सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी “आश्‍चर्य रीतिले” बनिएका छौं

हामी “आश्‍चर्य रीतिले” बनिएका छौं

हामी “आश्‍चर्य रीतिले” बनिएका छौं

“म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।”—भजन १३९:१४.

१. सुझबुझ भएका थुप्रै मानिसहरू पृथ्वीमा भएका अचम्मलाग्दो सृष्टिहरूको श्रेय किन परमेश्‍वरलाई नै जानुपर्छ भन्छन्‌?

 प्रकृतिमा हामी अद्‌भुत सृष्टिहरू प्रशस्तै देख्छौं। तिनीहरू कसरी अस्तित्वमा आए? बुद्धिमान्‌ सृष्टिकर्तालाई समावेशै नगरीकन पनि यसको जवाफ पाउन सकिन्छ भन्‍ने मानिसहरू पनि छन्‌। अरू चाहिं, यस सन्दर्भमा सोचविचारै नगरी सृष्टिकर्तालाई समावेश नगर्दा हामी प्रकृतिलाई बुझ्न सक्दैनौं भन्छन्‌। तिनीहरूको विचारमा पृथ्वीका सृष्टिहरू एकदमै जटिल, विविध र अझ भन्‍नुपर्दा, ती संयोगले अस्तित्वमा आयो भन्‍नै नमिल्ने गरी अद्‌भुत छन्‌। केही वैज्ञानिक लगायत थुप्रै मानिसहरू प्रमाणहरूको आधारमा ब्रह्‍माण्डको बुद्धिमानी, शक्‍तिशाली र भलो चाहनुहुने सृजनहार हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। a

२. कुन कुराले गर्दा दाऊद यहोवाको प्रशंसा गर्न उत्प्रेरित भए?

अद्‌भुत सृष्टिको लागि सृजनहार प्रशंसाको योग्य हुनुहुन्छ भनी प्राचीन इस्राएलका राजा दाऊद पनि विश्‍वस्त भएका थिए। हुन त दाऊदको समयमा विज्ञानको क्षेत्रमा आज जस्तो प्रगति भएको थिएन तैपनि आफू वरपर परमेश्‍वरका सृजनशील कामहरू प्रशस्तै छन्‌ भनेर तिनले बुझेका थिए। परमेश्‍वरको सृजनात्मक क्षमतालाई देखेर श्रद्धाले ओतप्रोत हुन दाऊदले आफ्नै शरीर हेरे मात्र पुग्थ्यो। तिनले यस्तो लेखे: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१४.

३, ४. यहोवाका कामहरूबारे हामी प्रत्येकले गहिरिएर सोच्नु किन महत्त्वपूर्ण छ?

दाऊदले गहिरिएर मनन गरेको कारण तिनी यसरी विश्‍वस्त हुन सके। आज, स्कूलका किताब तथा सञ्चार माध्यममा मानिसको सुरुआतबारे हाम्रो विश्‍वासलाई तहसनहस पार्ने शिक्षाहरू प्रशस्तै पाइन्छन्‌। दाऊदको जस्तै विश्‍वास बनाउन हामीले पनि गहिरिएर सोच्नै पर्छ। विशेष गरी, सृष्टिकर्ताको अस्तित्व र सबै कुराको सृष्टिमा उहाँको भूमिका जस्तो महत्त्वपूर्ण विषयमा अरूले जे विश्‍वास गर्छन्‌, त्यसकै पछि लाग्नु बुद्धिमानी कुरा होइन।

साथै, परमेश्‍वरको कामहरूलाई मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम र कृतज्ञता अझ बलियो हुन्छ र उहाँले प्रतिज्ञा गर्नुभएको भावी जीवनप्रति विश्‍वस्त हुन सक्छौं। अनि यसले यहोवालाई अझ राम्ररी चिन्‍न र उहाँको सेवा गर्न हामीलाई उत्प्रेरित गर्न सक्छ। त्यसकारण हामी “आश्‍चर्य रीतिले” बनिएका छौं भन्‍ने दाऊदको निष्कर्षलाई आधुनिक विज्ञानले कसरी पुष्टि गर्छ, आउनुहोस्‌ हामी हेरौं।

हाम्रो उदेकलाग्दो शारीरिक विकास

५, ६. (क) हामी सबैको जीवनको सुरुआत कसरी भयो? (ख) मिर्गौलाले कस्तो काम गर्छ?

“तपाईंलेनै मेरो अन्तस्करण“मिर्गौला,” NW] बनाउनुभयो। तपाईंले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो।” (भजन १३९:१३) हामी सबैको सुरुआत आमाको गर्भमा सियोको टुप्पोभन्दा पनि सानो एउटा कोषबाट हुन्छ। माइक्रोस्कोपको मदतले मात्र देख्न सकिने यो कोष एकदमै जटिल हुन्छ। यो त एउटा सानो रासायनिक कारखाना नै हो! यो एकदमै चाँड-चाँडो बढ्‌छ। आमाको गर्भमा रहेको दोस्रो महिनाको अन्तसम्ममा त शरीरका मुख्य-मुख्य अंगहरू बनिसकेका हुन्छन्‌। तीमध्ये मिर्गौला एउटा हो। जन्मिंदासम्ममा त मिर्गौलाले रगतबाट विषाक्‍त पदार्थ र बढी भएको पानी हटाउने तर आवश्‍यक तत्त्वहरू चाहिं बचाएर रगत सफा गर्ने काम थालिसकेको हुन्छ। दुइटै मिर्गौलाले राम्ररी काम गर्छ भने यसले एक वयस्क व्यक्‍तिमा, रगतमा हुने पानी प्रत्येक ४५ मिनेटमा पाँच लिटरको दरले फिल्टर गरिरहन्छ।

रगतमा खनिज तत्त्वको मात्रा, अम्लीयपन र रक्‍तचापलाई नियन्त्रणमा राख्न पनि मिर्गौलाले मदत गर्छ। मिर्गौलाले उचित तरिकामा हड्डीको विकास गर्न भिटामिन डी-लाई आवश्‍यक तत्त्वमा परिणत गर्ने र रगतमा राता रक्‍त कोषहरूको उत्पादन बढाउन इरिथ्रोपोइटिन हर्मोन बनाउने जस्ता अन्य महत्त्वपूर्ण काम पनि गर्छ। यसकारण मिर्गौलालाई “शरीरको मुख्य रसायनविद्‌” भन्‍नु छक्कलाग्दो कुरा होइन! b

७, ८. (क) गर्भमा बच्चाको सुरु-सुरुतिर हुने विकासबारे बताउनुहोस्‌। (ख) बच्चाको विकास “पृथ्वीको सबैभन्दा तल्लो भागमा” हुन्छ भनेर कुन अर्थमा भन्‍न सकिन्छ?

“जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिंदैथिएँ, तब मेरा हड्डीहरू तपाईंबाट लुकेका थिएनन्‌।” (भजन १३९:१५) त्यो सुरुको कोष विभाजन हुन्छ र त्यसबाट बनिएका नयाँ कोषहरू पनि विभाजन भइरहन्छन्‌। कोषहरू चाँडै स्नायु कोष, मांशपेसीको कोष, छालाको कोष आदि-इत्यादि खास-खास काम गर्ने कोषहरूमा छुट्टिन थाल्छ। उस्तै प्रकारको काम गर्ने कोषहरू मिलेर तन्तु बन्छ अनि तन्तुहरू मिलेर अंग बन्छ। उदाहरणका लागि, गर्भ रहेको तेस्रो हप्ताको दौडान अस्थिपञ्जर बनिन थाल्छ। बच्चा गर्भमा रहेको सात हप्ता पुग्दा-नपुग्दै र उसको लम्बाइ बूढी-औंलाको आधी जति मात्र हुँदा नै वयस्कको शरीरमा हुने २०६ वटा विभिन्‍न हड्डीहरूले आकार लिन थालिसकेको हुन्छ। यति हो कि ती हड्डीहरू कडा चाहिं भइसकेका हुँदैनन्‌।

यी सबै उदेकलाग्दो विकास आमाको पेटभित्रै हुन्छ, मानौं पृथ्वीको सबैभन्दा तल्लो भागमा गुप्तमा बनिएझैं। वास्तवमा, शारीरिक विकास कसरी हुन्छ भनेर सबै कुरा मानिसलाई थाह भइसकेको छैन। उदाहरणका लागि, खास-खास कामको लागि कोषहरू छुट्टिन जीनहरूलाई केले सक्रिय पार्छ? पछि गएर विज्ञानले यस विषयमा पत्ता त लगाउला तर दाऊदले यसपछिको शास्त्रपदमा बताएझैं हाम्रा सृजनाहार यहोवालाई यसबारे सबै कुरा पहिलादेखि नै थाह छ।

९, १०. भ्रूणको विकास कसरी परमेश्‍वरको “पुस्तकमा . . . लेखिएको” हुन्छ?

“मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१६) त्यो सुरुको कोषमा नै तपाईंको शरीरको लागि सम्पूर्ण योजना तयार भइसकेको हुन्छ। यसै योजनाअनुसार नै तपाईं नौ महिना आमाको गर्भमा रहँदा र त्यसपछि तपाईंको हुर्कने-बढ्‌ने समय अर्थात्‌ बीस वर्षभन्दा बढी समयसम्म तपाईंको शारीरिक विकास भइरहन्छ। त्यस विकासको दौडान तपाईंको शरीरमा थुप्रै परिवर्तनहरू हुन्छन्‌ र ती सबै त्यो सुरुको कोषमा भएको जानकारीअनुसार नै हुन्छन्‌।

१० दाऊदलाई कोष र जीनहरूबारे केही पनि थाह थिएन साथै तिनको समयमा माइक्रोस्कोप पनि थिएन। तर तिनले आफ्नो शरीरमा भएको विकास हेरेर ती पहिल्यै तयार पारिएको योजनाअनुसार हुन्छ भनेर सही बुझेका थिए। भ्रूणहरू कसरी विकास हुन्छन्‌ भनेर दाऊदलाई थाह थियो होला, त्यसैले त प्रत्येक कुरा पहिल्यै तयार पारिएको डिजाइन र समयतालिका अनुसारै हुनुपर्छ भनी तिनले तर्क गर्न सके। तिनले यो डिजाइन परमेश्‍वरको “पुस्तकमा . . . लेखिएका थिए” भनी बताए।

११. हाम्रा शारीरिक गुणहरू केले निर्धारण गरेको हुन्छ?

११ आमाबाबु र बाजेबराजुबाट जन्मजात पाउने गुण—जस्तै: उचाइ, अनुहार, आँखा र केशको रंग आदि जीनले निर्धारण गर्छ भनी आज प्रायलाई थाह छ। एउटा कोषमा हजारौं जीनहरू हुन्छन्‌ र प्रत्येक जीन डि एन ए-को (डिअक्सिराइबो न्युक्लेइक एसिड) एउटा भाग हो। शरीर निर्माणको लागि चाहिने निर्देशन डि एन ए-भित्र रासायनिक संरचनामा “लेखिएको” हुन्छ। नयाँ कोषहरू बनिन वा पुरानोको ठाउँमा नयाँ कोष बन्‍न हरेक चोटि कोष विभाजन हुँदा तपाईंको डि एन ए-ले ती निर्देशनहरू नयाँ कोषमा सार्छ जसले गर्दा मानिस जीवित रहिरहन सक्छ र पहिलाको रूपरंगमा परिवर्तन आउँदैन। स्वर्गमा हुनुहुने हाम्रो सृष्टिकर्ताको शक्‍ति र बुद्धिको कस्तो विशिष्ट उदाहरण!

हाम्रो बेजोड दिमाग

१२. कुन विशेष तरिकामा मानिस पशुभन्दा बेग्लै छ?

१२ “हे परमेश्‍वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्‌। तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गने भने, ती बालुवाका संख्याभन्दा बढी छन्‌।” (भजन १३९:१७, १८क) पशुहरू पनि आश्‍चर्य रीतिले बनिएका छन्‌। केहीको कुनै-कुनै इन्द्रिय मानिसको भन्दा तीक्ष्ण छ र क्षमतामा पनि तिनीहरूमध्ये कुनै-कुनै मानिस भन्दा माथि छन्‌। तर परमेश्‍वरले मानिसलाई दिनुभएको दिमाग पशुहरूको भन्दा कता हो कता श्रेष्ठ छएउटा विज्ञान पुस्तकमा यस्तो लेखिएको छ, “मानिस र पशुमा थुप्रै समानताहरू भए तापनि भाषा र सोच्ने क्षमताको सन्दर्भमा पृथ्वीमा पाइने अन्य जीवित प्राणीहरूभन्दा हामी विशिष्ट छौं। आफैबारे जान्‍ने खुलदुलीको कारण पनि हामी विशिष्ट छौं। जस्तै: हाम्रो शरीरको डिजाइन कसरी हुन्छ? हामी कसरी बनियौं?” दाऊदले पनि यस्तै प्रश्‍नहरूमाथि गौर गरेको हुन सक्छ।

१३. (क) दाऊदले परमेश्‍वरको विचारबारे कसरी मनन गर्न सके? (ख) हामी दाऊदको उदाहरण कसरी पछ्याउन सक्छौं?

१३ पशुहरूको तुलनामा हामी विशिष्ट हुनुको सबैभन्दा महत्त्वपूर्ण कारण परमेश्‍वरको विचारबारे मनन गर्न सक्ने हाम्रो क्षमता हो। c हामी ‘परमेश्‍वरकै स्वरूपमा’ बनिएका छौं भन्‍नुको एउटा कारण यो विशेष वरदानले गर्दा पनि हो। (उत्पत्ति १:२७) दाऊदले यस वरदानको सदुपयोग गरे। परमेश्‍वरको अस्तित्व र आफू वरपर देखिने उहाँका असल गुणहरूबारे तिनले मनन गरे। दाऊदसित परमेश्‍वरले उहाँ र उहाँका कामहरूबारे प्रकाश पार्नुभएको पवित्र धर्मशास्त्रका सुरु-सुरुका पुस्तकहरू पनि थियो। परमेश्‍वरबाट प्रेरित भएर लेखिएका ती पुस्तकहरूले दाऊदलाई परमेश्‍वरको विचार, व्यक्‍तित्व र उद्देश्‍य बुझ्न मदत गऱ्‍यो। ती पुस्तकहरू, सृष्टि र परमेश्‍वरले तिनीसित गर्नुभएको व्यवहारबारे मनन गर्दा दाऊद सृष्टिकर्ताको प्रशंसा गर्न उत्प्रेरित भए।

कस्तो विश्‍वास चाहिन्छ

१४. परमेश्‍वरमा विश्‍वास गर्न किन हामीले उहाँबारे सबै कुरा थाह पाउनु आवश्‍यक छैन?

१४ दाऊदले सृष्टि र धर्मशास्त्रमा जति धेरै मनन गरे, त्यति नै तिनले परमेश्‍वरको ज्ञान र उहाँको क्षमताको सबै पक्ष बुझ्न आफ्नो क्षमताले भ्याउँदैन भनी बुझे। (भजन १३९:६) हाम्रो कुरा पनि त्यस्तै हो। हामी परमेश्‍वरको सृजनात्मक कार्यहरूबारे सबै कुरा कहिल्यै बुझ्न सक्दैनौं। (उपदेशक ३:११; ८:१७) तर परमेश्‍वरले बाइबल र प्रकृति मार्फत उहाँबारे जान्‍नु पर्ने प्रशस्त कुरो ‘प्रकट गर्नुभएको’ छ जसले गर्दा सत्यको खोजी गर्ने कुनै पनि युगको मानिस प्रमाणमा आधारित विश्‍वासलाई स्वीकार्न सक्षम हुन्छन्‌।—रोमी १:१९, २०; हिब्रू ११:१, ३.

१५. विश्‍वास र परमेश्‍वरसितको हाम्रो सम्बन्ध कसरी सम्बन्धित छ, उदाहरणसहित बताउनुहोस्‌।

१५ विश्‍वास गर्नु भनेको जीवन र ब्रह्‍माण्डको एक जना बुद्धिमान्‌ सृष्टिकर्ता हुनुपर्छ भनी मानिलिनु मात्र होइन। यसमा यहोवा परमेश्‍वरलाई एक व्यक्‍ति ठानी उहाँमा भरोसा गर्नु समावेश छ र उहाँ यस्तो व्यक्‍ति हुनुहुन्छ जो हामीले उहाँलाई चिनोस्‌ र उहाँसित असल सम्बन्ध कायम राखोस्‌ भन्‍ने चाहनुहुन्छ। (याकूब ४:८) एक बच्चाले आफ्नो मायालु बुबामाथि राख्ने विश्‍वास र भरोसाबारे हामी विचार गर्न सक्छौं। समस्याको घडीमा बुबाले मदत गर्छन्‌ कि गर्दैनन्‌ भनेर कोही शंकालु व्यक्‍तिले प्रश्‍न गर्दा उसले ती व्यक्‍तिलाई आफ्नो बुबा भरोसायोग्य हुनुहुन्छ भनी विश्‍वस्त त पार्न नसक्ला। तर आफ्नो बुबा एक असल व्यक्‍ति हुनुहुन्छ भनेर थाह पाइसकेको छ भने उसलाई बुबाले निराश पार्ने छैनन्‌ भनेर ऊ विश्‍वस्त हुन भने सक्छ। त्यस्तै गरी, बाइबल पढेर, उहाँको सृष्टिमा मनन गरेर, साथै आफ्नो प्रार्थनाको जवाफ पाएको अनुभवहरूबाट यहोवालाई चिनेपछि तपाईं उहाँमा भरोसा राख्न उत्प्रेरित हुनुहुनेछ। यसले गर्दा हामी उहाँबारे अझ धेरै जान्‍न अनि निःस्वार्थ भाव र भक्‍तिका साथ सदासर्वदा उहाँको प्रशंसा गर्न उत्प्रेरित हुन्छौं। कुनै पनि व्यक्‍तिको लागि योभन्दा राम्रो लक्ष्य अरू कुन हुन सक्ला र?—एफिसी ५:१, २.

सृष्टिकर्ताको डोऱ्‍याइ खोज्नुहोस्‌!

१६. यहोवासितको दाऊदको घनिष्ठ सम्बन्धबाट हामी के सिक्न सक्छौं?

१६ “हे परमेश्‍वर, जाँच्नुहोस्‌, र मेरो हृदय बुझ्नुहोस्‌, मलाई खार्नुहोस्‌, र मेरा विचारहरू जान्‍नुहोस्‌। र हेर्नुहोस्‌, ममा दुराचरण केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोऱ्‍याउनु होस्‌।” (भजन १३९:२३, २४) यहोवाले तिनलाई राम्ररी जान्‍नुभएको छ अर्थात्‌ तिनको विचार, तिनले भनेको कुरा र कार्य केही पनि सृष्टिकर्ताको नजरबाट लुकेको छैन भनेर दाऊदलाई थाह थियो। (भजन १३९:१-१२; हिब्रू ४:१३) परमेश्‍वरले नजिकबाट जान्‍नुहुन्छ भन्‍ने थाह भएकोले दाऊदले यस्तो सुरक्षा पाएको महसुस गर्न सके जसरी एक सानो बालकले आफ्नो मायालु बुबा-आमाको काखमा सुरक्षित महसुस गर्छ। दाऊदले यहोवासितको यो घनिष्ठ सम्बन्धको मोल गर्थे र उहाँको कार्यबारे मनन गरेर र उहाँलाई प्रार्थना गरेर त्यो सम्बन्ध कायम राखिराख्न सक्दो कोसिस गर्थे। साँच्चै भन्‍ने हो भने, दाऊदले रचेका भजन १३९ लगायत अन्य थुप्रै प्रार्थना वास्तवमा संगीतबद्ध गरिएका भजनहरू हुन्‌। त्यसै गरी मनन र प्रार्थनाले हामीलाई पनि परमेश्‍वरको नजिक हुन मदत गर्छ।

१७. (क) दाऊद किन यहोवाले तिनको हृदय जाँच्नुभएको चाहन्थे? (ख) आफ्नो स्वतन्त्र इच्छा चलाउने तरिकाले हाम्रो जीवनलाई कसरी असर गर्छ?

१७ परमेश्‍वरकै स्वरूपमा बनाइएको हुनाले हामीलाई स्वतन्त्र इच्छा दिइएको छ। हामी असल वा खराब कार्य गर्ने छनौट गर्न सक्छौं। यो स्वतन्त्रता सँगसँगै नैतिक जिम्मेवारीको कुरा आउँछ। दाऊद दुष्टहरूमध्ये गनिन चाहँदैन थिए। (भजन १३९:१९-२२) पीडादायी नतिजा ल्याउने गल्तीहरू गर्नदेखि तिनी टाढै रहन चाहन्थे। तसर्थ, परमेश्‍वरको सर्वव्यापी ज्ञानबारे मनन गर्दा दाऊदले आफ्ना भित्री भावनाहरू जाँचून्‌ र जीवनतर्फ डोऱ्‍याउने मार्गमा डोऱ्‍याऊन्‌ भनी परमेश्‍वरलाई नम्रतापूर्वक बिन्ती गरे। परमेश्‍वरका धार्मिक नैतिक स्तरहरू सबैलाई लागू हुन्छ। त्यसैले हामीले पनि सही छनौटहरू गर्नुपर्छ। परमेश्‍वर हामी सबैलाई उहाँको आज्ञा पालन गर्न आग्रह गर्नुहुन्छ। यसो गर्दा हामीले उहाँको निगाह र थुप्रै लाभ पाउँछौं। (यूहन्‍ना १२:५०; १ तिमोथी ४:८) प्रत्येक दिन यहोवा सँगसँगै हिंड्‌दा हामीले एकदमै दुःखदायी समस्याको सामना गर्नुपर्दा समेत मनोशान्ति पाउन सक्छौं।—फिलिप्पी ४:६, ७.

अद्‌भुत सृष्टिकर्ताको पछि लाग्नुहोस्‌!

१८. सृष्टिबारे मनन गर्दा दाऊद कस्तो निष्कर्षमा पुगे?

१८ जवान छँदा दाऊद प्रायजसो समय आफ्नो बगालको गोठालो गर्दै बाहिरै हुन्थे। भेडाहरू निहुरिएर चरिरहँदा तिनी चाहिं माथि आकाशतिर आँखा उठाएर हेर्थे। रातको चकमन्‍न अन्धकारमा दाऊदले ब्रह्‍माण्डको भव्यता र ती सबैले कस्तो अर्थ राख्छ भनी मनन गरे। तिनले यस्तो लेखे: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ, दिनले दिनसँग बात गर्छ, र रातले रातलाई ज्ञान सिकाउँछ।” (भजन १९:१, २) सबै कुरा यस्तो आश्‍चर्य रीतिले बनाउनुहुनेको खोजी गर्नुपर्छ र उहाँको पछि लाग्नुपर्छ भनेर दाऊदले बुझे। हामीले पनि त्यसै गर्नुपर्छ।

१९. आफू “आश्‍चर्य रीतिले” बनिएको छु भनी जानेर जवान र बूढा सबैले के-कस्ता पाठ सिक्न सक्छन्‌?

१९ दाऊदका छोरा सुलेमानले जवानहरूलाई यस्तो सल्लाह दिएका थिए: “युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌। . . . परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१, १३) यसको राम्रो उदाहरण दाऊद थिए। दाऊदले आफ्नो युवावस्थामै आफू “आश्‍चर्य रीतिले” बनिएको छु भनी बुझिसकेका थिए। यस अन्तरदृष्टि अनुसार जीवन बिताउँदा तिनले जिन्दगीभर थुप्रै लाभ उठाए। जवान-बूढा हामी सबैले महान्‌ सृष्टिकर्ताको प्रशंसा र सेवा गऱ्‍यौं भने अहिलेको जीवन र भावी जीवन आनन्दमय हुनेछ। यहोवाको नजिक हुने र उहाँको धार्मिक तौरतरिकाअनुसार जीवन बिताउनेहरूको सन्दर्भमा बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्‌, र तिनीहरू ताजा र हरिया रहन्छन्‌, र घोषणा गर्छन्‌, ‘परमप्रभु भला हुनुहुन्छ।’ ” (भजन ९२:१४, १५, NRV) अनि हामीले सृष्टिकर्ताको उदेकलाग्दा कार्यहरूबाट सदा-सदाको लागि आनन्द उठाउने आशा पाउनेछौं। (w 07 6/15)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित अक्टोबर-डिसेम्बर २००६ अंकको ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

b सेप्टेम्बर ८, १९९७ अंकको ब्यूँझनुहोस्‌!-मा “तपाईंको मिर्गौला—जीवन धान्‍ने चाल्नी” भन्‍ने लेख पनि हेर्नुहोस्‌।

c भजन १३९:१८ख मा दाऊदले लेखेका शब्दहरूको अर्थ, राती नसुतेसम्म दिनभरि र बिहान उठेदेखि नै परमेश्‍वरका विचारहरू गन्दा पनि सिद्धिएको हुँदैन भन्‍ने हुन सक्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामी “आश्‍चर्य रीतिले” बनिएका छौं भन्‍ने कुरा भ्रूणको विकास हुने तरिकाबाट कसरी देखिन्छ?

• यहोवाका विचारबारे हामीले किन मनन गर्नुपर्छ?

• विश्‍वास र यहोवासितको हाम्रो सम्बन्ध कसरी सम्बन्धित छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

गर्भमा बच्चाको विकास पहिल्यै तयार पारिएको डिजाइनअनुसार हुन्छ

डि एन ए

[स्रोत]

Unborn fetus: Lennart Nilsson