सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इजकिएलको पुस्तकका विशेषताहरू—भाग २

इजकिएलको पुस्तकका विशेषताहरू—भाग २

यहोवाको वचन जीवित छ

इजकिएलको पुस्तकका विशेषताहरू—भाग २

यो ईसापूर्व ६०९ डिसेम्बर महिनाको कुरा हो। बेबिलोनी राजाले यरूशलेमलाई अन्तिम चोटि घेरा लगाउन सुरु गरिसकेका छन्‌। बेबिलोनको निर्वासनमा रहेकाहरूलाई इजकिएलले अहिलेसम्म एउटै विषयमा मात्र सन्देश दिइरहेका छन्‌। त्यो हो, तिनीहरूको प्यारो सहर यरूशलेमको विनाशबारे। तर अब भने इजकिएलको भविष्यवाणी परमेश्‍वरका जनहरूमाथि विपत्ति आइपर्दा रमाउने मूर्तिपूजक राष्ट्रहरूतर्फ मोडिन्छ। अठाह्र महिनापछि यरूशलेमको विनाश हुँदा इजकिएलको भविष्यवाणी फेरि नयाँ विषयमा केन्द्रित हुन्छ। त्यो हो, साँचो उपासनाको महिमित पुनर्स्थापनाबारे।

इजकिएल २५:१–४८:३५ मा इस्राएलका छिमेकी राष्ट्रहरू र परमेश्‍वरका जनहरूको उद्धारबारे भविष्यवाणीहरू पाइन्छन्‌। a इजकिएल २९:१७-२० बाहेक बाँकी सबै विवरण कालक्रम र प्रसंगअनुसार छन्‌। तर यी चार वटा पद चाहिं कालक्रमअनुसार नभई मिश्र विरुद्धको भविष्यवाणीसित सम्बन्धित छ। इजकिएलको पुस्तक प्रेरित धर्मशास्त्रकै भाग भएकोले यसको सन्देश “जीवित र प्रबल” छ।—हिब्रू ४:१२.

‘त्यो जमिन अदनको बगैंचाजस्तै हुनेछ’

(इजकिएल २५:१–३९:२९)

अम्मोन, मोआब, एदोम, पलिश्‍ती, टायर र सीदोनले यरूशलेमको विनाशलाई कसरी लिनेछन्‌ भन्‍ने कुरा पहिल्यै बुझिसकेकोले यहोवाले इजकिएललाई तिनीहरू विरुद्ध भविष्यवाणी गर्न लगाउनुहुन्छ। मिश्र देश स्वाहा हुनेछ। “मिश्र देशको राजा फिरऊन र त्यसका दललाई” देवदारको रूखसित तुलना गरिएको छ जसलाई “बाबेलको राजाको तरवार[ले]” ढाल्नेछ।—इजकिएल ३१:२, ३, १२; ३२:११, १२.

ईसापूर्व ६०७ मा यरूशलेम विनाश भएको झन्डै छ महिनापछि, त्यहाँबाट भागेर आएका एउटा मानिसले इजकिएललाई यस्तो भन्छन्‌: “शहर दुश्‍मनले लियो”! अब अगमवक्‍ता इजकिएल निर्वासनमा रहेकाहरूका लागि “गूङ्‌गा” रहँदैनन्‌। (इजकिएल ३३:२१, २२) तिनले पुनस्थार्पना सम्बन्धी भविष्यवाणीहरू गर्नुपर्नेछ। यहोवाले “तिनीहरूको हेरचाह गर्नलाई [उहाँको] दास दाऊदलाई गोठाला नियुक्‍त” गर्नुहुनेछ। (इजकिएल ३४:२३) एदोम उजाड हुनेछ तर यहूदा भने “अदनको बगैंचाजस्तै” हुनेछ। (इजकिएल ३६:३५) यहोवाले आफ्ना पुनर्स्थापित जनलाई ‘गोगको’ आक्रमणबाट बचाउने प्रतिज्ञा गर्नुहुन्छ।—इजकिएल ३८:२.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

२९:८-१२—मिश्र कहिले ४० वर्षसम्म उजाड रह्‍यो? ईसापूर्व ६०७ मा यरूशलेमको विनाशपछि अगमवक्‍ता यर्मियाले यहूदामा बाँकी रहेकाहरूलाई मिश्रमा नभाग्नू भन्‍ने चेतावनी दिंदादिंदै पनि तिनीहरू त्यहीं भागे। (यर्मिया २४:१, ८-१०; ४२:७-२२) तर तिनीहरू बेबिलोनीहरूबाट भाग्न सफल भएनन्‌ किनभने नबूकदनेसरले मिश्रलाई पनि आक्रमण गरेर कब्जामा लियो। त्यसपछि नै मिश्र ४० वर्षसम्म उजाड रहेको हुन सक्छ। संसारका इतिहासमा यसको कुनै प्रमाण नभेट्टिए तापनि यो साँच्चै भएको थियो भनी हामी विश्‍वस्त हुन सक्छौं किनभने यहोवा भविष्यवाणी पूरा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।—यशैया ५५:११.

२९:१८—कसरी ‘प्रत्येकको तालु खुइलियो र काँध दलिंदा दलिंदा पिल्सियो’? टायरका भित्री भागहरू कब्जा गर्न एकदमै गाह्रो र कष्टदायी भएकोले नबूकदनेसरका सेनाहरूको टाउको टोपमा रगडिएर तालु नै खुइलियो र तिनीहरूको काँध पनि धरहरा र किल्लाको लागि आवश्‍यक निर्माण सामग्रीहरू बोक्दा-बोक्दा दलिएर पिल्सियो।—इजकिएल २६:७-१२.

हाम्रो लागि पाठ:

२९:१९, २०. टायरका बासिन्दाहरू टापूमाथि बसालिएको आफ्नो सहरबाट भाग्दा आफ्नो प्रायः सबै धनसम्पत्ति लिएर गए। त्यसैले नबूकदनेसरको हातमा खासै धेरै धनसम्पत्ति परेन। नबूकदनेसर घमन्डी र आफैलाई बढी महत्त्व दिने मूर्तिपूजक शासक भए तापनि यहोवाले तिनलाई तिनले गरेका सेवाको लागि ‘सेनाको ज्यालास्वरूप’ मिश्र दिनुभयो। के हामीले पनि साँचो परमेश्‍वरको अनुकरण गर्दै हाम्रो लागि सेवाहरू उपलब्ध गराउने सरकारलाई कर तिर्नुपर्दैन र? सरकारी अख्तियारवालाहरूको व्यवहार जस्तोसुकै भए तापनि र हामीले तिरेको कर जहाँसुकै खर्च गरिए तापनि हामी यस दायित्वबाट पन्छिन मिल्दैन।—रोमी १३:४-७.

३३:७-९. वर्तमान समयको पहरादार वर्ग अर्थात्‌ शेष अभिषिक्‍त जन र तिनीहरूका सँगी उपासकहरू परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र आउँदै गरेको “महा संकष्ट[बारे]” मानिसहरूलाई चेतावनी दिने कामबाट कहिल्यै पछि हट्‌नु हुँदैन।—मत्ती २४:२१.

३३:१०-२०. हाम्रो उद्धार, खराब कुराहरूबाट टाढा रहनु र परमेश्‍वरले चाहनुभएअनुसार गर्नुमा निर्भर छ। हो, यहोवाको तरिका “न्यायसंगत” छ।

३६:२०, २१. इस्राएलीहरूले “परमप्रभुको प्रजा” भन्‍ने आफ्नो चिनारीअनुसार जीवन नबिताएकोले तिनीहरूले अरू राष्ट्रहरूमाझ परमेश्‍वरको नाउँलाई अपवित्र तुल्याए। हामी कहिल्यै पनि नाउँ मात्रको उपासक हुनु हुँदैन।

३६:२५, ३७, ३८. आज हामीले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवन “पवित्र मानिसहरूका भीडले” [ NW] भरिएको छ। तसर्थ, हामीले आफूलाई स्वच्छ राख्न भरमग्दुर प्रयास गर्नुपर्छ।

३८:१-२३. यहोवा परमेश्‍वरले आफ्ना जनहरूलाई मागोग देशको गोगको आक्रमणबाट बचाउनुहुनेछ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी! गोग भनेको “यस संसारको मालिक” शैतानको नाउँ हो। यो नाउँ त्यसलाई स्वर्गबाट निकालिएपछि दिइएको थियो। मागोग देशले पृथ्वीको आसपासलाई बुझाउँछ जहाँ शैतान र त्यसका प्रेतहरू सीमित भएर बस्न बाध्य भएका छन्‌।—यूहन्‍ना १२:३१; प्रकाश १२:७-१२.

“म जे जे तँलाई देखाउनेछु सो सबै हृदयमा राख्‌”

(इजकिएल ४०:१–४८:३५)

यरूशलेम सहर विनाश भएको चौध वर्ष भइसकेको छ। (इजकिएल ४०:१) तिनीहरूले अझै ५६ वर्ष निर्वासनमा बिताउनु बाँकी नै छ। (यर्मिया २९:१०) इजकिएल ५० वर्ष पुग्नै लागेका छन्‌। एउटा दर्शनमा तिनलाई इस्राएलमा ल्याइ पुऱ्‍याइन्छ। तिनलाई यस्तो भनिन्छ: “हे मानिस, राम्ररी नियालेर हेर्‌, र ध्यानसित सुन्‌। म जे जे तँलाई देखाउनेछु सो सबै हृदयमा राख्‌।” (इजकिएल ४०:२-४) नयाँ मन्दिरको दर्शन देख्न पाउँदा इजकिएल कत्ति रोमाञ्चित भए होलान्‌!

इजकिएलले देखेको महिमित मन्दिरमा ६ वटा ढोका, ३० वटा भान्सा-कोठा, पवित्र र महापवित्र स्थान, काठको वेदी र होमबलिको लागि वेदी छन्‌। मन्दिरबाट पानीको एउटा मूल “बगिरहेको” छ। (इजकिएल ४७:१) इजकिएलले जमिन बाँडफाँड भएको दर्शन पनि पाउँछन्‌। बाँडिएको प्रत्येक जमिनको सिमाना पूर्वबाट सुरु भएर पश्‍चिमतिर गएको छ अनि यहूदा र बीन्यामीनको बीचमा पर्ने जमिनचाहिं प्रशासनको लागि छुट्याइएको छ। “परमप्रभुको पवित्रस्थान” र यहोवा-शामा नाउँ गरेको “शहर” त्यसै जमिनमा पर्छन्‌।—इजकिएल ४८:९, १०, १५, ३५.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

४०:३–४७:१२—इजकिएलले दर्शनमा देखेको मन्दिरले केको चित्रण गर्छ? इजकिएलले दर्शनमा देखेको त्यो बडेमाको मन्दिर वास्तवमा कहिल्यै बनाइएन। यसले परमेश्‍वरको आध्यात्मिक मन्दिर अर्थात्‌ हाम्रो समयमा उहाँले शुद्ध उपासनाको लागि गर्नुभएको प्रबन्धलाई चित्रण गर्छ। (इजकिएल ४०:२; मीका ४:१; हिब्रू ८:२; ९:२३, २४) “आखिरी दिन[को]” दौडान पूजाहारीवर्गलाई खार्दा मन्दिरको दर्शनको पूर्ति हुन्छ। (२ तिमोथी ३:१; इजकिएल ४४:१०-१६; मलाकी ३:१-३) तर यसको अन्तिम पूर्ति त प्रमोदवनमा हुनेछ। ख्रीष्टको हजार वर्षीय शासनको दौडान हुनेछ जब धर्मी मानिसहरूले यस प्रबन्धबाट पूरापूर लाभ उठाउन सक्ने छन्‌। तर मन्दिरको दर्शनबाट, निर्वासनमा रहेका यहूदीहरूले शुद्ध उपासनाको पुनर्स्थापना हुनेछ र प्रत्येक यहूदी परिवारले जमिन पाउनेछ भन्‍ने वाचा पनि पाए।

४०:३–४३:१७—मन्दिर नाप्नुले कस्तो अर्थ राख्छ? शुद्ध उपासनासम्बन्धी परमेश्‍वरको उद्देश्‍य पक्कै पूरा हुनेछ भन्‍ने कुरालाई यसले संकेत गर्छ।

४३:२-४, ७, —मन्दिरबाट हटाउनुपर्ने “राजाहरूका मृत-शरीर” के थियो? पक्कै पनि मृत शरीरले मूर्तिहरूलाई चित्रण गरेको हुनुपर्छ। यरूशलेमका शासक र तिनका प्रजाहरूले यहोवाको मन्दिरमा मूर्तिहरू स्थापना गरेर मन्दिरलाई प्रदूषित तुल्याएका थिए। भन्‍ने हो भने, मूर्तिहरूलाई तिनीहरूले आफ्नो राजा बनाएका थिए।

४३:१३-२०—इजकिएलले दर्शनमा देखेको वेदीले केलाई चित्रण गर्छ? लाक्षणिक वेदी भनेको येशू ख्रीष्टको छुटकाराको बलिदान सम्बन्धी परमेश्‍वरको इच्छा हो। यसै प्रबन्धको कारण अभिषिक्‍त जनहरू धर्मी ठहरिएका छन्‌ र “ठूलो भीड” परमेश्‍वरको नजरमा स्वच्छ र शुद्ध बन्‍न सकेका छन्‌। (प्रकाश ७:९-१४; रोमी ५:१, २) सायद त्यसैले होला, सुलेमानको मन्दिरमा पूजाहारीहरू नुहाउनको लागि बनाइएको “विशाल-खडकुँलो” इजकिएलले दर्शनमा देखेको मन्दिरमा थिएन।—१ राजा ७:२३-२६.

४४:१०-१६—पूजाहारी वर्गले कसलाई बुझाउँछ? पूजाहारी वर्गले हाम्रो समयका अभिषिक्‍त मसीहीहरूको समूहलाई पूर्वचित्रण गर्छ। सन्‌ १९१८ मा यहोवा आफ्नो आध्यात्मिक मन्दिरमा “खार्ने र सफा गर्ने” कामको लागि आउनुहुँदा तिनीहरूलाई निखार्ने काम भयो। (मलाकी ३:१-५) स्वच्छ रहिरहेका र पश्‍चात्ताप गरेकाहरूले त्यो विशेष सुअवसर पाइरहन सक्थे। त्यसपछि तिनीहरूले आफूलाई संसारबाट “निष्कलङ्‌क” राखिराख्न निकै मेहनत गर्नुपर्ने थियो र यसरी तिनीहरूले गैर-पूजाहारी कुलहरूले प्रतिनिधित्व गर्ने “ठूलो भीड[को]” लागि उदाहरण बसाल्न सक्थे।—याकूब १:२७; प्रकाश ७:९, १०.

४५:१; ४७:१३–४८:२९—“देश” र यसको बाँडफाँडले के बुझाउँछ? जमिन अर्थात्‌ देशले परमेश्‍वरका जनहरूको गतिविधिको क्षेत्रलाई बुझाउँछ। यहोवाको उपासक जहाँसुकै भए तापनि तिनले साँचो उपासनालाई नत्यागेसम्म तिनी पुनर्स्थापित देशमा हुनेछन्‌। देशको अन्तिम बाँडफाँड नयाँ संसारमा हुनेछ जब प्रत्येक विश्‍वासी जनले जमिन पाउनेछ।—यशैया ६५:१७, २१.

४५:७, १६—पूजाहारी र राजाको लागि मानिसहरूले दिएको सहयोगले केलाई चित्रण गर्छ? आध्यात्मिक मन्दिरमा यसले मुख्यतया आध्यात्मिक मदतलाई चित्रण गर्छ। मतलब, मदत गर्ने र सहयोगी मनोभाव देखाउने कुरालाई देखाउँछ।

४७:१-५—इजकिएलले देखेको लाक्षणिक नदीको पानीले केलाई बुझाउँछ? पानीले, यहोवाले जीवनको लागि प्रबन्ध गर्नुभएको आध्यात्मिक कुराहरूलाई बुझाउँछ। यसमा ख्रीष्ट येशूले दिनुभएको छुटकाराको बलिदान र बाइबलमा पाइने परमेश्‍वरको ज्ञान पनि पर्छ। (यर्मिया २:१३; यूहन्‍ना ४:७-२६; एफिसी ५:२५-२७) साँचो उपासना अँगाल्ने नयाँ व्यक्‍तिहरूको ठूलो संख्या अटाउन उक्‍त नदी क्रमिक रूपमा गहिरो हुँदै जान्छ। (यशैया ६०:२२) हजार वर्षीय शासनको दौडान नदीमा जीवनको लागि नभई नहुने पानी बग्नेछ र त्यस पानीमा त्यतिबेला खोलिने “पुस्तक[को]” थप समझ पनि हुनेछ।—प्रकाश २०:१२; २२:१, २.

४७:१२—फल दिने रूखले केलाई बुझाउँछ? यस लाक्षणिक रूखले मानिसजातिलाई सिद्धतातर्फ पुऱ्‍याउने परमेश्‍वरको आध्यात्मिक प्रबन्धलाई बुझाउँछ।

४८:१५-१९, ३०-३५—इजकिएलले दर्शनमा देखेको सहरले केको प्रतिनिधित्व गर्छ? यहोवा-शामा ‘जुनसुकै कामको’ [ NRV] लागि प्रयोग गरिने जमिनमा पर्छ र यसले पृथ्वीकै कुनै कुरालाई बुझाएको हुनुपर्छ। त्यस सहरले पृथ्वीमा रहेको प्रशासनलाई बुझाएको जस्तो देखिन्छ र यस प्रशासनबाट धार्मिक ‘नयाँ पृथ्वीको’ भाग बन्‍नेहरूलाई फाइदा हुन्छ। (२ पत्रुस ३:१३) सहरका चारैतिर मूलढोका हुनुले त्यहाँ सजिलै जान सक्ने कुरालाई बुझाउँछ। परमेश्‍वरका जनहरूमाझ भएका निरीक्षकहरू सजिलै कुरा गर्न सक्ने खालको हुनुपर्छ।

हाम्रो लागि पाठ:

४०:१४, १६, २२, २६. मन्दिरको ढोकामा खोपेर बनाइएको खजूरको बोटको चित्रले नैतिक तवरमा निष्ठावान्‌हरू मात्र मन्दिरमा प्रवेश गर्न पाउने कुरालाई चित्रण गर्छ। (भजन ९२:१२) हामी निष्ठावान्‌ छौं भने मात्र यहोवाले हाम्रो उपासनालाई ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा यसबाट सिक्न सक्छौं।

४४:२३. वर्तमान समयका पूजाहारी वर्गले उपलब्ध गराएका सेवाहरूका लागि हामी कत्ति कृतज्ञ हुन सक्छौं! यहोवाको नजरमा के शुद्ध र के अशुद्ध भनी छुट्याउन मदत गर्नको लागि “विश्‍वासी र बुद्धिमान दास[ले]” हामीलाई समय सुहाउँदो आध्यात्मिक भोजनको प्रबन्ध गरिदिन्छन्‌।—मत्ती २४:४५.

४७:९, ११. ज्ञान—लाक्षणिक पानीको महत्त्वपूर्ण भाग हो। यसले हाम्रो समयमा निको पार्ने गजबको काम गरिरहेको छ। जहाँसुकैको मानिसले यो पानी पिए तापनि तिनी आध्यात्मिक तवरमा जीवित हुन्छन्‌। (यूहन्‍ना १७:३) अर्कोतर्फ, जीवनको पानी नस्वीकार्ने मानिसहरूलाई ‘नून’ दिइनेछ अर्थात्‌ तिनीहरू सदाको लागि विनाश हुनेछन्‌। त्यसैले ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्नको लागि’ प्रयत्न गर्नु कत्ति महत्त्वपूर्ण छ!—२ तिमोथी २:१५.

“म मेरो महान्‌ नाउँलाई पवित्र पार्नेछु”

दाऊदको वंशको अन्तिम राजालाई हटाएपछि साँचो परमेश्‍वरले सिंहासनमाथि “अधिकार” भएको व्यक्‍ति नआइपुगुञ्जेल लामो समय बित्न दिनुभयो। तर उहाँले दाऊदसँगको करार भने तोड्‌नुभएन। (इजकिएल २१:२७; २ शमूएल ७:११-१६) इजकिएलको भविष्यवाणीमा “मेरो दास दाऊद” भनिएको छ जो “गोठालो” र “राजा” बन्‍ने थिए। (इजकिएल ३४:२३, २४; ३७:२२, २४, २५) उक्‍त व्यक्‍ति पक्कै पनि राज्य शक्‍ति पाउनुभएका येशू ख्रीष्ट नै हुनुहुन्छ। (प्रकाश ११:१५) यहोवाले “[उहाँको] महान्‌ नाउँ” मसीही राज्य मार्फत “पवित्र” तुल्याउनुहुनेछ।—इजकिएल ३६:२३.

अब चाँडै नै, परमेश्‍वरको पवित्र नाउँलाई अपवित्र तुल्याउनेहरूले विनाश भोग्ने छन्‌। तर यहोवालाई स्वीकार्य तरिकामा उपासना गरेर उहाँको नाउँ पवित्र तुल्याउनेहरूले अनन्त जीवन पाउनेछन्‌। त्यसैकारण हाम्रो समयमा प्रशस्त गरी बगिरहेको जीवनको पानीको पूरापूर फाइदा उठाऔं र साँचो उपासनालाई हाम्रो जीवनको मुख्य भाग बनाऔं। (w 07 8/1)

[फुटनोट]

a इजकिएल १:१–२४:२७ को छलफलको लागि जुलाई १, २००७ अंकको प्रहरीधरहरा-मा “इजकिएलको पुस्तकका विशेषताहरू—भाग १” हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको चित्र]

इजकिएलले दर्शनमा देखेको महिमित मन्दिर

[पृष्ठ १०-मा भएको चित्र]

इजकिएलले दर्शनमा देखेको जीवनको पानीले केको प्रतिनिधित्व गर्छ?

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.