सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘खराबीलाई भलाइले जितिरहो’

‘खराबीलाई भलाइले जितिरहो’

‘खराबीलाई भलाइले जितिरहो’

‘खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जितिरहो।’—रोमी १२:२१.

१. खराबीलाई जित्न सकिन्छ भनी हामी किन निश्‍चित हुन सक्छौं?

 साँचो उपासनाको घोर विरोध गर्नेहरू विरुद्ध खडा रहन के सम्भव छ? यस अभक्‍त संसारतिर घचेटेर लैजान खोज्ने शक्‍तिहरूलाई जित्न के सम्भव छ? दुइटै प्रश्‍नको जवाफ एउटै हुन्छ—सम्भव छ! किन त्यसो भन्‍न सक्छौं? रोमका मसीहीहरूलाई पठाएको पत्रमा प्रेरित पावलले लेखेका शब्दहरूको आधारमा। उनले यस्तो लेखेका छन्‌: ‘खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जितिरहो।’ (रोमी १२:२१) यदि यहोवामा भरोसा राख्यौं र संसारसित पराजित नहुने अठोट गऱ्‍यौं भने खराबीले हामीलाई जित्ने छैन। त्यसबाहेक, उक्‍त पदमा चलाइएको ‘खराबीलाई भलाइले जितिरहो’ भन्‍ने अभिव्यक्‍तिले के देखाउँछ भने, खराबीको विरुद्ध आध्यात्मिक युद्ध लडिरह्‍यौं भने त्यसलाई जित्न सक्छौं। सतर्क नरहने र आध्यात्मिक युद्ध लड्‌न छाड्‌नेहरू मात्र यस दुष्ट संसार र यसको दुष्ट शासक शैतानबाट पराजित हुन्छन्‌।—१ यूहन्‍ना ५:१९.

२. नहेम्याहको जीवनमा घटेका केही घटनालाई हामी किन विचार गर्नेछौं?

खराबी विरुद्ध युद्ध लड्‌नेबारे पावलले भनेको कुरा सत्य हो भनेर यरूशलेममा बस्ने परमेश्‍वरको एक सेवकले पावलको समयभन्दा झन्डै ५०० वर्षअघि नै देखाइसकेका थिए। ती जन हुन्‌, नहेम्याह। उनले, अभक्‍त मानिसहरूले मच्चाएको विरोधको सामना मात्र गरेनन्‌ तर खराबीलाई भलाइले जिते। उनले कस्ता चुनौतीको सामना गरे? केले गर्दा उनी सफल भए? हामी कसरी उनको उदाहरण पछ्याउन सक्छौं? यी प्रश्‍नका जवाफ पाउन आउनुहोस्‌, नहेम्याहको जीवनमा घटेका केही घटनालाई विचार गरौं। a

३. नहेम्याह कस्तो परिस्थितिमा बसेका थिए र तिनले कस्तो उपलब्धि हासिल गरे?

नहेम्याह फारसका राजा आर्ट-जारसेजको दरबारमा सेवा गर्थे। उनले अर्कै धर्म मान्‍ने मानिसहरूसितै उठबस गर्नुपरेको भए तापनि त्यतिबेलाको “संसारसित” उनी “एकै चालका” भएनन्‌। (रोमी १२:२) यहूदामा उनको खाँचो पर्दा उनले आरामदायी जीवन त्यागेर यरूशलेमसम्मको कठिन यात्रा गरे र त्यस शहरको पर्खाल पुनर्निर्माण गर्ने ठूलो भार काँधमा लिए। (रोमी १२:१) उनी यरूशलेमका राज्यपाल थिए, तैपनि उनले “सूर्योदयदेखि सूर्यास्तसम्म” सँगी इस्राएलीहरू सँगसँगै दिनहुँ काम गरे। नतिजा कस्तो भयो? दुई महिनाभित्रै पुनर्निर्माणको काम सिद्धियो! (नहेम्याह ४:२१; ६:१५) त्यो अचम्मको उपलब्धि थियो किनभने पुनर्निर्माणको काम चलिरहेको बेला इस्राएलीहरूले विभिन्‍न प्रकारका विरोध सामना गर्नुपरेको थियो। नहेम्याहका विरोधीहरू को थिए र तिनीहरूको लक्ष्य के थियो?

४. नहेम्याहका विरोधीहरूको लक्ष्य के थियो?

सम्बलत, तोबियाह र गेशेम मुख्य विरोधी थिए। तिनीहरू यहूदा वरपरका गण्यमान्य व्यक्‍तिमा गनिन्थे। तिनीहरू परमेश्‍वरका जनहरूको शत्रु भएका हुनाले “इस्राएलको भलोलाई चाहने कोही [नहेम्याह भनिने] एक जना मानिस आएका छन्‌ भन्‍ने कुरा . . . सुनेर तिनीहरू साह्रै अप्रसन्‍न भए।” (नहेम्याह २:१०, १९) पर्खाल पुनर्निर्माण गर्ने नहेम्याहको योजनालाई विफल पार्न उनका शत्रुहरूले अठोट गरे। त्यसको लागि तिनीहरूले दुष्ट षडयन्त्र समेत रचे। के नहेम्याहले ‘आफूलाई खराबीबाट पराजित हुन दिने थिए?’

“साह्रै क्रोधित भए”

५, ६. (क) पुनर्निर्माणको काम हुँदै गर्दा नहेम्याहका शत्रुहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) विरोधीहरूदेखि नहेम्याह किन डराएनन्‌?

नहेम्याहले निडर भई आफ्ना मानिसहरूलाई यस्तो प्रोत्साहन दिए: ‘आऊ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरौं।’ तिनीहरूले पनि जवाफमा यसो भने: “हामी पुनर्निर्माणको काम शुरु गरौं।” नहेम्याह बताउँछन्‌: “तिनीहरूले उत्साहपूर्वक यो राम्रो काम शुरु गर्नलागे।” तर विरोधीहरू “हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्नलागे: ‘यो तिमीहरू के गरिहेका छौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?’ ” तिनीहरूको खिसी र झूटो आरोपदेखि नहेम्याह डराएनन्‌। तिनले विरोधीहरूलाई भने: “स्वर्गका परमेश्‍वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी, उहाँका दासहरू पुनर्निर्माणको काम शुरू गर्दैछौं।” (नहेम्याह २:१७-२०) नहेम्याहले ‘राम्रो कामको लागि’ अघि बढ्‌ने अठोट गरे।

विरोधीहरूमध्ये सम्बलत “साह्रै क्रोधित भए” र झन्‌ तीतो शब्दको वाण हान्‍न थाले। “यी निर्बल यहूदीहरू के गर्दैछन्‌? . . . ती जलिसकेका देखेर पनि के तिनीहरूले धूलोबाट ढुङ्‌गाहरू निकाल्न सक्छन्‌?” भन्दै तिनले गिल्ला गरे। सम्बलतको भनाइमा तालमा-ताल मिलाउँदै तोबियाहले यसो भने: “एउटा स्याल ढुङ्‌गाको त्यस पर्खालमा चढ्यो भने, त्यो भत्किनेछ।” (नहेम्याह ४:१-३) नहेम्याहले कस्तो प्रतिक्रिया देखाए?

७. विरोधीहरूले लगाएको आरोपप्रति नहेम्याहले कस्तो प्रतिक्रिया देखाए?

नहेम्याहले त्यो गिल्लालाई सुनेर पनि नसुने झैं गरिदिए। उनले परमेश्‍वरको आज्ञा पालन गर्दै बदला लिन खोजनन्‌। (लेवी १९:१८) बरु तिनले त्यो मामिला यहोवाको हातमा छोडिदिंदै यसरी प्रार्थना गरे: “हे हाम्रा परमेश्‍वर, हाम्रो प्रार्थना सुन्‍नुहोस्‌। किनभने तिनीहरूले ता हाम्रो अपमान गरिरहेका छन्‌। तिनीहरुको गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्‌।” (नहेम्याह ४:४) ‘दण्ड र बदला दिने’ काम मेरै हो भन्‍ने यहोवाको आश्‍वासनमाथि नहेम्याहले भरोसा गरे। (व्यवस्था ३२:३५) त्यसबाहेक, नहेम्याह र उनका मानिसहरूले ‘पर्खाल बनाउन’ छाडेनन्‌। तिनीहरूले आफूलाई त्यस कामबाट यताउता तर्किन दिएनन्‌। वास्तवमा, ‘आधा उँचाइसम्म चारैतिर पर्खाल बनियो र मानिसहरूले मनतन दिएर काम गरे।’ (नहेम्याह ४:६) साँचो उपासनाका शत्रुहरूले पुनर्निर्माणको काम रोक्न सकेनन्‌! हामी कसरी नहेम्याहको अनुकरण गर्न सक्छौं?

८. (क) विरोधीहरूले झूटो आरोप लगाउँदा हामी कसरी नहेम्याहको अनुकरण गर्न सक्छौं? (ख) बदला नलिएको एउटा अनुभव बताउनुहोस्‌ जुन तपाईंको आफ्नै वा तपाईंले सुनेको अनुभव हुन सक्छ।

आज पनि स्कूल, काम गर्ने ठाउँलगायत घरपरिवारमा समेत हामीमाथि गिल्ला र आरोप ओइरिन सक्छ। तर त्यस्ता झूटा आरोपहरू आइपर्दा सबैभन्दा उत्तम तरिका बाइबलको यो सिद्धान्त लागू गर्नु हो: “चूप्प लाग्ने एउटा समय छ।” (उपदेशक ३:१, ७) त्यसैले, जसरी नहेम्याहले बदला लिएनन्‌ त्यसरी नै घोच्ने शब्दहरूले हामीलाई गिल्ला गरिंदा हामी पनि साटो फेर्दैनौं। (रोमी १२:१७) “म बदला लिनेछु” भनी आश्‍वासन दिनुहुने परमेश्‍वरमा भरोसा राख्दै हामी उहाँलाई प्रार्थना गर्छौं। (रोमी १२:१९; १ पत्रुस २:१९, २०) त्यसो गर्दा, आज हामीले गर्नुपर्ने कामबाट विरोधीहरूले हामीलाई तर्काउन सक्दैनन्‌। त्यो काम हो: परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु र चेला बनाउनु। (मत्ती २४:१४; २८:१९, २०) प्रचारकार्यमा प्रत्येक चोटि भाग लिएर र विरोध आउँदा निरुत्साहित नभएर हामीले पनि नहेम्याहले जस्तै अठोट गरेका छौं भनी देखाउँछौं।

‘तिमीहरूलाई मारिदिन्छौं’

९. नहेम्याहका शत्रुहरूले कस्तो किसिमले विरोध गरे र त्यसको सामना उनले कसरी गरे?

जब नहेम्याहको समयमा साँचो उपासनाका विरोधीहरूले “यरूशलेमको पर्खालको नयाँ कामको खूब प्रगति भएको छ र छेंडछाड पनि पुरिंदैछन्‌ भनी सुने” तब तिनीहरूले “यरूशलेमलाई आक्रमण” गर्न तरवार निकाले। यहूदीहरूका लागि परिस्थिति निराशाजनक देखियो। उत्तरमा सामरी, पूर्वमा अम्मोनी, दक्षिणमा अरबी र पश्‍चिममा अश्‍दोदी थिए। यरूशलेम चारैतिरबाट घेरिएको थियो। पर्खाल पुनर्निर्माण गर्नेहरू फन्दामा परे जस्तो देखिन्थ्यो! अब तिनीहरूले के गर्ने? “हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना गऱ्‍यौं” भनी नहेम्याह भन्छन्‌। शत्रुहरूले यसरी धम्की दिए: “तिनीहरूलाई मारिदिऔं, र यस कामलाई खतम पारिदिऔं।” त्यसको जवाफमा नहेम्याहले मजदुरहरूलाई “आफ्ना तरवार, भाला र काँड-धनु लिएर” यरूशलेमको रक्षा गर्न अह्राए। मानिसको दृष्टिकोणबाट हेर्ने हो भने त, शत्रु पक्षको त्यत्रो ठूलो सेनाअघि यहूदीहरूको त्यो सानो समूह टिक्न सक्दैनथ्यो। तर नहेम्याहले आफ्ना मानिसहरूलाई यसरी प्रेरणा दिए: “नडराऊ। महान्‌ र भययोग्य परमप्रभुको सम्झना गर।”—नहेम्याह ४:७-९, ११, १३, १४.

१०. (क) के कारण नहेम्याहका शत्रुहरूको परिस्थिति अचानक उल्टियो? (ख) नहेम्याहले कस्तो उपाय अपनाए?

१० तर परिस्थिति अचानक उल्टियो। शत्रुहरूले आक्रमण गरेनन्‌। किन? नहेम्याह बताउँछन्‌: साँचो ‘परमेश्‍वरले तिनीहरूको योजना विफल पारिदनुभयो।’ तर शत्रुहरूबाट अझै खतरा टरेको छैन भनेर नहेम्याहले बुझे। तसर्थ, बुद्धि चलाउँदै उनले काम गर्ने तरिकामा हेरफेर गरे। त्यस दिनदेखि “मजदुरहरूको एउटा हात भारीमा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो।” शत्रुले आक्रमण गरिहालेमा ‘तुरही फुकेर’ मजदुरहरूलाई खबर गर्न पनि नहेम्याहले एक जना खटाए। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले मानिसहरूलाई यस्तो आश्‍वासन दिए: “हाम्रो परमेश्‍वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ।” (नहेम्याह ४:१५-२०) आक्रमण भइहालेमा त्यसको सामना गर्न तयार र प्रोत्साहित भएर मजदुरहरूले काम गरिरहे। यस घटनाबाट हामी कस्तो पाठ सिक्छौं?

११. परमेश्‍वरको राज्यको काममा प्रतिबन्ध लगाइएका मुलुकमा कुन कुराले साँचो मसीहीहरूलाई खराबीको अघि खडा रहन मदत दिन्छ र तिनीहरू खराबीलाई भलाइले कसरी जित्छन्‌?

११ कहिलेकाहीं साँचो मसीहीहरूले उग्र विरोधको सामना गर्छन्‌। वास्तवमा, केही मुलुकमा साँचो उपासनाका उग्र विरोधीहरूले ठूलै शक्‍ति एकट्ठा गर्छन्‌। मानिसको दृष्टिकोणबाट हेर्ने हो भने त ती मुलुकमा हाम्रा सँगी विश्‍वासीहरू खडा रहन सक्दैनन्‌ जस्तो देखिन्छ। तर ‘परमेश्‍वरले तिनीहरूका निम्ति युद्ध गर्नुहुनेछ’ भनेर ती साक्षीहरू विश्‍वस्त छन्‌। विश्‍वासको खातिर सतावट भोग्नेहरूले, यहोवाले प्रार्थना सुन्‍नुहुन्छ र शक्‍तिशाली शत्रुहरूको ‘योजना विफल पारिदिनुहुन्छ’ भन्‍ने कुरा बारम्बार अनुभव गरेका छन्‌। परमेश्‍वरको राज्यको काममा प्रतिबन्ध लगाइएका मुलुकमा समेत मसीहीहरूले कुनै न कुनै तरिका अपनाएर सुसमाचार प्रचार गरिरहन्छन्‌। यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने मजदुरहरूले काम गर्ने तरिकामा हेरफेर गरे झैं आज यहोवाका साक्षीहरूले पनि विरोध आउँदा बुद्धिमानी भई प्रचार गर्ने तरिकामा हेरफेर गर्छन्‌। हो, तिनीहरूले साँच्चैको हातहतियार त चलाउँदैनन्‌। (२ कोरिन्थी १०:४) आफूमाथि शारीरिक आक्रमणको खतरा हुँदा समेत तिनीहरू प्रचारको क्रियाकलापलाई रोक्दैनन्‌। (१ पत्रुस ४:१६) बरु, ती साहसी भाइबहिनी ‘खराबीलाई भलाइले जितिरहन’ छाड्‌दैनन्‌।

‘आऊ, बातचीत गरौं’

१२, १३. (क) नहेम्याहका विरोधीहरूले कस्तो रणनीति अपनाए? (ख) विरोधीहरूले भेट्‌न बोलाएको प्रस्ताव नहेम्याहले किन स्वीकारेनन्‌?

१२ प्रत्यक्ष आक्रमण काम नलाग्ने रहेछ भन्‍ने कुरा नहेम्याहका शत्रुहरूले बुझेपछि घुमाउरो पाराले आक्रमण गर्नतिर तिनीहरू लागे। हो, तिनीहरूले तीन वटा षडयन्त्र रचे। ती के-के थिए?

१३ पहिलो: शत्रुहरूले नहेम्याहलाई धोका दिने प्रयास गरे। तिनीहरूले उनलाई यसो भने: ‘आऊ, ओनोको बेंसीको एउटा गाउँमा आएर बातचीत गरौं।’ ओनो भनिने त्यो ठाउँ यरूशलेम र सामरियाको बीचमा पर्थ्यो। त्यसैले दुवै पक्षलाई बीच पर्ने ठाउँमा भेटेर आपसको विवाद सुल्झाऔं भनेर शत्रुहरूले नहेम्याहलाई प्रस्ताव राखे। नहेम्याहले यस्तो सोचाइ पनि राख्न सक्थे: ‘प्रस्ताव त राम्रै छ। युद्ध गर्नु भन्दा त बातचीत गरेर कुरा मिलाउनु नै उचित हो।’ तर नहेम्याहले प्रस्ताव स्वीकारेनन्‌। नस्वीकार्नुको कारण उनी यसरी बताउँछन्‌: “मलाई हानि गर्ने यो उनीहरूको षड्यन्त्र मात्र थियो।” शत्रुहरूले त्यो प्रस्ताव राख्नुको मनसाय उनले बुझे र धोका खाएनन्‌। उनले विरोधीहरूलाई चार पटक यसो भने: “म त्यहाँ आउन सक्दिनँ। काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” नहेम्याहलाई सम्झौता गर्न लगाउने शत्रुहरूको प्रयास विफल भयो। उनले पर्खाल निर्माणको काममा ध्यान केन्द्रित गरिरहे।—नहेम्याह ६:१-४, NRV.

१४. झुटा आरोप लगाउनेहरूप्रति नहेम्याहले कस्तो प्रतिक्रिया देखाए?

१४ दोस्रो: नहेम्याहका शत्रुहरूले गलत अफवाह फैलाए। तिनीहरूले नहेम्याहलाई आर्ट-जारसेज राजा विरूद्ध “विद्रोहको षड्यन्त्र रच्दैछौ” भनी आरोप लगाए। तिनीहरूले फेरि नहेम्याहलाई यसो भने: “हामी कुरा गरौं।” यसपटक पनि नहेम्याहले मानेनन्‌ किनभने उनले शत्रुहरूको मनसाय बुझेका थिए। उनी यसो भन्छन्‌: “हाम्रो परिश्रमलाई ढीला गर्छ होला, र हाम्रो काम कहिल्यै सिद्धिनेछैन भन्‍ने आशाले तिनीहरूले हामीलाई धम्की दिने चेष्टा गर्दैथिए।” तर यस पटक भने शत्रुले लगाएको आरोपलाई नहेम्याहले गलत ठहराउँदै यसो भने: “तिमीले दोष लगाएको कुनै पनि कुरो साँचो छैन। यो सबै कुरा त तिमी आफैले बनाएका हौ।” त्यसबाहेक, नहेम्याहले यहोवासित यसरी प्रार्थना गर्दै मदत मागे: “मेरो हात बलियो पार्नुहोस्‌।” यहोवाको मदतले त्यस दुष्ट षडयन्त्रलाई विफल पार्न र निर्माणको कामलाई अघाडि बढाउन सकिन्छ भनेर तिनलाई भरोसा थियो।—नहेम्याह ६:५-९.

१५. झूटो अगमवक्‍ताले कस्तो सल्लाह दिए र नहेम्याहले त्यो सल्लाह किन सुनेनन्‌?

१५ तेस्रो: शत्रुहरूले शमायाह नाउँ गरेको धोकेबाज इस्राएलीलाई चलाएर नहेम्याहलाई परमेश्‍वरको व्यवस्था उल्लंघन गर्न लगाउने प्रयास गरे। शमायाहले नहेम्याहलाई यसो भने: “हामी परमेश्‍वरको भवनभित्र पवित्रस्थानमा ढोकाहरू थुनेर भेट गरौं। किनभने तिनीहरू तपाईंलाई मार्न आउँदैछन्‌।” शमायाहले भनेअनुसार नहेम्याहको हत्या हुन लागेको थियो तर मन्दिरभित्र लुकेर उनले ज्यान बचाउन सक्थे। तर नहेम्याह पूजाहारी थिएनन्‌। परमेश्‍वरको भवनमा लुकेको भए त उनले पाप गरेको हुनेथियो। आफ्नो ज्यान जोगाउन के तिनले परमेश्‍वरको व्यवस्था उल्लंघन गर्ने थिए? नहेम्याहले यस्तो जवाफ दिए: “के मजस्तो मानिस बाँच्नलाई पवित्रस्थानमा जानु र? म जान्‍नँ।” शत्रुहरूले रचेको षडयन्त्रमा उनी किन परेनन्‌? शमायाह सँगी इस्राएली भए तापनि “परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन” भनेर नहेम्याहलाई थाह थियो। वास्तवमा, साँचो अगमवक्‍ताले परमेश्‍वरको व्यवस्था उल्लंघन गर्ने सल्लाह कहिल्यै दिने थिएन। यस पटक पनि नहेम्याहले आफूलाई दुष्ट विरोधीहरूबाट पराजित हुन दिएनन्‌। त्यसको तुरुन्तै पछि उनले यस्तो रिपोर्ट दिन सके: “एलूल महीनाको पच्चीसौं दिनमा पर्खालको काम सिद्धियो। त्यो बनाउन बाउन्‍न दिन लाग्यो।”—नहेम्याह ६:१०-१५; गन्ती १:५१; १८:७.

१६. (क) झूटा मित्र, झूटा आरोपी र झूटा सँगी भाइसित हामीले कस्तो व्यवहार गर्नुपर्छ? (ख) घर, स्कूल वा काम गर्ने ठाउँमा आफ्नो विश्‍वासको सम्झौता गर्नुहुन्‍न भनी तपाईं कसरी देखाउनुहुन्छ?

१६ नहेम्याहले जस्तै हामीले पनि झूटा मित्र, झूटा आरोपी र झूटा सँगी भाइबाट विरोधको सामना गर्नुपर्ने हुन सक्छ। प्रतीकात्मक अर्थमा भन्‍नुपर्दा, कोहीकोहीले हामीलाई आधा बाटो अर्थात्‌ दुवै पक्षलाई बीच पर्ने ठाउँमा भेट्‌न बोलाउँछन्‌, मतलब सम्झौता गर्न प्रस्ताव राख्लान्‌। यहोवाको सेवा ठीकठीकै मात्र गरेमा सेवाको सँगसँगै सांसारिक लक्ष्यहरू पनि हासिल गर्न सकिन्छ भनेर तिनीहरूले हामीलाई मनाउन खोज्लान्‌। तर हामी आफ्नो जीवनमा परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिने हुँदा त्यस्तो सम्झौता गर्दैनौं। (मत्ती ६:३३; लूका ९:५७-६२) विरोधीहरूले हाम्रो विरुद्धमा गलत आरोपहरू पनि फैलाउँछन्‌। नहेम्याहलाई राजाको विद्रोह गरेको आरोप लगाए झैं कतिपय मुलुकमा हामीलाई पनि राष्ट्रको निम्ति खतरनाक समूह भनेर आरोप लगाइएको छ। यस्ता केही आरोपहरूलाई अदालतमा झूटा साबित गर्न सकिएको छ। तर विभिन्‍न परिस्थितिमा नतिजा जस्तोसुकै भए पनि हामी यहोवाले आफ्नो इच्छाबमोजिम कामकुरो सँभाल्नुहुन्छ भनेर विश्‍वस्त भई प्रार्थना गर्छौं। (फिलिप्पी १:७) यहोवाको सेवा गर्छु भनी टोपल्नेहरूबाट पनि विरोध आउन सक्छ। जसरी एक जना सँगी यहूदीले नहेम्याहलाई ज्यान जोगाउने निहुँमा परमेश्‍वरको व्यवस्था उल्लंघन गर्न लगाउन खोजे, ठीक त्यसरी नै कुनै समयका हाम्रा सँगी भाइ तर अहिले धर्मत्यागी भएका व्यक्‍तिहरूले हामीलाई कुनै न कुनै तरिकामा सम्झौता गराउन खोज्लान्‌। तर हामी तिनीहरूको कुरा सुन्दैनौं किनभने परमेश्‍वरको व्यवस्था उल्लंघन गरेर होइन तर ती व्यवस्था पालन गरेर मात्र हाम्रो जीवन बच्छ भन्‍ने कुरा हामीलाई थाह छ। (१ यूहन्‍ना ४:१) हो, परमेश्‍वरको मदतले हामी कुनै पनि प्रकारको खराबीलाई जित्न सक्छौं।

खराबीको सामना गर्नुपरे तापनि सुसमाचार प्रचार गर्ने

१७, १८. (क) शैतान र त्यसलाई साथ दिनेहरूले के गर्न खोज्छन्‌? (ख) तपाईंले के गर्ने अठोट गर्नुभएको छ र किन?

१७ ख्रीष्टका अभिषिक्‍त भाइहरूबारे परमेश्‍वरको वचन यसो भन्छ: “वचनको साक्षीको कारण . . . तिनीहरूले [शैतानलाई] जितेका छन्‌।” (प्रकाश १२:११) त्यसैले, खराबीको स्रोत शैतानलाई जित्नु र परमेश्‍वरको राज्य सन्देश प्रचार गर्नुबीच सीधा सम्बन्ध छ। त्यसैकारण त शैतानले पृथ्वीमा रहेका अभिषिक्‍त जन र “ठूलो भीड” विरुद्ध विरोध मच्चाएर कठोर आक्रमण गरिरहन कहिल्यै छोड्‌दैन।—प्रकाश ७:९; १२:१७.

१८ हामीले देख्यौं कि विरोध विभिन्‍न रूपमा आउन सक्छ। जस्तै—मौखिक आक्रमण वा शारीरिक आक्रमण अथवा घुमाउरो पाराको आक्रमण। विरोधको रूप जुनसुकै भए पनि शैतानको लक्ष्य सधैं एउटै हो—प्रचारकार्यलाई रोक्नु। तर शैतान त्यो लक्ष्य हासिल गर्नमा पूरै विफल हुनेछ किनभने परमेश्‍वरका जनहरूले नहेम्याहको अनुकरण गर्दै ‘खराबीलाई भलाइले जितिरहने’ अठोट गरेका छन्‌। तिनीहरूले त्यो कसरी गर्नेछन्‌? परमेश्‍वरले अब पूरा भयो नभनुञ्जेल सुसमाचार प्रचार गरिरहेर!—मर्कूस १३:१०; रोमी ८:३१; फिलिप्पी १:२७, २८. (w 07 7/1)

[फुटनोट]

a ती घटनाका पृष्ठभूमि थाह पाउन नहेम्याह १:१-४; २:१-६, ९-२०; ४:१-२३; ६:१-१५ पढ्‌नुहोस्‌।

के तपाईंलाई याद छ?

• विगतमा परमेश्‍वरका सेवकहरूले कस्तो विरोधको सामना गरे र अहिले मसीहीहरूले कस्तो विरोधको सामना गर्छन्‌?

• नहेम्याहका शत्रुहरूको मुख्य लक्ष्य के थियो र आज परमेश्‍वरका शत्रुहरूको लक्ष्य के हो?

• आज हामी कसरी खराबीलाई भलाइले जितिरहन्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ३०-मा पाइने पेटी/चित्र]

नहेम्याहका पुस्तकमा पाइने पाठहरू

परमेश्‍वरका सेवकहरूले सामना गर्छन्‌

● गिल्ला

● धम्की

● धोका

धोका दिनेहरू हुन्‌

● झूटा मित्र

● झूटा आरोपी

● झूटा सँगी भाइ

परमेश्‍वरका सेवकहरूले खराबीलाई जित्छन्‌

● परमेश्‍वरले दिनुभएको काममा अडिग रहेर

[पृष्ठ ३१-मा भएको चित्र]

साँचो मसीहीहरू नडराई सुसमाचार प्रचार गर्छन्‌