सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌

ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌

ख्रीष्ट र उहाँका विश्‍वासी दासप्रति वफादार हुनुहोस्‌

“त्यसको मालिकले . . . त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।”—मत्ती २४:४५-४७.

१, २. (क) बाइबलले बताएअनुसार हाम्रो नेता को हुनुहुन्छ? (ख) येशूले सक्रियतासाथ मसीही मण्डलीको अगुवा गर्नुहुन्छ भनेर कसरी भन्‍न सक्छौं?

 “तिमीहरूलाई कसैले ‘नेता’ नभनोस्‌ किनकि तिमीहरूका एक मात्र नेता ख्रीष्ट हुनुहुन्छ।” (मत्ती २३:१०, द न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिश) यी शब्दहरूद्वारा येशूले आफ्ना अनुयायीहरूलाई पृथ्वीमा अरू कोही पनि तिनीहरूको नेता हुनेछैन भनेर स्पष्ट पार्नुभयो। तिनीहरूका एक मात्र नेता स्वर्गमा हुनुहुने येशू ख्रीष्ट स्वयम्‌ हुनुहुने थियो। येशूलाई नेताको रूपमा परमेश्‍वरले नियुक्‍त गर्नुभएको हो। यहोवाले ‘ख्रीष्टलाई मुर्दाहरूबाट बिउँताउनुभयो र उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो, जो उहाँको शरीर हो।’—एफिसी १:२०-२३.

मसीही मण्डलीमा ख्रीष्ट “सबै कुराको शिर” हुनुभएकोले त्यहाँ हुने सबै कुरामाथि उहाँको अधिकार छ। मण्डलीमा हुने कुनै पनि कुरा उहाँको नजरबाट लुक्दैन। उहाँले हरेक मसीही मण्डलीको आध्यात्मिक अवस्थामा गहिरो चासो राख्नुहुन्छ। यो कुरा, इस्वी संवत्‌ प्रथम शताब्दीको अन्ततिर प्रेरित यूहन्‍नालाई दिइएको दर्शनबाट प्रस्ट हुन्छ। सातैवटा मण्डलीलाई येशूले तिनीहरूका काम र राम्रो गुण अनि कमजोरीबारे आफूलाई थाह छ भनेर पाँचचोटि भन्‍नुभयो र त्यहीअनुसार उहाँले तिनीहरूलाई प्रोत्साहन र सल्लाह दिनुभयो। (प्रकाश २:२, ९, १३, १९; ३:१, ८, १५) त्यसै गरी येशूलाई एसिया माइनर, प्यालेस्टाइन, सिरिया, बेबिलोन, ग्रीस, इटाली र अन्य ठाउँका मण्डलीहरूको आध्यात्मिक अवस्थाबारे पनि थाह थियो भनेर विश्‍वास गर्ने हामीसित हर कारण छ। (प्रेरित १:८) आज नि?

विश्‍वासी दास

३. ख्रीष्टलाई शिरसित र मण्डलीलाई शरीरसित तुलना गर्नु किन उपयुक्‍त छ?

उहाँको पुनरुत्थानपछि र स्वर्गमा आफ्नो पिताकहाँ फर्कनु केही समयअघि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” उहाँले यसो पनि भन्‍नुभयो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१८-२०) उहाँले तिनीहरूका शिर भएर सक्रियतासाथ अगुवा गरिरहनु हुनेथियो। एफिसस र कलस्सीका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले मसीही मण्डलीलाई “शरीर[सित]” तुलना गरे जसको शिर ख्रीष्ट हुनुहुन्छ। (एफिसी १:२२, २३; कलस्सी १:१८) बाइबलसम्बन्धी एउटा प्रकाशनले बताएअनुसार (क्याम्ब्रिज बाइबल फर स्कूल्स्‌ एण्ड कलेजेस्‌) मण्डलीलाई शरीरसित तुलना गर्नुले के कुरालाई बुझाउँछ भने, “मण्डलीका सदस्यहरू मण्डलीका शिरसित एकतामा बाँधिनु त महत्त्वपूर्ण छ नै, त्यसको अलावा उक्‍त शिरले आफ्ना सदस्यहरूलाई निर्देशन पनि दिनुहुन्छ। ती सदस्यहरू उहाँका साधन हुन्‌।” सन्‌ १९१४ मा राज्य शक्‍ति पाएदेखि यता ख्रीष्टले कुन समूहलाई आफ्नो साधनको रूपमा चलाउँदै आउनुभएको छ?—दानियल ७:१३, १४.

४. मलाकीले भविष्यवाणी गरेझैं यहोवा र येशू ख्रीष्ट आध्यात्मिक मन्दिरको निरीक्षण गर्न आउनुहुँदा के भेट्टाउनुभयो?

यहोवा, ‘जसलाई मानिसहरू खोज्दैछन्‌’ उहाँ भर्खरै राजा हुनुभएका आफ्ना पुत्र येशू ख्रीष्ट अर्थात्‌ ‘करारका दूतसित’ “मन्दिर” अर्थात्‌ उपासना गर्ने आध्यात्मिक घरको निरीक्षण र इन्साफ गर्न आउनुहुनेछ भनी मलाकीले भविष्यवाणी गरे। “परमेश्‍वरकै परिवारबाट शुरू भएर इन्साफ हुने बेला” सन्‌ १९१८ मा सुरु भयो। a (मलाकी ३:१; १ पत्रुस ४:१७) पृथ्वीमा परमेश्‍वर र उहाँको साँचो उपासनाको प्रतिनिधित्व गरेको दाबी गर्नेहरूको उचित जाँच गरियो। सयौं वर्षदेखि परमेश्‍वरको अनादर हुने शिक्षाहरू सिकाउँदै आएका र प्रथम विश्‍वयुद्धको दौडान भएका नरसंहारमा पूरै मुछिएका चर्चहरूलाई तिरस्कार गरियो। पृथ्वीमा बाँकी रहेका आत्मा-अभिषिक्‍त विश्‍वासी मसीहीहरूलाई आगोमा खारिएझैं जाँच गरियो र तिनीहरूले “धर्मसित परमप्रभुमा भेटी चढाउने” मानिसहरू हुन अनुमोदन पाए।—मलाकी ३:३.

५. येशूले आफ्नो ‘उपस्थितिबारे’ दिनुभएको भविष्यवाणीमा भनिएझैं विश्‍वासी “दास” को साबित भए?

मलाकीको भविष्यवाणीमा भनिएझैं येशूले आफ्नो “आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको” समय चिन्‍न चेलाहरूलाई दिनुभएको विभिन्‍न चिह्नहरूमा “दास” वर्गको चिनारी पनि समावेश थियो। येशूले यसो भन्‍नुभयो: “विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।” (मत्ती २४:३, ४५-४७) सन्‌ १९१८ मा ‘दासको’ जाँच गर्न ‘आउनुहुँदा’ ख्रीष्टले पृथ्वीमा बाँकी रहेका आत्मा-अभिषिक्‍त विश्‍वासी चेलाहरू भेट्टाउनुभयो जसले सन्‌ १८७९ देखि यस प्रहरीधरहरा पत्रिका र अन्य बाइबल आधारित प्रकाशनहरू मार्फत “ठीक ठीक समयमा” आध्यात्मिक भोजन दिइरहेका थिए। उहाँले तिनीहरूलाई आफूले चलाउने साधन अर्थात्‌ ‘दासको’ रूपमा स्वीकार्नुभयो र पृथ्वीमा भएको आफ्नो सारा सम्पत्तिको हेरचाह गर्ने जिम्मेवारी सन्‌ १९१९ मा सुम्पनुभयो।

पृथ्वीमा भएको ख्रीष्टको सम्पत्तिको हेरचाह गर्ने

६, ७. (क) विश्‍वासी ‘दासलाई’ बुझाउन येशूले अर्को कुन शब्द चलाउनुभयो? (ख) येशूले चलाउनुभएको “भण्डारे” शब्दले कुन कुरालाई बुझाउँछ?

पृथ्वीमा उहाँको प्रतिनिधित्व गर्ने ‘दासको’ अस्तित्वलगायत उहाँको उपस्थितिबारे भविष्यवाणी गर्नुभन्दा केही महिनाअघि येशूले उक्‍त दासलाई बुझाउन अर्कै शब्द चलाउनुभयो। यस शब्दले दासको जिम्मेवारी के हो भनेर खुलाउँछ। येशूले भन्‍नुभयो: “त्यो विश्‍वासी र बुद्धिमान भण्डारे को हो? जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय समयमा तिनीहरूका भोजन दिनलाई खटाएका छन्‌। म तिमीहरूलाई साँच्चै भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अख्तियार दिनेछन्‌।”—लूका १२:४२, ४४.

यहाँ दासलाई भण्डारे भनिएको छ। मूल युनानी भाषामा यस शब्दले “घरपरिवार वा सम्पत्तिको रेखदेख गर्ने र बन्दोबस्त मिलाउने मान्छे”-लाई बुझाउँछ। भण्डारेहरू बाइबलको चाखलाग्दा विषयहरू बुझाइदिने बौद्धिक व्यक्‍तिहरूको समूह मात्र त होइन। ‘विश्‍वासी भण्डारेले’ “ठीक ठीक समयमा” पोषिलो आध्यात्मिक भोजन त दिन्छन्‌ नै। त्यसको अलावा तिनीहरूलाई ख्रीष्टका सबै सेवकहरूमाथि नियुक्‍त गरिने थियो र पृथ्वीमा भएको उहाँको “सारा सम्पत्ति[को]” हेरचाह गर्ने जिम्मेवारी पनि दिइने थियो। ख्रीष्टको सारा सम्पत्ति भनेको के हो?

८, ९. दासलाई हेरचाह गर्ने जिम्मा दिइएको “सम्पत्ति” के-के हुन्‌?

दासको जिम्मेवारीमा ख्रीष्टका अनुयायीहरूले मसीही गतिविधिलाई अघि बढाउनको लागि प्रयोग गर्ने भौतिक संरचनाको रेखदेख गर्नु पनि समावेश छ। जस्तै, यहोवाका साक्षीहरूको मुख्यालय, शाखा कार्यालयहरू र संसारभरि रहेका उपासनाका स्थलहरू जसमा राज्यभवन तथा सम्मेलन भवनहरू पर्छन्‌। अझै महत्त्वपूर्ण, ती दासले बाइबल अध्ययन कार्यक्रमहरूको पनि निरीक्षण गर्छन्‌। जस्तै: हप्तामा हुने सभाहरू र नियमित रूपमा हुने सम्मेलन तथा अधिवेशनहरू। यस्ता कार्यक्रमहरूले विश्‍वासलाई बलियो बनाउँछ। यस्ता जमघटमा बाइबल भविष्यवाणीहरूको पूर्तिबारे जानकारी दिनुका साथै दैनिक जीवनमा बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सकिन्छ भनेर समय सुहाउँदो निर्देशन दिइन्छ।

‘राज्यको सुसमाचार’ प्रचार गर्ने र “सबै देशका जातिहरूलाई चेला बनाउने” एकदमै महत्त्वपूर्ण कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि भण्डारेकै हो। यसमा मण्डलीको शिर ख्रीष्टले अन्तको समयको दौडान गर्नू भनी आज्ञा गर्नुभएका कुरा मानिसहरूलाई सिकाउनु पनि समावेश छ। (मत्ती २४:१४; २८:१९, २०; प्रकाश १२:१७) प्रचार गर्ने तथा सिकाउने कामले गर्दा नै शेष अभिषिक्‍त जनहरूका वफादार सहयात्रीहरू अर्थात्‌ “ठूलो भीड” जम्मा गर्न सकिएको हो। पक्कै पनि “सबै जाति जातिका [यी] धनसम्पत्ति” ख्रीष्टले विश्‍वासी दासलाई हेरचाह गर्न सुम्पनुभएको बहुमूल्य ‘सम्पत्तिमा’ पर्छ।—प्रकाश ७:९; हाग्गै २:७.

दास वर्गको प्रतिनिधित्व गर्ने परिचालक निकाय

१०. प्रथम शताब्दीमा निर्णयहरू गर्ने कस्तो निकाय थियो र यसले मण्डलीमा कस्तो प्रभाव पाऱ्‍यो?

१० विश्‍वासी दासलाई सुम्पिएको विभिन्‍न गम्भीर जिम्मेवारीहरूमा थुप्रै निर्णयहरू लिने काम पनि पक्कै पर्छ। प्रथम शताब्दीमा प्रेरित तथा प्राचीनहरूले यरूशलेममा विश्‍वासी दासको प्रतिनिधित्व गर्थे। मतलब, तिनीहरूले नै सम्पूर्ण मसीही मण्डलीको लागि निर्णयहरू लिन्थे। (प्रेरित १५:१, २) परिचालक निकायले गरेका निर्णयहरूको जानकारी पत्रहरू र परिभ्रमण प्रतिनिधिहरू मार्फत मण्डलीहरूमा पठाइन्थ्यो। प्रथम शताब्दीका मसीहीहरूले खुसीसाथ त्यस्तो स्पष्ट निर्देशन स्वीकारे र परिचालक निकायसित मिलेर राजीखुसी साथ काम गर्दा तिनीहरूमा शान्ति र एकता छायो।—प्रेरित १५:२२-३१; १६:४, ५; फिलिप्पी २:२.

११. मण्डलीलाई निर्देशन दिन ख्रीष्टले आज कसलाई चलाउँदै हुनुहुन्छ र हामीले अभिषिक्‍त जनहरूको यस समूहलाई कसरी हेर्नुपर्छ?

११ प्रथम शताब्दीमा जस्तै अहिले पनि आत्मा-अभिषिक्‍त निरीक्षकहरूको सानो समूहले पृथ्वीमा ख्रीष्टका अनुयायीहरूको परिचालक निकायको रूपमा काम गर्छ। आफ्नो शक्‍तिशाली “दाहिने बाहुली” मार्फत मण्डलीका शिर ख्रीष्टले परिचालक निकायका आफ्ना ती विश्‍वासी जनहरूलाई राज्य गतिविधिको निरीक्षण गर्ने काममा निर्देशन दिनुहुन्छ। (प्रकाश १:१६, २०) लामो समयसम्म परिचालक निकायमा रहेर सेवा गरेका र भर्खरै पार्थिव सेवा पूरा गरेका भाइ अल्बर्ट श्रोडरले आफ्नो जीवनीमा यस्तो लेखे: “परिचालक निकायको हरेक बुधबार सभा हुन्छ र सभाको सुरु प्रार्थनाद्वारा गरिन्छ। प्रार्थनामा परमेश्‍वरको आत्माको डोऱ्‍याइ मागिन्छ। सँभाल्नुपर्ने सबै विषय र लिनुपर्ने निर्णयहरू परमेश्‍वरको वचन बाइबलअनुरूपै होस्‌ भनेर अथक प्रयास गरिन्छ।” b त्यस्ता आत्मा-अभिषिक्‍त विश्‍वासी जनहरूलाई हामी भरोसा गर्न सक्छौं। विशेष गरी परिचालक निकायको सन्दर्भमा हामीले प्रेरित पावलको सल्लाह सुन्‍नुपर्छ: “तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, तिनीहरूका अधीनमा बस। किनकि . . . तिनीहरूले तिमीहरूका प्राणको हेरचाहा गर्छन्‌।”—हिब्रू १३:१७, NRV.

विश्‍वासी दासप्रति उचित आदर देखाउने

१२, १३. दास वर्गप्रति आदर देखाउनुपर्ने कस्ता कारणहरू बाइबलमा दिइएका छन्‌?

१२ विश्‍वासी दास वर्गप्रति उचित आदर देखाउनुपर्ने मुख्य कारण हो, हामीले दास वर्गप्रति आदर देखाउँदा वास्तवमा हाम्रा मालिक येशू ख्रीष्टलाई आदर देखाइरहेका हुन्छौं। अभिषिक्‍त जनहरूबारे पावलले यस्तो लेखे: “जो स्वतन्त्र अवस्थामा बोलावट भएको छ, त्यो ख्रीष्टको दास हो। दाम तिरेर तिमीहरू किनिएका हौ।” (१ कोरिन्थी ७:२२, २३; एफिसी ६:६) त्यसैले विश्‍वासी दास र यसको परिचालक निकायको निर्देशनलाई वफादार भई पालन गर्दा हामी दासका मालिक ख्रीष्टको अधीनमा बसिरहेका हुन्छौं। पृथ्वीमा भएको आफ्नो सम्पत्तिको हेरचाह गर्न ख्रीष्टले चलाइरहनुभएको साधन अर्थात्‌ उहाँका दासप्रति आदर देखाउनु “येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार” गर्ने एउटा तरिका हो।—फिलिप्पी २:११.

१३ विश्‍वासी दासलाई आदर देखाउनुपर्ने अर्को कारण हो, पृथ्वीमा भएका अभिषिक्‍त मसीहीहरूलाई लाक्षणिक “मन्दिर[को]” रूपमा चित्रण गरिएको छ जहाँ यहोवा “आत्मामा” बास गर्नुहुन्छ। त्यसैले तिनीहरू “पवित्र” छन्‌। (१ कोरिन्थी ३:१६, १७; एफिसी २:१९-२२) येशूले पृथ्वीमा भएको आफ्नो सम्पत्ति यसै पवित्र मन्दिर वर्गलाई सुम्पनुभएको हो। यसको मतलब मण्डलीसित सम्बन्धित केही खास अधिकार र जिम्मेवारी दास वर्गलाई मात्र दिइएको हुन्छ। यसकारण मण्डलीका सबैले विश्‍वासी दास र त्यसको प्रतिनिधित्व गर्ने परिचालक निकायबाट आउने निर्देशनको पालना र समर्थन गर्नुलाई पवित्र जिम्मेवारी ठान्छन्‌। साँच्चै, मालिकको सम्पत्तिको रेखदेख गर्ने काममा दास वर्गलाई मदत गर्न पाउनुलाई ‘अरू भेडाले’ एउटा विशेष सुअवसरको रूपमा लिन्छन्‌।—यूहन्‍ना १०:१६.

वफादार भई सहयोग गर्ने

१४. यशैयाले भविष्यवाणी गरेझैं अरू भेडा कसरी अभिषिक्‍त दास वर्गको पछि-पछि लाग्दै “ज्यालाबिनाको मजदूरको” रूपमा सेवा गर्छन्‌?

१४ आध्यात्मिक इस्राएल अर्थात्‌ अभिषिक्‍त मसीहीहरूको अधीनमा अरू भेडा नम्र भई बस्नेछन्‌ भनी यशैयाको भविष्यवाणीमा यसरी बताइएको थियो: “परमप्रभु यसो भन्‍नुहुन्छ, ‘मिश्र देशको [“ज्यालाबिनाको मजदूरको,” NW] परिश्रम, कूश देशको व्यापार, र ठूला कदका सवाई जातिहरू तेरो तर्फमा आउनेछन्‌, र ती तेरा हुनेछन्‌। तिनीहरू तेरा पछि पछि जानेछन्‌। साङलाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्‌, र तिनीहरू तेरो सामने झुक्नेछन्‌, र यसो भनेर तिनीहरूले तँलाई बिन्ती गर्नेछन, ‘निश्‍चय, परमेश्‍वर तपाईंसँग हुनुहुन्छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही परमेश्‍वर छैन।’ ” (यशैया ४५:१४) लाक्षणिक अर्थमा भन्‍ने हो भने, आज अरू भेडा अभिषिक्‍त दास वर्ग र यसको परिचालक निकायको अगुवाइ स्वीकार्दै उनीहरूको पछि-पछि हिंड्‌छन्‌। अरू भेडाले “ज्यालाबिनाको मजदूरको” रूपमा राजीखुसी साथ आफ्नो शारीरिक बल र स्रोतसाधन ख्रीष्टले अभिषिक्‍त मसीहीहरूलाई खटाउनुभएको विश्‍वव्यापी प्रचारकार्यमा खर्च गर्छन्‌।—प्रेरित १:८; प्रकाश १२:१७.

१५. अरू भेडा र आध्यात्मिक इस्राएलबीच अहिले रहिरहेको सम्बन्धबारे यशैया ६१:५, ६ मा कसरी भविष्यवाणी गरिएको छ?

१५ दास वर्ग र यसको परिचालक निकायको रेखदेखमा यहोवाको सेवा गर्न पाएकोमा अरू भेडा खुसी र कृतज्ञ छन्‌। तिनीहरू अभिषिक्‍त जनहरूलाई “परमेश्‍वरका इस्राएल[को]” सदस्यको रूपमा मानिलिन्छन्‌। (गलाती ६:१६) तिनीहरू आध्यात्मिक इस्राएलसित सँगसँगै काम गर्ने प्रतीकात्मक “परदेशी” र “विदेशीहरू” हुन्‌। तिनीहरूले “परमप्रभुका पूजाहारी” र “परमेश्‍वरका सेवक” अभिषिक्‍त जनहरूको निर्देशनमा “किसान” [ NW] र ‘दाखबारीका मालीको’ रूपमा खुसीसाथ सेवा गर्छन्‌। (यशैया ६१:५, ६) तिनीहरू राज्य प्रचार गर्ने र सबै देशका जातिहरूलाई चेला बनाउने काममा जोसका साथ भाग लिन्छन्‌। भर्खरै भेट्टाइएका नम्र व्यक्‍तिहरूको गोठालो गर्ने र हेरचाह गर्ने काममा दास वर्गलाई तिनीहरू पूरापूर सघाउँछन्‌।

१६. विश्‍वासी र बुद्धिमान्‌ दासलाई वफादार भई समर्थन दिन अरू भेडालाई कुन कुराले उत्प्रेरित गर्छ?

१६ ठीक ठीक समयमा आध्यात्मिक भोजन दिन विश्‍वासी दासले गरेको लगनशील प्रयासको कारण आफूहरूले धेरै फाइदा उठाउन सकेको कुरा अरू भेडा मानिलिन्छन्‌। विश्‍वासी र बुद्धिमान्‌ दास नभएको भए बाइबलका बहुमूल्य सत्य कुराहरू राम्ररी बुझ्न वा अलिकति मात्र पनि थाह पाउन सकिने थिएन भनी तिनीहरू नम्रतापूर्वक स्वीकार्छन्‌। जस्तै, यहोवाको सार्वभौमिकता, उहाँको नाउँ पवित्र गर्ने, उहाँको राज्य, नयाँ स्वर्ग र नयाँ पृथ्वी, प्राण, मरिसकेकाहरूको अवस्था अनि यहोवा, उहाँको पुत्र र पवित्र आत्माको साँचो परिचय इत्यादि। कृतज्ञता र वफादारिताको कारणले गर्दा नै अरू भेडाले यस अन्तको समयमा पृथ्वीमा बाँकी रहेका ख्रीष्टका अभिषिक्‍त ‘भाइहरूलाई’ मायालु समर्थन गर्छन्‌।—मत्ती २५:४०.

१७. परिचालक निकायले के गर्न आवश्‍यक ठानेको छ र अर्को लेखमा के छलफल गरिनेछ?

१७ पृथ्वीमा अभिषिक्‍त जनहरूको संख्या घट्‌दै गइरहेको छ। त्यसैकारण तिनीहरू आफूलाई सुम्पिएको ख्रीष्टको सम्पत्तिको हेरचाह गर्न सबै मण्डलीमा रहन सक्दैनन्‌। त्यसैले परिचालक निकायले शाखा कार्यालय, जिल्ला, क्षेत्र र मण्डलीको निरीक्षण गर्न अरू भेडाका पुरुषहरू नियुक्‍त गर्छ। ख्रीष्ट र उहाँको विश्‍वासी दासप्रति देखाएजस्तै वफादारिता के ख्रीष्टको निर्देशनमा सेवा गर्ने यी गोठालाहरूप्रति पनि देखाउँछौं? यसबारे अर्को लेखमा छलफल गरिनेछ।

(w 07 4/1)

[फुटनोट]

a यस विषयमा विस्तृत जानकारीको लागि प्रहरीधरहरा, मार्च १, २००४, पृष्ठ १३-१८ र मार्च १, १९९३, पृष्ठ १४ हेर्नुहोस्‌।

b द वाचटावर, मार्च १, १९८८ अंकको पृष्ठ १०-१७ मा तिनको जीवनी प्रकाशित भएको थियो।

पुनरावलोकन गर्दा

• हाम्रो नेता को हुनुहुन्छ र मण्डलीको अवस्थाबारे उहाँलाई थाह छ भनेर कसरी भन्‍न सक्छौं?

• ‘मन्दिरको’ जाँच गर्दा विश्‍वासी दासको रूपमा कसले सेवा गरिरहेको भेट्टाइयो र तिनीहरूलाई कस्तो सम्पत्ति सुम्पियो?

• विश्‍वासी दासलाई वफादार भई समर्थन गर्नुपर्ने कस्ता कारणहरू बाइबलमा दिइएका छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएका चित्रहरू]

‘भण्डारेले’ हेरचाह गर्ने ‘सम्पत्तिमा’ भौतिक संरचना, आध्यात्मिक कार्यक्रम र प्रचार गतिविधि पर्छ

[पृष्ठ २५-मा भएको चित्र]

अरू भेडाका सदस्यहरूले प्रचारकार्यमा जोसका साथ भाग लिएर विश्‍वासी दास वर्गको समर्थन गर्छन्‌