सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको डर मान्दै जीवनको आनन्द उठाउनुहोस्‌

यहोवाको डर मान्दै जीवनको आनन्द उठाउनुहोस्‌

यहोवाको डर मान्दै जीवनको आनन्द उठाउनुहोस्‌

“हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।”—भजन ३४:९.

१, २. (क) परमेश्‍वरको डर राख्ने सन्दर्भमा चर्चहरूले कस्तो दुई भिन्‍नाभिन्‍नै कुरा सिकाएका छन्‌? (ख) हामी अब कुन प्रश्‍नहरू विचार गर्नेछौं?

 चर्चका पादरीहरूले परमेश्‍वरको डर नराख्नेहरूलाई उहाँले नरकमा अनन्त सास्ती दिनुहुन्छ भनी सिकाउँछन्‌। तर यस्तो शिक्षा बाइबलसित पटक्कै मेल खाँदैन। किनभने बाइबलले यहोवा प्रेम र न्यायको परमेश्‍वर हुनुहुन्छ भनी सिकाउँछ। (उत्पत्ति ३:१९; व्यवस्था ३२:४; रोमी ६:२३; १ यूहन्‍ना ४:८) अरू कतिपय पादरीहरूले झन्‌ ठीक उल्टो कुरा सिकाउँछन्‌। तिनीहरूले परमेश्‍वरको डर राख्नुपर्छ भनेर कहिल्यै भन्दैनन्‌। बरु, मानिसहरूले जे गरे पनि र जस्तोसुकै जीवन बिताए तापनि परमेश्‍वरले स्वीकार्नुहुन्छ भनी तिनीहरू सिकाउँछन्‌। यो पनि बाइबलको शिक्षासित मेल खाँदैन।—गलाती ५:१९-२१.

वास्तवमा, बाइबलमा हामीलाई परमेश्‍वरको डर राख्न प्रोत्साहन दिइएको छ। (प्रकाश १४:७) यस बाइबल शिक्षाले केही प्रश्‍नहरू खडा गर्छ: परमेश्‍वर मायालु हुनुहुन्छ भने हामीले उहाँको डर राखेको किन उहाँ चाहनुहुन्छ? हामीले कस्तो प्रकारको डर राखेको परमेश्‍वर चाहनुहुन्छ? परमेश्‍वरको डर राख्दा हामीलाई कसरी लाभ हुन्छ? भजन ३४ को बाँकी भाग छलफल गर्दै जाँदा हामी यी प्रश्‍नहरू विचार गर्नेछौं।

किन परमेश्‍वरको डर राख्ने

३. (क) परमेश्‍वरको डर राख्नू भन्‍ने आज्ञालाई तपाईं कसरी हेर्नुहुन्छ? (ख) यहोवाको डर राख्नेहरू किन आनन्दित छन्‌?

यहोवा ब्रह्‍माण्डको सृष्टिकर्ता र सार्वभौम शासक हुनुभएकोले उहाँको डर राख्नु उचित हो। (१ पत्रुस २:१७) तर यो डर कुनै क्रूर ईश्‍वरप्रति राखिने भयानक डर चाहिं होइन। यो त परमेश्‍वरको व्यक्‍तित्वले गर्दा उत्पन्‍न हुने श्रद्धेय भय हो। यो, परमेश्‍वरलाई अप्रसन्‍न पो तुल्याइने हो कि भन्‍ने मनको डर पनि हो। परमेश्‍वरको डर उच्चकोटिको र हितकारी हुन्छ, निराश बनाउने वा आतंकित पार्ने होइन। “आनन्दित परमेश्‍वर” यहोवा मानिसहरूले जीवनको आनन्द उठाऊन्‌ भन्‍ने चाहनुहुन्छ। (१ तिमोथी १:११, NW) तर यसको लागि परमेश्‍वरको इच्छाबमोजिम जीवन बिताउनु आवश्‍यक छ। यसको अर्थ थुप्रैको लागि आफ्नो जीवनशैली परिवर्तन गर्नु पनि हुन सक्छ। आफ्नो जीवनमा आवश्‍यक परिवर्तन गर्ने व्यक्‍तिहरू सबैले भजनहार दाऊदका यी शब्दहरू सत्य साबित भएको महसुस गर्छन्‌: “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो। हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैंन।” (भजन ३४:८, ९) यहोवाको डर राख्ने सबैलाई चिरस्थायी फाइदा हुन्छ किनभने तिनीहरूले परमेश्‍वरसित असल सम्बन्ध कायम राखेका हुन्छन्‌।

४. दाऊद र येशू दुवैले कस्तो आश्‍वासन दिए?

माथि उल्लिखित पदका कुराहरू दाऊदको समयमा पनि लागू हुने भएकोले तिनले आफ्ना मानिसहरूलाई आदर देखाउँदै “पवित्र जन” भनी सम्बोधन गरेको कुरा याद गर्नुहोस्‌। तिनीहरू परमेश्‍वरको पवित्र राष्ट्रको भाग थिए। तिनीहरूले दाऊदको पछि लागेर आफ्नो जीवन पनि खतरामा पारिरहेका थिए। आफूहरू राजा शाऊलबाट भागेर हिंडिरहेको भए तापनि यहोवाले तिनीहरूको आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भनेर दाऊद विश्‍वस्त थिए। दाऊदले यस्तो लेखे: “जवान सिंहहरूलाई ता हर्जा पर्दछ, र भोकाउँछन्‌, तर जस जसले परमप्रभुको खोजी गर्दछन्‌, तिनीहरूलाई कुनै उत्तम कुराको खाँचो पर्नेछैन।” (भजन ३४:१०) येशूले पनि आफ्ना अनुयायीहरूलाई त्यस्तै आश्‍वासन दिनुभयो।—मत्ती ६:३३.

५. (क) येशूका अनुयायीहरूमध्ये धेरैजसो कस्ता पृष्ठभूमिबाट आएका थिए? (ख) डरको विषयमा येशूले कस्तो सल्लाह दिनुभयो?

येशूको कुरा सुन्‍ने धेरैजसो मानिसहरू यहूदीहरूमध्येकै पिछडिएका र दबिएकाहरू थिए। यसैकारण, ती “भीडहरूलाई देखेर [येशूको] हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) के त्यस्ता दबिएका व्यक्‍तिहरूले येशूको पछि लाग्ने आँट गर्ने थिए? यसको लागि तिनीहरूले मानिसको होइन तर यहोवाको डर राख्नुपर्ने थियो। येशूले यसो भन्‍नुभयो: “जसले शरीरलाई मार्दछन्‌ तर त्यसपछि अरू बढी केही गर्नसक्‍तैनन्‌ तिनीहरूसँग नडराओ। तर कोसँग डराउनुपर्छ, म तिमीहरूलाई जनाउ दिनेछु, तिनैसँग डराउनु पर्दछ जोसँग मरिसकेपछि नरकमा [“गेहेन्‍ना,” NW] हाल्ने शक्‍ति छ। म तिमीहरूलाई भन्दछु, ‘तिनीदेखिनै डराओ।’ के दुइ पैसामा पाँचवटा भँगेरा बिक्‍तैनन्‌? औ तीमध्ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूको कपालको केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढता किम्मती छौ।”—लूका १२:४-७.

६. (क) येशूको कुन सल्लाहले मसीहीहरूलाई बलियो बनाएको छ? (ख) परमेश्‍वरको डर राख्ने सन्दर्भमा येशू किन सबैभन्दा राम्रो उदाहरण हुनुहुन्छ?

यहोवाको डर राख्ने व्यक्‍तिहरूलाई शत्रुहरूले उहाँको सेवा नगर्ने दबाब दिंदा तिनीहरूको मनमा येशूको यो सल्लाह आउला: “हरेक जसले मलाई मानिसहरूका सामने स्वीकार गर्ला, त्यसलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामने स्वीकार गर्नेछ, तर जसले मलाई मानिसहरूका सामने अस्वीकार गर्ला, परमेश्‍वरका दूतहरूका सामने त्यो पनि अस्वीकार हुनेछ।” (लूका १२:८, ९) यी शब्दहरूले मसीहीहरूलाई बलियो बनाएको छ, अझ विशेष गरी साँचो उपासनामाथि प्रतिबन्ध लगाइएका मुलुकका मसीहीहरूलाई। त्यस्ता मुलुकका मसीहीहरूले विवेकी भई मसीही सभा तथा जन प्रचारकार्यमा यहोवाको प्रशंसा गरिरहन्छन्‌। (प्रेरित ५:२९) ‘परमेश्‍वरको भक्‍तिको भय’ देखाउने सन्दर्भमा येशूले सबैभन्दा राम्रो उदाहरण बसाल्नुभयो। (हिब्रू ५:७) उहाँबारे परमेश्‍वरको वचनमा यस्तो भविष्यवाणी गरिएको थियो: “परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ . . . परमप्रभुको भयको आत्मा अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ।” (यशैया ११:२, ३, NRV) त्यसैकारण, परमेश्‍वरको डर राख्दा हुने फाइदाहरूबारे सिकाउन येशू जस्तो योग्य व्यक्‍ति अरू कोही छैन।

७. (क) दाऊदले दिएको जस्तै निमन्त्रणाप्रति मसीहीहरूले वास्तवमा कस्तो प्रतिक्रिया देखाउँछन्‌? (ख) आमाबाबुले कसरी दाऊदको असल उदाहरण अनुकरण गर्न सक्छन्‌?

“आऊ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्‍न सिकाउनेछु” भनी दाऊदले निमन्त्रणा दिए। (भजन ३४:११) त्यसैगरी येशूको उदाहरण पछ्याउने र उहाँका शिक्षाहरू पालन गर्ने सबैले दाऊदले दिएको जस्तै निमन्त्रणालाई स्वीकारिरहेका छन्‌। दाऊदलाई तिनका मानिसहरूले आफ्नो नेता मानेकोले दाऊदले तिनीहरूलाई “हे बालक हो” भनेर सम्बोधन गर्नु सुहाउँदो थियो। दाऊदले चाहिं तिनीहरू एकतामा रहून्‌ र परमेश्‍वरको अनुग्रह पाऊन्‌ भनेर तिनीहरूलाई परमेश्‍वरको डर राख्न मदत दिए। मसीही आमाबाबुको लागि कस्तो राम्रो उदाहरण! छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न यहोवाले आमाबाबुलाई अधिकार दिनुभएको छ। (एफिसी ६:४) छोराछोरीसित दिनहुँ आध्यात्मिक विषयमा कुराकानी गरेर र नियमित तवरमा बाइबल अध्ययन गरेर आमाबाबुले आफ्ना छोराछोरीलाई परमेश्‍वरको डर मान्दै जीवनको आनन्द उठाउन मदत गर्छन्‌।—व्यवस्था ६:६, ७.

परमेश्‍वरको डर जीवनमा कसरी देखाउने

८, ९. (क) परमेश्‍वरको डरसहितको जीवनशैली किन आकर्षक छ? (ख) जिब्रोलाई खराबीबाट जोगाउनुको अर्थ के हो?

माथि उल्लेख गरेझैं परमेश्‍वरको डरले हामीलाई आनन्दित हुनबाट वञ्चित गर्दैन। दाऊदले यस्तो प्रश्‍न गरे: “जीवनको इच्छा गर्ने, र भलाई देख्नलाई दीर्घायु खोज्ने कुन मानिस छ?” (भजन ३४:१२) स्पष्ट छ, भलाइ देख्न र दीर्घायु जीवन बिताउन यहोवाको डर नै मुख्य कुरा हो। “म यहोवाको डर राख्छु” भन्‍नु त सजिलो छ तर त्यसलाई व्यवहारमा उतार्नु चाहिं गाह्रो छ। त्यसैकारण, परमेश्‍वरको डर राखेको कुरा कसरी देखाउन सक्छौं भनी दाऊदले बताएका छन्‌।

“तेरो जिब्रोलाई खराबीबाट, र तेरो ओठलाई छलछामको बोलीबाट जोगा।” (भजन ३४:१३) आफ्ना मसीही भाइहरूलाई आपसमा भातृ-प्रेम देखाउन सल्लाह दिएपछि प्रेरित पत्रुस भजन ३४ को यस भाग उद्धृत गर्न उत्प्रेरित भएका थिए। (१ पत्रुस ३:८-१२) जिब्रोलाई खराबीबाट जोगाउनुको अर्थ हामी हानिकारक गफ फैलाउने गर्दैनौं। बरु, अरूलाई प्रोत्साहन हुने विषयमा कुरा गर्ने प्रयास गर्छौं। साथै हामी साहसी भएर सत्य बोल्ने प्रयास गर्छौं।—एफिसी ४:२५, २९, ३१; याकूब ५:१६.

१०. (क) खराबीबाट फर्किनुको अर्थ के हो, बताउनुहोस्‌। (ख) अरू कुन-कुन तरिकामा पनि असल काम गर्न सकिन्छ?

१० “खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।” (भजन ३४:१४, NRV) यौन अनैतिकता, अश्‍लील कुरा, चोरी, प्रेतवाद, हिंसा, जँड्याहपन र लागू औषधीको दुरुपयोग जस्ता परमेश्‍वरलाई मन नपर्ने कुराहरूदेखि हामी अलग रहन्छौं। त्यस्ता घिनलाग्दा कुराहरू भएका मनोरञ्जनदेखि पनि हामी टाढै रहन्छौं। (एफिसी ५:१०-१२) बरु, हामी असल काममा आफ्नो समय बिताउँछौं। हामीले गर्न सक्ने सबैभन्दा असल काम भनेको राज्यको प्रचार गर्ने र चेला बनाउने काममा नियमित तवरमा भाग लिनु हो। यस कामद्वारा हामी अरूलाई छुटकारा पाउन मदत गरिरहेका हुन्छौं। (मत्ती २४:१४; २८:१९, २०) असल गर्नुमा सभाको लागि तयारी गर्नु, सभामा उपस्थित हुनु, विश्‍वव्यापी कार्यको लागि अनुदान दिनु, राज्यभवनको रेखदेख गर्नु र खाँचोमा परेका हाम्रा भाइबहिनीहरूको आवश्‍यकता पूरा गर्नु पनि समावेश छ।

११. (क) शान्तिबारे दाऊदले भनेअनुसार काम गरे, कसरी? (ख) मण्डलीमा ‘शान्ति खोज्न’ तपाईं के गर्न सक्नुहुन्छ?

११ शान्ति खोज्ने सन्दर्भमा दाऊदले राम्रो उदाहरण बसाले। तिनले दुई चोटि शाऊललाई मार्ने मौका पाएका थिए। तर तिनले त्यस्तो हिंसात्मक बाटो अपनाएनन्‌ र राजासित पुनः शान्तिमा रहने आशा लिएर पछि तिनले राजासँग आदरसाथ कुरा गरे। (१ शमूएल २४:८-११; २६:१७-२०) आज मण्डलीको शान्तिमा खलल पुग्ने अवस्था सृजना हुँदा के गर्न सकिन्छ? ‘शान्ति खोजेर त्यसकै पछि लाग्नुपर्छ।’ त्यसैले आफू र कुनै सँगी विश्‍वासीबीच सम्बन्ध चिसो भएमा हामी येशूको यो सल्लाह पालन गर्छौं: “पहिले आफ्नो भाइसित मिलाप गर।” त्यसपछि, हामी साँचो उपासनाका अन्य पक्षमा ध्यान दिन्छौं।—मत्ती ५:२३, २४; एफिसी ४:२६.

परमेश्‍वरको डरले प्रचुर आशिष्‌ ल्याउँछ

१२, १३. (क) परमेश्‍वरको डर राख्नेहरूले अहिले कस्ता लाभहरू पाइरहेका छन्‌? (ख) विश्‍वासी उपासकहरूले अब चाँडै कस्तो महान्‌ इनाम पाउनेछन्‌?

१२ “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌।” (भजन ३४:१५) परमेश्‍वरले दाऊदसित गर्नुभएको व्यवहारबाट यी शब्दहरू साँचो छन्‌ भनी स्पष्ट हुन्छ। यहोवाले हामीमाथि नजर राख्नुहुन्छ भनी थाह पाउँदा अहिले हामी गहिरो आनन्द र मनोशान्ति पाउँछौं। उहाँले सधैं हाम्रा आवश्‍यकताहरूहरू पूरा गर्नुहुन्छ भनी हामी विश्‍वस्त छौं, एकदमै गाह्रो अवस्थामा हुँदा समेत। चाँडै सबै साँचो उपासकहरूले मागोगका गोगको आक्रमण र “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन[को]” सामना गर्नुपर्छ भनी हामीलाई थाह छ। (योएल २:११, ३१; इजकिएल ३८:१४-१८, २१-२३) हामीले त्यतिबेला जस्तोसुकै अवस्थाको सामना गर्नुपरे तापनि दाऊदका यी शब्दहरू हाम्रो निम्ति सत्य साबित हुनेछन्‌: “धर्मात्माहरूले पुकारा गरे, र परमप्रभुले सुन्‍नुभयो, र तिनीहरूका सबै दुःखबाट तिनीहरूलाई छुटाउनुभयो।”भजन ३४:१७.

१३ यहोवाले आफ्नो महान्‌ नाउँलाई महिमित तुल्याउनुभएको देख्न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ! हाम्रो हृदय श्रद्धा र भयले झनै ओतप्रोत हुनेछ अनि सबै विरोधीहरूले अपमानजनक अन्त भोग्नेछन्‌। “परमप्रभुको मुख खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेट्‌न तिनीहरूका विरुद्धमा हुन्छ।” (भजन ३४:१६) त्यस्तो महान्‌ छुटकारा पाएर परमेश्‍वरको धार्मिक नयाँ संसारमा प्रवेश गर्न पाउनु कत्ति ठूलो इनाम साबित हुनेछ!

सहन मदत गर्ने प्रतिज्ञाहरू

१४. विपत्तिहरूको बावजुद सहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१४ तर त्यतिञ्जेल यस भ्रष्ट र वैरी संसारमा यहोवाको आज्ञा पालन गर्न सहनशीलताको खाँचो पर्छ। परमेश्‍वरको डरले हामीलाई आज्ञाकारी भइरहन ठूलो मदत गर्छ। हामी बाँचिरहेको समय डरलाग्दो भएकोले यहोवाका कोही-कोही सेवकहरूले एकदमै कठिन अवस्थाहरूको सामना गर्छन्‌ जसले गर्दा तिनीहरू दुःखी र निराश हुन्छन्‌। तर यहोवाको बाटो हेरेको खण्डमा उहाँले सहने मदत पक्कै दिनुहुनेछ भनेर तिनीहरू निर्धक्क हुन सक्छन्‌। दाऊदका शब्दहरूले साँचो सान्त्वना प्रदान गर्छ: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) प्रोत्साहन दिंदै दाऊद अझ यसो भन्छन्‌: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१९) हामीमाथि जतिसुकै विपत्तिहरू आइपरे तापनि हामीलाई छुटाउन यहोवा सक्षम हुनुहुन्छ।

१५, १६. (क) भजन ३४ रचना गरेलगत्तै दाऊदले कुन विपत्तिबारे सुने? (ख) परीक्षाहरू सहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१५ भजन ३४ रचना गर्न सकिएलगत्तै दाऊदले नोब सहरमाथि आइपरेको विपत्तिबारे सुने। शाऊलले त्यहाँका बासिन्दाहरू र धेरैजसो पूजाहारीहरूको हत्या गरेका थिए। आफू नोब गएकोले नै शाऊल त्यतिबिघ्न रिसाएका थिए भनी सम्झँदा दाऊदलाई कत्ति दुःख लाग्यो होला! (१ शमूएल २२:१३, १८-२१) निस्सन्देह, दाऊदले परमेश्‍वरलाई पुकारे र भविष्यमा ‘धर्मीहरूको’ पुनरुत्थान हुने कुराबाट सान्त्वना पाए।—प्रेरित २४:१५.

१६ आज हामीलाई पनि पुनरुत्थानको आशाले बलियो बनाउँछ। हाम्रा शत्रुहरूले हामीलाई अनन्त हानि पुऱ्‍याउन सक्दै-सक्दैनन्‌ भनेर हामीलाई थाह छ। (मत्ती १०:२८) दाऊद पनि यो कुरामा विश्‍वस्त थिए भनी तिनका यी शब्दहरूबाट स्पष्ट हुन्छ: “उहाँलेधर्मीहरूका] सबै हाडहरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिएको हुँदैन।” (भजन ३४:२०) येशूको सन्दर्भमा यो पद शाब्दिक अर्थमै पूरा भयो। येशूलाई क्रूरतापूर्वक मारिए तापनि उहाँको एउटै हड्डी ‘भाँचिएन।’ (यूहन्‍ना १९:३६) यस पदलाई अझ विस्तृत तवरमा लागू गर्दा भजन ३४:२० ले हामीलाई आश्‍वासन दिन्छ कि अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सँगी “अरू भेडा[ले]” जस्तोसुकै परीक्षाहरूको सामना गर्नुपरे तापनि तिनीहरूले अनन्त हानि कहिल्यै भोग्नेछैनन्‌। लाक्षणिक अर्थमा भन्‍ने हो भने तिनीहरूका हड्डी कहिल्यै भाँच्चिने छैन।—यूहन्‍ना १०:१६.

१७. यहोवाका जनहरूको विरोध गर्ने अपश्‍चातापी व्यक्‍तिहरूले कस्तो विपत्ति भोग्नुपर्नेछ?

१७ दुष्टहरूको अवस्था भने बेग्लै छ। चाँडै तिनीहरूले आफूले रोपेका खराब कुराहरूको कटनी गर्नेछन्‌। “दुष्टलाई आफ्नै खराबीले मार्नेछ। औ धर्मात्मालाई घृणा गर्ने जति दोषी ठहरिनेछन्‌।” (भजन ३४:२१) परमेश्‍वरका जनहरूको विरोध गर्नेहरूले कल्पनै नगरेको विपत्ति भोग्नुपर्नेछ। येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिनीहरूले “उहाँको शक्‍तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्‌।”—२ थिस्सलोनिकी १:९.

१८. कुन अर्थमा “ठूलो भीड[ले]” छुटकारा पाइसकेका छन्‌ र भविष्यमा तिनीहरूले के अनुभव गर्नेछन्‌?

१८ दाऊदले यस भजनको अन्तमा आश्‍वासनका यी शब्दहरू पोखे: “परमप्रभुले आफ्ना दासहरूका आत्मालाई छुटकारा दिनुहुन्छ। औ उहाँमा भरोसा गर्ने जति कोही पनि दोषी ठहरिनेछैन।” (भजन ३४:२२) आफ्नो ४० वर्षे शासनको अन्ततिर राजा दाऊदले यसो भने: ‘मेरा सबै दुःखबाट परमेश्‍वरले मलाई छुटकारा दिनुभयो।’ (१ राजा १:२९) यहोवाको डर राख्ने सबैले चाँडै नै दाऊदले जस्तै पापको कारण हुने दोषी भावनाबाट र सबै परीक्षाहरूबाट मुक्‍ति पाएको हेर्न सक्नेछन्‌ र आनन्दित हुनेछन्‌। प्रायजसो अभिषिक्‍त मसीहीहरूले स्वर्गीय इनाम पाइसकेका छन्‌। अनि सारा राष्ट्रबाट जम्मा भएका “ठूलो भीड[ले]” चाहिं येशूका ती बाँकी रहेका अभिषिक्‍त भाइहरू सँगसँगै परमेश्‍वरको सेवा गर्दै आनन्द उठाइरहेका छन्‌। परिणामस्वरूप, तिनीहरूले यहोवासित असल सम्बन्ध कायम राख्न सकेका छन्‌। तिनीहरूले येशूको रगतले छुटकारा दिन सक्छ भनेर विश्‍वास गरेकोले नै यो सम्भव भएको हो। आउँदै गरेको ख्रीष्टको हजार वर्षीय राज्यको दौडान येशूको छुटकाराको बलिदान तिनीहरूमा पूरापूर लागू हुनेछ र तिनीहरू सिद्ध हुनेछन्‌।—प्रकाश ७:९, १४, १७; २१:३-५.

१९. “ठूलो भीड” के गर्न कटिबद्ध छ?

१९ ‘ठूलो भीडका’ उपासकहरूले किन यी सबै आशिष्‌हरू पाउनेछन्‌? किनभने तिनीहरू उहाँप्रति आज्ञाकारी हुँदै श्रद्धा र भयसाथ उहाँको सेवा गरिरहन कटिबद्ध छन्‌। साँच्चै, यहोवाको डरले अहिले हाम्रो जीवनलाई आनन्ददायी बनाउँछ र परमेश्‍वरको नयाँ संसारमा ‘साँच्चैको जीवन’ अर्थात्‌ अनन्त जीवन ‘पक्री राख्न’ मदत गर्छ।—१ तिमोथी ६:१२, १८, १९; प्रकाश १५:३, ४. (w 07 3/1)

के तपाईंले सम्झनुभएको छ?

• हामीले किन परमेश्‍वरको डर राख्नुपर्छ र उहाँको डर राख्नुको अर्थ के हो?

• परमेश्‍वरको डरले हाम्रो व्यवहारमा कस्तो असर पार्नुपर्छ?

• परमेश्‍वरको डर राख्दा कस्ता इनामहरू पाइन्छन्‌?

• कस्ता प्रतिज्ञाहरूले हामीलाई सहन मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

यहोवाको डर राख्नेहरू राज्यको काम प्रतिबन्ध भएको बेला विवेक चलाउँछन्‌

[पृष्ठ ३०-मा भएको चित्र]

हामीले आफ्नो छिमेकीलाई गर्न सक्ने सबैभन्दा असल कुरा भनेको राज्यको सुसमाचार सुनाउनु हो