सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?

प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?

प्रेतहरू—हामी कसरी तिनीहरूको प्रतिरोध गर्न सक्छौं?

“आफ्नो मर्यादामा नरहने, तर आफ्ना घरबार छोड्‌ने स्वर्गदूतहरूलाई [ परमेश्‍वरले] आखिरी दिनको इन्साफको लागि अन्धकारमनि अनन्त बन्धनमा राख्नुभएको छ।”—यहूदा ६.

१, २. शैतान र त्यसका प्रेतहरूबारे कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

 “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ” भनी प्रेरित पत्रुस चेताउनी दिन्छन्‌। (१ पत्रुस ५:८) प्रेतहरूको सम्बन्धमा प्रेरित पावल यसो भन्छन्‌: “तिमीहरू भूत-प्रेतहरूसित सह-भागी होओ भन्‍ने म इच्छा गर्दिनँ। तिमीहरूले प्रभुको कचौरा र भूत-प्रेतहरूको कचौरा दुवैबाट पिउनसक्‍तैनौ। तिमीहरूले प्रभुको टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्‍तैनौ।”—१ कोरिन्थी १०:२०, २१.

तर शैतान र त्यसका प्रेतहरू को हुन्‌? कहिले र कसरी तिनीहरू अस्तित्वमा आए? के तिनीहरूलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो? मानिसहरूमाथि तिनीहरूको पकड कत्तिको बलियो छ? तिनीहरूबाट बच्न सक्ने केही उपाय छ कि?

शैतान र त्यसका प्रेतहरू कसरी अस्तित्वमा आए?

३. परमेश्‍वरको एउटा स्वर्गदूत कसरी शैतान अर्थात्‌ दियाबल बन्यो?

मानव इतिहासको सुरुतिर, अदनको बगैंचामा मानिसजातिको सृष्टि भएको समयमा परमेश्‍वरको एक जना स्वर्गदूत विद्रोही भयो। किन? किनभने यहोवाको स्वर्गीय संगठनमा आफूले पाएको कामप्रति त्यो सन्तुष्ट थिएन। आदम र हव्वाको सृष्टिपछि तिनीहरूले साँचो परमेश्‍वरलाई चढाइरहेको उपासना र उहाँप्रति देखाइरहेको आज्ञाकारिता आफूतिर मोड्‌ने मौका त्यसले देख्यो। परमेश्‍वर विरुद्ध विद्रोह गरेर अनि प्रथम मानव दम्पतीलाई पाप गर्न उक्साएर त्यस स्वर्गदूतले आफूलाई शैतान अर्थात्‌ दियाबल बनायो। समयको दौडान अरू स्वर्गदूतहरू पनि त्यसको विद्रोहमा सामेल भए। कसरी?—उत्पत्ति ३:१-६; रोमी ५:१२; प्रकाश १२:९.

४. नूहको समयको जलप्रलयअघि केही विद्रोही स्वर्गदूतहरूले के गरे?

परमेश्‍वरको वचन बाइबलअनुसार नूहको समयको जलप्रलयभन्दा केहीअघि कोही-कोही स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूप्रति अस्वाभाविक चासो लिन थाले। गलत मनसाय राखेर ‘परमेश्‍वरका ती [स्वर्गीय] छोराहरूले मानिसका सुन्दरी छोरीहरूलाई हेरे र आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए’ भनी बाइबल बताउँछ। त्यस्तो सम्बन्ध अप्राकृतिक थियो र तिनीहरूको सम्बन्धबाट ठिमाहा सन्तानहरू जन्मिए जसलाई नपील भनिन्थ्यो। (उत्पत्ति ६:२-४) यसप्रकार, परमेश्‍वरको आज्ञा नमान्‍ने ती आत्मिक प्राणीहरू यहोवा विरुद्ध शैतानले गरेको विद्रोहमा सामेल भए।

५. यहोवाले ठूलो जलप्रलयद्वारा विनाश ल्याउनुहुँदा विद्रोहीहरूलाई के भयो?

यहोवाले मानिसजातिमाथि जलप्रलय ल्याउनुहुँदा ती नपील र तिनीहरूका आमाहरू मारिए। अनि ती विद्रोही स्वर्गदूतहरू चाहिं मानव शरीर त्यागेर स्वर्गमा फर्कनुपऱ्‍यो। तर तिनीहरू पहिलाजस्तै परमेश्‍वरसँग ‘आफ्नो मर्यादामा रहन’ पाएनन्‌। तिनीहरूलाई टार्टरस भनिने “[आध्यात्मिक] अन्धकारका खाल्डाहरूमा” हालियो।—यहूदा ६; २ पत्रुस २:४.

६. प्रेतहरूले मानिसहरूलाई कसरी ठग्छन्‌?

ती दुष्ट स्वर्गदूतहरूले “आफ्नो मर्यादा” गुमाएदेखि नै तिनीहरू शैतानका सहयोगी भएका छन्‌ र तिनीहरूले शैतानको हरेक दुष्ट काममा साथ दिंदै आएका छन्‌। त्यस समयदेखि यता ती प्रेतहरूले मानव शरीर धारण गर्न सक्‍तैनन्‌। तर अझै पनि तिनीहरूले मानिसहरूलाई हर प्रकारको खराब यौन क्रियाकलापमा फसाउन भने सक्छन्‌। प्रेतवाद चलाएर पनि मानिसहरूलाई ठग्न ती प्रेतहरू सक्रिय छन्‌। प्रेतवादमा तन्त्रमन्त्र गर्ने, जादूगरी गर्ने र मसान जगाउने जस्ता कुराहरू पर्छ। (व्यवस्था १८:१०-१३; २ इतिहास ३३:६) ती दुष्ट स्वर्गदूतहरूले पनि शैतानले जस्तै अनन्त विनाश भोग्नुपर्नेछ। (मत्ती २५:४१; प्रकाश २०:१०) तर त्यतिञ्जेल हामी दृढ रहनुपर्छ र तिनीहरूको प्रतिरोध गर्नुपर्छ। शैतान कत्तिको शक्‍तिशाली छ अनि त्यो र त्यसका प्रेतहरूको हामीले कसरी प्रतिरोध गर्न सक्छौं भनेर विचार गर्नु बुद्धिमानी कुरा हो।

शैतान कत्तिको शक्‍तिशाली छ?

७. संसारमाथि शैतानको प्रभाव कस्तो छ?

शैतानले मानव इतिहासको सुरुदेखि नै यहोवाको निन्दा गर्दै आएको छ। (हितोपदेश २७:११) अनि त्यसले मानिसजातिको ठूलो जमातलाई आफ्नो पकडमा पारेको छ। पहिलो यूहन्‍ना ५:१९ मा यसो भनिएको छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” त्यही कारण शैतानले ‘जगत्‌का सारा राज्यको’ अधिकार र महिमा देखाएर येशूलाई प्रलोभनमा फसाउने हिम्मत गऱ्‍यो। (लूका ४:५-७) शैतानबारे प्रेरित पावल यसो भन्छन्‌: “हाम्रो सुसमाचारमा पनि घुम्टो लागेको छ भने, यो नष्ट हुनेहरूका निम्ति नै घुम्टो लागेको हुन्छ। जसमा ख्रीष्ट, जो परमेश्‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:३, ४) शैतान “झूट र झूटको पिता” हो तर त्यसले आफूलाई “ज्योतिर्मय स्वर्गदूतहरूको” भेषमा देखाउँछ। (यूहन्‍ना ८:४४; २ कोरिन्थी ११:१४) संसारका शासक र तिनीहरूका प्रजाहरूको समझ अन्धा तुल्याउने शक्‍ति र जुक्‍ति त्यससित छ। अफवाह, धार्मिक मिथ्या र झूटा कुराहरू चलाएर त्यसले मानिसजातिलाई ठगेको छ।

८. शैतानको प्रभावबारे बाइबलले के बताउँछ?

शैतानको शक्‍ति र प्रभाव भविष्यवक्‍ता दानियलको समयमा देखियो। यहोवाले दानियललाई हौसला दिन स्वर्गदूत पठाउनुहुँदा उक्‍त स्वर्गदूतलाई “फारस राज्यको [आत्मिक] कुमार-दूतले” रोकिराख्यो। “मुख्य कुमारहरूमध्येका एक जना .  . माइकल” मदत गर्न नआउन्जेल ती विश्‍वासी स्वर्गदूतलाई २१ दिनसम्म रोकिराख्यो। त्यही विवरणले ‘ग्रीसको [पैशाचिक] राजकुमारबारे’ [ NRV] पनि बताउँछ। (दानियल १०:१२, १३, २०) अनि प्रकाश १३:१, २ मा शैतानलाई ‘अजिंगरको’ रूपमा देखाइएको छ जसले राजनैतिक शासकहरूको चित्रण गर्ने जंगली जनावरलाई “आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार” दिन्छ।

९. मसीहीहरूको लडन्त कसको विरुद्धमा हो?

त्यसकारण, प्रेरित पावलले यस्तो लेख्नु कुनै अचम्मलाग्दो कुरा होइन: “हाम्रो यो लडन्त मनिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) आज पनि शैतानको अधीनमा रहेर प्रेतहरूले विशेष गरी मानव शासक र मानिसजातिमाथि प्रभुत्व जमाउँछन्‌ अनि वर्णन नै गर्न नसकिने जातीय संहार, आतंकवाद र हत्याकाण्ड मच्चाउन मानिसहरूलाई उक्साउँछन्‌। ती शक्‍तिशाली आत्मिक शक्‍तिहरूको प्रतिरोध हामी कसरी गर्न सक्छौं, अब हेरौं।

प्रतिरोध गर्न कस्तो मदत उपलब्ध छ?

१०, ११. हामी शैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको कसरी प्रतिरोध गर्न सक्छौं?

१० हामी आफ्नो शारीरिक र मानसिक शक्‍तिको भरमा शैतान र त्यसका दुष्ट प्रेतहरूको प्रतिरोध गर्न सक्दैनौं। पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान होओ।” सुरक्षाको लागि हामी परमेश्‍वरमा भर पर्नुपर्छ। पावल अझ यसो भन्छन्‌: “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नलाई परमेश्‍वरको सारा हात-हतियार धारण गर। .  . परमेश्‍वरका सारा हात-हतियार उठाओ, र खराब दिनमा सामना गर्न र सबै काम गरेर खडा हुनसक्ने होओ।”—एफिसी ६:१०, ११, १३.

११ पावल सँगी मसीहीहरूलाई “परमेश्‍वरका सारा हात-हतियार” धारण गर भनी दुई पटक आग्रह गर्छन्‌। “सारा” भन्‍ने शब्दले प्रेतहरूको आक्रमणको प्रतिरोध आधा मन लगाएर गर्न नसकिने कुरालाई बुझाउँछ। त्यसैले, प्रेतहरूको प्रतिरोध गर्न मसीहीहरूलाई आज नभई नहुने आध्यात्मिक हातहतियार के के हुन्‌?

‘खडा हुने’—कसरी?

१२. बाइबल सच्चाइले मसीहीहरू कसरी आफ्नो कम्मर कस्न सक्छन्‌?

१२ पावल बताउँछन्‌: “यसकारण आफ्ना कम्मर सत्यताले कसेर, धार्मिकताको छाती-पाता लाएर खडा होओ।” (एफिसी ६:१४) यहाँ बताइएका दुई वटा हतियारहरू कम्मरपेटी र छातीपाता हुन्‌। सैनिकहरूले आफ्नो कम्मर, फिलाको काप र तल्लो पेट जोगाउन अनि गह्रौं तरवार भिर्न कम्मरपेटीलाई कसेर बाँध्नुपर्थ्यो। त्यसै गरी, बाइबल सच्चाइद्वारा हामीले आफूलाई प्रतीकात्मक अर्थमा कसेर बाँध्नुपर्छ जसले गर्दा हामी बाइबलको शिक्षाअनुरूप जीवन बिताउन सक्छौं। के हामी दिनहुँ बाइबल पढ्‌ने गर्छौं? अनि घरका सबैले पढ्‌छन्‌? के परिवारमा दिनहुँ दैनिक पद छलफल गर्छौं? त्यसबाहेक, “विश्‍वासी र बुद्धिमान दास” मार्फत उपलब्ध प्रकाशनहरू अध्ययन गरेर नयाँ जानकारीहरू हासिल गर्छौं? (मत्ती २४:४५) गर्छौं भने, हामीले पावलको सल्लाह लागू गर्ने प्रयास गरिरहेका छौं। संगठनले उपलब्ध गराएका भिडियो र डि भि डि-हरूबाट पनि बाइबल आधारित निर्देशन पाउन सक्छौं। सच्चाइलाई बलियो गरी पक्रिराख्नाले बुद्धिमानी निर्णय गर्न सक्नुका साथै गलत बाटोमा लाग्नदेखि जोगिन सक्छौं।

१३. हामी आफ्नो लाक्षणिक हृदयलाई कसरी जोगाउन सक्छौं?

१३ छातीपाताले सिपाहीको छाती, मुटु र अन्य महत्त्वपूर्ण अंगहरूलाई जोगाउँथ्यो। मसीहीहरूले परमेश्‍वरको धार्मिकतालाई प्रेम गरेर अनि उहाँका धार्मिक स्तरहरूअनुरूप जीवन बिताएर आफ्नो लाक्षणिक हृदय अर्थात्‌ भित्री मनुष्यत्वलाई जोगाउन सक्छन्‌। लाक्षणिक छातीपाताले हामीलाई परमेश्‍वरको वचनलाई हल्कासित नलिन मदत गर्छ। हामीले ‘बुराइलाई घृणा र भलाइलाई प्रेम’ गर्दा आफ्नो खुट्टालाई ‘हरेक खराब चालबाट रोकिरहेका हुन्छौं।’—आमोस ५:१५; भजन ११९:१०१.

१४. “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता” लगाउनुको अर्थ के हो?

१४ सामान्यता रोमी सिपाहीहरू रोमी साम्राज्यको एक छेउदेखि अर्को छेउसम्म सयौं किलोमिटर यात्रा हिंडेर गर्थे र त्यस्तो हिंडाइकै लागि सुहाउँदो जुत्ता पनि लगाउँथे। “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ” भन्‍ने अभिव्यक्‍तिले मसीहीहरूका लागि के अर्थ राख्छ? (एफिसी ६:१५) त्यसको अर्थ, हामी काम गर्न तयार हुनु हो। हामी हर अवसरमा परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन तयार हुन्छौं। (रोमी १०:१३-१५) हामी मसीही सेवकाईमा सक्रिय हुँदा शैतानका ‘युक्‍तिहरूबाट’ सुरक्षित हुन्छौं।—एफिसी ६:११.

१५. (क) विश्‍वासको ठूलो ढाल अत्यन्तै महत्त्वपूर्ण छ भनेर कुन कुराले देखाउँछ? (ख) कस्ता ‘अग्निबाणहरूले’ हाम्रो विश्‍वासलाई हानि पुऱ्‍याउन सक्छन्‌?

१५ पावल अझ यसो भन्छन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा, विश्‍वासको ठूलो ढाल उठाओ जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।” (एफिसी ६:१६, NW) विश्‍वासको ठूलो ढाल उठाओ भनेर सल्लाह दिंदा सुरुमै “सबैभन्दा महत्त्वपूर्ण कुरा” भन्‍ने अभिव्यक्‍ति चलाउनुले यो हतियार अत्यन्तै महत्त्वपूर्ण छ भनेर संकेत गर्छ। हाम्रो विश्‍वासमा अलिकति पनि कमी आउन दिनु हुँदैन। सुरक्षाको ठूलो ढालले जस्तै हाम्रो विश्‍वासले हामीलाई शैतानको ‘अग्निबाणहरूबाट’ जोगाउन सक्छ। आज हाम्रो समयमा ती बाणहरू के के हुन सक्छन्‌? जस्तै: मनमा च्वास्स घोच्ने खिसीटिउरी, झूटो कुरा, शत्रु र धर्मत्यागीहरूले हाम्रो विश्‍वास कमजोर पार्न फैलाएका भर्माउने खालका कुराहरू। ती ‘बाणहरू’ हामीलाई भौतिकवादी बनाउने प्रलोभन पनि हुन सक्छ जसले गर्दा हामी चीजबीज थुपार्नमै व्यस्त हुन सक्छौं र अझ हामी अरूको जस्तै सुखसयलको जीवनशैली सिको गर्न उक्सिरहेका हुन्छौं। सायद सुखसयलको जीवन बिताइरहेका ती मानिसहरूले भव्य र सानदार घर बनाउन वा गाडी किन्‍न पैसा खन्याएका हुन सक्छन्‌ वा गरगहना र फेसनदार लुगाफाटामा मनग्गे पैसा खर्च गर्छन्‌। अरूले जेसुकै गरिरहेका भए तापनि हामीमा चाहिं ती “अग्निबाणहरू” निभाउन सक्ने बलियो विश्‍वास हुनै पर्छ। हामी कसरी आफ्नो विश्‍वास बलियो बनाउन र त्यसलाई कायम राख्न सक्छौं?—१ पत्रुस ३:३-५; १ यूहन्‍ना २:१५-१७.

१६. विश्‍वास बलियो बनाउन हामीलाई कुन कुराले मदत दिन सक्छ?

१६ नियमित तवरमा बाइबल पढेर अनि तनमनले प्रार्थना गरेर हामी पमेश्‍वरको नजिक हुन सक्छौं। विश्‍वास बलियो बनाउन यहोवालाई प्रार्थना गर्न सक्छौं र त्यसपछि प्रार्थनाअनुसार काम गर्नुपर्छ। उदाहरणका लागि, के हामी टिप्पणी दिने मनसाय लिई प्रहरीधरहरा अध्ययनको तयारी मन लगाएर गर्छौं? हामीले बाइबल र बाइबलमा आधारित प्रकाशनहरू अध्ययन गऱ्‍यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ।—हिब्रू १०:३८, ३९; ११:६.

१७. हामी “मुक्‍तिको टोप” कसरी लगाउन सक्छौं?

१७ पावल यस्तो सल्लाह दिंदै आध्यात्मिक हातहतियारको वर्णन टुंग्याउँछन्‌: “मुक्‍तिको टोप लेओ, र आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो।” (एफिसी ६:१७) टोपले सैनिकको शिर र निर्णयहरू गर्न नभई नहुने मस्तिष्कलाई जोगाउँथ्यो। त्यसै गरी हाम्रो मसीही आशाले हाम्रो मानसिक शक्‍तिलाई जोगाउँछ। (१ थिस्सलोनिकी ५:८) सांसारिक लक्ष्यहरू राख्नु र धनसम्पत्ति थुपार्ने सपना देख्नुभन्दा येशूले जस्तै हामीले पनि परमेश्‍वरले दिनुभएको आशामाथि ध्यान केन्द्रित गर्नुपर्छ।—हिब्रू १२:२.

१८. नियमित बाइबल पढाइको कार्यक्रमलाई हामीले किन हेलचेक्य्राइँ गर्नु हुँदैन?

१८ शैतान र त्यसका प्रेतहरूको पकडबाट जोगिने अर्को उपाय बाइबलमा दिइएको परमेश्‍वरको वचन वा सन्देश हो। हामीले नियमित बाइबल पढाइलाई हल्का ठान्‍नु नहुने अर्को कारण यो पनि हो। परमेश्‍वरको वचनको सही र विस्तृत ज्ञानले हामीलाई शैतान अनि त्यसका प्रेतहरूले फैलाउने झूटा कुराहरू, साथै धर्मत्यागीहरूको द्वेषपूर्ण प्रकाशन तथा भाषणहरूबाट जोगाउँछ।

‘हर समय प्रार्थना गर’

१९, २०. (क) शैतान र त्यसका प्रेतहरूलाई के हुन लागेको छ? (ख) कुन कुराले हामीलाई आध्यात्मिक तवरमा बलियो बनाउन सक्छ?

१९ शैतान र त्यसका प्रेतहरू अनि यस दुष्ट संसारलाई हटाउने समय आउनै लागेको छ। आफूसित “अल्प समय” मात्र छ भनेर शैतानलाई थाह छ। त्यो क्रोधित भएको छ र ‘परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको साक्षी दिनेहरूसित’ युद्ध गर्न आएको छ। (प्रकाश १२:१२, १७) त्यसैले शैतान र त्यसका प्रेतहरूको प्रतिरोध गर्नु अत्यावश्‍यक छ।

२० परमेश्‍वरको सारा हातहतियार धारण गर्ने सल्लाह पाएकोमा हामी एकदमै कृतज्ञ छौं! पावल यस्तो सल्लाह दिंदै आध्यात्मिक हातहतियारको छलफललाई टुंग्याउँछन्‌: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गरेर, यसैमा सारा पवित्र जनहरूका निम्ति सतर्क भएर खुरन्धार अन्तरबिन्ती गर।” (एफिसी ६:१८) प्रार्थनाले हामीलाई आध्यात्मिक तवरमा बलियो हुन र सजग रहन मदत दिन सक्छ। पावलका शब्दहरू मनमा राखौं र प्रार्थनामा लागिरहौं किनभने यसो गर्दा शैतान र त्यसका प्रेतहरूको प्रतिरोध गर्न मदत पाउनेछौं। (w07 3/15)

तपाईंले के सिक्नुभयो?

• शैतान र त्यसका प्रेतहरू कसरी अस्तित्वमा आए?

• शैतान कत्तिको शक्‍तिशाली छ?

• शैतान र त्यसका प्रेतहरूबाट बच्न कस्तो सुरक्षा उपलब्ध छ?

• हामी कसरी परमेश्‍वरका सारा हातहतियार धारण गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

‘परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई हेरे’

[पृष्ठ १९-मा भएको चित्र]

छवटा आध्यात्मिक हातहतियार के के हुन्‌, बताउन सक्नुहुन्छ?

[पृष्ठ २०-मा भएका चित्रहरू]

यी कुराहरू गर्दा शैतान र त्यसका प्रेतहरूबाट कसरी सुरक्षित हुन सक्छौं?