सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मण्डली सुदृढ होओस्‌

मण्डली सुदृढ होओस्‌

मण्डली सुदृढ होओस्‌

“मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ भयो।”—प्रेरित ९:३१, NRV.

१. “परमेश्‍वरको मण्डली[बारे]” कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ?

 इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यहोवाले ख्रीष्टका चेलाहरूको एउटा समूहलाई “परमेश्‍वरका इस्राएल” अर्थात्‌ नयाँ राष्ट्रको रूपमा स्वीकार्नुभयो। (गलाती ६:१६) यी आत्मा-अभिषिक्‍त मसीहीहरू बाइबलमा भनिएको “परमेश्‍वरको मण्डली” पनि भए। (१ कोरिन्थी ११:२२) तर “परमेश्‍वरको मण्डली” हुनुमा के कुरा समावेश थियो? “परमेश्‍वरको मण्डली” कसरी व्यवस्थित गरिने थियो? यसका सदस्यहरू जुनसुकै ठाउँमा भए तापनि यसको सञ्चालन पृथ्वीमा कसरी हुने थियो? अनि यसमा हाम्रो जीवन र आनन्द कसरी मुछिएको छ?

२, ३. मण्डली बनोटविनाको हुने थिएन भनी येशूले कसरी संकेत गर्नुभयो?

अघिल्लो लेखमा बताइएअनुसार अभिषिक्‍त चेलाहरूको मण्डलीको अस्तित्वबारे भविष्यवाणी गर्नुहुँदै येशूले प्रेरित पत्रुसलाई यसो भन्‍नुभयो: “म यस पत्थरमाथि [येशू ख्रीष्ट] आफ्नो मण्डली स्थापित गर्नेछु, र मृत्यु त्यसमाथि विजयी हुनेछैन।” (मत्ती १६:१८) त्यसबाहेक, प्रेरितहरूसँग भएकै बेला येशूले चाँडै बन्‍न लागेको यो मण्डली कसरी सञ्चालन र व्यवस्थित गरिन्छ भनेर जानकारी दिनुभयो।

मण्डलीमा केही व्यक्‍तिहरूले नेतृत्व लिनेछन्‌ भनी येशूले वचन र कामद्वारा सिकाउनुभयो। तिनीहरूले आफ्नो समूहमा भएकाहरूको सेवा गरेर नेतृत्व लिने थिए। ख्रीष्टले यसो भन्‍नुभयो: “तिमीहरू जान्दछौ, कि अन्यजातिहरूमाथि शासन गर्नेहरू तिनीहरूमाथि प्रभुत्व गर्दछन्‌, र तिनीहरूका ठूला ठूलाहरूले चाहिं तिनीहरूमाथि अख्तियार चलाउँछन्‌। तर तिमीहरूमा चाहिं यस्तो हुँदैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। औ जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरू सबैको कमारो हुनेछ।” (मर्कूस १०:४२-४४) स्पष्ट छ, “परमेश्‍वरको मण्डली” एकअर्काबाट अलग्गिएका मानिसहरूद्वारा होइन तर पारस्परिक रूपमा मिलेर कामकुरो गर्ने मानिसहरूद्वारा बनिएको व्यवस्थित प्रबन्ध हुनेथियो।

४, ५. मण्डलीलाई आध्यात्मिक निर्देशनको खाँचो पर्नेथियो भनी हामी कसरी थाह पाउँछौं?

‘परमेश्‍वरको मण्डलीको’ शिर हुनेवाला येशूले, उहाँका प्रेरितहरू र उहाँबाट सिकेकाहरूको मण्डलीमा खास जिम्मेवारीहरू हुनेछ भनी संकेत गर्नुभयो। तिनीहरूले के गर्ने थिए? मण्डलीका सदस्यहरूलाई आध्यात्मिक निर्देशन दिनु नै तिनीहरूको प्रमुख काम हुने थियो। पुनरुत्थान हुनुभएका येशूले पत्रुसलाई केही प्रेरितहरूको सामु के भन्‍नुभयो, विचार गर्नुहोस्‌: “ए योआनेसको छोरो शिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ?” पत्रुसले जवाफमा यसो भने: “ज्यू प्रभु, तपाईं जान्‍नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो: “मेरा पाठाहरू चराऊ। . . . मेरा भेडाहरूको हेरचाह गर। . . . मेरा भेडाहरूलाई चराऊ।” (यूहन्‍ना २१:१५-१७) कस्तो गहन जिम्मेवारी!

येशूका यी शब्दहरूबाट के बुझ्न सक्छौं भने मण्डलीमा भेला भइरहेकाहरूलाई बगालको भेडासित तुलना गरिएको छ। ती भेडाहरू हुन्‌: मसीही पुरुष, स्त्री र केटाकेटी जसलाई आध्यात्मिक तवरमा खुवाउनु र राम्ररी हेरचाह गर्नुपर्ने थियो। त्यसबाहेक, येशूले आफ्ना जम्मै अनुयायीहरूलाई अरूलाई सिकाउन र चेला बनाउन आज्ञा दिनुभएकोले उहाँको बगालमा आउने नयाँ व्यक्‍तिहरूलाई परमेश्‍वरबाट पाएको आज्ञा पूरा गर्न प्रशिक्षण दिनुपर्ने थियो।—मत्ती २८:१९, २०.

६. भर्खरै स्थापना गरिएको “परमेश्‍वरको मण्डली[मा]” कस्ता प्रबन्धहरू गरिए?

“परमेश्‍वरको मण्डली” स्थापना भइसकेपछि त्यसका सदस्यहरू निर्देशन र एकाअर्काबाट प्रोत्साहन पाउन नियमित तवरमा भेला भए। त्यहाँ “तिनीहरू प्रेरितहरूका शिक्षा, संगति, संयुक्‍त भोज र प्रार्थनामा लागिरहे।” (प्रेरित २:४२, ४६, ४७) यस ऐतिहासिक विवरणमा याद गर्नुपर्ने अर्को कुरा के हो भने, केही खास व्यावहारिक कुराहरूको हेरचाह गर्न केही योग्य पुरुषहरूलाई नियुक्‍त गरियो। तिनीहरूलाई तिनीहरूको शिक्षा वा प्राविधिक सीपको आधारमा छानिएको थिएन। तिनीहरू त “पवित्र आत्मा र बुद्धिले भरिएका” पुरुषहरू थिए। तीमध्ये एक जना स्तिफनस हुन्‌। तिनी “आत्मा र विश्‍वासले भरिपूर” भएका व्यक्‍ति थिए भनी विवरण बताउँछ। मण्डलीको प्रबन्धले गर्दा “परमेश्‍वरको वचन बढ्‌दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ्यो।”—प्रेरित ६:१-७.

परमेश्‍वरले चलाउनुभएका पुरुषहरू

७, ८. (क) यरूशलेमका प्रेरित र धर्मगुरुहरूले प्रथम शताब्दीका मसीहीहरूबीच केको हैसियतमा सेवा गर्थे? (ख) मण्डलीहरू मार्फत निर्देशन दिंदा कस्तो परिणाम भयो?

स्पष्टतया, प्रथम शताब्दीको मण्डलीको प्रबन्धहरूमा प्रेरितहरूले नेतृत्व लिए। तर नेतृत्व लिने तिनीहरू मात्र थिएनन्‌। एक पटक पावल र उनका साथीहरू सिरियाको एन्टिओकमा फर्किआए। प्रेरित १४:२७ बताउँछ: “तिनीहरूले आएर मण्डलीका भाइहरूलाई भेला गरेपछि, परमेश्‍वरले तिनीहरूका साथमा कत्ति काम गर्नुभयो . . . भन्‍ने समाचार सुनाए।” तिनीहरू त्यही मण्डलीमा भएकै बेला अन्यजातिले खतना गर्नुपर्छ कि पर्दैन भन्‍ने विवाद उठ्यो। यो समस्या समाधान गर्न पावल र बर्णाबासलाई “यरूशलेममा प्रेरितहरू र धर्मगुरुकहाँ” पठाइयो। स्पष्ट छ, ती प्रेरित र धर्मगुरुहरूले परिचालक निकायको हैसियतमा सेवा गर्थे।—प्रेरित १५:१-३.

“यस विषयमा सोच विचार गर्नालाई प्रेरितहरू र धर्मगुरुहरू भेला” हुँदा येशूका भाइ तथा मसीही प्राचीन याकूबले नेतृत्व लिए, जो प्रेरितहरूमध्येका थिएनन्‌। (प्रेरित १५:६) निकै छलफल र विचार-विमर्श अनि पवित्र आत्माको मदतद्वारा तिनीहरूले धर्मशास्त्रअनुरूप निर्णय गरे। तिनीहरूले गरेको निर्णय, पत्र मार्फत स्थानीय मण्डलीहरूमा पठाइयो। (प्रेरित १५:२२-३२) जस-जसले त्यो जानकारी पाए तिनीहरूले स्वीकारे र लागू गरे। परिणाम के भयो? भाइबहिनीहरू सुदृढ र प्रोत्साहित भए। बाइबल बताउँछ: “यसरी मण्डलीहरू विश्‍वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढदै गए।”—प्रेरित १६:५.

९. योग्य मसीही पुरुषहरूको जिम्मेवारीबारे बाइबलले के बताउँछ?

तर ती स्थानीय मण्डलीहरूले नियमित कामकुरा कसरी सञ्चालन गर्नुपर्ने थियो? क्रेट टापूमा भएका मण्डलीहरूलाई विचार गरौं न। त्यहाँ बस्ने थुप्रै मानिसहरूले नराम्रो काम गरिरहेका भए तापनि केहीले जीवनमा परिवर्तन गरे र साँचो मसीही भए। (तीतस १:१०-१२; २:२, ३) क्रेटका मसीहीहरू विभिन्‍न सहरमा बस्थे र तिनीहरू यरूशलेममा भएको परिचालक निकायबाट एकदमै टाढा थिए। तर त्यो ठूलो समस्या थिएन किनभने अन्य ठाउँका मण्डलीहरूमा जस्तै क्रेटका मण्डलीहरूमा पनि आध्यात्मिक “धर्म-गुरुहरू” नियुक्‍त गरिएको थियो। ती पुरुषहरूले धर्मगुरु हुन चाहिने बाइबलमा दिइएका योग्यता अर्थात्‌ आवश्‍यकताहरू पूरा गरेका थिए। तिनीहरूलाई प्राचीन अर्थात्‌ निरीक्षक नियुक्‍त गरियो जसले ‘पक्का सिद्धान्तद्वारा अर्ती दिन र फटाहाहरूलाई दोषी ठहराउन’ सक्थे। (तीतस १:५-९; १ तिमोथी ३:१-७) अरू आध्यात्मिक पुरुषहरूचाहिं मण्डलीमा सेवकाई सेवक अर्थात्‌ डिकनको हैसियतमा सेवा गर्नको लागि योग्यका थिए।—१ तिमोथी ३:८-१०, १२, १३.

१०. मत्ती १८:१५-१७ अनुसार गम्भीर समस्याहरूको समाधान कसरी गरिनुपर्ने थियो?

१० मण्डलीको बनोट यस्तै हुनेथियो भनी येशूले संकेत गर्नुभयो। मत्ती १८:१५-१७ को विवरणलाई विचार गर्नुहोस्‌। उक्‍त विवरणमा परमेश्‍वरका जनबीच एउटाले कुनै न कुनै तरिकामा अर्कोको विरुद्ध पाप गरेकोले कहिलेकाहीं समस्या उठ्‌न सक्छ भनी उहाँले बताउनुभयो। त्यस्तो अवस्थामा, पापको शिकार भएका व्यक्‍तिले पाप गर्नेको ‘दोष देखाइदिन’ उनलाई एक्लै भेट्‌नुपर्थ्यो। त्यसो गर्दा पनि समस्या समाधान नभएमा, त्यो मामिला थाह भएका अरू एक वा दुई जनाको मदत लिन सकिन्थ्यो। तर समस्या अझै सुल्झिएन भने नि? येशूले यसो भन्‍नुभयो: “यदि त्यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्कार गर्छ भने, समुदायलाई [“मण्डली,” NW] भन, र त्यसले समुदायको [“मण्डली,” NW] बात पनि सुन्‍न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्‌।” येशूले यो कुरा भन्‍नुभएको बेलासम्म “परमेश्‍वरको मण्डली” यहूदीहरूद्वारा नै बनिएको हुनाले यी शब्दहरू पहिला तिनीहरूमा नै लागू भयो। a तर मसीही मण्डली स्थापित भएपछि भने येशूको त्यो निर्देशन त्यही मण्डलीमाथि लागू हुनेथियो। हरेक मसीहीलाई सुदृढ पार्न र डोऱ्‍याउन परमेश्‍वरको जनहरूमाझ मण्डलीको प्रबन्ध हुनेथियो भन्‍ने कुराको यो अर्को एउटा प्रमाण हो।

११. समस्याहरू सुल्झाउने सन्दर्भमा प्राचीनहरूले कस्तो भूमिका खेल्नुपर्थ्यो?

११ त्यसैले, स्थानीय मण्डलीमा भएका समस्या वा पापपूर्ण कामको समाधान धर्मगुरु अर्थात्‌ निरीक्षकहरूले गर्नु उचित थियो। तीतस १:९ मा दिइएको प्राचीन हुन चाहिने योग्यताभित्र यो काम पनि पर्छ। हो, स्थानीय मण्डलीका प्राचीनहरू तीतसजस्तै असिद्ध थिए जसलाई पावलले “चाहिंदो कुराहरूको सुधार” गर्न मण्डलीहरूमा पठाए। (तीतस १:४, ५) अहिले, प्राचीन नियुक्‍त हुन सक्ने व्यक्‍तिहरूले नियुक्‍ति पाउनुअघि समयको दौडान विश्‍वास र भक्‍तिको प्रमाण दिएको हुनुपर्छ। त्यसैकारण, मण्डलीका अरू सदस्यले प्राचीनहरू मार्फत पाएको निर्देशन र नेतृत्वमा भरोसा गर्ने हर कारण छ।

१२. मण्डलीप्रति प्राचीनहरूको कस्तो जिम्मेवारी छ?

१२ पावलले एफिससको मण्डलीका प्राचीनहरूलाई यसो भने: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्‍नुभएकोले होशियारी हुनुहोस्‌।” (प्रेरित २०:२८) त्यसै गरी आज पनि मण्डलीका निरीक्षकहरू “परमेश्‍वरका मण्डलीमा चराउनलाई” नियुक्‍त हुन्छन्‌। तिनीहरूले यो काम मायालुपूर्वक गर्नुपर्छ, बगालमाथि अधिकार जमाएर होइन। (१ पत्रुस ५:२, ३) निरीक्षकहरूले ‘बगाललाई’ सुदृढ पार्न र मदत गर्न हर प्रयास गर्नुपर्छ।

मण्डलीसित नजिक भइरहनुहोस्‌

१३. समय-समयमा मण्डलीमा कस्तो घटना हुन सक्छ र किन?

१३ प्राचीनलगायत मण्डलीका अरू सबै असिद्ध छन्‌। त्यसैले, समय-समयमा असमझदारी वा समस्याहरू खडा हुन्छन्‌। प्रथम शताब्दीमा केही प्रेरितहरू जीवितै छँदा पनि त्यस्तै भएको थियो। (फिलिप्पी ४:२, ३) कुनै निरीक्षक वा अरू कसैले भनेको केही कुरा रुखो, दया नझल्कने खालको वा अलिक झूटो जस्तो लाग्ला। अथवा बाइबल विपरीत कुराहरू भइरहेको थाह पाएर पनि प्राचीनहरूले केही गरेका छैनन्‌ भन्‍ने हामीलाई लाग्न सक्छ। तर वास्तवमा, त्यो समस्या धर्मशास्त्रअनुसार समाधान गरिसकेको वा समाधान गरिंदै गरेको हुन सक्छ र यससित सम्बन्धित कतिपय तथ्य कुराहरू हामीलाई थाह हुँदैन। हामीलाई कुनै कुरा बाइबल विपरीत भइरहेको छ भन्‍ने जस्तो लागे तापनि यो कुरालाई विचार गर्नुहोस्‌: यहोवाले चासो राख्नुहुने कोरिन्थ मण्डलीमा एउटा गम्भीर गल्ती भइरहेको थियो। समयको दौडान, उहाँले त्यो गल्तीलाई सही तरिकामा र कडाइका साथ सुल्झाउनुभयो। (१ कोरिन्थी ५:१, ५, ९-११) त्यसैले, हामीले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘यदि त्यतिबेला म पनि कोरिन्थ मण्डलीमा भएको भए के गर्थें होला?’

१४, १५. किन कोही-कोही येशूसित हिंड्‌न छाडे र यसबाट हामी कस्तो पाठ सिक्छौं?

१४ मण्डलीमा हुन सक्ने अर्को अवस्थालाई पनि विचार गरौं। मानि लिनुहोस्‌, कसैलाई बाइबलको कुनै शिक्षा बुझ्न र स्वीकार्न गाह्रो लाग्यो। उनले बाइबल र मण्डली मार्फत पाएका प्रकाशनहरूमा अनुसन्धान गर्नुका साथै परिपक्व सँगी मसीही अनि प्राचीनहरूको समेत मदत लिए होलान्‌। तैपनि, उनलाई त्यो कुरा बुझ्न र स्वीकार्न अझै गाह्रो लाग्छ भने उनले के गर्न सक्छन्‌? येशूको मृत्यु हुनुभन्दा लगभग एक वर्षअघि पनि त्यस्तै घटना भएको थियो। येशूले “जीवनको रोटी” म नै हुँ र सधैंभरि बाँच्न चाहने व्यक्‍तिले मेरो ‘देह खानु र मेरो रगत पिउनुपर्छ’ भन्‍नुभयो। उहाँको यस्तो कुरा सुनेर केही चेलाहरूलाई आघात पुग्यो। उहाँले त्यसो भन्‍नुको अर्थ के हो भनी बुझ्नु वा यहोवाले आफ्नो समयमा त्यस कुराको अर्थ खुलाइदिनुहुन्छ भनेर पर्खनुको साटो थुप्रै चेलाहरू “[येशूसित] . . . हिंड्डुल” गर्न छाडे। (यूहन्‍ना ६:३५, ४१-६६) फेरि एकपल्ट आफूलाई सोधौं, यदि म त्यहाँ भएको भए के गर्थें होला?

१५ आज पनि केहीले आफ्नै तरिकामा परमेश्‍वरको सेवा गर्ने सोचाइ राख्दै मण्डलीसित संगत गर्न छाडेका छन्‌। तिनीहरू यसो भन्लान्‌: मलाई चित्त दुःखेको छ, मण्डलीमा भएका गल्तीहरू सुधारिएका छैनन्‌ वा कुनै-कुनै शिक्षा स्वीकार्नै सक्दिनँ आदि आदि। तिनीहरूले त्यसरी मण्डलीसित संगत गर्न छाड्‌नु कत्तिको तर्कसंगत छ? यो साँचो हो, प्रत्येक मसीहीले परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध राख्नुपर्छ। तर यो कुरा पनि नकार्न सकिंदैन कि परमेश्‍वरले प्रेरितहरूको समयमा जस्तै आज पनि विश्‍वव्यापी मण्डलीलाई चलाइरहनुभएको छ। त्यसबाहेक, यहोवाले प्रथम शताब्दीमा मण्डलीको फाइदाका लागि योग्य प्राचीन र सेवकाई सेवकहरूको प्रबन्ध गर्नुभएर स्थानीय मण्डलीहरूलाई प्रयोग गर्नुका साथै अनुमोदन गर्नुभयो। आज पनि उहाँले त्यसै गरिरहनुभएको छ।

१६. मण्डली त्याग्ने विचार आएमा कुन कुराबारे सोच्नुपर्छ?

१६ परमेश्‍वरसित सम्बन्ध राखे मात्र भइहाल्यो नि, अरू कुराको के मतलब भनेर यदि कुनै मसीहीले सोच्छन्‌ भने, परमेश्‍वरले अनुमोदन गर्नुभएको प्रबन्ध—परमेश्‍वरका जनहरूको विश्‍वव्यापी मण्डली र स्थानीय मण्डलीहरूलाई तिनले तिरस्कार गरिरहेका हुन्छन्‌। त्यस्तो व्यक्‍तिले एक्लै वा अरू केही व्यक्‍तिहरूसित मिलेर आफ्नै तरिकामा परमेश्‍वरको उपासना गर्लान्‌। तर परमेश्‍वरले मण्डली बाहिर प्राचीन र सेवकाई सेवकहरूको प्रबन्ध कहाँ गर्नुहुन्छ र! उल्लेखनीय कुरा, पावलले कलस्सीको मण्डलीलाई लेखेको पत्रमा ‘ख्रीष्टमा जरा हालेका र बनिएका’ हुनू भने र त्यो पत्र लाओडिसियामा पनि पढ्‌नू भनी निर्देशन दिए। मण्डलीबाट तर्किएकाहरूले होइन मण्डलीमा भएकाहरूले मात्र त्यस पत्रबाट लाभ उठाउने थिए।—कलस्सी २:६, ७; ४:१६.

सत्यको खामा र जग

१७. मण्डलीबारे १ तिमोथी ३:१५ ले के बताउँछ?

१७ मसीही प्राचीन तिमोथीलाई लेखेको पहिलो पत्रमा प्रेरित पावलले मण्डलीमा सेवा गर्ने प्राचीन र सेवकाई सेवकहरूको योग्यताबारे बताए। त्यसको लगत्तै पावलले “जीवित परमेश्‍वरको मण्डली सत्यको खामा र जग हो” भने। (१ तिमोथी ३:१५) प्रथम शताब्दीमा अभिषिक्‍त मसीहीहरूको सम्पूर्ण मण्डलीले आफूहरू नै त्यो खामा भएको प्रमाण दिए। अनि यो पक्का हो कि हरेक मसीहीले त्यस्तो सत्य मुख्यतया स्थानीय मण्डली मार्फत मात्र पाउँथे। त्यहाँ तिनीहरूले बाइबल सत्य सिकाएको र त्यसको प्रमाण प्रस्तुत गरिएको सुन्‍न सक्थे साथै आफूलाई सुदृढ पनि पार्न सक्थे।

१८. मण्डलीका सभाहरू किन महत्त्वपूर्ण छन्‌?

१८ त्यसै गरी, विश्‍वव्यापी मसीही मण्डली परमेश्‍वरको घराना तथा “सत्यको खामा र जग” हो। स्थानीय मण्डलीका सभाहरू धाउनु नै आफूलाई सुदृढ पार्ने, परमेश्‍वरसितको सम्बन्ध बलियो बनाउने र उहाँको इच्छाबमोजिम गर्न तयार हुने प्रमुख तरिका हो। कोरिन्थको मण्डलीलाई पत्र लेख्दा पावलले सभाहरूमा भनिने कुराहरूमाथि जोड दिए। त्यहाँ उपस्थित हुनेहरू ‘सुध्रिन’ अर्थात्‌ सुदृढ हुन सकून्‌ भन्‍नका खातिर सभामा भनिने कुराहरू स्पष्ट र बुझिने होस्‌ भन्‍ने इच्छा आफूले राखेको कुरा पावलले बताए। (१ कोरिन्थी १४:१२, १७-१९) यहोवाले प्रबन्ध मिलाउनुभएको स्थानीय मण्डलीलाई उहाँले अख्तियार दिनुका साथै समर्थन गरिरहनुभएको छ भनेर यदि हामीले स्वीकाऱ्‍यौं भने आज हामी पनि त्यसरी नै सुदृढ हुन सक्छौं।

१९. तपाईं आफ्नो मण्डलीप्रति किन ऋणी महसुस गर्नुहुन्छ?

१९ हो, यदि हामी मसीहीको हैसियतमा सुदृढ हुन चाहन्छौं भने मण्डलीभित्रै रहनुपर्छ। धेरै अघिदेखि नै मण्डली झूटा शिक्षाहरूबाट बच्ने सुरक्षास्थल साबित भएको छ। साथै, परमेश्‍वरले मसीही राज्यको सुसमाचार पृथ्वीभरि घोषणा गर्न पनि मण्डलीलाई नै चलाइरहनुभएको छ। यसमा कुनै शंका छैन, परमेश्‍वरले मसीही मण्डली मार्फत धेरै कुरा पूरा गर्नुभएको छ।—एफिसी ३:९, १०.

(w 07 4/15)

[फुटनोट]

a येशूले निर्देशन दिनुहुँदा चलाउनुभएको “मण्डलीलाई भन” भन्‍ने वाक्यांशले “यस्ता समस्याहरू जाँच्न अख्तियार पाएकाहरू अर्थात्‌ चर्चका प्रतिनिधिहरूलाई” बुझाउन सक्छ भनी बाइबलविद्‌ अल्बर्ट बार्न्सले मानिलिए। तिनी अझ भन्छन्‌: “यहूदी सभाघरमा न्यायाधीशको रूपमा काम गर्ने प्राचीनहरू हुन्थे जसको अघि यस्ता खाले समस्याहरू पेश गरिन्थ्यो।”

के तपाईं याद गर्न सक्नुहुन्छ?

• परमेश्‍वरले पृथ्वीमा मण्डलीहरूलाई प्रयोग गर्नुहुनेछ भनेर हामीले किन आशा गर्नुपर्छ?

• प्राचीनहरू असिद्ध भए तापनि तिनीहरूले मण्डलीको निम्ति के गर्छन्‌?

• स्थानीय मण्डली मार्फत तपाईं कसरी सुदृढ भइरहनुभएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

यरूशलेमका प्रेरित र धर्मुगुरुहरूले परिचालक निकायको हैसियतमा सेवा गरे