सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?

“परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:२१.

१, २. (क) मानिसहरू केको लागि ठूल्ठूला त्यागहरू गर्न तयार हुन्छन्‌? (ख) मसीहीहरूले कस्ता चुनौती र खतराहरूको सामना गर्नै पर्छ?

 युगौंदेखि विभिन्‍न ठाउँका मानिसहरूले भौतिक धनसम्पत्ति हासिल गर्नकै लागि भनेर मरिमेटेका छन्‌। उदाहरणका लागि, १९ औं शताब्दीमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, क्यानाडा र अमेरिकामा सुन भेटिएपछि टाढा-टाढादेखि मानिसहरू त्यहाँ सुन खोज्न ओइरिए। तिनीहरू आफ्नो घर-परिवार र प्रियजन केही नभनी विरानो र कहिलेकाहीं शत्रुतापूर्ण व्यवहार गर्ने ठाँउमा पनि धनको खोजी गर्न हिंडे। हो, थुप्रै मानिस आफूले चाह गरेको धन प्राप्त गर्न जस्तोसुकै खतरा मोल्न र जस्तोसुकै त्याग गर्न पनि तयार हुन्छन्‌।

आज अधिकांश मानिसहरू त्यसरी सुन खोज्न नै भनेर त हिंडेका छैनन्‌ तर तिनीहरूले जीवनको लागि जोहो गर्न कडा मेहनत गर्नुपर्छ। यस वर्तमान रीतिरिवाजमा गुजारा चलाउनु चुनौतीपूर्ण, समय खर्चिनुपर्ने, प्रयास लाउनुपर्ने र बोझिलो हुन सक्छ। खाने, लाउने र बस्ने कुरामै एकदम व्यस्त भएर महत्त्वपूर्ण कुरालाई सजिलै बेवास्ता गर्न वा बिर्सन सक्छ। (रोमी १४:१७) येशूले बताउनुभएको दृष्टान्तले यस मानव झुकावको सही वर्णन गरेको छ। यो दृष्टान्त हामी लूका १२:१६-२१ मा पढ्‌न सक्छौं।

३. लूका १२:१६-२१ मा येशूले बताउनुभएको दृष्टान्त छोटकरीमा बताउनुहोस्‌।

हामीले अघिल्लो लेखमा अलि विस्तृत तवरमा छलफल गरेको विषय अर्थात्‌ लालच गर्नदेखि होसियार हुनुपर्ने कुरा र अब छलफल गरिन लागेको दृष्टान्त येशूले एउटै समयमा बताउनुभएको थियो। लालचबारे चेतावनी दिनुभएपछि येशूले असल-असल कुराहरूले भरिएको आफ्नो ढुकुटीसँग सन्तुष्ट नभएका धनी मानिसबारे बताउनुभयो जसले अझ धेरै अनाज र सम्पत्ति राख्न आफ्नो ढुकुटी भत्काएर ठूलो बनाए। तिनले अब चाहिं म आरामसित बसेर आनन्द उपभोग गर्छु भनेर सोच्न थालेकै बेला परमेश्‍वरले तिनलाई तिनको आयु अब सिद्धियो र तिनले थुपारेका असल कुराहरूको मजा अरूले नै उठाउनेछ भनी भन्‍नुभयो। त्यसपछि येशूले दृष्टान्त यसो भन्दै टुंग्याउनुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।” (लूका १२:२१) हामीले यस दृष्टान्तबाट कस्तो पाठ सिक्न सक्छौं? यसबाट सिकेको पाठ कसरी आफ्नो जीवनमा लागू गर्न सक्छौं?

दोधारमा परेका मानिस

४. येशूको दृष्टान्तका मानिस कस्तो प्रकारका थिए भनी हामी भन्‍न सक्छौं?

येशूको यो दृष्टान्त थुप्रै देशका मानिसहरूलाई थाह छ। येशूले दृष्टान्तलाई एकदमै सरल तरिकामा यसरी सुरु गर्नुभएको हामी याद गर्न सक्छौं: “कुनै एउटा धनी मानिसको जमीनले प्रशस्त उब्जनी दिन्थ्यो।” ती मानिसले जालझेल वा गैरकानुनी काम गरेर धन आर्जन गरे भनी येशूले भन्‍नुभएन। अर्को शब्दमा भन्‍ने हो भने, तिनलाई खराब मान्छेको रूपमा चित्रण गरिएको छैन। वास्तवमा येशूले भन्‍नुभएको कुराबाट दृष्टान्तका ती मानिसले कडा मेहनत गरेका थिए भन्‍न सकिन्छ। तिनले त्यसरी भविष्यको लागि योजना बनाएर जोगाउनु आफ्नो परिवारको हितको लागि नै हुनुपर्छ भनेर त हामी कम-से-कम बुझ्न सक्छौं। त्यसैले संसारको नजरमा त तिनी आफ्ना जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने मेहनती मानिस ठहरिन सक्छन्‌।

५. येशूको दृष्टान्तको मानिस कस्तो दोधारमा परे?

जेहोस्‌, येशूले दृष्टान्तका ती मानिसलाई धनी मानिस भन्‍नुभयो। मतलब, तिनीसित भौतिक कुरा प्रशस्त थियो। तर येशूले भन्‍नुभएझैं तिनी दोधारमा परेका थिए। तिनको जमिनमा सोचेभन्दा एकदमै धेरै, सम्हाल्नै नसक्ने गरी उब्जनी भयो। तिनले के गर्नुपर्थ्यो?

६. परमेश्‍वरका थुप्रै सेवकले आज कस्ता छनौटहरू गर्नुपर्ने हुन्छ?

आज यहोवाका थुप्रै सेवकले ती धनी मानिससित मिल्दोजुल्दो परिस्थितिको सामना गर्छन्‌। साँचो मसीहीहरू इमानदार, लगनशील र कर्तव्यनिष्ठ बन्‍ने प्रयास गर्छन्‌। (कलस्सी ३:२२, २३) तिनीहरू जागिरमा होस्‌ वा आफ्नै व्यवसायमा, अक्सर राम्रो गर्छन्‌ र निकै सफल समेत हुन्छन्‌। प्रमोसन पाउँदा वा अन्य नयाँ-नयाँ अवसरहरू आउँदा तिनीहरूले निर्णय गर्नुपर्ने हुन्छ। प्रमोसन खाएर अझ धेरै पैसा कमाउने हो कि? त्यसै गरी थुप्रै जवान साक्षीहरूले स्कूलको पढाइमा निकै राम्रो गर्छन्‌। फलस्वरूप, तिनीहरूले उच्च शिक्षाको लागि नाउँ चलेका कलेज वा विश्‍वविद्यालयहरूमा छात्रवृत्ति पनि पाउन सक्छन्‌। छात्रवृत्ति स्वीकार्ने कि, के गर्ने?

७. येशूको दृष्टान्तका मानिसले दोधारमा पर्दा के गरे?

फेरि येशूको दृष्टान्तलाई विचार गरौं। ढुकुटीमै नअटाउने गरी मनग्गे उब्जनी हुँदा ती मानिसले के गरे? तिनले ढुकुटी भत्काएर अझ ठूलो बनाउने र सबै अनाज तथा सम्पत्ति त्यसमा राख्ने निर्णय गरे। आफ्नो यो योजनामा मख्ख पर्दै तिनले यत्ति सुरक्षित र सन्तुष्ट महसुस गरे कि मनमनै यस्तो कुरा गुने: “म आफ्नो प्राणलाई भन्‍नेछु, ‘ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्‌, खा, पी, र आनन्द गर्‌।’ ”—लूका १२:१९.

किन “मूर्ख”?

८. येशूको दृष्टान्तका मानिसले कुन महत्त्वपूर्ण कुरालाई बिर्सेका थिए?

तर येशूले भन्‍नुभएझैं ती धनी मानिसलाई आफ्नो योजनाले सुरक्षाको गलत अनुभूति मात्र प्रदान गऱ्‍यो। तिनको योजना व्यावहारिक जस्तो देखिए तापनि तिनले एउटा महत्त्वपूर्ण कुरा अर्थात्‌ परमेश्‍वरको इच्छालाई बिर्सेका थिए। कसरी आरामसित बसेर खाने, पिउने र आनन्द गर्ने भनी तिनले आफूबारे मात्र सोचे। “धेरै सम्पत्ति” भएकोले आयु पनि “धेरै वर्ष” हुनेछ भन्‍ने सोचे। तर दुःखको कुरा सोचेजस्तो भएन। येशूले पहिल्यै भन्‍नुभएझैं “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) तिनको मेहनतको जम्मै कमाइ त्यही रात अकस्मात्‌ बेकारको साबित भयो किनभने परमेश्‍वरले तिनलाई यस्तो भन्‍नुभयो: “ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस्‌ ती कसको होला?”—लूका १२:२०.

९. दृष्टान्तको मानिसलाई मूर्ख भन्‍नुको कारण के हो?

अब हामी येशूको दृष्टान्तको मुख्य भागमा पुग्छौं। परमेश्‍वरले ती मानिसलाई मूर्ख भन्‍नुभयो। एउटा युनानी शब्दकोशअनुसार (एक्सजेटिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट) यहाँ चलाइएका युनानी शब्दले “सधैं समझको कमीलाई बुझाउँछ।” यो शब्दकोशअनुसार यस दृष्टान्तमा परमेश्‍वरले “त्यो धनी मानिसले भविष्यको लागि योजना बनाउनु कत्ति व्यर्थ थियो” भनी बुझाउन यो शब्दको प्रयोग गर्नुभयो। यो शब्दले बुद्धिको कमी भएको मानिसलाई नभई “परमेश्‍वरमा भर पर्नुपर्ने कुरालाई मानि नलिने मानिसलाई” बुझाउँछ। येशूको दृष्टान्तको धनी मानिसले हामीलाई उहाँले पछि प्रथम शताब्दीमा एसिया माइनरको लाओडिसिया मण्डलीका मसीहीहरूलाई भन्‍नुभएको कुराको सम्झना दिलाउँछ: “ ‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर तिमीलाई थाह छैन कि तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्‌गा छौ।”—प्रकाश ३:१७, NRV.

१०. “धेरै सम्पत्ति” हुँदैमा “धेरै वर्ष” बाँचिन्छ भन्‍ने ग्यारेन्टी किन छैन?

१० यसबाट सिक्न सकिने पाठमा हामीले मनन गर्नुपर्छ। “धेरै सम्पत्ति” जम्मा गर्न मरिमेट्‌ने तर “धेरै वर्ष” बाँच्न पाउने आशाको लागि गर्नुपर्ने कुराको चाहिं वास्तै नगर्ने दृष्टान्तको ती मानिस जस्तै पो हामी हुने हौं कि? (यूहन्‍ना ३:१६; १७:३) बाइबल भन्छ: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन” र “आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ।” (हितोपदेश ११:४, २८) त्यसैले येशूले दृष्टान्तको अन्तमा यस्तो सल्लाह दिनुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:२१.

११. धनसम्पत्तिमा आफ्नो सारा भरोसा राख्दै त्यसैले नै सुरक्षा दिन्छ भन्‍नु किन बेकार हो?

११ येशूले “यस्तै हुन्छ” भन्‍नुको तात्पर्य, धनसम्पत्तिमा आफ्नो सारा भरोसा राख्दै त्यसले नै सुरक्षा दिन्छ भन्‍ने मानिसहरूको हविगत पनि दृष्टान्तको धनी मानिसको जस्तै हुनेछ भनेर औंल्याउनु थियो। “धन जम्मा” गर्नु नै गलत त होइन तर “परमेश्‍वरतर्फ धनी” हुन नसक्नु चाहिं गलत हो। चेला याकूबले पनि यस्तै प्रकारको चेतावनी दिए: “तिमीहरू यसो भन्‍नेहरू, ‘आज कि भोलि हामी फलानो शहरमा जाऔंला, र त्यहाँ एक वर्ष बिताऔंला, र किनबेच गरेर नाफा गरौंला।’ तर यो जान्दैनौ, कि भोलि के हुने हो।” तिनीहरूले के गर्नुपर्ने थियो? “यसको सट्टामा ता तिमीहरूले यसो भन्‍न पर्ने थियो, ‘यदि परमेश्‍वरको इच्छा भयो भने, हामी बाचौंला र यस्तो उस्तो गरौंला।” (याकूब ४:१३-१५) कुनै मानिससित जतिसुकै धन-दौलत भए तापनि तिनी परमेश्‍वरतर्फ धनी छैनन्‌ भने त्यो बेकारको हुनेछ। त्यसो भए परमेश्‍वरतर्फ धनी हुनुको अर्थ के हो?

परमेश्‍वरतर्फ धनी हुने

१२. के गर्दा हामी परमेश्‍वरतर्फ धनी हुन सक्छौं?

१२ येशूको दृष्टान्तमा परमेश्‍वरतर्फ धनी हुनु र आफ्नो लागि धनसम्पत्ति थुपार्नु बीचको भिन्‍नता छुट्टाइएको छ। त्यसैकारण येशूले जीवनमा हाम्रो मुख्य चिन्ताको विषय धनसम्पत्ति थुपार्ने वा आफूसँग भएका कुराहरूको मजा लिंदै बस्ने हुनुहुँदैन भनी बताउँदै हुनुहुन्थ्यो। बरु, हामीले आफ्ना स्रोतसाधन यस्तो तरिकामा चलाउनुपर्छ जसले गर्दा यहोवासितको हाम्रो सम्बन्ध अझ बलियो र सुदृढ हुनेछ। यसो गर्दा हामी पक्कै पनि परमेश्‍वरतर्फ धनी हुनेछौं। किन? किनभने यसो गर्दा उहाँबाट थुप्रै आशिष्‌ पाउन सक्छौं। बाइबल यसो भन्छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

१३. यहोवाको आशिष्‌ले कसरी “धन-सम्पत्ति ल्याउँछ?”

१३ यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिनुहुँदा सधैं उत्तम कुरा नै दिनुहुन्छ। (याकूब १:१७) उदाहरणका लागि, उहाँले इस्राएलीहरूलाई दिनुभएको ठाउँ “दूध र मह बग्ने देश” थियो। हुन त मिश्र देशबारे पनि त्यसै भनिन्छ। तर यहोवाले इस्राएलीहरूलाई दिनुभएको देश कम्तीमा पनि एउटा महत्त्वपूर्ण कारणले गर्दा फरक थियो। “त्यस देशको देखरेख परमप्रभु परमेश्‍वरलेनै गर्नुहुन्छ” भनी मोशाले इस्राएलीहरूलाई भने। अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूको रेखदेख यहोवा परमेश्‍वरले गर्नुहुने भएकोले तिनीहरूको फलिफाप हुनेथियो। यहोवाप्रति वफादार रहुन्जेल तिनीहरूले उहाँबाट प्रचुर मात्रामा आशिष्‌ पाए। साथै, तिनीहरूको जीवनशैली पनि छिमेकी राष्ट्रका मानिसहरूको भन्दा उत्तम थियो भनी स्पष्टै देखिन्थ्यो। हो, यहोवाको आशिष्‌ले “धन-सम्पत्ति ल्याउँछ।”—गन्ती १६:१३; व्यवस्था ४:५-८; ११:८-१५.

१४. परमेश्‍वरतर्फ धनी हुनेहरूले के-कस्ता कुराको आनन्द उठाउँछन्‌?

१४ “परमेश्‍वरतर्फ धनी” भन्‍ने अभिव्यक्‍तिलाई “परमेश्‍वरको दृष्टिमा धनी” (नयाँ संशोधित संस्करण) वा “परमेश्‍वरको नजरमा धनी” (द न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिश, जे. बि. फिलिप्स) भनेर पनि अनुवाद गरिएको छ। भौतिक तवरमा धनी मानिसहरूलाई अक्सर तिनीहरू अरू मानिसहरूको सामने कस्तो देखिएका छन्‌ भन्‍ने चिन्ता हुन्छ। यो कुरा, अक्सर तिनीहरूको जीवनशैलीमा झल्किन्छ। बाइबलमा भनिएझैं तिनीहरू “जीवनको शेखी” गरेर अरूलाई प्रभावित पार्न खोज्छन्‌। (१ यूहन्‍ना २:१६) त्यसको विपरीत परमेश्‍वरतर्फ धनी हुनेहरूले उहाँको अनुमोदन, अनुग्रह र दया प्रशस्त पाउँछन्‌ र उहाँसित न्यानो सम्बन्ध गाँस्छन्‌। त्यस्तो अनमोल सम्बन्ध गाँस्न पाउँदा तिनीहरू आनन्दित र सुरक्षित महसुस गर्छन्‌ र पक्कै पनि यो, भौतिक धनसम्पत्तिले दिन सक्ने कुरा त होइन। (यशैया ४०:११) तर अझै प्रश्‍न उठ्‌छ, परमेश्‍वरतर्फ धनी हुन हामीले के गर्नुपर्छ?

परमेश्‍वरको दृष्टिमा धनी

१५. परमेश्‍वरतर्फ धनी हुन हामीले के गर्नुपर्छ?

१५ येशूको दृष्टान्तको मानिसले जत्ति पनि योजना बनाए र परिश्रम गरे ती सबै आफू धनी बन्‍नको लागि मात्र थियो। त्यसैले तिनलाई मूर्ख भनियो। तसर्थ परमेश्‍वरतर्फ धनी हुन उहाँको दृष्टिमा साँच्चै बहुमूल्य ठहरिएका क्रियाकलापमा पूरापूर भाग लिन हामीले यथासक्दो गर्नुपर्छ। तीमध्ये एउटा येशूको यो आज्ञा हो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) आफ्नो समय, शक्‍ति र सीप आफ्नै उन्‍नतिको लागि नभई राज्य प्रचार र चेला बनाउने काममा खर्च गर्नुलाई लगानीको रूपमा हेर्न सकिन्छ। त्यस्तो लगानी गरेकाहरूले आध्यात्मिक तवरमा प्रशस्त लाभांश बटुलेका छन्‌। यस कुराको पुष्टि अब छलफल गरिने अनुभवहरूले गर्छ।—हितोपदेश १९:१७.

१६, १७. परमेश्‍वरतर्फ धनी हुनको लागि बिताउनुपर्ने जीवनबारे तपाईं कस्ता अनुभवहरू बताउन सक्नुहुन्छ?

१६ एउटा एसियाली मुलुकको भाइको अनुभवलाई विचार गर्नुहोस्‌। कम्प्युटर प्राविधिज्ञको रूपमा तिनको राम्रो तलब आउने जागिर थियो। तर तिनको झन्डै-झन्डै सबै समय जागिरले नै खाइदिन्थ्यो। यसले गर्दा आफू आध्यात्मिक तवरमा दयनीय अवस्थामा पुगेको तिनले महसुस गरे। त्यसैले तिनले जागिरमा प्रगति गर्दै अगाडि बढ्‌नुको सट्टा जागिर नै छोडे र बरफ बनाएर बाटो-बाटोमा बेच्ने निर्णय गरे। यसो गर्दा तिनीसित आफ्नो आध्यात्मिक आवश्‍यकता र जिम्मेवारीहरू पूरा गर्ने समय हुनेथियो। तिनको पहिलाको अफिसका साथीहरूले तिनको खिल्ली उडाए। तर परिणाम के भयो? तिनी भन्छन्‌, “वास्तवमा पैसाकै कुरा गर्ने हो भने कम्प्युटरमा काम गर्दा भन्दा बरफ बेच्दा राम्रो कमाइ भइरहेको थियो। साथै म खुसी पनि छु किनभने मलाई पहिलाको जागिरमा जस्तो तनाव र चिन्ता छैन। अनि सबैभन्दा महत्त्वपूर्ण, मलाई यहोवासँग घनिष्ठ भएको महसुस हुन्छ।” समय खाने जागिर छोडेको कारण ती भाइ पूर्ण-समय सेवामा लाग्न सके र अहिले तिनी आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्दैछन्‌। यहोवाको आशिष्‌ले साँच्चै “धन-सम्पत्ति ल्याउँछ।”

१७ अर्को अनुभव एउटी बहिनीको हो। तिनी यस्तो परिवारमा हुर्किन्‌ जहाँ शिक्षालाई विशेष महत्त्व दिइन्थ्यो। तिनले फ्रान्स, मेक्सिको र स्वीजरल्याण्डको विश्‍वविद्यालयहरूबाट उच्च शिक्षा आर्जन गरिन्‌। तिनको अगाडि लोभलाग्दा अवसरहरूको ढोका खुला थियो। तिनी भन्छिन्‌, “सफलताले मेरो हरेक पाइला चुमेको थियो। जहाँ गए पनि मान-सम्मान र अवसरहरू पाउँथें। तर भित्र-भित्रै म खोक्रो थिएँ, असन्तुष्ट महसुस गर्थें।” अनि त्यसै समयतिर तिनले यहोवाबारे सिक्न थालिन्‌। तिनी भन्छिन्‌: “आध्यात्मिक तवरमा प्रगति गर्दै जाँदा यहोवालाई खुसी पार्ने इच्छा ममा पलायो। साथै, उहाँले जे-जति मलाई दिनुभएको थियो त्यसको बापत मैले पनि केही दिनको लागि के गर्नुपर्छ भनेर स्पष्टै बुझें र मैले पूर्ण-समय उहाँको सेवा गर्न थालें।” तिनले जागिरबाट राजीनामा दिइन्‌ र चाँडै बप्तिस्मा लिइन्‌। तिनले गएको २० वर्षदेखि खुसीसाथ पूर्ण-समय सेवा गर्दै आएकी छिन्‌। तिनी भन्छिन्‌, “कसै-कसैले मैले आफ्नो सीप बेकारमा खेर फालें भन्छन्‌। तर त्यसो भन्‍नेहरूले पनि म सुखी छु भन्‍ने कुरा चाहिं मानिलिन्छन्‌। साथै, मैले जुन सिद्धान्तहरूको आधारमा जीवन बिताइरहेको छु त्यसको तिनीहरू प्रशंसा गर्छन्‌। यहोवाको अनुमोदन पाउनको लागि नम्र बन्‍न मदत गर्नुहोस्‌ भनी दिनहुँ उहाँलाई प्रार्थना गर्छु।”

१८. पावल जस्तै हामी पनि कसरी परमेश्‍वरतर्फ धनी हुन सक्छौं?

१८ पछि प्रेरित पावल बनेका शावलअगाडि पनि लोभलाग्दो अवसर थियो। तैपनि तिनले पछि यस्तो लेखे: “साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु।” (फिलिप्पी ३:७,  ८) पावलको लागि, तिनले ख्रीष्ट मार्फत हासिल गरेको धन संसारले दिन सक्ने कुराभन्दा कता हो कता श्रेष्ठ थियो। त्यसै गरी स्वार्थी लक्ष्यहरूलाई त्यागेर परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताउँदा हामी पनि परमेश्‍वरको दृष्टिमा धनी जीवन बिताउन सक्छौं। परमेश्‍वरको वचन हामीलाई यस्तो आश्‍वासन दिन्छ: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।”—हितोपदेश २२:४. (w 07 8/1)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• येशूको दृष्टान्तका मानिस कस्तो दोधारमा परेका थिए?

• दृष्टान्तका ती मानिसलाई मूर्ख भन्‍नुको कारण के थियो?

• परमेश्‍वरतर्फ धनी हुनुको अर्थ के हो?

• हामी कसरी परमेश्‍वरतर्फ धनी हुन सक्छौं?

[प्रश्‍नहरू]