सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपयोगी जवाफ!

उपयोगी जवाफ!

उपयोगी जवाफ!

आफैले पढेर मदत लिने उद्देश्‍यले छापिएका ती असंख्य पुस्तकहरूले दिने सल्लाह-सुझावहरू समस्यामा परेका व्यक्‍तिहरूप्रति मात्रै लक्षित हुन्छन्‌। तर बाइबल भने यस सन्दर्भमा बिलकुलै फरक छ। हुन त यसको सल्लाहले दुःखमा परेकाहरूलाई औषधीकै काम गर्छ तर यसले त्योभन्दा अझ बढी केही गर्छ। यसले हामीलाई अनावश्‍यक तरिकामा जीवन जटिल बनाउने गल्ती गर्नबाट जोगिन मदत गर्छ।

बाइबलले ‘सोझाहरूलाई [“अनुभवविहीन,” NW] चतुस्याइँ र युवकहरूलाई ज्ञान र विवेकले परिपूर्ण पार्छ।’ (हितोपदेश १:४) यदि तपाईंले बाइबलको सल्लाह लागू गर्नुभयो भने, ‘विवेकले तपाईंको हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तपाईंको रक्षा गर्नेछ। त्यसले तपाईंलाई खराब चालबाट जोगाउनेछ।’ (हितोपदेश २:११, १२) बाइबलको सल्लाह जीवनमा लागू गर्दा यसले कसरी तपाईंलाई स्वस्थ रहन, तपाईंको पारिवारिक जीवन सुधार्न, तपाईंलाई अझ राम्रो कामदार र मालिक अर्थात्‌ रोजगारदाता बन्‍न मदत गर्छ, त्यसबारे केही खास उदाहरणहरूलाई विचार गर्नुहोस्‌।

अचाक्ली रक्सी नपिउनुहोस्‌

ठीक्क मात्रामा रक्सी पिउनुलाई बाइबलले आपत्तिजनक मान्दैन। प्रेरित पावलले जवान तिमोथीलाई “तिम्रो पेटको खातिर र घरिघरि बिरामी भएकोले गर्दा ता अलि अलि दाखमद्य पिउने गर” भनी सल्लाह दिंदा रक्सीको उपचारात्मक फाइदालाई उल्लेख गरे। (१ तिमोथी ५:२३) रक्सीलाई केवल औषधीको रूपमा मात्रै प्रयोग गरोस्‌ भन्‍ने चाहना परमेश्‍वरले राख्नुभएको थिएन भनी बाइबलका अन्य पदहरूले स्पष्ट पार्छ। रक्सीले “मानिसको मन खुश” पनि गराउँछ भनेर बाइबल बताउँछ। (भजन १०४:१५) तर बाइबलले ‘रक्सी धेरै नपिउन’ अर्थात्‌ रक्सीको दास नबन्‍न चेतावनी दिएको छ। (तीतस २:३) बाइबल भन्छ: “मतवाला अथवा घिचुवाहरूको सङ्‌गत नगर्‌। किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ।” (हितोपदेश २३:२०, २१) यस्तो सन्तुलित सल्लाह नमान्दा नतिजा कस्तो होला? केही मुलुकका तथ्यांकलाई ध्यान दिनुहोस्‌।

विश्‍व स्वास्थ्य संघको २००४ मा प्रकाशित एउटा रिपोर्टअनुसार “रक्सीको कारण आइरल्याण्डका मानिसहरूको प्रति वर्ष सालाखाला २ अरब ४० करोड यूरो [३ अरब अमेरिकी डलर] खर्च हुन्छ।” यो थामी नसक्नुको खर्चमा “स्वास्थ्यसम्बन्धी खर्च (२० करोड ७९ लाख यूरो), सवारी दुर्घटनाले गर्दा हुने खर्च (३० करोड १५ लाख यूरो), रक्सीको कारण हुने आपराधिक घटनाहरूमा खर्च (१० करोड यूरो) र रक्सी पिएको कारण काममा उपस्थित हुन नसकेर उत्पादनमा हुने घाटा (१ अरब ३ करोड ४० लाख यूरो) पर्दछ” भनी उक्‍त रिपोर्ट बताउँछ।

रक्सीको दुरुपयोगले हुने आर्थिक हानि त एकातिर छँदैछ। त्योभन्दा पनि ठूलो हानि त यसले गर्दा मानिसले भोग्नुपर्ने दुःखहरू हुन्‌। रक्सीकै असरले गर्दा अस्ट्रेलियामा एक वर्षमा ५ लाख भन्दा बढी मानिसहरू शारीरिक दुर्व्यवहारको शिकार हुन पुगे। त्यसै गरी फ्रान्सको कुरा गर्ने हो भने, ३० प्रतिशत जति घरेलु हिंसाको कारण रक्सीको दुरुपयोग नै हो भनिन्छ। यी तथ्यहरूलाई मध्यनजर गरेर हेर्दा, के तपाईंलाई बाइबलले रक्सीको विषयमा दिएको सल्लाह व्यावहारिक छ जस्तो लागेन?

अशुद्ध बानीहरू त्याग्नुहोस्‌

सन्‌ १९४२ ताका जतिबेला धूम्रपानलाई फेसनकै रूपमा हेरिन्थ्यो, त्यतिबेला नै यस प्रहरीधरहरा पत्रिकाले सुर्तीजन्य पदार्थ सेवन गर्नु बाइबलको सिद्धान्त विपरीत हो र यसलाई त्याग्नुपर्छ भनी पाठकहरूलाई बुझ्न मदत दिएको थियो। सोही वर्ष प्रकाशित एउटा अर्को लेखले परमेश्‍वरलाई खुसी पार्न चाहनेहरू सबैले “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट . . . आफैलाई शुद्ध” पार्नुपर्छ भनी तर्क गरेको थियो। (२ कोरिन्थी ७:१) यो सल्लाह दिइएको पनि ६५ वर्ष बितिसक्यो, तर के यो अझै पनि कामलाग्दो छैन र?

विश्‍व स्वास्थ्य संघले सन्‌ २००६ मा दिएको एउटा रिपोर्टअनुसार “संसारमा मृत्युको दोस्रो मुख्य कारण” सुर्तीजन्य पदार्थहरूको प्रयोग हो। हरेक वर्ष लगभग ५० लाख मानिसहरू यसको सेवनले गर्दा मर्ने गर्छन्‌। तर एच आई भी/एड्‌सले एक वर्षमा मर्ने मानिसहरू ३० लाख मात्र छन्‌। बीसौं शताब्दीको मात्र कुरा गर्ने हो भने, धूम्रपानले अनुमानित १० करोड मानिसको ज्यान लियो। यो संख्या त्यस शताब्दीमा युद्धको कारण मर्नेहरूको संख्या बराबर हो। निश्‍चय नै, सुर्तीजन्य पदार्थबाट अलग बस्नुपर्ने कुरालाई आज कहीं पनि नकार्न सकिन्‍न।

‘व्यभिचारदेखि अलग रहनुहोस्‌’

धेरै व्यक्‍तिहरू यौनबारे बाइबलले भन्‍ने कुरा त्यति सजिलै स्वीकार्न चाँहदैनन्‌। तर धेरैले विश्‍वास गरेझैं बाइबलले यौन चाहना नै गलत हो भनी भन्दैन। तर, यसले यौनको विषयमा व्यावहारिक सल्लाह दिन्छ। यौन सम्बन्ध विवाहित जोडीहरूबीच मात्र राख्नुपर्छ भनी बाइबल बताउँछ। (उत्पत्ति २:२४; मत्ती १९:४-६; हिब्रू १३:४) विवाहित जोडीहरूबीचको यौन सम्बन्धले एकअर्कामा माया र कोमल स्नेह देखाउने मौका दिन्छ। (१ कोरिन्थी ७:१-५) एकअर्काको चासो राख्ने यस्ता आमाबाबुबाट जन्मिएका छोराछोरीले पनि लाभ उठाउँछन्‌।—कलस्सी ३:१८-२१.

जथाभावी यौन सम्बन्ध राख्नेबारे बाइबल भन्छ: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१८) यसको एउटा कारण के हो? यसै पद थप यसो भन्छ: “अरू जुनसुकै पाप जो मानिसले गर्दछ त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।” यौनसम्बन्धी बाइबलले दिने सल्लाहलाई अवहेलना गर्दा नतिजा कस्तो हुन्छ?

अमेरिकामा के भइरहेको छ, एकछिन विचार गर्नुहोस्‌। किशोरावस्थामै गर्भवती हुने किशोरीहरूको कुरा गर्नुपर्दा, औद्योगिक मुलुकमध्ये अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ हरेक वर्ष करिब ८ लाख ५० हजार किशोरीहरू गर्भवती हुने गर्छन्‌। अनि यीमध्ये कतिपयको त गर्भपतन गरिन्छ र नगरिएका धेरैजसो बच्चाहरू पनि अविवाहित आमाहरूबाट जन्मिएका हुन्छन्‌। यसरी जन्मिएका बच्चाहरूलाई माया र अनुशासन दिई हुर्काउन ती थुप्रै कलिला आमाहरूले पक्कै पनि सक्दो गर्छन्‌ र केही त सफल पनि हुन्छन्‌। तरै पनि एउटा तीतो सत्य चाहिं के छ भने, किशोरी आमाबाट जन्मेका अधिकांश छोराहरू पछि गएर जेलको चिसो छिंडीमा कोचिने र छोरीहरू चाहिं आमाझैं किशोरावस्थामै गर्भवती हुने सम्भावना बढी रहन्छ। बितेका थुप्रै वर्षको तथ्याकंलाई केलाएर हेरेपछि अनुसन्धानकर्ता रबर्ट लरम्यानले लेखे: “आमा वा बुबा मात्रै भएको परिवार बढेकोले गर्दा बीचैमा स्कूल छोड्‌ने, रक्सी र लागूपदार्थको कुलतमा फस्ने, उमेरै नपुगी गर्भवती हुने र बच्चा जन्माउने अनि बाल अपराधमा लाग्ने जस्ता सामाजिक विकृतिहरू बढेको हुन सक्छ।”

जथाभावी यौन सम्बन्ध राख्दै हिंड्‌नेहरूले गम्भीर शारीरिक र मानसिक समस्याहरू पनि झेल्छन्‌। उदाहरणको लागि, पेडिएट्रिक्स पत्रिका यसो भन्छ: “तथ्यांकले देखाएअनुसार जथाभावी यौन सम्बन्ध राख्ने किशोर-किशोरीमा डिप्रेसन र आत्महत्याको सम्भावना बढी हुन्छ।” अन्य स्वास्थ्य समस्याहरूबारे, अमेरिकन सोसल हेल्थ असोसियशन भन्‍ने एउटा संस्था यसो भन्छ: “[अमेरिकाका] आधाभन्दा बढी मानिसलाई आफ्नो जीवनको कुनै न कुनै समयमा यौनजन्य रोग लाग्नेछ।” यौनसम्बन्धी बाइबलको व्यावहारिक सल्लाहलाई मानेको भए दुःख-पीडाबाट बच्न सकिने थियो नि, होइन र?

पारिवारिक सम्बन्धलाई बलियो बनाउनुहोस्‌

बाइबलले हानिकारक बानीहरूबारे मात्रै चेतावनी दिंदैन। पारिवारिक जीवनको गुणस्तर बढाउने सन्दर्भमा बाइबलले दिएको सल्लाहलाई पनि ध्यान दिनुहोस्‌।

परमेश्‍वरको वचन भन्छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।” (एफिसी ५:२८) पत्नीलाई तुच्छ ठान्‍नुको सट्टा, ‘निर्बल पात्रलाई जस्तो आदर दिई बुद्धिमानीसाथ आफ्ना पत्नीसँग बस्न’ पतिहरूलाई सम्झाइएको छ। (१ पत्रुस ३:७) आइपर्न सक्ने सानातिना कलहको बारेमा पतिहरूलाई यस्तो सल्लाह दिइएको छ: “पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।” (कलस्सी ३:१९) यो सल्लाह लागू गर्ने पतिले आफ्नी पत्नीबाट माया र आदर पाउनेछन्‌ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न?

पत्नीहरूलाई चाहिं बाइबल यस्तो निर्देशन दिन्छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ . . . पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌।” (एफिसी ५:२२, २३, ३३) पतिसँग बोल्दा होस्‌ वा पतिको बारेमा अरूसँग कुरा गर्दा नै किन नहोस्‌, यो सल्लाह पालन गर्ने पत्नीले आफ्नो पतिबाट अझ बढी माया नपाउलिन्‌ र?

बच्चाहरूलाई प्रशिक्षण दिनेबारे तपाईं आमाबाबुलाई बाइबलमा सल्लाह दिइएको छ। त्यो हो, आफ्ना छोराछोरीसँग “घरमा बस्ता, बाटोमा हिंड्‌दा, ढल्केर बस्ता र उठ्‌दा” कुराकानी गर्नु। (व्यवस्था ६:७) छोराछोरीलाई नैतिकतासम्बन्धी निर्देशन र मायालु अनुशासन दिनू भनेर विशेष गरी बुबाहरूलाई निर्देशन दिइएको छ। “बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर” भनी परमेश्‍वरको वचन भन्छ। (एफिसी ६:४) छोराछोरीलाई चाहिं यसो भनिएको छ: “आफ्ना आमा-बाबुको आज्ञा पालन गर,” र “आफ्ना बाबु र आमाको मान गर।” aएफिसी ६:१, २.

यो सल्लाह लागू गर्दा परिवारहरूले लाभ उठाउँछन्‌ जस्तो के तपाईंलाई लाग्छ? तपाईं भन्‍नुहोला ‘अवश्‍य पनि, तर भन्‍न जति सजिलो गर्न कहाँ हुन्छ र?’ हामी तपाईंलाई तपाईंकै इलाकामा भएको यहोवाका साक्षीहरूको राज्यभवनमा आएर हेर्न आमन्त्रित गर्छौं। त्यहाँ तपाईंले बाइबलका बुद्धिमानी सल्लाह लागू गर्न प्रयास गरिरहेका परिवारहरू देख्नुहुनेछ। उनीहरूसँग कुराकानी गर्नुहोस्‌। परिवारका सदस्यहरू एकअर्कासँग कस्तो व्यवहार गर्दा रहेछन्‌, नियाल्नुहोस्‌। बाइबलका सिद्धान्तहरू लागू गर्दा परिवार साँच्चै नै सुखी हुन्छ भन्‍ने कुरा तपाईं आफैले देख्नुहुनेछ!

मेहनती कामदार र इमानदार मालिक

काममा टिकिरहनको निम्ति दिनहुँ आइपर्ने चुनौतीको विषयमा बाइबलले के भन्छ? सिपालु कामदारले कदर र इनाम पाउँछन्‌ भनेर बाइबल बताउँछ। “आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्‌?” भनी बुद्धिमान्‌ राजा सुलेमान प्रश्‍न गर्छन्‌। “त्यसले राजाहरूका सामु सेवा गर्नेछ” भनी उनी जवाफ दिन्छन्‌। (हितोपदेश २२:२९, NRV) अर्कोतर्फ, ‘अल्छे दास त्यसका मालिकको निम्ति धुवाँले आँखा पिराएझैं’ हुन्छ। (हितोपदेश १०:२६) कामदारहरूलाई इमानदार र मेहनती हुन बाइबल प्रोत्साहन दिन्छ। ‘चोर्नेले फेरि नचोरोस्‌, बरु त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरोस्‌।’ (एफिसी ४:२७, २८) यो सल्लाह मालिकले हेरिरहेका छैनन्‌ भने पनि लागू हुन्छ। “आँखाका अगाडि मानिसहरूलाई खुशी तुल्याउने जस्तैगरी होइन, तर प्रभुको डर मानेर शुद्ध हृदयसाथ सबै कुरामा शरीरअनुसार तिमीहरूका मालिकहरूका आज्ञा पालन गर।” (कलस्सी ३:२२) तपाईं मालिक हुनुहुन्छ भने यो सल्लाह पालन गर्ने कामदारको के तपाईं मोल गर्नुहुन्‍न र?

मालिकहरूलाई चाहिं बाइबल यसो भन्छ: “खेताला ज्यालाको योग्य हुन्छ।” (१ तिमोथी ५:१८) आफ्ना कामदारहरूलाई ठीक समयमै उचित ज्याला दिनू भनेर परमेश्‍वरको व्यवस्थाले इस्राएली मालिकहरूलाई निर्देशन दिएको थियो। “तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्‌नू। ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌” भनी मोशाले लेखे। (लेवी १९:१३) बाइबलको यो सल्लाह पालन गरेर तपाईंलाई ठीक समयमै उचित ज्याला दिने मालिककहाँ काम गर्न के तपाईंलाई आनन्द लाग्दैन?

बुद्धिको सर्वोत्तम स्रोत

बाइबल जस्तो अत्यन्तै पुरानो पुस्तकले अहिलेको समयको लागि समेत एकदमै व्यावहारिक सल्लाह दिएकोमा के तपाईं छक्क पर्नुभयो? अन्य पुराना पुस्तकहरू अव्यावहारिक साबित हुनु तर बाइबल चाहिं त्यसो नहुनुको मुख्य कारण, यो मानिसको नभई “परमेश्‍वरको वचन” हो।—१ थिस्सलोनिकी २:१३.

परमेश्‍वरको वचनसँग अझ राम्ररी परिचित हुनको लागि हामी तपाईंलाई समय निकाल्न आग्रह गर्छौं। यसो गर्नुभएमा, तपाईंले बाइबलका लेखक यहोवा परमेश्‍वरसँग नजिकिएको अनुभूति गर्न थाल्नुहुनेछ। त्यसैले उहाँले दिनुभएका सर-सल्लाह जीवनमा लागू गर्नुहोस्‌। यसो गर्नुभयो भने विभिन्‍न खतराहरूबाट जोगिएको र जीवनमा सुधार आएको अनुभव गर्नुहुनेछ। यसो गर्दा तपाईं ‘परमेश्‍वरको नजिक आइरहनु भएको हुनेछ र उहाँ पनि तपाईंको नजिक आउनुहुनेछ।’ (याकूब ४:८) हो, अरू कुनै पनि पुस्तकले तपाईंलाई यस्तो मदत दिन सक्दैन! (w07 4/1)

[फुटनोट]

a तपाईंको परिवारलाई मदतकारी हुन सक्ने बाइबल सिद्धान्तको विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तक हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

रक्सीसम्बन्धी बाइबलको धारणा के तपाईंलाई व्यावहारिक लाग्छ?

[पृष्ठ ५-मा भएको चित्र]

सुर्तीजन्य पदार्थ त्याग्नुपर्ने बाइबलको सल्लाहसँग के तपाईं सहमत हुनुहुन्छ?

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलको सल्लाह लागू गर्दा पारिवारिक जीवनमा सुधार आउँछ

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Globe: Based on NASA photo