सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ?

साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ?

साँचो आध्यात्मिकता कसरी प्राप्त गर्न सकिन्छ?

“शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो” भनी प्रेरित पावलले लेखे। (रोमी ८:६) यी शब्दहरूद्वारा, उनले आध्यात्मिक व्यक्‍ति हुनु भनेको व्यक्‍तिगत छनौट वा अभिरुचिको कुरा मात्र होइन भनेर संकेत गर्दै थिए। वास्तवमा भन्‍ने हो भने, यसमा जीवन र मृत्युको सवाल छ। तर आध्यात्मिक व्यक्‍तिले कुन अर्थमा “जीवन र शान्ति” पाउँछ? बाइबलले बताएअनुसार, यस्तो व्यक्‍तिले अहिले आफू स्वयम्‌ र परमेश्‍वरसँग शान्तिको आनन्द उठाउन सक्छ भने भविष्यमा अनन्त जीवनको उपहार पाउनेछ। (रोमी ६:२३; फिलिप्पी ४:७) त्यसैकारण, येशूले “धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू” भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन!—मत्ती ५:३, NW.

तपाईंले यो पत्रिका पढ्‌नुले नै पनि के देखाउँछ भने तपाईंलाई आध्यात्मिकताप्रति चासो छ अनि जे गरिरहनुभएको छ, यो बुद्धिमानी कुरा पनि हो। तर आध्यात्मिकताको विषयमा बेग्ला-बेग्लै धारणा भएकोले तपाईंलाई लाग्ला, ‘साँचो आध्यात्मिकता भनेको के हो? अनि यसलाई कसरी प्राप्त गर्न सकिन्छ?’

“ख्रीष्टको मन”

प्रेरित पावलले आध्यात्मिक झुकाव हुनुको महत्त्व र यसका फाइदाबारे बताउनुको अलावा साँचो आध्यात्मिकता भनेको के हो भन्‍नेबारे पनि धेरै कुरा बताएका छन्‌। प्राचीन कोरिन्थ सहरका मसीहीहरूलाई पावलले शरीरका अभिलाषाहरू पूरा गर्नमा नै तल्लीन हुने शारीरिक मानिस र आध्यात्मिक कुराहरूको कदर गर्ने आध्यात्मिक मानिसबीचको भिन्‍नताबारे बताएका छन्‌। पावलले लेखे: “शारीरिक मानिसले परमेश्‍वरका आत्माका कुरा ग्रहण गर्दैन, किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन्‌।” तर अर्कोतर्फ, पावलले आध्यात्मिक मानिसमा चाहिं “ख्रीष्टको मन” हुन्छ भनी बताए।—१ कोरिन्थी २:१४-१६.

“ख्रीष्टको मन” हुनु भनेको ‘ख्रीष्ट येशूकै जस्तो मन’ हुनु हो। (रोमी १५:५; फिलिप्पी २:५) अर्को शब्दमा भन्‍नुपर्दा, आध्यात्मिक मानिसले येशूकै जस्तो सोचाइ राख्छ र उहाँको पाइला पछ्याउँछ। (१ पत्रुस २:२१; ४:१) कुनै मानिसको मन जति धेरै ख्रीष्टकै जस्तो हुँदै जान्छ उसको आध्यात्मिकता त्यति नै बलियो हुँदै जान्छ र ऊ “जीवन र शान्ति” पाउन पनि त्यति नै नजिक भइरहेको हुन्छ।—रोमी १३:१४.

“ख्रीष्टको मन” कसरी जान्‍ने

तर ख्रीष्टको मन हुन हामीले पहिला त्यो मन जान्‍नुपर्छ। त्यसैले, आध्यात्मिकता विकास गर्न चाल्नुपर्ने पहिलो कदम भनेको येशूको सोचाइलाई जान्‍नु हो। तर आजभन्दा २,००० वर्षअघि यस पृथ्वीमा बाँचेका मानिसको मन कसरी जान्‍न सकिन्छ? विचार गर्नुहोस्‌ त, तपाईंले आफ्नो देशका ऐतिहासिक व्यक्‍तित्वहरूबारे कसरी थाह पाउन सक्नुभयो? सायद, उनीहरूबारे पढेर। त्यसैगरी, येशूबारे लेखिएका ऐतिहासिक विवरणहरू पढ्‌नु ख्रीष्टको मन जान्‍ने उत्तम तरिका हो।—यूहन्‍ना १७:३.

येशूबारे लेखिएका चारवटा जीवन्त विवरणहरू छन्‌। ती हुन्‌—मत्ती, मर्कूस, लूका र यूहन्‍नाले लेखेका सुसमाचारका पुस्तकहरू। यी विवरणलाई ध्यानपूर्वक पढ्‌दा तपाईंले येशूको सोचाइ, उहाँको भावना र उहाँलाई काम गर्न उत्प्रेरणा दिने कुरा के थियो, सो ठम्याउन सक्नुहुनेछ। येशूबारे आफूले पढेका कुराहरू मनन गर्न जब तपाईं समय निकाल्नुहुन्छ, उहाँ कस्तो किसिमको व्यक्‍ति हुनुहुन्थ्यो भनेर कल्पना गर्न थाल्नुहुन्छ। तपाईंले आफूलाई ख्रीष्टको अनुयायीको रूपमा चिनाइ सक्नुभए तापनि यस्तो किसिमको पढाइ र मननले तपाईंलाई ‘हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्‌दै जान’ मदत गर्नेछ।—२ पत्रुस ३:१८.

यो कुरा मनमा राख्दै येशूलाई आध्यात्मिक व्यक्‍ति बन्‍न केले मदत गऱ्‍यो भनी बुझ्न सुसमाचारका पुस्तकका केही भागलाई जाँचेर हेरौं। त्यसपछि, उहाँले बसाल्नुभएको उदाहरणलाई तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ, आफैलाई सोध्नुहोस्‌।—यूहन्‍ना १३:१५.

आध्यात्मिकता र “आत्माको फल”

सुसमाचारका लेखक लूकाअनुसार, येशूले बप्तिस्मा लिनुहुँदा उहाँमाथि परमेश्‍वरको पवित्र आत्मा खन्याइयो र उहाँ “पवित्र आत्माले पूर्ण” हुनुभयो। (लूका ३:२१, २२; ४:१) त्यसपछि, येशूले आफ्ना अनुयायीहरू पनि परमेश्‍वरको पवित्र आत्माद्वारा डोरिनु किन आवश्‍यक छ भन्‍ने कुरामा जोड दिनुभयो। (लूका ११:९-१३) पवित्र आत्माद्वारा डोरिनु किन यत्तिको महत्त्वपूर्ण छ? किनभने परमेश्‍वरको पवित्र आत्मासँग मानिसको मन बदल्न सक्ने क्षमता छ जसले गर्दा उसले ख्रीष्टको मन आफूमा उतार्न सक्छ। (रोमी १२:१, २) पवित्र आत्माले मानिसमा “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” जस्ता गुणहरू विकास गराउँछ। बाइबलमा “आत्माको फल” भनिएका यी गुणहरू साँचो आध्यात्मिक व्यक्‍तिको चिनारी हुन्‌। (गलाती ५:२२, २३) छोटकरीमा भन्‍नुपर्दा, परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइमा हिंड्‌ने व्यक्‍ति नै आध्यात्मिक झुकाव भएको व्यक्‍ति हो।

येशूले आफ्नो सेवकाईको अवधिभरि नै आत्माको फल प्रदर्शित गर्नुभयो। समाजमा तुच्छ ठानिएका मानिसहरूप्रति उहाँले गर्नुभएको व्यवहारमा उहाँको प्रेम, दया र भलाइजस्ता गुण विशेष गरी झल्किन्थ्यो। (मत्ती ९:३६) उदाहरणको लागि, प्रेरित यूहन्‍नाले बताएको एउटा विवरणलाई याद गर्नुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “जाँदाजाँदै [येशूले] एउटा जन्मैको अन्धालाई देख्नुभयो।” येशूका चेलाहरूले पनि उनलाई देखे तर तिनीहरूले उनलाई पापीको रूपमा हेरे। “कसले पाप गऱ्‍यो, यसले कि यसका आमा-बाबुले?” भनी तिनीहरूले प्रश्‍न गरे। उक्‍त व्यक्‍तिका छिमेकीहरूले पनि उनलाई देखे तर तिनीहरूले उनलाई मगन्तेको रूपमा लिए। तिनीहरूले भने: “के बसेर भीख माग्ने यही होइन?” तर येशूले भने त्यस अन्धा मानिसलाई मदतको आवश्‍यकता परिरहेको व्यक्‍तिको रूपमा लिनुभयो। उहाँ त्यस मानिससँग बोल्नुभयो र उनलाई निको पार्नुभयो।—यूहन्‍ना ९:१-८.

यस विवरणबाट ख्रीष्टको मनबारे तपाईं के सिक्न सक्नुहुन्छ? पहिलो, येशूले असहायहरूलाई बेवास्ता गर्नुभएन तर तिनीहरूलाई कोमल अनुकम्पा देखाउनुभयो। दोस्रो, उहाँ अरूलाई मदत गर्न अग्रसर हुनुभयो। तपाईंको विचारमा के तपाईं येशूले बसाल्नुभएको उदाहरण पछ्याउँदै हुनुहुन्छ? के तपाईं पनि मानिसहरूको जीवन उकास्न र उनीहरूको भविष्य उज्यालो पार्न आवश्‍यक मदत गरेर उनीहरूप्रति येशूको जस्तै दृष्टिकोण राख्नुहुन्छ? अथवा तपाईं गण्यमान्य व्यक्‍तिलाई साथ दिने अनि अरूलाई चाहिं वास्तै नगर्ने पो गर्नुहुन्छ कि? यदि मानिसहरूप्रति येशूको जस्तै दृष्टिकोण राख्नुहुन्छ भने निश्‍चय नै तपाईंले येशूको उदाहरण पछ्याइरहनु भएको हुनेछ।—भजन ७२:१२-१४.

आध्यात्मिकता र प्रार्थना

सुसमाचारका विवरणहरूले देखाएअनुसार येशू अक्सर परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्थ्यो। (मर्कूस १:३५; लूका ५:१६; २२:४१) पृथ्वीमा आफ्नो सेवकाईको दौडान प्रार्थना गर्नकै निम्ति भनेर येशूले समय छुट्याउनुहुन्थ्यो। चेला मत्तीले लेखे: “भीडहरूलाई बिदा गरिसकेपछि [येशू] डाँडामा अलग्गै प्रार्थना गर्नलाई उक्लनुभयो।” (मत्ती १४:२३) यसरी स्वर्गमा हुनुभएको आफ्ना पितासँग एकान्तमा कुराकानी गर्दा येशूले बल पाउनुभयो। (मत्ती २६:३६-४४) आज पनि, परमेश्‍वरसँगको कुराकानीले उहाँसँगको सम्बन्धलाई बलियो पार्छ र यसले ख्रीष्टको जस्तै मन विकास गर्न मदत दिन्छ भन्‍ने कुरा बुझेकाले गर्दा आध्यात्मिक झुकाव भएका मानिसहरू परमेश्‍वरसँग कुराकानी गर्ने मौका छोप्छन्‌।

येशू अक्सर लामो समय प्रार्थनामा बिताउनुहुन्थ्यो। (यूहन्‍ना १७:१-२६) उदाहरणको लागि, पछि प्रेरित बन्‍ने १२ जना पुरुषलाई छान्‍नुअघि उहाँ “डाँडामा प्रार्थना गर्नलाई निस्कनुभयो, र परमेश्‍वरको प्रार्थनामा रातभर बिताउनुभयो।” (लूका ६:१२) हुन त अहिले आध्यात्मिक झुकाव भएका मानिसहरूले रातभर प्रार्थनामा नबिताउलान्‌ तर उनीहरू येशूको उदाहरण भने पछ्याउँछन्‌। कुनै गम्भीर विषयमा निर्णय लिनुअघि उनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न यथेष्ट समय बिताउँछन्‌ र आध्यात्मिकतालाई अझ बलियो पार्ने निर्णय गर्न पवित्र आत्माको निर्देशन खोज्छन्‌।

साथै, येशूले व्यग्रतासाथ प्रार्थना गर्नुभयो। हामीले पनि प्रार्थना गर्दा त्यसै गर्नुपर्छ। मर्नुभन्दा अघिल्लो रात येशूले गर्नुभएको प्रार्थनाको सन्दर्भमा लूकाले के लेखे, याद गर्नुहोस्‌। “अत्यन्त संकष्टमा परेर उहाँले झन्‌ परिश्रमसँग प्रार्थना गर्नुभयो, र उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।” (लूका २२:४४) हुन त येशूले यसभन्दा अघि पनि परिश्रमसाथ प्रार्थना गर्नुभएको थियो तर आफ्नो पार्थिव जीवनको अन्तिम समयमा उग्र परीक्षाको सामना गर्नुपर्दा उहाँले “झन्‌ परिश्रमसँग” प्रार्थना गर्नुभयो। अनि उहाँको प्रार्थनाको सुनुवाइ पनि भयो। (हिब्रू ५:७) आध्यात्मिक झुकाव भएका मानिसहरूले येशूको उदाहरण पछ्याउँछन्‌। सहनै गाह्रो पर्ने किसिमका परीक्षाहरू आइपर्दा उनीहरू परमेश्‍वरबाट पवित्र आत्मा, डोऱ्‍याइ र समर्थन पाउन “झन्‌ परिश्रमसँग” प्रार्थना गर्छन्‌।

येशू प्रार्थना गर्नमा तल्लीन व्यक्‍ति हुनुभएकोले उहाँका चेलाहरूले पनि यस विषयमा उहाँको अनुकरण गर्न खोज्नु कुनै अचम्मलाग्दो कुरा होइन। त्यसकारण, तिनीहरूले उहाँलाई सोधे: ‘हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌।’ (लूका ११:१) आज पनि, आध्यात्मिकताको मोल गर्ने र परमेश्‍वरको पवित्र आत्माद्वारा डोरिन चाहनेहरूले प्रार्थना गर्ने सन्दर्भमा येशूको उदाहरणलाई पछ्याउँछन्‌। साँचो आध्यात्मिकता र प्रार्थना एकअर्काबाट छुट्टिन सक्दैनन्‌।

आध्यात्मिकता र सुसमाचारको प्रचारकार्य

मर्कूसको पुस्तकमा, येशूले साँझ अबेरसम्म पनि थुप्रै बिरामीहरूलाई निको पार्दै बस्नुभएको एउटा विवरण पाउँछौं। भोलिपल्ट एकाबिहानै उहाँ एकान्तमा प्रार्थना गरिरहनुहुँदा चेलाहरू उहाँकहाँ आए र थुप्रै बिरामीहरू सायद निको हुने आशामा उहाँलाई पर्खेर बसिरहेका छन्‌ भनी बताए। तर येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “आओ, हामीहरू अन्त कहीं आसपासका शहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ।” त्यसपछि येशूले यसको कारण यसरी खुलाउनुभयो: “किनकि यसैको निम्ति म निस्किआएको हुँ।” (मर्कूस १:३२-३८; लूका ४:४३) बिरामीहरूलाई निको पार्नु येशूको लागि महत्त्वपूर्ण त थियो तर परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु उहाँको प्रमुख कार्य थियो।—मर्कूस १:१४, १५.

आज पनि, ख्रीष्टको मन भएकाहरूको मुख्य चिनारी भन्‍नु नै अरूलाई परमेश्‍वरको राज्यबारे बताउनु हो। आफ्नो अनुयायी बन्‍न चाहनेहरू सबैलाई येशूले यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) यसको अलावा, येशूले यसरी अग्रिमवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) प्रचारकार्य पवित्र आत्माको शक्‍तिद्वारा पूरा हुन्छ भन्‍ने कुरा परमेश्‍वरको वचनले बताउँछ। त्यसैले यस कार्यमा जोशका साथ भाग लिनु साँचो आध्यात्मिकताको चिनारी हो।—प्रेरित १:८.

सारा संसारभरि नै राज्य सन्देश सुनाउनको लागि लाखौंको संयुक्‍त प्रयास चाहिन्छ। (यूहन्‍ना १७:२०, २१) यस कार्यमा भाग लिनेहरू आध्यात्मिक झुकावको भएर मात्रै पुग्दैन तर विश्‍वव्यापी रूपमा व्यवस्थित पनि भएको हुनुपर्छ। येशूको पाइला पछ्याउँदै विश्‍वभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहेका मानिसहरूलाई के तपाईं चिन्‍नुहुन्छ?

तपाईं आफ्नो लेखाजोखा कसरी गर्नुहुन्छ?

निश्‍चय नै, साँच्चैको आध्यात्मिक व्यक्‍तिका अन्य थुप्रै चिनारी हुन्छन्‌। तर भर्खरै छलफल गरिएका चिनारीहरूलाई चाहिं तपाईं कसरी लिनुहुन्छ? जवाफ पाउनको लागि आफैलाई सोध्नुहोस्‌: ‘के म नियमित रूपमा परमेश्‍वरको वचन बाइबल पढ्‌ने र पढेका कुरा मनन गर्ने गर्छु? के मैले आफ्नो जीवनमा आत्माको फल झल्काइ रहेको छु? के म प्रार्थनामा तल्लीन हुने मानिस हुँ? के म विश्‍वभरि नै परमेश्‍वरको राज्यको प्रचार गर्ने काममा भाग लिइरहेका मानिसहरूसँग सर-संगत गर्न चाहन्छु?’

इमानदार भई आत्म-परीक्षण गर्दा तपाईं आफ्नो आध्यात्मिकताको गहिराइ खुट्याउन सक्नुहुन्छ। हामी तपाईंलाई आवश्‍यक कदम तुरुन्तै चालिहाल्न आग्रह गर्छौं ताकि “जीवन र शान्ति” तपाईंको हिस्सा हुन सकोस्‌।—रोमी ८:६; मत्ती ७:१३, १४; २ पत्रुस १:५-११. (w 07 8/1)

[पृष्ठ ७-मा भएको पेटी/चित्रहरू]

आध्यात्मिकताका चिनारीहरू

◆ परमेश्‍वरको वचनलाई माया गर्नु

◆ आत्माको फल झल्काउनु

◆ नियमित तवरले निष्कपट भई परमेश्‍वरलाई प्रार्थना गर्नु

◆ अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा भाग लिनु

[पृष्ठ ५-मा भएको चित्र]

बाइबलले तपाईंलाई “ख्रीष्टको मन” जान्‍न मदत गर्छ