सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ?

के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ?

के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ?

“मृत्युसम्मको पाप पनि हुन्छ।”—१ यूहन्‍ना ५:१६.

१, २. परमेश्‍वरको पवित्र आत्मा विरुद्ध पाप हुन सक्छ भनी हामी कसरी भन्‍न सक्छौं?

 “पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने चिन्ताले म व्याकुल छु।” जर्मनीकी एक महिलाले यस्तो लेखिन्‌। हुन त तिनले परमेश्‍वरको सेवा गरी नै रहेकी थिइन्‌। के कुनै मसीहीले परमेश्‍वरको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍ति विरुद्ध साँच्चै पाप गर्न सक्छ?

हो, यहोवाको पवित्र आत्मा विरुद्ध पाप हुन सक्छ। येशू ख्रीष्टले यसो भन्‍नुभयो: “हरेक पाप र परमेश्‍वरको निन्दा मानिसहरूलाई क्षमा हुनेछ। तर पवित्र आत्माको विरुद्धका निन्दा क्षमा हुनेछैन।” (मत्ती १२:३१) सत्यको सही “ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौं भनेता पापहरूका निम्ति दण्डको भयानक प्रतीक्षा[बाहेक] . . . फेरि कुनै बलिदान बाँकी रहँदैन” भनी हामीलाई चेतावनी दिइएको छ। (हिब्रू १०:२६, २७) अनि प्रेरित यूहन्‍नाले यस्तो लेखे: “मृत्युसम्मको पाप पनि हुन्छ।” (१ यूहन्‍ना ५:१६) तर “मृत्युसम्मको पाप” गरेको छ कि छैन, निधो गर्ने जिम्मा चाहिं गम्भीर पाप गर्ने व्यक्‍तिकै हो?

पश्‍चाताप गर्नाले क्षमा पाइन्छ

३. आफूले गरेको पापको लागि भित्रैदेखि दुःखी छौं भने हामीले साँच्चै के गरिरहेका हुन सक्छौं?

गल्ती गर्नेहरूको अन्तिम न्याय यहोवाले नै गर्नुहुन्छ। वास्तवमा हामी सबैले उहाँलाई लेखा दिनै पर्छ र उहाँले सधैं उचित न्याय गर्नुहुन्छ। (उत्पत्ति १८:२५; रोमी १४:१२) हामीले अक्षम्य अर्थात्‌ क्षमा गर्न नसकिने पाप गरे/नगरेको निधो यहोवाले गर्नुहुन्छ र हामीबाट पवित्र आत्मा हटाउने कि नहटाउने, त्यो निर्णय पनि उहाँले नै गर्नुहुन्छ। (भजन ५१:११) तथापि, यदि आफूले गरेको पापको लागि भित्रैदेखि दुःखी छौं भने चाहिं साँचो पश्‍चाताप गरिरहेका हुन सक्छौं। तर साँचो पश्‍चाताप भनेको के हो?

४. (क) पश्‍चातापको परिभाषा कसरी दिनुहुन्छ? (ख) भजन १०३:१०-१४ बाट कस्तो सान्त्वना पाउँछौं?

पश्‍चाताप गर्नु भनेको विगतमा गरेको वा गर्न लागेको गलत कार्यप्रति आफ्नो मनोवृत्ति परिवर्तन गर्नु हो। मतलब, दुःखी महसुस गर्नु वा पछुतो गर्नु र गलत मार्गबाट हट्‌नु हो। यदि हामीले गम्भीर पाप गरेका छौं र साँचो पश्‍चाताप देखाउन आवश्‍यक कदमहरू चालेका छौं भने, भजनहारका यी शब्दहरूबाट सान्त्वना पाउन सक्छौं: “उहाँले [यहोवाले] हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ। किनकि पृथ्वीबाट स्वर्ग जति अल्गो छ। उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्‍चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।”—भजन १०३:१०-१४.

५, ६. पहिलो यूहन्‍ना ३:१९-२२ को मुख्य भाव के हो र प्रेरित यूहन्‍नाका शब्दहरूको अर्थ खुलाउनुहोस्‌।

प्रेरित यूहन्‍नाका यी शब्दहरू पनि सान्त्वनादायी छन्‌: “यसैमा हामी जान्दछौं कि हामी सत्यका [हौं], र जुन कुरामा हाम्रो हृदयले हामीलाई दोष लाउँछ, त्यस विषयमा हामीले हाम्रो हृदयलाई परमेश्‍वरको सामने निश्‍चय गराऔं। किनभने परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ। हे प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिंदैन भनेता हामीलाई परमेश्‍वरतर्फ साहस हुन्छ। औ हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं, र उहाँको दृष्टिमा मनपर्ने कुराहरू गर्छौं।”—१ यूहन्‍ना ३:१९-२२.

हामी “जान्दछौं कि हामी सत्यका [हौं]” किनभने हामी भ्रातृ-प्रेम देखाउँछौं र पाप गरी रहँदैनौं। (भजन ११९:११) यदि केही कारणले गर्दा दोषी महसुस भएमा “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ” भन्‍ने कुरा सम्झनु बेस हुन्छ। यहोवा हामीलाई कृपा देखाउनुहुन्छ किनभने हामीले भाइप्रति देखाएको “निष्कपट प्रेम,” पाप विरुद्ध हाम्रो संघर्ष र उहाँको इच्छाबमोजिम चल्न गरेको प्रयास उहाँलाई थाह छ। (१ पत्रुस १:२२) यदि यहोवामा भरोसा राख्यौं, भ्रातृप्रेम देखायौं र जानाजानी पाप गरिरहेनौं भने हृदयले “हामीलाई दोष” दिनेछैन। हामीलाई “परमेश्‍वरतर्फ साहस” हुनेछ, मतलब प्रार्थनामा परमेश्‍वरसित खुलेर कुरा गर्न सक्नेछौं र उहाँले जवाफ दिनुहुनेछ किनभने हामी उहाँका आज्ञा पालन गर्छौं।

तिनीहरूले पवित्र आत्मा विरुद्ध पाप गरे

७. कुनै पाप क्षमा पाउन सकिने किसिमको हो कि होइन भन्‍ने कुरा केको आधारमा निधो गरिन्छ?

कस्ता पाप अक्षम्य हुन्‌? यस प्रश्‍नको जवाफ पाउन आउनुहोस्‌, बाइबलका केही उदाहरण विचार गरौं। गम्भीर गल्तीको लागि पश्‍चाताप गरिसकेर पनि अझै दुःखी भावनाबाट मुक्‍त हुन सकिरहेको छैन भने ती उदाहरणबाट सान्त्वना पाउन सक्छौं। कुनै पाप क्षमा दिन सकिने खालको हो कि होइन भन्‍ने कुराको निधो, कस्तो किसिमको पाप गरिएको छ त्यसको आधारमा मात्र नभई दोषी व्यक्‍तिको मनसाय, हृदयको अवस्था र उसले कुन हदसम्म पश्‍चाताप गर्ने इच्छा राखेको छ त्यसको आधारमा गरिन्छ भनी हामी बुझ्नेछौं।

८. प्रथम शताब्दीका केही यहूदी धार्मिक नेताहरूले कसरी पवित्र आत्मा विरुद्ध पाप गरे?

द्वेष राखी येशूको विरोध गर्ने प्रथम शताब्दीका यहूदी धार्मिक नेताहरूले पवित्र आत्मा विरुद्ध पाप गरिरहेका थिए। येशूले यहोवाको महिमा हुने चमत्कारहरू गर्नुहुँदा परमेश्‍वरको पवित्र आत्मा उहाँमा भएको प्रमाण तिनीहरूले देखेका थिए। तरैपनि, येशूका ती बैरीहरूले त्यो चमत्कारी शक्‍ति शैतानबाटको हो भने। येशूको भनाइअनुसार, यसरी परमेश्‍वरको पवित्र आत्माको निन्दा गर्नेहरूले “यस जगत्‌मा वा आउने जगत्‌मा” समेत क्षमा नपाउने पाप गरिरहेका थिए।—मत्ती १२:२२-३२.

९. निन्दा भनेको के हो र यसबारे येशूले के भन्‍नुभयो?

निन्दा भनेको अरूको अपमान र हानि गर्ने बोली वा गाली हो। पवित्र आत्माको स्रोत परमेश्‍वर हुनुभएकोले यसको विरुद्ध बोल्नु भनेको उहाँकै विरुद्ध बोल्नु बराबर हो। पश्‍चाताप नगरी यस्तो बोली बोलिरहनु अक्षम्य पाप हो। यस्तै पापबारे येशूले भन्‍नुभएका शब्दहरूबाट के स्पष्ट हुन्छ भने जानाजानी परमेश्‍वरका पवित्र आत्माको कामको विरोध गर्नेहरूलाई नै उहाँले संकेत गरिरहनु भएको थियो। किनभने परमेश्‍वरको पवित्र आत्माले येशूमा काम गरिरहेको ती विरोधीहरूले देख्दा-देख्दै पनि त्यो शक्‍ति शैतानबाटको हो भन्दै त्यस शक्‍तिको निन्दा गरेर पाप गरे। त्यसैले येशूले यसो भन्‍नुभयो: “जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्ला त्यो कदापि क्षमा हुनेछैन, तर त्यो अनन्त पापकर्मको दोषी ठहर्छ।”—मर्कूस ३:२०-२९.

१०. येशूले यहूदालाई किन “विनाशको छोरो” भन्‍नुभयो?

१० यहूदा इस्करयोतीबारे पनि विचार गर्नुहोस्‌। तिनले आफूलाई राख्न दिइएको पैसाको थैलीबाट चोरेर बेइमानी गरे। (यूहन्‍ना १२:५, ६) पछि तिनी यहूदी शासकहरूकहाँ सुटुक्क गए र चाँदीको ३० टुक्राको लागि येशूलाई धोका दिए। हो, धोका दिइसकेपछि यहूदालाई दुःख त लाग्यो तर जानाजानी गरेको त्यस पापको लागि पश्‍चाताप भने पटक्कै गरेनन्‌। फलतः तिनी पुनरुत्थान हुन योग्यको रहेनन्‌। त्यसैले येशूले तिनलाई “विनाशको छोरो” भन्‍नुभयो।—यूहन्‍ना १७:१२; मत्ती २६:१४-१६.

तिनीहरूले पवित्र आत्मा विरुद्ध पाप गरेनन्‌

११-१३. बेतशेबासित राजा दाऊदले कस्तो पाप गरे र यहोवाले तिनीहरूसित गर्नुभएको व्यवहारबाट हामी कस्तो सान्त्वना पाउँछौं?

११ आफूले गरेको गम्भीर पाप स्वीकारिसकेका र मण्डलीका प्राचीनहरूबाट आध्यात्मिक मदत पाइसकेका मसीहीहरू समय-समयमा अझै पनि विगतमा आफूले परमेश्‍वरको व्यवस्था उल्लंघन गरेको कुरा सम्झेर चिन्तित हुन सक्छन्‌। (याकूब ५:१४) यदि हामी पनि यस्तै अवस्थामा छौं भने पाप क्षमा भइसकेकाहरूबारे बाइबलले के भन्छ त्यसलाई विचार गरेर अवश्‍यै लाभ उठाउन सक्नेछौं।

१२ राजा दाऊदले उरियाहकी पत्नी बेतशेबासित गम्भीर पाप गरे। नुहाइरहेकी ती सुन्दरी स्त्रीलाई आफ्नो महलको कौसीबाट देखेपछि दाऊदले तिनलाई आफूकहाँ ल्याउन लगाए र शारीरिक सम्बन्ध राखे। पछि बेतशेबा गर्भवती भएको थाह पाएपछि आफ्नो त्यो पाप ढाकछोप गर्न उरियाहलाई पत्नी बेतशेबासित सुत्न लगाउने चाल चले। त्यो योजना असफल भएपछि षड्यन्त्र रचेर उरियाहलाई युद्धमा मार्न लगाए। त्यसपछि, बेतशेबा दाऊदकी पत्नी भइन्‌ र एउटा छोरो जन्माइन्‌ तर त्यो बाँचेन।—२ शमूएल ११:१-२७.

१३ दाऊद र बेतशेबाको मामिलालाई यहोवाले सँभाल्नुभयो। परमेश्‍वरले दाऊदको साँचो पश्‍चाताप र तिनीसित बाँधेको राज्यको करार जस्ता कुरालाई ध्यानमा राख्नुहुँदै तिनको पाप क्षमा गर्नुभएको हुन सक्छ। (२ शमूएल ७:११-१६; १२:७-१४) बेतशेबाले पनि अवश्‍यै पश्‍चातापी मनोवृत्ति देखाएकी हुनुपर्छ। त्यसैले त तिनले राजा सुलेमानकी आमा र येशू ख्रीष्टका पुर्खा बन्‍ने सुअवसर पाइन्‌। (मत्ती १:१, ६, १६) यदि पाप गरेका छौं भने यहोवा हाम्रो पश्‍चातापी मनोवृत्तिलाई याद गर्नुहुन्छ भनेर हामीले भुल्नु हुँदैन।

१४. परमेश्‍वर क्षमा दिनमा उदार हुनुहुन्छ भन्‍ने कुरा राजा मनश्‍शेको मामिलामा कसरी देखियो?

१४ यहोवा क्षमा गर्नमा उदार हुनुहुन्छ भन्‍ने कुरा यहूदाका राजा मनश्‍शेको मामिलामा पनि देखिन्छ। तिनले यहोवाको दृष्टिमा जे खराब छ त्यही गरे। तिनले बाल देवताको वेदी खडा गरे, “आकाशका सारा तारा-मण्डलका” पूजा गरे र परमप्रभुको भवनका दुवै चोकमा झूटा देवताहरूका लागि वेदी समेत बनाए। आफ्ना छोराहरूलाई आगोमा होम गरे, भूत-प्रेत खेलाउन हौसला दिए अनि यहूदा र यरूशलेमका बासिन्दालाई “परमप्रभुले . . . नाश गरेका जातिहरू भन्दा पनि धेरै ज्यादा कुपथमा” हिंडाए। परमेश्‍वरका अगमवक्‍ताहरूले दिएका चेतावनीलाई तिनले वास्ता गरेनन्‌। अन्ततः अश्‍शूरका राजाले तिनलाई कैदी बनाए। कैदमा छँदा तिनले पश्‍चाताप गरे र नम्र भई परमेश्‍वरलाई प्रार्थना गरिरहे। त्यसपछि, परमेश्‍वरले तिनलाई क्षमा गर्नुभयो अनि यरूशलेमको राजगद्दीमा फेरि राख्नुभयो र त्यहाँ तिनले साँचो उपासनालाई अघि बढाए।—२ इतिहास ३३:२-१७.

१५. प्रेरित पत्रुसको जीवनमा घटेको कुन घटनाले यहोवा “प्रशस्त गरी” क्षमा दिनुहुन्छ भनेर देखाउँछ?

१५ सयौं वर्षपछि, प्रेरित पत्रुसले येशूलाई इन्कार गरेर गम्भीर पाप गरे। (मर्कूस १४:३०, ६६-७२) तर यहोवाले तिनलाई “प्रशस्त गरी क्षमा” गर्नुभयो। (यशैया ५५:७) किन? किनभने पत्रुसले साँचो पश्‍चाताप गरे। (लूका २२:६२) परमेश्‍वरले तिनलाई क्षमा गर्नुभयो भन्‍ने कुरा येशूलाई इन्कार गरेको ५० दिनपछि पेन्तिकोसको दिनमा देखियो जतिबेला तिनले येशूबारे निडर भई साक्षी दिने सुअवसर पाए। (प्रेरित २:१४-३६) आज साँचो पश्‍चाताप गर्ने मसीहीहरूप्रति चाहिं परमेश्‍वर कम क्षमाशील हुनुहुन्छ भनेर शंका गर्न सकिने के कुनै कारण छ र? भजनहारले यसरी गाए: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनुसक्छ र? तर . . . तपाईंसित क्षमा पनि छ।”—भजन १३०:३, ४.

पाप गरें कि भन्‍ने चिन्तालाई हटाउने

१६. हामीले के गऱ्‍यौं भने यहोवाले क्षमा दिनुहुन्छ?

१६ पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने चिन्तालाई हटाउन भर्खरै छलफल गरेका उदाहरणहरूबाट हामीले मदत पाउनुपर्ने हो। पश्‍चाताप गर्ने पापीहरूलाई यहोवा क्षमा गर्नुहुन्छ भनी ती उदाहरणले देखाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरलाई इमानदारीसाथ प्रार्थना गर्नु हो। यदि पाप गरेका छौं भने येशूको छुटकाराको बलिदान, यहोवाको कृपा, जन्मजात पाएको असिद्धता र विश्‍वासीपूर्वक गरेको सेवाको आधारमा क्षमा माग्न सक्छौं। यहोवा कत्ति अनुग्रही हुनुहुन्छ भन्‍ने कुरा थाह पाएकोले उहाँले क्षमा दिनुहुन्छ भनी विश्‍वस्त भई क्षमा माग्न सक्छौं।—एफिसी १:७.

१७. पाप गरेका छौं र आध्यात्मिक मदत चाहिएको छ भने के गर्नुपर्छ?

१७ पाप गरेका छौं र आफ्नो पापको कारण आध्यात्मिक तवरमा बिरामी परेकोले प्रार्थना गर्न सकेका छैनौं भने नि? यस सन्दर्भमा चेला याकूबले यस्तो लेखे: “[त्यस्ता व्यक्‍तिले] मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌। औ विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।”—याकूब ५:१४, १५.

१८. मण्डलीबाट बहिष्कार गरिएको व्यक्‍तिको पाप पनि अक्षम्य छ भन्‍नु किन मिल्दैन?

१८ पाप गर्ने व्यक्‍तिले त्यति बेला पश्‍चाताप नगरेकोले उनलाई मण्डलीबाट बहिष्कार गरिएको छ भने पनि तिनको पाप अक्षम्य छ भन्‍नु मिल्दैन। पाप गरेर मण्डलीबाट बहिष्कार गरिएको कोरिन्थका एक अभिषिक्‍त मसीहीबारे पावलले यस्तो लेखे: “त्यस्तालाई धेरै जसोबाट दिइएको यो सजाय यथेष्ट छ। कि बरु उल्टा तिमीहरूले अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन्‌ बढता शोकले चुर्लुम्म डुब्नेछ।” (२ कोरिन्थी २:६-८; १ कोरिन्थी ५:१-५) तर आध्यात्मिक तवरमा पुनर्स्थापित हुनको लागि पाप गर्ने व्यक्‍तिले मसीही प्राचीनहरूबाट पाएको बाइबल आधारित आध्यात्मिक मदत स्वीकार्नुपर्छ र साँचो पश्‍चाताप गरेको प्रमाण दिनुपर्छ। तिनीहरूले “पश्‍चाताप योग्यका फल” फलाउनै पर्छ।—लूका ३:८.

१९. हामी कसरी ‘विश्‍वासमा पक्का’ रहन सक्छौं?

१९ पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने सोचाइ आउनुको कारण के हुन सक्छ? चाहिएको भन्दा बढी कर्तव्यबोध हुनु वा शारीरिक कमजोरी नै त्यसको कारण हुन सक्छ। यस्तो बेला, प्रार्थनाका साथै थप आराम गर्नु मदतकारी हुन सक्छ। विशेष गरी, परमेश्‍वरको सेवालाई नै लत्याउने हदसम्म पुग्ने गरी हामीलाई हतोत्साहित पार्ने मौका शैतानलाई दिनुहुँदैन। दुष्टको मृत्यु भएकोमा यहोवा रमाउनुहुन्‍न। त्यसैले आफ्नो सेवक गुमाउँदा उहाँ आनन्दित अवश्‍यै हुनुहुन्‍न। तसर्थ, पवित्र आत्मा विरुद्ध पाप गरें कि भन्‍ने चिन्ताले सताएमा परमेश्‍वरको वचनबाट भजनको पुस्तक जस्ता सान्त्वनादायी भागहरूलगायत अन्य भाग पढ्‌न छोड्‌नुहुँदैन। मण्डलीका सभाहरू धाइरहनुपर्छ र राज्यको प्रचारकार्यमा भाग लिइरहनुपर्छ। यसो गर्दा हामी ‘विश्‍वासमा पक्का’ रहन सक्नेछौं र अक्षम्य पाप हुने हो कि भन्‍ने चिन्ताको घेराबाट मुक्‍त हुनेछौं।—तीतस २:२.

२०. कुनै व्यक्‍तिले पवित्र आत्माको विरुद्ध पाप गरेको छैन भनी बुझ्न तिनलाई कुन तर्कले मदत गर्न सक्छ?

२० पवित्र आत्माको विरुद्ध पाप गरें कि भनी चिन्तित हुनेहरूले आफैलाई यी प्रश्‍न सोध्न सक्छन्‌: ‘के मैले पवित्र आत्माको निन्दा गरेको छु? के मैले आफ्नो पापको लागि साँच्चै पश्‍चाताप गरेको छु? परमेश्‍वर क्षमाशील हुनहुन्छ भनेर के मलाई विश्‍वास लाग्छ? के म आध्यात्मिक ज्योतिलाई अस्वीकार गर्ने धर्मत्यागी हुँ?’ सायद यस्ता व्यक्‍तिहरूले आफूले परमेश्‍वरको पवित्र आत्माको निन्दा गरेको छैन र आफू धर्मत्यागी पनि होइन भन्‍ने कुरा थाह पाउनेछन्‌। तिनीहरूले पश्‍चाताप गरेका छन्‌ र यहोवा क्षमाशील हुनुहुन्छ भन्‍ने अटल विश्‍वास पनि तिनीहरूमा छ। त्यसो हो भने, तिनीहरूले परमेश्‍वरको पवित्र आत्मा विरुद्ध पाप गरेका छैनन्‌।

२१. अर्को लेखमा कुन प्रश्‍नहरू विचार गरिनेछ?

२१ आफूले पवित्र आत्मा विरुद्ध पाप गरेको छैन भनी ढुक्क हुन पाउँदा कत्ति राहत मिल्छ! तर पवित्र आत्मासित सम्बन्धित प्रश्‍नहरू अर्को लेखमा विचार गरिनेछ। उदाहरणका लागि, आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छौं: ‘के म साँच्चै परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइमा चल्दैछु? के मेरो जीवनमा पवित्र आत्माको फल फलेको देखिन्छ? (w07 7/15)

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• पवित्र आत्मा विरुद्ध पाप हुन सक्छ भनेर किन भन्‍न सक्छौं?

• पश्‍चाताप गर्नुको अर्थ के हो?

• येशू पृथ्वीमा हुनुहुँदा कसले पवित्र आत्मा विरुद्ध पाप गरे?

• अक्षम्य पाप गरें कि भन्‍ने चिन्तालाई कसरी हटाउन सकिन्छ?

[प्रश्‍नहरू]