सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्रूरताको कहिल्यै अन्त होला?

क्रूरताको कहिल्यै अन्त होला?

क्रूरताको कहिल्यै अन्त होला?

मानिसहरू स्वार्थी भएकोले गर्दा नै संसारमा क्रूरता यसरी बढेको हो भन्‍ने कुरामा सायद कसैको विमति नहोला। आफ्नै विषयमा मात्र सोच्ने परिपाटी बढ्‌दै गएकोले स्वार्थी समाजको विकास भएको छ। धेरै मानिसहरू जे गरेर भए पनि आफ्नो इच्छा पूरा गर्न चाहन्छन्‌। यसको लागि अक्सर उनीहरू क्रूर कामहरू गर्न पनि पछि पर्दैनन्‌। यो कुरा कुनै मानिसमा मात्र होइन तर सारा संसारमा नै साँचो साबित भएको छ।

सँगी मानवको जीवनलाई महत्त्वको ठान्‍ने युग हराइसकेको जस्तो देखिन्छ। केही मानिसहरू त आफू निष्ठुर भएकोमा रमाउँछन्‌ समेत। अरूलाई हानि पुऱ्‍याउँदा रमाइलो लाग्छ भन्‍ने अपराधीहरू जस्तै तिनीहरू पनि यसलाई मजाको रूपमा लिन्छन्‌। लाखौं मानिसले हिंसा र क्रूरताले भरिएको फिल्म मन पराउँछन्‌ र यसबाट फिल्म उद्योगले भरमग्दुर फाइदा उठाएको छ। यस्ता फिल्म मन पराउने ती लाखौं मानिसहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? हो, मनोरञ्जन र समाचारहरूमा सधैंजसो पाशविक व्यवहार मात्र देखाइरहँदा मानिसमा हुने दया-माया नै हराउँछ।

क्रूरताले अक्सर मानसिक रूपमा पनि हानि पुऱ्‍याउँछ र यसले गर्दा एउटा यस्तो डरलाग्दो चक्र सुरु हुन थाल्छ जसमा यसको शिकार भएकाहरूले अरूलाई पनि त्यस्तै व्यवहार गर्न पुग्छन्‌। क्रूरताले गर्दा उत्पन्‍न हुने हिंसाको बारेमा मेक्सिकोको एउटा विश्‍वविद्यालयमा पढाउने नोमी डियाज मारोकेन यसो भन्छिन्‌: “हिंस्रक काम एउटा संस्कारकै रूपमा सिकिन्छ। . . . हाम्रो वातावरण नै यस्तो छ जहाँ हामीलाई हिंस्रक व्यवहार गर्न छुट र प्रोत्साहन दिइन्छ।” त्यसकारण, दुर्व्यवहारको शिकार हुन पुगेकाहरूले आफूलाई जसरी दुर्व्यवहार गरिएको थियो अरूलाई पनि सम्भवतः त्यस्तै तरिकामा दुर्व्यवहार गर्छन्‌।

रक्सी र लागूपदार्थको कुलतमा फसेकाहरूले पनि अरूसँग क्रूर व्यवहार गर्न सक्छन्‌। जनताको आवश्‍यकता पूरा नगरेको कारण सरकारसँग असन्तुष्ट मानिसहरूको व्यवहारमा पनि खासै भिन्‍नता छैन। कतिपयले त आफ्नो कुरा सुन्‍न लगाउन क्रूरताको सहारा लिन्छन्‌ र आतंकवादलाई बढावा दिन्छन्‌। परिणामस्वरूप, थुप्रै निर्दोष मानिसहरूले बित्थैमा आफ्नो ज्यान गुमाउँछन्‌।

तपाईं सोच्नुहोला: ‘के क्रूर व्यवहार गर्न मानिस आफैले सिकेको हो? अहिलेको यो अवस्था आउनुको कारणहरू के-के हुन्‌?’

क्रूर कामपछाडि कसको हात छ?

बाइबलले शैतानलाई “यस संसारको देव” भनी चिनाएको छ। यसबाट संसारमा त्यसको पकड बलियो छ भनी स्पष्ट हुन्छ। (२ कोरिन्थी ४:४) त्यो जस्तो स्वार्थी र क्रूर ब्रह्‍माण्डमै अरू कोही छैन। येशूले त्यसलाई “हत्यारा” र “झूटको पिता” भनेर सुहाउँदो नाउँ दिनुभयो।—यूहन्‍ना ८:४४.

आदम र हव्वाको समयदेखि नै मानिसजाति उम्कनै नसक्नेगरि शैतानको पकडमा परेको छ। (उत्पत्ति ३:१-७, १६-१९) पहिलो मानव दम्पतीले यहोवालाई आफ्नो पीठ फर्काएको करिब १५ सय वर्षपछि विद्रोही स्वर्गदूतहरूले मानव शरीर धारण गरेर पृथ्वीका स्त्रीहरूसँग सम्बन्ध गाँसे र तिनीहरूबाट नपील भनिने ठिमाहा सन्तान जन्मिए। तिनीहरू किन बेग्लै थिए? तिनीहरूको नाउँले नै यसको जवाफ दिन्छ। नपीलको अर्थ हुन्छ “ढाल्नेहरू” अर्थात्‌ “अरूलाई ढल्न लगाउनेहरू।” स्पष्टतया, तिनीहरू हिंस्रक व्यक्‍ति थिए जसले क्रूरता र अनैतिकता पृथ्वीमा भित्र्याए। यसको अन्त परमेश्‍वरले ल्याउनुहुने जलप्रलयले मात्रै गर्न सक्थ्यो। (उत्पत्ति ६:४, ५, १७) जलप्रलयले ती नपीलहरूलाई भुस्कुट पाऱ्‍यो तर तिनीहरूका बुबाहरू भने चोला फेरेर आत्मिक संसारमा फर्के।—१ पत्रुस ३:१९, २०.

ती विद्रोही स्वर्गदूतहरूको क्रूर कर्तुत येशूको समयमा भूत लागेको ठिटोमा देखियो। भूतात्माले त्यस केटोलाई घरिघरि कक्र्‌याक्‌कुक्रुक्क पार्थ्यो र त्यसलाई मार्न आगो र पानीमा फ्याँक्थ्यो। (मर्कूस ९:१७-२२) स्पष्ट छ, ‘दुष्ट्‌याइँका आत्मिक सेनाहरूले’ तिनीहरूका क्रूर सेनापति शैतान अर्थात्‌ दियाबलको निर्दयी चरित्रलाई झल्काउँछन्‌।—एफिसी ६:१२.

बाइबलमा भविष्यवाणी गरिएझैं प्रेतको प्रभावले गर्दा आज मानिसहरू झन्‌-झन्‌ क्रूर हुँदै गइरहेका छन्‌। बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . अहंकारी, हठी, . . . बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.

बाइबल भविष्यवाणीहरूले हाम्रो समय विशेष गरी नाजुक छ भनी देखाउँछ किनभने सन्‌ १९१४ मा येशू ख्रीष्ट मार्फत परमेश्‍वरको राज्य स्थापना भएपछि शैतान र त्यसका दूतहरूलाई पृथ्वीमा फ्याँकिएको छ। बाइबल यसो भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:५-९, १२.

तर के यसको मतलब परिस्थितिमा कहिल्यै सुधार आउँदैन भन्‍न खोजिएको हो? अगाडि पनि उल्लेख गरिएको डियाज मारोकेनका अनुसार खराब आनीबानीहरू “त्याग्ने क्षमता मानिसमा छ।” तर कुरो के हो भने, मानिसहरूले एउटा भिन्‍नै र सर्वोच्च शक्‍तिको मदतद्वारा आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन नगरुञ्जेल शैतानको अधीनमा परेको आजको संसारमा सम्भवतः उनीहरूले हिंसा त्याग्न सक्दैनन्‌। त्यसोभए त्यो सर्वोच्च शक्‍ति के हो?

परिवर्तन सम्भव छ—तर कसरी?

खुसीको कुरा, परमेश्‍वरको पवित्र आत्मा सबैभन्दा शक्‍तिशाली शक्‍ति हो र यसले प्रेतहरूको जस्तोसुकै शक्‍तिलाई पनि माथ गर्न सक्छ। यसले सँगी मानवबीच प्रेम र भलाइको भावलाई जगाउँछ। यहोवालाई खुसी तुल्याउन चाहने सबैले परमेश्‍वरको आत्मा पाउन क्रूरतातर्फ धकेल्ने आनीबानीहरू चटक्कै त्याग्नुपर्छ। यसको लागि आफ्नो व्यक्‍तित्वलाई परमेश्‍वरको इच्छामुताबिक बनाउनु आवश्‍यक छ। उहाँको इच्छा के हो? त्यो हो, परमेश्‍वरको तौरतरिकाहरूको सक्दो देखासिकी गर्नु। यसमा अरूलाई परमेश्‍वरको नजरले हेर्नु समावेश छ।—एफिसी ५:१, २; कलस्सी ३:७-१०.

कामकुरा गर्ने परमेश्‍वरको तरिकाबारे बुझ्दा तपाईं यस कुरामा विश्‍वस्त हुन सक्नुहुनेछ कि यहोवाले कसैलाई पनि बेवास्ता गर्नुभएको छैन। उहाँले कुनै पनि मानिसलाई—यहाँसम्म कि जनावरहरूलाई समेत अन्याय गर्नुभएको छैन। a (व्यवस्था २२:१०; भजन ३६:७; हितोपदेश १२:१०) क्रूरता र क्रूर मानिसलाई उहाँ घृणा गर्नुहुन्छ। (हितोपदेश ३:३१, ३२) यहोवाले हामी मसीहीबाट माग गर्नुहुने नयाँ व्यक्‍तित्व धारण गर्दा हामी अरूलाई आफूभन्दा ठूलो ठान्‍न र अरूको आदर गर्न सक्षम हुन्छौं। (फिलिप्पी २:२-४) हामीले खेती गर्नुपर्ने नयाँ मसीही व्यक्‍तित्वमा “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता” पर्छ। बेवास्ता गर्न नहुने अर्को गुण प्रेम हो किनभने यो “सिद्धताको गाँठो हो।” (कलस्सी ३:१२-१४) यस्ता गुणहरू भरपूर भइदिएको भए यो संसार अर्कै हुनेथियो भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

तर तपाईंलाई लाग्ला, मानिसको व्यक्‍तित्वमा चिरकालीन परिवर्तन के साँच्चै सम्भव छ? यसबारे बुझ्न एउटा साँचो घटनालाई विचार गर्नुहोस्‌। छोराछोरीकै अगाडि मार्टिन b आफ्नी पत्नीसँग झर्किन्थे र उनलाई मर्ने गरेर कुट्‌थे। एकदिन त यस्तोसम्म भयो कि छोराछोरीहरू छिमेकीको घरमा मदत माग्न जानुपऱ्‍यो। तर केही वर्षपछि त्यस परिवारले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थाले। आफू कस्तो किसिमको मानिस हुनुपर्छ र अरूसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर मार्टिनले सिके। के उनी परिवर्तन हुनसके? उनकी पत्नी भन्छिन्‌: “पहिला-पहिला, उहाँ रिसाउँदा अर्कै मान्छेजस्तो देखिन्थ्यो। यही कारणले गर्दा हाम्रो जीवन लामो समयसम्म डामाडोल थियो। उहाँलाई सुधार्न यहोवाबाट पाएको मदतको निम्ति यहोवालाई धन्यवाद दिने मसँग शब्द नै छैन। अहिले त उहाँ असल बुबा र पति हुनुभएको छ।”

यो त एउटा उदाहरण मात्र हो। संसारभरि यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्ने लाखौंले क्रूरतालाई जरैसमेत उखेल्न सकेका छन्‌। हो, परिवर्तन हुन सम्भव छ।

सबै किसिमका क्रूरताको अन्त नजिकै

स्वर्गमा स्थापना भइसकेको परमेश्‍वरको राज्यले दयालु राजा येशू ख्रीष्टको नेतृत्वमा चाँडै नै पृथ्वीमाथि आफ्नो पूरा अधिकार चलाउनेछ। सबै किसिमको क्रूरताको स्रोत शैतान र त्यसका प्रेतहरूलाई यस राज्यले स्वर्गबाट त हटाइनै सकेको छ। अब चाँडै, यसले पृथ्वीका शान्तिप्रेमी मानिसहरूको आवश्‍यकता पूरा गर्नेछ। (भजन ३७:१०, ११; यशैया ११:२-५) संसारका समस्याहरूको साँचो समाधान यही मात्र हो। तर त्यस राज्यको प्रतीक्षामा हुनुहुँदा तपाईं क्रूरताको शिकार बन्‍न पुग्नुभयो भने चाहिं के गर्ने नि?

क्रूरताको विरोध गर्दैमा केही हुनेवाला छैन। यसले त उल्टो क्रूरता झनै पो बढाउँछ। बाइबल हामीलाई यहोवामा भर पर्न आग्रह गर्छ। उहाँले आफ्नो समयमा “हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार” इनाम दिनुहुनेछ। (यर्मिया १७:१०) (“क्रूर संसारसँग कसरी व्यवहार गर्ने” भन्‍ने सँगैको पृष्ठमा दिइएको पेटी हेर्नुहोस्‌।) यो साँचो हो, क्रूर अपराधको शिकार हुन पुग्दा तपाईंले दुःख पाउनुहुनेछ। (उपदेशक ९:११) तर, परमेश्‍वरले सम्पूर्ण किसिमका क्रूरताले ल्याएको परिणामलाई हटाउन सक्नुहुन्छ, यहाँसम्म कि मृत्युलाई समेत। यहोवाको प्रतिज्ञाअनुसार क्रूरताको कारण ज्यान गुमाएकाहरू जो उहाँको सम्झनामा छन्‌, उनीहरूले फेरि जीवन पाउनेछन्‌।—यूहन्‍ना ५:२८, २९.

क्रूरताको शिकार हुन सक्ने सम्भावना त छ तैपनि परमेश्‍वरसँग नजिकको सम्बन्ध गाँस्दा र उहाँको प्रतिज्ञामाथि दृढ विश्‍वास राख्दा हामी सान्त्वना पाउन सक्छौं। सारालाई विचार गर्नुहोस्‌ जसले पतिको सहायताविना नै दुई छोराहरू हुर्काइन्‌ र उनीहरूलाई राम्रो शिक्षा पनि दिइन्‌। तर आफू वृद्ध भएपछि ती छोराहरूले उनलाई न भौतिक सहायता गरे न त बिरामी पर्दा औषधी उपचार नै! तर अहिले यहोवाको साक्षी भएकी सारा भन्छिन्‌: “मलाई दुःख त निश्‍चय नै लाग्छ। तैपनि यहोवाले मलाई त्याग्नुभएको छैन। आध्यात्मिक भाइबहिनीहरूबाट पाएको हेरचाहद्वारा मैले यहोवाको मदत पाएको अनुभव गर्छु। अब चाँडै नै यहोवाले मेरो मात्र होइन तर उहाँमा भर पर्ने र उहाँको आज्ञा मान्‍ने सबैका समस्या हटाउनुहुनेछ भन्‍ने कुरामा म एकदमै ढुक्क छु।”

साराले भनेकी आध्यात्मिक भाइबहिनीहरू को हुन्‌? तिनीहरू उनका सँगी विश्‍वासीहरू अर्थात्‌ यहोवाका साक्षीहरू हुन्‌। तिनीहरूबीच विश्‍वभरि नै दयालु भाइचाराको न्यानो सम्बन्ध छ र तिनीहरू चाँडै नै क्रूरताको नामोनिशानै नरहने कुरामा विश्‍वस्त छन्‌। (१ पत्रुस २:१७) त्यतिबेला न त क्रूरताको प्रमुख घटक शैतान न त्यसले जस्तै क्रूरता देखाउनेहरू नै रहनेछन्‌। एक लेखकले अहिलेको समयलाई “पाशविकताको युग” भने। तर यो चिनारी त्यतिबेला विगतको कुरा हुनेछ। त्यसोभए, यस्तो उज्ज्वल आशाबारे बुझ्न यहोवाको कुनै एक साक्षीलाई भेट्‌ने प्रयास गरे कसो होला? (w 07 4/15)

[फुटनोटहरू]

a परमेश्‍वरको गुण र व्यक्‍तित्वको विषयमा अझ विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ड्र क्लोज टु जेहोभा (यहोवाको नजिक हुनुहोस्‌) पुस्तक हेर्नुहोस्‌।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ६-मा भएको पेटी]

क्रूर संसारसँग कसरी व्यवहार गर्ने

परमेश्‍वरको वचनले क्रूरताको सामना गर्ने सन्दर्भमा हामीलाई असाध्यै व्यावहारिक सुझाव दिन्छ। तल दिइएका बुद्धिले भरिएका सल्लाहलाई कसरी लागू गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌:

“यसो नभन्‌, ‘तेरो खराबीको साटो लिनेछु।’ परमप्रभुको प्रतीक्षा गर्‌, र उहाँले तँलाई छुटाउनुहुनेछ।”—हितोपदेश २०:२२, NRV.

“यदि तैंले . . . गरीबको अत्याचार भएको औ त्यसको अधिकार र न्याय इन्कार भएको देखिस्‌ भने जे भइरहेको छ त्यसमा अचम्म नमान्‌, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएका हुन्छन्‌।”—उपदेशक ५:८.

“धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।”—मत्ती ५:५.

“मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.

“कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:१७-१९.

“तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो, . . . जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।”—१ पत्रुस २:२१-२३.

[पृष्ठ ७-मा भएका चित्रहरू]

यहोवाले धेरैलाई क्रूरता त्याग्न सिकाउनुभएको छ