सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुष्टताको कारण उदाङ्‌ग!

दुष्टताको कारण उदाङ्‌ग!

दुष्टताको कारण उदाङ्‌ग!

प्रथम शताब्दीमा धेरै यहूदीहरू प्रतिज्ञा गरिएका मसीहको प्रतीक्षा गर्दैथिए। (यूहन्‍ना ६:१४) जब येशू पृथ्वीमा आउनुभयो तब उहाँले मानिसहरूलाई सान्त्वना दिनुभयो र परमेश्‍वरको वचनको समझ खोलिदिनुभयो। साथै, उहाँले बिरामीहरूलाई निको पार्नुभयो, भोकाहरूलाई खुवाउनुभयो, प्रकृतिलाई नियन्त्रणमा राख्नुभयो र यहाँसम्म कि मरेकाहरूलाई जीवित समेत पार्नुभयो। (मत्ती ८:२६; १४:१४-२१; १५:३०, ३१; मर्कूस ५:३८-४३) उहाँले परमेश्‍वरको वचन बोल्नुभयो र अनन्त जीवनको प्रतिज्ञा पनि गर्नुभयो। (यूहन्‍ना ३:३४) येशूले जे भन्‍नु र गर्नुभयो, त्यसबाट आफू मानिसजातिलाई पाप र त्यसका सम्पूर्ण खराब नतिजाहरूबाट मुक्‍ति दिलाउने मसीह हो भनेर उहाँले स्पष्ट पार्नुभयो।

भन्‍नु नै पर्दा, येशूको स्वागत गर्ने, उहाँको कुरा सुन्‍ने र आनन्दसाथ उहाँको निर्देशन स्वीकार्ने सन्दर्भमा यहूदी धर्मगुरुहरू अग्रपङ्‌क्‍तिमा आउनुपर्थ्यो। यद्यपि, तिनीहरूले त्यसो गरेनन्‌। उल्टो तिनीहरूले उहाँलाई घृणा गरे, सताए र मार्ने षड्यन्त्र रचे!—मर्कूस १४:१; १५:१-३, १०-१५.

येशूले ती दोषी मानिसहरूको निन्दा गर्नु एकदमै उचित थियो। (मत्ती २३:३३-३५) तर ती मानिसहरूको हृदयमा भएको दुष्टताको लागि अरू नै कोही दोषी छ भन्‍ने कुरा उहाँले मानिलिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता आफ्ना पिता शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।” (यूहन्‍ना ८:४४) हो, मानिसहरूले दुष्ट कामहरू गर्न सक्छन्‌ भनी येशूले मानिलिनुभयो तर उहाँले दुष्टताको जड—शैतान अर्थात्‌ दियाबललाई नै पनि औंल्याउनुभयो।

येशूले शैतान “सत्यमा ठहरेन” भन्‍नुहुँदा त्यो आत्मिक प्राणी एक समय परमेश्‍वरको विश्‍वासी सेवक भएको तर पछि मात्र धार्मिक बाटोबाट तर्किएर गएको कुरा प्रष्ट पार्नुभयो। शैतानले किन यहोवाको विरुद्ध विद्रोह गऱ्‍यो? किनभने त्यसले आफूलाई बढ्‌तै ठूलो ठान्यो र यो हदसम्म पुग्यो कि त्यसले परमेश्‍वरको मात्र हक लाग्ने उपासनाको लालसा गर्न थाल्यो। aमत्ती ४:८, ९.

अदनको बगैंचामा हव्वालाई नखानू भनिएको फल खान उक्साउँदा शैतानको विद्रोह छर्लङ्‌ग भयो। सबैभन्दा पहिलो झूट बोलेर अनि यहोवाको निन्दा गरेर शैतानले आफूलाई “झूटको पिता” साबित गऱ्‍यो। साथै, आदम र हव्वालाई अनाज्ञाकारितातर्फ धकेलेर त्यसले उनीहरूमाथि पाप लदाइदियो जसले गर्दा उनीहरू र उनीहरूका भावी सन्तान मर्नुपऱ्‍यो। यसप्रकार त्यसले आफूलाई “हत्यारा” पनि बनायो, त्यस्तो निर्दयी हत्यारा जसको ठाउँ अन्य कसैले पनि लिन सक्दैन!—उत्पत्ति ३:१-६; रोमी ५:१२.

हुँदा-हुँदा त शैतानको दुष्ट प्रभाव स्वर्गमा समेत पुग्यो। त्यहाँ त्यसले अरू स्वर्गदूतहरूलाई पनि आफ्नो विद्रोहमा साथ दिन हौस्यायो। (२ पत्रुस २:४) शैतानले जस्तै ती दुष्ट स्वर्गदूतहरूले पनि मानिसप्रति अनुचित चासो राख्न थाले। तर तिनीहरूको चासो चाहिं विनाशकारी र दुष्ट नतिजाहरू ल्याउने पतित यौन चासो थियो।

पृथ्वी दुष्टताले भरिन्छ

बाइबल हामीलाई यसो भन्छ: “जब मानिसहरू पृथ्वीमा बढ्‌दै गए, तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे। औ आफ्नो आफ्नो रुचिका पत्नीहरू ल्याए।” (उत्पत्ति ६:१, २) ती “परमेश्‍वरका छोराहरू” को थिए? तिनीहरू आत्मिक प्राणी थिए, मानिस होइनन्‌। (अय्यूब १:६; २:१) हामी कसरी थाह पाउन सक्छौं? कुरो के हो भने, मानव-मानवबीचको विवाह त १,५०० वर्षअगाडिदेखि नै चल्दै आएको थियो र यस सम्बन्धलाई विशेष महत्त्वका साथ लेख्नुपर्ने कुनै कारण नै थिएन। त्यसकारण, ‘परमेश्‍वरका छोराहरूले’ भौतिक शरीर धारण गरेर ‘मानिसका छोरीहरूसँग’ राखेको यौन सम्बन्धलाई उल्लेख गरिनुले त्यस्तो सम्बन्ध पहिला कहिल्यै नराखिएको, असामान्य प्रकारको थियो भनेर स्पष्ट हुन्छ।

त्यस्तो सम्बन्ध असामान्य थियो भन्‍ने कुरा तिनीहरूबाट जन्मेका सन्तानलाई हेरेर थाह पाउन सकिन्छ। नपील भनेर चिनिने ती ठिमाहाहरू बडे-बडे कदका थिए। तिनीहरू उद्दण्ड स्वभावका थिए। साँच्चै भन्‍ने हो भने, “नपील” शब्दको अर्थ नै “ढाल्नेहरू” अथवा “अरूलाई ढल्न लगाउनेहरू” भन्‍ने हुन्छ। ती हिंस्रक सन्तानलाई “उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू” भनेर व्याख्या गरिएको छ।—उत्पत्ति ६:४.

ती नपील र तिनीहरूका बुबाहरूले दुष्टता झनै मच्चाए, दुष्टताको त्यस्तो रूप पहिला कहिल्यै देखिएको थिएन। “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो” भनी उत्पत्ति ६:११ बताउँछ। हो, मानवहरूले पनि ती नपीलहरूको जस्तै हिंस्रक र छाडा स्वभावलाई पछ्याए।

ती नपील र तिनीहरूका बुबाहरूले कसरी मानवजातिमाथि त्यस्तो दुष्ट प्रभाव जमाउन सके? मानिसको पापी झुकाव र चाहनालाई जगाएर। त्यसको परिणाम? “सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट” पारे। अन्तमा यहोवाले त्यस संसारलाई विश्‍वव्यापी महाप्रलयद्वारा नाश गर्नुभयो, केवल धर्मी नूह र तिनका परिवार मात्र बच्न सके। (उत्पत्ति ६:५, १२-२२) तर भौतिक शरीर धारण गरेर आएका ती स्वर्गदूतहरू कलंकित हुँदै आत्मिक संसारमा फर्की गए। पतित अवस्थामा पुगेका प्रेतहरूको रूपमा तिनीहरूले परमेश्‍वर र उहाँका वफादार स्वर्गदूतहरू मिलेर बनेको धार्मिक परिवारको विरोध गरिरहे। त्यसबेलादेखि परमेश्‍वरले ती दुष्ट स्वर्गदूतहरूलाई भौतिक शरीर धारण गर्नबाट वञ्चित गर्नुभयो जस्तो देखिन्छ। (यहूदा ६) तैपनि तिनीहरूले मानवजातिमाथि ठूलै शक्‍ति जमाएका छन्‌।

दुष्टताको कारण पूर्णतया उदाङ्‌ग!

शैतानको दुष्ट प्रभावको हदबारे पहिलो यूहन्‍ना ५:१९ मा यसरी बताइएको छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” त्यसले मानवजातिलाई आपत्‌-विपत्‌को बढ्‌दो तुफानतर्फ धकेलिरहेको छ। साँच्चै भन्‍ने हो भने, अरूलाई हानि पुऱ्‍याउन त्यो पहिलेभन्दा कम्मर कसेर लागिपरेको छ। किन? किनभने सन्‌ १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भएपछि त्यो र त्यसका प्रेतहरू स्वर्गबाट फ्याँकिए। त्यसलाई त्यसरी फालिने सन्दर्भमा बाइबलले यसरी भविष्यवाणी गरेको थियो: “पृथ्वी[लाई] . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:७-१२) त्यसोभए आज शैतानले कसरी मानिसजातिमाथि आफ्नो प्रभाव जमाउँछ त?

मुख्यतया मानिसको सोच्ने र व्यवहार गर्ने तरिकामाथि नै त्यसले अधिकार जमाउँछ। त्यसैकारण, एफिसी २:२ ले दियाबललाई “आकाशको शक्‍तिको मालिक [“हावाको मालिक,” NW], अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा [वा, प्रबल मनोभाव]” भनेको छ। परमेश्‍वरको डर राख्न र भलाइ गर्नमा जोड दिनुको सट्टा त्यो दुष्ट ‘हावाले’ परमेश्‍वर र उहाँका स्तरहरूको विरुद्ध विद्रोह गर्न उक्साउँछ। शैतान र त्यसका प्रेतहरूले, मानवले गरेका दुष्ट कामहरूलाई झनै चर्काएर र त्यसलाई बढावा दिएर आगोमा घ्यू थप्ने काम गर्छ।

‘हृदयलाई सुरक्षित राख्नुहोस्‌’

त्यो ‘हावाको’ एउटा असर भनेको अश्‍लील कुराहरूको महामारी हो जसले मानिसमा अनुचित यौन चाहना जगाइदिन्छ र असामान्य क्रियाकलापलाई समेत लोभलाग्दो बनाइदिन्छ। (१ थिस्सलोनिकी ४:३-५) अश्‍लीलतामा बलात्कार, करणी, सामूहीक बलात्कार, पशुगमन, बाल यौन दुर्व्यवहारजस्ता कुराहरू मनोरञ्जनको रूपमा देखाइन्छ। अश्‍लील कुराहरू अलि-अलि मात्र भएका कुराहरू हेर्ने वा पढ्‌ने गर्दा पनि यसले हानि पुऱ्‍याउँछ किनकि यसले गर्दा त्यस्ता कामुक कुराहरू मात्र हेर्न मन लाग्ने बानी नै बस्न सक्छ वा त्यसमै लग्गू हुन सक्छ। b यो यस्तो खराब कुरा हो जसले मानिस र परमेश्‍वर दुवै सँगको सम्बन्धलाई बिगार्छ। अश्‍लीलताले, यसलाई प्रश्रय दिने प्रेतहरूको पतित मानसिकता झल्काउँछ। ती प्रेतहरूमा नूहको समयको जलप्रलय अगाडि नै अनुचित यौन चाहना देखिएको थियो।

बुद्धिमान्‌ राजा सुलेमानले असलै कारणले यस्तो सल्लाह दिए: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) व्यावहारिक भएर कुरा गर्ने हो भने, आफ्नो हृदयलाई अश्‍लील कुराहरूको पासोबाट सुरक्षित राख्नुको मतलब कामुक यौन दृश्‍यहरू आउँदा टि भी-को च्यानल फेर्नु अथवा कम्प्युटर बन्द गर्नु हो। अनि यो आलेटाले गर्दै होइन, तुरुन्तै र मनलाई बाँधेरै भएपनि गर्नुपर्छ। कल्पना गर्नुहोस्‌, तपाईं एक सिपाही हुनुहुन्छ र कसैले तपाईंको हृदयमा नै ताकेर बाण हान्‍न खोजिरहेछ। त्यसैगरि शैतानले तपाईंको चाहना र झुकावको केन्द्र अर्थात्‌ तपाईंको लाक्षणिक हृदयलाई तारो बनाउँछ र यसलाई भ्रष्ट पार्न भरमग्दुर प्रयास गर्छ।

हिंसालाई प्रेम गर्नबाट पनि तपाईंले आफ्नो हृदयलाई जोगाउनुपर्छ। किनभने शैतानलाई यो थाह छ कि “दुष्ट र हिंसा रुचाउनेहरूलाई [यहोवा] घृणा गर्नुहुन्छ।” (भजन ११:५) परमेश्‍वरको शत्रु बनाउन शैतानले तपाईंलाई कसैको रगतको खोलो बगाउन लगाउनु पर्दैन, मात्र त्यसले तपाईंमा हिंसाप्रति प्रेम जगाइदिए पुग्छ। लोकप्रिय सञ्चार माध्यमहरू हिंसा र त्यसमा पनि प्रेतवादको गन्ध भएका विषयहरूले भरिपूर्ण हुनु संयोग मात्र त होइन। नपीलहरू त अहिले छैनन्‌, तैपनि तिनीहरूको दुर्गुण र बानी बेहोरा भने आजसम्म पनि जस्ताको तस्तै छ! मनोरञ्जनसम्बन्धी तपाईंको छनौटले तपाईं शैतानको दाउपेचको प्रतिरोध गर्नुहुन्छ भन्‍ने कुरो झल्काएको छ?—२ कोरिन्थी २:११.

शैतानको दुष्ट प्रभावको कसरी प्रतिरोध गर्ने

यसो हेर्दा त दुष्टताको प्रतिरोध गर्नै नसकिने जस्तो देखिन्छ। तैपनि, बाइबलले बताएअनुसार परमेश्‍वरलाई खुसी पार्न चाहनेहरूले आफ्नो असिद्ध शरीरसँग मात्र होइन, “दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध” पनि लड्‌नुपर्छ। यो लडन्त जित्न र परमेश्‍वरको अनुमोदन पाउन परमेश्‍वरले उपलब्ध गराउनुभएका विभिन्‍न प्रबन्धहरूबाट हामीले लाभ उठाउनै पर्छ।—एफिसी ६:१२; रोमी ७:२१-२५.

यी प्रबन्धहरूमा ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍ति, परमेश्‍वरको पवित्र आत्मा पनि पर्छ। प्रेरित पावलले प्रथम शताब्दीका येशूका अनुयायीहरूलाई यस्तो लेखे: “हामीले संसारको आत्मा होइन, तर परमेश्‍वरबाटका आत्मा पाएका छौं।” (१ कोरिन्थी २:१२) परमेश्‍वरको आत्माको डोऱ्‍याइअनुसार हिंड्‌नेहरू उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्छन्‌ र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्छन्‌। (आमोस ५:१५) कुनै व्यक्‍तिले कसरी पवित्र आत्मा पाउन सक्छन्‌? मुख्यतया प्रार्थना गरेर, पवित्र आत्माकै एउटा उपज अर्थात्‌ बाइबलको अध्ययन गरेर र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग उत्थानदायी संगति गरेर!—लूका ११:१३; २ तिमोथी ३:१६; हिब्रू १०:२४, २५.

परमेश्‍वरले गर्नुभएका यी प्रबन्धहरूबाट लाभ उठाउँदा तपाईंले “परमेश्‍वरको सारा हात-हतियार धारण” गर्न थाल्नुहुन्छ र “शैतानका युक्‍तिहरूका” विरुद्धमा खडा हुन सक्नको लागि यो नै एक मात्र सुरक्षा हो। (एफिसी ६:११-१८) यी प्रबन्धहरूको पूरापूर फाइदा उठाउनु अहिले जति आवश्‍यक पहिला कहिल्यै भएको थिएन। तर किन?

दुष्टताको अन्त नजिकै छ!

“जब दुष्टहरू घाँसझैं बढ्‌छन्‌, र सबै अधर्म गर्नेहरूको फलिफाप हुन्छ, यही कारणले हो, कि तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्‌” भनी भजनहार भन्छन्‌। (भजन ९२:७) हो, नूहको समयमा जस्तै आज जुन रफ्तारले दुष्टता मौलाइरहेको छ त्यसबाट दुष्ट मानिसहरूमाथि मात्र नभई शैतान र त्यसका प्रेतहरूमाथि पनि परमेश्‍वरको न्याय आउनै लागेको छ भनी स्पष्ट हुन्छ। शैतान र त्यसका प्रेतहरूलाई अन्ततः तिनीहरूले भोग्ने विनाशको पूर्वझलकको रूपमा निष्क्रिय पारी अगाध खाँदमा फ्याँकिनेछ। (२ तिमोथी ३:१-५; प्रकाश २०:१-३, ७-१०) त्यो न्याय कसले ल्याउनुहुनेछ? न्याय ल्याउने ती व्यक्‍ति येशू ख्रीष्टबाहेक अरू हुनै सक्दैन जसको विषयमा हामी यस्तो लेखिएको पाउँछौं: “शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।”—१ यूहन्‍ना ३:८.

के तपाईंमा दुष्टता अन्त भएको हेर्ने धोको छ? त्यसो हो भने बाइबलका प्रतिज्ञाहरूमा तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ। अरू कुनै पनि किताबले दुष्टताको कारण शैतान नै हो भनी उदाङ्‌ग पार्दैन। शैतान र त्यसका दुष्ट कामहरू कसरी पूर्णतया नामेट पारिनेछ भनेर पनि अरू कुनै किताबले बताउँदैन। त्यसकारण शैतानको दुष्ट असरबाट अहिल्यै जोगिन र दुष्टताबाट मुक्‍त संसारमा बाँच्ने आशा राख्न सक्न, हामी तपाईंहरूलाई बाइबलको सही ज्ञान लिन आग्रह गर्छौं।—भजन ३७:९, १०. (w 07 6/1)

[फुटनोटहरू]

a पछि गएर शैतान बनेको त्यस स्वर्गदूतको खास नाउँ के हो भनेर त थाह छैन। तर “शैतान” र “दियाबल” शब्दहरूको अर्थ “विरोधी” र “निन्दक” हो। केही पक्षहरूमा शैतानको क्रियाकलाप प्राचीन समयको टायरका राजाको जस्तै छ। (इजकिएल २८:१२-१९) सुरुआतमा त ती दुवैमा कुनै खोट थिएन तर समयको दौडान तिनीहरू आफ्नै अहंकारको शिकार बन्‍न पुगे।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित अगस्त ८, २००३ अंकको ब्यूँझनुहोस्‌!-को “अश्‍लील कुरा—अहानिकारक वा हानिकारक?” शृङ्‌खला हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

थोरै भए पनि यथार्थ मुछिएका दन्त्यकथाहरू

अर्धदेव, राक्षस र विध्वंसात्मक जलप्रलयबारे लेखिएका पौराणिक कथाहरू संसारभरि नै पाइन्छन्‌। उदाहरणको लागि, गिल्गामेशको अकेडियन महाकाव्यमा जलप्रलय, जहाज र त्यस जलप्रलयबाट बचेकाहरूका बारेमा बताइएको छ। गिल्गामेश आफैलाई चाहिं कामुक र हिंस्रक अर्धदेवको रूपमा चित्रण गरिएको छ। एजटेक पौराणिक कथामा चाहिं राक्षसहरू बास गर्ने एउटा पुरातन संसार र एउटा ठूलो जलप्रलयको बारेमा बताइएको छ। नोर्स दन्त्यकथाले भने राक्षसहरू र बरगिलमिर भनिने एक बुद्धिमान्‌ मानिसबारे बताउँछ जसले एउटा बडेमाको डुङ्‌गा बनाए अनि आफू र आफ्नी पत्नीलाई बचाए। यी सम्पूर्ण दन्त्यकथाहरूलाई मिलान गरेर हेर्दा बाइबलको सत्यता पुष्टि हुन्छ। बाइबलअनुसार ठूलो जलप्रलयद्वारा प्राचीन दुष्ट संसारको विनाश भएको थियो र त्यसबाट बच्नेहरूद्वारा नै सम्पूर्ण मानवजाति आएको हो।

[चित्र]

गिल्गामेशको महाकाव्य कुँदिएको ढुंगाको पाटी

[स्रोत]

The University Museum, University of Pennsylvania (neg. # 22065)

[पृष्ठ ५-मा भएको चित्र]

नपीलहरूको दुर्गुण अहिलेका मानिसहरूमा पनि देखिन्छ

[पृष्ठ ७-मा भएको चित्र]

सही ज्ञानले हामीलाई दुष्ट प्रभावहरू विरुद्ध लड्‌न बलियो बनाउँछ