सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने

बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने

बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहने

“परमप्रभुको घरमा रोपेकाहरू[ ले] . . . बूढेसकालमा पनि फल फलाउँछन्‌।” —भजन ९२:१३, १४.

१, २. (क) बुढेसकालको वर्णन अक्सर कसरी गरिन्छ? (ख) आदमको पापको कारण देखिएका असरहरूको सन्दर्भमा बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ?

 बूढाबूढी भन्‍ने बित्तिकै तपाईंको मनमा कस्तो चित्र आउँछ? चाउरी परेको छाला? कान राम्ररी नसुन्‍ने? कमजोर हातखुट्टा? वा उपदेशक १२:१-७ मा जीवन्त ढंगमा वर्णन गरिएको “दुःखको समयको” अरू कुनै पक्ष? तपाईंले के कुरा मनमा राख्नुपर्छ भने बुढेसकाल र यसका असरबारे उपदेशक अध्याय १२ मा जे-जसरी वर्णन गरिएको छ त्यो यहोवा परमेश्‍वरको सुरुको उद्देश्‍य थिएन। ती त आदमको पापको कारण मानव शरीरमा देखिएका असरहरू हुन्‌।—रोमी ५:१२.

उमेर ढल्कँदै जानु आफैमा सराप होइन किनभने बाँचिरहनको लागि उमेर पनि त त्यही हिसाबले बढ्‌नै पऱ्‍यो। साँच्चै भन्‍ने हो भने, हुर्कनु र परिपक्व हुनु भनेको सबै जीवित प्राणीलाई मन पर्ने गुण नै हो। पाप र असिद्धताले मानिसजातिलाई पिरोलेको छ हजार वर्ष भइसक्यो र यसका असरहरू आफू वरपर देख्छौं। तर चाँडै यी बितिसकेका कुरा हुनेछन्‌ र सबै आज्ञाकारी मानिसले सुरुको उद्देश्‍य अनुरूप जीवनको आनन्द उठाउन सक्नेछन्‌। उमेर ढल्कँदै जाँदाको पीडा र मृत्यु भोग्नुपर्ने छैन। (उत्पत्ति १:२८; प्रकाश २१:४, ५) त्यतिबेला त्यहाँका कोही पनि ‘बासिन्दाले म बिरामी परें भन्‍नेछैन।’ (यशैया ३३:२४) बूढाबूढीहरू “आफ्नो युवावस्थामा” फर्कने छन्‌ र तिनीहरूको शरीर पनि “आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” (अय्यूब ३३:२५) तर त्यतिञ्जेल सबैले आदमबाट पाएको पापका असरहरूसित लड्‌नै पर्छ। तैपनि उमेर ढल्कँदै जाँदा यहोवाका सेवकहरू विशेष तरिकामा लाभान्वित हुन्छन्‌।

३. कुन तरिकामा परमेश्‍वरका विश्‍वासी सेवकहरूले ‘बुढेसकालमा पनि फल फलाउन सक्छन्‌’?

“परमप्रभुको घरमा रोपेकाहरू[ले] . . . बूढेसकालमा पनि फल फलाउँछन्‌” भनी परमेश्‍वरको वचनले हामीलाई आश्‍वासन दिन्छ। (भजन ९२:१३, १४) परमेश्‍वरका विश्‍वासी सेवकहरू वृद्धावस्थाको कारण शारीरिक तवरमा ओरालो लाग्न थाले तापनि आध्यात्मिक तवरमा उन्‍नति गर्दै, फल्दै-फुल्दै र समृद्ध हुँदै जान सक्ने महत्त्वपूर्ण कुरा भजनहारले लाक्षणिक भाषामा औंल्याइदिए। बाइबल समयका र अहिलेका थुप्रै उदाहरणले यसको प्रमाण दिन्छ।

कहिल्यै “छोडदैन थिइन्‌”

४. वृद्ध अगमवादिनी हन्‍नाले परमेश्‍वरप्रतिको भक्‍ति कसरी देखाइन्‌ र तिनले कस्तो इनाम पाइन्‌?

विश्‍वासी अगमवादिनी हन्‍नालाई लिनुहोस्‌। चौरासी वर्षको उमेरमा पनि तिनले कहिल्यै “मन्दिर छोडदैन थिइन्‌। तर उपवास र प्रार्थना गर्दै रात-दिन उपासना गर्दथिइन्‌।” तिनका बुबा गैर-लेवी ‘आशेर गोत्रको’ भएकोले तिनी मन्दिरमै बस्न त पाउँदैन थिइन्‌। दिनै पिच्छे बिहानको सेवादेखि साँझको सेवा नसकिन्जेल मन्दिरमै बसिरहन कत्ति प्रयास गर्नुपऱ्‍यो होला, कल्पना गर्नुहोस्‌ त! तर तिनले आफ्नो भक्‍तिको कारण प्रचुर इनाम पाइन्‌। यूसुफ र मरियमले शिशु येशूलाई व्यवस्थाअनुसार मन्दिरमा ल्याउँदा तिनी त्यहीं मन्दिरमै थिइन्‌। कस्तो सुअवसर! येशूलाई देखेपछि हन्‍नाले “परमेश्‍वरलाई धन्यवाद दिइन्‌, र यरूशलेमको मुक्‍तिको बाटो हेर्ने सबैलाई उहाँको विषयमा भनिन्‌।”—लूका २:२२-२४, ३६-३८; गन्ती १८:६, ७.

५, ६. आज थुप्रै वृद्ध भाइबहिनीहरूले कुन तरिकामा हन्‍नाको जस्तै मनोभाव देखाउँछन्‌?

सभाहरूमा नियमित उपस्थित हुने, साँचो उपासनाको उन्‍नतिको लागि हार्दिक अन्तरबिन्ती चढाउने र जोसका साथ सुसमाचार प्रचार गर्ने सन्दर्भमा आज हामीमाझ भएका थुप्रै वृद्ध भाइबहिनीहरू हन्‍ना जस्तै छन्‌। आफ्नी श्रीमतीसँगै सभाहरू नियमित धाउने ८० वर्ष नाघिसकेका एक जना भाइ भन्छन्‌: “हामीले सभाहरू जाने बानी नै बसालिसक्यौं। हामी अरू कतै जान चाहँदैनौं। परमेश्‍वरका जनहरू जहाँ छन्‌ हामी पनि त्यहीं हुन चाहन्छौं। त्यहीं नै हामीलाई आनन्द लाग्छ।” हामी सबैको लागि कस्तो प्रोत्साहनजनक उदाहरण!—हिब्रू १०:२४, २५.

“साँचो उपासनासित सम्बन्धित कुनै पनि कुरामा भाग लिन सक्ने रहेछु भने म सहभागी हुन चाहन्छु।” यो भनाइ ८० वर्ष पार गरिसकेकी विधवा बहिनी जीनको हो। तिनी भन्छिन्‌, “मेरो जीवनमा दुःखका क्षणहरू पक्कै छन्‌ तर म दुःखी भएँ भन्दैमा अरू पनि दुःखी हुनुपर्छ र?” प्रोत्साहनजनक आध्यात्मिक जमघटको लागि अरू देशहरूमा जाँदा बटुलेका रमाइला अनुभवहरू बताउँदा तिनको अनुहार नै चम्किलो हुन्छ। हालसालै त्यस्तै एउटा भ्रमणमा जाँदा तिनले आफ्नो साथीलाई यसो भनिन्‌, “मलाई रमणीय ठाउँहरू हेर्न पुग्यो, अब म प्रचारमा जान चाहन्छु!” जीनलाई त्यो ठाउँको भाषा नआए तापनि बाइबल सन्देशप्रति मानिसहरूको चासो जगाउन तिनी सफल भइन्‌। त्यति मात्र होइन, तिनले मदत चाहिएको एउटा मण्डलीमा धेरै वर्षसम्म सेवा गरिन्‌। यसको लागि तिनले नयाँ भाषा सिकिन्‌ र सभा हुने ठाउँसम्म पुग्न मात्र पनि तिनलाई एक घण्टा लाग्थ्यो।

दिमाग चुस्त राखिरहने

७. मोशाले बुढेसकालमा पनि यहोवासितको सम्बन्धलाई बढाउँदै लैजाने चाहना कसरी व्यक्‍त गरे?

उमेर सँगसँगै अनुभव पनि बढ्‌दै जान्छ। (अय्यूब १२:१२) तर आध्यात्मिकता चाहिं उमेर सँगसँगै बढ्‌ने कुरो होइन। त्यसैले परमेश्‍वरका वफादार सेवकहरू आफूले पहिले-पहिले बटुलेका ज्ञानमा मात्र भर पर्नुको सट्टा वर्षहरू बित्दै जाँदा ‘ज्ञान बढाउँदै’ लैजाने प्रयास गर्छन्‌। (हितोपदेश ९:९) यहोवाले मोशालाई फिरऊनकहाँ जान अह्राउनुहुँदा तिनी ८० वर्ष पुगिसकेका थिए। (प्रस्थान ७:७) तिनको समयका मानिसहरूको आयुलाई विचार गर्ने हो भने त्यो उमेरसम्म बाँच्नु असामान्य ठानिन्थ्यो। त्यसैकारण तिनले यस्तो लेखे: “हाम्रो आयु त सत्तरी वर्ष मात्र हो . . . बलले भ्यायो भने, असी पुग्ला।” (भजन ९०:१०, NRV) तैपनि सिक्नको लागि अब उमेरले दिंदैन भन्‍ने महसुस मोशाले कहिल्यै गरेनन्‌। लामो समयदेखि यहोवाको सेवा गर्दा थुप्रै सुअवसर र गहन जिम्मेवारीहरू पाएका मोशाले यहोवालाई यस्तो बिन्ती गरे: “मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, र म तपाईंलाई चिन्‍नसकूँ।” (प्रस्थान ३३:१३) यहोवासितको सम्बन्धमा बढ्‌दै जान मोशा सधैं इच्छुक थिए।

८. नब्बे वर्ष काटिसके तापनि दानियलले कसरी आफ्नो दिमागलाई चुस्त राखे र नतिजा कस्तो भयो?

सम्भवतः ९० वर्ष काटिसकेका अगमवक्‍ता दानियललाई अझै पनि पवित्र लेखोटहरूमा मनन गरिरहेको देख्न सकिन्थ्यो। तिनले ‘धर्मशास्त्रको’ अध्ययनबाट जे बुझे त्यसले गर्दा तिनी यहोवालाई व्यग्र प्रार्थना गरेर मदत माग्न प्रेरित भए। र ती ‘धर्मशास्त्र’ सम्भवतः लेवी, यशैया, यर्मिया, होशे र आमोसका पुस्तकहरू हुन सक्छन्‌। (दानियल ९:१, २) त्यस प्रार्थनाको जवाफमा तिनले मसीहको आगमन र साँचो उपासनाको भविष्यबारे प्रेरित जानकारीहरू पाए।—दानियल ९:२०-२७.

९, १०. आफ्नो दिमाग चुस्त राख्न कसै-कसैले के गरेका छन्‌?

मोशा र दाऊदले जस्तै हामीले पनि सकुन्जेल आध्यात्मिक कुराहरूमा ध्यान दिएर आफ्नो दिमागलाई चुस्त राख्न सक्छौं। अनि थुप्रैले त्यसै गरिरहेका छन्‌। असी वसन्त पार गरिसकेका प्राचीन भाइ वर्थ, “विश्‍वासी र बुद्धिमान दास[ले]” दिने ताजा जानकारीहरू हासिल गर्ने कोसिस गर्छन्‌। (मत्ती २४:४५) तिनी भन्छन्‌, “म सच्चाइको एकदमै मोल गर्छु र सत्यको ज्योति झन्‌ झनै चहकिलो भएको देख्दा रोमाञ्चित हुन्छु।” (हितोपदेश ४:१८) त्यसै गरी, पूर्ण-समय सेवकाईमा ६० वर्षभन्दा धेरै समय बिताइसकेका फ्रेडलाई चाहिं सँगी विश्‍वासीहरूसित बाइबलसम्बन्धी छलफल गर्नु एकदमै उत्प्रेरणादायी लाग्छ। तिनी भन्छन्‌, “म आफ्नो दिमागमा बाइबल जीवित राख्न चाहन्छु। बाइबललाई अर्थपूर्ण बनाउन सक्नुभयो र सिकेका कुराहरू ‘पक्का कुराहरूको नमुनामा’ ठ्याक्क मिलाउन सक्नुभयो भने आफूले पढेका जानकारीहरू दिमागमा भण्डार भएर मात्र बस्दैनन्‌। सिकेका प्रत्येक कुरा सही तरिकामा चम्किएको देख्न सक्नुहुन्छ।”—२ तिमोथी १:१३.

१० ढल्कँदो उमेरको कारण नयाँ र गाह्रा कुराहरू सिक्न सकिंदैन भन्‍ने त छैन। साठी, सत्तरी र असी वर्ष नाघिसकेकाहरूले समेत लेखपढ गर्न वा नयाँ भाषा सिकेका छन्‌। यहोवाका कोही-कोही साक्षीहरूले विभिन्‍न राष्ट्रका मानिसहरूलाई सुसमाचार सुनाउने हेतुले नयाँ भाषा सिकेका छन्‌। (मर्कूस १३:१०) ह्‍यारी र तिनकी पत्नीले पुर्तगाली भाषा बोल्नेहरूलाई मदत गर्ने निर्णय गर्दा तिनीहरू ७० वर्षको छेउछाउमा पुगिसकेका थिए। ह्‍यारी भन्छन्‌, “हो, म मानिलिन्छु कि उमेर चढ्‌दै गएपछि कुनै पनि काम गर्न सजिलो हुँदैन।” तैपनि प्रयास र लगनशीलताका कारण तिनीहरूले पुर्तगाली भाषामा बाइबल अध्ययनहरू सञ्चालन गर्न सके। ह्‍यारीले जिल्ला अधिवेशनहरूमा यस नयाँ भाषामा भाषण दिन थालेको पनि निकै वर्ष भइसक्यो।

११. वृद्धहरूले हासिल गरेका कुराहरू विचार गर्नुको कारण के हो?

११ हो, स्वास्थ्य वा अन्य विभिन्‍न परिस्थितिको कारण सबैले त्यस्ता चुनौतीहरू स्वीकार्न सक्दैनन्‌। त्यसोभए केही बूढाबूढीले हासिल गरेका कुराहरूबारे विचार गर्दा के फाइदा हुन्छ र? यी कुराहरूबारे विचार गर्नुको उद्देश्‍य सबैले त्यसै गर्नुपर्छ भन्‍नको लागि त होइन। बरु, प्रेरित पावलले मण्डलीका विश्‍वासी प्राचीनहरूबारे हिब्रू मसीहीहरूलाई कुन मनोभावले लेखे, त्यो विचार गर्न सक्छौं। तिनले भने, “तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखा-सिकि गर।” (हिब्रू १३:७) जोसका त्यस्ता उदाहरणहरूबारे विचार गर्दा हामी पनि तिनीहरूको बलियो विश्‍वास देखासिकी गर्न प्रोत्साहित हुन्छौं। यही विश्‍वासले ती वृद्ध भाइहरूलाई परमेश्‍वरको सेवामा लागिरहन उत्प्रेरित गर्छ। अहिले ८७ वर्ष पुगिसकेका ह्‍यारी आफूलाई कुन कुराले उत्प्रेरित गर्छ भनी बताउँदै यसो भन्छन्‌: “म आफ्नो बाँकी दिनहरू यहोवाको सेवामा सक्दो गरेर बुद्धिमानीपूर्वक बिताउन चाहन्छु।” अगाडि पनि उल्लेख गरिएका फ्रेड आफूले बेथेलमा पाएको जिम्मेवारीप्रति धेरै सन्तुष्ट छन्‌। तिनी भन्छन्‌, “यहोवाको सेवा यथासक्दो कसरी गर्न सकिन्छ भनेर पहिला पत्ता लगाउनुपर्छ अनि त्यसैअनुसार गरिरहनुपर्छ।”

बद्‌लँदो परिस्थितिको बावजुद समर्पित

१२, १३. आफ्नो बद्‌लँदो परिस्थितिको वाबजुद बर्जिलाइले कसरी ईश्‍वरीय भक्‍ति देखाए?

१२ शारीरिक अवस्थामा भएका परिवर्तनहरू स्वीकार्न सजिलो नहुन सक्छ। तैपनि, त्यस्ता परिवर्तनहरूको बावजुद ईश्‍वरीय भक्‍ति देखाउन सकिन्छ। यस सन्दर्भमा गिलादी बर्जिलाइ एउटा गतिलो उदाहरण हुन्‌। अब्शालोमले विद्रोह गरेको समयमा दाऊद र तिनका सेनालाई बास र गाँसको प्रबन्ध गरेर ८० वर्ष पुगिसकेका बर्जिलाइले विशेष आतिथ्य देखाए। दाऊद यरूशलेम फर्कंदा तिनी र तिनका सेनालाई पुऱ्‍याउन भनी बर्जिलाइ यर्दन नदीसम्मै गए। दाऊदले बर्जिलाइलाई आफूसँगै आएर राजकीय सदस्य हुन आग्रह गरे। बर्जिलाइले के गरे? “म अस्सी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्‍नसक्‍तिनँ। . . . यहाँ मेरो छोरा किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्‌, औ हजूरलाई जे असल लाग्छ त्यससँग गर्नुहोस्‌।”—२ शमूएल १७:२७-२९; १९:३१-४०.

१३ बद्‌लँदो परिस्थितिको बावजुद बर्जिलाइले यहोवाद्वारा नियुक्‍त राजालाई सक्दो सहयोग गरे। खाँदा पहिला जस्तो स्वाद थाह नपाउने र राम्ररी सुन्‍न नसक्ने कुरा तिनले स्वीकारे तापनि तिनी दुःखी भने भएनन्‌। बरु आफ्नो सट्टा सबै कुरा किमहामले पाओस्‌ भनेर बर्जिलाइले निस्वार्थ भाव देखाए र यसबाट आफू कस्तो प्रकारको व्यक्‍ति हो भनी तिनले देखाए। बर्जिलाइले जस्तै आज पनि थुप्रै वृद्ध भाइबहिनीहरूले निस्वार्थ भाव र उदारता देखाउँछन्‌। यस्ता “बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ” भनी थाह भएकोले तिनीहरू साँचो उपासनाको लागि यथासम्भव गर्छन्‌। त्यस्ता व्यक्‍तिहरू हामी माझ हुनु कस्तो आशिष्‌को कुरा हो!—हिब्रू १३:१६.

१४. भजन ३७:२३-२५ मा लिपिबद्ध शब्दहरूलाई दाऊदको उमेरले कसरी अझ अर्थपूर्ण बनाइदिन्छ?

१४ वर्षौंको दौडान दाऊदको परिस्थितिमा निकै परिवर्तनहरू आए तापनि यहोवाले आफ्ना वफादार सेवकहरूको सधैं ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त भइरहे। दाऊदले आफ्नो जीवनको अन्ततिर एउटा भजन रचना गरे जसलाई आज हामी भजन ३७ को रूपमा चिन्छौं। गहिरो सोचमा डुबेर वीणा बजाउँदै दाऊदले यी शब्दहरू गाएको कल्पना गर्नुहोस्‌: “सज्जनका पाइला परमप्रभुबाटै स्थिर रहन्छ। र उहाँ तिनको मार्गमा प्रसन्‍न हुनुहुन्छ। तिनी लडिहाल्यो भने लोटिएरै रहँदैनन्‌। किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ। जवान थिएँ, र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।” (भजन ३७:२३-२५) यस प्रेरित भजनमा दाऊद बूढो भइसकेको संकेत गर्नु यहोवाले उचित ठान्‍नुभयो। यसले यी हृदयस्पर्शी शब्दहरूमा कत्ति गहिरो भाव थपिदिएको छ!

१५. बद्‌लँदो परिस्थिति र बुढ्यौलीको बावजुद प्रेरित यूहन्‍नाले कसरी असल उदाहरण बसाले?

१५ बद्‌लँदो परिस्थिति र बुढ्यौलीको बावजुद विश्‍वासी रहेका अर्को असल उदाहरण प्रेरित यूहन्‍ना हुन्‌। झन्डै ७० वर्ष परमेश्‍वरको सेवा गरिसकेका यूहन्‍नालाई “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षी” दिएको कारण पत्मोस नाउँको टापूमा निर्वासित गरिएको थियो। (प्रकाश १:९) अझै पनि तिनले गर्नुपर्ने काम बाँकी थियो। वास्तवमा, यूहन्‍नाले बाइबलमा जति पनि पुस्तकहरू लेखे ती सबै तिनले आफ्नो जीवनको अन्ततिर लेखेका थिए। पत्मोसमा हुँदा तिनले प्रकाशको रोमाञ्चकारी दर्शन पाए जुन तिनले होसियारी साथ लेखे। (प्रकाश १:१, २) रोमी सम्राट नर्भाको शासनकालमा तिनलाई निर्वासनबाट रिहा गरिएको अनुमान लगाइन्छ। अनि इस्वी संवत्‌ ९८ तिर तिनी ९० वा १०० वर्षको हुँदा तिनले सुसमाचारको पुस्तक र तीन वटा पत्रहरू लेखे। ती पत्रहरूको नाम तिनकै नाउँमा छन्‌।

धैर्यताको कहिल्यै नमेटिने उदाहरण

१६. बोल्न नसक्ने भएकाहरूले पनि कसरी यहोवाप्रति भक्‍ति देखाउन सक्छन्‌?

१६ विभिन्‍न अवस्थाले गर्दा आफूले गर्न सक्ने कुराहरू सीमित हुन सक्छन्‌। ती सीमितताहरू थुप्रै प्रकारका र विभिन्‍न हदका हुन्छन्‌। उदाहरणका लागि, कोही-कोही त बोल्न पनि नसक्ने हुन्छन्‌। तैपनि तिनीहरू परमेश्‍वरको प्रेम र उहाँका दयालु कार्यहरूको सम्झना गर्नुका साथै त्यसको मोल गर्छन्‌। मुखले व्यक्‍त गर्न नसके तापनि तिनीहरूले मनमनै यहोवालाई यसो भनिरहेका हुन्छन्‌: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन ११९:९७) यहोवाले पनि “उहाँको नाउँको सोच गर्ने[हरूलाई]” चिन्‍नुहुन्छ र उहाँका तौरतरिकाहरूलाई बेवास्ता गर्ने अरू थुप्रै मानिसहरूभन्दा कत्ति फरक छन्‌ भनेर तिनीहरूको मोल गर्नुहुन्छ। (मलाकी ३:१६; भजन १०:४) हामीले हृदयदेखि ध्यान दिंदा उहाँ प्रसन्‍न हुनुहुन्छ भनी थाह पाउनु कत्ति सान्त्वनादायी छ!—१ इतिहास २८:९; भजन १९:१४.

१७. लामो समयदेखि यहोवाको सेवा गर्दै आएका सेवकहरूले एउटा साँच्चै विशेष कुरा पाएका छन्‌, त्यो के हो?

१७ लामो समयदेखि विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दै आएकाहरूले पाएको एउटा एकदमै विशेष कुरालाई बेवास्ता गर्न मिल्दैन। त्यो हो, कहिल्यै नमेटिने धैर्यताको उदाहरण। यो अरू कुनै पनि तरिकामा पाउन सकिंदैन। येशूले यसो भन्‍नुभयो: “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।” (लूका २१:१९) अनन्त जीवन पाउन धैर्यता अत्यावश्‍यक छ। ज-जसले “परमेश्‍वरको इच्छा पालन” गरेका छन्‌ र आफ्नो जीवनद्वारा वफादारिताको प्रमाण दिएका छन्‌ तिनीहरूले “प्रतिज्ञाको फल” पाउने आशा गर्न सक्छन्‌।—हिब्रू १०:३६.

१८. (क) वृद्धहरूको सन्दर्भमा यहोवा कुन कुरामा प्रसन्‍न हुनुहुन्छ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१८ तपाईंले यहोवाको सेवामा धेरथोर जे-जति गर्न सक्नु भए तापनि उहाँले तनमनको सेवाको मोल गर्नुहुन्छ। बुढेसकालले छोएपछि “बाहिरी मनुष्यत्व” जस्तोसुकै भए तापनि “भित्री मनुष्यत्व” चाहिं दिनदिनै ताजगी पार्न सकिन्छ। (२ कोरिन्थी ४:१६) तपाईंले पहिला-पहिला जे-जति गर्नुभएको छ त्यसको यहोवा अवश्‍यै मोल गर्नुहुन्छ। तर यो कुरा पनि स्पष्ट छ कि तपाईंले उहाँको नाउँको खातिर अहिले जे-जति गरिरहनुभएको छ त्यसको पनि उहाँ मोल गर्नुहुन्छ। (हिब्रू ६:१०) यसपछिको लेखमा हामी यस्तो विश्‍वासले पछिसम्म पार्ने प्रभावहरूबारे छलफल गर्नेछौं। (w 07 6/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• वृद्ध भइसकेका आजका विश्‍वासी सेवकहरूको लागि हन्‍नाले कसरी एउटा राम्रो उदाहरण बसालिन्‌?

• आफूले सक्ने जत्ति गर्न उमेर एउटा छेकबार होइन, किन?

• वृद्धहरूले कसरी ईश्‍वरीय भक्‍ति देखाइरहन सक्छन्‌?

• वृद्धहरूले चढाएको सेवालाई यहोवा कसरी हेर्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

यहूदामा कतिञ्जेल निर्वासनमा बस्नुपर्छ भनी वृद्ध दानियलले ‘धर्मशास्त्रबाट’ थाह पाए

[पृष्ठ २५-मा भएका चित्रहरू]

सभामा उपस्थिति हुने, जोसका साथ प्रचार गर्ने र सिक्न इच्छुकता देखाउने जस्ता कुरामा थुप्रै वृद्धहरू उदाहरणीय छन्‌