सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌

आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌

आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌

“तिमीहरू जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।”—१ कोरिन्थी १६:१४.

१. बच्चा जन्मँदा आमाबाबुलाई कस्तो महसुस हुन्छ?

 जीवनको एउटा सबैभन्दा आनन्दमय क्षण भनेको बच्चा जन्मँदाखेरिको हो भन्‍ने कुरामा धेरैजसो आमाबाबु सहमत हुन सक्छन्‌। आलिया नाउँकी आमा भन्छिन्‌: “जब भर्खरै जन्मिएकी आफ्नी छोरीलाई हेरें तब म एकदमै रोमाञ्चित र खुसी भएँ। लाग्यो, आजसम्म देखेको सबैभन्दा सुन्दर बच्चा मेरी छोरी नै हुन्‌।” तर यस्तो आनन्दमय क्षणले आमाबाबुको थाप्लोमा चिन्ताको भारी पनि थोपरि दिन सक्छ। आलियाका पति भन्छन्‌: “छोरीलाई जीवनमा आइपर्ने समस्यासँग जुझ्न तयार पार्न सकिने हो कि होइन भन्‍ने मलाई ठूलो चिन्ता थियो।” थुप्रै आमाबाबुलाई यस्तै चिन्ता हुन्छ र छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुपर्ने आवश्‍यकतालाई बुझेका छन्‌। तर यस्तो मायालु प्रशिक्षण दिन चाहने मसीही आमाबाबुले चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। ती चुनौतीमध्ये केही के-के हुन्‌?

२. आमाबाबुले कस्ता चुनौतीको सामना गर्छन्‌?

हामी यो रीतिरिवाजको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौं। भविष्यवाणी गरिएझैं यो संसार प्रेमरहित मानिसहरूले भरिएको छ। परिवारका सदस्यहरूले समेत आपसमा “स्वाभाविक प्रेम” देखाउँदैनन्‌ र तिनीहरू “बैगुणी, अपवित्र . . . असंयमी, निष्ठूर” भएका छन्‌। (२ तिमोथी ३:१-५) यस्ता दुर्गुण देखाउने मानिसहरूसित दिनरात उठबस गर्नुपर्दा मसीही परिवारका सदस्यहरूले एकअर्कासित व्यवहार गर्ने तरिकामा असर पर्न सक्छ। यसबाहेक, जन्मजात पाएका झुकावसित पनि आमाबाबुले संघर्ष गर्नुपर्ने हुन्छ। जस्तै: संयम गुमाउने, नचाहँदा-नचाहँदै चित्त दुख्ने शब्दहरू प्याच्च बोल्ने र अन्य कतिपय कुरामा सही निर्णय गर्न नसक्ने।—रोमी ३:२३; याकूब ३:२, ८, ९.

३. आमाबाबुले कसरी सुखी छोराछोरी हुर्काउन सक्छन्‌?

यी चुनौतीको बावजूद आमाबाबुले सुखी र आध्यात्मिक रूपमा स्वस्थ छोराछोरी हुर्काउन सक्छन्‌। कसरी? बाइबलको यो सल्लाह पालन गरेर: “तिमीहरू जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌।” (१ कोरिन्थी १६:१४) साँच्चै, प्रेम “सिद्धताको गाँठो हो।” (कलस्सी ३:१४) कोरिन्थका मसीहीहरूलाई लेखेको पहिलो पत्रमा प्रेरित पावलले बताएको प्रेमका तीन पक्षलाई जाँचौं र आमाबाबुले छोराछोरीलाई प्रशिक्षण दिंदा यो गुण अर्थात्‌ प्रेम व्यवहारमा लागू गर्न सक्ने केही खास तरिकाबारे छलफल गरौं।—१ कोरिन्थी १३:४-८.

धीरजी हुनुपर्छ

४. आमाबाबु किन धीरजी हुनुपर्छ?

पावलले लेखे: “प्रेम धीरजी . . . हुन्छ।” (१ कोरिन्थी १३:४) “धीरज” भनी अनुवाद गरिएको ग्रीक शब्दले धैर्यशाली र रीस गर्नमा ढिलो हुनु भन्‍ने अर्थ दिन्छ। आमाबाबु किन धीरजी हुनुपर्छ? पक्कै पनि धेरैजसो आमाबाबुले धीरजी हुनुपर्ने थुप्रै कारणहरू बताउन सक्छन्‌। केही कारणलाई विचार गर्नुहोस्‌। सामान्यतया छोराछोरी आफूले चाहेको कुरा एकचोटि मात्र मागेर चुपो लागेर बस्दैनन्‌। आमाबाबुले कडिकडाइसाथ अहँ हुँदैन भन्दा पनि मानिहाल्ला कि भन्‍ने आशामा कर गरिरहन सक्छन्‌। किशोरावस्थामा पुगेका छोराछोरीले चाहिं आफूले चाहेको कुरा गर्न अनेक कारण दिंदै तर्कवितर्क गर्न सक्छन्‌ तर आमाबाबुलाई भने त्यो कुरा मूर्खतापूर्ण हो भनेर थाह छ। (हितोपदेश २२:१५) अनि हामी सबैले जस्तै, छोराछोरीले पनि कतिपय गल्तीहरू बारम्बार गरिरहन सक्छन्‌।—भजन १३०:३.

५. आमाबाबुलाई धीरजी हुन कुन कुराले मदत दिन सक्छ?

आमाबाबुलाई छोराछोरीसित धीरजी हुन केले मदत गर्न सक्छ? राजा सुलेमानले यस्तो लेखे: “मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ।” (हितोपदेश १९:११, NRV) म पनि एक समय “बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें” भनी सम्झेर आमाबाबुले छोराछोरीको व्यवहार बुझ्न सक्छन्‌। (१ कोरिन्थी १३:११) आमाबाबु हो, के तपाईंहरूले पनि आफू केटाकेटी हुँदा आफ्ना आमाबाबुलाई झिज्याएको याद गर्न सक्नुहुन्छ? अनि आफू किशोरावस्थामा हुँदा आमाबाबुले मेरा भावना र समस्या बुझ्नै हुन्‍न भन्‍नेजस्तो कहिल्यै लागेको थियो? त्यसो हो भने, तपाईंका छोराछोरीले अहिले किन त्यस्तो व्यवहार गर्छन्‌ र तिनीहरूलाई किन धीरज भई तपाईंका निर्णयहरू बारम्बार सम्झाइरहनुपर्छ भनेर तपाईं बुझ्नुहुन्छ होला। (कलस्सी ४:६) याद गर्नुपर्ने कुरा के हो भने, यहोवाले इस्राएली आमाबाबुलाई उहाँको व्यवस्था आफ्ना जवान छोराछोरीलाई सिकाओ भन्‍नुभयो। (व्यवस्था ६:६, ७) “सिकाओ” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “दोहोऱ्‍याउनु,” “बारम्बार भन्‍नु” र “गहिरो छाप पार्नु” हो। यसको अर्थ, आमाबाबुले छोराछोरीलाई एउटै कुरा धेरै पटक दोहोऱ्‍याइरहनु पर्ने हुन सक्छ जसले गर्दा अन्ततः छोराछोरीले परमेश्‍वरको व्यवस्था जीवनमा उतार्न सिक्छन्‌। जीवनमा अरू कुरा सिकाउँदा पनि यसरी नै दोहोऱ्‍याउनुपर्ने हुन्छ।

६. धीरजी आमाबाबु भनेका छोराछोरीलाई जे मन लाग्यो त्यही गर्न दिने आमाबाबु किन होइनन्‌?

तर धीरजी आमाबाबु भनेका छोराछोरीलाई जे मन लाग्यो त्यही गर्न दिने आमाबाबु होइनन्‌। परमेश्‍वरको वचन यस्तो चेतावनी दिन्छ: “छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” यस्तो हुन नदिन के गर्नुपर्छ भनी त्यही पद यसरी बताउँछ: “बेंत र हप्काइले बुद्धि दिन्छ।” (हितोपदेश २९:१५) कोही बेला, आफूलाई सुधार्ने अधिकार आमाबाबुको होइन भनी छोराछोरीले प्रश्‍न उठाउन सक्छन्‌। तर मसीही परिवारहरू प्रजातान्त्रिक ढंगमा चल्नु हुँदैन, मानौं आमाबाबुले घरमा नियम बनाउँदा छोराछोरीको स्वीकृति चाहियोस्‌। त्यसको साटो, परिवारको सबैभन्दा उत्तम शिर यहोवाले आमाबाबुलाई आफ्ना छोराछोरीलाई प्रेममा प्रशिक्षण र अनुशासन दिने अधिकार दिनुहुन्छ। (१ कोरिन्थी ११:३; एफिसी ३:१५; ६:१-४) वास्तवमा, पावलले बताएको प्रेमको अर्को पक्षसित अनुशासनको घनिष्ठ सम्बन्ध छ।

कसरी प्रेममा अनुशासन दिने

७. दयालु आमाबाबुले छोराछोरीलाई किन अनुशासन दिनेछन्‌ र त्यस्ता अनुशासनमा के समावेश छ?

पावलले लेखे: “प्रेम . . . दयालु हुन्छ।” (१ कोरिन्थी १३:४) दयालु आमाबाबुले छोराछोरीलाई अनुशासन दिंदा घरिघरि नियमहरू हेरफेर गरिरहँदैनन्‌। यसो गरेर तिनीहरूले यहोवाको अनुकरण गर्छन्‌। पावलले लेखे: “जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ।” कृपया याद गर्नुहोस्‌, बाइबलमा बताइएको अनुशासनको अर्थ दण्ड दिनु मात्र होइन। यसले त प्रशिक्षण र शिक्षा दिने कुरालाई पनि जनाउँछ। यस्तो अनुशासनको उद्देश्‍य के हो? यसबारे पावल बताउँछन्‌: “अनुशासन . . . सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:६, ११) आमाबाबुले परमेश्‍वरको इच्छाअनुसार छोराछोरीलाई दयालु ढंगमा सिकाउँदा तिनीहरूलाई मेलमिलापमा रहने र धार्मिक व्यक्‍ति बन्‍ने मौका दिइरहेका हुन्छन्‌। यदि छोराछोरीले “परमप्रभुको अनुशासन” स्वीकारेमा तिनीहरूले बुद्धि, ज्ञान र समझ पाउँछन्‌ जुन सुन र चाँदीभन्दा बहुमूल्य छन्‌।—हितोपदेश ३:११-१८.

८. आमाबाबुले छोराछोरीलाई अनुशासनमा नराख्दा साधारणतया कस्तो नतिजा हुन्छ?

अर्कोतर्फ, आमाबाबुले छोराछोरीलाई अनुशासन नदिनु भनेको दयालुपन होइन। यहोवाले सुलेमानलाई यस्तो लेख्न प्रेरित गर्नुभयो: “छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।” (हितोपदेश १३:२४) एकरूपले अनुशासन नदिइएका छोराछोरी स्वार्थी र खुसी नहुने हुन सक्छन्‌। त्यसको विपरीत, माया गर्ने तर कडिकडाइका साथ सीमाहरू तोकिदिने आमाबाबुका छोराछोरी स्कूलमा राम्रो गर्ने, अरूसित घुलमिल हुने र सामान्यतया सधैं खुसी रहने पाइयो। त्यसैले, छोराछोरीलाई अनुशासनमा राख्ने आमाबाबुले अवश्‍यै तिनीहरूप्रति दया देखाइरहेका हुन्छन्‌।

९. मसीही आमाबाबुले छोराछोरीलाई के सिकाउँछन्‌ र यी आवश्‍यकतालाई कसरी हेरिनुपर्छ?

छोराछोरीलाई दयालु र मायालु ढंगले अनुशासन दिनुमा कुन कुरा समावेश छ? छोराछोरीबाट आमाबाबुले चाहेको कुरा तिनीहरूलाई स्पष्टसित बताउनुपर्छ। उदाहरणका लागि, मसीही आमाबाबुका छोराछोरीलाई सानैदेखि बाइबलका आधारभूत सिद्धान्तका साथै साँचो उपासनाका विभिन्‍न पक्षमा भाग लिन सिकाइन्छ। (प्रस्थान २०:१२-१७; मत्ती २२:३७-४०; २८:१९; हिब्रू १०:२४, २५) यी कुराहरू, परिवर्तन गर्न मिल्दैन भनी छोराछोरीले स्पष्टगरि थाह पाउनुपर्छ।

१०, ११. घरको नियम बनाउँदा आमाबाबुले छोराछोरीको चासोलाई किन विचार गर्न सक्छन्‌?

१० तर, घरको नियम बनाउँदा कोही बेला आमाबाबुले छोराछोरीसित छलफल गर्न चाहन्छन्‌ होला। छोराछोरीले छलफलमा भाग लिए भने ती नियम पालन गर्न झन्‌ बढी चासो राख्न सक्छन्‌। उदाहरणका लागि, आमाबाबुले तिनीहरूमाथि समयको बन्देज लगाउने निर्णय गर्नुपर्दा यति बजेभित्र घरमा आइसक्नू भनेर समय तोकिदिन सक्छन्‌। अथवा, छोराछोरीलाई नै कति बजेभित्र घर फर्कने हो कारणसहित बताउने मौका दिन सक्छन्‌। त्यसपछि आमाबाबुले छोराछोरीलाई तिनीहरू घर फर्कनुपर्ने आफूले तय गरेको समय बताउँदै किन त्यो समय ठीक हो, बुझाउन सक्छन्‌। यस्तो बेला सायद सहमति नहुन सक्छ र सहमति नभएमा आमाबाबुले के गर्नुपर्छ? कतिपय अवस्थामा, बाइबल सिद्धान्तको सम्झौता हुँदैन भने आमाबाबुले छोराछोरीलाई तिनीहरूको इच्छाअनुसार गर्न दिन सक्छन्‌। त्यसको अर्थ के आमाबाबुले आफ्नो अधिकार छोडेका हुन्‌?

११ यस प्रश्‍नको जवाफ पाउन, यहोवाले लूत र उनका परिवारसित व्यवहार गर्नुहुँदा कसरी मायालु ढंगमा आफ्नो अधिकार चलाउनुभयो, विचार गर्नुहोस्‌। स्वर्गदूतहरूले लूत, उनकी पत्नी र छोरीहरूलाई सदोमबाट बाहिर निकालेपछि यसो भने: “पहाडतिर भाग, नत्रता भस्म हुनेछौ।” तर लूतले यस्तो जवाफ दिए: “हजूर हो, त्यसो नहोस्‌।” त्यसपछि लूतले अर्को विकल्प यसरी अघि सारे: “हेर्नुहोस्‌, उ त्यो शहर भाग्नलाई नजीकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीं नै भाग्नदिनुहोस्‌।” यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले भन्‍नुभयो: “हेर्‌, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें।” (उत्पत्ति १९:१७-२२) के त्यतिबेला यहोवाले आफ्नो अधिकार छोड्‌नुभएको हो? अवश्‍यै होइन! तर उहाँले लूतको बिन्तीलाई विचार गर्नुभयो र यस मामिलामा उनीप्रति थप दया देखाउनुभयो। यदि तपाईं आमाबाबु हुनुहुन्छ भने, घरको नियम बनाउँदा छोराछोरीको चासोलाई पनि कहिलेकाहीं विचार गर्न सक्नुहुन्छ कि?

१२. छोराछोरीलाई सुरक्षित महसुस गर्न केले मदत दिनेछ?

१२ हो, छोराछोरीले नियम मात्र जानेर हुँदैन तर ती नियम तोडेमा सजाय पाइन्छ भन्‍ने कुरा पनि जान्‍नु आवश्‍यक छ। कस्तो सजाय पाइन्छ भन्‍नेबारे छलफल गरिसकेपछि र त्यो सजायबारे बुझाइसकेपछि आमाबाबुले नियमहरू लागू गर्नु आवश्‍यक छ। छोराछोरीलाई सजायबारे लगातार चेतावनी चाहिं दिने तर त्यो लागू भने नगर्ने आमाबाबुले तिनीहरूप्रति दया देखाइरहेका हुँदैनन्‌। किनभने बाइबल यसो भन्छ: “खराब कामको दण्ड तुरुन्तै नपाएकोले नै मानिसले यति साहससित खराब काम गर्दछ।” (उपदेशक ८:११) हो, आमाबाबुले छोराछोरीलाई लाजमा नपर्नेगरि अरू मानिस वा साथीभाइको अघि सजाय नदेलान्‌। तर आमाबाबुले सजाय दिनुपर्दा समेत उनीहरूको “हो” हो नै भएको र “होइन” होइन नै भएको देख्दा छोराछोरीले झन्‌ बढी सुरक्षित महसुस गर्नुका साथै आमाबाबुप्रतिको तिनीहरूको आदर र प्रेम पनि बढ्‌छ।—मत्ती ५:३७.

१३, १४. छोराछोरीलाई प्रशिक्षण दिंदा आमाबाबुले कसरी यहोवाको अनुकरण गर्न सक्छन्‌?

१३ सजायलाई दयालु बनाउने हो भने, सजाय र सजाय दिने तरिका छोराछोरीलाई मिल्ने किसिमको बनाउनुपर्छ। प्याम सम्झन्छिन्‌: “हाम्रा दुई छोरीलाई एकै प्रकारको अनुशासन दिएर हुँदैनथ्यो। एउटालाई दिएको अनुशासन अर्कोलाई काम लाग्दैनथ्यो।” उनका पति लेरी बताउँछन्‌: “जेठी छोरी आफूले चाहेको कुरा नपाइन्जेल ढिपी कस्ने खालकी थिइन्‌ र कडा अनुशासन चाहिने जस्तो देखिन्थ्यो। तर कान्छी छोरीलाई चाहिं अलिक ठूलो सोरले हपारिदियो या त आँखा अलिक ठूलो पारेर हेरिदियो भने पनि पुग्थ्यो।” वास्तवमा, दयालु आमाबाबुले प्रत्येक छोराछोरीलाई मिल्ने किसिमको अनुशासन दिन हर प्रयास गर्छन्‌।

१४ यहोवा आफ्ना जनको राम्रो पक्ष र कमजोर पक्ष जान्‍नुहुन्छ। यो, उहाँले आमाबाबुको निम्ति बसाल्नुभएको उदाहरण हो। (हिब्रू ४:१३) यसबाहेक, सजाय दिंदा उहाँ न अचाक्ली कठोर न त जे मन लाग्यो त्यही गर्न दिने नै हुनुहुन्छ। त्यसको साटो उहाँ जहिले पनि आफ्ना जनलाई “ठीक नापले” अनुशासन दिनुहुन्छ। (यर्मिया ३०:११) आमाबाबु हो, के तपाईंलाई पनि आफ्ना छोराछोरीको राम्रो पक्ष र कमजोर पक्ष थाह छ? थाह छ भने त्यो ज्ञानलाई के तपाईं प्रभावकारी र दयालु ढंगमा छोराछोरीलाई प्रशिक्षण दिन चलाइरहनुभएको छ? त्यसो गर्नुहुन्छ भने, तपाईं छोराछोरीलाई प्रेम गर्नुहुन्छ भनी साबित गर्दै हुनुहुन्छ।

मन खोलेर कुरा गर्न प्रोत्साहन दिनुहोस्‌

१५, १६. आमाबाबुले छोराछोरीलाई मन खोलेर कुरा गर्न कसरी प्रोत्साहन दिन सक्छन्‌ र यस सन्दर्भमा मसीही आमाबाबुले कुन तरिका प्रभावकारी पाएका छन्‌?

१५ प्रेमको अर्को पक्ष हो: यो “अधर्ममा खुशी हुँदैन तर सत्यमा खुशी हुन्छ।” (१ कोरिन्थी १३:६) आमाबाबुले छोराछोरीलाई जे सही र साँचो छ त्यसलाई प्रेम गर्न कसरी प्रशिक्षण दिन सक्छन्‌? यसको लागि चाल्नुपर्ने अत्यावश्‍यक कदम हो, छोराछोरीलाई मन खोलेर आफ्ना भावना व्यक्‍त गर्न प्रोत्साहन दिनु। तिनीहरूले व्यक्‍त गरेका कुरा आमाबाबुलाई पच्दैन भने पनि यस्तो प्रोत्साहन दिनुपर्छ। हो, छोराछोरीले धार्मिक स्तरअनुरूप आफ्ना विचार र भावना व्यक्‍त गर्दा आमाबाबुलाई खुसी लाग्छ। तैपनि, कहिलेकाहीं छोराछोरीले व्यक्‍त गरेका कुराबाट तिनीहरूमा अधार्मिक मार्गतिर लाग्ने झुकाव बढ्‌दै गरेको कुरा प्रकट हुन सक्छ। (उत्पत्ति ८:२१) त्यतिबेला आमाबाबुले के गर्नुपर्छ? तिनीहरूलाई झट्टै सुधारिहाल्ने विचार आमाबाबुको मनमा आउला। तर त्यसो गरेमा आमाबाबुलाई मनपर्ने कुरा मात्र भन्‍नुपर्ने रहेछ भनेर तिनीहरूले चाँडै सिक्नेछन्‌। हुन त अनादरपूर्ण बोलीलाई सुधारिहाल्नुपर्छ। तर कसरी शिष्टसित कुरा गर्ने भनी छोराछोरीलाई सिकाउनु र तिनीहरूले यसै भन्‍नुपर्छ भनी माग गर्नुबीच भिन्‍नता छ।

१६ आमाबाबुले छोराछोरीलाई मन खोलेर कुरा गर्न कसरी प्रोत्साहन दिन सक्छन्‌? अगाडि पनि उल्लेख गरिएकी आलिया यसो भन्छिन्‌: “छोराछोरीले हामीलाई नपच्ने कुरा व्यक्‍त गर्दा समेत बढ्‌तै नरिसाउने र चित्त नदुखाउने प्रयास गरेर हामीले तिनीहरूका लागि मन खोलेर कुरा गर्ने वातावरण बनाउन सकेका छौं।” टम नाउँ गरेका पिता भन्छन्‌: “हामीले छोरीलाई मनको कुरा निर्धक्कसित खोल्न प्रोत्साहन दियौं, यहाँ सम्म कि हाम्रो सोचाइसित उनी सहमत नहुँदा समेत। हामीले के महसुस गऱ्‍यौं भने, उनलाई बोल्न नदिई हाम्रै इच्छा मात्र उनीमाथि थोपऱ्‍यौं भने उनी खिन्‍न हुनेछिन्‌ र मनको कुरा बताउँदिनन्‌। अर्कोतर्फ, हामीले उनको कुरा सुन्दा उनी हाम्रो कुरा सुन्‍न प्रोत्साहित भइन्‌।” हो, छोराछोरीले अवश्‍यै आमाबाबुको आज्ञा पालन गर्नुपर्छ। (हितोपदेश ६:२०) तर छोराछोरीसित खुलस्त कुराकानी गर्दा आमाबाबुले तिनीहरूलाई तर्कशक्‍ति विकास गर्न मदत दिइरहेका हुन्छन्‌। चार छोरीका बुबा भिन्सेन्ट भन्छन्‌: “अक्सर हामी परिस्थितिको राम्रो र नराम्रो पक्षबारे छलफल गर्ने गर्थ्यौं जसले गर्दा के गर्दा राम्रो हुन्छ, त्यो कुरा हाम्रा छोरीहरू आफैले बुझ्न सक्थे। यसले तिनीहरूमा सोच्ने क्षमता विकास गर्न मदत पुऱ्‍यायो।”—हितोपदेश १:१-४.

१७. कुन कुराबारे आमाबाबु निश्‍चित हुन सक्छन्‌?

१७ हुन त, कुनै पनि आमाबाबु बच्चा हुर्काउने सन्दर्भमा बाइबलको सल्लाह शतप्रतिशत लागू गर्न सक्षम हुने छैनन्‌। तैपनि, तपाईंले धीरजी भई, दयालु र मायालु ढंगमा छोराछोरीलाई प्रशिक्षण दिन प्रयास गर्नुभएकोमा तिनीहरू हृदयदेखि नै कृतज्ञ हुनेछन्‌ भनी निश्‍चित हुन सक्नुहुन्छ। तपाईंको यस प्रयासमा यहोवाले निश्‍चयै आशिष्‌ दिनुहुनेछ। (हितोपदेश ३:३३) आखिर, हरेक मसीही आमाबाबु आफूले यहोवालाई जत्ति प्रेम गर्छन्‌ आफ्ना छोराछोरीले पनि उहाँलाई त्यतिकै प्रेम गरून्‌ भन्‍ने चाहन्छन्‌। यस्तो उत्कृष्ट लक्ष्यमा आमाबाबु कसरी पुग्न सक्छन्‌? यस सन्दर्भमा केही खास तरिकाहरू अर्को लेखमा छलफल गरिनेछ। (w 07 9/1)

के तपाईंलाई याद छ?

• समझ देखाउँदा आमाबाबुले धीरजी हुन कसरी मदत पाउन सक्छन्‌?

• दया र अनुशासन कसरी आपसमा सम्बन्धित छ?

• आमाबाबु र छोराछोरीबीच मन खोलेर कुरा गर्नु किन अत्यावश्‍यक छ?

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएका चित्रहरू]

आमाबाबु हो, केटाकेटी छँदा तपाईं कस्तो हुनुहुन्थ्यो, सम्झन सक्नुहुन्छ?

[पृष्ठ २५-मा भएको चित्र]

के तपाईं छोराछोरीलाई मन खोलेर कुरा गर्न प्रोत्साहन दिनुहुन्छ?