सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने

नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने

नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने

“तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, र तिनीहरूका अधीनमा बस।” —हिब्रू १३:१७, NRV.

१, २. यहोवा र येशू मायालु गोठालो हुनुहुन्छ भनी कुन बाइबल पदहरूले देखाउँछ?

 यहोवा परमेश्‍वर र उहाँका पुत्र येशू ख्रीष्ट मायालु गोठालो हुनुहुन्छ। यशैयाले यस्तो भविष्यवाणी गरे: “हेर, परमप्रभु परमेश्‍वर पराक्रमसाथ आउनुहुनेछ, र उहाँले आफ्नो बाहुबलले शासन गर्नुहुनेछ। . . . उहाँले आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अंगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोऱ्‍याएर उहाँले लैजानुहुनेछ।”—यशैया ४०:१०, ११.

पुनर्स्थापनासम्बन्धी भविष्यवाणीको पहिलो पूर्ति बाँकी रहेका यहूदीहरू ईसापूर्व ५३७ मा यहूदा फर्कंदा पूरा भयो। (२ इतिहास ३६:२२, २३) सन्‌ १९१९ मा महान्‌ कोरेस येशू ख्रीष्टले शेष अभिषिक्‍त जनलाई “महान्‌ बेबिलोन[बाट]” उद्धार गर्नुहुँदा यो भविष्यवाणी फेरि पूरा भयो। (प्रकाश १८:२; यशैया ४४:२८) येशू यहोवाको “बाहुबल” हुनुहुन्छ जसलाई यहोवाले शासन गर्न, भेडाहरू जम्मा पार्न र तिनीहरूको मायालु हेरचाह गर्न चलाउनुहुन्छ। येशू आफैले यसो भन्‍नुभयो: “म असल गोठालो हुँ, यसर्थ म आफ्ना जतिलाई चिन्छु, औ आफ्ना जतिले मलाई चिन्छन्‌।”—यूहन्‍ना १०:१४.

३. आफ्नो बगालसित गरिने व्यवहारप्रति यहोवाले कसरी मायालु चासो देखाउनुहुन्छ?

यहोवाले आफ्ना जनहरूको कोमल हेरचाह गर्नुहुन्छ भनी यशैया ४०:१०, ११ को भविष्यवाणीमा जोड दिइएको छ। (भजन २३:१-६) आफ्नो पार्थिव सेवकाईको दौडान येशूले पनि आफ्ना चेलाहरू र सर्वसाधारण व्यक्‍तिहरूप्रति मायालु चासो देखाउनुभयो। (मत्ती ११:२८-३०; मर्कूस ६:३४) यहोवा र येशू दुवैले इस्राएलका गोठाला वा नेताहरूको निर्दयी व्यवहारको निन्दा गर्नुभयो। तिनीहरूले लाजमर्दो तरिकामा बगालको बेवास्ता गर्नुका साथै उनीहरूबाट नाजायज फाइदा उठाइरहेका थिए। (इजकिएल ३४:२-१०; मत्ती २३:३, ४, १५) यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “म मेरो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि कहिल्यै कसैको शिकार हुनेछैनन्‌। म भेडा भेडाको बीचमा न्याय गर्नेछु। त्यसपछि म तिनीहरूको हेरचाहा गर्नलाई मेरो दास दाऊदलाई गोठाला नियुक्‍त गर्नेछु। त्यसले तिनीहरूको हेरचाह गर्नेछ, र त्यो तिनीहरूको गोठाला हुनेछ।” (इजकिएल ३४:२२, २३) यस अन्तको समयमा पृथ्वीका आफ्ना सबै सेवकहरू—आत्मा-अभिषिक्‍त मसीहीहरू र अरू भेडा दुवैमाथि यहोवाले नियुक्‍त गर्नुभएको “एकै गोठालो” महान्‌ दाऊद अर्थात्‌ येशू ख्रीष्ट हुनुहुन्छ।—यूहन्‍ना १०:१६.

मण्डलीलाई यहोवाबाट वरदान

४, ५. (क) यहोवाले पृथ्वीमा भएका आफ्ना जनहरूलाई कस्तो अनमोल वरदान दिनुभएको छ? (ख) येशूले पनि आफ्ना मण्डलीलाई कस्तो वरदान दिनुभएको छ?

“एकै गोठालो” येशू ख्रीष्टलाई पृथ्वीमा भएका आफ्ना सेवकहरूमाथि नियुक्‍त गर्नुभएर यहोवाले मसीही मण्डलीलाई एउटा अनमोल वरदान दिनुभयो। यहोवाले यस्तो वरदान अर्थात्‌ नेता दिनुहुनेछ भनी यशैया ५५:४ मा भविष्यवाणी गरिएको थियो: “हेर, मैले त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” अभिषिक्‍त जन र “ठूलो भीड” दुवैका सदस्यहरू विभिन्‍न राष्ट्र, जात, कुल र भाषाहरूबाट जम्मा गरिएका छन्‌। (प्रकाश ५:९, १०; ७:९) “एकै गोठालो” येशू ख्रीष्टको नेतृत्वमा तिनीहरू अन्तरराष्ट्रिय मण्डली अर्थात्‌ “एकै बगाल” बनेका छन्‌।

येशूले पनि पृथ्वीमा भएको आफ्नो मण्डलीलाई अनमोल वरदान दिनुभएको छ। उहाँले विश्‍वासी गोठालाहरूको प्रबन्ध गर्नुभएको छ जसले यहोवा र येशूको अनुकरण गर्दै बगालको कोमल हेरचाह गर्छन्‌। एफिससका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यस मायालु वरदानबारे चर्चा गरेका छन्‌। तिनले यस्तो लेखे: “ ‘उहाँ माथि उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूलाई वरदान दिनुभयो।’ औ उहाँलेनै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनलाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापनामा पवित्र जनहरूको सिद्धता हुनको निम्ति नियुक्‍त गर्नुभयो।”—एफिसी ४:८, ११, १२.

६. प्रकाश १:१६, २० ले प्राचीनहरूको निकायमा सेवा गर्ने अभिषिक्‍त निरीक्षकहरूलाई कसरी चित्रण गरेको छ र अरू भेडाका नियुक्‍त प्राचीनहरूबारे के भन्‍न सकिन्छ?

यी “वरदान” निरीक्षक वा प्राचीनहरू हुन्‌ जसलाई यहोवा र उहाँको पुत्रले बगालको कोमल हेरचाह गर्न पवित्र आत्मा मार्फत नियुक्‍त गर्नुभएको हो। (प्रेरित २०:२८, २९) सुरुमा त ती निरीक्षकहरू सबै अभिषिक्‍त मसीही पुरुषहरू थिए। प्रकाश १:१६, २० ले अभिषिक्‍त मण्डलीमा प्राचीनहरूको निकायमा सेवा गर्नेहरूलाई ख्रीष्टको दायाँ हातमा भएका “ताराहरू” वा “दूतहरू” भनी चित्रण गरेको छ। दायाँ हातमा हुनुको अर्थ तिनीहरू उहाँको अधीनमा हुनु हो। तर यस अन्तको समयमा पृथ्वीमा अभिषिक्‍त निरीक्षकहरूको संख्या घट्‌दै गइरहेकोले मण्डलीका प्राचीनहरू प्रायजसो अरू भेडाकै छन्‌। ती प्राचीनहरूलाई पनि दास वर्गको प्रतिनिधित्व गर्ने परिचालक निकायले पवित्र आत्माको डोऱ्‍याइमा नियुक्‍त गर्छ। त्यसैले तिनीहरू पनि असल गोठालो येशू ख्रीष्टको दायाँ हाततर्फ (अर्थात्‌ उहाँको निर्देशनअनुसार) छन्‌ भन्‍न सकिन्छ। (यशैया ६१:५, ६) प्राचीनहरू मण्डलीको शिर ख्रीष्टको अधीनमा रहने भएकोले तिनीहरूलाई हामीले पूरापूर सहयोग गर्नुपर्छ।—कलस्सी १:१८.

आज्ञाकारिता र अधीनता

७. मसीही निरीक्षकहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ भनी प्रेरित पावलले बताए?

स्वर्गमा हुनुहुने हाम्रा महान्‌ गोठालाहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्ट, उहाँहरूले मण्डलीमा जिम्मेवारी सुम्पनुभएका गोठालाहरूप्रति हामी आज्ञाकारी भएको र तिनीहरूको अधीनमा बसेको चाहनुहुन्छ। (१ पत्रुस ५:५) परमेश्‍वरबाट प्रेरणा पाएर प्रेरित पावलले यस्तो लेखे: “आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर। तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाहा गर्छन्‌। यो काम तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।”—हिब्रू १३:७, १७, NRV.

८. पावलले हामीलाई के कुरामा ‘ध्यान दिन’ भनेका छन्‌ र हामी कसरी ‘आज्ञा पालन’ गर्ने हुनुपर्छ?

याद गर्नुहोस्‌, पावलले हामीलाई प्राचीनहरूको विश्‍वासी मार्गको परिणामलाई ‘ध्यान दिन’ वा राम्ररी विचार गर्न र तिनीहरूको विश्‍वासको अनुकरण गर्न भनेका छन्‌। यसबाहेक, ती नियुक्‍त पुरुषहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न पनि पावलले हामीलाई सल्लाह दिएका छन्‌। बाइबलविद्‌ आर. टि. फ्रान्सका अनुसार यहाँ “आज्ञा पालन गर” भनी अनुवाद गरिएको मूल युनानी वाक्यांशको शाब्दिक अर्थ “सामान्य अर्थमा आज्ञाकारी हुनु मात्र नभई राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकारेर ‘मनाइएको हुनु’ ” हो। हामीले प्राचीनहरूको आज्ञा पालन गर्नुको कारण परमेश्‍वरको वचनमा हामीलाई त्यसो गर्न निर्देशन दिइएकोले मात्र होइन तर तिनीहरूले राज्य गतिविधिको र हाम्रो हित चिताउनेले गर्दा पनि हो भनी हामीलाई मनाइएको छ। राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकाऱ्‍यौं भने हामी पक्कै पनि खुसी हुनेछौं।

९. आज्ञाकारी हुनुको सँगसँगै ‘अधीनमा बस्नु’ पनि किन आवश्‍यक छ?

तर कुनै कामकुरा गर्ने सबैभन्दा उत्तम तरिका प्राचीनहरूले दिएको निर्देशन नै हो भनी हामी विश्‍वस्त हुन सकेनौं भने नि? अधीनता देखाउनुपर्ने बेला यही त हो। सबै कुरा स्पष्ट हुँदा र प्राचीनहरूले दिएको निर्देशन पनि आफूलाई चित्तबुझेको बेला अधीनमा बस्नु सजिलो हुन्छ तर दिइएको निर्देशन स्पष्टसँग नबुझ्दा पनि हामी त्यो स्वीकार्छौं भने साँचो अधीनता देखाइरहेका हुनेछौं। पछि प्रेरित बनेका पत्रुसले यस्तै प्रकारको अधीनता देखाए।—लूका ५:४, ५.

राजीखुसीले प्राचीनहरूसँगै मिलेर काम गर्नुका चार कारणहरू

१०, ११. निरीक्षकहरूले प्रथम शताब्दीमा र आज कसरी आफ्ना सँगी मसीहीहरूलाई ‘परमेश्‍वरको वचन सुनाएका’ छन्‌?

१० माथि उद्धृत गरिएको हिब्रू १३:७, १७ मा प्रेरित पावलले मसीही निरीक्षकहरूप्रति हामी आज्ञाकारी हुनुपर्ने र तिनीहरूको अधीनमा बस्नुपर्ने चार कारणहरू दिएका छन्‌। पहिलो हो, तिनीहरूले हामीलाई ‘परमेश्‍वरको वचन सुनाएका’ छन्‌। याद गर्नुहोस्‌, येशूले मण्डलीलाई दिनुभएको “वरदान” “पवित्र जनहरूको सिद्धता” अर्थात्‌ सुधारको लागि हो। (एफिसी ४:११, १२) प्रथम शताब्दीका मसीहीहरूको सोचाइ र आचरणमा सुधार ल्याउन उहाँले आफूले नियुक्‍त गरेका विश्‍वासी गोठालाहरू चलाउनुभयो जसमध्ये कोही-कोहीले परमेश्‍वरबाट प्रेरित भएर मण्डलीहरूलाई पत्र पनि लेखे। उहाँले त्यस्ता आत्मा-अभिषिक्‍त निरीक्षकहरू प्रथम शताब्दीका मसीहीहरूलाई बलियो बनाउन र डोऱ्‍याउन चलाउनुभयो।—१ कोरिन्थी १६:१५-१८; २ तिमोथी २:२; तीतस १:५.

११ आज येशू “विश्‍वासी र बुद्धिमान दास[को]” प्रतिनिधित्व गर्ने परिचालक निकाय र नियुक्‍त प्राचीनहरू मार्फत हामीलाई निर्देशनहरू दिनुहुन्छ। (मत्ती २४:४५) “मूल-गोठालो” येशू ख्रीष्टप्रतिको आदरले गर्दा हामी पावलको यो सल्लाह पालन गर्छौं: “तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेताउनी दिनेहरूको आदर गर।”—१ पत्रुस ५:४; १ थिस्सलोनिकी ५:१२; १ तिमोथी ५:१७.

१२. निरीक्षकहरूले कसरी हाम्रो “प्राणको हेरचाहा गर्छन्‌”?

१२ मसीही निरीक्षकहरूसित मिलेर काम गर्नुपर्ने दोस्रो कारण हो, तिनीहरूले हाम्रो “प्राणको हेरचाहा गर्छन्‌।” हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने केही कुरा हाम्रो मनोवृत्ति र आचरणमा देखेमा हामीलाई सुधार गर्ने हेतुले तिनीहरूले आवश्‍यक सर-सल्लाह दिइहाल्छन्‌। (गलाती ६:१) “हेरचाहा गर्छन्‌” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “ननिदाइ जागा बस्नु” हो। एक बाइबलविद्‌का अनुसार यसले “चनाखो भइरहने गोठालोलाई” बुझाउँछ। प्राचीनहरू आफू आध्यात्मिक तवरमा चनाखो त रहन्छन्‌ नै तर त्यसका साथै हाम्रो आध्यात्मिक हितको लागि तिनीहरूले आफ्नो निद्रा पनि गुमाउन सक्छन्‌। ‘भेडाका महान्‌ गोठालो’ येशू ख्रीष्टले देखाउनुभएको कोमल हेरचाहको अनुकरण गर्न सक्दो प्रयास गरिरहेका त्यस्ता मायालु गोठालाहरूसित हामीले राजीखुसीसाथ मिलेर काम गर्नुपर्दैन र?—हिब्रू १३:२०.

१३. निरीक्षकहरू तथा सबै मसीहीहरूले कसलाई अनि कुन तरिकामा लेखा दिनुपर्नेछ?

१३ निरीक्षकहरूसित मिलेर राजीखुसीले काम गर्नुपर्ने तेस्रो कारण हो, “लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर” तिनीहरूले हाम्रो हेरचाह गर्छन्‌। निरीक्षकहरूलाई यो कुरा थाह छ कि उनीहरू स्वर्गमा हुनुहुने महान्‌ गोठालाहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्टको अधीनमा रहेर काम गर्ने गोठालाहरू हुन्‌। (इजकिएल ३४:२२-२४) यहोवा बगालको मूल मालिक हुनुहुन्छ र उहाँले बगाललाई “आफ्नै पुत्रको रगतले किन्‍नुभएको” छ। त्यसैकारण, नियुक्‍त गोठालाहरूले बगाललाई “कोमल ढंगमा” व्यवहार गर्नुपर्छ किनकि तिनीहरूले त्यसको लेखा यहोवालाई दिनुपर्नेछ। (प्रेरित २०:२८, २९, NW) त्यसैगरी उहाँबाट आएको निर्देशनप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यसको पनि यहोवाले लेखा लिनुहुनेछ। (रोमी १४:१०-१२) नियुक्‍त प्राचीनहरूप्रति हामी आज्ञाकारी हुँदा मण्डलीका शिर ख्रीष्टको अधीनमा बसेका छौं भन्‍ने प्रमाण पनि दिइरहेका हुन्छौं।—कलस्सी २:१९.

१४. कस्तो अवस्थामा मसीही निरीक्षकहरूले ‘दुःख मान्दै’ सेवा गरिरहेका हुन्छन्‌ र यसको नतिजा के हुन सक्छ?

१४ हामी नम्र भई मसीही निरीक्षकहरूको अधीनमा बस्नुपर्ने चौथो कारण प्रेरित पावलले दिए। तिनले यस्तो लेखे: “तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।” (हिब्रू १३:१७, NRV) शिक्षा दिने, गोठालो गर्ने, प्रचारकार्यमा अगुवाइ लिने, परिवारको लालनपालन गर्ने, मण्डलीका समस्याहरू सँभाल्ने जस्ता गह्रौं भार मसीही प्राचीनहरूले बोक्छन्‌। (२ कोरिन्थी ११:२८, २९) हामीले तिनीहरूसित मिलेर काम गरेनौं भने तिनीहरूको बोझ मात्र बढाइरहेका हुनेछौं। यसो भएमा, तिनीहरूले ‘दुःख मानिरहेका’ हुन्छन्‌। हामीले सहयोगी भावना देखाएनौं भने यहोवा अप्रसन्‍न हुनुहुन्छ र यसले हामीलाई नै हानि पुऱ्‍याउन सक्छ। तर, हामीले उचित आदर र सहयोगी भाव देखायौं भने प्राचीनहरूले आफ्नो जिम्मेवारी आनन्दसाथ पूरा गर्न सक्छन्‌। यसो गर्दा हामी अझ बलियो गरी एकतामा बाँधिएर राज्य प्रचारकार्यमा झन्‌ आनन्दसाथ भाग लिन सक्छौं।—रोमी १५:५, ६.

अधीनता देखाउने

१५. हामी कसरी आज्ञाकारिता र अधीनता देखाउन सक्छौं?

१५ नियुक्‍त प्राचीनहरूसित मिलेर काम गर्न सकिने व्यावहारिक तरिकाहरू थुप्रै छन्‌। आफ्नो इलाकाको नयाँ परिस्थितिलाई विचार गर्दै प्राचीनहरूले क्षेत्र सेवकाईको दिन र समय परिवर्तन गरेका हुन सक्छन्‌। त्यस्तो फेरबदलको कारण आफ्नो तालिकामा परिवर्तन गर्नुपर्छ कि? त्यो नयाँ प्रबन्धलाई समर्थन गर्न हामी सक्दो गरौं। यसो गर्दा हामीले आशै नगरेका आशिष्‌हरू पाउन सक्छौं। के हाम्रो मण्डली पुस्तक अध्ययनमा सेवा निरीक्षक आउँदैछन्‌? आउँदैछन्‌ भने तिनी आउने हप्ता क्षेत्र सेवकाईमा पूरापूर भाग लिन सक्दो प्रयास गरौं। के हामीले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा असाइनमेन्ट पाएका छौं? छौं भने, आफ्नो असाइनमेन्ट पूरा गर्ने लक्ष्य हाम्रो हुनुपर्छ। के मण्डली पुस्तक अध्ययन निरीक्षकले राज्यभवन सफा गर्ने पालो हाम्रो समूहको भनेर घोषणा गरेका छन्‌? त्यस काममा पनि आफ्नो स्वास्थ्य र बलले दिएसम्म पूरापूर सघाऔं। यी काम गरेर तथा अन्य विभिन्‍न तरिकामा ती पुरुषहरूप्रति हामी अधीनता देखाउँछौं जसलाई यहोवा र उहाँका पुत्रले बगालको हेरचाह गर्न नियुक्‍त गर्नुभएको छ।

१६. यदि कुनै प्राचीन निर्देशनअनुसार चलेनन्‌ भने हामीले विद्रोह गर्नु किन जायज होइन?

१६ कहिलेकाहीं, कुनै प्राचीनले विश्‍वासी दास र यसको प्रतिनिधित्व गर्ने परिचालक निकायको निर्देशनअनुसार कामकुरा नगर्लान्‌। यदि तिनले त्यसै गरिरहन्छन्‌ भने “[हाम्रा] प्राणका गोठाला र धर्माधिकार [“निरीक्षक,” NW]” यहोवाले लेखा लिनुहुनेछ। (१ पत्रुस २:२५) तर कुनै प्राचीनको गल्तीको कारण हामी अनाज्ञाकारी हुनु र अधीनतामा नबस्नु जायज होइन। अनाज्ञाकारिता र विद्रोही मनोभावलाई यहोवा समर्थन गर्नुहुन्‍न।—गन्ती १२:१, २, ९-११.

सहयोगी मनोभावलाई यहोवा आशिष्‌ दिनुहुन्छ

१७. निरीक्षकहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

१७ आफूले निरीक्षकको रूपमा नियुक्‍त गरेका पुरुषहरू असिद्ध छन्‌ भनी यहोवा परमेश्‍वरलाई थाह छ। तैपनि उहाँले तिनीहरूलाई चलाइरहनुभएको छ र उहाँले आफ्नो आत्मा मार्फत पृथ्वीमा आफ्ना जनहरूको गोठालो गर्नुहुन्छ। हो, प्राचीनहरूलगायत हामी सबैले “असामान्य शक्‍ति आफैबाट होइन तर परमेश्‍वरबाट” पाएका छौं। (२ कोरिन्थी ४:७, NW) त्यसैले यहोवाले विश्‍वासी निरीक्षकहरू मार्फत जे गरिरहनुभएको छ त्यसको लागि हामीले उहाँलाई धन्यवाद चढाउनुपर्छ र ती निरीक्षकहरूसित मिलेर राजीखुसीले काम गर्नुपर्छ।

१८. निरीक्षकहरूको अधीनमा बस्दा हामीले वास्तवमा के गरिरहेका हुन्छौं?

१८ बगालको हेरचाह गर्न नियुक्‍त गर्नुभएका गोठालाहरूबारे यहोवाले यर्मिया ३:१५ मा यस्तो वर्णन गर्नुभएको छ: “मेरो मनले रूचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित चराउनेछन्‌।” ती गोठालाहरू अर्थात्‌ निरीक्षकहरूले त्यहीअनुसार गर्न सक्दो प्रयास गर्छन्‌। हामीमाझ भएका प्राचीनहरूले यहोवाको भेडाको सुरक्षा गर्ने र सिकाउने असल काम अवश्‍यै गरिरहेका छन्‌। तिनीहरूसँगै मिलीजुली काम गरेर, आज्ञाकारी भएर अनि अधीनमा बसेर हामी तिनीहरूको मेहनतको लागि आभारी छौं भन्‍ने कुरा देखाऔं। यसो गर्दा हामीले हाम्रो स्वर्गमा हुनुहुने महान्‌ गोठालाहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्टप्रति कृतज्ञता देखाइरहेका हुनेछौं। (w 07 4/1)

पुनरावलोकन गर्दा

• यहोवा र येशू ख्रीष्टले कसरी आफूलाई मायालु गोठालो साबित गर्नुभएको छ?

• आज्ञाकारी हुनुको सँगसँगै अधीनमा बस्नु पनि किन आवश्‍यक छ?

• हामी अधीनमा बसेका छौं भनी कस्ता व्यावहारिक तरिकाहरूमा देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

मसीही प्राचीनहरू ख्रीष्टको नेतृत्वको अधीनमा बस्छन्‌

[पृष्ठ ३०-मा भएका चित्रहरू]

यहोवाले नियुक्‍त गर्नुभएका गोठालाहरूको अधीनमा बसेका छौं भनी हामी विभिन्‍न तरिकामा देखाउन सक्छौं