सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जातीय घृणाको समाधान के हो?

जातीय घृणाको समाधान के हो?

जातीय घृणाको समाधान के हो?

चलिरहेको फुटबल म्याचलाई स्पेनमा एक रेफ्रीले बीचैमा रोके। किन? कारण के थियो भने, धेरै दर्शकहरूले क्यामरूनका एक खेलाडीमाथि यति अपमानजनक शब्दहरू बर्साए कि तिनले खेल मैदानबाटै बाहिरिने धम्की दिए। रूसमा अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकीहरू विरुद्धका हिंसात्मक आक्रमणहरू सामान्य भएका छन्‌। त्यहाँ सन्‌ २००४ को दौडान जातीय आक्रमण ५५ प्रतिशतले वृद्धि भएर सन्‌ २००५ मा ३९४ वटा त्यस्ता घटनाहरू घटे। बेलाइतमा गरिएको एउटा सर्वेक्षणमा भाग लिएका एसियाली मूलका र काला जातका एक तिहाइ मानिसहरूले जातीय भेदभावले गर्दा नै उनीहरूले आफ्नो जागिर गुमाउनुपरेको प्रतिक्रिया दिए। यी उदाहरणहरूले विश्‍वभरि नै चलिरहेको लहडलाई चित्रण गर्छ।

जातको आधारमा गरिने घृणाको गम्भीरता भने फरक-फरक हुन्छ—कुनै व्यक्‍तिको भावनामा चोट पुऱ्‍याउने वा अपमानजनक तरिकाले बोल्नेदेखि लिएर राष्ट्रिय नीति नै बनाएर कुनै जात विशेषलाई देशबाटै निमिट्यान्‍न पार्ने प्रयत्नहरूसम्म। a जातीय घृणाको मूल जड के हो? यस्तो घृणा देखाउनबाट हामी कसरी जोगिन सक्छौं? सबै जातका मानिसहरू एकदिन शान्तिसाथ मिलेर बस्नेछन्‌ भनेर आशा गर्नु के व्यावहारिक छ? यी विषयहरूमाथि बाइबलले गजबको अन्तरदृष्टि दिन्छ।

अत्याचार र घृणा

“मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ” भनी बाइबल भन्छ। (उत्पत्ति ८:२१) त्यसैकारण, कतिपयलाई अरूमाथि अत्याचार गर्न पाउँदा आनन्द लाग्छ। बाइबल थप यसो भन्छ: “अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो।”—उपदेशक ४:१.

जातीय घृणाको सुरुआत निकै समय अघि नै भएको थियो भनी बाइबल बताउँछ। उदाहरणको लागि, आजभन्दा ३,००० वर्षभन्दा अघि मिश्री फिरऊनले हिब्रू याकूब र उनको ठूलो परिवारलाई मिश्रमै बसोबास गर्न बोलाए। तर पछि, अर्का फिरऊन भने हिब्रूहरूको संख्या बढ्‌दै गएको देखेर डराए। यसको नतिजास्वरूप के भयो, विवरण यसो भन्छ: “तिनले आफ्नो प्रजालाई भने, ‘हेर, इस्राएलीहरू हामीभन्दा साह्रै बेसी र अति शक्‍तिशाली भएका छन्‌। लौ, हामी तिनीहरूसित बुद्धिले काम चलाऔं, नत्रता तिनीहरूको संख्या बढदै जाला।’ . . . यसैकारण तिनीहरूले उनीहरूलाई अघोर भार लगाएर सताउनलाई तिनीहरूमाथि कामदारीहरू खटाए।” (प्रस्थान १:९-११) त्यति मात्र होइन, मिश्रीहरूले याकूबको शाखा-सन्तानबाट जन्मिने नवजात बालकहरू सबैलाई मार्ने आदेश समेत दिए।—प्रस्थान १:१५, १६.

मूल जड के हो?

जातीय घृणालाई हटाउन संसारका धर्महरूले खासै मदत गरेको पाइँदैन। यो कुरोलाई नकार्न सकिंदैन, कोही-कोही व्यक्‍तिविशेषले बहादूरीका साथ अत्याचारको विरोध गरेका छन्‌। तर समष्टिगत रूपमा भन्‍नु पर्दा, धर्महरूले बारम्बार अत्याचारीहरूलाई नै साथ दिएका छन्‌। अमेरिकाकै कुरा गर्नुपर्दा, त्यहाँ सन्‌ १९६७ सम्म कालाहरूलाई कानुन बनाएरै वा कानुनलाई बंग्याएर थिचोमिचोमा राखिन्थ्यो। साथै, काला-गोराबीच विवाह सम्बन्ध गाँस्न नपाउने नियम बनाइएको थियो। दक्षिण अफ्रिकामा पनि अवस्था त्यस्तै थियो। त्यहाँका अल्पसंख्यक गोराहरूले कानुनी रूपमै आफ्नो प्रभुत्व सुरक्षित राखे। यसको लागि तिनीहरूले अन्तरजातीय विवाहमाथि रोकटोक पनि लगाए। यी दुवै ठाउँमा जातीय घृणालाई प्रश्रय दिने समूहका केही मानिसहरू असाध्यै धार्मिक आस्था राख्नेहरू थिए।

तथापि, बाइबल हामीलाई जातीय घृणाको एउटा सशक्‍त कारण बताउँछ। यसले, किन एउटा जातको मानिसले अर्को जातको मानिसमाथि अत्याचार गर्छ भनी बताउँछ। बाइबल भन्छ: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ। यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ४:८, २०) यस पदले जातीय घृणाको मूल जडलाई औंल्याउँछ। आफूलाई धर्म मान्‍ने व्यक्‍ति भनेर दाबी गरून्‌ या नगरून्‌, उनीहरू जातको आधारमा भेदभाव गर्छन्‌ किनकी उनीहरूले परमेश्‍वरलाई चिनेका छैनन्‌ र उहाँलाई प्रेम पनि गर्दैनन्‌।

परमेश्‍वरको ज्ञान—जातीय सद्‌भावको आधार

परमेश्‍वरलाई चिन्दा र उहाँलाई प्रेम गर्दा कसरी जातीय सद्‌भाव उत्पन्‍न हुन्छ? आफूभन्दा फरक देखिने मानिसलाई हानि गर्नबाट हामीलाई जोगाउने कस्तो ज्ञान परमेश्‍वरको वचन बाइबलले प्रदान गर्छ? यहोवा सबै मानिसजातिका पिता हुनुहुन्छ भनी बाइबल प्रकाश पार्छ। बाइबल यसो भन्छ: “हाम्रा निम्ति ता परमेश्‍वर एउटै हुनुहुन्छ, अर्थात्‌ पिता, जसका सबै कुराहरू हुन्‌।” (१ कोरिन्थी ८:६) साथै, बाइबल यसो भन्छ: “उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।” (प्रेरित १७:२६) त्यसकारण, सबै मानिसहरू दाजुभाइ, दिदीबहिनी हुन्‌।

परमेश्‍वरबाट जीवन पाएकोमा सबै जात-जातिले गर्व गर्न सक्छन्‌। तर आफ्नो पुर्खाबारे चुकचुकाउनु पर्ने केही कारण पनि छ। बाइबल लेखक पावलले यस्तो लेखे: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो।” त्यसकारण, “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३; ५:१२) यहोवा विविधता रुचाउने परमेश्‍वर हुनुहुन्छ—कुनै दुई प्राणी उस्ताको-उस्तै छैनन्‌। तैपनि, उहाँले कुनै जातीय समूहलाई अरूभन्दा ठूलो ठान्‍नुपर्ने आधार दिनुभएको छैन। मेरो जात अरूको भन्दा ठूलो भन्‍ने सर्वत्र फैलिएको विचार बाइबलअनुरूप पटक्कै छैन। स्पष्ट छ, हामीले परमेश्‍वरबाट पाउने ज्ञानले जातीय सद्‌भाव जगाउँछ।

सबै राष्ट्रहरूप्रति परमेश्‍वरको चासो

परमेश्‍वरले इस्राएलीहरूलाई निगाह देखाएर र तिनीहरूलाई अन्य राष्ट्रबाट अलग्गै रहनू भनी सिकाएर, परमेश्‍वरले नै जातीय पूर्वाग्रहको बीज रोप्नुभएको हो कि भनेर कोही-कोही मानिसहरूले विचार गरेका छन्‌। (प्रस्थान ३४:१२) कुनै समयमा परमेश्‍वरले इस्राएल राष्ट्रलाई आफ्नो विशेष सम्पत्तिको रूपमा छान्‍नुको कारण इस्राएलका पुर्खा अब्राहामले देखाएको असामान्य विश्‍वास थियो। शासन गर्नको लागि राजाहरू छानेर र व्यवस्थाहरू दिएर परमेश्‍वर आफैले प्राचीन इस्राएलमाथि शासन गर्नुभयो। इस्राएलीहरू यो प्रबन्धको अधीनमा बसेसम्म, परमेश्‍वरले शासन गर्नुभएको राज्य र मानिसद्वारा शासन गरिएको राज्यबीचको भिन्‍नता अरू मानिसहरूले देख्न सक्थे। परमेश्‍वरसँग फेरि राम्रो सम्बन्ध कायम गर्न बलिदान चढाउनुपर्ने आवश्‍यकताबारे पनि यहोवाले त्यतिबेला इस्राएलीहरूलाई सिकाउनुभएको थियो। त्यसकारण, यहोवाले इस्राएलीहरूसँग गर्नुभएको व्यवहारले सबै राष्ट्रलाई नै लाभ पुऱ्‍यायो। यो, यहोवाले अब्राहामलाई भन्‍नुभएको यस कुरा अनुरूप थियो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”—उत्पत्ति २२:१८.

यसको अतिरिक्‍त, यहूदीहरूले पवित्र ईश्‍वरवाणीहरू पाए र मसीह जन्मिने राष्ट्रको बासिन्दा हुन पाए। यो तिनीहरूका लागि कत्ति ठूलो सुअवसर थियो! तर यो पनि, सबै राष्ट्रले नै लाभ उठाउन सकोस्‌ भनेर गरिएको प्रबन्ध थियो। सबै जातका मानिसहरूले उठाउने महान्‌ आशिष्‌बारे मनै छुने विवरण यहूदीहरूलाई दिइएको हिब्रू धर्मशास्त्रमा समावेश गरिएको छ: “धेरै जातिहरू आएर भन्‍नेछन्‌, ‘आओ, हामीहरू परमप्रभुको पहाड, याकूबका परमेश्‍वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ’ . . . जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लडाइँ गर्न सिक्नेछन्‌। तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:२-४.

येशू ख्रीष्ट आफैले यहूदीहरूलाई प्रचार गर्नुभए तापनि उहाँले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) सुसमाचार सुन्‍नबाट कुनै पनि राष्ट्र वञ्चित हुनु हुँदैनथ्यो। त्यसकारण, सबै जातलाई बराबर व्यवहार गर्ने सम्बन्धमा यहोवा आफैले नै सिद्ध उदाहरण बसाल्नुभयो। “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

परमेश्‍वरले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थाले, उहाँ सबै राष्ट्रप्रति चासो राख्नुहुन्छ भनेर पनि देखाउँछ। व्यवस्थाअनुसार उनीहरूले आफ्नो देशमा बस्ने गैर-इस्राएलीहरूप्रति सद्‌भाव राखेर मात्र पुग्दैनथ्यो। व्यवस्थाले के माग गरेको थियो, त्यो याद गर्नुहोस्‌: “तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्‌, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ।” (लेवी १९:३४) परमेश्‍वरको व्यवस्थामा यस्ता थुप्रै व्यस्थाहरू थिए जसले परदेशीहरूप्रति दयालु हुन इस्राएलीहरूलाई सिकाएको थियो। त्यसैकारण, जब येशूका पुर्खा बोअजले सिलाबाला खोजिरहेकी एक विदेशी स्त्रीलाई देखे, उनको निम्ति प्रशस्त अन्‍न छोडिदिन खेतालाहरूलाई भने। यसबाट, बोअजले परमेश्‍वरबाट सिकेअनुसारै गरिरहेका थिए भनी स्पष्ट हुन्छ।—रूथ २:१, १०, १६.

येशू दयाबारे सिकाउनुहुन्छ

परमेश्‍वरको ज्ञानबारे येशूले जति त अरू कसैले पनि सिकाएन। आफूभन्दा भिन्‍नै मानिसप्रति पनि कसरी दयालु हुने भन्‍ने कुरा येशूले आफ्ना अनुयायीहरूलाई देखाउनुभयो। एकपटक उहाँले एउटी सामरी आइमाईसँग कुराकानी सुरु गर्नुभयो। त्यतिबेला थुप्रै यहूदीहरूले सामरीहरूलाई तुच्छ ठान्‍ने गर्थे, त्यसैले यो देखेर ती आइमाई छक्क परिन्‌। छलफलको क्रममा येशूले ती स्त्रीलाई अनन्त जीवन कसरी पाउन सकिन्छ भनेर बुझ्न मायालुपूर्वक मदत गर्नुभयो।—यूहन्‍ना ४:७-१४.

अरू जातका मानिसहरूप्रति हामीले कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा एक असल सामरी छिमेकीको दृष्टान्त दिएर पनि येशूले सिकाउनुभयो। ती सामरीले आफू गइरहेको बाटोमा डाँकुहरूद्वारा नराम्ररी पिटिएको एक यहूदीलाई देखे। उनले सजिलैसँग यसो भन्‍न सक्थे: ‘मैले यो यहूदीलाई किन मदत गर्नुपऱ्‍यो र? यहूदीहरूले हामीलाई घृणा गर्छन्‌।’ तर त्यस सामरीलाई भने विरानाहरूप्रति फरक दृष्टिकोण राख्ने व्यक्‍तिको रूपमा येशूले चित्रण गर्नुभयो। हुन त अरू मानिसहरू पनि त्यस घाइते लडिरहेको बाटोबाट नहिंडेका होइनन्‌, तर सामरीको “मन दयाले भरियो” र त्यस घाइतेलाई उनले निकै सहयोग गरे। कसैले परमेश्‍वरको निगाह पाउन चाहन्छ भने त्यसै गर्नुपर्छ भनेर येशूले त्यस दृष्टान्तको अन्तमा भन्‍नुभयो।—लूका १०:३०-३७.

परमेश्‍वरलाई खुसी पार्न चाहनेले आफ्नो व्यक्‍तित्वमा परिवर्तन ल्याउनुपर्छ र परमेश्‍वरले मानिसहरूप्रति जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै व्यवहार गर्नुपर्छ भनेर प्रेरित पावलले सिकाए। पावलले लेखे: “पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत तिमीहरूले त्यागेका छौ, औ नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्तन भएका छौ, जहाँ ग्रीक र यहूदी, खतना र बेखतना अरू भाषा बोल्ने, सिथियावासी, . . . रहनेछैन, तर . . . यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:९-१४.

के परमेश्‍वरको ज्ञानले मानिसलाई परिवर्तन गर्छ?

यहोवा परमेश्‍वरलाई चिनेपछि आफू भन्दा फरक जातका मानिसहरूसँग गर्ने व्यवहारमा साँच्चै कुनै परिवर्तन आउँछ? क्यानाडामा बसाइँ सरेकी एसियाली मूलकी एक महिलाको उदाहरणलाई विचार गर्नुहोस्‌। उनी त्यहाँ आफूले खप्नुपरेको भेदभावको कारण अत्यन्तै निरुत्साहित भएकी थिइन्‌। उनले यहोवाका साक्षीहरूलाई भेटिन्‌ र बाइबल अध्ययन गर्न थालिन्‌। पछि त्यस महिलाले कृतज्ञताले भरिएको एउटा चिठी लेखिन्‌, जसमा यसो भनिएको थियो: ‘तपाईंहरू एकदमै जाती र दयालु गोरा मानिसहरू हुनुहुन्छ। जब तपाईंहरू अन्य गोराभन्दा फरक भएको मैले महसुस गरें, तब किन तपाईंहरू त्यसरी फरक भएको होला भन्‍ने मलाई लाग्यो। मैले निकै सोचें र के निष्कर्षमा पुगें भने तपाईंहरू परमेश्‍वरका साक्षीहरू हुनुहुन्छ। बाइबलमा त्यस्तो केही न केही पक्कै हुनै पर्छ। मैले तपाईंहरूको सभामा गोरा, काला र अन्य वर्णका मानिसहरूको जमात देखें, तर हृदयको रंग भने सबैको एउटै थियो—असाध्यै निर्मल—किनभने तिनीहरू सबै दाजुभाइ तथा दिदीबहिनी थिए। अब मलाई थाह भयो कि कसले तिनीहरूलाई यस्तो असल बनायो। तपाईंहरूको परमेश्‍वरले नै।’

“पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुने” समय आउनेछ भनी परमेश्‍वरको वचन बाइबलले भविष्यवाणी गरेको छ। (यशैया ११:९) बाइबल भविष्यवाणीको पूर्ति अनुरूपै अहिले पनि “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” साँचो उपासनामा एकत्रित हुँदैछन्‌। (प्रकाश ७:९) यिनीहरू विश्‍वभरि नै घृणाको ठाउँ प्रेमले ओगट्‌ने समयको प्रतीक्षा गर्छन्‌ जतिबेला यहोवाले अब्राहामलाई भन्‍नुभएको यो उद्देश्‍य पूरा हुनेछ: “पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।”—प्रेरित ३:२५. (w 07 7/1)

[फुटनोट]

a “जात” शब्दले सम्प्रदाय, राष्ट्रियता, धर्म, भाषा र संस्कृतिको आधारमा गरिने वर्ग विभाजनलाई बुझाउँछ।

[पृष्ठ ४-मा भएको चित्र]

परदेशीलाई प्रेम गर्न परमेश्‍वरको व्यवस्थाले इस्राएलीहरूलाई सिकाएको थियो

[पृष्ठ ५-मा भएको चित्र]

असल सामरीको दृष्टान्तबाट हामी के सिक्न सक्छौं?

[पृष्ठ ६-मा भएका चित्रहरू]

परमेश्‍वरले एउटा जातलाई अर्कोभन्दा ठूलो ठान्‍नुपर्ने कुनै आधार दिनुभएको छैन