सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुन्दर पृथ्वीको आनन्द उठाउनुहोस्‌

सुन्दर पृथ्वीको आनन्द उठाउनुहोस्‌

सुन्दर पृथ्वीको आनन्द उठाउनुहोस्‌

यो विशाल ब्रह्‍माण्डमा मानवजातिको घर पृथ्वी, एउटा सानो थोप्लोजस्तो मात्र देखिन्छ भनी खगोलविद्‌हरू बताउँछन्‌। ब्रह्‍माण्डको अन्य कुनै ग्रहमा अहिलेसम्म जीवन भेटिएको छैन। पृथ्वी मात्रै जीवनको लागि उपयुक्‍त ग्रह हो।

योभन्दा पनि ठूलो कुरा त, हामी यस सुन्दर पृथ्वीमा जीवनको आनन्द उठाउन सक्छौं। चिसो दिनमा न्यानो घाम ताप्दा कत्ति मजा हुन्छ! अत्यन्तै आकर्षक सूर्योदय वा सूर्यास्त हेर्दा कसको पो मन लोभिंदैन र? तर सूर्यको काम हाम्रो मनलाई आनन्द दिने मात्रै होइन। हामीलाई जीवित राखिराख्न पनि सूर्य नभई हुँदैन।

हजारौं-हजार वर्षदेखि सूर्यको गुरुत्वाकर्षण शक्‍तिले पृथ्वी र अन्य ग्रहहरूलाई आफ्नो कक्षमा स्थिर राखिरहेको छ। यदि तपाईं विद्यार्थी हुनुहुन्छ भने स्कूलमा पनि पढ्‌नुभएको होला कि सम्पूर्ण सौर्यमण्डल नै मिल्की वे भनिने हाम्रो तारापुञ्जको केन्द्रमा रहेर आफ्नो कक्षमा घुम्छ। तर मिल्की वे तारापुञ्जको केन्द्रमा रहेर घुम्ने एक खरबभन्दा बढी ताराहरूमध्ये सूर्य केवल एउटा हो।

मिल्की वे तारापुञ्ज ३५ वटा तारापुञ्जहरूको झुन्डमा पर्छ। ठूला झुन्डहरूमा त हजारौं तारापुञ्जहरू हुन्छन्‌। हाम्रो सौर्यमण्डल तारापुञ्जहरूको ठूला र बाक्ला झुन्डमा रहेको भए यत्तिको स्थिर हुने थिएन। ब्रह्‍माण्डमा “हाम्रोजस्तो जटिल जीवनको लागि उपयुक्‍त” ग्रह कमै छ भनी गिलरेमो गोन्जालेज र जे डब्ल्यू. रिचर्ड्‌स उनीहरूको पुस्तक द प्रिभिलेज्ड प्लानेट-मा बताउँछन्‌।

के पृथ्वीमा जीवन आफ-से-आफ आएको हो? अथवा यो सुन्दर ग्रहमा जीवनको कुनै ठोस अर्थ छ?

जीवन धान्‍न सकिने गरी नै पृथ्वी रचिएको छ भन्‍ने निष्कर्षमा धेरै मानिसहरू पुगेका छन्‌। a सयौं वर्षअगाडि एक हिब्रू कविले आफ्नो ध्यान पृथ्वी र आकाशतर्फ लगाए। त्यसपछि उनले लेखे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र?” (भजन ८:३, ४) यी कवि सृष्टिकर्ता अवश्‍यै हुनु पर्छ भन्‍ने कुरामा विश्‍वास गर्थे। तर अहिलेको वैज्ञानिक युगमा पनि यस्तो निष्कर्षमा पुग्नु के तार्किक होला र? (w07 2/15)

[फुटनोट]

a भजनको पुस्तक, अझ विशेष गरी अध्याय ८ हेर्नुहोस्‌।

[पृष्ठ ३-मा भएको पेटी/चित्र]

“टाढाबाट हेर्दा पृथ्वी अन्धकार अन्तरिक्षमा टिलपिल–टिलपिल टल्किरहेको निलो रत्नजस्तो देखिन्छ” भनी दी इलस्ट्रेटेड साइन्स इन्साइक्लोपिडिया—अमेजिङ प्लानेट अर्थ बताउँछ।

[स्रोत]

Globe: U.S. Fish & Wildlife Service, Washington, D.C./NASA