सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं

दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं

दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं

“हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं।”—याकूब ५:११.

१, २. मानिसले दुःखकष्ट भोगून्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थिएन भनी कुन कुराले देखाउँछ?

 कोही पनि सामान्य व्यक्‍तिलाई दुःख भोग्न मन लाग्दैन, न त हाम्रा सृष्टिकर्ता यहोवा मानिसहरूले दुःख भोगून्‌ भन्‍ने नै चाहनुहुन्छ। यो कुरा हामी प्रथम पुरुष र स्त्री सृष्टि गरेपछि के भयो भनी उहाँको प्रेरित वचन केलाएर हेर्दा थाह पाउन सक्छौं। सबैभन्दा पहिला परमेश्‍वरले पुरुष बनाउनुभयो। “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) आदमको मन अनि शरीर दुवै सिद्ध थियो र तिनलाई रोगबिमार नलाग्नुका साथै मर्नु पनि पर्दैन थियो।

अनि आदम कस्तो अवस्थामा बाँचिरहेका थिए? “परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैंचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीं राख्नुभयो। औ हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो।” (उत्पत्ति २:८, ९) हो, आदमको अद्‌भुत घर थियो। अदनमा कुनै दुःखकष्ट थिएन।

३. प्रथम मानव दम्पतीसित कस्तो प्रत्याशा थियो?

उत्पत्ति २:१८ हामीलाई यस्तो बताउँछ: “फेरि परमप्रभु परमेश्‍वरले, भन्‍नुभयो ‘मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।’ ” यहोवाले आदमको लागि एउटी सिद्ध पत्नी बनाइदिनुभयो र त्यसरी सुखी परिवारको प्रत्याशा सम्भव भयो। (उत्पत्ति २:२१-२३) बाइबल अझ बताउँछ: “परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।’ ” (उत्पत्ति १:२८) पूरै पृथ्वी अदनको बगैंचा जस्तै नभएसम्म प्रथम मानव दम्पतीले बगैंचारूपी प्रमोदवन फैलाउँदै लैजाने सुनौलो मौका पाउने थिए। अनि तिनीहरूले सुखी सन्तानहरू जन्माउने थिए र तिनीहरूले पनि दुःखकष्ट भोग्नुपर्ने थिएन। कत्ति राम्रो सुरुआत!—उत्पत्ति १:३१.

दुःखकष्ट सुरु हुन्छ

४. इतिहासका पाना पल्टाएर हेऱ्‍यौं भने मानिसजातिको अवस्थाबारे के कुरा स्पष्ट हुन्छ?

तर इतिहासका पाना पल्टाएर मानव परिवारको अवस्था हेऱ्‍यौं भने केही कारणले गर्दा अवस्था नराम्ररी बिग्रिएको स्पष्ट हुन्छ। खराब कुराहरू भएका छन्‌ र मानव परिवारले घोर दुःखकष्ट भोगेको छ। शताब्दीयौंको दौडान आदम र हव्वाका सबै सन्तान बिरामी परेका छन्‌, बूढो भएका छन्‌ र अन्ततः मरेका छन्‌। आनन्दित मानिसहरूले भरिएको प्रमोदवन जस्तो त यो संसार पटक्कै छैन। अहिलेको परिस्थितिको सही वर्णन रोमी ८:२२ मा यसरी गरिएको छ: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”

५. मानव परिवारलाई दुःखकष्टमा घचेट्‌ने काममा हाम्रा प्रथम मातापिता कसरी मुछिए?

लामो समयदेखि मानिसहरूले भोग्दै आएका अनेकौ दुःखकष्टको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्‍न। (२ शमूएल २२:३१) यसको लागि केही हदसम्म मानिस आफै दोषी छ। “तिनीहरू भ्रष्ट भएका छन्‌, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्‌।” (भजन १४:१) हाम्रा प्रथम मातापितालाई सुरुमा सबै असल कुराहरू दिइएको थियो। तिनीहरू केवल परमेश्‍वरप्रति आज्ञाकारी हुनुपर्ने थियो। तर आदम र हव्वाले यहोवाबाट स्वतन्त्र हुने छनौट गरे। हाम्रा प्रथम मातापिता यहोवाबाट अलग्गिएको कारण उहाँले तिनीहरूलाई सिद्ध अवस्थामा राखिराख्नु हुने थिएन। मृत्युले तिनीहरूलाई ननिलेसम्म तिनीहरूको अवस्था झन्‌-झनै खराब हुँदै जाने थियो। असिद्धता हामीमा पनि सरेको छ।—उत्पत्ति ३:१७-१९; रोमी ५:१२.

६. दुःखकष्टको सुरुआत गर्नमा शैतानले कस्तो भूमिका खेल्यो?

सबै दुःखकष्टको सुरुआतको लागि एउटा आत्मिक प्राणी पनि जिम्मेवार छ जसलाई पछि शैतान अर्थात्‌ दियाबल भनियो। त्यसलाई स्वतन्त्र इच्छा दिइएको थियो। तर त्यसले उपासना आफूतिर मोड्‌ने कुप्रयासमा स्वतन्त्र इच्छाको दुरुपयोग गऱ्‍यो। यद्यपि, उपासना यहोवाको मात्र गर्नुपर्छ, उहाँको सृष्टिको होइन। आदम र हव्वालाई यहोवा परमेश्‍वरबाट स्वतन्त्र हुन उक्साउने शैतान नै हो। त्यसले “असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ” भन्यो।—उत्पत्ति ३:५.

शासन गर्ने अधिकार यहोवालाई मात्रै छ

७. यहोवा विरुद्ध गरिएको विद्रोहको नतिजाबाट के स्पष्ट हुन्छ?

विद्रोहका खराब नतिजाहरूबाट के स्पष्ट हुन्छ भने शासन गर्ने अधिकार ब्रह्‍माण्डको सार्वभौम यहोवालाई मात्र छ र उहाँको शासन मात्र धार्मिक छ। “यस संसारको मालिक” बनेको शैतानले दुष्ट, अभक्‍त र हिंस्रक शासनको थालनी गरेको छ र यो शासन पूर्णतया असन्तोषजनक छ भन्‍ने कुरा विगत हजारौं वर्षदेखि छर्लंगै भएको छ। (यूहन्‍ना १२:३१) शैतानको वशमा भएका मानव सरकारहरूको लामो र दयनीय शासनबाट अर्को के कुरा पनि स्पष्ट हुन्छ भने तिनीहरू धार्मिकतामा शासन गर्न असक्षम छन्‌। (यर्मिया १०:२३) त्यसैले यहोवाको शासनबाहेक मानिसले जस्तोसुकै तरिकाले शासन गर्न प्रयास गरे तापनि सफल हुनै सक्दैन। इतिहास यसको गवाही छ।

८. सबै किसिमका मानव शासनलाई यहोवाले के गर्नुहुनेछ र उहाँले त्यो कसरी पूरा गर्नुहुनेछ?

परमेश्‍वरले मानिसहरूलाई उहाँबाट अलग भई अनेकन्‌ किसिमका शासन-प्रणाली अपनाएर शासन गर्न दिनुभएको हजारौं वर्ष भइसक्यो र अब उहाँले सबै किसिमका शासनलाई हटाएर आफ्नो शासन स्थापना गर्नु जायज छ। यसबारे भविष्यवाणीले यसो भन्छ: “ती राजाहरूका [मानव शासकहरूका] समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य [ख्रीष्टको अधीनमा रहेको उहाँको स्वर्गीय सरकार] खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) प्रेत तथा मानिसहरूको शासनको अन्त हुनेछ। परमेश्‍वरको स्वर्गीय राज्य मात्रै रहनेछ र यसैले पृथ्वीमा शासन गर्नेछ। ख्रीष्ट राजा हुनुहुनेछ र पृथ्वीबाट छानिएका १,४४,००० विश्‍वासी जनहरू उहाँका सह-शासक हुनेछन्‌।—प्रकाश १४:१.

दुःखकष्ट सहँदाका लाभहरू

९, १०. आफूले भोगेका दुःखकष्टबाट येशूले कसरी लाभ उठाउन सक्नुभयो?

स्वर्गको राज्यमा शासन गर्नेहरूको योग्यता जाँचेर हेर्नु रोचक हुनेछ। सर्वप्रथम, ख्रीष्ट येशूले आफू राजाको भूमिकामा कत्तिको योग्य हुनुहुन्छ भनी देखाउनुभयो। उहाँले मुख्य ‘कारीगरको’ रूपमा आफ्ना पिताको इच्छाअनुसार गर्दै युगौंयुग यहोवासँग बिताउनुभयो। (हितोपदेश ८:२२-३१, NRV) यहोवाले येशूलाई पृथ्वीमा पठाउनुहुँदा पनि उहाँ राजीखुसीले आउनुभयो। अनि पृथ्वीमा पनि उहाँ यहोवाको सार्वभौमिकता र राज्यबारे अरूलाई बताउनमै व्यस्त हुनुभयो। पूर्णतया यहोवाको सार्वभौमिकताको अधीनमा बसेर येशूले हामी सबैको लागि एकदमै राम्रो उदाहरण बसाल्नुभयो।—मत्ती ४:१७; ६:९.

१० येशूले सतावट भोग्नुभयो र अन्ततः उहाँलाई मारियो पनि। पृथ्वीमा आफ्नो सेवाको दौडान आफू वरपर मानिसहरूको दयनीय अवस्थालाई उहाँले देख्न सक्नुभयो। त्यसरी मानिसजातिको दुःख देख्नुहुँदा र आफैले पनि दुःख भोग्नुहुँदा के उहाँलाई केही लाभ भयो त? अवश्‍य। हिब्रू ५:८ यसो भन्छ: “उहाँ [परमेश्‍वरको] पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो।” यस पृथ्वीमा हुँदा बटुलेका अनुभवहरूले उहाँलाई अझै समझदार र दयालु बनाए। उहाँ आफैले मानव परिवारको अवस्था अनुभव गर्नुभयो। उहाँले दुःखमा परेकालाई सहानुभूति देखाउनुका साथै तिनीहरूलाई छुटकारा दिलाउने काममा आफ्नो भूमिकालाई अझ राम्ररी बुझ्न मदत दिन सक्नुभयो। प्रेरित पावलले हिब्रूको पुस्तकमा यो कुरा कसरी प्रकाश पारेका छन्‌, याद गर्नुहोस्‌: “मानिसहरूका पापको प्रायश्‍चित गर्नालाई परमेश्‍वर[सितको] सम्बन्धको कुरामा उहाँ कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी हुनालाई, सबै कुरामा आफ्ना भाइहरूजस्तै उहाँलाई बनिनुपऱ्‍यो। किनकि आफै परीक्षित भई शासना भोग्नुभएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्नसक्नुहुन्छ।” “हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू २:१७, १८; ४:१४-१६; मत्ती ९:३६; ११:२८-३०.

११. पृथ्वीमा बटुलेका अनुभवहरूले भविष्यका राजा र पूजाहारीहरूलाई शासकको रूपमा कसरी लाभ पुऱ्‍याउनेछ?

११ स्वर्गीय राज्यमा ख्रीष्टको सह-शासक हुन पृथ्वीबाट “किनिएका” १,४४,००० जनबारे पनि त्यसै भन्‍न सकिन्छ। (प्रकाश १४:४) तिनीहरू सबै, मानिसको रूपमा पृथ्वीमा जन्मिए, दुःखकष्टले भरिएको संसारमा हुर्किए अनि दुःख पनि भोगे। यहोवाप्रति आफ्नो निष्ठा कायम राखेकोले र येशूको पछि लागेकोले गर्दा थुप्रैले सतावट र कतिपयले त मृत्यु समेत भोगे। तर तिनीहरूले ‘आफ्ना प्रभुको साक्षीको शर्म मानेनन्‌, तर परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको निम्ति कष्ट भोगे।’ (२ तिमोथी १:८) पृथ्वीमा बटुलेका अनुभवहरूले तिनीहरूलाई विशेष गरी मानव परिवारहरूको मामिलामा न्याय गर्न योग्य बनाएको छ। तिनीहरूले अझ सहानुभूतिशील र दयालु हुन सिकेका छन्‌। साथै मानिसहरूलाई मदत गर्न अझ उत्सुक हुन सकेका छन्‌।—प्रकाश ५:१०; १४:२-५; २०:६.

पार्थिव आशा भएकाहरूको आनन्द

१२, १३. दुःखकष्ट भोग्दा पार्थिव आशा भएकाहरूले कसरी लाभ उठाउन सक्छन्‌?

१२ रोगबिमार, दुःख र मृत्युरहित पार्थिव प्रमोदवनमा बाँच्ने आशा भएकाहरूलाई पनि हाल भोगिरहेको दुःखकष्टले केही लाभ पुऱ्‍याउँछ त? दुःखकष्टले गर्दा हुने पीडा र वेदना पक्कै पनि चाह गर्ने कुरा त होइन। तर त्यस्ता दुःखकष्ट सहँदा हामीमा भएका असल गुणहरू अझै निखारिन सक्छ र आनन्दित हुन सक्छौं।

१३ यसबारे परमेश्‍वरको प्रेरित वचन के भन्छ, विचार गर्नुहोस्‌: “धर्मको खातिर दुःख भोग्नुपऱ्‍यो भनेता तिमीहरू धन्यका हौ।” “ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका हौ।” (१ पत्रुस ३:१४; ४:१४) “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” (मत्ती ५:११, १२) “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि . . . जीवनको मुकुट त्यसले पाउनेछ।”—याकूब १:१२.

१४. कुन अर्थमा यहोवाका उपासकहरू दुःख भोग्दा आनन्दित हुन्छन्‌?

१४ हामीले सहनुपरेको दुःखकष्टले नै हामीलाई आनन्दित बनाउने त होइन। यहोवाको इच्छाअनुसार गरेकोले र येशूको नमुना पछ्याएकोले गर्दा नै दुःख आइपरेको हो भनी थाह पाउँदा हामी आनन्द र सन्तुष्ट महसुस गर्छौं। उदाहरणका लागि, प्रथम शताब्दीमा केही प्रेरितहरूलाई येशू ख्रीष्टबारे प्रचार गरेकोले थुनामा राखियो र पछि यहूदीहरूको महासभामा ल्याएर निन्दा गरियो। अनि तिनीहरूलाई पिटेर छोडियो। तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? बाइबल विवरण बताउँछ: “उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए।” (प्रेरित ५:१७-४१) पिटाइ खाएर शारीरिक पीडा भोग्नुपर्दा तिनीहरू रमाएका थिएनन्‌। बरु, यहोवाप्रतिको निष्ठा कायम राख्दा र येशूको पाइला पछ्याउँदा यस्तो भएको हो भन्‍ने कुरा बुझेकाले तिनीहरू रमाएका थिए।—प्रेरित १६:२५; २ कोरिन्थी १२:१०; १ पत्रुस ४:१३.

१५. हामीले अहिले दुःखकष्ट भोग्दा भविष्यमा कसरी लाभ हुन सक्छ?

१५ सही मनोवृत्तिका साथ विरोध र सतावट सह्‍यौं भने हामी धीरजी बन्छौं। यसले हामीलाई भविष्यमा आउन सक्ने दुःखकष्ट सामना गर्न मदत गर्नेछ। हामी यस्तो लेखिएको पाउँछौं: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।” (याकूब १:२, ३) त्यसै गरी रोमी ५:३-५ हामीलाई यसो भन्छ: “सङ्‌कष्टले धीरज उत्पन्‍न गराउँछ भनी जानेर, हामी सङ्‌कष्टहरूमा पनि आनन्दित होऔं, औ धीरजले सदाचार, र सदाचारले आशा, औ आशाले निराश गराउँदैन।” त्यसकारण, मसीही मार्गमा हिंड्‌दा अहिले जति धेरै दुःख भोग्छौं त्यसले हामीलाई यस दुष्ट रीतिरिवाजको अन्त नभएसम्म आइपर्न सक्ने थप दुःखकष्ट भोग्न त्यति नै सुसज्जित पार्नेछ।

यहोवाले इनाम दिनुहुनेछ

१६. भविष्यका राजा र पूजाहारीहरूका लागि तिनीहरूले भोगेका दुःखकष्टको इनामस्वरूप यहोवाले के गर्नुहुनेछ?

१६ मसीही मार्ग पक्रिराख्दा सतावट वा विरोधको कारण भौतिक कुराहरूको क्षति भोग्नुपरे तापनि यहोवाले हामीलाई इनाम दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौं। उदाहरणका लागि, परमेश्‍वरको राज्यको शासकको रूपमा “आफैकहाँ उत्तम र रहिरहने अर्को एउटा सम्पत्ति छ भन्‍ने जानेर तिमीहरूका धनसम्पत्ति आनन्दसँग लूट्‌न दियौ” भनी स्वर्गीय आशा भएका कोही-कोहीलाई प्रेरित पावलले लेखे। (हिब्रू १०:३४) अनि यहोवा र ख्रीष्टको निर्देशनमा नयाँ संसारमा पृथ्वीका बासिन्दालाई अद्‌भुत आशिष्‌हरू वर्षाउने काममा सहभागी हुँदा तिनीहरू कत्ति हर्षित हुन्छन्‌ होला, कल्पना गर्नुहोस्‌ त! प्रेरित पावलले विश्‍वासी मसीहीहरूलाई भनेका यी कुरा कत्ति साँचो साबित हुनेछ: “यस वर्त्तमान समयको दुःख हामीलाई पछि प्रकट हुनआउने महिमासँग तुलना हुने योग्यको छैन।”—रोमी ८:१८.

१७. पार्थिव आशा भएका आफ्ना वफादार सेवकहरूका लागि यहोवाले के गर्नुहुनेछ?

१७ त्यसै गरी, पार्थिव आशा भएकाहरूले अहिले यहोवाको सेवा गर्दा जेसुकै गुमाउनुपरे तापनि वा स्वेच्छाले जेसुकै त्याग्नुपरे तापनि भविष्यमा गर्नुहुने महान्‌ कार्यहरूद्वारा यहोवाले तिनीहरूलाई प्रशस्त इनाम दिनुहुनेछ। उहाँले तिनीहरूलाई पार्थिव प्रमोदवनमा सिद्ध, अनन्त जीवन दिनुहुनेछ। त्यस नयाँ संसारमा यहोवाले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) कस्तो गजबको प्रतिज्ञा! यस रीतिरिवाजमा हामीले यहोवाको खातिर गरेका जस्तोसुकै त्यागहरू पनि दुःखकष्ट भोग्ने आफ्ना विश्‍वासी सेवकहरूलाई उहाँले दिनुहुने अद्‌भुत जीवनको दाँजोमा आउन सक्दैन।

१८. यहोवाले उहाँको वचनमा हामीलाई कस्तो सान्त्वनादायी प्रतिज्ञा गर्नुभएको छ?

१८ हामीमाथि आइपर्न सक्ने कुनै पनि दुःखकष्टले परमेश्‍वरको नयाँ संसारमा हामीले पाउने अनन्त जीवनको आनन्दमा पक्कै पनि बाधा पुऱ्‍याउन सक्दैन। नयाँ संसारमा छाउने सुन्दर परिस्थितिले अहिलेको अवस्थालाई बिर्साउने छ। यशैया ६५:१७, १८ यसो भन्छ: “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर।” त्यसैकारण येशूका सौतेनी भाइ याकूबले यस्तो घोषणा गर्नु उपयुक्‍त थियो: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं।” (याकूब ५:११) हो, हामीले विश्‍वासीपूर्वक दुःखकष्ट सह्‍यौं भने अहिले र भविष्यमा पनि लाभ उठाउन सक्नेछौं। (w 07 8/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मानिसजातिले किन दुःखकष्ट भोग्नुपऱ्‍यो?

• पृथ्वीका भावी शासकहरू र बासिन्दालाई दुःखकष्टले कस्ता लाभ पुऱ्‍याउन सक्छ?

• दुःखकष्टको बावजूद हामी अहिले किन आनन्दित हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

हाम्रा प्रथम मातापिताको अघि सुन्दर भविष्य थियो

[पृष्ठ १५-मा भएको चित्र]

मानिसहरूको दुःखकष्ट देखेकोले येशूलाई राजा र प्रधान पूजाहारीको रूपमा सेवा गर्न अझै तयार बनायो

[पृष्ठ १७-मा भएको चित्र]

प्रेरितहरू विश्‍वासको खातिर ‘अपमान सहनु सौभाग्यको कुरो हो भनी सम्झी रमाए’