सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ

यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ

यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ

“म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु।”—यशैया ६१:८.

१, २. (क) “न्याय” र “अन्याय” शब्दको अर्थ के हो? (ख) बाइबलले यहोवा र उहाँको गुण न्यायबारे के भन्छ?

 न्यायलाई ‘निष्पक्ष, पक्षपातरहित र नैतिकवान्‌’ भनेर परिभाषित गरिएको छ। अन्याय भनेको चाहिं अरूलाई बिनासित्ती हानि गर्ने पक्षपाती, पूर्वाग्रही र दुष्ट हुनु हो।

झन्डै ३,५०० वर्षअघि मोशाले ब्रह्‍माण्डका सार्वभौम यहोवाबारे यस्तो लेखे: “उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, . . . हुनुहुन्छ।” (व्यवस्था ३२:४) त्यसको सात सय वर्षभन्दा बढी समयपछि यहोवाले यशैयालाई यी शब्दहरू लेख्न प्रेरित गर्नुभयो: “म, परमप्रभु चाहिं, न्यायलाई प्रेम गर्दछु।” (यशैया ६१:८) अनि प्रथम शताब्दीमा पावलले यस्तो उद्‌गार व्यक्‍त गरे: “के परमेश्‍वरमा अन्याय छ त? कदापि होइन!” (रोमी ९:१४, NRV) अनि सोही शताब्दीमा पत्रुसले यस्तो घोषणा गरे: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) हो, यहोवा “इन्साफ प्रेम गर्नुहुन्छ।”—भजन ३७:२८; मलाकी ३:६.

अन्याय व्याप्त

३. पृथ्वीमा अन्यायको सुरुआत कसरी भयो?

तर आजभोलि न्याय सजिलै पाइने कुरो होइन। समाजको हर क्षेत्रमा हामी अन्यायको शिकार हुन सक्छौं। जस्तै: जागिरमा, स्कूलमा, अधिकारीहरूसँग व्यवहार गर्दा र अन्य तरिकामा—भनौं भने परिवारमा समेत। पक्कै पनि यस्ता अन्याय कुनै नौला कुरा त होइनन्‌। हाम्रा प्रथम मातापिताले पछि शैतान अर्थात्‌ दियाबल बनेको विद्रोही आत्मिक प्राणीको बहकाउमा लागेर विद्रोह गरेदेखि मानिसजाति अन्यायको भुमरीमा परेको हो। यहोवा परमेश्‍वरले दिनुभएको अद्‌भुत वरदान अर्थात्‌ स्वतन्त्र इच्छाको आदम, हव्वा र शैतानले दुरुपयोग गर्नु पक्कै पनि अन्याय थियो। तिनीहरूले चालेको गलत कदमको कारण सम्पूर्ण मानव परिवारमा पहाडरूपी दुःखकष्ट र मृत्यु आइपऱ्‍यो।—उत्पत्ति ३:१-६; रोमी ५:१२; हिब्रू २:१४.

४. मानिसहरूलाई कहिलेदेखि अन्यायले पिरोल्दै आएको छ?

अदनको बगैंचामा विद्रोह भएको समयदेखि नै अर्थात्‌ झन्डै ६,००० वर्षअघिदेखि मानिसलाई अन्यायले पिरोल्न छोडेको छैन। यस्तो अवश्‍यै हुन्छ किनभने यस संसारको देव शैतान हो। (२ कोरिन्थी ४:४) त्यो झूट र झूटको पिता, निन्दक र यहोवाको विरोधी हो। (यूहन्‍ना ८:४४) त्यो सधैं घोर अन्यायहरूमा मुछिएको छ। उदाहरणका लागि, नूहको समयको जलप्रलयअघि, केही हदसम्म शैतानको दुष्ट प्रभावको कारण “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” (उत्पत्ति ६:५) येशूको समयको अवस्थामा पनि खासै केही फरक थिएन। उहाँले यसो भन्‍नुभयो: “आजको बुराइ आजको निम्ति यथेष्ट छ” मतलब, अन्याय जस्ता दुःखदायी समस्याहरू पुग्दो छन्‌। (मत्ती ६:३४) बाइबलले यसो भन्‍नु कत्ति सही छ: “सारा सृष्टि पनि साथसाथै पीडाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”—रोमी ८:२२.

५. हाम्रो समयमा पहिलाभन्दा झन्‌ धेरै अन्याय हुनुको कारण के हो?

अतः घोर अन्यायपूर्ण खराब कुराहरू मानव इतिहासभरि नै हुँदै आएका छन्‌। अहिले त अवस्था पहिलाभन्दा झनै खतम छ। किन? किनभने यस अभक्‍त संसारले “आखिरी दिनमा” पाइला टेकेको दशकौं भइसक्यो र यसको अन्त झन्‌-झनै नजिक भएकोले ‘समय डरलाग्दो’ छ। यस समयको दौडान मानिसहरू कस्ता हुनेछन्‌, त्यसबारे बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, . . . वैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरुचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, . . . हुनेछन्‌।” (२ तिमोथी ३:१-५) यस्ता दुर्गुणहरूले सबै प्रकारका अन्यायलाई निम्त्याउँछ।

६, ७. वर्तमान समयमा मानव परिवारलाई कस्ता घोर अन्यायहरूले सताएको छ?

गएको सय वर्षमा भएका अन्यायका घटनाहरू पहिला कहिल्यै भएका थिएनन्‌। एउटा त, सबैभन्दा धेरै युद्ध यी वर्षहरूमै भए। उदाहरणका लागि, केही इतिहासकारहरूको अनुमानअनुसार दोस्रो विश्‍वयुद्धमा मात्रै झन्डै पाँचदेखि छ करोड मानिसहरू मरे जसमध्ये अधिकांश सर्वसाधारण अर्थात्‌ निर्दोष पुरुष, स्त्री र केटाकेटी थिए। त्यस युद्धको अन्त भएदेखि यता अन्य लाखौं-लाख मानिस विभिन्‍न द्वन्द्वमा मारिएका छन्‌ जसमध्ये पनि अधिकांश सर्वसाधारण नै छन्‌। शैतानले त्यस्तो अन्यायलाई बढावा दिन्छ किनभने आफूले चाँडै यहोवाको हातबाट पराजय भोग्नुपर्छ भनेर त्यसलाई थाह छ र त्यो एकदमै क्रोधित छ। बाइबल भविष्यवाणी यसो भन्छ: “आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:१२.

संसारभरि अहिले सैन्य गतिविधिको लागि वर्षेनी दस खरब अमेरिकी डलरभन्दा बढी खर्च गरिन्छ। लाखौं मानिसले जीवनका आधारभूत कुरा पनि जुटाउन सकिरहेका छैनन्‌। त्यसैले सोच्नुहोस्‌ त, त्यो सबै पैसा राम्रो कामको लागि प्रयोग गरेको भए कत्ति लाभ पुग्नेथियो! झन्डै एक अरब मानिस भोको पेट छन्‌ भने अर्कोतर्फ अरूसित छेलोखेलो छ। संयुक्‍त राष्ट्र संघको एउटा स्रोतअनुसार प्रत्येक वर्ष ५० लाख बालबालिका भोको पेटका कारण हुने असरहरूले गर्दा मर्छन्‌। कस्तो अन्याय! अनि गर्भ तुहाएर मारिने थुप्रै निर्बोधहरूलाई सम्झनुहोस्‌। फरक-फरक अनुमानअनुसार संसारभरि प्रत्येक वर्ष चार देखि छ करोडको बीचमा गर्भपात गरिन्छ। कस्तो ज्यादती!

८. मानिसजातिले साँचो न्याय कसरी मात्र पाउन सक्छ?

आज मानिसजातिलाई पिरोलिरहेको अनेकन्‌ समस्याको समाधान मानव शासकहरूले गर्न सकिरहेका छैनन्‌, न त मानव प्रयासले गर्दा अवस्थामा केही सुधार नै आउनेछ। हाम्रो समयमा “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌” भनी परमेश्‍वरको वचनमा भविष्यवाणी गरिएको थियो। (२ तिमोथी ३:१३) अन्याय, जीवनको एउटा यस्तो अभिन्‍न भाग भइसक्यो कि मानिसले यसलाई हटाउनै सक्दैन। न्यायी परमेश्‍वरले मात्र यसलाई हटाउन सक्नुहुन्छ। उहाँले मात्र शैतान, प्रेतहरू अनि दुष्ट मानिसहरूलाई हटाउन सक्नुहुन्छ।—यर्मिया १०:२३, २४.

चिन्ता गर्नु मनासिब

९, १०. आसापले हरेस खानुको कारण के थियो?

बाइबलका केही लेखक समेत मानिसहरूको मामिलामा परमेश्‍वरले अहिलेसम्म हस्तक्षेप गरेर साँचो न्याय र धार्मिकता किन नल्याउनुभएको भन्‍ने सोचमा परे। उदाहरणका लागि, बाइबल समयका एक जनाबारे विचार गर्नुहोस्‌। भजन ७३ अध्यायको मुख्य शीर्षकमुनि सानो अक्षरमा लेखिएको अंशमा आसापको नाउँ उल्लेख गरिएको छ। यी व्यक्‍ति, या त राजा दाऊदको शासनकालका नामुद लेवी संगीतकार आसाप स्वयम्‌ वा आसापको घरानाका संगीतकारहरू हुन सक्छन्‌ जुन घरानाको मुली आसाप नै थिए। आसाप र तिनका सन्तानले सार्वजनिक उपासनामा गाइने थुप्रै गीतहरू रचे। तर यस भजनरचयिताले एकचोटि उपासनाको सन्दर्भमा एकदमै हरेस खाए। खराब मानिसहरू भौतिक तवरमा फलिफाप भएका र अक्सर तिनीहरूले जीवनमा सन्तुष्टि पाएका अनि कुनै खराब नतिजाहरू पनि नभोगेका तिनले याद गरे।

१० हामी यस्तो लेखिएको पाउँछौं: “दुष्टहरूको उन्‍नति देख्ता ती अहंकारीहरूको म डाही भएको थिएँ। किनकि तिनीहरूलाई मृत्युको पीडा हुँदैहुँदैन। तर तिनीहरूको बल अटल हुन्छ। अरू मानिसहरूझैं तिनीहरू कष्टमा हुँदैनन्‌। तिनीहरूलाई अरू मानिसलाईझैं विपत्ति आइलाग्दैन।” (भजन ७३:२-८) तर समयमा यी बाइबल लेखकले त्यस्तो नकारात्मक सोच गलत हो भनी बुझे। (भजन ७३:१५, १६) यी भजनरचयिताले आफ्नो सोचाइमा परिवर्तन ल्याउने कोसिस गरे तर तिनले अझै पनि खराब मानिसहरूले खराबै गर्दा पनि केही नहुने र असल मानिसहरूले भने अक्सर दुःख भोग्नुपरेको कारण राम्ररी बुझ्न सकेनन्‌।

११. भजनरचयिता आसापले अन्ततः के बुझे?

११ अन्ततः प्राचीन समयका यी विश्‍वासी पुरुषले दुष्टहरूले कस्तो नतिजा भोग्नेछन्‌ भनी बुझे। मतलब, यहोवाले अन्ततः परिस्थिति सुधार्नु हुनेछ भनी तिनले थाह पाए। (भजन ७३:१७-१९) दाऊदले यस्तो लेखे: “परमप्रभुको बाटो हेर्‌, उहाँकै मार्गमा हिंड्‌, र उहाँले तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।”—भजन ३७:९, ११, ३४.

१२. (क) दुष्टता र अन्यायको सन्दर्भमा यहोवाले कस्तो उद्देश्‍य राख्नुभएको छ? (ख) अन्यायको समस्या सुल्झाउने त्यस उद्देश्‍यबारे तपाईंलाई कस्तो लाग्छ?

१२ पृथ्वीमा व्याप्त सबै दुष्टता र यससँगै हुने अन्यायलाई यहोवाले आफ्नो समयमा हटाउने उद्देश्‍य राख्नुभएको छ भन्‍ने कुरामा कुनै शंका छैन। यो कुरा वफादार मसीहीहरूले पनि आफूलाई नियमित तवरमा सम्झाइरहनुपर्छ। यहोवाले उहाँको इच्छा विपरीत गर्नेहरूलाई हटाउनुहुनेछ भने उहाँको इच्छाअनुरूप गर्नेहरूलाई चाहिं इनाम दिनुहुनेछ। “मानिसका सन्तानलाई उहाँले हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ नियालेर गर्नुहुन्छ। परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ। दुष्टहरूमाथि उहाँ पासो वर्षाउनुहुन्छ। आगो, गन्धक र प्रचण्ड लूह तिनीहरूको कचौराको भाग हुनेछ। किनभने परमप्रभु धर्मात्मा हुनुहुन्छ, उहाँ धर्म-कर्म निको मान्‍नुहुन्छ।”—भजन ११:४-७.

न्यायले भरिपूर्ण नयाँ संसार

१३, १४. नयाँ संसारमा धार्मिकता र न्याय किन सर्वत्र फैलिनेछ?

१३ शैतानको अधीनमा रहेको अन्यायले भरिपूर्ण यस रीतिरिवाजको नाश गर्नुभएपछि यहोवाले महिमित नयाँ संसार बसाल्नुहुनेछ। त्यो संसारमा परमेश्‍वरको स्वर्गीय राज्यले शासन गर्नेछ। यसै राज्यको लागि येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो। दुष्टता र अन्यायको ठाउँमा धार्मिकता र न्यायले बास गर्नेछ किनभने त्यतिबेला पूर्ण अर्थमा यस प्रार्थनाको जवाफ पाउनेछौं: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

१४ हामीले आशा गरेको शासन कस्तो प्रकारको हो भनी बाइबलले हामीलाई बताएको छ। त्यो शासन यस्तो हुनेछ जसलाई इमानदार हृदय भएका सबै मानिसहरूले चाह गरिरहेका छन्‌। अनि त्यतिबेला भजन १४५:१६ पूर्ण अर्थमा पूरा हुनेछ: “तपाईं [यहोवा परमेश्‍वरले] आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” यसबाहेक, यशैया ३२:१ यसो भन्छ: “हेर, राजाले [स्वर्गमा रहनुभएको येशू ख्रीष्टले] न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले [ख्रीष्टका पार्थिव प्रतिनिधिहरूले] उचित शासन गर्नेछन्‌।” राजा येशू ख्रीष्टबारे यशैया ९:७ मा यस्तो भविष्यवाणी गरिएको छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ खडा गरी स्थिर गराउन अब उप्रान्त सदाको निम्ति उहाँले शासन गर्नुहुनेछ। सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।” के तपाईं यस्तो न्यायी शासन अन्तर्गत रहेको कल्पना गर्न सक्नुहुन्छ?

१५. नयाँ संसारमा मानिसजातिको लागि यहोवाले के गर्नुहुनेछ?

१५ परमेश्‍वरको नयाँ संसारमा हामीले उपदेशक ४:१ मा लेखिएका शब्दहरू व्यक्‍त गर्ने कुनै कारण नै पाउने छैनौं: “फेरि मैले संसारमा अत्याचारका सबै कामहरू देखें र विचार गरें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, औ मैले के देखें भने तिनीहरूलाई सान्त्वना दिने कोही हुँदैन रहेछ। अत्याचारीहरूको पक्षमा शक्‍ति थियो, तर अत्याचारमा परेकाहरूको पक्षमा भएर साटो लिने कोही थिएन।” हो, हाम्रो यो असिद्ध मनलाई धार्मिकताले भरिएको त्यो नयाँ संसार कत्ति अद्‌भुत हुनेछ भनेर कल्पना गर्नै गाह्रो छ। दुष्टताको नामोनिसान नै रहने छैन। बरु त्यसको सट्टा हरेक दिन असल कुराहरूले भरिपूर्ण हुँदै जानेछ। हो, यहोवाले सबै खराब कुराहरूलाई सच्याउनुहुनेछ र उहाँले यो हामीले आशै नगरेको तरिकामा गर्नुहुनेछ। त्यसैकारण यहोवा परमेश्‍वरले प्रेरित पत्रुसलाई यस्तो लेख्न प्रेरित गर्नु कत्ति उपयुक्‍त छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ”!—२ पत्रुस ३:१३.

१६. “नयाँ स्वर्ग” कसरी स्थापित भएको छ र कुन अर्थमा आज “नयाँ पृथ्वी” तयार गरिंदैछ?

१६ वास्तवमा, त्यो “नयाँ स्वर्ग” अर्थात्‌ येशूले शासन गर्नुहुने परमेश्‍वरको स्वर्गीय सरकार स्थापना भइसक्यो। “नयाँ पृथ्वी” अर्थात्‌ नम्र व्यक्‍तिहरूको नयाँ पार्थिव समाजको महत्त्वपूर्ण भाग हुनेहरूलाई यस आखिरी दिनमा जम्मा गरिंदैछ। यो नयाँ पार्थिव समाजमा झन्डै ७० लाख मानिस जम्मा भइसके र तिनीहरू कम्तीमा पनि २३५ मुलुकमा झन्डै १,००,००० मण्डलीहरूमा छरिएका छन्‌। यी लाखौंले परमेश्‍वरको धार्मिक र न्यायी मार्ग सिकिरहेका छन्‌ र यसको परिणामस्वरूप तिनीहरूबीच मसीही प्रेमले बाँधिएको विश्‍वव्यापी एकता छ। संसारको इतिहास केलाएर हेर्ने हो भने तिनीहरूमाझ छाएको एकता एकदमै उल्लेखनीय र स्थिर छ। यो एकता शैतानको वशमा परेका मानिसहरूले अनुभव गरेको कुनै पनि कुराभन्दा कता हो कता उत्तम छ। यस्तो प्रेम र एकता, आउँदै गरेको परमेश्‍वरको नयाँ संसारमा हुने कुराहरूका पूर्वझलक हुन्‌ जहाँ धार्मिक र न्यायी शासन हुनेछ।—यशैया २:२-४; यूहन्‍ना १३:३४, ३५; कलस्सी ३:१४.

शैतानको आक्रमण विफल हुनेछ

१७. यहोवाका जनहरूमाथि शैतानको अन्तिम आक्रमण विफल हुनेछ भन्‍ने कुरामा किन कुनै शंका छैन?

१७ चाँडै शैतान र त्यसका पछि लाग्नेहरू परमेश्‍वरका उपासकहरूको नामोनिसान नै मेटाउने प्रयासमा जुट्‌नेछन्‌। (इजकिएल ३८:१४-२३) तिनीहरूको त्यो आक्रमण येशूले भन्‍नुभएको “महा संकष्ट[को]” भाग हुनेछ, “जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) के शैतानको आक्रमण सफल हुनेछ? अहँ। परमेश्‍वरको वचनले यस्तो आश्‍वासन दिन्छ: “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न, तिनीहरू सधैं सुरक्षित हुन्छन्‌, तर दुष्टका सन्तान भने नष्ट हुनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२८, २९.

१८. (क) आफ्ना जनहरूमाथि हुने शैतानको आक्रमणलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? (ख) न्यायको विजयबारे बाइबल आधारित यो जानकारी तपाईंको लागि किन लाभदायी भएको छ?

१८ यहोवाका सेवकहरूमाथि शैतान र त्यसका दलले आक्रमण गर्न खोज्ने त्यो प्रयास नै अन्तिम दुष्प्रयास हुनेछ। यहोवाले जकरिया अगमवक्‍ता मार्फत यस्तो भविष्यवाणी गर्नुभयो, ‘जसले तिमीहरूलाई छुन्छ त्यसले मेरो आँखाको नानीलाई छुन्छ।’ (जकरिया २:८) यो त कसैले परमेश्‍वरको आँखाको नानीमा घोच्नु बराबर हो। उहाँले तुरुन्तै कदम चाल्नुहुनेछ र ती आक्रमणकारीहरूलाई नाश गर्नुहुनेछ। परमेश्‍वरका सेवकहरू जस्तो मायालु, एकतामा रहने, मिलापी र कानुन-पालक मानिसहरू पृथ्वीमा अरू कोही छैनन्‌। त्यसैले तिनीहरूलाई आक्रमण गर्नु एकदमै गलत र अन्याय हुनेछ। “इन्साफ प्रेम” गर्नुहुने महान्‌ परमेश्‍वरले यो सहनुहुने छैन। उहाँले आफ्ना जनहरूको खातिर कदम चाल्नुहुँदा तिनीहरूका शत्रुहरूले अनन्त विनाश भोग्नेछन्‌ र न्यायको विजय हुनेछ अनि एक मात्र साँचो परमेश्‍वरका उपासकहरूले उद्धार पाउनेछन्‌। हाम्रो अगाडि कस्तो अद्‌भुत अनि रोमाञ्चकारी प्रत्याशा!—हितोपदेश २:२१, २२. (w 07 8/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• अन्याय किन यतिबिघ्न व्याप्त छ?

• पृथ्वीमा व्याप्त अन्यायको समस्या यहोवाले कसरी समाधान गर्नुहुनेछ?

• न्यायको विजयबारे यस अध्ययन लेखको कुन कुराले तपाईंको मन छोयो?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

जलप्रलयअघि पृथ्वी दुष्टताले भरिएको थियो र यो “आखिरी दिनमा” पनि अवस्था त्यस्तै छ

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा दुष्टताको ठाउँ न्याय र धार्मिकताले लिनेछ