सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“कसैलाई खराबको बदला खराब नगर”

“कसैलाई खराबको बदला खराब नगर”

“कसैलाई खराबको बदला खराब नगर”

“कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसको सामने आदरणीय छ, त्यसमा ध्यान देओ।”—रोमी १२:१७.

१. कस्तो खालको व्यवहार असामान्य होइन?

 कोही बच्चालाई उसको साथीले घचेटेमा, बदलामा अक्सर उसले पनि घचेट्‌छ। दुःखको कुरा, जस्तालाई त्यस्तै गर्ने यस्तो व्यवहार बालबालिकाहरू माझ मात्र सीमित छैन। उमेर पुगेकाहरू पनि त्यस्तै व्यवहार देखाउँछन्‌। कसैले आफूलाई नराम्रो गरेमा तिनीहरू त्यसको साटो फेर्न चाहन्छन्‌। हो, तिनीहरू एकअर्कासित साँच्ची नै घचेटा-घचेट त गर्दैनन्‌। तर घुमाउरो पाराले बदला लिन्छन्‌। सायद आफूलाई नराम्रो गर्ने व्यक्‍तिको कुरा काट्‌दै हिंड्‌छन वा अनेक जुक्‍ति अपनाएर तिनको खुट्टा तान्छन्‌। तरिका फरक-फरक भए पनि ध्येय त एउटै हुन्छ—साटो फेर्नु अथवा बदला लिनु।

२. (क) साँचो मसीहीहरू बदला लिने चाहनाको प्रतिरोध किन गर्छन्‌? (ख) कुन प्रश्‍नहरू र कुन बाइबल अध्याय हामी विचार गर्नेछौं?

साटो फेर्ने चाहनाले मानिसको मनमा गहिरो जरा गाढेर बसेको हुन्छ। तैपनि, साँचो मसीहीहरू त्यसको फन्दामा नपर्न त्यसको प्रतिरोध गर्छन्‌। बरु, तिनीहरू प्रेरित पावलको यो सल्लाह पालन गर्ने प्रयास गर्छन्‌: “कसैलाई खराबको बदला खराब नगर।” (रोमी १२:१७) यो उच्च स्तरअनुसार जीवन बिताउन केले हामीलाई उत्प्रेरित गर्नेछ? हामीले विशेष गरी कसलाई खराबको बदला खराब गर्नु हुँदैन? साटो फेर्नदेखि अलग रह्‍यौं भने के-कस्ता फाइदाहरू हुनेछन्‌? यी प्रश्‍नको जवाफ पाउन पावलका शब्दहरूको प्रसंगलाई केलाऔं अनि बदला लिनदेखि अलग रहनु भनेको हामीले पछ्याउनुपर्ने सही, मायालु र विनम्र मार्ग हो भनेर रोमी अध्याय १२ ले कसरी देखाउँछ, त्यो हेरौं। बदला लिनुदेखि अलग रहनु सही, मायालु र विनम्र काम कसरी हो भनेर हामी एक-एक गरी विचार गर्नेछौं।

“यसकारण . . . म तिमीहरूलाई निवेदन गर्दछु”

३, ४. (क) रोमी अध्याय १२ देखि पावलले कुन कुराबारे बताउँछन्‌ र उनले चलाएको “यसकारण” शब्दको अर्थ के हो? (ख) परमेश्‍वरको कृपाले रोमका मसीहीहरूमाथि कस्तो प्रभाव पार्नुपर्ने थियो?

अध्याय १२ को सुरुमा पावलले हाम्रो मसीही जीवनलाई असर गर्ने चार वटा विषयबारे चर्चा गर्छन्‌। ती विषयहरू आपसमा सम्बन्धित छन्‌। यहोवा, सँगी विश्‍वासी, अर्कै धर्म मान्‍ने मानिसहरू र सरकारी अख्तियारवालासितको हाम्रो सम्बन्धबारे उनी बताउँछन्‌। बदला लिने चाहना लगायत गलत झुकावहरूको प्रतिरोध गर्नुपर्ने मुख्य कारणलाई पावल यसरी औंल्याउँछन्‌: “यसकारण ए भाइ हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु।” (रोमी १२:१) यहाँ “यसकारण” शब्दलाई याद गर्नुहोस्‌ जसको अर्थ “अघिका कुरालाई ध्यानमा राख्दै” भन्‍ने हुन्छ। यसर्थ पावल यसो भन्दै थिए भन्‍न सकिन्छ: ‘मैले अघि भर्खरै तिमीहरूलाई बताएको कुरालाई ध्यानमा राख्दै, म अब जे भन्छु त्यही गर्ने निवेदन गर्दछु।’ रोमका ती मसीहीहरूलाई पावलले के बताएका थिए?

रोमीको सुरुका एघार अध्यायहरूमा पावल, यहूदी र अन्यजातिका लागि खुला गरिएको एउटा सुअवसरबारे बताउँछन्‌। त्यो हो, परमेश्‍वरको राज्यमा ख्रीष्टसित शासन गर्न पाउने सुअवसर। तर जन्मजात यहूदीहरू त्यो सुअवसर स्वीकार्न चुके। (रोमी ११:१३-३६) त्यो अनमोल सुअवसर “परमेश्‍वरको कृपाद्वारा” मात्र पाउन सम्भव भएको थियो। परमेश्‍वरले देखाउनुभएको यो महान्‌ अनुग्रहलाई मसीहीहरूले कसरी लिनुपर्छ? तिनीहरूको हृदय कृतज्ञताले ओतप्रोत हुनुपर्छ जसले गर्दा तिनीहरू पावलले त्यसपछि भनेका कुरा गर्न उत्प्रेरित हुनेछन्‌: “यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) तर ती मसीहीहरूले कसरी आफूलाई परमेश्‍वरमा “बलिदान” चढाउन सक्थे?

५. (क) कुनै व्यक्‍तिले आफूलाई कसरी परमेश्‍वरमा “बलिदान” चढाउन सक्छन्‌? (ख) मसीहीहरूको व्यवहारमा कुन सिद्धान्तले प्रभाव पार्नुपर्छ?

पावल अझ भन्दै जान्छन्‌: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) तिनीहरूले आफ्नो सोचाइलाई संसारको आत्माअनुसार ढाल्नुको साटो ख्रीष्टको जस्तो सोचाइ राख्नमा मन लगाउनुपर्ने थियो। (१ कोरिन्थी २:१६; फिलिप्पी २:५) आज, यस सिद्धान्तले हामी सबै साँचो मसीहीहरूको दिनदिनैको व्यवहारमा प्रभाव पारेको हुनुपर्छ।

६. रोमी १२:१, २ मा पावलले गरेको तर्कलाई विचार गर्दा कुन कुराले हामीलाई बदला नलिन उत्प्रेरित गर्छ?

रोमी १२:१, २ मा पावलले गरेको तर्कबाट हामी कसरी मदत पाउँछौं? रोमका ती आत्मा-अभिषिक्‍त मसीहीहरू जस्तै हामी पनि परमेश्‍वरले विभिन्‍न तरिकामा निरन्तर देखाइरहनुहुने कृपाको लागि हृदयदेखि नै कृतज्ञ छौं र उहाँले अहिले पनि हर दिन त्यस्तो कृपा देखाउन छोड्‌नुभएको छैन। यसकारण, हाम्रो हृदय कृतज्ञताले ओतप्रोत हुन्छ र हामी आफ्नो सारा शक्‍ति, सारा स्रोतसाधन र सारा क्षमताले परमेश्‍वरको सेवा गर्न उत्प्रेरित हुन्छौं। भित्रैदेखि पलाएको त्यो इच्छाले गर्दा संसारको जस्तो नभई ख्रीष्टको जस्तो सोचाइ राख्ने सक्दो प्रयास गर्न पनि उत्प्रेरित हुन्छौं। अनि ख्रीष्टको जस्तो मन हुँदा सँगी विश्‍वासी र अरू मानिसहरूसित हामीले गर्ने व्यवहारमा फरक पर्छ। (गलाती ५:२५) उदाहरणका लागि: यदि हामीले ख्रीष्टको जस्तो सोचाइ राख्यौं भने बदला लिने चाहनालाई हटाउन बाध्य हुन्छौं।—१ पत्रुस २:२१-२३.

“प्रेम निष्कपटको होस्‌”

७. रोमी अध्याय १२ मा कस्तो प्रकारको प्रेमबारे चर्चा गरिएको छ?

खराबको बदला खराब गर्नुबाट हामी अलग रहनुको कारण, यो सही मार्ग भएर मात्र होइन तर मायालु मार्ग भएर पनि हो। पावलले त्यसपछि प्रेमको उद्देश्‍यबारे कसरी बताउँछन्‌, याद गर्नुहोस्‌। उनले रोमीको पुस्तकमा परमेश्‍वर र ख्रीष्टको प्रेमबारे कुरा गर्दा धेरै पटक “प्रेम” (ग्रीकमा अगापे) शब्द चलाएका छन्‌। (रोमी ५:५, ८; ८:३५, ३९) तर अध्याय १२ मा पावलले अगापे शब्दलाई अर्कै अर्थमा चलाएका छन्‌—सँगी मानवप्रति देखाइने प्रेमबारे कुरा गर्दा। सबैले एउटै आध्यात्मिक वरदान पाएका हुँदैनन्‌ र ती परमेश्‍वरका केही जनले मात्र पाएका हुन्छन्‌ भनी बताइसकेपछि पावल सबै मसीहीहरूले खेती गर्नुपर्ने एउटा गुणबारे उल्लेख गर्छन्‌। उनी यसो भन्छन्‌: “प्रेम निष्कपटको होस्‌।” (रोमी १२:४-९) अरूप्रति प्रेम देखाउनु साँचो मसीहीहरूको प्रमुख चिनारी हो। (मर्कूस १२:२८-३१) साँचो मसीहीको हैसियतमा हामीले देखाउने प्रेम निष्कपट छ कि छैन, पक्का गर्न पावल हामीलाई सल्लाह दिन्छन्‌।

८. हामी कसरी निष्कपट प्रेम देखाउन सक्छौं?

त्यसबाहेक, निष्कपट प्रेम कसरी देखाइन्छ भन्‍नेबारे पावल यसो भन्छन्‌: “जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।” (रोमी १२:९) यहाँ चलाइएका “घृणा गर” र “लागिरहो” भन्‍ने पदावली सशक्‍त छन्‌। “घृणा गर” भन्‍ने वाक्यांशलाई “असाध्यै घृणा गर्नु” भनी अनुवाद गर्न सकिन्छ। हामीले खराबीको नतिजालाई मात्र होइन तर खराबीलाई नै घृणा गर्नुपर्छ। (भजन ९७:१०) “लागिरहो” भनी अनुवाद गरिएको युनानी क्रियापदको अर्थ चाहिं “टाँसिनु” हो। निष्कपट प्रेम भएको मसीही असल गुणसित यसरी टाँसिएको वा जोडिएको हुन्छ कि त्यो गुण उनको व्यक्‍तित्वको एउटा भाग नै बन्दछ जसलाई उनीबाट छुट्याउन सकिंदैन।

९. पावल पटक-पटक के सल्लाह दिन्छन्‌?

प्रेम देखाउने एउटा खास तरिकाबारे पावलले पटक-पटक उल्लेख गरेका छन्‌। उनी भन्छन्‌: “तिमीहरूका खेदो गर्नेहरूलाई आशीर्वाद देओ, आशीर्वाद देओ, नसराप।” “कसैलाई खराबको बदला खराब नगर।” “हे प्रिय हो, बदला नलेओ।” ‘खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जितिरहो।’ (रोमी १२:१४, १७-१९, २१) पावलका यी शब्दहरूबाट, अर्कै धर्म मान्‍नेहरू र हाम्रो विरोध गर्नेहरूसित समेत हामीले कस्तो व्यवहार गर्नुपर्छ भनेर स्पष्ट हुन्छ।

“तिमीहरूका खेदो गर्नेहरूलाई आशीर्वाद देओ”

१०. हाम्रो खेदो गर्नेहरूलाई कुन तरिकामा आशीर्वाद दिन सक्छौं?

१० “तिमीहरूका खेदो गर्नेहरूलाई आशीर्वाद देओ” भन्‍ने पावलको यो सल्लाह हामी कसरी पालन गर्न सक्छौं? (रोमी १२:१४) येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” (मत्ती ५:४४; लूका ६:२७, २८) त्यसैले, हाम्रो खेदो गर्नेहरूलाई आशीर्वाद दिने एउटा तरिका तिनीहरूका लागि प्रार्थना गरिदिनु हो। प्रार्थनामा तिनीहरूले अज्ञानताको कारण हाम्रो विरोध गर्दैछन्‌ भने सत्य कुरा बुझ्न यहोवाले तिनीहरूको समझको आँखा खोलिदिऊन्‌ भनी बिन्ती चढाउन सक्छौं। (२ कोरिन्थी ४:४) हो, आफूलाई सताउनेले आशिष्‌ पाऊन्‌ भनी परमेश्‍वरमा बिन्ती चढाउनु अनौठो जस्तो लाग्न सक्छ। तर हाम्रो सोचाइ जत्ति धेरै येशूको जस्तो हुँदै जान्छ त्यति नै हामी आफ्ना शत्रुप्रति प्रेम देखाउन सक्षम हुन्छौं। (लूका २३:३४) यस्तो प्रेम देखाउँदा कस्तो नतिजा हुन सक्छ?

११. (क) स्तिफनसको उदाहरणबाट के सिक्न सक्छौं? (ख) पावलको जीवनलाई हेर्दा पहिला खेदो गर्ने कोही-कोहीमा कस्तो परिवर्तन आउन सक्छ?

११ स्तिफनसले पनि आफूलाई सताउनेहरूका लागि प्रार्थना गरेका थिए र तिनको प्रार्थना व्यर्थमा गएन। ईस्वी संवत्‌ ३३ पेन्तिकोसको लगत्तै मसीही मण्डलीको विरोध गर्नेहरूले स्तिफनसलाई गिरफ्तार गरे अनि यरूशलेमबाहिर तानेर लगि ढुंगाले हिर्काएर मारे। मर्नअघि तिनले यसो भन्दै पुकारा गरे: “हे प्रभु [“यहोवा,” NW], यो पाप यिनीहरूलाई नलागोस्‌।” (प्रेरित ७:५८–८:१) त्यस दिन स्तिफनसले प्रार्थना गरिदिएकाहरूमध्ये शावल पनि एक थिए। तिनले स्तिफनसको हत्या भएको देख्नुका साथै त्यसलाई समर्थन पनि गरेका थिए। पछि, पुनरुत्थान हुनुभएका येशू शावलकहाँ देखा पर्नुभयो। पहिला मसीहीहरूको खेदो गर्ने उनै व्यक्‍ति पछि ख्रीष्टको अनुयायी भए र प्रेरित पावल बने। अनि रोमीहरूलाई पत्र लेख्ने व्यक्‍ति उनी नै थिए। (प्रेरित २६:१२-१८) स्तिफनसले प्रार्थनामा भनेझैं यहोवाले पावललाई पहिला मसीहीहरूलाई सताएर गरेको पापको लागि क्षमा दिनुभयो। (१ तिमोथी १:१२-१६) त्यसैले, पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिनु कुनै अचम्म होइन: “तिमीहरूका खेदो गर्नेहरूलाई आशीर्वाद देओ!” पहिला खेदो गर्ने कोही-कोही पछि गएर परमेश्‍वरका सेवक बन्‍न सक्छन्‌ भन्‍ने कुरा उनले आफ्नै अनुभवबाट सिकेका थिए। आज पनि, यहोवाका सेवकहरू मानिसहरूसित शान्तिमा रहेकोले गर्दा पहिला खेदो गरिहिंड्‌ने कोही-कोही यहोवाका उपासक भएका छन्‌।

“सबै मानिसहरूसँग शान्तिमा रहो”

१२. रोमी १२ अध्यायका पद ९ र पद १७ मा दिइएका सल्लाहहरू कसरी आपसमा सम्बन्धित छ?

१२ सँगी मसीही र अर्कै धर्म मान्‍ने व्यक्‍तिहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने सन्दर्भमा पावलले दिएको अर्को सुझाउ हो: “कसैलाई खराबको बदला खराब नगर।” यो भनाइ, पावलले पद ९ मा “जुन कुरो खराब छ, त्यसलाई घृणा गर” भनी भनेका कुरासित सम्बन्धित छ। वास्तवमा, यदि कसैले दुष्टताको सहारा लिएर अरूलाई साटो फेर्न खोज्छ भने के तिनले खराबीलाई साँच्ची नै घृणा गरिरहेका हुन्छन्‌ र? त्यसरी साटो फेर्नु त “निष्कपट” प्रेमको विपरीत हुनेछ। त्यसपछि पावल यसो भन्छन्‌: “जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ।” (रोमी १२:९, १७) यी शब्दहरू हामी कसरी लागू गर्न सक्छौं?

१३. “सबै मानिसहरूको सामने” हामी कस्तो व्यवहार गर्छौं?

१३ यसअघि पावलले कोरिन्थका मसीहीहरूलाई पत्र लेख्दा प्रेरितहरूले भोगेका सतावटबारे लेखे। उनले लेखे: “हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका छौं। . . . गाली पाउँदा आशीर्वाद दिन्छौं, खेदो हुँदा हामी सहन्छौं। बदनाम हुँदा बिन्ती गर्छौं।” (१ कोरिन्थी ४:९-१३) त्यसै गरी आज पनि साँचो मसीहीहरूलाई संसारका मानिसहरूले हेरिरहेका छन्‌। अन्यायमा पर्दा समेत हामीले असल काम गरेको देख्दा परमेश्‍वरको राज्य सन्देशप्रति तिनीहरूको मन फिर्न सक्छ।—१ पत्रुस २:१२.

१४. शान्तिमा रहन हामीले कुन हदसम्म प्रयास गर्नुपर्छ?

१४ तथापि, शान्ति कायम गर्न हामीले कुन हदसम्म प्रयास गर्नुपर्छ? सम्भव भएसम्म। पावल सँगी भाइहरूलाई यसो भन्छन्‌: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१८) “हुनसक्छ भने” र “सक्दोभर” भन्‍ने अभिव्यक्‍तिले के संकेत गर्छ भने, अरूसित शान्ति कायम गर्न सधैं सम्भव नहुन सक्छ। उदाहरणको लागि, कुनै मानिससित शान्ति कायम गर्ने भन्दैमा हामी परमेश्‍वरको आज्ञा त उल्लंघन गर्नेछैनौं। (मत्ती १०:३४-३६; हिब्रू १२:१४) तैपनि, “सबै मानिसहरूसित” शान्तिमा रहन परमेश्‍वरको सिद्धान्तमा सम्झौता नगरी व्यावहारिक ढंगमा गर्न सक्ने जति सबै कुरा गर्छौं।

“बदला नलेओ”

१५. बदला लिन नहुने कस्तो कारण रोमी १२:१९ मा पाइन्छ?

१५ प्रेरित पावल हामीले बदला लिनु नहुने अर्को सशक्‍त कारण दिन्छन्‌। यो हामीले पछ्याउनुपर्ने विनम्र मार्ग हो। उनी यसो भन्छन्‌: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” (रोमी १२:१९) कुनै मसीहीले बदला लिन खोज्छन्‌ भने तिनी अहंकारी हुन्‌। तिनले त परमेश्‍वरले गर्नुहुने काम आफ्नो हातमा लिने दुस्साहस गरिरहेका हुन्छन्‌। (मत्ती ७:१) कामकुरो आफ्नो हातमा लिंदा तिनले “म बदला फेर्नेछु” भनी परमेश्‍वरले दिनुभएको आश्‍वासनप्रति विश्‍वासको कमी देखाइरहेका हुन्छन्‌। यसो गर्नुको साटो, साँचो मसीहीहरू यहोवाले ‘आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्छ’ भन्‍ने कुरामा भरोसा गर्छन्‌। (लूका १८:७, ८, NRV; २ थिस्सलोनिकी १:६-८) खराबीको बदला लिने काम तिनीहरू विनम्रतापूर्वक परमेश्‍वरको हातमा छोड्‌छन्‌।—यर्मिया ३०:२३, २४; रोमी १:१८.

१६, १७. (क) कसैको ‘टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नुको’ अर्थ के हो? (ख) दयालु कार्यले अर्कै धर्म मान्‍ने मानिसको हृदय कोमल बनेको के तपाईंले देख्नुभएको छ? छ भने, उदाहरण दिनुहोस्‌।

१६ शत्रुलाई बदला लिंदा शत्रुको हृदय सम्भवतः झनै कठोर हुन्छ तर दयालु व्यवहार गर्दा तिनको हृदय कोमल हुन सक्छ। किन? रोमका मसीहीहरूलाई पावलले लेखेका शब्दहरूमा ध्यान दिनुहोस्‌। तिनले यस्तो लेखे: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।” (रोमी १२:२०, NRV; हितोपदेश २५:२१, २२) यसको अर्थ के हो?

१७ “टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्ने” भन्‍ने वाक्यांश एउटा उक्‍ति हो जुन बाइबल समयको धातु पगाल्ने विधिसित सम्बन्धित छ। त्यतिबेला, धाउ अर्थात्‌ धातु निकालिने कच्चा पदार्थ भट्टीमा हालिन्थ्यो अनि त्यसको तलतिर मात्र होइन तर माथि पनि कोइलाको थुप्रो राखिन्थ्यो। माथिपट्टि कोइला राख्दा ताप झन्‌ बढ्‌थ्यो र कडा धाउ गलेर शुद्ध धातु छानिंदै निक्लन्थ्यो। त्यसै गरी, आफ्नो विरोधीप्रति दयालु काम गरी हामी तिनको कठोरपनालाई “गलाएर” तिनमा भएका राम्रा गुणहरू निकाल्न सक्छौं। (२ राजा ६:१४-२३) वास्तवमा, अहिले मण्डलीमा भएका थुप्रै सदस्य, यहोवाका सेवकहरूले तिनीहरूका खातिर गरेका दयालु कार्य देखेर नै पहिलो चोटि साँचो उपासनाप्रति आकर्षित भएका थिए।

बदला नलिनुको कारण

१८. बदला नलिनु किन सही, मायालु र विनम्र काम हो?

१८ रोमी अध्याय १२ लाई सरसरती विचार गर्दा “कसैलाई खराबको बदला खराब” किन गर्नुहुँदैन भन्‍नेबारे महत्त्वपूर्ण कारणहरू बुझ्यौं। पहिलो कारण: बदला लिनुबाट अलग रहनु हामीले पछ्याउनुपर्ने सही मार्ग हो। परमेश्‍वरले हामीप्रति देखाउनुभएको कृपालाई विचार गर्दा आफूलाई उहाँमा अर्पण गर्नु र उहाँका आज्ञाहरू पालन गर्नु सही र व्यावहारिक छ। उहाँको आज्ञा पालन गर्नुमा शत्रुलाई प्रेम गर्नु पनि समावेश छ। दोस्रो कारण: खराबको बदला खराब नगर्नु पछ्याउनुपर्ने मायालु मार्ग हो। बदला नलिएर र शान्तिमा रहेर हामी उग्र विरोधीहरू समेतलाई यहोवाका उपासक हुन मायालु मदत दिन सक्छौं। तेस्रो कारण: खराबको बदला खराब गर्नुबाट अलग रहनु हामीले पछ्याउनुपर्ने विनम्र मार्ग हो। आफैले बदला लिनु अहंकारी हुनु हो किनभने यहोवा यसो भन्‍नुहुन्छ: “बदला लिने काम मेरो हो।” परमेश्‍वरको वचनले यस्तो चेतावनी पनि दिन्छ: “जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।” (हितोपदेश ११:२, NRV) खराबीको बदला लिने काम बुद्धिमानीपूर्वक परमेश्‍वरको हातमा छोड्‌दा हामीले विनम्रता देखाइरहेका हुन्छौं।

१९. यसपछिको लेखमा हामी के विचार गर्नेछौं?

१९ अरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्‍नेबारेको छलफललाई पावल मसीहीहरूलाई यस्तो सल्लाह दिंदै टुंग्याउँछन्‌: ‘खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जितिरहो।’ (रोमी १२:२१) आज हामी कुन दुष्ट शक्‍तिहरूको सामना गर्दैछौं? तिनीहरूलाई हामी कसरी जित्न सक्छौं? यी प्रश्‍नका जवाफ र त्यससित सम्बन्धित अरू प्रश्‍नहरू हामी यसपछिको लेखमा विचार गर्नेछौं। (w 07 7/1)

के तपाईं बताउन सक्नुहुन्छ?

रोमी १२ अध्यायमा कुन सल्लाह पटक-पटक दिइएको पाइन्छ?

• बदला नलिन हामीलाई केले उत्प्रेरित गर्नेछ?

• “खराबको बदला खराब” गरेनौं भने हामी आफैलाई र अरूलाई कस्तो फाइदा हुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको पेटी]

रोमी १२ अध्यायमा . . .

• यहोवासित

• सँगी विश्‍वासीहरूसित

• अर्कै धर्म मान्‍ने मानिसहरूसित

. . . मसीहीहरूको सम्बन्धबारे वर्णन गरिएको छ।

[पृष्ठ २५-मा भएको चित्र]

पावलले रोमीहरूलाई लेखेको पत्रबाट मसीहीहरूले व्यावहारिक सल्लाह पाउँछन्‌