सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो बेजोड सौर्यमण्डल कसरी आयो?

हाम्रो बेजोड सौर्यमण्डल कसरी आयो?

हाम्रो बेजोड सौर्यमण्डल कसरी आयो?

हाम्रो सौर्यमण्डल बेजोड हुनुमा थुप्रै कारणहरू छन्‌। हाम्रो सौर्यमण्डल मिल्की वे-को घुमाउरा भुजाहरूमध्ये दुइटाको बीचमा पर्छ जहाँ ताराहरू तुलनात्मक रूपले कम छन्‌। राती खुला आकाशमा हामीले देख्ने प्रायजसो सबै ताराहरू यति टाढा छन्‌ कि एकदमै शक्‍तिशाली टेलिस्कोपबाट हेर्दासमेत तिनीहरू स-साना थोप्ला जस्ता मात्र देखिन्छन्‌। हाम्रो सौर्यमण्डल जुन स्थानमा छ, के त्यो ठीकै हो?

हाम्रो सौर्यमण्डल मिल्की वे-को केन्द्र नजिकै भएको भए ताराहरूको बाक्लो झुण्डले हामीलाई नराम्ररी असर गर्नेथियो। उदाहरणको लागि, पृथ्वीको कक्षमा खलल पुग्ने थियो जसले गर्दा मानव जीवन नै जोखिममा पर्नेथियो। तारापुञ्जमा हाम्रो सौर्यमण्डल ठीक स्थानमा रहेकोले गर्दा नै जीवन सम्भव भएको छ। साथै ग्यासीय बादलबाट छिर्दा हुन सक्ने अत्यधिक ताप, विस्फोटक ताराहरू र अन्य हानिकारक विकिरणहरूको असरहरूबाट पनि जोगिन सकिएको छ।

हाम्रो लागि सबैभन्दा उपयुक्‍त तारा सूर्य नै हो। यो पहिल्यैदेखि एकनासले बलिरहेको छ। अनि यो न असाध्यै ठूलो न त असाध्यै तातो नै छ। हाम्रो तारापुञ्जमा भएका धेरैजसो ताराहरू सूर्यभन्दा धेरै साना छन्‌। तिनीहरूले पृथ्वीजस्तो ग्रहको लागि जीवन धान्‍न आवश्‍यक उचित प्रकारको प्रकाश र ताप दिन सक्दैनन्‌। यसको अतिरिक्‍त अधिकांश ताराहरू एकअर्कालाई गुरुत्वाकर्षण शक्‍तिले तानातान गरेर एक वा सोभन्दा बढीको समूहमा रहेर एकअर्काको परिक्रमा गर्छन्‌। तर सूर्य भने स्वतन्त्र तारा हो। यदि हाम्रो सौर्यमण्डललाई दुई वा सोभन्दा बढी सूर्यको गुरुत्वाकर्षणले असर गरेको भए यसमा निश्‍चय नै गडबडी हुनेथियो।

हाम्रो सौर्यमण्डल बेजोड हुनुको अर्को कारण यसमा वृत्ताकार कक्ष भएका ठूल्ठूला बाहिरी ग्रहहरू रहेको स्थानले गर्दा पनि हो। यसले गर्दा पृथ्वीजस्ता साना चट्टाने ग्रहहरूलाई यिनीहरूको गुरुत्वाकर्षणले कुनै खतरामा पार्दैन। a त्यसको सट्टा, यी ठूला बाहिरी ग्रहहरूले पृथ्वीको लागि घातकसाबित वस्तुहरू रोक्ने वा तिनीहरूको दिशा बदल्ने काम गर्छ। “केही शिशुग्रह र पुच्छ्रेताराहरूले पृथ्वीलाई ठक्कर त दिन्छन्‌ तर धेरै संख्यामा चाहिं होइन। यसको कारण सौर्यमण्डलमा वृहस्पति जस्ता ठूल्ठूला ग्यासीय ग्रहहरू पृथ्वीको पछिल्तिर भएकोले गर्दा हो” भनी वैज्ञानिक द्वय पिटर डि. वार्ड र डोनाल्ड ब्रनली आफ्नो पुस्तक रियर अर्थ—ह्वाई कम्प्लेक्स लाईफ इज अनकमन इन द युनिभर्स-मा बताउँछन्‌। ठूला ग्रहहरू भएका अन्य सौर्यमण्डलहरू पनि पत्ता लागेका छन्‌, तर तीमध्ये धेरैको कक्षले पृथ्वीजस्ता साना ग्रहहरूलाई खतरामा पार्छ।

चन्द्रमाको भूमिका

परापूर्व कालदेखि नै चन्द्रमाले मानिसजातिलाई चकित बनाएको छ। यसले कवि तथा सङ्‌गीतकारहरूलाई उत्प्रेरित गरेको छ। उदाहरणको लागि, एक प्राचीन हिब्रू कविले चन्द्रमालाई “सदाको निम्ति, र आकाशमा विश्‍वासी गवाहीझैं स्थिर” भनी वर्णन गरे।—भजन ८९:३७.

चन्द्रमाले पृथ्वीको जीवनलाई असर गर्ने एउटा महत्त्वपूर्ण तरिका यसको गुरुत्वाकर्षण शक्‍ति हो। यही शक्‍तिले गर्दा समुद्रमा ज्वारभाटा आउँछ अर्थात्‌ छाल उर्लने र सेलाउने गर्छ। यसरी ज्वारभाटा आउनु समुद्रको बहाबको लागि राम्रो मानिन्छ किनकि यसैद्वारा नै मौसम परिवर्तन हुन सकेको छ।

पृथ्वी आफ्नै अक्षमा स्थिर रहेर सूर्यको वरिपरि घुम्न सकेको चन्द्रमाको गुरुत्वाकर्षण शक्‍तिले गर्दा नै हो। नेचर नाउँ गरेको एउटा वैज्ञानिक पत्रिकाअनुसार चन्द्रमा नभएको भए कालान्तरमा गएर पृथ्वीको अक्षको ढल्काइ “लगभग ० [डिग्री] देखि ८५ [डिग्री] सम्म परिवर्तन हुन सक्थ्यो।” यदि पृथ्वीको अक्षमा ढल्काइ नभएको भए के हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! हो, हामीले मौसम परिवर्तनको मजा गुमाउने थियौं र पानीको पनि अभाव हुने थियो। पृथ्वीको ढल्काइले गर्दा तापक्रम पनि हामीले सहनै नसक्ने गरी असाध्यै बढ्‌न पाउँदैन। “एकनासले परिवर्तन भइरहने हाम्रो मौसमको श्रेय चन्द्रमालाई नै जान्छ” भन्‍ने निष्कर्षमा खगोलविद्‌ ज्याक लस्कर पुग्छन्‌। ठूल्ठूला ग्रह र तिनीहरूका चन्द्रमा अनि हाम्रो पृथ्वी र यसको चन्द्रमा तुलना गर्दा पृथ्वीको चन्द्रमा नै ठूलो भएकोले गर्दा यसले पृथ्वीलाई कक्षमा स्थिर गराउन सकेको हो।

बाइबलको पुरानो पुस्तक उत्पत्तिका लेखकअनुसार चन्द्रमाले अँध्यारोमा प्रकाश दिने काम पनि गर्छ।—उत्पत्ति १:१६.

संयोग वा उद्देश्‍यसहितको रचना?

पृथ्वीमा जीवन सम्भव पार्न मात्रै होइन तर जीवनलाई आनन्ददायी समेत बनाउन मदत दिने अरू कुराहरूको सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ नि? यस प्रश्‍नको केवल दुइटा उत्तर हुन सक्छ। पहिलो, यी सबै कुराहरू कुनै उद्देश्‍यविना आफ-से-आफ आएका हुन्‌। दोस्रो, यी सबै कुराहरू बनिनुमा कुनै बुद्धिमान्‌ व्यक्‍तिको हात छ।

हजारौं वर्षअगाडि नै पवित्र धर्मशास्त्र बाइबलले ब्रह्‍माण्ड सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताद्वारा बनाइएको हो भनी बताएको थियो। यदि यो कुरा साँचो हो भने, हाम्रो सौर्यमण्डल निश्‍चय नै कसैले योजना गरेर रचेको हो, आफ-से-आफ आएको हुँदै होइन। पृथ्वीमा जीवन सम्भव तुल्याउन सृष्टिकर्ताले के-के गर्नुभयो भनी हामीलाई उहाँले भनौं भने लिखित रिपोर्ट दिनुभएको छ। आजभन्दा ३,५०० वर्षअगाडि ब्रह्‍माण्डको इतिहाससम्बन्धी लेखिएको बाइबल विवरण आजका वैज्ञानिकहरूले पत्ता लगाएका कुराहरूसँग ठ्याक्कै मिल्छ। सायद यो कुरा थाह पाउँदा तपाईंलाई ताजुब लाग्ला। यो विवरण बाइबलको उत्पत्तिको पुस्तकमा पाइन्छ। यसले के भन्छ ध्यान दिनुहोस्‌।

सृष्टिबारे उत्पत्तिको विवरण

“आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) बाइबलको सुरुका यी शब्दहरूले हाम्रो ग्रहसहितको सौर्यमण्डलका साथै करोडौं तारापुञ्ज समावेश भएका सम्पूर्ण ब्रह्‍माण्डलाई जनाउँछ। बाइबलअनुसार एक समय “पृथ्वी आकार विनाको र शून्य थियो।” कुनै महादेश र उत्पादनशील जमिन थिएन। यसै अध्यायको दोस्रो पदमा वैज्ञानिकहरूले कुनै पनि ग्रहमा जीवन सम्भव हुनको लागि नभई नहुने भनेका कुरा अर्थात्‌ पानीबारे उल्लेख गरिएको पाउँछौं। “परमेश्‍वरका आत्मा पानीमाथि घुमिरहनुहुन्थ्यो” भनी उक्‍त पदले बताउँछ।—उत्पत्ति १:२.

सतहमा भएको पानी तरलकै रूपमा रहिरहन कुनै पनि ग्रह सूर्यबाट ठीक्कको दूरीमा हुनुपर्छ। “मङ्‌गल ग्रह धेरै चिसो छ भने शुक्र ग्रह चाहिं धेरै तातो, तर पृथ्वी भने ठीक्कको छ” भनी ग्रहहरूको अध्ययन गर्ने वैज्ञानिक एन्ड्रीउ ईगंरसोल बताउँछन्‌। त्यसै गरी बोटबिरुवाहरू हुर्कन र बढ्‌न पनि पर्याप्त उज्यालो नभई हुँदैन। चाखलाग्दो कुरा त के छ भने सृष्टिका सुरुका दिनहरूमा, सानो बच्चालाई ‘लपेटेझैं’ समुद्रमाथि ढाकेर बसेको बाक्लो बादललाई छेडेर परमेश्‍वरले सूर्यको प्रकाश पठाउनुभयो भनी बाइबल विवरण बताउँछ।—अय्यूब ३८:४, ९; उत्पत्ति १:३-५.

त्यसपछिका पदहरूमा सृष्टिकर्ताले “अन्तर” बनाउनुभयो भनेको पाउँछौं। (उत्पत्ति १:६-८) त्यो अन्तर ग्यासहरूले भरिएर पृथ्वीको वायुमण्डल बन्यो।

त्यसपछि परमेश्‍वरले ओबानो भूमि बनाउनको लागि आकारविनाको पृथ्वीमा परिवर्तन ल्याउनुभयो भनी बाइबल व्याख्या गर्छ। (उत्पत्ति १:९, १०) त्यसको मतलब, पक्कै पनि उहाँले पृथ्वीको सतहलाई हल्लाउनुभएको हुनुपर्छ। परिणामस्वरूप, गहिरो खाडल बनी समुद्रबाट जमिन निस्कियो।—भजन १०४:६-८.

परमेश्‍वरले युगौं अगाडि नै समुद्रमा लेउ जातिको अति सूक्ष्म जीव बनाउनुभयो। आफूजस्तै सन्तान उत्पादन गर्न सक्ने यी एककोषीय जीवहरूले सूर्यको शक्‍ति पाएर कार्बन डाइअक्साइडलाई आफ्नो आहारामा बदल्ने क्रममा अक्सिजन चाहिं वायुमण्डलमा फाल्न थाले। सृष्टिको तेस्रो दिनमा वनस्पतिहरू सृष्टि गरिंदा यो आश्‍चर्यजनक प्रक्रिया झन्‌-झनै छिटो हुन थाल्यो। अन्ततः वनस्पतिहरूले पूरै जमिन ढाके। फलतः वायुमण्डलमा अक्सिजनको मात्रा बढ्यो जसले गर्दा मानिस र पशुप्राणीहरूले सास फेर्न सके र जीवित भए।—उत्पत्ति १:११, १२.

जमिनलाई उत्पादनशील बनाउन सृष्टिकर्ताले माटोमा विभिन्‍न किसिमका सूक्ष्मजीवहरू सृष्टि गर्नुभयो। (यर्मिया ५१:१५) यी सूक्ष्मजीवहरूले मरेका जीवहरू र अन्य सड्‌न सक्ने तत्त्वहरूलाई कुहाउँछन्‌ जसले गर्दा बोटबिरुवाहरू राम्ररी हुर्कन सक्छन्‌। माटोमा पाइने विशेष किसिमका जीवाणुहरूले बोटबिरुवालाई हुर्कन चाहिने नाइट्रोजन हावाबाट सोस्छन्‌। अचम्मलाग्दो कुरा, एक मुठी मलिलो माटोमा मात्रै लगभग छ अरब सूक्ष्मजीवहरू हुन्छन्‌!

उत्पत्ति १:१४-१९ ले सृष्टिको चौथो दिनमा सूर्य, चन्द्रमा र ताराहरू बनिए भनी बताउँछ। झट्ट हेर्दा त बाइबलको यो विवरण यसअघिका विवरणहरूसँग बाझिएको जस्तो देखिएला। तर यो कुरा मनमा राख्नुहोस्‌, उत्पत्तिका लेखक मोशाले सृष्टिका विवरणहरू मानिसको दृष्टिकोणबाट लेखेका थिए। सूर्य, चन्द्रमा र ताराहरू पृथ्वीबाट त्यही बेलादेखि मात्र देखिएको हुनुपर्छ।

उत्पत्तिको विवरणले समुद्री जीवहरू सृष्टिको पाँचौं दिनमा र जमिनमा बस्ने प्राणी र मानिस छैठौं दिनमा सृजिएको भन्छ।—उत्पत्ति १:२०-३१.

मानिसजातिले आनन्द उठाउन्‌ भनी पृथ्वी रचिएको थियो

उत्पत्तिको विवरण केलाउँदा के तपाईंलाई आफ्नो जीवन आनन्द उठाउनको लागि बनाइएको रहेछ जस्तो लागेन? के तपाईंले कहिल्यै बिहानीको घामसँगै स्वच्छ हावामा सास फेर्दै जीवन पाएकोमा आनन्द महसुस गर्नुभएको छ? सायद तपाईं सुन्दर बगैंचामा हिंड्‌नुभएको होला र त्यहाँका फूलहरूको सुन्दरता र मीठो बास्नामा रमाउनु पनि भएको होला। अथवा फलफूल बारीमा घुम्दै स्वादिलो फल टिप्नुभएको होला। तर यस्ता रमाइला क्षणहरू सम्भव हुने थिएनन्‌, यदि यी कुराहरू नभई दिएको भए: (१) पृथ्वीमा प्रशस्त पानी, (२) सूर्यबाट ठीक्क मात्रामा ताप र प्रकाश, (३) वायुमण्डलमा ठीक्क मात्रामा ग्यासहरूको सम्मिश्रण र (४) मलिलो माटो।

यी विशेषताहरू मङ्‌गल, शुक्र र हाम्रा सौर्य मण्डलका अन्य ग्रहहरूमा पाइँदैनन्‌। त्यसैले हामी भन्‍न सक्छौं, यी कुराहरू आफ-से-आफ आएको हुँदै होइन। पृथ्वीमा जीवनलाई आनन्दमय बनाउन यिनीहरूलाई सुव्यवस्थित ढंगमा रचिएको थियो। हाम्रो सुन्दर ग्रहलाई सधैंभरि रहिरहनको निम्ति सृष्टिकर्ताले रचना गर्नुभएको हो भनी बाइबलले बताएको कुरालाई यसपछिको लेखले स्पष्ट पार्नेछ। (w 07 2/15)

[फुटनोट]

a हाम्रो सौर्यमण्डलका चारवटा भित्री ग्रहहरू—बुध, शुक्र, पृथ्वी र मङ्‌गलको सतह चट्टाने हुने भएकोले यिनीहरूलाई चट्टाने ग्रह पनि भनिन्छ। वृहस्पति, शनि, अरूण र वरूण भने ठूल्ठूला बाहिरी ग्रहहरू हुन्‌। यिनीहरू मुख्यतया ग्यासले बनिएका छन्‌।

[पृष्ठ ६-मा भएको पेटी]

“म एक भूगर्भविद्‌लाई उत्पत्तिको पुस्तक लेखिएको बेलाको जस्तै नम्र र सीधा-साधा मान्छेहरूले बुझ्ने तरिकामा पृथ्वी र यसमा जीवनको सुरुआतसम्बन्धी आधुनिक विचारधारा बताउन लगाइएमा, उत्पत्तिको पहिलो अध्यायमा जस्तो सरल भाषाशैली छ, त्योभन्दा सरल तरिकामा त मैले जत्ति नै प्रयास गरे पनि बताउन सक्दिनँ थिएँ।”—भूगर्भविद्‌ वालेस प्राट।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

खगोलविज्ञानको लागि पनि अति उपयुक्‍त!

यदि सूर्य हाम्रो तारापुञ्जको अरू कतैतिर भएको भए हामीले यत्ति राम्रोसँग ताराहरू देख्ने थिएनौं। द प्रिभिलेज्ड प्लानेट पुस्तकअनुसार “हाम्रो सौर्यमण्डल यसको स्थानले गर्दा . . . धूलो र अत्यधिक प्रकाशद्वारा हुन सक्ने प्रदूषणबाट मुक्‍त छ जसले गर्दा हामी नजिकैका ताराहरू र ब्रह्‍माण्डको टाढा-टाढाको भागसमेत सफासँग देख्न सक्छौं।”

त्यसबाहेक, पृथ्वीबाट चन्द्रमाको ठीक्कको दूरी र यसको साइजले गर्दा सूर्य ग्रहणको बेला चन्द्रमाले सूर्यलाई ठ्याक्क छेक्छ। कहिलेकाहीं मात्र हुने यी आश्‍चर्यजनक घटनाहरूको कारण खगोलविद्‌हरूले सूर्यको अध्ययन गर्न सकेका छन्‌। यस्ता अध्ययनहरूले ताराहरू कसरी चम्कन्छन्‌ भन्‍नेबारे रहस्यमा रहेका गहिरा–गहिरा कुराहरू खोल्न पनि तिनीहरूलाई मदत गरेको छ।

[पृष्ठ ५-मा भएको चित्र]

पृथ्वीलाई आफ्नो अक्षमा स्थिर रहेर ढल्किन चन्द्रमाको आकारले मदत गर्छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

के कारणले पृथ्वीमा जीवन सम्भव भएको हो? यसमा भएको प्रशस्त पानी, ठीक्क मात्राको प्रकाश र ताप, वायुमण्डल र मलिलो माटो

[स्रोत]

Globe: Based on NASA Photo; wheat: Pictorial Archive (Near Eastern History) Est.