सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनले तपाईंका पाइलाहरू डोऱ्‍याओस्‌

परमेश्‍वरको वचनले तपाईंका पाइलाहरू डोऱ्‍याओस्‌

परमेश्‍वरको वचनले तपाईंका पाइलाहरू डोऱ्‍याओस्‌

“तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” —भजन ११९:१०५.

१, २. अधिकांश मानिसहरूले किन साँचो सुख र शान्ति पाउन सकेका छैनन्‌?

 के तपाईंले बाटो नचिनेर कहिल्यै अरू मानिसलाई सोध्नुपरेको छ? सायद तपाईं पुग्नुपर्ने ठाउँमा पुग्नै लाग्दा अलमलिनु मात्र भएको वा हराएर अर्कै ठाउँमा पुग्नुभएको हुन सक्छ। जेहोस्‌, दुवै अवस्थामा त्यस इलाकाबारे थाह भएको मान्छेलाई बाटो सोध्नु नै बुद्धिमानी हुन्थ्यो नि, होइन र? ती व्यक्‍तिले तपाईंलाई पुग्नुपर्ने ठाउँसम्म पुग्न मदत गर्न सक्थे।

मानिसजातिले परमेश्‍वरको मदत नलिई जीवनलाई डोऱ्‍याउने प्रयास गरेको हजारौं वर्ष भइसक्यो। तर असिद्ध मानिसजातिले परमेश्‍वरको मदतविना केही पनि गर्न सक्दैनन्‌। तिनीहरूले साँचो सुख र शान्तिको बाटो पत्ता लगाउन सक्दैनन्‌। किन? अगमवक्‍ता यर्मियाले २,५०० वर्षभन्दा अघि यसो भनेका थिए: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) योग्य व्यक्‍तिको मदत नलिई आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउन खोज्दा निराशा मात्र हात लाग्छ। साँच्चै, मानिसजातिलाई डोऱ्‍याइ चाहिन्छ!

३. मानिसजातिलाई ठीक मार्ग देखाउन यहोवा परमेश्‍वर जत्ति योग्य व्यक्‍ति किन अरू कोही छैन र उहाँले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

ठीक मार्ग देखाउन यहोवा परमेश्‍वर जत्ति योग्य व्यक्‍ति अरू कोही छैन। किन? किनभने मानिसको बनोट अरूले भन्दा उहाँले राम्ररी जान्‍नुहुन्छ। अनि मानिसजाति कसरी तर्किए र बाटो बिराए भनेर उहाँलाई राम्ररी थाह छ। तिनीहरूलाई फेरि ठीक मार्गमा हिंडाउन के गर्नुपर्छ, त्यो पनि उहाँलाई थाह छ। यसबाहेक, यहोवा सृष्टिकर्ता हुनुभएकोले के गर्दा हाम्रो सर्वोत्तम हित हुन्छ, उहाँ सधैं जान्‍नुहुन्छ। (यशैया ४८:१७) त्यसैले भजन ३२:८ मा रेकर्ड गरिएको उहाँको यस प्रतिज्ञामा हामी विश्‍वस्त हुन सक्छौं: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” यो कुरामा कुनै शंका छैन कि यहोवाले सर्वोत्तम मार्ग देखाउनुहुन्छ। तर उहाँले हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ?

४, ५. परमेश्‍वरको मुखबाट निस्केको वचनले हामीलाई कसरी डोऱ्‍याउन सक्छ?

भजनहारले प्रार्थनामा यहोवालाई यसो भने: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजन ११९:१०५) हो, परमेश्‍वरका भनाइ तथा सम्झौटाहरू बाइबलमा पाइन्छ र त्यसले जीवनमा आइपर्ने बाधा-अड्‌चनहरू पार गर्न हामीलाई मदत गर्न सक्छ। साँच्चै भन्‍ने हो भने, परमेश्‍वरको वचन पढेर त्यसको डोऱ्‍याइमा हिंड्यौं भने हामीले व्यक्‍तिगत रूपमा यशैया ३०:२१ मा वर्णन गरिएको कुरा अनुभव गर्न सक्नेछौं। त्यहाँ यसो भनिएको छ: “तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्‍ने शब्द सुन्‍नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड।’ ”

तर याद गर्नुहोस्‌, भजन ११९:१०५ मा परमेश्‍वरको वचनको दुइटा कामबारे बताइएको छ र यो एकअर्कासित सम्बन्धित छ। पहिलो, परमेश्‍वरको वचन हाम्रो खुट्टाको निम्ति बत्तीजस्तै हो। हामी दिनहुँ चुनौतीहरूको सामना गर्छौं। त्यतिबेला बुद्धिमानी निर्णयहरू गर्न र संसारका पासोहरूदेखि जोगिन बाइबलमा पाइने सिद्धान्तहरूद्वारा आफ्नो पाइलालाई डोरिन दिनुपर्छ। दोस्रो, परमेश्‍वरका सम्झौटाहरू हाम्रो बाटोको निम्ति उज्यालो हो। यसले हामीलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवनमा सधैंभरि बाँच्ने आशा अनुसारका छनौटहरू गर्न मदत गर्छ। हामी हिंड्‌ने बाटो उज्यालो भएकोले हामीले गर्ने छनौटको परिणाम असल वा खराब के हुन्छ, स्पष्ट देख्न सक्नेछौं। (रोमी १४:२१; १ तिमोथी ६:९; प्रकाश २२:१२) आउनुहोस्‌, अब हामी बाइबलमा पाइने परमेश्‍वरको मुखबाट निस्केको वचन कसरी हाम्रो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हुन सक्छ, अझ गहिरिएर हेरौं।

“मेरो खुट्टाको निम्ति बत्ती”

६. कस्तो अवस्थामा परमेश्‍वरको मुखबाट निस्केको वचन हाम्रो खुट्टाको निम्ति बत्ती हुन सक्छ?

हामी हरेक दिन निर्णयहरू गर्छौं। हामीले गर्ने कतिपय निर्णयहरू सानातिना देखिन्छन्‌ तर कतिपय अवस्थामा चाहिं हामीले गर्ने निर्णयले हाम्रो नैतिकता, इमानदारिता वा तटस्थताको परीक्षा गर्छ। त्यस्ता परीक्षाहरूको डटेर सामना गर्न “खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास” गर्नुपर्छ। (हिब्रू ५:१४) परमेश्‍वरको वचनको सही ज्ञान लिंदा र यसका सिद्धान्तहरूलाई राम्ररी बुझ्दा आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिइरहेका हुनेछौं। यसो गर्दा यहोवालाई प्रसन्‍न तुल्याउने निर्णयहरू गर्न सक्नेछौं।—हितोपदेश ३:२१.

७. कस्तो अवस्थामा कुनै भाइ वा बहिनीलाई अर्कै विश्‍वास भएका आफ्ना सहकर्मीहरूसित संगत गरुँ-गरुँ लाग्न सक्छ, बताउनुहोस्‌।

एउटा उदाहरण विचार गर्नुहोस्‌। के तपाईं यहोवाको हृदय आनन्दित तुल्याउन इमानदारीसाथ प्रयास गरिरहनुभएको वयस्क हुनुहुन्छ? (हितोपदेश २७:११) हुनुहुन्छ भने तपाईं प्रंशसाको पात्र हुनुहुन्छ। तर एकछिन कल्पना गर्नुहोस्‌, तपाईंको अफिसका साथीहरूले उनीहरू हेर्न जान लागेको खेलको टिकट तपाईंलाई पनि दिए। अफिसमा उनीहरूलाई तपाईंसित संगत गर्न मन पर्छ र अफिसपछि पनि तपाईंसँग समय बिताउन चाहन्छन्‌। तपाईंलाई मनदेखि नै ती व्यक्‍तिहरू खराब होइनन्‌ भन्‍ने लागेको हुन सक्छ। जीवनका केही पक्षमा उनीहरूको आचरण वा सोचाइ असल पनि होला। तपाईं के गर्नुहुनेछ? के त्यो निम्तो स्वीकार्नुमा कुनै खतरा होला? यस विषयमा सही निर्णय गर्न परमेश्‍वरको वचनले तपाईंलाई कसरी मदत गर्न सक्छ?

८. संगतिको विषयमा बाइबलका कुन सिद्धान्तहरूले हामीलाई मदत गर्छन्‌?

बाइबलका केही सिद्धान्तहरू विचार गर्नुहोस्‌। हाम्रो मनमा झट्टै आइहाल्ने पहिलो सिद्धान्त १ कोरिन्थी १५:३३ मा उल्लेख गरिएको छ जहाँ भनिएको छ: “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” यो सिद्धान्त पालन गर्नुको अर्थ अर्कै विश्‍वास भएकाहरूसित भेट्‌नै हुँदैन वा बोल्नै हुँदैन भन्‍ने हो? बाइबलबाटै यस प्रश्‍नको जवाफ दिने हो भने, त्यसो होइन। आखिर, प्रेरित पावलले पनि अर्कै विश्‍वास भएका मानिसहरूलगायत ‘सबैप्रति’ मायालु चासो देखाए। (१ कोरिन्थी ९:२२) हाम्रो विश्‍वासको एउटा महत्त्वपूर्ण पक्ष भनेको अर्कै विश्‍वास भएका मानिसहरूलगायत सबैप्रति चासो देखाउनु हो। (रोमी १०:१३-१५) त्यसैले, मदतको आवश्‍यकता परिरहेका मानिसहरूबाट आफूलाई अलग राख्यौं भने ‘सबै मानिसतर्फ भलाइको काम गर’ भन्‍ने सल्लाह कसरी लागू गर्न सक्छौं र?—गलाती ६:१०.

९. सहकर्मीहरूसितको सम्बन्धमा सन्तुलित हुन कुन बाइबल सल्लाहले हामीलाई मदत गर्छ?

तर सहकर्मीहरूसित मित्रैलो हुनु र घनिष्ठ हुनुमा ठूलो भिन्‍नता छ। यहाँ बाइबलको अर्को एउटा सिद्धान्त लागू हुन्छ। प्रेरित पावलले साँचो उपासकहरूलाई यस्तो चेताउनी दिए: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” (२ कोरिन्थी ६:१४) “समान भएर एउटै हलोमा नजोतियौ” भन्‍नुको अर्थ के हो? केही बाइबल अनुवादहरूले “सँगै मिलेर काम नगर्नू,” “समान ठान्दै सँगै काम नगर्नू” वा “अनुचित सम्बन्ध नगाँस्नू” भनेर अनुवाद गरेका छन्‌। सहकर्मीसितको सम्बन्ध कहिले अनुचित हुन्छ? कुन अवस्थामा सीमा नाघेको र एउटै हलोमा जोतिएको भन्‍न सकिन्छ? यस्तो बेला परमेश्‍वरको वचन बाइबलले तपाईंको पाइलालाई डोऱ्‍याउन सक्छ।

१०. (क) येशूले साथीहरू कसरी छान्‍नुभयो? (ख) कस्ता प्रश्‍नहरूले संगतको बारेमा बुद्धिमानी निर्णय गर्न मदत गर्छ?

१० येशूको उदाहरणलाई विचार गर्नुहोस्‌। उहाँले सृष्टिको सुरुदेखि नै मानिसहरूलाई माया गर्नुभयो। (हितोपदेश ८:३१) पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना अनुयायीहरूसित घनिष्ठ सम्बन्ध गाँस्नुभयो। (यूहन्‍ना १३:१) धर्मगुरुहरूबाट गलत डोऱ्‍याइ पाएका व्यक्‍तिप्रति समेत उहाँले ‘माया’ देखाउनुभयो। (मर्कूस १०:१७-२२) तर येशूले पनि आफ्ना घनिष्ठ मित्रहरू छान्‍ने सन्दर्भमा स्पष्ट सीमा तोक्नुभयो। परमेश्‍वरको इच्छाअनुसार गर्न खासै चासो नभएकाहरूसित उहाँले घनिष्ठ सम्बन्ध गाँस्नुभएन। एकचोटि येशूले यसो भन्‍नुभयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।” (यूहन्‍ना १५:१४) हो, कुनै खास सहकर्मीसित तपाईंको कुरा मिल्छ होला। तर आफैलाई सोध्नुहोस्‌, ‘के ती व्यक्‍ति येशूले आज्ञा गर्नुभएअनुसार गर्न तयार छन्‌? के तिनी येशूले उपासना गर्न सिकाउनुभएको यहोवाबारे सिक्न इच्छुक छन्‌? म एक साक्षी भएकोले जुन नैतिक स्तरहरू पालन गर्छु के तिनी पनि त्यसै गर्न तयार छन्‌?’ (मत्ती ४:१०) बाइबलका स्तरहरूमा जोड दिंदै ती लागू गर्नेबारे आफ्नो साथीलाई बताउँदा यी प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ।

११. कस्ता अवस्थाहरूमा परमेश्‍वरको मुखबाट निस्केका वचनहरू हाम्रो खुट्टाको निम्ति बत्ती हुनुपर्छ, उदाहरणहरू दिनुहोस्‌।

११ अन्य थुप्रै अवस्थामा परमेश्‍वरको मुखबाट निस्केका वचन हाम्रो खुट्टाको निम्ति बत्ती हुन सक्छ। उदाहरणका लागि, कोही भाइ वा बहिनीलाई एकदमै आवश्‍यकता परिरहेको बेलामा जागिरको प्रस्ताव आउन सक्छ। तर त्यो जागिरमा एकदमै खट्‌नुपर्छ र समय पनि उत्तिकै दिनुपर्छ। त्यसैले त्यो जागिर स्वीकारेमा सबै सभा नियमित धाउन सकिंदैन साथै साँचो उपासनासित सम्बन्धित अन्य गतिविधिहरूमा पनि भाग लिन सकिने छैन। (भजन ३७:२५) अर्को कुनै भाइ वा बहिनीलाई चाहिं बाइबलका सिद्धान्तहरू सरासर उल्लंघन हुने खालका मनोरञ्जन हेर्न एकदमै सकसक लाग्न सक्छ। (एफिसी ४:१७-१९) अरू कोही-कोहीको चाहिं सँगी विश्‍वासीहरूका असिद्धताको कारण रिसाइहाल्ने झुकाव हुन सक्छ। (कलस्सी ३:१३) यस्ता अवस्थामा परमेश्‍वरको वचनलाई हाम्रो खुट्टाको निम्ति बत्ती हुन दिनुपर्छ। हो, बाइबलका सिद्धान्तहरू लागू गर्दा जीवनमा आइपर्ने जस्तोसुकै चुनौतीहरूको पनि हामी डटेर सामना गर्न सक्छौं। परमेश्‍वरको वचन “सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी” छ।—२ तिमोथी ३:१६.

“मेरो बाटोको निम्ति उज्यालो”

१२. परमेश्‍वरको मुखबाट निस्केका वचन कसरी हाम्रो बाटोको निम्ति उज्यालो हो?

१२ भजन ११९:१०५ ले परमेश्‍वरको मुखबाट निस्केको वचन हाम्रो बाटोको निम्ति उज्यालो हो भनेर पनि बताउँछ। यसले हामी हिंड्‌ने बाटो उज्यालो बनाइदिन्छ। भविष्यमा के हुन्छ भन्‍नेबारे हामी अजान छैनौं किनभने संसार किन संकटग्रस्त अवस्थामा छ र यसपछि के हुन्छ भनी बाइबलमा बताइएको छ। हो, हामी यस दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर हामीलाई थाह छ। (२ तिमोथी ३:१-५) भविष्यमा के हुन्छ भनेर थाह भएकोले अहिले बिताउने जीवनमा यस कुराले गहिरो असर पार्नुपर्ने हो। प्रेरित पत्रुसले यस्तो लेखे: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ।”—२ पत्रुस ३:११, १२.

१३. अहिले ढिलासुस्ती गर्ने समय होइन भनेर हाम्रो सोचाइ र जीवनशैलीमा कसरी झल्किनुपर्छ?

१३ हाम्रो सोचाइ र जीवनशैलीमा “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ” भन्‍ने दृढ विश्‍वास झल्किनुपर्छ। (१ यूहन्‍ना २:१७) बाइबलका निर्देशनहरू लागू गर्दा आफ्नो भावी लक्ष्यको सन्दर्भमा बुद्धिमानी निर्णयहरू गर्न सक्नेछौं। उदाहरणका लागि, येशूले यसो भन्‍नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) थुप्रै जवानहरूले येशूका यी शब्दहरूमा भरोसा देखाउँदै पूर्ण-समय सेवकाईमा लागेको देख्न पाउनु कत्ति प्रशंसायोग्य कुरा हो! अरू कतिपय त राज्य प्रचारकहरूको एकदमै खाँचो भएका मुलुकहरूमा राजीखुसीले सरेका छन्‌—कतिपय त पूरै परिवारसहित।

१४. एउटा साक्षी परिवारले आफ्नो सेवकाई कसरी विस्तार गरे?

१४ आमा, बुबा, छोरा र छोरी भएको एउटा साक्षी परिवारलाई विचार गर्नुहोस्‌। पचास हजार मानिसहरू बसोबास गर्ने डोमिनिकन गणतन्त्रको एउटा सहरको मण्डलीमा सेवा गर्न तिनीहरू अमेरिकाबाट बसाइँ सरे। त्यो मण्डलीमा झन्डै १३० जना राज्य प्रकाशकहरू छन्‌। तर अप्रिल १२, २००६ मा ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन झन्डै १,३०० मानिसहरू आए! त्यस क्षेत्र “कटनीको लागि” एकदमै ‘पहेंलो भएकाले’ त्यस परिवारले पाँच महिनामै ३० वटा बाइबल अध्ययन सञ्चालन गर्न थालिसकेका थिए। (यूहन्‍ना ४:३५) बुबा यसो भन्छन्‌: “हामीले सेवा गरिरहेको मण्डलीमा मदत गर्न भनेर बाहिरबाट आएका भाइबहिनीहरू ३० जना छन्‌। झन्डै २० जना जति अमेरिकाबाट आएका छन्‌ भने बाँकी चाहिं बहामास, क्यानाडा, इटाली, न्यु जील्याण्ड र स्पेनका छन्‌। तिनीहरू सेवकाईमा भाग लिन एकदमै उत्सुक छन्‌ र यसले स्थानीय भाइबहिनीहरूको जोसमा उर्जा थपेको छ।”

१५. राज्य गतिविधिलाई जीवनमा प्राथमिकता दिंदा तपाईंले कस्ता आशिष्‌हरू पाउनुभएको छ?

१५ तर सबै जना आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सर्ने अवस्थामा छैनन्‌ र यो स्वाभाविक पनि हो। तर जो सर्न सक्छन्‌ वा आफूलाई उपलब्ध गराउन छाँटकाँट गर्न सक्छन्‌, तिनीहरूले पक्कै प्रचुर आशिष्‌को आनन्द उठाउने छन्‌। अनि तपाईंले जहाँसुकै सेवा गर्नुभए तापनि आफ्नो पूरा बलले यहोवाको सेवा गर्दा पाइने आनन्द भने नचुकाउनुहोस्‌। तपाईंले राज्य गतिविधिलाई जीवनमा प्राथमिकता दिनुभयो भने “अटाउने ठाउँ पनि नहुने सम्मका आशिष . . . वर्षाउँछु” भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ।—मलाकी ३:१०.

यहोवाको डोऱ्‍याइबाट लाभ उठाउने

१६. परमेश्‍वरको मुखबाट निस्कने वचनको डोऱ्‍याइमा हिड्यौं भने कसरी लाभ उठाउनेछौं?

१६ यहोवाको मुखबाट निस्केको वचनले हामीलाई एकअर्कासित सम्बन्धित दुई तरिकामा डोऱ्‍याउन सक्छ भनेर हामीले बुझ्यौं। यो हाम्रो खुट्टाको निम्ति बत्ती हो जसले हामीलाई ठीक मार्गमा हिंड्‌न मदत गर्छ र निर्णयहरू गर्दा डोऱ्‍याइ दिन्छ। साथै यो हाम्रो बाटोको निम्ति उज्यालो हो जसले गर्दा हामी आफू अगाडिको कुरा स्पष्टसित देख्न सक्छौं। यसले हामीलाई पत्रुसको यो सल्लाह पालन गर्न मदत गर्छ: “आफ्नो मन बाँधेर सचेत होओ, र येशू ख्रीष्टको प्रकाशमा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा तिमीहरूको आशा ठीकसँग राख।”—१ पत्रुस १:१३.

१७. परमेश्‍वरको निर्देशनअनुसार चल्न बाइबल अध्ययनले हामीलाई कसरी मदत गर्नेछ?

१७ परमेश्‍वरले डोऱ्‍याइ दिनुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। कुरा यति हो कि, तपाईं ती स्वीकार्नुहुन्छ कि हुँदैन? परमेश्‍वरले दिनुहुने निर्देशनलाई बुझ्न बाइबलको केही अंश दिनहुँ पढ्‌ने अठोट गर्नुहोस्‌। पढेको कुरा मनन गर्नुहोस्‌, सम्बन्धित विषयमा यहोवाको इच्छा बुझ्ने कोसिस गर्नुहोस्‌ र ती कुन-कुन तरिकामा आफ्नो जीवनमा लागू गर्न सकिन्छ, सोच्नुहोस्‌। (१ तिमोथी ४:१५) अनि व्यक्‍तिगत निर्णयहरू गर्दा आफ्नो तर्कशक्‍ति चलाउनुहोस्‌।

१८. परमेश्‍वरको वचनद्वारा आफूलाई डोरिन दिंदा कस्ता आशिष्‌हरू पाउनेछौं?

१८ सही मार्ग अपनाउने सन्दर्भमा निर्णयहरू गर्दा परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूद्वारा डोरिन दियौं भने हामीले ज्योति र आवश्‍यक डोऱ्‍याइ पाउनेछौं। परमेश्‍वरको मुखबाट निस्केको वचनले ‘निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउँछ’ भनेर हामी ढुक्क हुन सक्छौं। (भजन १९:७) परमेश्‍वरको वचन बाइबलद्वारा आफूलाई डोरिन दिंदा हाम्रो अन्तस्करण सफा हुन्छ र यहोवालाई प्रसन्‍न तुल्याउँदा सन्तुष्टि पाउँछौं। (१ तिमोथी १:१८, १९) हरेक दिन उहाँको मुखबाट निस्केको वचनद्वारा आफूलाई डोरिन दिएको खण्डमा यहोवाले हामीलाई अनन्त जीवनको महान्‌ आशिष्‌ दिनुहुनेछ।—यूहन्‍ना १७:३. (w 07 5/1)

के तपाईंलाई याद छ?

• हाम्रा पाइलाहरूलाई यहोवा परमेश्‍वरले दिनुहुने डोऱ्‍याइअनुसार चाल्नु किन महत्त्वपूर्ण छ?

• कुन तरिकामा परमेश्‍वरको मुखबाट निस्केको वचन हाम्रो खुट्टाको निम्ति बत्ती हुन सक्छ?

• परमेश्‍वरको मुखबाट निस्केको वचन कसरी हाम्रो बाटोको निम्ति उज्यालो हुन सक्छ?

• परमेश्‍वरको निर्देशन स्वीकार्न बाइबल अध्ययनले हामीलाई कसरी मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

अर्कै विश्‍वास भएको व्यक्‍तिसँगको संगत कतिबेला बुद्धिमानी हुनेछैन?

[पृष्ठ १९-मा भएको चित्र]

येशूका घनिष्ठ मित्रहरू यहोवाको इच्छाअनुसार गर्ने व्यक्‍तिहरू थिए

[पृष्ठ १९-मा भएका चित्रहरू]

राज्य गतिविधिलाई प्राथमिकता दिइरहेको कुरा के हाम्रो जीवनशैलीमा देखिन्छ?