरहेका थिए।’ त्यसको केही घण्टापछि उहाँले शासनाको खम्बामा भोग्नुभएको मृत्यु यत्ति पीडादायी थियो कि उहाँ ‘आँसु बगाएर बेसरी कराउनुभयो।’ (लूका २२:४२-४४; मर्कूस १५:३४) त्यसरी आफूले “भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो” र उहाँको पिताको हृदय आनन्दित तुल्याउनुभयो। अहिले येशू स्वर्गमा हुनुहुन्छ र आज्ञाकारी हुने प्रयासमा हामीले अक्सर पीडा भोग्दा उहाँले पनि त्यो पीडा महसुस गर्नुहुन्छ।—हितोपदेश २७:११; हिब्रू २:१८; ४:१५.

आज्ञाकारिताको पाठ सिक्ने

१७. अनुशासन पाउनुलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?

१७ तपाईंलाई आमाबाबुले अनुशासन दिनुले के देखाउँछ भने, उहाँहरू तपाईंलाई सबैभन्दा असल कुरा दिन चाहनुहुन्छ अर्थात्‌ तपाईंलाई माया गर्नुहुन्छ। बाइबल यस्तो प्रश्‍न गर्छ: “बाबुले अनुशासन नगरेको कुनचाहिं छोरा हुन्छ र?” तपाईंलाई सच्याउन आमाबाबुले समय निकालेनन्‌ र प्रयास गरेनन्‌ भने त्यो त उहाँहरूले तपाईंलाई माया गरेको होइन। के त्यसरी माया नगर्नु दुःखलाग्दो कुरा होइन र? त्यस्तैगरि, परमेश्‍वर तपाईंलाई माया गर्नुहुन्छ, त्यसैले उहाँले तपाईंलाई सच्याउनुहुन्छ। हो, “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।”—हिब्रू १२:७-११.

१८. (क) मायालु अनुशासन केको प्रमाण हो? (ख) यस्तो अनुशासन पाएर मानिसहरू सुध्रिएको कस्ता उदहरणहरू तपाईंले देख्नुभएको छ?

१८ प्राचीन इस्राएलका एक जना राजाले पनि आमाबाबुबाट मायालु सुधार पाउनु आवश्‍यक छ भनेर बताए। ती राजाको बुद्धिबारे येशूले पनि बताउनुभएको थियो। ती राजा सुलेमान हुन्‌। तिनले यस्तो लेखे: “छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।” मायालु सुधार पाउने व्यक्‍ति मृत्युको मुखदेखि बच्न सक्छ भनेर समेत सुलेमानले भने। (हितोपदेश १३:२४; २३:१३, १४; मत्ती १२:४२) एउटी विवाहित मसीही स्त्री आफ्नो बाल्यकाल सम्झन्छिन्‌। तिनले सभामा छुकछुक गर्दा तिनका बुबाले ‘पख है त तिमीलाई भरे घरमा ठीक पार्छु’ भन्दै सम्झाउने गर्थे। त्यसरी मायालु ढंगमा अनुशासन दिएर आफ्नो जीवन सुधार्ने बुबालाई अहिले तिनी स्नेहसाथ सम्झन्छिन्‌।

१९. तपाईंले विशेष गरी आफ्ना आमाबाबुको आज्ञा किन पालन गर्नुपर्छ?

१९ तपाईंलाई मायालु अनुशासन दिन आमाबाबुले समय निकालिरहनुभएको छ र प्रयास गरिरहनुभएको छ भने उहाँहरूले तपाईंलाई असाध्यै माया गर्नुभएको हो। यस्ता आमाबाबु पाउनुभएको छ भने कृतज्ञ हुनुहोस्‌। उहाँहरूको आज्ञा पालन गर्नुहोस्‌ जसरी येशूले आफ्ना आमाबाबु यूसुफ र मरियमको आज्ञा पालन गर्नुभयो। विशेष गरी स्वर्गमा बस्नुहुने पिता यहोवाले आज्ञा गर्नुभएकोले गर्दा आमाबाबुको आज्ञा पालन गर्नुहोस्‌। त्यसो गर्दा तपाईंलाई फाइदा हुनुका साथै ‘तपाईंको भलो हुनेछ र पृथ्वीमा तपाईं दीर्घायु हुनुहुनेछ।’—एफिसी ६:२, ३. (w 07 2/15)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ८४१ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्दा कस्ता लाभहरू पाउन सक्छन्‌?

• आमाबाबुको आज्ञा पालन गर्ने सन्दर्भमा बालक येशूले कस्तो उदाहरण बसाल्नुभयो?

• येशूले आज्ञाकारी हुन कसरी सिक्नुभयो?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

बाह्र वर्षीय येशूलाई धर्मशास्त्रको राम्रो ज्ञान थियो

[पृष्ठ २२-मा भएको चित्र]

शासना भोग्दा येशूले कसरी आज्ञाकारी हुन सिक्नुभयो?