सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी मिलेर यहोवाको नाउँ उच्च पारौं

हामी मिलेर यहोवाको नाउँ उच्च पारौं

हामी मिलेर यहोवाको नाउँ उच्च पारौं

“मसँगसँगै परमप्रभुको [ “यहोवा,” NW] बढाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।”—भजन ३४:३.

१. येशूले आफ्नो पार्थिव सेवकाईको दौडान कस्तो राम्रो उदाहरण बसाल्नुभयो?

 इस्वी संवत्‌ ३३, नीसान १४ को रात येशू र उहाँका प्रेरितहरूले यरूशलेमको एउटा घरको माथिल्लो कोठामा सँगै मिलेर यहोवाको प्रशंसा गाए। (मत्ती २६:३०) आफ्ना प्रेरितहरूसँगै मिलेर यहोवाको प्रशंसा गाउने अवसर येशूको लागि यही नै अन्तिम हुनेथियो। तर ती प्रेरितहरूसँगको भेटको अन्तमा त्यसरी भजन गाउनु एकदमै उपयुक्‍त थियो। येशूले आफ्नो पार्थिव सेवकाईको सुरुदेखि अन्तसम्मै पिताको प्रशंसा गर्नुभयो र जोसका साथ उहाँको नाउँबारे अरूलाई बताउनुभयो। (मत्ती ४:१०; ६:९; २२:३७, ३८; यूहन्‍ना १२:२८; १७:६) भन्‍ने हो भने, येशूले पनि भजनहारले जस्तै यस्तो न्यानो निमन्त्रणा दिइरहनुभएको थियो: “मसँगसँगै परमप्रभुको [“यहोवा,” NW] बढाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भजन ३४:३) हामीले अनुसरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण!

२, ३. (क) भजन ३४ को भविष्यसूचक महत्त्व छ भनेर हामी कसरी थाह पाउँछौं? (ख) हामी यो र यसपछिको लेखमा के छलफल गर्नेछौं?

येशूसँग प्रशंसाको भजन गाएको केही घण्टा पनि नबित्दै प्रेरित यूहन्‍नाले एकदमै छुट्टै किसिमको घटना देखे। तिनले आफ्नो गुरु येशू ख्रीष्ट र दुई जना अपराधीलाई शासनाको खम्बामा झुन्ड्याइन लागेको देखे। रोमी सिपाहीहरूले ती दुई अपराधीहरू छिटो मरुन्‌ भनेर तिनीहरूको खुट्टा भाँचिदिए। तर तिनीहरूले येशूको खुट्टा भने भाँचेनन्‌ भनी यूहन्‍ना भन्छन्‌। सिपाहीहरू येशूकहाँ आइपुग्दा उहाँको मृत्यु भइसकेको थियो। यो घटनालाई यूहन्‍नाले आफ्नो सुसमाचारको पुस्तकमा भजन ३४ को एउटा भविष्यवाणीको पूर्ति भएको भनी बताए। त्यो भविष्यवाणी यस्तो थियो: “उहाँको एउटै हड्डी भाँचिनेछैन।”—यूहन्‍ना १९:३२-३६; भजन ३४:२०.

भजन ३४ मा साँचो उपासकहरूका लागि चासोका थुप्रै बुँदा छन्‌। त्यसैले हामी यो र यसपछिको लेखमा दाऊदले यो भजन कस्तो अवस्थामा लेखे भनी पुनरावृत्ति गर्नुका साथै यसमा भएका प्रोत्साहनजनक विषयवस्तुहरू छलफल गर्नेछौं।

दाऊद शाऊलदेखि भाग्छन्‌

४. (क) दाऊदलाई किन इस्राएलको भावी राजाको रूपमा अभिषेक गरियो? (ख) शाऊलले किन दाऊदलाई ‘खूबै प्रेम गर्नलागे’?

दाऊद जवान छँदा शाऊल इस्राएलका राजा थिए। तर पछि शाऊल अनाज्ञाकारी भए र यहोवाको अनुमोदन गुमाए। यसैकारण अगमवक्‍ता शमूएलले तिनलाई यसो भने: “आज परमप्रभुले इस्राएलको राज्य तपाईंको हातदेखि च्यातेर अर्कोलाई दिनुहुनेछ, र तपाईंभन्दा अर्को एक जना असल मानिसलाई दिनुहुनेछ।” (१ शमूएल १५:२८) पछि, यिशैका कान्छो छोरा दाऊदलाई इस्राएलको भावी राजाको रूपमा अभिषेक गर्न यहोवाले शमूएललाई निर्देशन दिनुभयो। उता, राजा शाऊल चाहिं परमेश्‍वरको आत्मा नपाएपछि निराश भए। दाऊद एक कुशल संगीतकार पनि भएकोले तिनलाई राजाकहाँ सेवा गर्न भनेर गिबामा ल्याइयो। दाऊदले वीणा बजाउँदा शाऊललाई शान्ति महसुस हुन्थ्यो। त्यसैले शाऊलले “तिनलाई खूबै प्रेम गर्नलागे।”—१ शमूएल १६:११, १३, २१, २३.

५. किन शाऊलले दाऊदलाई अर्कै दृष्टिकोणले हेर्न थाले र दाऊद के गर्न बाध्य भए?

समय बित्दै जाँदा यहोवा दाऊदको साथमा हुनुभएको कुरा प्रष्ट भयो। अजङ्‌गको पलिश्‍ती गोल्यतलाई हराउन उहाँले दाऊदलाई मदत गर्नुभयो। अनि दाऊदको सैन्य कौशलताले गर्दा इस्राएलमा तिनको मानसम्मान बढ्‌दा पनि उहाँले तिनको साथ छोड्‌नुभएन। तर, दाऊदले यहोवाको साथ पाएको देखेर शाऊल डाही भए र तिनलाई घृणा गर्न थाले। तिनको निम्ति वीणा बजाइरहँदा तिनले दाऊदलाई दुई चोटि भित्तैमा उनिने गरी भालाले हिर्काए। दुवैपल्ट दाऊदले छले। शाऊलले तेस्रो चोटि दाऊदलाई मार्न खोज्दा भने, अब ज्यान जोगाउन भाग्नुपर्छ भन्‍ने महसुस तिनले गरे। शाऊलले तिनलाई पक्रेर मार्न निकै प्रयास गरिरहेकोले दाऊदले इस्राएलबाट भागेर अन्तै शरण लिने निधो गरे।—१ शमूएल १८:११; १९:९, १०.

६. शाऊलले नोबका बासिन्दाहरूलाई किन मार्न लगाए?

इस्राएलको सीमातिर लाग्दा दाऊद यहोवाको बासस्थान भएको सहर नोबमा रोकिए। दाऊदको साथमा अवश्‍यै एक हूल जवानहरू पनि थिए। दाऊदले तिनीहरू र आफ्नो लागि खानेकुराको व्यवस्था गरे। दाऊद र तिनका मानिसहरूलाई प्रधान पूजाहारीले खानेकुरा र दाऊदले मारेका गोल्यतको तरवार दिएको कुरा शाऊलले सुने। त्यसपछि शाऊलले रीसको झोंकमा ८५ जना पूजाहारीहरू लगायत सहरका सबै बासिन्दाहरूलाई मार्न लगाए।—१ शमूएल २१:१, २; २२:१२, १३, १८, १९; मत्ती १२:३, ४.

फेरि मृत्युको मुखबाट बचे

७. दाऊद गातमा लुक्नु किन सुरक्षित थिएन?

दाऊद नोबबाट भागेर त्यसको झन्डै ४० किलोमिटर पश्‍चिममा पर्ने पलिश्‍ती इलाकामा आइपुगे र गातका राजा आकीशकहाँ शरण लिए। गात गोल्यतको गृहनगर थियो। शाऊलले उनलाई गातमा चाहिं खोज्ने छैनन्‌ भन्‍ने दाऊदलाई लागेको हुनुपर्छ। तर गातका राजाका सेवकहरूले दाऊदलाई चिनिहाले। आफूलाई चिनेको कुरा सुनेपछि दाऊद “गातका राजा आकीशसित साह्रै डराए।”—१ शमूएल २१:१०-१२.

८. (क) दाऊदले गातमा भोगेको अनुभवबारे भजन ५६ मा के बताइएको छ? (ख) दाऊद कसरी मृत्युको मुखबाट बचे?

त्यसपछि पलिश्‍तीहरूले दाऊदलाई पक्रे। सायद यसै समयतिर दाऊदले यहोवालाई पुकार्दै मन छुने यो भजन रचेको हुन सक्छ: “मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्‌।” (भजन ५६:८) यी शब्दहरूबाट के प्रस्ट हुन्छ भने, यहोवाले तिनको दुःख बिर्सनुहुने छैन र तिनलाई मायालु हेरचाह तथा रक्षा गर्नुहुनेछ भनी दाऊद विश्‍वस्त थिए। दाऊदले पलिश्‍ती राजालाई झुक्याउने जुक्‍ति पनि निकाले। तिनले आफू बौलाहा भएजस्तो स्वाङ पारे। यो देखेर “बौलाहा” मानिस आफूकहाँ किन ल्याएको भनी राजा आकीशले आफ्ना सेवकहरूलाई हप्काए। स्पष्ट छ, दाऊदको त्यस चालमा यहोवाले साथ दिनुभयो। दाऊद त्यस सहरबाट खेदिए। यसरी तिनी फेरि मृत्युको मुखबाट बचे।—१ शमूएल २१:१३-१५.

९, १०. के कारणले गर्दा दाऊदले भजन ३४ रचे र यो भजन रचना गर्दा तिनले कसलाई पनि सम्झेका थिए होलान्‌?

दाऊदका समर्थकहरू तिनीसँगै भागेर गातमा आएका थिए वा तिनलाई पहरा दिन नजिकैको इस्राएलको गाउँमा बसेका थिए, बाइबलमा बताइएको छैन। जे होस्‌, यहोवाले आफूलाई फेरि एक चोटि कसरी बचाउनुभयो भनी दाऊदले तिनीहरूसित बेलीविस्तार लाउँदा तिनीहरूको पुनर्मिलन रमाइलो भएको हुनुपर्छ। यही घटनाबाट प्रेरित भएर दाऊदले भजन ३४ रचेका थिए। भजन ३४ को सुरुका सात वटा पदमा दाऊदले आफूलाई छुटाउनुभएकोमा यहोवाको प्रशंसा गाएका छन्‌ र सँगै मिलेर महान्‌ उद्धारक यहोवाको नाउँ उच्च पार्न आफ्ना समर्थकहरूलाई निम्तो दिएका छन्‌।—भजन ३४:३, ४, ७.

१० दाऊद र तिनका मानिसहरू अदुल्लाम ओढारमा लुके। यो ओढार गातदेखि झन्डै १५ किलोमिटर पूर्वतिर इस्राएलको पहाडी भेगमा पर्थ्यो। राजा शाऊलको शासनसित असन्तुष्ट इस्राएलीहरू त्यहाँ जम्मा हुन थाले। (१ शमूएल २२:१, २) दाऊदले भजन ३४:८-२२ रचना गर्दा त्यस्ता व्यक्‍तिहरूलाई सम्झेका थिए होलान्‌। ती पदहरूमा पाइने सम्झौटाहरू आज हाम्रोलागि पनि महत्त्वपूर्ण छन्‌। अनि यस सुन्दर भजनको विस्तृत छलफलबाट हामीले पक्कै लाभ उठाउनेछौं।

के तपाईंको मनोभाव दाऊदको जस्तै छ?

११, १२. निरन्तर यहोवाको प्रशंसा गरिरहन हामीसित कस्ता कारणहरू छन्‌?

११ “हर बखत म परमप्रभुलाई धन्यको भन्‍नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।” (भजन ३४:१) भगुवा जीवन बिताइरहेका दाऊदलाई हात-मुख जोर्ने चिन्ता त पक्कै थियो होला तर यी शब्दहरूले देखाएझैं त्यस्ता चिन्ताहरूको कारण तिनले यहोवाको प्रशंसा गर्ने आफ्नो अठोटलाई ओझेलमा पर्न दिएनन्‌। कठिनाइहरू भोग्नुपर्दा हाम्रोलागि कस्तो राम्रो उदाहरण! हामी स्कूल, जागिर, प्रचारकार्य वा आफ्ना सँगी विश्‍वासीहरूसित नै किन नहोऔं, हाम्रो प्रमुख चिन्ताको विषय भनेको यहोवाको प्रशंसा गर्ने हुनुपर्छ। हामीले यहोवाको प्रशंसा गर्नुपर्ने कत्ति धेरै कारणहरू छन्‌, यसो सोच्नुहोस्‌ त! उदाहरणका लागि, यहोवाको अचम्मलाग्दो सृष्टिमा हामीले पत्ता लगाउन सक्ने र आनन्द उठाउन सक्ने कुराहरू अनगिन्ती छन्‌। अनि उहाँले आफ्नो संगठनको पार्थिव भाग मार्फत्‌ पूरा गर्नुभएका कुराहरूलाई विचार गर्नुहोस्‌! उहाँका जनहरू असिद्ध भए तापनि वर्तमान समयमा यहोवाले तिनीहरूलाई पूरापूर चलाउनुभएको छ। संसारमा महान्‌ ठानिएका मानिसहरूको काम के परमेश्‍वरको कामसित तुलना गर्न सकिन्छ? के तपाईं दाऊदसित सहमत हुनुहुन्‍न जसले यस्तो लेखे: “हे परमप्रभु, देवहरूमा तपाईंजस्तै अरू कोही छैन। तपाईंका कामहरूजस्ता अरू कुनै कामहरू छैनन्‌।”—भजन ८६:८.

१२ उहाँका अतुलनीय कामहरू देखेर हामी पनि दाऊदजस्तै यहोवाको प्रशंसा गरिरहन उत्प्रेरित हुन्छौं। यसबाहेक, परमेश्‍वरको राज्य अहिले दाऊदका स्थायी उत्तराधिकारी येशू ख्रीष्टको हातमा छ भनी थाह पाउनु कत्ति रोमाञ्चकारी! (प्रकाश ११:१५) यसको मतलब, यस रीतिरिवाजको अन्त नजिकै छ र संसारको छ अरबभन्दा धेरै मानिसको अनन्त भविष्य यसैसित जोडिएको छ। परमेश्‍वरको राज्य र यसले चाँडै मानिसजातिका लागि के-के गर्नेछ भनी अरूलाई बताउनुका साथै हामीसँगसँगै यहोवाको प्रशंसा गर्न तिनीहरूलाई मदत गर्नु अहिले जस्तो जरुरी पहिला कहिल्यै भएको थिएन। पक्कै पनि, हाम्रो जीवनको प्राथमिकता भनेको ढिलो हुनुअघि नै “सुसमाचार” स्वीकार्न अरूलाई प्रोत्साहन दिनु हो।—मत्ती २४:१४.

१३. (क) दाऊदले कसमा घमन्ड गरे र कस्ता खालका मानिसहरूले प्रतिक्रिया देखाए? (ख) नम्र व्यक्‍तिहरू आज कसरी मसीही मण्डलीतर्फ खिचिएका छन्‌?

१३ “परमप्रभुमानै मेरो आत्माले घमण्ड गर्नेछ, नम्रहरू यो सुनेर खुशी हुनेछन्‌।” (भजन ३४:२) यो पद हेर्दा दाऊदले आफ्नो व्यक्‍तिगत उपलब्धिहरूमा घमन्ड गरेका होइनन्‌। जस्तै, तिनले गातका राजालाई झुक्याउन सकेकोमा घमन्ड गरेनन्‌। गातमा हुँदा यहोवाको सुरक्षा र मदत पाएकोले नै आफू बच्न सकेको हो भनी तिनले बुझे। (हितोपदेश २१:१) त्यसैले दाऊदले आफूमा होइन तर यहोवामा घमन्ड गरे। यही कारण नम्रहरू यहोवातर्फ खिचिए। त्यसै गरी येशूले पनि यहोवाको नाउँको महिमा गर्नुभयो र यही कारणले गर्दा नम्र र सिक्न इच्छुक व्यक्‍तिहरू यहोवातर्फ आकर्षित भए। आज, सबै राष्ट्रका नम्र व्यक्‍तिहरू अभिषिक्‍त मसीहीहरूको अन्तरराष्ट्रिय मण्डलीतर्फ खिचिएका छन्‌ जुन मण्डलीको शिर ख्रीष्ट हुनुहुन्छ। (कलस्सी १:१८) परमेश्‍वरका नम्र सेवकहरूले यहोवाको नाउँको महिमा गरेको देख्दा र परमेश्‍वरको पवित्र आत्माको मदत पाएर बाइबलको सन्देश बुझ्न सक्दा त्यस्ता नम्र व्यक्‍तिहरूको हृदय उत्प्रेरित हुन्छ।—यूहन्‍ना ६:४४; प्रेरित १६:१४.

सभाहरूले हाम्रो विश्‍वास बलियो बनाउँछ

१४. (क) के दाऊद आफू मात्र एक्लै बसेर यहोवाको प्रशंसा गर्नुमा सन्तुष्ट थिए? (ख) उपासनाको लागि भेला हुने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१४ “मसँगसँगै परमप्रभुको“यहोवा,” NW] बढाइ गर, र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।” (भजन ३४:३) आफू मात्र एक्लै बसेर यहोवाको प्रशंसा गर्दा दाऊदले सन्तुष्टि पाउँदैन थिए। तिनले आफ्ना साथीहरूलाई पनि सँगै मिलेर यहोवाको नाउँ उच्च पार्न मायालुपूर्वक बोलाए। त्यसै गरी, महान्‌ दाऊद येशू ख्रीष्टलाई पनि सबैको अघि यहोवाको प्रशंसा गर्न आनन्द लाग्थ्यो। उहाँले सभाघरहरूमा, चाडहरूको बेला यरूशलेमको मन्दिरमा र आफ्ना अनुयायीहरूको साथमा यहोवाको प्रशंसा गर्नुभयो। (लूका २:४९; ४:१६-१९; १०:२१; यूहन्‍ना १८:२०) विशेष गरी ‘दिन नजीक नजीक आइपुगेकोले’ येशूको उदाहरण पछ्याउँदै आफ्ना सँगी विश्‍वासीहरूसँगै यहोवाको प्रशंसा गर्ने काममा सम्भव भएसम्म सक्दो भाग लिन पाउनु कत्ति ठूलो सुअवसर हो!—हिब्रू १०:२४, २५.

१५. (क) दाऊदको अनुभवले तिनका मानिसहरूमा कस्तो असर पाऱ्‍यो? (ख) हाम्रा सभाहरूमा उपस्थित भएर हामी कसरी लाभ उठाउँछौं?

१५ “मैले परमप्रभुको खोजी गरें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो।” (भजन ३४:४) दाऊदले बटुलेको यो अनुभव तिनको लागि महत्त्वपूर्ण थियो। त्यसैकारण तिनले अझै यस्तो लेखे: “यस दुःखी मानिसले पुकारा गऱ्‍यो, र परमप्रभुले सुन्‍नुभयो, र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो।” (भजन ३४:६) सँगी विश्‍वासीहरूसित संगत गर्दा, गाह्रो परिस्थितिहरूमा कसरी यहोवाले सहन मदत गर्नुभयो भन्‍नेजस्ता उत्थानदायी अनुभवहरू बताउने थुप्रै मौका पाउँछौं। दाऊदको अभिव्यक्‍तिले तिनका समर्थकहरूको विश्‍वासलाई बलियो बनाएझैं हाम्रा अनुभवहरूले पनि सँगी विश्‍वासीहरूको विश्‍वासलाई बलियो बनाउँछ। दाऊदको विषयमा कुरा गर्ने हो भने, तिनका साथीहरूले ‘यहोवालाई हेरे, र उज्ज्वल भए, औ तिनीहरूका अनुहार कहिल्यै अँध्यारो भएन।’ (भजन ३४:५) राजा शाऊलबाट भागेर हिंड्‌नुपरे तापनि तिनीहरूले कहिल्यै शर्ममा परेको महसुस गरेनन्‌। यहोवा दाऊदको साथमा हुनुहुन्छ भनेर तिनीहरू विश्‍वस्त थिए, त्यसैले तिनीहरूको अनुहार उज्यालो भयो। त्यसै गरी, आज पनि नयाँ व्यक्‍तिहरूलगायत धेरै समयदेखि यहोवाको सेवा गर्दै आएकाहरूले यहोवाको साथ खोज्छन्‌। अनि तिनीहरूले व्यक्‍तिगत रूपमा यहोवाको मदत पाएकोले तिनीहरूको अनुहार उज्यालो भएको छ र त्यसले तिनीहरू विश्‍वासी रहन कटिबद्ध छन्‌ भनी स्पष्ट देखाउँछ।

स्वर्गदूतहरूबाट पाएको मदतको लागि कृतज्ञ हुनुहोस्‌

१६. हाम्रो छुटकाराको लागि यहोवाले कसरी स्वर्गदूतहरू चलाउनुभएको छ?

१६ “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌।” (भजन ३४:७) यहोवाले दाऊदलाई दिलाउनुभएको छुटकारा आफूले मात्र पाउन सक्ने कुराको रूपमा तिनले लिएनन्‌। हुन त हो, दाऊद इस्राएलका भावी राजाको रूपमा यहोवाले अभिषेक गर्नुभएका व्यक्‍ति थिए। तर दाऊदलाई के पनि थाह थियो भने, यहोवाले आफ्ना विश्‍वासी उपासकहरू प्रतिष्ठित होउन्‌ या साधारण, तिनीहरूको हेरचाह गर्न स्वर्गदूतहरूलाई चलाउनुहुन्छ। वर्तमान समयमा साँचो उपासकहरूले पनि यहोवाको सुरक्षा पाएका छन्‌। नाजी जर्मनी, अंगोला, मलावी, मोजाम्बिक र अन्य थुप्रै देशमा सरकारहरूले यहोवाका साक्षीहरूको नामोनिशान मेटाउने दुष्प्रयास गरेका छन्‌। तर तिनीहरूको प्रयास व्यर्थै भएको छ। बरु, ती देशहरूमा यहोवाका जनहरू सँगै मिलेर उहाँको नाउँ उच्च पार्ने काममा झन्‌ झनै फस्टाइरहेका छन्‌। किन? किनभने यहोवाले आफ्ना जनहरूको सुरक्षा र डोऱ्‍याइको लागि आफ्ना पवित्र स्वर्गदूतहरू चलाउनुहुन्छ।—हिब्रू १:१४.

१७. हामीलाई परमेश्‍वरका स्वर्गदूतहरूले कुन-कुन तरिकामा मदत गर्छन्‌?

१७ यसबाहेक, स्वर्गदूतहरूले यहोवाका जनहरूमाझ बाधा पुऱ्‍याउने व्यक्‍तिहरूलाई हटाउन परिस्थितिमा फेरबदल गरी दिन सक्छन्‌। (मत्ती १३:४१; १८:६, १०) हामीलाई याद नभए तापनि स्वर्गदूतहरूले परमेश्‍वरको सेवामा बाधा पुऱ्‍याउन सक्ने कुराहरू हटाउँछन्‌ र यहोवासितको सम्बन्धलाई खतरामा पार्न सक्ने कुराहरूबाट हामीलाई जोगाउँछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वर्गदूतहरूले हामीलाई सबै जातिलाई “अनन्त सुसमाचार” घोषणा गर्ने काममा डोऱ्‍याइ दिन्छन्‌, खतरनाक परिस्थितिमा प्रचारकार्य गरिरहेका ठाउँहरूमा समेत। (प्रकाश १४:६) स्वर्गदूतहरूबाट मदत पाएका घटनाहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल प्रकाशनहरूमा प्रशस्तै दिइएका छन्‌। a यस्ता अनुभवहरू फाट्टफुट्ट मात्र नभई थुप्रै भएकोले संयोग मात्र हो भन्‍न सकिंदैन।

१८. (क) स्वर्गदूतहरूको मदत पाउन हामीले के गर्नुपर्छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१८ स्वर्गदूतहरूको डोऱ्‍याइ र सुरक्षा पाउन हामीले सतावटको बेला पनि यहोवाको नाउँ उच्च पारिरहनुपर्छ। नबिर्सनुहोस्‌, परमेश्‍वरका स्वर्गदूतहरूले “[यहोवासित] डराउनेको चारैतिर” मात्र छाउनी बनाउँछन्‌। यसको अर्थ के हो? परमेश्‍वरको डर भनेको के हो र त्यो डर हामी कसरी विकास गर्न सक्छौं? परमेश्‍वर मायालु हुनुहुन्छ भने हामीले उहाँको डर राखेको किन उहाँ चाहनुहुन्छ? यी प्रश्‍नहरू अर्को लेखमा छलफल गरिनेछ। (w 07 3/1)

[फुटनोट]

a जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङगडम, पृष्ठ ५५०; २००५ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ ५३-५४; प्रहरीधरहरा, मार्च १, २०००, पृष्ठ ५-६; दी वाचटावर, जनवरी १, १९९१, पृष्ठ २७ र फेब्रुअरी १५, १९९१, पृष्ठ २६, हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• दाऊदले जवान छँदा के-कस्ता परीक्षाहरू सहनुपऱ्‍यो?

• दाऊदको जस्तै हाम्रो पनि प्रमुख चिन्ताको विषय के हुनुपर्छ?

• मसीही सभाहरूलाई हामी कसरी लिन्छौं?

• हामीलाई मदत गर्न यहोवाले स्वर्गदूतहरू कसरी चलाउनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको नक्सा]

रामा

गात

सिकलग

गिबा

यरूशलेम

अदुल्लाम

कीला

हेब्रोन

जीप

होरेश

माओन

नोब

बेतलेहेम

एनगदी

कर्मेल

खारा समुद्र

[स्रोत]

Map: Based on maps copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel

[पृष्ठ २५-मा भएको चित्र]

भगुवा जीवन बिताइरहँदा पनि दाऊदले यहोवाको नाउँ उच्च पारे