सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन सबै दुःखकष्टको चाँडै अन्त हुनेछ

किन सबै दुःखकष्टको चाँडै अन्त हुनेछ

किन सबै दुःखकष्टको चाँडै अन्त हुनेछ

“उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ।”—व्यवस्था ३२:४.

१, २. (क) सधैंभरि बाँच्न पाउने आशाको तपाईं किन मोल गर्नुहुन्छ? (ख) भविष्यको निम्ति अद्‌भुत प्रतिज्ञा गर्नुहुने परमेश्‍वरमा विश्‍वास गर्नदेखि थुप्रैलाई कुन कुराले रोक्छ?

 के तपाईंलाई प्रमोदवनमा जीवन बिताइरहेको कल्पना गर्न मन लाग्छ? सायद तपाईं यस अद्‌भुत ग्रह पृथ्वीमा नयाँ-नयाँ कुराहरूको खोज-अनुसन्धान गरिरहेको र अनगिन्ती प्रकारका जीवित प्राणीहरूबारे सिकिरहेको दृश्‍य कल्पना गर्नुहुन्छ। अथवा पृथ्वीको हेरचाह गरेर यसलाई बगैंचा बनाउन अरूसित मिलीजुली काम गर्दा पाइने सन्तुष्टिलाई विचार गर्नुहुन्छ होला। अथवा अहिलेको व्यस्त जीवनमा सिक्न नभ्याएको कला, संगीत, वास्तुकला सिकिरहेको वा अन्य केही कुरा गरिरहेको कल्पनामा डुब्नुहुन्छ। जेहोस्‌, यहोवाले हाम्रो निम्ति उद्देश्‍य राख्नुभएको अनन्त जीवनको आशाको तपाईं मोल गर्नुहुन्छ जसलाई बाइबलमा ‘साँच्चैको जीवन’ भनिएको छ।—१ तिमोथी ६:१९.

बाइबलले दिने आशा अरूलाई बताउन पाउनु ठूलो सुअवसर र आनन्दको कुरो हो नि, होइन र? तर थुप्रैले यस्तो आशालाई अस्वीकार गर्छन्‌। तिनीहरू यसलाई सोझासीधा मान्छेले मात्र पत्याउने बेकारको कुरा र साकारै हुन नसक्ने सपना ठान्छन्‌। प्रमोदवनमा अनन्त जीवन दिन्छु भनेर प्रतिज्ञा गर्नुहुने परमेश्‍वरमा विश्‍वास गर्न समेत तिनीहरूलाई गाह्रो लाग्न सक्छ। किन? कसै-कसैलाई विश्‍वास गर्न गाह्रो लाग्नुको कारण दुष्टताको समस्याले गर्दा हो। यदि परमेश्‍वर हुनुहुन्छ अनि उहाँ शक्‍तिशाली र मायालु हुनुहुन्छ भने संसारमा दुष्टता र दुःखकष्ट किन त भनी तिनीहरू सोच्ने गर्छन्‌। तिनीहरू यस्तो तर्क गर्छन्‌: परमेश्‍वर हुँदो हो त यसरी दुष्टतालाई सहेर कहाँ बसिरहन्थे र! हुनुहुन्छ नै भने पनि या त उहाँ शक्‍तिशाली हुनुहुन्‍न, कि चाहिं हाम्रो ख्याल राख्नुहुन्‍न। कतिपयलाई यस्तो तर्क चित्तबुझ्दो लाग्छ। यसबाट, शैतान मानिसको मन अन्धा तुल्याउन माहिर छ भनेर स्पष्टै हुन्छ।—२ कोरिन्थी ४:४.

३. हामी मानिसहरूलाई कुन जटिल प्रश्‍नको जवाफ पाउन मदत गर्न सक्छौं अनि यो विशेष सुअवसर हामीले नै किन पाएका छौं?

हामी यहोवाका साक्षीहरूले शैतान र यस संसारको ज्ञानको ठगाइमा परिरहेका मानिसहरूलाई मदत दिने विशेष सुअवसर पाएका छौं। (१ कोरिन्थी १:२०; ३:१९) थुप्रै मानिसहरू बाइबलका प्रतिज्ञाहरूमा किन विश्‍वास गर्दैनन्‌, हामी बुझ्छौं। तिनीहरूले यहोवालाई चिनेकै छैनन्‌ र तिनीहरूलाई उहाँको नाउँ र त्यस नाउँको महत्त्वबारे थाह पनि नहुन सक्छ। उहाँका गुण र प्रतिज्ञाहरू पूरा गर्ने सन्दर्भमा उहाँले कस्तो नाउँ कमाउनुभएको छ भनेर तिनीहरूलाई सायद अलिअलि मात्र वा रतीभर थाह छैन होला। हामीले त यी सबै कुराबारे थाह पाएका छौं। त्यसैकारण, मानिसहरूले सोध्ने गरेको सबैभन्दा जटिल प्रश्‍नको उत्तर, “समझ अँध्यारो” भएका मानिसहरूलाई कसरी दिन सकिन्छ भनेर समय-समयमा विचार गर्नु लाभदायी हुन्छ। त्यो प्रश्‍न हो, “परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?” (एफिसी ४:१८) चित्तबुझ्दो जवाफ कसरी दिने भनी हामी पहिला विचार गर्नेछौं। त्यसपछि, यहोवाले दुष्टतालाई जुन तरिकामा सँभाल्नुभयो त्यसमा उहाँका गुणहरू कसरी झल्किन्छ, त्यो छलफल गर्नेछौं।

जवाफ दिने सही तरिका

४, ५. परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको भनेर कसैले सोधेमा पहिला के गर्नु आवश्‍यक हुन सक्छ? बताउनुहोस्‌।

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भनेर कसैले सोधेमा तपाईं कसरी जवाफ दिनुहुन्छ? सायद हामी तुरुन्तै, अदनको बगैंचामा भएको घटनादेखि सुरु गरेर सबै कुराको बेलीविस्तार लगाउन खोज्छौं होला। कतिपय अवस्थामा त्यसो गर्नु ठीकै होला। तर होसियारी अपनाउनु खाँचो छ। जवाफ दिनुअघि केही आधार बनाउनु आवश्‍यक पर्न सक्छ। (हितोपदेश २५:११; कलस्सी ४:६) दुःखकष्टको कारण बताउनुअघि, मानिसहरूलाई सहयोग गर्न हामीलाई मदत हुन सक्ने तीनवटा बुँदा विचार गरौं।

पहिलो, कुनै व्यक्‍ति संसारमा व्याप्त दुष्टता देखेर चिन्तित छन्‌ भने, सम्भवतः दुष्टताले तिनी आफैलाई वा तिनका प्रियजनहरूलाई असर गरेको छ। त्यसोभए, सबैभन्दा पहिला तिनको भावनालाई बुझिदिनु बुद्धिमानी हुन सक्छ। प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “रूनेहरूसँग रोओ।” (रोमी १२:१५) उनको भावना बुझेको महसुस गराउँदा वा उनीप्रति “सहानुभूति” देखाउँदा हामीले उनको मन छुन सक्छौं। (१ पत्रुस ३:८) हामी उनको ख्याल गर्छौं भनी बुझेमा उनले हाम्रो कुरा सुन्‍ने सम्भावना धेरै हुन्छ।

६, ७. आफूलाई पिरोलिरहेको बाइबल विषयका गहिरा प्रश्‍नहरू सोध्ने निष्कपट व्यक्‍तिलाई हामीले प्रशंसा गर्नु किन उचित हो?

दोस्रो, आफूलाई पिरोल्ने यस्ता प्रश्‍न मनमा उठ्‌दा तिनीहरूले आफूलाई अविश्‍वासी ठान्छन्‌ वा परमेश्‍वरको अनादर गरिरहेको रहेछु भन्‍ने निष्कर्षमा पुग्छन्‌। धर्मगुरुले पनि तिनीहरूलाई त्यसै भनेका हुन सक्छन्‌। तर, कुरा त्यसो होइन। वास्तवमा, बाइबल समयका विश्‍वासी मानिसहरूले पनि त्यस्तै प्रश्‍नहरू सोधेका थिए। उदाहरणका लागि, भजनरचयिता दाऊदले यस्तो प्रश्‍न गरे: “हे परमप्रभु, तपाईं किन टाढा उभिनुहुन्छ? दुःखको बेलामा तपाईं आफै किन लुक्नुहुन्छ?” (भजन १०:१) त्यसैगरि, अगमवक्‍ता हबकूकले यस्तो प्रश्‍न गरे: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाई सुन्‍नुहुन्‍न? उपद्रवको कारणले गर्दा म तपाईंमा पुकारा गर्दछु, औ तपाईं उद्धार गर्नुहुन्‍न। तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ? नाश र उपद्रव मेरै सामने भइरहेको छ। झगडा र विवाद बढदै जाँदैछन्‌।”—हबकूक १:२, ३.

दाऊद र हबकूक परमेश्‍वरको गहिरो आदर गर्ने विश्‍वासी व्यक्‍तिहरू थिए। आफूलाई पिरोलिरहेको कुराबारे प्रश्‍न गर्दा त्यस्ता प्रश्‍न सोधेकोमा के तिनीहरूले हप्काइ खाए? हप्काइ होइन बरु परमेश्‍वरले तिनीहरूको निष्कपट प्रश्‍न बाइबलमा रेकर्ड गर्न उपयुक्‍त ठान्‍नुभयो। आज दुष्टताबारे कुनै व्यक्‍ति चिन्तित हुनु भनेको वास्तवमा उनी आध्यात्मिक तवरमा भोकाएका र बाइबलमा मात्र पाउन सकिने जवाफको खोजी गरिरहेका हुन सक्छन्‌। नबिर्सनुहोस्‌, “आत्मामा दरिद्र हुनेहरू” अर्थात्‌ आध्यात्मिक तवरमा भोकाएकाहरूको येशूले प्रशंसा गर्नुभयो। (मत्ती ५:३) यस्ता व्यक्‍तिहरूलाई येशूले प्रतिज्ञा गर्नुभएको आनन्द पाउन मदत गर्नु कस्तो ठूलो सुअवसर!

८. कस्ता गलत शिक्षाले गर्दा मानिसहरू परमेश्‍वरलाई दुःखकष्टको जिम्मेवार ठान्छन्‌ र हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?

तेस्रो, संसारमा व्याप्त दुष्टताको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्‍न भनेर ती व्यक्‍तिलाई बुझ्न मदत दिनु आवश्‍यक हुन सक्छ। थुप्रैलाई यस्ता कुरा सिकाइएको छ: आज हामी बाँचिरहेको संसारको शासक परमेश्‍वर हुनुहुन्छ, उहाँले हाम्रो भविष्य पहिल्यै तय गरी सक्नुभएको छ र उहाँले मानिसजातिमाथि दुःख थोपर्नुको कारण पनि रहस्यमय छ। यस्ता शिक्षा सरासर गलत हो। तिनीहरूले संसारमा व्याप्त दुष्टता र दुःखकष्टको जिम्मेवार परमेश्‍वर नै हुनुहुन्छ भन्दै उहाँको अनादर गर्छन्‌। तसर्थ, यस्तो गलत धारणा सच्याउन हामीले परमेश्‍वरको वचन प्रयोग गर्नुपर्ने हुन सक्छ। (२ तिमोथी ३:१६) यस भ्रष्ट रीतिरिवाजको शासक यहोवा होइन, शैतान हो। (१ यूहन्‍ना ५:१९) यहोवा आफ्ना बुद्धिमान्‌ प्राणीहरूको भविष्य पहिल्यै तय गर्नुहुन्‍न। उहाँले हरेकलाई असल र खराब, सही र गलत छान्‍ने स्वतन्त्रता र मौका दिनुहुन्छ। (व्यवस्था ३०:१९) अनि यहोवा कहिल्यै दुष्टताको स्रोत हुनुहुन्‍न। उहाँ दुष्टतालाई घृणा गर्नुहुन्छ र अन्यायमा पर्नेहरूको ख्याल गर्नुहुन्छ।—अय्यूब ३४:१०; हितोपदेश ६:१६-१९; १ पत्रुस ५:७.

९. यहोवा परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भनी मानिसहरूलाई बुझ्न मदत दिनको लागि ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ प्रबन्ध गरिदिएका केही सामग्रीहरू के-के हुन्‌?

यस्तो आधार तयार पारिसक्नु भएपछि परमेश्‍वरले दुःखकष्ट रहिरहन किन दिनुहुन्छ भन्‍नेबारे सिक्न तपाईंको श्रोता तयार भएको पाउन सक्नुहुन्छ। यसको लागि तपाईंलाई मदत दिन ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ थुप्रै सामग्रीहरूको प्रबन्ध गरिदिएको छ। (मत्ती २४:४५-४७) जस्तै, सन्‌ २००५/०६ मा आयोजित “ईश्‍वरीय आज्ञाकारिता” जिल्ला अधिवेशनमा सबै दुःखकष्ट चाँडै अन्त हुनेछ! विषयको पर्चा विमोचन गरियो। यो पर्चा तपाईंको भाषामा पनि छ भने यसलाई राम्ररी पढ्‌नुभए कसो होला? त्यसै गरी बाइबलले वास्तवमा के सिकाउँछ? किताब पनि छ जुन अहिले १५७ भाषामा उपलब्ध छ। यस किताबको एउटा अध्यायमा परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भन्‍ने महत्त्वपूर्ण विषयबारे छलफल गरिएको छ। यी सामग्रीहरूको सदुपयोग गर्नुहोस्‌। यी सामग्रीहरूले अदनमा उठेको सार्वभौमिकताको विवादबारे बाइबलमा बताइएका घटनाहरू र त्यस विवादलाई यहोवाले जुन तरिकामा सँभाल्नुभयो त्यही तरिका नै किन चलाइएको भनी स्पष्टसित बताउँछन्‌। यो कुरा पनि मनमा राख्नुहोस्‌ कि तपाईंले यो विषय छलफल गर्नुहुँदा आफ्नो कुरा सुन्‍नेहरूका लागि सबैभन्दा महत्त्वपूर्ण ज्ञानको ढोका खोलिदिइरहनुभएको हुनेछ। त्यो हो, यहोवाको ज्ञान र उहाँका अद्‌भुत गुणहरू।

यहोवाका गुणहरूप्रति ध्यान खिच्नुहोस्‌

१०. परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुभएको कुराबारे थुप्रैले कुन कुरा बुझ्न सक्दैनन्‌ र कुन चाहिं ज्ञानले तिनीहरूलाई त्यो कुरा बुझ्न मदत दिन सक्छ?

१० शैतानको अधीनमा रहेर मानिसले मानिसमाथि नै शासन गर्न यहोवाले किन अनुमति दिनुभएको भनी मानिसहरूलाई बुझ्न मदत दिनुहुँदा उहाँका अद्‌भुत गुणहरूप्रति उनीहरूको ध्यान खिच्नुहोस्‌। परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ भनी थुप्रैलाई थाह छ। परमेश्‍वर सर्वशक्‍तिमान हुनुहुन्छ भनी तिनीहरूले सुन्दै आएका छन्‌। तर अन्याय र दुःखकष्ट हटाइहाल्न उहाँ आफ्नो त्यो शक्‍ति किन चलाउनुहुन्‍न भनेर बुझ्न तिनीहरूलाई गाह्रो भइरहेको हुन सक्छ। सम्भवतः तिनीहरूलाई पवित्रता, न्याय, बुद्धि र प्रेम जस्ता यहोवाका गुणहरूबारे थाह छैन। यहोवाले यी गुणहरू सिद्ध र सन्तुलित तरिकामा प्रदर्शित गर्नुहुन्छ। त्यसैले बाइबल यसो भन्छ: “उहाँको काम सिद्ध छ।” (व्यवस्था ३२:४) यस विवादबारे अक्सर उठ्‌ने प्रश्‍नहरूको जवाफ दिनुहुँदा तपाईं यी गुणहरूमा कसरी जोड दिन सक्नुहुन्छ? केही उदाहरण विचार गरौं।

११, १२. (क) आदम र हव्वाले पाप गर्दा तिनीहरूलाई क्षमा दिने कुरै थिएन, किन? (ख) यहोवाले पापलाई सधैंभरि किन सहेर बस्नुहुन्‍न?

११ के यहोवाले आदम र हव्वालाई क्षमा दिन सक्नुहुन्‍न थियो र? यस मामिलामा क्षमा दिने त कुरै थिएन। आदम र हव्वा सिद्ध थिए र तिनीहरूले जानाजानी यहोवाको सार्वभौमिकतालाई त्याग्ने र शैतानको डोऱ्‍याइ स्वीकार्ने छनौट गरे। ती विद्रोहीहरूले पश्‍चात्तापको कुनै छनक दिएनन्‌। तर, यहोवाले किन तिनीहरूलाई क्षमा नदिनुभएको होला भनी जान्‍न खोज्नेहरूले वास्तवमा, परमेश्‍वरले आफ्नो स्तर अलि घटाएर पाप र विद्रोहलाई सहनुभएको भए त भइहाल्थ्यो नि भनेर सोचिरहेका हुन सक्छन्‌। तर परमेश्‍वरले यसो नगर्नुको कारण उहाँको व्यक्‍तित्वको एउटा महत्त्वपूर्ण भाग अर्थात्‌ उहाँको पवित्रताले गर्दा हो।—प्रस्थान २८:३६; ३९:३०.

१२ बाइबलमा यहोवाको पवित्रतालाई धेरै चोटि जोड दिइएको छ। तर दुःखको कुरा, यस भ्रष्ट संसारमा कमैलाई मात्र यो गुणबारे थाह छ। यहोवा स्वच्छ, शुद्ध र हर प्रकारको पापबाट अलग हुनुहुन्छ। (यशैया ६:३; ५९:२) पापको सम्बन्धमा भन्‍नुपर्दा, उहाँले पापलाई हटाउन प्रायश्‍चितको प्रबन्ध मिलाउनुभएको छ। तर उहाँ पापलाई सधैंभरि सहेर बस्नुहुन्‍न। उहाँले सधैंभरि पापलाई सहनु हुने भए त भविष्यको लागि हाम्रो कुनै आशा हुने थिएन। (हितोपदेश १४:१२) यहोवाले आफ्नो समयमा सारा सृष्टिलाई फेरि पवित्र पार्नुहुन्छ। यो निश्‍चय हुन्छ किनभने यो पवित्र परमेश्‍वरको इच्छा हो।

१३, १४. यहोवाले अदनको बगैंचामा विद्रोह गर्नेहरूलाई किन नाश गर्नुभएन?

१३ के परमेश्‍वरले अदनमा विद्रोह गर्नेहरूलाई नाश गरेर फेरि अर्को सृष्टि गर्न सक्नुहुन्‍न थियो र? यसो गर्न सक्ने शक्‍ति उहाँसित अवश्‍यै थियो। उहाँले सबै दुष्टता हटाउन त्यो शक्‍ति चाँडै चलाउनुहुनेछ। कतिपयलाई लाग्ला, ‘विश्‍व-ब्रह्‍माण्डमै तीन जना मात्र पापीहरू हुँदा नै उहाँले किन तिनीहरूलाई नाश गर्नुभएन? त्यसो गरेको भए संसारमा यतिबिघ्न पाप र दुःख फैलिन पाउने थियो र?’ यहोवाले किन त्यसो गर्नुभएन? व्यवस्था ३२:४ ले यसो भन्छ: “उहाँका सबै काम न्यायसंगत छन्‌।” उहाँले न्यायलाई गम्भीरतापूर्वक लिनुहुन्छ। वास्तवमा, उहाँले ‘इन्साफलाई प्रेम गर्नुहुन्छ।’ (भजन ३७:२८) यहोवाले न्यायलाई प्रेम गर्नुहुने भएकोले गर्दा नै आदम र हव्वाले अदनमा विद्रोह गरे लगत्तै तिनीहरूलाई नाश गर्नुभएन। त्यसो किन?

१४ शैतानको विद्रोहले परमेश्‍वरको सार्वभौमिकता जायज हो कि होइन भन्‍ने विवाद खडा गऱ्‍यो। यहोवा न्यायी हुनुभएकोले शैतानको चुनौतीको जवाफ न्यायसंगत ढंगमा दिनु आवश्‍यक थियो। विद्रोहीहरू नाश हुन योग्यको भए तापनि तिनीहरूलाई तुरुन्तै नाश गर्दा न्यायसंगत जवाफ दिइएको हुने थिएन। यसो गर्दा यहोवा जस्तो शक्‍तिशाली अरू कोही छैन भन्‍ने कुराको थप प्रमाण त हुनेथियो तर विवाद उहाँको शक्‍तिबारे थिएन। त्यसबाहेक, यहोवाले आफ्नो उद्देश्‍य आदम र हव्वालाई बताइसक्नुभएको थियो। तिनीहरूले सन्तान जन्माएर पृथ्वी भर्नुपर्ने थियो अनि सृष्टिलाई आफ्नो वशमा पार्नुपर्ने थियो। (उत्पत्ति १:२८) यदि यहोवाले त्यति नै बेला आदम र हव्वालाई नाश गरिहाल्नुभएको भए मानिसजातिको लागि राखेको उहाँको उद्देश्‍य बेकार हुनेथियो। यहोवाको न्यायले कदापि त्यसो हुन दिने थिएन किनभने उहाँको उद्देश्‍य सधैं पूरा हुन्छ।—यशैया ५५:१०, ११.

१५, १६. अदनको बगैंचामा उठेको विवाद “सुल्झाउन” मानिसहरूले आफ्नै किसिमको प्रस्ताव तेर्साउँदा हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?

१५ विश्‍व-ब्रह्‍माण्डमा अरू कसैले यहोवाले भन्दा बुद्धिमानी ढंगमा त्यो विद्रोहलाई सँभाल्न सक्दैन थियो र? कतिपयले अदनमा भएको विद्रोह “सुल्झाउन” आफ्नै प्रकारको प्रस्ताव तेर्साउन सक्छन्‌। तर त्यसो गर्दा, त्यो विवाद सँभाल्ने उत्तम तरिका त आफूहरूसितै छ भनेर तिनीहरूले संकेत गरिरहेका हुँदैनन्‌ र? त्यसो गर्नुमा तिनीहरूको कुनै खराब मनसाय नहोला। तर तिनीहरूसित परमेश्‍वरको जस्तो समझ र अद्‌भुत बुद्धि छैन। रोमका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले परमेश्‍वरको बुद्धिबारे गहिरिएर चर्चा गरे। उक्‍त पत्रमा, विश्‍वासी मानिसजातिलाई छुटकारा दिन र आफ्नो पवित्र नाउँलाई पवित्र पार्न मसीही राज्य प्रयोग गर्नुहुने यहोवाको उद्देश्‍यबारेको “पवित्र रहस्य” [ NW] पनि समावेश थियो। यस्तो उद्देश्‍य राख्नुहुने परमेश्‍वरको बुद्धिबारे पावलले कस्तो महसुस गरे? तिनले पत्रको अन्तमा यी शब्दहरू लेखे: “सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्टद्वारा सदा सर्वदा महिमा होस्‌। आमिन।”—रोमी ११:२५; १६:२५-२७.

१६ यहोवा ब्रह्‍माण्डकै “सर्वज्ञानी” अर्थात्‌ बुद्धिको मूर्त रूप हुनुहुन्छ भनेर पावलले बुझे। कुनै पनि समस्या सँभाल्ने उत्तम तरिका कुन चाहिं असिद्ध मानिसले निकाल्न सक्छ र, परमेश्‍वरको सार्वभौमिकतामाथि उठाइएको चुनौती सँभाल्ने त कुरै छोडौं। परमेश्‍वरको बुद्धिमाथि अघि कहिल्यै नउठेको अत्यन्तै जटिल चुनौतीको सामना, कुन चाहिं असिद्ध मानवले परमेश्‍वरको भन्दा उत्तम तरिकामा गर्न सक्थे र? त्यसैले, “ज्ञानी” परमेश्‍वरप्रति हाम्रो मनमा जस्तो श्रद्धा छ त्यस्तै श्रद्धा अरूको मनमा उब्जाउन तिनीहरूलाई मदत गर्नु खाँचो छ। (अय्यूब ९:४) यहोवाको बुद्धिलाई जति राम्ररी बुझ्छौं, समस्या सँभाल्ने उहाँको तरिका नै सबैभन्दा उत्तम हो भनेर त्यति नै धेरै विश्‍वस्त हुनेछौं।—हितोपदेश ३:५, ६.

यहोवाको प्रमुख गुणको मोल गर्ने

१७. यहोवाको प्रेमलाई अझ राम्रोसित बुझ्दा परमेश्‍वरले दुःखकष्ट रहिरहन दिनुभएको कारण चिन्तित मानिसहरूले कसरी मदत पाउँछन्‌?

१७ “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) यी आकर्षक शब्दहरूद्वारा बाइबलले यहोवाको प्रमुख गुणलाई चिनाउँछ। उहाँका गुणहरूमध्ये यो सबैभन्दा आकर्षक गुण हो र यसले व्याप्त दुष्टताको कारण चिन्तित मानिसहरूलाई ठूलो सान्त्वना दिन्छ। आफ्नो सृष्टिमाथि आइपरेको पापको विनाशकारी असरलाई रोक्न यहोवाले चलाउनुभएको प्रत्येक तरिकामा उहाँले प्रेम देखाउनुभएको छ। प्रेमले गर्दा नै यहोवा आदम र हव्वाको पापी सन्तानलाई भविष्यको आशा दिन उत्प्रेरित हुनुभयो। (उत्पत्ति ३:१५) परमेश्‍वरले तिनीहरूलाई प्रार्थनामार्फत उहाँकहाँ आउन दिनुभयो र उहाँसित स्वीकार्य सम्बन्ध गाँस्न तिनीहरूलाई सम्भव पारिदिनुभयो। प्रेमकै कारण परमेश्‍वर पूर्णरूपले पापको क्षमा पाउने अनि सिद्ध र अनन्त जीवनको ढोका खोलिदिने छुटकाराको प्रबन्ध गर्न उत्प्रेरित हुनुभयो। (यूहन्‍ना ३:१६) अनि प्रेमले गर्दा नै उहाँ मानिसजातिप्रति धीरजी हुनुभएको छ र शैतानलाई तिरस्कार गरेर यहोवालाई आफ्नो सार्वभौमको रूपमा स्वीकार्ने धेरैभन्दा धेरै मौका मानिसलाई दिनुभएको छ।—२ पत्रुस ३:९.

१८. हामीले कुन कुरा बुझेका छौं अनि अर्को लेखमा के छलफल गर्नेछौं?

१८ आतंककारी आक्रमणमा भएको विनाशको दुःखद क्षणको वार्षिकीमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै एक जना पास्टरले यसो भने: “परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको, हामी जान्दैनौं।” कत्ति दुःखलाग्दो कुरा! तर हामीले भने त्यसको कारण बुझेका छौं, यसमा हामी खुसी छैनौं र? (व्यवस्था २९:२९) यहोवा बुद्धिमान्‌, न्यायी र मायालु हुनुभएकोले हामीलाई थाह छ कि उहाँले सबै दुःखकष्ट चाँडै हटाउनुहुनेछ। वास्तवमा, उहाँले त्यसो गर्ने प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश २१:३, ४) तर मरिसकेका थुप्रै मानिसहरूबारे के भन्‍न सकिन्छ? अदनको बगैंचामा उठेको विवादलाई यहोवाले जुन तरिकामा सुल्झाउनुभयो त्यसले गर्दा के तिनीहरूको निम्ति आशै रहेन? त्यसो होइन। प्रेमले गर्दा तिनीहरूका निम्ति पनि पुनरुत्थानको प्रबन्ध गरिदिन परमेश्‍वर उत्प्रेरित हुनुभयो। यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौं। (w 07 5/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भनेर सोध्ने व्यक्‍तिलाई के जवाफ दिन सकिन्छ?

• अदनको बगैंचामा भएको विद्रोहलाई यहोवाले जुन तरिकामा सँभाल्नुभयो त्यसमा कसरी उहाँको पवित्रता र न्याय झल्किन्छ?

• यहोवाको प्रेमलाई अझ राम्ररी बुझ्न मानिसहरूलाई हामीले किन मदत गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

संसारमा व्याप्त दुःखकष्टको कारण चिन्तित मानिसहरूलाई मदत दिने प्रयास गर्नुहोस्‌

[पृष्ठ १३-मा भएका चित्रहरू]

विश्‍वासी पुरुषहरू दाऊद र हबकूकले परमेश्‍वरलाई निष्कपट प्रश्‍नहरू सोधे