सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इजकिएलको पुस्तकका विशेषताहरू—भाग १

इजकिएलको पुस्तकका विशेषताहरू—भाग १

यहोवाको वचन जीवित छ

इजकिएलको पुस्तकका विशेषताहरू—भाग १

ईसापूर्व ६१३ को कुरा हो। अगमवक्‍ता यर्मिया यहूदामा छन्‌ र तिनले निडरता साथ आउनै लागेको यरूशलेमको विनाश र यहूदाको भूमि उजाड हुनेबारे घोषणा गर्दैछन्‌। बेबिलोनका राजा नबूकदनेसरले थुप्रै यहूदीहरूलाई कैदी बनाएर लगिसकेका छन्‌। जवान दानियल र तिनका तीन जना साथीलाई पनि कैदी बनाएर लगिएको छ र तिनीहरू कल्दीहरूको दरबारमा सेवा गर्दैछन्‌। कैदमा लगिएका अधिकांश यहूदीहरू कबार नदीको किनारमा छन्‌ जुन “कल्दीहरूको देशमा” पर्छ। (इजकिएल १:१-३) यहोवाले ती कैदीहरूलाई सन्देशवाहक दिन छोड्‌नुहुन्‍न। उहाँले ३० वर्षीय इजकिएललाई अगमवक्‍ता नियुक्‍त गर्नुहुन्छ।

ईसापूर्व ५९१ मा लेख्न सकिएको इजकिएलको पुस्तकले २२ वर्षको अवधि ढाक्छ। इजकिएल लेख्ने काममा एकदमै होसियार छन्‌। तिनले आफूले गरेका भविष्यवाणीहरूको वर्ष मात्र होइन तर महिना र दिन समेत तोकेका छन्‌। इजकिएलको सन्देशको पहिलो भाग यरूशलेमको पतन र विनाशमा केन्द्रित छ। दोस्रो भागमा छिमेकी राष्ट्रहरू विरुद्ध गरिएका ईश्‍वरवाणीहरू छन्‌ भने अन्तिम भाग चाहिं यहोवाको उपासनाको पुनर्स्थापनासित सम्बन्धित छ। यस लेखमा इजकिएल १:१–२४:२७ का विशेषताहरू छलफल गरिएको छ जसमा यरूशलेममाथि आइपर्ने घटनासम्बन्धी दर्शन, भविष्यवाणी र अभिनय पर्छन्‌।

“मैले तँलाई . . . प्रहरी तुल्याएको छु”

(इजकिएल १:१–१९:१४)

यहोवाको सिंहासनको विस्मयकारी दर्शन देखेपछि इजकिएललाई तिनले गर्नुपर्ने कामबारे बताइन्छ। यहोवा तिनलाई यसो भन्‍नुहुन्छ: “मैले तँलाई इस्राएलको घरानाको प्रहरी तुल्याएको छु। जब जब तैंले मेरो मुखबाट केही कुरा सुन्छस्‌ तब तब तिनीहरूलाई मतर्फबाट त्यो चेताउनी तैंले दिनू।” (इजकिएल ३:१७) यरूशलेमलाई घेरा हालिने र यसका नतिजाहरूबारे भविष्यवाणी गर्न इजकिएललाई दुइटा मूक-अभिनय गर्न भनिन्छ। यहूदाको भूमिलाई संकेत गर्दै यहोवा इजकिएल मार्फत यसो भन्‍नुहुन्छ: “हेर, म, मनै तिमीहरूमाथि तरवार चलाउनेछु, र म तिमीहरूका उच्च स्थानहरूलाई नष्ट पार्नेछु।” (इजकिएल ६:३) त्यहाँका बासिन्दाहरूलाई चाहिं इजकिएल यसो भन्छन्‌: “तेरो सर्वनाश आएको छ।”—इजकिएल ७:७.

ईसापूर्व ६१२ मा इजकिएललाई एउटा दर्शनले यरूशलेम पुऱ्‍याउँछ। तिनले परमेश्‍वरको मन्दिरमा एकदमै घिनलाग्दा कुराहरू भइरहेका देख्छन्‌। यहोवाले धर्मत्यागीहरूमाथि आफ्नो रीस पोखाउन स्वर्गीय न्यायदण्ड ल्याउने शक्‍ति (‘छ जना मानिसहरूले’ चित्रण गरेको) पठाउनुहुँदा ‘निधारमा चिन्ह भएकाहरू’ मात्र बच्ने छन्‌। (इजकिएल ९:२-६) तर सबैभन्दा पहिला, “आगोको भुंग्रो” अर्थात्‌ विनाशबारे परमेश्‍वरको डरलाग्दो सन्देश त्यो सहरमाथि छर्नु पर्नेथियो। (इजकिएल १०:२) ‘घिनलाग्दा कामहरूका पछि लाग्नेहरूलाई यहोवाले तिनीहरूका कामको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनुहुने’ भए तापनि इस्राएलका तितरबितर भएकाहरूलाई चाहिं फेरि जम्मा गर्ने प्रतिज्ञा उहाँ गर्नुहुन्छ।—इजकिएल ११:१७-२१.

परमेश्‍वरको आत्माले इजकिएललाई फेरि कल्दीहरूकै देशमा ल्याइ पुऱ्‍याउँछ। अभिनयमा राजा सिदकियाह र त्यहाँका मानिसहरू यरूशलेमबाट भागेको देखाइन्छ। झूटा अगमवक्‍ता र अगमवादिनीहरूको निन्दा गरिन्छ। मूर्तिपूजकहरूलाई तिरस्कार गरिन्छ। यहूदालाई बेकामको दाखको बोटसित तुलना गरिन्छ। यरूशलेमले मदतको लागि मिश्रलाई पुकार्दा भोगेको नमिठा नतिजाहरू चील र दाखको बोटको दृष्टान्तले चित्रण गर्छ। त्यस दृष्टान्तको अन्तमा ‘यहोवाले एउटा कमलो हाँगा चाहिं लिएर एउटा उच्च डाँडामा रोप्ने’ कुरा प्रतिज्ञा गरिएको छ। (इजकिएल १७:२२) तर यहूदामा चाहिं “शासकको राजदण्ड” हुनेछैन।—इजकिएल १९:१४.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:४-२८—स्वर्गीय रथले के चित्रण गर्छ? रथले विश्‍वासी आत्मिक प्राणीहरू मिलेर बनेको यहोवाको स्वर्गीय संगठनको प्रतिनिधित्व गर्छ। यसको शक्‍तिको स्रोत यहोवाको पवित्र आत्मा हो। रथमा सवार व्यक्‍ति जसले यहोवाको प्रतिनिधित्व गर्छ, उहाँको गौरव वर्णन नै गर्न नसकिने छ। उहाँको सौम्यता चाहिं सुन्दर इन्द्रेनीद्वारा चित्रण गरिएको छ।

१:५-११—चार जीवित प्राणीहरू को हुन्‌? इजकिएलले देखेको रथको दोस्रो दर्शनमा चार जीवित प्राणी करूबहरू हुन्‌ भनी तिनले बताएका छन्‌। (इजकिएल १०:१-११; ११:२२) पछि तिनले गोरूको जस्तो अनुहार भएकोलाई ‘करूबको मोहोडा’ भनेका छन्‌। (इजकिएल १०:१४) यसो भन्‍नु उपयुक्‍त छ किनभने गोरू शक्‍ति र बलको प्रतीक हो र करूबहरू शक्‍तिशाली आत्मिक प्राणीहरू हुन्‌।

२:६, NRV—इजकिएललाई किन पटक-पटक “मानिसको छोरो” भनिएको छ? यहोवाले इजकिएललाई मानिसको छोरो भनी बोलाउनुको कारण तिनी छाला र रगतले बनिएका मानिस हुन्‌ भनी तिनलाई सम्झाउनु थियो। यसले मानव सन्देशवाहक र सन्देशको स्रोत परमेश्‍वरबीचको ठूलो भिन्‍नतालाई अझ छर्लंगै बनाइदियो। सुसमाचारका पुस्तकहरूमा येशू ख्रीष्टलाई पनि झन्डै ८० चोटि मानिसको छोरो भनी सम्बोधन गरिएको छ र यसबाट परमेश्‍वरका पुत्र पृथ्वीमा कुनै अवतार फेरेर अर्थात्‌ मानव रूप धारण गरेका आत्मिक व्यक्‍तिको रूपमा होइन तर मानिस नै बनेर आउनुभएको थियो भनी स्पष्ट हुन्छ।

२:९–३:३—शोक र दुःखले भरिएको पुस्तक किन इजकिएललाई महझैं मीठो भयो? इजकिएललाई त्यो पुस्तक महझैं मीठो हुनुको कारण आफूले पाएको कामप्रति तिनको मनोवृत्ति थियो। अगमवक्‍ताको रूपमा यहोवाको सेवा गर्न पाएकोमा इजकिएल कृतज्ञ थिए।

४:१-१७—यरूशलेम घेराउमा पर्नै लागेको कुरा के इजकिएलले साँच्चै अभिनय गरेर देखाएका थिए? खाना पकाउनको लागि अर्कै इन्धन चलाउन इजकिएलले गरेको बिन्ती र यहोवाले तिनको बिन्ती स्वीकार्नुभएको हेर्दा त तिनले साँच्चै अभिनय गरेर देखाए जस्तो देखिन्छ। देब्रेतिर कोल्टे परेर सुत्नुले दस गोत्रे राज्यले ३९० वर्षसम्म गरेको गल्तीलाई चित्रण गर्थ्यो जुन ईसापूर्व ९९७ मा सुरु भएर ईसापूर्व ६०७ मा यरूशलेमको विनाश भएसम्म चलिरह्‍यो। दायाँतिर कोल्टे परेर सुत्नुले चाहिं ४० वर्षसम्म यहूदाले गरेको पापलाई चित्रण गर्थ्यो। यो ४० वर्षले यर्मिया ईसापूर्व ६४७ मा अगमवक्‍ता नियुक्‍त भएदेखि ईसापूर्व ६०७ सम्मको समयलाई ढाक्छ। यस ४३० दिनको अवधिभरि नै इजकिएल थोरै खाना र पानीको भरमा बाँचे र यसले यरूशलेम घेराउमा पर्दा त्यहाँ हुने अनिकाललाई भविष्यसूचक ढंगमा चित्रण गरिरहेको थियो।

५:१-३—इजकिएलले हावामा उडाउनुपर्ने कपालबाट केही लिएर वस्त्रको किनारमा बाँधेर राख्नुको अर्थ के थियो? यसको अर्थ, बाँकी रहेका यहूदीहरू यहूदा फर्कने छन्‌ र यहूदालाई उजाड छोडिएको ७० वर्षपछि उनीहरू फेरि साँचो उपासनामा लाग्नेछन्‌ भनी देखाउनु थियो।—इजकिएल ११:१७-२०.

१७:१-२४—दुइटा ठूला चील के हुन्‌, देवदारको भर्खर पलाएको हाँगाहरू कसरी भाँचिन्छ र यहोवाले रोप्नुभएको ‘कमलो’ हाँगा चाहिं को हो? दुइटा चीलले बेबिलोन र मिश्रका शासकहरूलाई चित्रित गर्छन्‌। पहिलो चील देवदारको रूखमाथि अर्थात्‌ दाऊदको राजकीय वंशबाट आउने शासकमाथि बस्छ। यहूदाका राजा यहोयाकीनको सट्टा सिदकियाहलाई राजा बनाएर यस चीलले भर्खर पलाएको हाँगाको टुप्पो भाँच्छ। वफादारिताको करार बाँधेको भए तापनि सिदकियाहले अर्को चील अर्थात्‌ मिश्रको शासकसित मदत माग्छन्‌। तर सफल हुँदैनन्‌। तिनलाई कैदी बनाएर बेबिलोनमा लगिन्छ र तिनी त्यहीं मर्नु पर्नेछ। यहोवाले मसीही राजा अर्थात्‌ ‘कमलो’ हाँगा पनि भाँच्नुहुन्छ। यस हाँगालाई “अल्गो र उच्च डाँडा” अर्थात्‌ स्वर्गीय सियोन डाँडामा रोपिन्छ जहाँ उहाँ पृथ्वीको लागि साँचो आशिष्‌को स्रोत “असल देवदार” हुनुहुनेछ।—प्रकाश १४:१.

हाम्रो लागि पाठ:

२:६-८; ३:८, ९, १८-२१. हामी दुष्टहरू देखेर न तर्सिनुपर्छ नता परमेश्‍वरको सन्देश घोषणा गर्नदेखि पछि नै हट्‌नु। परमेश्‍वरको सन्देश सुनाउनुमा तिनीहरूलाई चेतावनी दिनु पनि समावेश छ। भावशून्यता वा विरोधको सामना गर्नुपर्दा हामी कडा पत्थर जस्तो अटल हुनुपर्छ। तर कठोर, अरूको भावनाको ख्याल नराख्ने वा रूखो हुनदेखि हामी होसियार हुनुपर्छ। आफूले सुसमाचार सुनाएका मानिसहरू देखेर येशूको मन दयाले भरियो। त्यसै गरी हामी पनि दयाले गर्दा अरूलाई प्रचार गर्न उत्प्रेरित हुनुपर्छ।—मत्ती ९:३६.

३:१५. आफूले गर्नुपर्ने काम थाह पाएपछि इजकिएल तेलाबीबमा ‘सात दिनसम्म लट्टिएर’ आफूले सुनाउनुपर्ने सन्देशमा घोरिंदै बसिरहे। के हामीले पनि बाइबलका गहिरा-गहिरा कुराहरू बुझ्न ध्यान दिएर अध्ययन र मनन गर्नुपर्दैन र?

४:१–५:४. दुई भविष्यसूचक मूकअभिनय गर्न इजकिएललाई नम्रता र साहसको खाँचो परेको थियो। परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न हामी पनि नम्र र साहसी हुनुपर्छ।

७:४, ९; ८:१८; ९:५, १०. परमेश्‍वरको न्यायदण्ड भोग्नेहरू देखेर हामी टिठाउनु वा दयाले भरिनु पर्दैन।

७:१९. यहोवाले यस रीतिरिवाजमाथि आफ्नो न्यायदण्ड ल्याउनुहुँदा पैसा बेकामको हुनेछ।

८:५-१८. धर्मत्यागले परमेश्‍वरसितको सम्बन्धलाई खतम पार्छ। “ईश्‍वरहीन [“धर्मत्यागी,” NW] मानिस आफ्नो वचनले अरूहरूलाई नाश गर्न चेष्टा गर्छ।” (हितोपदेश ११:९) धर्मत्यागीहरूको कुरा सुन्‍नु त परै जाओस्‌, त्यस्तो सोच मात्र पनि आउन दिनु हुँदैन।

९:३-६. “महा संकष्ट[बाट]” बच्न निधारमा चिह्न लगाएको हुनै पर्छ। यसको मतलब, हामीले आफू परमेश्‍वरको समर्पित, बप्तिस्माप्राप्त सेवक भएको र मसीही व्यक्‍तित्वले परिपूर्ण भएको देखाउनु अत्यावश्‍यक छ। (मत्ती २४:२१) मसीदानी भिरेको मानिसले प्रतिनिधित्व गर्ने अभिषिक्‍त मसीहीहरूले चिह्न लगाउने काम अर्थात्‌ राज्य प्रचार र शिक्षण कार्यमा अगुवाइ लिइरहेका छन्‌। त्यो चिह्न हटाउन चाहँदैनौं भने हामीले जोसका साथ यस काममा तिनीहरूलाई मदत गर्नुपर्छ।

१२:२६-२८. तिनको सन्देश सुनेर गिल्ला गर्नेहरूलाई समेत इजकिएलले यस्तो भन्‍नुपर्ने थियो: “[यहोवाको] कुनै पनि वचन पूरा हुन अब ढिलो हुनेछैन।” यहोवाले यस रीतिरिवाजको विनाश गर्नुअघि अरूलाई पनि उहाँमा भरोसा राख्न मदत गर्न हामीले सक्दो गर्नै पर्छ।

१४:१२-२३. उद्धार पाउने कुरा हामी आफैमा निर्भर छ। अरू कसैले हाम्रो लागि गरिदिन सक्दैन।—रोमी १४:१२.

१८:१-२९. आफ्ना कार्यले गर्दा आइपर्ने नतिजाहरूका लागि हामी आफै जिम्मेवार छौं।

“उजाड, उजाड! म त्यसलाई उजाड पार्नेछु”

(इजकिएल २०:१–२४:२७)

कैदी जीवन बिताइरहेको सातौं वर्षमा अर्थात्‌ ईसापूर्व ६११ मा इस्राएलका बूढा-प्रधानहरू “परमप्रभुसित सोधपूछ गर्नलाई” इजकिएलकहाँ आउँछन्‌। तिनीहरूले इस्राएलको विद्रोहको लामो इतिहासका साथै तिनीहरूमाथि ‘यहोवाले तरवार’ चलाउनुहुने चेतावनीबारे सुन्छन्‌। (इजकिएल २०:१; २१:३) इस्राएलको शासकलाई (सिदकियाह) यहोवा यसो भन्‍नुहुन्छ: “पगरी हटा र शिरपेच उतारिदे। अबदेखि त्यसो अघिजस्तो केही रहनेछैन। जो होचो छ त्यसलाई उँचा बना, र जो उँचा छ त्यसलाई होचो बना। उजाड, उजाड! म त्यसलाई उजाड पार्नेछु। जसको [येशू ख्रीष्टको] त्यसमाथि अधिकार छ, औ जसलाईनै म यो सुम्पिनेछु, उ नआइपुगुञ्जेल त्यसको नाउँ निशानै रहनेछैन।”—इजकिएल २१:२६, २७.

यरूशलेममाथि गलत कार्यको दोष लागेको छ। ओहोला (इस्राएल) र ओहोलीबाको (यहूदा) दोष उदांग पारिन्छ। ओहोलालाई “त्यसका प्रेमी, अश्‍शूरहरूका हातमा” सुम्पिइसकेको छ “जुनसँग त्यो मोहित भएकी थिई।” (इजकिएल २३:९) ओहोलीबा पनि अब चाँडै उजाड हुनेछ। यरूशलेमलाई १८ महिनासम्म घेरा हाल्ने काम ईसापूर्व ६०९ मा सुरु हुन्छ। अन्ततः सहरको विनाश हुँदा यहूदीहरू यस्तो स्तब्ध हुनेछन्‌ कि तिनीहरू आफ्नो दुःख पोखाउनै नसक्ने हुनेछन्‌। सहरको विनाशबारे त्यहाँबाट ‘भागेर आउनेबाट’ रिपोर्ट नसुनेसम्म इजकिएलले परमेश्‍वरको सन्देश निर्वासित जीवन बिताइरहेकाहरूलाई सुनाउनु हुँदैनथ्यो।—इजकिएल २४:२६, २७.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

२१:३—यहोवाले म्यानबाट थुतेर निकाल्नुहुने “तरवार” के हो? यरूशलेम र यहूदामाथि न्यायदण्ड ल्याउन यहोवाले चलाउनुहुने “तरवार” बेबिलोनी राजा नबूकदनेसर र उनका सिपाहीहरू साबित हुन्छन्‌। यसमा शक्‍तिशाली आत्मिक प्राणीहरू मिलेर बनेको यहोवाको स्वर्गीय संगठन पनि समावेश भएको हुन सक्छ।

२४:६-१४—भाँडामा लागेको खियाले केको प्रतिनिधित्व गर्छ? घेराउमा परेको यरूशलेमलाई ठूलो मुख भएको भाँडोसित तुलना गरिएको छ। यसमा लागेको खियाले सहरमा फैलिएको अशुद्धपना, घोर छाडापन र त्यसले बगाएको रगतलाई देखाउँछ। यो यतिबिघ्न अशुद्ध भएकी छ कि आगोमा रित्तो भाँडो बेस्सरी तताउँदा पनि यसको खिया हटाउन सकिंदैन।

हाम्रो लागि पाठ:

२०:१, ४९. इस्राएलका बूढा-प्रधानहरूको प्रतिक्रियाबाट तिनीहरूले इजकिएलको कुरालाई शंकाको दृष्टिले हेरेका थिए भनी स्पष्ट हुन्छ। परमेश्‍वरको चेतावनीलाई हामी चाहिं कहिल्यै पनि शंकाको दृष्टिले नहेरौं।

२१:१८-२२. नबूकदनेसरले जोखाना हेराए तापनि यी गैर-यहूदी राजालाई यरूशलेम विरुद्ध खडा हुन पक्कापक्की गरिदिने त यहोवा नै हुनुहुन्थ्यो। यसले के देखाउँछ भने, यहोवाको उद्देश्‍य पूरा गर्नदेखि प्रेतहरूले समेत उहाँको न्याय कार्यान्वयन गर्ने व्यक्‍तिहरूलाई रोक्न सक्दैनन्‌।

२२:६-१६. यहोवा निन्दा, घोर छाडापन, शक्‍तिको दुरुपयोग र घूस लिने जस्ता कार्यहरूदेखि घिनाउनुहुन्छ। त्यस्ता गलत कार्यहरूदेखि अलग रहन हामी दृढ हुनुपर्छ।

२३:५-४९. राजनैतिक साँठगाँठको कारण इस्राएल र यहूदाले आफ्ना मित्र राष्ट्रहरूको झूटा उपासना ग्रहण गरे। हाम्रो विश्‍वासलाई नै खतम पार्ने गरी संसारसित सम्बन्ध गाँस्नदेखि हामी होसियार होऔं।—याकूब ४:४.

जीवित र प्रबल सन्देश

इजकिएलको पुस्तकको पहिलो २४ वटा अध्यायबाट हामी कत्ति राम्रा पाठहरू सिक्न सक्छौं! ती अध्यायहरूमा पाइने सिद्धान्तहरूबाट के गर्दा यहोवाको निगाह गुमाइन्छ, के गर्दा उहाँको कृपा पाउन सकिन्छ र हामीले दुष्टहरूलाई किन चेतावनी सुनाउनुपर्छ भनी थाह पाउन सक्छौं। यरूशलेमको विनाशसन्बन्धी भविष्यवाणीबाट यहोवाले ‘आफ्ना जनहरूलाई नयाँ कुराहरू हुनुभन्दा अघिनै ती बताउनुहुन्छ’ भनी स्पष्ट हुन्छ।—यशैया ४२:९.

इजकिएल १७:२२-२४ र २१:२६, २७ जस्ता भविष्यवाणीहरूले स्वर्गमा मसीही राज्य स्थापना हुने कुरालाई औंल्यायो। चाँडै त्यस राज्य-शासनले यस पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ। (मत्ती ६:९, १०) बलियो विश्‍वास र भरोसा लिई हामी त्यस राज्यले ल्याउने आशिष्‌हरूको प्रतीक्षा गर्न सक्छौं। हो, “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२. (w 07 7/1)

[पृष्ठ १२-मा भएको चित्र]

स्वर्गीय रथले केलाई चित्रण गर्छ?

[पृष्ठ १४-मा भएको चित्र]

प्रचारकार्यमा जोसका साथ भाग लिंदा हामीले निधारमा लगाएको “चिन्ह” नहटाउन मदत पाउँछौं