सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ

यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ

यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ

“हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।” —हितोपदेश २७:११.

१. आज संसारमा कस्तो मनोभाव जताततै फैलिएको छ?

 आफू खुसी गर्ने र आज्ञा पालन नगर्ने मनोभाव आज संसारमा जताततै फैलिएको छ। यसको कारण, प्रेरित पावलले एफिससका मसीहीहरूलाई लेखेको पत्रमा खुलाएका छन्‌: “यस संसारको रीतिअनुसार, आकाशको शक्‍तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार तिमीहरू अघि एकपल्ट चल्दथियौ।” (एफिसी २:१, २) हो, “आकाशको शक्‍तिको मालिक” शैतानले यस संसारमा आज्ञा पालन नगर्ने मनोभाव फैलाइदिएको छ भनेर तपाईं भन्‍न सक्नुहुन्छ। प्रथम शताब्दीमा पनि त्यसले त्यसै गर्दै थियो र प्रथम विश्‍वयुद्धको समयतिर त्यसलाई स्वर्गबाट फ्याँकिएपछि त त्यो झनै झोंकिएर अहिले यस काममा लागिपरेको छ।—प्रकाश १२:९.

२, ३. हामीले यहोवाको आज्ञा पालन गर्नुपर्ने कस्ता कारणहरू छन्‌?

तर हामी साँचो उपासकहरूलाई, यहोवाको आज्ञा मान्‍नुपर्छ भनी थाह छ किनभने उहाँ हाम्रो सृष्टिकर्ता, जीवनदाता, मायालु सार्वभौम परमेश्‍वर र उद्धारक हुनुहुन्छ। (भजन १४८:५, ६; प्रेरित ४:२४; कलस्सी १:१३; प्रकाश ४:११) मोशाको समयका इस्राएलीहरूलाई यहोवा तिनीहरूको जीवनदाता र उद्धारक हुनुहुन्छ भनी थाह थियो। यसकारण मोशाले तिनीहरूलाई यसो भने: “परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍न याद राख।” (व्यवस्था ५:३२) हो, तिनीहरूले यहोवाको आज्ञा मान्‍नुपर्ने हर कारण थियो। तैपनि चाँडै तिनीहरू आफ्ना सार्वभौम परमेश्‍वरप्रति अनाज्ञाकारी भए।

हामीले देखाएको आज्ञाकारितालाई ब्रह्‍माण्डका सृष्टिकर्ता कत्तिको महत्त्वपूर्ण ठान्‍नुहुन्छ? परमेश्‍वरले एक चोटि अगमवक्‍ता शमूएल मार्फत राजा शाऊललाई यसो भन्‍नुभयो: “आज्ञापालन बलिदानभन्दा उत्तम हो।” (१ शमूएल १५:२२, २३) किन?

आज्ञा पालन कसरी “बलिदानभन्दा उत्तम” हो

४. हामीले यहोवालाई दिन सक्ने कुरा के हो?

यहोवा सृष्टिकर्ता हुनुभएकोले हामीसित जे जति छन्‌, ती सबै उहाँकै हुन्‌। त्यसो हो भने, हामीले उहाँलाई दिन सक्ने केही कुरा छ र? हो, उहाँलाई एउटा एकदमै अनमोल चीज दिन सक्छौं। त्यो के हो? त्यो कुरा यस सल्लाहमा पाउन सक्छौं: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) हो, हामी परमेश्‍वरको आज्ञा पालन गर्न सक्छौं। हाम्रो परिस्थिति र पृष्ठभूमि फरक-फरक भए तापनि आज्ञाकारी भएर शैतानले तेर्साएको द्वेषपूर्ण दाबीलाई झूटा साबित गर्न सक्छौं। त्यसले कोही पनि मानिस समस्याको मुखमा पर्दा परमेश्‍वरप्रति वफादार रहिरहने छैन भनी दाबी गरेको थियो। त्यसलाई मुखभरिको जवाफ दिन पाउनु कस्तो सम्मानको कुरा हो!

५. आज्ञा पालन नगर्दा सृष्टिकर्तालाई कसरी असर पर्छ? उदाहरण दिनुहोस्‌।

परमेश्‍वर हामीले गर्ने निर्णयहरूमा चासो राख्नुहुन्छ। हामीले आज्ञा पालन नगर्दा उहाँलाई असर पर्छ। कसरी? कसैले त्यस्तो मूर्ख मार्ग अपनाउँदा उहाँ दुःखी हुनुहुन्छ। (भजन ७८:४०, ४१) मानिलिनुहोस्‌, मधुमेहको रोगीलाई उसकै फाइदाको लागि मुख बार्न भनिएको छ तर उसले भने नखानू भनिएका कुराहरू खान छोड्‌दैन। त्यतिबेला उसको ख्याल राख्ने डाक्टरलाई कस्तो लाग्नेछ? मानिसहरूले परमेश्‍वरको आज्ञा पालन नगर्दा उहाँ दुःखित हुनुहुन्छ भनी हामी पक्का हुन सक्छौं। किनभने जीवनका लागि उहाँले दिएका सल्लाहहरू पालन नगर्दा कस्ता नतिजाहरू आइपर्छन्‌, त्यो उहाँलाई थाह छ।

६. परमेश्‍वरप्रति आज्ञाकारी हुन हामीलाई कुन कुराले मदत गर्नेछ?

व्यक्‍तिगत रूपमा आज्ञाकारी हुन हामीलाई कुन कुराले मदत गर्नेछ? हामी प्रत्येकले राजा सुलेमानले जस्तै “बुझ्ने मन” अर्थात्‌ आज्ञाकारी हृदयको लागि परमेश्‍वरलाई बिन्ती गर्न सक्छौं। सँगी इस्राएलीहरूको न्याय गर्दा ‘असल र खराबको भेद छुट्याउन सकियोस्‌’ भनेर तिनले त्यस्तो हृदयको लागि बिन्ती गरेका थिए। (१ राजा ३:९) आज्ञा पालन नगर्ने मनोभावले भरिएको संसारमा असल र खराबको भेद छुट्याउन सक्ने हुन हामीलाई आज्ञाकारी हृदय चाहिन्छ। आज्ञाकारी हृदय बनाउन सकोस्‌ भनेर परमेश्‍वरले हामीलाई उहाँको वचन, बाइबल अध्ययन सहायक, मसीही सभा र ख्याल राख्ने प्राचीनहरूको प्रबन्ध गरी दिनुभएको छ। यस्तो मायालु प्रबन्धको के हामीले सदुपयोग गरिरहेका छौं?

७. यहोवाले पशु बलिदानलाई भन्दा आज्ञा पालनलाई किन बढी जोड दिनुहुन्छ?

यस सन्दर्भमा, विगतमा यहोवाले आफ्ना जनहरूलाई पशु बलिदान भन्दा आज्ञा पालन अझै महत्त्वपूर्ण छ भन्‍नुभएको कुरा याद गर्नुहोस्‌। (हितोपदेश २१:३, २७; होशे ६:६; मत्ती १२:७) तर पशु बलिदान चढाउनू भनेर आज्ञा गर्नुहुने के यहोवा नै होइन र? कुन मनसायले बलिदान चढाइएको छ? के तिनले यहोवालाई प्रसन्‍न तुल्याउन बलिदान चढाइरहेका छन्‌, वा विधि पूरा गर्न मात्र? यहोवाको कुनै उपासक उहाँलाई साँच्चै प्रसन्‍न तुल्याउन चाहन्छन्‌ भने, उहाँका सबै आज्ञा पालन गर्न होसियार हुन्छन्‌। परमेश्‍वरलाई पशु बलिदानको कुनै आवश्‍यकता छैन तर हामीले उहाँलाई दिन सक्ने एउटा अनमोल चीज भनेको नै आज्ञाकारिता हो।

चेतावनीमूलक उदाहरण

८. शाऊलले परमेश्‍वरको अनुग्रह किन गुमाए?

बाइबलमा रेकर्ड गरिएको राजा शाऊलको उदाहरणबाट आज्ञाकारी हुनु कत्तिको महत्त्वपूर्ण छ भनी स्पष्ट हुन्छ। शाऊल सुरुमा त एक नम्र शासक थिए। तिनले ‘आफूलाई तुच्छ सम्झन्थे।’ तर समयको दौडान अहंकार र गलत तर्कले तिनका निर्णयहरूमा प्रभाव पार्न थाल्यो। (१ शमूएल १०:२१, २२; १५:१७) एक चोटि शाऊल पलिश्‍तीहरूसित लड्‌नुपर्ने भयो। यहोवालाई बलि चढाउन र थप निर्देशनहरू प्राप्त गर्न तिनी नआएसम्म पर्खनू भनेर शमूएलले शाऊललाई भनेका थिए। तर शमूएल आउनुपर्ने दिनसम्ममा पनि नआएपछि शाऊलका मानिसहरू तितरवितर हुन थाले। त्यो देखेर शाऊलले नै “होमबलि चढाए।” यो, यहोवालाई प्रसन्‍न तुल्याउने काम थिएन। शमूएल आइपुगेपछि, तिनी समयमा नआएकोले परमेश्‍वरको निगाह पाउन आफैले होमबलि चढाउन ‘करै लाग्यो’ भनेर शाऊलले आज्ञा पालन नगर्नुको निहुँ बनाए। राजा शाऊलको लागि, शमूएलको पर्खनू भन्‍ने निर्देशन पालन गर्नुभन्दा बलि चढाउनु महत्त्वपूर्ण थियो। शमूएलले राजालाई यसो भने: “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन।” परमेश्‍वरले दिनुभएको आज्ञा पालन नगर्दा तिनले राजाको ओहदा नै गुमाउनुपऱ्‍यो।—१ शमूएल १०:८; १३:५-१३.

९. शाऊललाई परमेश्‍वरको आज्ञा पालन नगर्ने बानी नै बसिसकेको कुरा कसरी देखियो?

के यस अनुभवबाट राजा शाऊलले पाठ सिके? अहँ, सिकेनन्‌। पछि, यहोवाले अमालेकीहरूको राष्ट्रलाई नाश गर्न शाऊललाई आज्ञा दिनुभयो। अमालेकीहरूले पहिला इस्राएलमाथि विना कारण आक्रमण गरेका थिए। शाऊलले तिनीहरूको गाइवस्तुलाई समेत छोड्‌नु हुँदैनथ्यो। तिनले परमेश्‍वरको आज्ञा पालन गर्दै “हवीलादेखि मिश्रको सीमानामा भएको शूरसम्मैका” अमालेकीहरूलाई चाहिं नाश गरे। शमूएल, राजा शाऊललाई भेट्‌न आउँदा तिनले आफू विजयी भएकोमा दंग पर्दै यसो भने: “परमप्रभुको आशिष तपाईंमा रहोस्‌। मैले परमप्रभुको आज्ञा पालन गरें।” तर शाऊल र तिनका मानिसहरूले स्पष्ट निर्देशनको बावजुद राजा अगाग र “असल असल भेडा र गाई-गोरु, मोटा मोटा पशु र पाठा र राख्ने योग्यका सबै चीजहरू बचाईराखे।” आफूले आज्ञा पालन नगर्नुको कारणबारे स्पष्टीकरण दिंदै तिनले यसो भने: “मानिसहरूले भेडा र गाई-गोरुका असल चाहिं परमप्रभु तपाईंका परमेश्‍वरका निम्ति बलिदान चढाउनलाई जोगाई राखेका हुन्‌।”—१ शमूएल १५:१-१५.

१०. शाऊलले कुन पाठ सिक्न सकेनन्‌?

१० त्यतिबेला शमूएलले शाऊललाई यसो भने: “होमबलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञापालननै रूचाउनु हुन्‍न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्‍नु साँढ-भेडाको बोसोभन्दा असल हो।” (१ शमूएल १५:२२) यहोवाले ती पशुहरू नाश गर्ने अठोट गरिसक्नुभएकोले ती बलिको रूपमा चढाउनु उहाँको लागि स्वीकार्य थिएन।

सबै कुरामा आज्ञाकारी हुनुहोस्‌

११, १२. (क) उपासनामा यहोवालाई प्रसन्‍न तुल्याउने हाम्रो प्रयासलाई उहाँ कसरी हेर्नुहुन्छ? (ख) कस्तो सोचाइ राख्नु आफैलाई धोका दिनु हो?

११ आफ्ना वफादार जनहरू सतावटको बावजुद दृढ रहिरहेको, भावशून्य मानिसहरूको बावजुद राज्यको सन्देश घोषणा गरिरहेको र पेट पालाको लागि जोहो गर्ने दबाब भए तापनि सभाहरू धाइरहेको देख्दा यहोवा कत्ति प्रसन्‍न हुनुहुन्छ! हाम्रो आध्यात्मिक जीवनका यी महत्त्वपूर्ण पक्षमा हामी आज्ञाकारी भएको देख्दा उहाँको हृदय खुसीले गद्‌गद्‌ हुन्छ। प्रेमले उत्प्रेरित भई उहाँको उपासना गर्ने हाम्रो प्रयासलाई उहाँ अनमोल ठान्‍नुहुन्छ। हाम्रो मेहनत मानिसहरूले याद नगर्लान्‌ तर हामीले हृदयदेखि चढाएका कुराहरू यहोवाको नजरबाट लुक्दैनन्‌ र उहाँले ती बिर्सनु पनि हुन्‍न।—मत्ती ६:४.

१२ तर यहोवालाई पूर्णतया प्रसन्‍न तुल्याउन हामी जीवनको हरेक पक्षमा आज्ञाकारी हुनै पर्छ। सेवाको केही पक्षमा आज्ञाकारी भएर उपासना गऱ्‍यो भने अरू कुनै-कुनै पक्षमा परमेश्‍वरले माग गरेका आवश्‍यकता पूरा नगरे पनि हुन्छ भन्‍ने सोचाइ राखेर हामीले आफूलाई कहिल्यै धोका दिनुहुँदैन। उदाहरणका लागि, परमेश्‍वरको उपासनासम्बन्धी केही कुरा गरेको खण्डमा अनैतिकता वा अन्य केही गम्भीर पापमा फसे तापनि सजाय भोग्नुपर्ने छैन भन्‍ने सोचाइ कसै-कसैले राख्न सक्छन्‌। त्यो कस्तो ठूलो गल्ती हुनेछ!—गलाती ६:७, ८.

१३. कसैले नदेखेको बेला यहोवाप्रतिको हाम्रो आज्ञाकारिताको जाँच कसरी हुन सक्छ?

१३ यसैकारण हामीले आफूलाई यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘के म आफ्नो दिनचर्यामा यहोवाको आज्ञा पालन गर्दैछु, यहाँसम्म कि एकदमै व्यक्‍तिगत जस्तो देखिने गतिविधिमा समेत?’ येशूले यसो भन्‍नुभयो: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ, औ जो सानो कुरोमा अविश्‍वासी हुन्छ, त्यो धेरैमा पनि अविश्‍वासी हुन्छ।” (लूका १६:१०) के हामी “घरभित्र” जहाँ अरूले हामीलाई देख्न सक्दैनन्‌ त्यहाँ पनि ‘सिद्ध [“निष्ठा,” NW] हृदयले हिंडडुल’ गर्दैछौं? (भजन १०१:२) हो, हामी घरभित्र हुँदा हाम्रो निष्ठाको जाँच हुन सक्छ। आजभोलि थुप्रै मुलुकमा मानिसहरूको घर-घरमा कम्प्युटर छ र छाडा दृश्‍यहरू हेर्न केही गाह्रो छैन, कम्प्युटरको माउस एक/दुइचोटि घुमाए पुग्छ। केही वर्षअघि सम्मको कुरा गर्नुपर्दा, त्यस्ता कुराहरू हेर्नको लागि अनैतिक कुराहरू देखाउने ठाउँमै जानुपर्थ्यो। के हामीले येशूका यी शब्दहरू पालन गर्नेछौं: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” हो, के हामी अनैतिक दृश्‍यहरूतिर यसो नजर घुमाउन समेत इन्कार गर्नेछौं? (मत्ती ५:२८; अय्यूब ३१:१, ९, १०; भजन ११९:३७; हितोपदेश ६:२४, २५; एफिसी ५:३-५) हिंस्रक कुराहरू भएका टिभी कार्यक्रम नि? ‘हिंसा रुचाउनेहरूलाई घृणा गर्नुहुने’ परमेश्‍वरको सोचाइसित के हाम्रो सोचाइ मेल खान्छ? (भजन ११:५, NRV) अरूले नदेख्नेगरि एक्लै हुँदा अचाक्ली रक्सी पिउनेबारे नि? बाइबलमा जँड्याह हुनुहुँदैन त भनिएकै छ तर त्यसको साथै हामी मसीहीहरूलाई ‘रक्सी धेरै नपिउन’ पनि चेतावनी दिइएको छ।—तीतस २:३; लूका २१:३४, ३५; १ तिमोथी ३:३.

१४. पैसाको मामिलामा परमेश्‍वरको आज्ञा पालन गरेको हामी कुन-कुन तरिकामा देखाउन सक्छौं?

१४ हामी होसियार हुनुपर्ने अर्को क्षेत्र पैसाको मामिलामा हो। उदाहरणका लागि, के हामी राता-रात धनी बन्‍ने योजनाहरूमा हात हाल्छौं, जुन ठग्नु बराबर हो? कर छल्नको लागि गैर-कानुनी बाटो अपनाउन लालयित हुन्छौं कि? वा हामी “तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर,” भन्‍ने आज्ञा इमानदारीपूर्वक पालन गर्छौं?—रोमी १३:७.

प्रेमद्वारा उत्प्रेरित आज्ञाकारिता

१५. तपाईं किन परमेश्‍वरको आज्ञा पालन गर्नुहुन्छ?

१५ परमेश्‍वरका सिद्धान्तहरू पालन गर्दा इनाम पाइन्छ। उदाहरणका लागि, धूम्रपानबाट अलग रहँदा, नैतिक जीवन बिताउँदा र रगतको पवित्रतालाई आदर गर्दा हामी केही रोगहरूबाट बच्न सक्छौं। साथै, जीवनका अन्य पक्षमा बाइबल सत्यअनुरूप जीवन बिताउँदा हामीले आर्थिक तवरमा र घर तथा समाजमा पनि फाइदा उठाउन सक्छौं। (यशैया ४८:१७) त्यस्तो स्पष्टै देखिने फाइदाहरूलाई अवश्‍यै पनि आशिष्‌को रूपमा लिन सकिन्छ र यसले परमेश्‍वरको व्यवस्था व्यावहारिक छ भनेर प्रमाणित गर्छ। तैपनि यहोवाको आज्ञा पालन गर्नुको मुख्य कारण उहाँप्रतिको प्रेम नै हो। हामी आफ्नो स्वार्थ पूर्ति गर्न मात्र परमेश्‍वरको सेवा गर्दैनौं। (अय्यूब १:९-११; २:४, ५) कोप्रति आज्ञाकारी हुने भनेर छनौट गर्ने स्वतन्त्रता परमेश्‍वरले हामीलाई दिनुभएको छ। हामी यहोवाको आज्ञा पालन गर्न चाहन्छौं किनभने हामी उहाँलाई प्रसन्‍न तुल्याउन चाहन्छौं र सही कुरा गर्ने प्रयास गर्छौं।—रोमी ६:१६, १७; १ यूहन्‍ना ५:३.

१६, १७. (क) येशूले परमेश्‍वरप्रतिको गहिरो प्रेमले गर्दा आज्ञाकारी भएको कसरी देखाउनुभयो? (ख) हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?

१६ यहोवाप्रतिको गहिरो प्रेमले गर्दा उहाँप्रति आज्ञाकारी हुने सन्दर्भमा येशूले सिद्ध उदाहरण बसाल्नुभयो। (यूहन्‍ना ८:२८, २९) येशूले पृथ्वीमा हुनुहुँदा ‘आफूले भोगेको शासनाद्वारा आज्ञा पालन गर्न सिक्नुभयो।’ (हिब्रू ५:८, ९) कसरी? उहाँ “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, [र] क्रूसको [“शासनाको खम्बा,” NW] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:७, ८) येशूले स्वर्गमा आफ्नो आज्ञाकारिताको प्रमाण दिई सक्नुभएको थियो, तैपनि पृथ्वीमा उहाँको आज्ञाकारिताको थप जाँच भयो। येशू आफ्ना आध्यात्मिक भाइहरू र अन्य विश्‍वासी मानिसजातिको खातिर प्रधान पूजाहारीको हैसियतमा सेवा गर्न हर तरिकामा योग्य हुनुहुन्छ भनी हामी निश्‍चित हुन सक्छौं।—हिब्रू ४:१५; १ यूहन्‍ना २:१, २.

१७ हामी नि? परमेश्‍वरको इच्छाअनुसार गर्नुलाई पहिलो स्थान दिने सन्दर्भमा हामी येशूको अनुकरण गर्न सक्छौं। (१ पत्रुस २:२१) परमेश्‍वरप्रतिको प्रेमको कारण उहाँको आज्ञाअनुसार गर्न उत्प्रेरित हुँदा हामी व्यक्‍तिगत तवरमा सन्तुष्टी पाउन सक्छौं। दबाब वा प्रलोभनको समयमा समेत हामी उहाँको आज्ञाअनुसार गर्न उत्प्रेरित हुन्छौं। (रोमी ७:१८-२०) यसमा, साँचो उपासनामा अगुवाइ लिइरहेकाहरू असिद्ध नै भए तापनि तिनीहरूको निर्देशन पालन गर्नु समावेश छ। (हिब्रू १३:१७) हामीले व्यक्‍तिगत जीवनमा ईश्‍वरीय आज्ञाहरू पालन गर्नु यहोवाको नजरमा बहुमूल्य छ।

१८, १९. परमेश्‍वरप्रतिको प्रेमले ओतप्रोत भई उहाँका सम्पूर्ण आज्ञा पालन गर्दा के नतिजा पाउँछौं?

१८ आज, परमेश्‍वरको आज्ञा पालन गर्नुमा आफ्नो निष्ठा कायम राख्न सतावट भोग्नु पनि समावेश हुन सक्छ। (प्रेरित ५:२९) साथै, प्रचार गर्ने र सिकाउने काम सम्बन्धी परमेश्‍वरको आज्ञा पालन गर्नुमा यस रीतिरिवाजको अन्तसम्म स्थिर रहनु समावेश छ। (मत्ती २४:१३, १४; २८:१९, २०) यस संसारको बोझले दबिएको महसुस भए तापनि सँगी भाइहरूसित एक साथ भेला भइरहन हामीलाई धैर्यताको खाँचो पर्छ। यी क्षेत्रहरूमा आज्ञाकारी हुन हामीले गरिरहेको प्रयासबारे परमेश्‍वर अनभिज्ञ हुनुहुन्‍न। तर पूर्णतया आज्ञाकारी हुन आफ्नो असिद्ध शरीरसित संघर्ष गर्नुपर्छ र असल कुराहरूलाई प्रेम गर्दै खराबीबाट टाढै रहनुपर्छ।—रोमी १२:९.

१९ यहोवाप्रतिको प्रेमले गर्दा र कृतज्ञताले ओतप्रोत भई उहाँको सेवा गर्दा यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) उचित बलिदानहरू आवश्‍यक कुरा त हुन्‌ नै, त्यसका साथै ती लाभदायी पनि छन्‌। तर यहोवालाई सबैभन्दा प्रसन्‍न तुल्याउने कुरा त उहाँप्रति प्रेमले ओतप्रोत भई उहाँका सम्पूर्ण आज्ञा पालन गर्नु नै हो।—हितोपदेश ३:१, २. (w 07 6/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीले यहोवालाई दिनसक्ने केही कुरा छ भनेर हामी किन भन्‍न सक्छौं?

• शाऊलले कस्ता गल्तीहरू गरे?

• बलिदानभन्दा आज्ञा पालन उत्तम हो भनी तपाईं विश्‍वास गर्नुहुन्छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

• यहोवाको आज्ञा पालन गर्न तपाईंलाई कुन कुराले उत्प्रेरित गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

राजा शाऊलदेखि यहोवा किन अप्रसन्‍न हुनुभयो?