सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वर्गदूतहरू—तिनीहरूले मानिसजातिलाई कसरी असर गर्छन्‌?

स्वर्गदूतहरू—तिनीहरूले मानिसजातिलाई कसरी असर गर्छन्‌?

स्वर्गदूतहरू—तिनीहरूले मानिसजातिलाई कसरी असर गर्छन्‌?

“यी कुरापछि ठूलो अख्तियार भएको अर्को एउटा दूत स्वर्गबाट आइरहेको मैले देखें। . . . औ तिनी यसो भनेर शक्‍तिशाली सोरले कराए, ‘महान्‌ बेबिलोनको पतन भएको छ, पतन भएको छ।’ ”—प्रकाश १८:१, २.

१, २. यहोवाले आफ्नो इच्छा पूरा गर्न स्वर्गदूतहरू चलाउनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

 पत्मोस टापुमा निर्वासित जीवन बिताउँदा वृद्ध प्रेरित यूहन्‍नाले भविष्यसूचक दर्शन पाउँछन्‌। उनले परमेश्‍वरबाट प्रेरणा पाएर “प्रभुको दिनमा” हुने रोमाञ्चकारी घटनाहरू देख्छन्‌। “प्रभुको दिन” सन्‌ १९१४ मा येशू ख्रीष्ट स्वर्गको सिंहासनमा बस्नुभएदेखि सुरु भएर उहाँको हजार वर्षीय शासन नसकुन्जेलसम्म रहन्छ।—प्रकाश १:१०.

यहोवा परमेश्‍वरले यो दर्शन सीधै यूहन्‍नालाई दिनुभएन। उहाँले एउटा माध्यम चलाउनुभयो। प्रकाश १:१ मा यस्तो लेखिएको छ: “येशू ख्रीष्टको प्रकाश, जो परमेश्‍वरले चाँडै अवश्‍य हुनआउने कुरो के हो, त्यो आफ्ना दासहरूलाई देखाउनलाई, उहाँलाई दिनुभयो, र उहाँले आफ्नो दूतद्वारा आफ्ना सेवक यूहन्‍नाकहाँ पठाएर थाह गराउनुभयो।” ‘प्रभुको दिनबारे’ अद्‌भुत कुरा यूहन्‍नालाई थाह दिन यहोवाले येशू मार्फत एउटा स्वर्गदूत पठाउनुभयो। एक पटक यूहन्‍नाले “ठूलो अख्तियार भएको अर्को एउटा दूत स्वर्गबाट आइरहेको” देखे। त्यस स्वर्गदूतको काम के थियो? “तिनी यसो भनेर शक्‍तिशाली सोरले कराए, ‘महान्‌ बेबिलोनको पतन भएको छ, पतन भएको छ।’ ” (प्रकाश १८:१, २) उक्‍त शक्‍तिशाली स्वर्गदूतलाई झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको पतनबारे घोषणा गर्ने काम दिइएको थियो। त्यसैले यस कुरामा कुनै शंका छैन कि यहोवाले आफ्नो इच्छा पूरा गर्न स्वर्गदूतहरूलाई महत्त्वपूर्ण तरिकामा चलाउनुहुन्छ। परमेश्‍वरको उद्देश्‍य पूरा गर्न स्वर्गदूतहरूले खेल्ने भूमिका र तिनीहरूले हामीलाई कसरी असर गर्छन्‌ भनी विस्तृत रूपमा जाँच्नुअघि, ती आत्मिक प्राणीहरू कसरी अस्तित्वमा आए, विचार गरौं।

स्वर्गदूतहरू कसरी अस्तित्वमा आए?

३. थुप्रै मानिसले स्वर्गदूतबारे कस्तो गलत धारणा राख्छन्‌?

स्वर्गदूतहरू छन्‌ भनी आज लाखौं मानिसहरू विश्‍वास गर्छन्‌। तर थुप्रैले स्वर्गदूतहरू र तिनीहरूको सुरुआतबारे गलत धारणा राख्छन्‌। उदाहरणका लागि, ईश्‍वरप्रति आस्था राख्ने केही मानिसहरूको सोचाइमा चाहिं हाम्रा प्रियजनहरू मरेपछि स्वर्ग जान्छन्‌ र स्वर्गदूत बन्छन्‌। स्वर्गदूतहरूको सुरुआत, अस्तित्व र उद्देश्‍यबारे के परमेश्‍वरको वचन बाइबलले पनि यस्तै सिकाउँछ?

४. स्वर्गदूतहरूको सुरुआतबारे बाइबलले हामीलाई के बताउँछ?

सर्वाधिकार पाएका सबैभन्दा शक्‍तिशाली स्वर्गदूतलाई प्रधान दूत माइकल भनिएको छ। (यहूदा ९) उहाँ अरू कोही नभई स्वयम्‌ येशू ख्रीष्ट हुनुहुन्छ। (१ थिस्सलोनिकी ४:१६) युगौंयुगअघि परमेश्‍वरले सृष्टि गर्ने सोच राख्नुभएपछि सबैभन्दा पहिला यिनै स्वर्गदूत अर्थात्‌ पुत्रलाई सृष्टि गर्नुभएको थियो। (प्रकाश ३:१४) पछि यिनै जेठो छोरो मार्फत यहोवाले अरू सबै आत्मिक प्राणीहरू अर्थात्‌ स्वर्गदूतहरू बनाउनुभयो। (कलस्सी १:१५-१७) ती स्वर्गदूतहरूलाई संकेत गर्दै यहोवाले कुलपिता अय्यूबलाई यस्तो प्रश्‍न गर्नुभयो: “पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्‌? तैंले जान्दछस्‌ र बुझ्दछस्‌ भने मलाई बता। . . . त्यसको जगको ढुङ्‌गा कसले बसाल्यो? त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गीय जनहरू रमाहटले कराए।” (अय्यूब ३८:४, ६, ७) स्पष्ट छ, स्वर्गदूतहरू परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो र तिनीहरू मानिसभन्दा धेरै अघि अस्तित्वमा आएका थिए।

५. स्वर्गदूतहरूलाई कसरी व्यवस्थित गरिएको छ?

पहिलो कोरिन्थी १४:३३ मा यस्तो लेखिएको छ: “परमेश्‍वर गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।” यही कारण यहोवाले आफ्ना आत्मिक छोराहरूलाई तीन मुख्य समूहमा व्यवस्थित गर्नुभएको छ: (१) सराफहरू जसले परमेश्‍वरको सिंहासन वरिपरि रहेर सेवा गर्छन्‌, उहाँको पवित्रताबारे घोषणा गर्छन्‌ र उहाँका जनहरूलाई आध्यात्मिक तवरमा स्वच्छ राख्छन्‌; (२) करूबहरू जसले परमेश्‍वरको सार्वभौमिकतालाई उच्च पार्छन्‌; अनि (३) अरू स्वर्गदूतहरू जसले उहाँको इच्छा पूरा गर्छन्‌। (भजन १०३:२०; यशैया ६:१-३; इजकिएल १०:३-५; दानियल ७:१०) ती आत्मिक प्राणीहरूले मानिसजातिलाई असर गर्ने केही तरिकाहरू के हुन्‌?—प्रकाश ५:११.

स्वर्गदूतहरूले कस्तो भूमिका खेल्छन्‌?

६. अदनको बगैंचाको सन्दर्भमा यहोवाले करूबहरूलाई कसरी चलाउनुभयो?

आत्मिक प्राणीहरूबारे उत्पत्ति ३:२४ मा पहिलो चोटि उल्लेख गरिएको पाउँछौं, जहाँ यस्तो लेखिएको छ: “[यहोवाले] मानिसलाई धपाइदिनुभयो, र जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।” ती करूबहरूले आदम र हव्वालाई तिनीहरूको बगैंचारूपी घरमा फेरि पस्न दिएनन्‌। यो घटना मानव इतिहासको सुरुमा भएको थियो। त्यहाँदेखि यता स्वर्गदूतहरूले कस्तो भूमिका खेल्दै आएका छन्‌?

७. मूल भाषामा ‘स्वर्गदूतको’ लागि चलाइएको शब्दले स्वर्गदूतहरूको कुन एउटा भूमिकालाई देखाउँछ?

मौलिक बाइबलमा स्वर्गदूतहरू लगभग ४०० पटक उल्लेख गरिएको छ। ‘स्वर्गदूतको’ लागि हिब्रू र ग्रीक दुवै भाषामा चलाइएको शब्दलाई “सन्देशवाहक” भनी अनुवाद गर्न सकिन्छ। त्यसैले, स्वर्गदूतहरूले परमेश्‍वर र मानिसजातिबीच सञ्चार माध्यमको रूपमा काम गर्दै आएका छन्‌। यस लेखको पहिलो र दोस्रो अनुच्छेदमा बताइएझैं आफ्नो सन्देश प्रेरित यूहन्‍नाकहाँ पुऱ्‍याउन यहोवाले एउटा स्वर्गदूत चलाउनुभयो।

८, ९. (क) स्वर्गदूतसितको भेटले मानोह र उनकी पत्नीलाई कस्तो असर पाऱ्‍यो? (ख) स्वर्गदूत र मानोहबीचको कुराकानीबाट आमाबाबुले कस्तो पाठ सिक्न सक्छन्‌?

पृथ्वीमा रहेका परमेश्‍वरका सेवकहरूलाई मदत र प्रोत्साहन दिन पनि स्वर्गदूतहरू चलाइन्छ। उदाहरणका लागि, इस्राएलमा न्यायकर्ताहरूको समयमा मानोह र उनकी बाँझी पत्नीलाई बच्चा जन्माउने एकदमै चाह थियो। मानोहकी पत्नीलाई तिनले एउटा छोरो जन्माउनेछिन्‌ भनेर बताउन यहोवाले स्वर्गदूत पठाउनुभयो। विवरण यसो भन्छ: “तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ, औ त्यसको कपालमा छुरा नलागोस्‌ किनभने त्यो बालक जन्मेको दिनदेखिनै परमेश्‍वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इस्राएललाई पलिश्‍तीहरूको हातबाट छुटाउन शुरु गर्नेछ।”—न्यायकर्त्ता १३:१-५.

अन्ततः मानोहकी पत्नीले एउटा छोरो जन्माइन्‌ र तिनको नाउँ शिमशोन राखियो। तिनी बाइबलको इतिहासमा एक प्रख्यात व्यक्‍ति भए। (न्यायकर्त्ता १३:२४-२५) जन्मने त्यो बालकको लालनपालनमा तिनीहरूले के-के गर्नुपर्छ त्यो बताइदिन ती स्वर्गदूत फेरि पठाइदिनुहोस्‌ भनेर मानोहले परमेश्‍वरलाई बच्चा जन्मनुअघि बिन्ती गरे। मानोहले यस्तो जिज्ञासा राखे: “त्यो केटो कस्तो किसिमको हुनेछ, र त्यसले के गर्नेछ?” जवाफमा यहोवाको दूतले, मानोहकी पत्नीलाई पहिला जे भनेका थिए फेरि त्यही कुरा दोहोऱ्‍याए। (न्यायकर्त्ता १३:६-१४) मानोह कत्ति प्रोत्साहित भए होलान्‌! आज स्वर्गदूतहरू त्यसरी व्यक्‍तिविशेषलाई भेट्‌न त आउँदैनन्‌ तर छोराछोरीलाई प्रशिक्षण दिने सन्दर्भमा आमाबाबुले मानोहले जस्तै यहोवाको डोऱ्‍याइ खोज्न सक्छन्‌।—एफिसी ६:४.

१०, ११. (क) आक्रमण गर्न आएका अरामी फौजले एलीशा र उनको चाकरमाथि कस्तो असर पाऱ्‍यो? (ख) यस घटनालाई विचार गरेर हामी कसरी लाभ उठाउन सक्छौं?

१० स्वर्गदूतले मदत दिएको एउटा अर्को राम्रो उदाहरण अगमवक्‍ता एलीशाको समयमा देखियो। एलीशा इस्राएलको सहर दोतानमा बसिरहेका थिए। एक दिन तिनका चाकरले बिहानै उठेर बाहिर हेर्दा घोडा र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको देखे। अरामका राजाले एलीशालाई पक्रन एउटा शक्‍तिशाली फौज पठाएका थिए। एलीशाको चाकरले कस्तो प्रतिक्रिया देखाए? सायद तिनी भयभीत भएकोले नै यसरी विलौना गरे: “हाय, मेरा प्रभु, अब हामी के गरौं?” तिनले बाँच्ने कुनै आशा देखेनन्‌। तर एलीशाले यस्तो जवाफ दिए: “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्‌।” एलीशाले त्यसो भन्‍नुको मतलब के थियो?—२ राजा ६:११-१६.

११ तिनीहरूको बचाउमा त्यहाँ थुप्रै स्वर्गदूतहरू छन्‌ भनी एलीशालाई थाह थियो। तर, उनको चाकरले चाहिं केही पनि देखिरहेका थिएनन्‌। त्यसैकारण, “एलीशाले यसो भनेर प्रार्थना चढाए, ‘हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्‌, र यसले देखोस्‌।’ तब परमप्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाको वरिपरिको डाँडामा अग्निमय घोडा र रथहरू भरिएको देख्यो।” (२ राजा ६:१७) हो, उक्‍त चाकरले असंख्य स्वर्गदूतहरू देख्न सके। आध्यात्मिक अन्तरदृष्टिद्वारा हामी पनि स्वर्गदूतहरूले यहोवा र ख्रीष्टको निर्देशनअनुसार मानिसहरूलाई मदत र सुरक्षा दिइरहेका देख्न सक्छौं।

ख्रीष्टको समयमा स्वर्गदूतहरूको मदत

१२. मरियमले गब्रिएल स्वर्गदूतबाट कस्तो आश्‍वासन पाइन्‌?

१२ “तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू” भन्‍ने अचम्मलाग्दो सन्देश यहूदी कन्ये मरियमलाई सुनाउनुअघि स्वर्गदूतबाट तिनले कस्तो आश्‍वासन पाइन्‌, विचार गर्नुहोस्‌। यो सन्देश दिनुअघि परमेश्‍वरबाट पठाइएको स्वर्गदूत गब्रिएलले मरियमलाई यसरी आश्‍वासन दिए: “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट निगाह प्राप्त गरेकी छौ।” (लूका १:२६, २७, ३०, ३१) मरियमले परमेश्‍वरको निगाह पाएको रहेछिन्‌ भनेर यी शब्दहरूबाट देखिन्छ। यी आश्‍वासनदायी शब्दहरू सुनेपछि मरियमले आफू निकै बलियो र प्रोत्साहित भएको महसुस गरेकी हुनुपर्छ!

१३. स्वर्गदूतहरूले येशूलाई कसरी मदत दिए?

१३ स्वर्गदूतहरूले मदत दिएको अर्को घटना, शैतानले येशूलाई उजाडस्थानमा देखाएको तीन वटा प्रलोभनहरूको उहाँले प्रतिरोध गर्नुभएपछि देखियो। विवरण बताउँछ, परीक्षा लिएपछि “दुष्टात्माले उहाँलाई छोड्यो र हेर, स्वर्गदूतहरूले आएर उहाँको सेवा-टहल गरे।” (मत्ती ४:१-११) येशू मारिनुअघिको रात पनि त्यस्तै घटना भयो। चरम वेदनामा पिरोलिंदै येशूले घुँडा टेकेर यसरी प्रार्थना गर्नुभयो: “ ‘हे पिता, तपाईंको इच्छा छ भने कचौरा मबाट हटाइदिनुहोस्‌, तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌।’ स्वर्गबाट एउटा दूत उहाँलाई सामर्थ्य दिनलाई उहाँकहाँ देखा परे।” (लूका २२:४२, ४३) तर आज हामी स्वर्गदूतहरूबाट कस्तो प्रकारको मदत पाउँछौं?

वर्तमान समयमा स्वर्गदूतहरूको मदत

१४. वर्तमान समयमा यहोवाका साक्षीहरूले कस्तो सतावट सहनुपरेको छ र त्यसको परिणाम कस्तो भएको छ?

१४ यहोवाका साक्षीहरूको प्रचारकार्यको आधुनिक इतिहासलाई विचार गर्दा के हामी स्वर्गदूतहरूले मदत दिएको प्रमाण पाउँदैनौं र? उदाहरणका लागि, जर्मनी र पश्‍चिम युरोपमा दोस्रो विश्‍वयुद्धको दौडान (१९३९-१९४५) र त्यसअघि नाजीहरूले यहोवाका जनहरूलाई भीषण सतावट दिंदा तिनीहरूले सहन सके। इटाली, स्पेन र पोर्चुगलमा क्याथोलिक फासिस्ट शासनको बेला तिनीहरूले झन्‌ लामो समयसम्म सतावट सहनुपऱ्‍यो। अनि पहिलाको सोभियत संघ र त्यसको इशारामा चल्ने देशहरूमा पनि तिनीहरूले दशकौंसम्म सतावट सहे। केही अफ्रिकी मुलुकमा यहोवाका साक्षीहरूले सहेको सतावट पनि अर्को उदाहरण हो। हालसालै, यहोवाका सेवकहरूले जर्जियामा क्रूर सतावट भोगेका छन्‌। a यहोवाका साक्षीहरूको काम बन्द गर्न शैतानले सकेजति सबै गरेको छ। तैपनि, एउटा संगठनको रूपमा तिनीहरू त्यस्ता विरोधबाट बचेका छन्‌ र तिनीहरूको उन्‍नति भएको छ। यसको एउटा कारण त स्वर्गदूतहरूले दिएको सुरक्षा नै हो।—भजन ३४:७; दानियल ३:२८; ६:२२.

१५, १६. यहोवाका साक्षीहरूले विश्‍वव्यापी साक्षीकार्यमा स्वर्गदूतहरूबाट कस्तो मदत पाउँछन्‌?

१५ यहोवाका साक्षीहरूले संसारभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र इच्छुक सबैलाई बाइबल सच्चाइ सिकाउँदै चेला बनाउने कामलाई गम्भीरतापूर्वक लिन्छन्‌। (मत्ती २८:१९, २०) तर, यो काम स्वर्गदूतहरूको मदतविना पूरा गर्न सकिंदैन भनेर तिनीहरूलाई राम्ररी थाह छ। तसर्थ, प्रकाश १४:६, ७ मा बताइएको कुराबाट तिनीहरूले निरन्तर प्रोत्साहन पाउँछन्‌। त्यहाँ प्रेरित यूहन्‍नाले यस्तो लेखेको पाउँछौं: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उडिरहेको देखें। औ तिनले ठूलो सोरले भन्दारहेछन्‌, ‘परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।’ ”

१६ यी शब्दहरूले स्पष्टसित के देखाउँछ भने यहोवाका साक्षीहरूको विश्‍वव्यापी महान्‌ साक्षीकार्यमा स्वर्गदूतहरूले मदत र निर्देशन दिन्छन्‌। इमानदार मानिसहरूलाई साक्षीहरूसित भेट गराउन यहोवाले आफ्ना स्वर्गदूतहरू चलाइरहनुभएको छ। स्वर्गदूतहरूले साक्षीहरूलाई योग्य जनहरू भेट्‌न पनि मदत गरेका छन्‌। समस्यामा परेर आध्यात्मिक मदत चाहिरहेकै बेला थुप्रै मानिसहरूलाई यहोवाका साक्षीहरूले भेटेका छन्‌। त्यसकारण त्यस्ता घटनाहरूलाई संयोग मात्र कदापि भन्‍न मिल्दैन!

निकट भविष्यमा स्वर्गदूतहरूले खेल्ने विशेष भूमिका

१७. एउटा मात्र स्वर्गदूतको आक्रमणले अश्‍शूरीहरूको हालत के भयो?

१७ यहोवाका उपासकहरूलाई सन्देश र बल दिनुबाहेक स्वर्गदूतहरूले अर्को काम पनि गर्छन्‌। विगतमा तिनीहरूले परमेश्‍वरको न्यायदण्ड ल्याउने गर्थे। उदाहरणका लागि, ईसापूर्व आठौं शताब्दीमा अश्‍शूरीहरूको ठूलो सेना यरूशलेममाथि आक्रमण गर्न आयो। त्यतिखेर यहोवाले के गर्नुभयो? उहाँले यसो भन्‍नुभयो: “मैले आफ्नै खातिर र मेरो दास दाऊदको खातिर यसलाई उद्धार गर्न यसको ढाल म हुनेछु।” त्यसपछि के भयो, त्यसबारे बाइबल विवरण यसो भन्छ: “त्यस रात परमप्रभुका स्वर्गदूत निस्केर अश्‍शूरको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। औ बिहान हुँदा तिनीहरू मरेका भेट्टाइए।” (२ राजा १९:३४, ३५) केवल एउटा स्वर्गदूतको शक्‍तिअघि मानिसको त्यत्रो ठूलो सेना कत्ति कमजोर साबित भयो!

१८, १९. निकट भविष्यमा स्वर्गदूतहरूले कस्तो विशेष भूमिका खेल्नेछन्‌ र त्यसले मानिसजातिमाथि कस्तो प्रभाव पार्नेछ?

१८ निकट भविष्यमा स्वर्गदूतहरूले परमेश्‍वरको न्यायदण्ड ल्याउने फौजको रूपमा काम गर्नेछन्‌। चाँडै येशू ‘शक्‍तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा प्रकाश हुँदै’ आउनुहुनेछ। तिनीहरूको काम ‘परमेश्‍वरलाई निचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूसँग बदला’ लिनु हुनेछ। (२ थिस्सलोनिकी १:७, ८) त्यस कारबाहीले मानिसजातिमाथि कत्ति ठूलो प्रभाव पार्नेछ! विश्‍वभरि अहिले सुनाउँदै गरेको परमेश्‍वरको राज्यको सुसमाचार सुन्‍न इन्कार गर्नेहरूले विनाश भोग्नेछन्‌। यहोवा, धार्मिकता र नम्रता खोज्नेहरूले मात्र “परमप्रभुको रीसको दिनमा . . . शरण” पाउनेछन्‌ र बच्नेछन्‌।—सपन्याह २:३.

१९ यहोवाले पृथ्वीमा आफ्ना उपासकहरूलाई मदत र बल दिन शक्‍तिशाली स्वर्गदूतहरू चलाउनुभएकोमा हामी कृतज्ञ हुन सक्छौं। पमेश्‍वरको उद्देश्‍य पूरा गर्न स्वर्गदूतहरूले खेल्ने भूमिकालाई बुझ्दा सान्त्वना पाउँछौं किनभने यहोवाको विरुद्धमा विद्रोह गरेर शैतानको पक्षमा लाग्ने स्वर्गदूतहरू पनि छन्‌। शैतान र त्यसका प्रेतहरूको शक्‍तिशाली प्रभावबाट आफूलाई जोगाउन साँचो मसीहीहरूले चाल्नसक्ने कदमहरूबारे यसपछिको लेखमा छलफल गरिनेछ। (w 07 3/15)

[फुटनोट]

a यी भीषण सतावटबारे विस्तृत जानकारीको लागि फेब्रूअरी ८, २००२, ब्यूँझनुहोस्‌!, पृष्ठ २२, “जर्जियामा धार्मिक सतावट—अझ कतिञ्जेल?” अनि यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज १९८३ (एंगोला), १९८२ (इटाली), १९९२ (इथियोपिया), १९७२ (चेकोस्लाभाकिया), २००० (चेक गणतन्त्र), २००६ (जाम्बिया), १९७४ र १९९९ (जर्मनी), १९८३ (पोर्चुगल), १९९४ (पोल्याण्ड), १९९९ (मलावी), २००४ (माल्डोभा), १९९६ (मोजाम्बिक), २००२ (युक्रेन), र १९७८ (स्पेन) हेर्नुहोस्‌।

तपाईंले के सिक्नुभयो?

• स्वर्गदूतहरू कसरी अस्तित्वमा आए?

• बाइबलको समयमा स्वर्गदूतहरूलाई कसरी चलाइयो?

• आज स्वर्गदूतहरूले गर्ने कामबारे प्रकाश १४:६, ७ मा के बताइएको छ?

• निकट भविष्यमा स्वर्गदूतहरूले कस्तो विशेष भूमिका खेल्नेछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

मानोह र उनकी पत्नीले स्वर्गदूतबाट प्रोत्साहन पाए

[पृष्ठ १५-मा भएको चित्र]

“हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्‌”