सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“भाषा विविध तर प्रेममा एकत्रित”

“भाषा विविध तर प्रेममा एकत्रित”

“भाषा विविध तर प्रेममा एकत्रित”

छुटकारा। मुक्‍ति। उद्धार। शताब्दीयौंदेखि नै मानिसहरूले बोझ र फिक्रीबाट मोक्ष पाउने इच्छा गर्दै आएका छन्‌। जीवनका समस्याहरूसँग हामी कसरी लड्‌न सक्छौं? के छुटकारा कहिल्यै पाइएला? पाइन्छ भने कसरी?

मे २००६ देखि सुरु भएको यहोवाका साक्षीहरूद्वारा आयोजित तीन दिने जिल्ला अधिवेशनको विषयवस्तु यिनै प्रश्‍नहरूमा आधारित थियो। अधिवेशनको विषय थियो “छुटकारा नजिकै छ!”

ती अधिवेशनहरूमध्ये नौ वटामा विभिन्‍न देशका हजारौं प्रतिनिधिहरू उपस्थित थिए। अधिवेशनहरू सन्‌ २००६ को जुलाई र अगस्त महिनाको दौडान चेक गणतन्त्रको राजधानी प्राग; स्लोभाकियाको राजधानी ब्राटिस्लाभा; पोल्याण्डको चोरजो र पोज्नान; a र जर्मनीका पाँच सहरहरू—डोर्टमन्ड, फ्राङ्‌कफर्ट, हाम्बर्ग, लिपजिग र म्युनिकमा सम्पन्‍न भएका थिए। यी ठाउँको जम्माजम्मी उपस्थिति संख्या ३,१३,००० नाघेको थियो।

अधिवेशनमा कस्तो किसिमको माहोल छाएको थियो? साक्षीहरूबारे बाहिरका मानिसहरूले कस्ता टिप्पणीहरू गरेका थिए? र अधिवेशनमा उपस्थित भएकाहरूले कस्तो महसुस गरे?

तयारी

बाहिरबाट आएका आगन्तुक र स्थानीय साक्षीहरूले त्यस अधिवेशन बिर्सिनसक्नुको आध्यात्मिक जमघट हुनेछ भनेर पहिल्यै अन्दाज लगाइसकेका थिए। प्रतिनिधिहरूका लागि बस्ने ठाउँको यथोचित प्रबन्ध मिलाउनु कुनै चानचुने काम थिएन। उदाहरणको लागि, चोरजोको अधिवेशनमा पूर्वी युरोपबाट आएका झन्डै १३,००० अतिथिहरूलाई बास दिन पोल्याण्डका साक्षीहरूले खुला हृदयले आफ्नो घर उपलब्ध गराए। त्यस अधिवेशनमा प्रतिनिधिहरू अमेरिका, आर्मेनिया, इस्टोनिया, उज्बेकिस्तान, काजकस्तान, किर्गिजस्तान, जर्जिया, ताजकिस्तान, तुर्कमेनिस्तान, बेलारूस, मोल्डोभा, युक्रेन, रूस, लाट्‌भिया र लिथुआनियाबाट आएका थिए।

उक्‍त अधिवेशन धाउन थुप्रैले महिनौं अघिदेखि नै तयारी गर्नुपरेको थियो। जापानको उत्तरपूर्वमा अवस्थित रूसी प्रायद्वीप कामचाट्‌काको एक पूर्ण-समय सेविका टाटियानाले यात्राको लागि एक वर्ष अघिबाट नै पैसा जोगाउन थालेकी थिइन्‌। उनले लगभग १०,५०० किलोमिटर लामो यात्रा गर्नुपऱ्‍यो। पहिला उनले हवाईजहाजमा पाँच घन्टा, त्यसपछि लगभग तीन दिनसम्म रेलमा अनि अन्तमा चोरजोसम्म पुग्नको लागि बसमा ३० घन्टा बिताइन्‌।

अधिवेशनको तयारीमा हजारौं स्वयंसेवकले साथ दिए। रंगशाला र त्यस वरिपरिको वातावरणलाई उपासनाको लागि उपयुक्‍त बनाउन उनीहरूले दिलोज्यान लगाए। (व्यवस्था २३:१४) एउटा उदाहरण लिनुपर्दा, लिपजिगमा स्थानीय भाइहरूले रंगशाला असाध्यै राम्ररी सफा गरे र अधिवेशन सकिएपछि पनि फेरि त्यसरी नै सफा गर्ने वचन दिए। त्यसको नतिजास्वरूप, पहिले सम्झौता गरिएअनुसार सफाइ खर्चको लागि भनेर दिनुपर्ने भारी रकम रंगशालाका अधिकारीहरूले मिनाहा गरिदिए।

निमन्त्रणा

विश्‍वभरिकै मण्डलीहरूले “छुटकारा नजिकै छ!” जिल्ला अधिवेशनको प्रचार-प्रसारमा जोडतोडले भाग लिए। अगाडि उल्लेख गरिएका ठाउँहरूमा आयोजना हुन लागेका ती विशेष अधिवेशनहरूमा उपस्थित हुनेहरूले ठूलो उत्साहका साथ यस अभियानमा साथ दिए। अधिवेशन सुरु हुनुभन्दा अघिल्लो साँझसम्म पनि अधिवेशनको प्रचार-प्रसार गर्ने काममा तिनीहरूले भाग लिइरहे। तिनीहरूको त्यो जोसले के कुनै असल नतिजा ल्यायो?

पोल्याण्डका बोग्डान नाउँ गरेका साक्षीले एक वृद्ध पुरुषलाई भेटे जो अधिवेशन धाउन चाहन्थे तर आफूले पाउने थोरै पेन्सनले १२० किलोमिटर यात्रा गरेर चोरजोसम्म पुग्न नसकिने कुरा तिनले बताए। स्थानीय मण्डलीले भाडामा लिएको बसमा एउटा सिट खाली हुने कुरा थाह पाइयो। बोग्डान भन्छन्‌: “यदि तिनी बिहान ५:३० बजेसम्ममा बस छुट्‌ने ठाउँमा आइपुगे भने सित्तैमा हामीसँगै लाने कुरा तिनलाई बतायौं।” उक्‍त वृद्धले निमन्त्रणालाई स्वीकारे र अधिवेशनमा उपस्थित भए। पछि तिनले भाइहरूलाई यसरी लेखे: “यो अधिवेशन धाएपछि मैले असल मानिस बन्‍ने संकल्प गरेको छु।”

एक दिन, प्रागमा बेलाइतबाट आएका प्रतिनिधिहरू बसेकै होटलमा बसिरहेका एक व्यक्‍ति साँझपख हाम्रा भाइहरूकहाँ आए र उनी पनि त्यस दिन दिउँसोको कार्यक्रममा आएको कुरा बताए। कार्यक्रममा जानको लागि उनलाई के कुराले उत्प्रेरित गरेको थियो? सहरका सडकहरूमा दस विभिन्‍न साक्षीहरूद्वारा निमन्त्रणा पाएपछि अधिवेशनमा जानको लागि आफूलाई कर नै लागेको कुरा उनले बताए। उनी असाध्यै प्रभावित भए र अझ बढी सिक्न आतुर भए।—१ तिमोथी २:३, ४.

खँदिलो आध्यात्मिक कार्यक्रम

कार्यक्रममा विभिन्‍न समस्यालाई कसरी सँभाल्ने भन्‍ने विषयमा छलफल गरिएको थियो। बाइबल आधारित स्पष्ट सल्लाहले यस्ता समस्याको हल कसरी गर्ने वा ती कसरी सहने भनेर बुझाएको थियो।

वृद्धावस्था, खराब स्वास्थ्य, मृत्युको कारण प्रियजन गुमाएका अथवा अन्य व्यक्‍तिगत समस्याहरूमा अल्झेकाहरूले बाइबलबाट प्रोत्साहन पाए जसले गर्दा उनीहरूले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न सके। (भजन ७२:१२-१४) विवाहित दम्पतीहरूले वैवाहिक सम्बन्धबाट कसरी आनन्द उठाउने भन्‍ने विषयमा बाइबलबाट सुझाव पाए भने आमाबाबुहरूले आफ्ना छोराछोरीलाई कसरी सफलतापूर्वक हुर्काउने भन्‍ने विषयमा। (उपदेशक ४:१२; एफिसी ५:२२, २५; कलस्सी ३:२१) घर तथा मण्डलीमा परमेश्‍वरको वचनबाट पाइने बुद्धिमानी सल्लाहले स्कूलमा खराब साथीहरूबाट आउने दबाबको सामना गर्न कसरी मदत दिन्छ अनि “जवानीका अभिलाषाहरूबाट” कसरी भाग्न सकिन्छ भन्‍ने विषयमा जवानहरूले व्यावहारिक सल्लाह पाए।—२ तिमोथी २:२२.

साँचो अन्तरराष्ट्रिय भाइचारा

यहोवाका साक्षीहरूले उनीहरूको आध्यात्मिक जमघटमा सधैं नै बाइबल आधारित असल निर्देशन पाउँछन्‌। (२ तिमोथी ३:१६) तर यी अधिवेशनहरूलाई विशेष बनाएको कुरोचाहिं विभिन्‍न देशबाट आएका मानिसहरूको जमघट नै थियो। ती सबै अधिवेशनमा एउटै आध्यात्मिक कार्यक्रम विभिन्‍न भाषामा पस्किएका थिए। हरेक दिन नै परिचालक निकायका सदस्यहरूको भाषण र विभिन्‍न देशका रिपोर्टहरूले विशेष चासो जगाएको थियो। विभिन्‍न भाषा बोल्ने मानिसहरूले लाभ उठाउन सकून्‌ भन्‍नको खातिर यी भाषण र रिपोर्टहरूलाई थुप्रै भाषामा अनुवाद गरिएको थियो।

प्रतिनिधिहरू, विभिन्‍न मुलुकबाट आएका आफ्ना भाइबहिनीलाई भेट्‌न उत्सुक थिए। एक प्रतिनिधिले यसो भने: “भाषा फरक-फरक भए पनि यसले खासै फरक पारेन। त्यसको सट्टा यसले वातावरणमा झनै रौनकता थपिदियो। आगन्तुकहरू विभिन्‍न संस्कृतिबाट आएका थिए तर तिनीहरू एउटै विश्‍सासद्वारा एकत्रित थिए।” म्युनिक अधिवेशनमा उपस्थित भएकाहरूले यसरी भनाइ राखे: “भाषा विविध तर प्रेममा एकत्रित।” देश र भाषा जुनसुकै भए तापनि त्यहाँ उपस्थित भएकाहरूले आफू साँचो मित्रहरूबीच भएको कुरा महसुस गरे—ती मित्रहरू जो उनीहरूका आध्यात्मिक भाइबहिनी थिए।—जकरिया ८:२३.

कृतज्ञताले भरिएका अभिव्यक्‍तिहरू

पोल्याण्डको मौसमले अधिवेशनको दौडान त्यहाँ उपस्थितहरूको मनोवृत्ति र धीरजको जाँच गऱ्‍यो। अधिवेशनको दौडान प्रायः हरेक समय पानी परेको मात्र होइन तर तापक्रम पनि १४ डिग्री सेल्सियसको असाध्यै चिसो थियो। अमेरिकाका एक भाइले यसो भने: “मैले अहिलेसम्म भाग लिएको अधिवेशनहरूमध्ये यो अधिवेशनको मौसम सबैभन्दा खराब र अत्यन्तै चिसो थियो अनि त्यसमाथि भाषा नआएकोले कार्यक्रम पनि त्यति बुझिनँ। तथापि, थुप्रै देशबाट आएकाहरूको पत्याइ नसक्नुको माहोल, विलक्षण जोस र बेजोड शिष्टाचारले यी सबै कुराहरूको क्षतिपूर्ति गऱ्‍यो। यो अधिवेशन बिर्सिनसक्नुको भयो!”

पोलीश भाषा बोल्नेहरूका लागि इन्साइट अन द स्क्रिप्चर्स पुस्तक विमोचन भएको घोषणा सुन्‍न पाउनु एउटा अविस्मरणीय क्षण साबित भयो। वर्षा र चिसोको बाबजूद उनीहरूले देखाएको धैर्यताको इनाम थियो त्यो। लिभ विथ जेहोभाज्‌ डे इन माइन्ड शीर्षकको नयाँ पुस्तकको विमोचनले पनि सबै ठाउँका “छुटकारा नजिकै छ!” अधिवेशनको आनन्दलाई अझै बढाएको थियो।

उपस्थितहरूमध्ये धेरैले अधिवेशनलाई अरू नै कारणले पनि सम्झने छन्‌। चेककी बहिनी क्रिष्टिनाले सात-समुद्रपारबाट आएका प्रतिनिधिहरूलाई साथ दिन बसमा स्वयंसेवा गरेकी थिइन्‌, उनी सम्झन्छिन्‌: “छुटिने बेला एक बहिनीले मलाई एउटा कुनामा लानुभयो, अंगालो हाल्नुभयो र भन्‍नुभयो: ‘मैले असाध्यै राम्रो हेरविचार पाएँ! तपाईंले हामीलाई सिट-सिटमै खाना ल्याइदिनुभयो र पिउने पानीको समेत प्रबन्ध मिलाइदिनुभयो। तपाईंहरूले देखाउनुभएको आत्मत्यागी प्रेमको लागि मुरीमुरी धन्यवाद्‌!’ ” तिनले बाहिरबाट आएकाहरूका लागि मिलाइएको भोजनको प्रबन्धबारे संकेत गर्दै थिइन्‌। एक भाइले बताए: “यो यस्तो किसिमको काम थियो जसको हामीलाई पहिले कहिल्यै अनुभवै थिएन। हरेक दिन झन्डै ६,५०० जनाको लागि भोजन वितरण गर्नुपर्थ्यो। बच्चाहरूसमेत थुप्रैले यस काममा स्वयंसेवा गर्नु हृदय नै पग्लने कुरा थियो।”

अधिवेशनको लागि युक्रेनबाट चोरजोसम्मको यात्रा गरेकी एक बहिनीले यसो भनिन्‌: “हाम्रा सँगी भाइबहिनीहरूले देखाएको माया, हेरचाह र उदारताले हाम्रो मन छोएको छ। कृतज्ञता व्यक्‍त गर्ने शब्द नै हामीसँग छैन।” त्यसै गरी, फिनल्याण्डकी आठ वर्षीया बालिका अन्‍नीकाले यहोवाका साक्षीहरूको पोल्याण्ड शाखा कार्यालयलाई यसरी लेखिन्‌: “अधिवेशन मैले सोचेको भन्दा पनि रमाइलो भयो। यहोवाको संगठनको भाग हुन पाउनु निकै आनन्दको कुरा हो किनभने हाम्रा साथीहरू संसारभरि नै छन्‌!”—भजन १३३:१.

बाहिरका मानिसहरूले गरेका टिप्पणीहरू

अधिवेशनअगाडि केही प्रतिनिधिहरूका लागि घुमफिर गर्ने व्यवस्था मिलाइएको थियो। आगन्तुकहरू बभेरियाको गाउँतिर घुम्दै राज्यभवनमा आइपुग्दा स्थानीय साक्षीहरूले उनीहरूलाई स्वागत गरे। भाइहरूले आपसमा देखाएको स्नेहको कारण एक भ्रमण टोलीका गैर-साक्षी गाइड असाध्यै प्रभावित भइन्‌। एक प्रतिनिधिले भने: “हामी बसबाट होटलमा फर्कंदा गाइडले हामी अरू भ्रमण टोलीभन्दा बिलकुलै फरक भएको कुरा बताइन्‌। हामीले सुहाउँदो पहिरन लगाएका थियौं अनि टोलीमा नेतृत्व लिइरहेकाहरूलाई सबैले सहयोग गरेका थिए। कसैले कसैलाई गाली गर्ने वा अस्तव्यस्त थिएन। नौला व्यक्‍तिहरू पनि कसरी यति चाँडै असल साथी बन्‍न सक्छन्‌ भनेर उनी छक्क परेकी थिइन्‌।”

प्राग अधिवेशनको समाचार-सेवा विभागमा सेवा गरेका एक भाइ बताउँछन्‌: “अधिवेशनमा खटाइएका एक प्रहरी अधिकृत आइतबार बिहान हामीकहाँ आए। अधिवेशनमा शान्ति छाएको र आफूले गर्नुपर्ने कुरा केही पनि नभएको उनले बताए। रंगशाला छेउछाउ बस्ने केही मानिसहरूले के कार्यक्रम भइरहेको भनेर सोधेको कुरा पनि उनले बताए। जब उनले यहोवाका साक्षीहरूको कार्यक्रम हो भन्थे तब मानिसहरू नाक खुम्चाउँथे। त्यसबेला प्रहरी अधिकृत तिनीहरूलाई भन्थे: ‘यहोवाका साक्षीहरूको जस्तो व्यवहार अरू मानिसहरूमा आधा मात्र भइदिएको भए हामी प्रहरीहरूको आवश्‍यकता नै पर्दैनथ्यो।’ ”

धेरैले छुटकारा पाइसके!

परमेश्‍वरको वचन बाइबलले मसीहीहरूलाई शान्ति र एकतामा ल्याएर विभिन्‍न संस्कृतिलाई मेलमिलाप गराउने पुलको काम गर्छ। (रोमी १४:१९; एफिसी ४:२२-२४; फिलिप्पी ४:७) “छुटकारा नजिकै छ!” विशेष जिल्ला अधिवेशनले यो कुरा प्रमाणित गऱ्‍यो। यस संसारलाई दुःख दिइरहेको विभिन्‍न महामारीबाट यहोवाका साक्षीहरूले छुटकारा पाइसकेका छन्‌। असहिष्णुता, हिंसा र जातीय घृणा समाजमा फैलिएका रोगहरूमध्ये केही मात्र हुन्‌, यस्ता कुराहरू उनीहरूबाट प्रायः हराइ नै सकेको छ। र उनीहरू यस्ता कुराहरू संसारमा कहिल्यै देख्न नपर्ने दिनको प्रतीक्षामा छन्‌।

यी अधिवेशनमा उपस्थित हुनेहरूले विभिन्‍न देश र संस्कृतिका यहोवाका साक्षीहरूबीचको एकतालाई प्रत्यक्ष ढंगमा महसुस गर्न सके। यो कुरा अधिवेशनको समापनमा छर्लङ्‌गै देखियो। सबैजना ताली बजाउँदै थिए, नयाँ साथीहरूसँग अंकमाल गर्दै थिए र अन्तिम फोटोहरू खिच्दै थिए। (१ कोरिन्थी १:१०; १ पत्रुस २:१७) सबै किसिमका दुःखकष्ट र चिन्ताबाट छुटकारा पाउने समय नजिकै छ भन्‍ने कुरामा रमाउँदै र यस आशामा निश्‍चिन्त हुँदै अनि ‘जीवनको वचनलाई’ बलियोसँग पक्रिराख्ने दृढ अठोट राख्दै प्रतिनिधिहरू आ-आफ्नो घर र मण्डलीमा फर्के।—फिलिप्पी २:१५, १६. (w 07 7/1)

[फुटनोट]

a पोल्याण्डमा भइरहेको अन्य छ वटा अधिवेशनलगायत स्लोभाकियाको एउटा अधिवेशनमा अतिथि वक्‍ताहरूले दिएका भाषणहरूलाई चाहिं विद्युतीय माध्यमद्वारा प्रसारण गरिएको थियो।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

छब्बीस भाषाहरूको एउटै स्वर

नौ वटै अधिवेशनमा कार्यक्रमहरू स्थानीय भाषामा प्रस्तुत गरिएको थियो। जर्मनीको अधिवेशनहरूमा अन्य १८ भाषाहरूमा पनि कार्यक्रम प्रस्तुत गरिएको थियो। डोर्टमन्डमा भाषणहरू अरबी, फारसी, पुर्तगाली, स्पेनी र रूसी भाषामा; फ्राङ्‌कफर्टमा अंग्रेजी, फ्रान्सेली र सर्बियाली/क्रोएसियाली भाषामा; हाम्बर्गमा डेनिश, डच, स्विडिस र तामिलमा; लिपजिगमा चिनियाँ, पोलीश र टर्कीमा अनि म्युनिकमा ग्रीक, इटालेली र जर्मन सांकेतिक भाषामा प्रस्तुत गरियो। प्राग अधिवेशनमा सम्पूर्ण भाषण चेक, अंग्रेजी र रूसी भाषामा दिइएको थियो। ब्राटिस्लाभामा कार्यक्रम अंग्रेजी, हंगेरी, स्लोभाकी र स्लोभाकी सांकेतिक भाषामा भएको थियो। चोरजोमा पोलीश, रूसी, युक्रेनी र पोलीश सांकेतिक भाषामा। त्यसै गरी, पोज्नानमा पोलीश र फिनिश भाषामा।

सबै गरी छब्बीस भाषाहरू! साँच्चै नै, त्यो अधिवेशन भाषामा विविध थियो तर तिनीहरू प्रेमले एकत्रित थिए।

[पृष्ठ ९-मा भएको चित्र]

फ्राङ्‌कफर्टमा, क्रोएसियाली प्रतिनिधिहरू “न्यु वर्ल्ड ट्रान्सलेसन” आफ्नै भाषामा पाउँदा रमाए