सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सहनशील भई यहोवाको दिनको बाटो हेर्ने

सहनशील भई यहोवाको दिनको बाटो हेर्ने

सहनशील भई यहोवाको दिनको बाटो हेर्ने

“विश्‍वासमा . . . सहनशीलता थप।”—२ पत्रुस १:५, ६, NW.

१, २. सहनशीलता के हो र यो गुण मसीहीहरूलाई किन चाहिन्छ?

 यहोवाको भयानक दिन आउनै लागेको छ। (योएल १:१५; सपन्याह १:१४) हामी मसीहीहरूले परमेश्‍वरप्रति निष्ठावान्‌ रहिरहने अठोट गरेका छौं। त्यसैले, यहोवाको सार्वभौमिकता उच्च पारिने समयको हामी उत्सुकता साथ बाटो हेर्छौं। तर त्यतिन्जेल विश्‍वासको खातिर हामीले घृणा, निन्दा, सतावट र मृत्यु जस्ता परीक्षाहरू झेल्नुपर्छ। (मत्ती ५:१०-१२; १०:२२; प्रकाश २:१०) यसको लागि सहनशीलता चाहिन्छ—दुःख/आपत्‌विपत्‌ सहन सक्ने क्षमता। प्रेरित पत्रुस हामीलाई यस्तो आग्रह गर्छन्‌: “विश्‍वासमा . . . सहनशीलता थप।” (२ पत्रुस १:५, ६, NW) हामी सहनशील हुनुपर्छ किनभने येशूले यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१३.

रोग-बिमार, शोक र अरू परीक्षा पनि हामी भोग्छौं। यस्तो बेला हाम्रो विश्‍वास डगमगायो भने शैतान कत्ति खुसी हुन्छ होला! (लूका २२:३१, ३२) यहोवाको मदतले हामी विभिन्‍न परीक्षा सहन सक्छौं। (१ पत्रुस ५:६-११) आउनुहोस्‌, केही अनुभवहरू विचार गरौं जसले हामी अटल विश्‍वासका साथ सहनशील भई यहोवाको दिनको बाटो हेर्न सक्छौं भन्‍ने प्रमाण दिन्छ।

रोग-बिमारले तिनीहरूलाई रोकेको छैन

३, ४. रोग-बिमारको बावजूद हामी यहोवाको सेवा विश्‍वासीपूर्वक गर्न सक्छौं भनेर देखाउने एउटा उदाहरण दिनुहोस्‌।

अहिले, परमेश्‍वरले चमत्कारद्वारा हाम्रो रोग-बिमार च्वाट्टै निको पार्नुहुन्‍न। तर हामीलाई सहने बल भने दिनुहुन्छ। (भजन ४१:१-३) स्यारोन नाउँकी महिलाले यसो भनिन्‌: “मैले सम्झेदेखि नै ह्वीलचेयर मेरो जीवनको सहारा बनेको छ। जन्मैदेखि म सेरेब्रल पाल्जी भन्‍ने मस्तिष्क सम्बन्धी एक प्रकारको विकारले पीडित थिएँ। यस रोगले मेरो बाल्यकालको खुसी नै लुटिदियो।” यहोवा र स्वस्थ शरीर दिने उहाँको प्रतिज्ञाबारे जानेर स्यारोनको मनमा आशाको किरण पलायो। स्यारोनलाई बोल्न र हिंड्डुल गर्न निकै गाह्रो छ। तैपनि, तिनी मसीही सेवकाईबाट आनन्द पाउँछिन्‌। लगभग १५ वर्षअघि तिनले यसो भनेकी थिइन्‌: “मेरो स्वास्थ्य दिन प्रतिदिन बिग्रँदै जान्छ होला तर परमेश्‍वरमाथिको विश्‍वास र उहाँसितको सम्बन्ध मेरो बाँच्ने आधार हुनेछ। उहाँका जनहरूमाझ हुन पाएकोमा र उहाँको सहायता मिलेकोमा म कत्ति आनन्दित छु!”

प्रेरित पावलले थिस्सलोनिकीका मसीहीहरूलाई यस्तो आग्रह गरे: “हरेस खानेलाई दिलाशा देओ।” (१ थिस्सलोनिकी ५:१४) गहिरो निराशा जस्ता दुःखद्‌ कुराहरूले गर्दा डिप्रेसन हुन सक्छ। सन्‌ १९९३ मा स्यारोनले यस्तो लेखेकी थिइन्‌: “चारैतिर असफलता नै असफलता छाएको महसुस भएपछि म . . . तीन वर्षसम्म डिप्रेसनको अँध्यारो खाडलमा जाकिन पुगें। . . . प्राचीनहरूले सान्त्वना, सल्लाह-सुझाव दिए। . . . यहोवाले कोमलता साथ प्रहरीधरहरा मार्फत गम्भीर डिप्रेसनबारे शिक्षा दिनुभयो। हो, उहाँले आफ्ना जनहरूको ख्याल गर्नुहुन्छ र हाम्रा भावना बुझ्नुहुन्छ।” (१ पत्रुस ५:६, ७) स्यारोन अहिले पनि यहोवाको भयानक दिनको बाटो हेर्दै विश्‍वासी भई परमेश्‍वरको सेवा गरिरहेकी छिन्‌।

५. साक्षीहरूले ठूल-ठूला तनाव पनि सहन सक्छन्‌ भनी कुन अनुभवले देखाउँछ?

विगतमा भोगेका तीता अनुभवले गर्दा कतिपय साक्षीहरूलाई एकदमै तनाव हुने गर्छ। हार्लीले दोस्रो विश्‍व युद्धको अति हिंसात्मक रूप देखेका थिए र युद्धका झझल्कोले तिनलाई सपनामा समेत सताउने गर्थ्यो। निद्रामा तिनी यसो भन्दै कराउँथे: “सावधान! होसियार बस!” ब्यूँझदा तिनी पसिनै-पसिना भइरहेका हुन्थे। तर तिनले परमेश्‍वरको निर्देशनअनुसार जीवन बिताउन सके र समय बित्दै जाँदा त्यस्तो सपना देख्न कम हुँदै गयो।

६. एक साक्षी भाइले कसरी भावनात्मक समस्याको सामना गरे?

एक साक्षी भाइलाई बाइपोलर डिसअडर भनिने एक किसिमको मानसिक समस्या भएकोले घर-घरको प्रचारमा भाग लिन साह्रै गाह्रो लाग्थ्यो। तर तिनी प्रचारको काममा डटिरहे किनभने तिनले के कुरा बुझेका थिए भने यही काम नै आफ्नो लागि र सुसमाचार सुन्‍नेहरूका निम्ति जीवन हो। (१ तिमोथी ४:१६) कोही बेला तिनी प्रचारमा जाँदा घरधनीको घरको घन्टी समेत बजाउन सक्दैनथे। तर तिनले यसो भने: “एकछिन पछि, म आफ्नो भावनालाई वशमा राख्न सक्थें र अर्को घरमा प्रचार गर्न कोसिस गर्थें। सेवकाईमा निरन्तर भाग लिएर केही हदसम्म आध्यात्मिक स्वास्थ्य कायम राख्न सकें।” यी भाइका लागि सभा धाउनु पनि एउटा चुनौती नै थियो तर तिनले आध्यात्मिक संगतिको मूल्य बुझेका थिए। त्यसैले, तिनले सभा धाउन हर प्रयास गरे।—हिब्रू १०:२४, २५.

७. कतिपयलाई अरूको अघि बोल्न वा सभामा उपस्थित हुन डर लाग्ने भए तापनि तिनीहरू कसरी सहनशीलता देखाउँछन्‌?

कतिपय मसीहीलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्ने समस्या हुन्छ। जस्तै, अरूको अघि बोल्न वा सभामा उपस्थित हुन समेत डर लाग्न सक्छ। कल्पना गर्नुहोस्‌ त, सभामा टिप्पणी दिन वा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाषण दिन तिनीहरूलाई कत्ति गाह्रो हुन्छ! तैपनि, तिनीहरूले सहनशीलता देखाइरहेका छन्‌। अनि तिनीहरूको उपस्थिति र टिप्पणीहरूबाट हामी एकदमै प्रोत्साहन पाउँछौं।

८. भावनात्मक कठिनाइ सामना गर्न सघाउ पुऱ्‍याउने सबैभन्दा प्रभावकारी उपचार कुन हो?

सधैंभन्दा बढी आराम गर्दा र राम्रोसँग निदाउँदा भावनात्मक कठिनाइ सहन सघाउ पुग्छ। यस्तो अवस्थामा डाक्टरको मदत लिनु पनि बुद्धिमानी हुन्छ। तर सबैभन्दा प्रभावकारी उपचार चाहिं प्रार्थना गर्दै परमेश्‍वरमा भरोसा गर्नु हो। भजन ५५:२२ यसो भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌ र उहाँले तँलाई सह्‍माल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” त्यसैले, हर तरहले ‘सारा भरोसा परमेश्‍वरमा राख्नुहोस्‌।’—हितोपदेश ३:५, ६.

शोक सहने

९-११. (क) आफूले माया गरेको व्यक्‍ति मर्दा हामी कसरी शोक सहन सक्छौं? (ख) हन्‍नाको उदाहरणले कसरी शोक सहन मदत दिन सक्छ?

मृत्युले परिवारको कुनै सदस्यलाई चटक्कै चुँडाएर लैजाँदा अरू सदस्यलाई हुन सम्मको शोक पर्छ। आफ्नी प्यारी पत्नी साराको मृत्यु हुँदा अब्राहाम रोए। (उत्पत्ति २३:२) सिद्ध मानिस येशू धरि आफ्ना मित्र लाजरसको मृत्युमा “रुनुभयो।” (यूहन्‍ना ११:३५) आफूले माया गरेको व्यक्‍ति मृत्युको काखमा पर्दा दुःख लाग्नु स्वाभाविकै हो। तर मसीहीहरूलाई थाह छ, मरेकाहरूको पुनरुत्थान हुनेछ। (प्रेरित २४:१५) त्यसैले, तिनीहरू “आशा नहुने अरू बाँकीहरूले जस्तो शोक” गर्दैनन्‌।—१ थिस्सलोनिकी ४:१३.

१० हामी कसरी शोक सहन सक्छौं? सायद यो दृष्टान्तबाट मदत पाउनेछौं। कुनै साथी कतै टाढा यात्रामा जाँदा हामीलाई लामो समयसम्म दुःख लागिरहँदैन किनभने उनी फर्केपछि फेरि भेटिहाल्छौं भन्‍ने आस गर्छौं। विश्‍वासी मसीहीको मृत्युलाई पनि त्यही यात्रासित दाँज्न सक्छौं। त्यसो गर्दा हाम्रो शोक कम हुन्छ किनभने हामीलाई थाह छ उनको पुनरुत्थान हुनेछ।—उपदेशक ७:१.

११ हरेक ‘सान्त्वनाका परमेश्‍वरमाथि’ पूर्ण भरोसा राख्दा शोक सहन सक्नेछौं। (२ कोरिन्थी १:३, ४) प्रथम शताब्दीका विधवा हन्‍नाको उदाहरणलाई विचार गर्नु पनि मदतकारी हुनेछ। विवाह गरेको सात वर्षपछि नै तिनी विधवा भएकी थिइन्‌। तर ८४ वर्ष पुगिसक्दा पनि तिनले यहोवाको मन्दिरमा पवित्र सेवा चढाइ नै रहेकी थिइन्‌। (लूका २:३६-३८) यसमा कुनै सन्देह छैन, त्यस्तो भक्‍तिको जीवन बिताएकै कारण तिनले शोक र एक्लोपनसित डट्‌न सकिन्‌। राज्य प्रचार लगायत अन्य मसीही गतिविधिमा नियमित भाग लिंदा शोक सहन मदत पाउन सक्छौं।

विभिन्‍न परीक्षा सहने

१२. कतिपय साक्षीले पारिवारिक जीवनमा कस्ता परीक्षाहरू सहेका छन्‌?

१२ कतिपय साक्षीले पारिवारिक जीवनमा परीक्षाहरू सहनुपर्ने हुन्छ। उदाहरणको लागि, पति वा पत्नीले अरू कसैसित शारीरिक सम्बन्ध राख्दा परिवारमा कस्तो नराम्रो असर पर्ला! मनमा पर्ने पीडा र चोटले गर्दा निर्दोष पति वा पत्नी रातभर सुत्न सक्दैनन्‌ होला या घरिघरि उनीहरूको भकानो फुटेर आउला। सानोतिनो कामकुरो गर्न समेत एकदमै गाह्रो हुन सक्छ जसले गर्दा गल्तीहरू हुन्छन्‌ वा दुर्घटना समेत होला। ती निर्दोष पति वा पत्नीलाई खाना नरुच्ला र जीउ सुकेर जाला साथै तिनलाई भावनात्मक असर पनि पर्न सक्छ। तिनलाई मसीही कामकुरोमा भाग लिन गाह्रो हुन सक्छ। अनि छोराछोरीमा पर्ने असरको त कुरै नगरौं!

१३, १४. (क) मन्दिरको उद्‌घाटनमा सुलेमानले गरेको प्रार्थनाबाट हामी कस्तो प्रोत्साहन पाउँछौं? (ख) हामी पवित्र आत्माको लागि किन प्रार्थना गर्छौं?

१३ यस्ता परीक्षा आइपर्दा यहोवाले हामीलाई चाहिएको मदत दिनुहुन्छ। (भजन ९४:१९) उहाँले आफ्ना मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरा राजा सुलेमानले परमेश्‍वरको मन्दिरको उद्‌घाटनमा गरेको प्रार्थनाबाट स्पष्ट हुन्छ। तिनले परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “रूढी कि देशानले तिनीहरूलाई सतायो भने आफ्नो हृदयको पश्‍चातापमा यस भवनतिर आफ्नो हात उठायो भने, तपाईंले आफ्नो प्रजा इस्राएलको हरेक मानिसको अर्जबिन्ती सुन्‍नुहोस्‌। आफ्नो बासस्थान स्वर्गमा सुन्‍नुहोस्‌ र क्षमा गर्नुहोस्‌ र काम गर्नुहोस्‌। किनभने तपाईं हरेक मानिसको मनलाई जान्‍नुहुन्छ र त्यसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहोस्‌ किनभने तपाईंले मात्र मानिसहरूको हृदयलाई जान्‍नुहुन्छ। यसरी हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले आफ्नो जीवनभरिनै तपाईंको भय मान्‍नेछन्‌।”—१ राजा ८:३८-४०.

१४ विशेषगरि, पवित्र आत्माको लागि प्रार्थना गरिरहनु मदतकारी हुन सक्छ। (मत्ती ७:७-११) आनन्द र शान्ति जस्ता गुण पवित्र आत्माका फल हुन्‌। (गलाती ५:२२, २३) स्वर्गमा बस्नुहुने पिताले हाम्रो प्रार्थनाको जवाफ दिनुहुँदा हामी कत्ति राहत महसुस गर्छौं! मतलब, शोकको सट्टा आनन्द र वेदनाको सट्टा शान्ति महसुस गर्छौं।

१५. फिक्री कम गर्न कस्ता शास्त्रपदहरूले मदत गर्छन्‌?

१५ एकदमै तवावग्रस्त अवस्थाबाट गुज्रनुपर्दा केही हदसम्म चिन्ताफिक्री त हुन्छ नै। तर येशूका यी शब्दहरूलाई मनमा राख्यौं भने यस्ता केही चिन्तालाई कम गर्न सकिन्छ: “के खाउँला कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। . . . तर पहिले राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी गर र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:२५, ३३, ३४) प्रेरित पत्रुस हामीलाई यस्तो आग्रह गर्छन्‌: ‘तिमीहरूका सारा फिक्री परमेश्‍वरमाथि राखिदेओ किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।’ (१ पत्रुस ५:६, ७) समस्या सुल्झाउने प्रयास गर्नु उचित हो। तर हामीले सक्ने जति गर्दा पनि समस्या सुल्झेन भने चिन्ता गर्नु चाहिं बेकार छ, त्यसको साटो प्रार्थना गर्नुपर्छ। भजनरचयिताले यसरी गाए: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌ अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।”—भजन ३७:५.

१६, १७. (क) हामी किन पूर्णतया चिन्तामुक्‍त छैनौं? (ख) फिलिप्पी ४:६, ७ लागू गऱ्‍यौं भने के अनुभव गर्न सक्नेछौं?

१६ पावलले यस्तो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) यो ध्रूव सत्य हो, आदमका असिद्ध सन्तानहरू चिन्ता-फिक्रीबाट पूर्णतया मुक्‍त हुन सक्दैनन्‌। (रोमी ५:१२) एसावको हित्ती स्वास्नीहरूले गर्दा परमेश्‍वरको डर मान्‍ने तिनका आमाबाबु इसहाक र रिबेकाको “जीवन अमिलो हुनगयो।” (उत्पत्ति २६:३४, ३५) तिमोथी र त्रोफिमस जस्ता मसीहीहरू पनि स्वास्थ्य समस्याले गर्दा चिन्तित भएको हुनुपर्छ (१ तिमोथी ५:२३; २ तिमोथी ४:२०) पावललाई भने सँगी विश्‍वासीहरूको फिक्री थियो। (२ कोरिन्थी ११:२८) तर “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर उहाँप्रति प्रेम देखाउनेहरूलाई मदत दिन जहिले पनि तयार हुनुहुन्छ।—भजन ६५:२.

१७ यहोवाको दिनको बाटो हेर्दा हामी ‘शान्तिका परमेश्‍वरबाट’ सहयोग र सान्त्वना पाउँछौं। (फिलिप्पी ४:९) यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु,” “भलो र क्षमा गर्ने” हुनुहुन्छ। अनि “मानिसहरू माटो नै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” (प्रस्थान ३४:६; भजन ८६:५; १०३:१३, १४) तसर्थ, ‘अन्तरबिन्ती गर्दै हाम्रो माग परमेश्‍वरमा जाहेर’ गरौं किनभने यसो गर्दा मानव समझले बुझेर बुझ्न नसक्ने “परमेश्‍वरको शान्ति” पाउनेछौं।

१८. अय्यूब ४२:५ मा बताइएअनुसार परमेश्‍वरलाई कसरी ‘देख्न’ सक्छौं?

१८ प्रार्थनाको जवाफ पाउँदा परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ भनी थाह पाउँछौं। परीक्षाको घडी पार गरिसकेपछि अय्यूबले यसो भने: “त्यस बेला त सुनेको कुराले मात्रै मैले तपाईं [यहोवालाई] चिन्दथिएँ। तर अब त म तपाईंलाई आफ्नै आँखाले देख्तछु।” (अय्यूब ४२:५) विश्‍वासको आँखाद्वारा यहोवा परमेश्‍वरले हामीसित गर्नुभएको व्यवहारलाई हेर्न सक्छौं र यसरी आफ्नो समझमा बढ्‌दै गएर अझ कृतज्ञ भयौं भने हामी उहाँलाई अघि कहिल्यै नदेखेको तरिकामा ‘देख्न’ सक्छौं। यस्तो घनिष्ठताले हाम्रो मनमा कत्ति शान्ति ल्याइदिन्छ!

१९. यदि ‘सारा फिक्री यहोवामा राखिदियौं भने’ के हुन्छ?

१९ यदि ‘सारा फिक्री यहोवामा राखिदियौं भने’ मनोशान्तिका साथ परीक्षाहरू सहन सक्छौं। अनि त्यो मनोशान्तिले हाम्रो हृदय र मानसिक शक्‍तिको रक्षा गर्छ। हामी अप्ठ्यारोपन हटेको, डर हराएको र चिन्तामुक्‍त भएको महसुस गर्नेछौं। हाम्रो मन अन्योल वा फिक्रीले आकुल-व्याकुल हुने छैन।

२०, २१. (क) सतावट भोग्दा शान्त हुने सन्दर्भमा स्तिफनसको उदाहरणले कस्तो प्रमाण दिन्छ? (ख) सतावट सहँदा शान्त हुने सन्दर्भमा वर्तमान समयको एउटा उदाहरण दिनुहोस्‌।

२० चेला स्तिफनसले अत्यन्तै कठोर परीक्षा सहँदा त्यस्तै शान्त मनोभाव देखाए। तिनले अन्तिम साक्षी दिनुअघि महासभामा बसेका सबैले “तिनको चेहरा स्वर्गदूतको चेहराझैं देखे।” (प्रेरित ६:१५) तिनको चेहरा परमेश्‍वरको सन्देशवाहक अर्थात्‌ स्वर्गदूतको जस्तै शान्त थियो। तिनले येशूको मृत्युमा न्यायाधीशहरू दोषी भएको तथ्य खुलस्त गरिदिंदा “तिनीहरूको मुटु छेडिए र तिनीमाथि दाह्रा किटे।” “पवित्र आत्माले भरिपूर भईकन” स्तिफनसले “स्वर्गतिर डिठ लगाएर हेरे र परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिने बाहुलीपट्टि उभिरहनुभएको देखे।” त्यस दर्शनबाट बल पाएर तिनी मृत्युसम्मै विश्‍वासी भए। (प्रेरित ७:५२-६०) अहिले हामी दर्शनहरू त देख्दैनौं, तैपनि सतावट भोग्दा परमेश्‍वरबाट शान्ति पाउन सक्छौं।

२१ दोस्रो विश्‍व युद्धको दौडान नाजीहरूद्वारा मारिनुअघि केही मसीहीहरूले व्यक्‍त गरेका भावनालाई विचार गर्नुहोस्‌। अदालतमा आफूले अनुभव गरेको कुराबारे एक भाइले यसो भने: “मलाई मृत्यु दण्डको फैसला सुनाइयो। मैले त्यो सुनें र त्यसपछि हाम्रा प्रभुको ‘मृत्युसम्मै विश्‍वासी होऊ,’ भन्‍ने वचनका साथै उहाँका अरू केही वचनहरू पनि बोलें। त्यतिकैमा मुद्दा टुंगियो। तर चिन्ता नलिनुहोस्‌। मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्‍न!” दण्डस्वरूप टाउको काटिन लागेको एक जवान मसीहीले आमाबाबुलाई यस्तो पत्र लेखे: “अहिले मध्यरात भएको छ। निर्णय बदलेमा ज्यान जोगाउने मौका अझै छ। तर के प्रभुलाई त्यागेर म यस संसारमा खुसी हुन सकुँला र? अहँ सक्दिनँ! तपाईंहरू आश्‍वस्त हुनुहोस्‌, म आनन्दित भई शान्तिसित यो संसार त्याग्दैछु।” यसमा कुनै शंका छैन, यहोवाले आफ्ना वफादार सेवकहरूको साथ कहिल्यै छोड्‌नुहुन्‍न।

तपाईं सहन सक्नुहुन्छ!

२२, २३. सहनशील भई यहोवाको दिनको बाटो हेर्दा के कुरामा निश्‍चित हुन सक्नुहुन्छ?

२२ हामीले माथि छलफल गरेकै जस्ता चुनौतीहरू त तपाईं भोग्नुहुन्‍न होला। तैपनि, परमेश्‍वरको डर मान्‍ने अय्यूबले यसो भन्‍नु एकदमै सही थियो: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) सायद तपाईं छोराछोरीलाई आध्यात्मिक निर्देशन दिन अथक प्रयास गरिरहनुभएको आमा वा बुबा हुनुहुन्छ। तिनीहरूमाथि स्कूलमा अवश्‍यै परीक्षा आइपर्छ तर तिनीहरूले यहोवा र उहाँका धार्मिक सिद्धान्तको पक्षमा दृढ अडान लिएको देख्दा तपाईंलाई कत्ति आनन्द लाग्नेछ! हुन सक्छ, काम गर्ने ठाउँमा तपाईंलाई कठिनाइ र प्रलोभन आइरहेको छ। तर यी समस्या लगायत अन्य परिस्थिति सहन सकिन्छ किनभने ‘यहोवाले हाम्रो बोझ दिनहुँ उठाउनुहुन्छ।’—भजन ६८:१९.

२३ हुन त तपाईं आफूलाई सामान्य व्यक्‍ति ठान्‍नुहुन्छ होला, तर मनमा राख्नुपर्ने कुरा के हो भने तपाईंको काम र उहाँको पवित्र नाउँको खातिर तपाईंले देखाएको प्रेम यहोवा कहिल्यै बिर्सनुहुन्‍न। (हिब्रू ६:१०) उहाँको मदत पाएर तपाईं विश्‍वासको परीक्षा सहन सक्नुहुन्छ। त्यसैले, आफ्नो प्रार्थना र योजनामा परमेश्‍वरको इच्छालाई समावेश गर्नुहोस्‌। यसरी सहनशील भई यहोवाको दिनको बाटो हेर्दा उहाँबाट आशिष्‌ र सहयोग पाउने कुरामा निश्‍चित हुन सक्नुहुन्छ। (w 07 7/15)

तपाईं के भन्‍नुहुन्छ?

• मसीहीहरू किन सहनशील हुनुपर्छ?

• रोग-बिमार र शोक सहन हामीलाई केले मदत दिन सक्छ?

• परीक्षाहरू सहन प्रार्थनाले हामीलाई कसरी मदत दिन्छ?

• सहनशील भई यहोवाको दिनको बाटो हेर्नु किन सम्भव छ?

[प्रश्‍नहरू]