सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रचनालाई हेर्नुहोस्‌, रचनाकारबारे जान्‍नुहोस्‌

रचनालाई हेर्नुहोस्‌, रचनाकारबारे जान्‍नुहोस्‌

रचनालाई हेर्नुहोस्‌, रचनाकारबारे जान्‍नुहोस्‌

इटालेली चित्रकार तथा शिल्पकार माइकल एन्जेलोबारे सायद तपाईंले सुन्‍नुभएको होला। हुन त, उनले बनाएका चित्रहरूको कुनै सकल प्रति तपाईंले देख्नुभएको छैन तैपनि कला इतिहासकारहरूले उनलाई “अद्‌भुत र अतुलनीय चित्रकार” भनी दिएको संज्ञासित तपाईं सहमत हुनुहुन्छ होला। माइकल एन्जेलोको दक्षतालाई नकार्न सकिंदैन। उनको कलाको चाहिं प्रशंसा गर्ने तर उनलाई असामान्य चित्रकार भनेर चाहिं मानि नलिने को पो होला र?

अब, पृथ्वीमा हाम्रो वरिपरि देखिने जीवहरूको बुझ्नै नसकिने जटिलता र विविधताबारे एकैछिन सोच्नुहोस्‌। द न्यु योर्क टाइम्स-ले जैविक विज्ञानका एक प्राध्यापकले भनेका कुरालाई यसरी उल्लेख गर्नु उपयुक्‍त थियो: “जीव-विज्ञानको विभिन्‍न पक्षलाई हेर्दा पनि रचनाको प्रमाण देखिन्छ।” उनले अझ यसरी थपे: “जीवनलाई हेर्दा रचनाका प्रमाणहरू छ्यासछ्यास्ती पाउँछौं।” रचनाकारलाई स्वीकार नगरिकन नै रचनाको मजा लिनु के साँच्चै नै बुद्धिमानी कुरा हो?

आफू वरिपरिका कुराहरूलाई गहिरिएर ध्यान दिने प्रेरित पावलले “सृष्टिकर्तालाई त्यागेर बरु सृष्टिको पूजा र सेवा” गर्ने मानिसहरूबारे बताए। (रोमी १:२५) क्रमविकासबारे सर्वव्याप्त विचारधाराले प्रभावित भएको कारण, कतिपय मानिसहरू रचनाले रचनाकारलाई संकेत गरिरहेको छ भन्‍ने तथ्यलाई स्वीकार्दैनन्‌ वा स्वीकार्न चाहँदैनन्‌। तर क्रमविकासको सिद्धान्त के विशुद्ध विज्ञानसँग मेल खान्छ? द न्यु योर्क टाइम्स-मा प्रकाशित भियनाका क्याथोलिक आर्कविशप क्रिस्टोफ स्कनबर्नको निष्कर्षलाई ध्यान दिनुहोस्‌: “कुनै पनि सिद्धान्त जसले जीव-विज्ञानमा छर्लङ्‌गै देखिने रचनाको प्रमाणलाई तिरस्कार वा बेवास्ता गर्न खोज्छ, त्यो विज्ञान होइन तर कसैको काल्पनिक विचारधारा मात्र हो।”

विज्ञानको अन्त्य पो हुने हो कि?

तर यस्ता व्यक्‍तिहरू पनि छन्‌ जो सृष्टिकर्ता छ भनी स्वीकार्दा “खोज-अनुसन्धान भन्‍ने कुरा नै रहँदैन” भनेर डराउने गर्छन्‌। न्यु साइन्टिस्ट पत्रिकाको एउटा लेखले यस्तै किसिमको डर व्यक्‍त गरेको थियो। त्यस लेखमा यसो भनिएको थियो: “जे कुरा पनि ‘रचनाकारले नै रचेको हो’ भन्‍ने लेबल लगाएपछि त विज्ञानको असिमित खोज-अनुसन्धानको अन्त्य हुनेछ।” तर के यस्तो किसिमको डर मनासिब हो? फिटिक्कै होइन। भन्‍नु नै पर्दा, रचनाकारमाथि विश्‍वास नराख्नु भनेको चाहिं विज्ञानको अन्त्य गर्न खोज्नु हो। किन?

यो ब्रह्‍माण्ड अनि जीवन संयोगवश आयो वा क्रमविकासद्वारा आयो भन्‍ने सोचाइ राख्नु भनेको यथार्थ कुरा पत्ता लगाउने प्रयासलाई ठाडै तिरस्कार गर्नु हो। अर्कोतर्फ, हाम्रो वरिपरि देखिने यावत्‌ थोकपछाडि बुद्धिमान्‌ सृष्टिकर्ताको हात छ भनी स्वीकार्दा हामी भौतिक ब्रह्‍माण्डमा प्रदर्शित सृष्टिकर्ताको बुद्धि र प्रकृतिबारे खोज-अनुसन्धान गर्न जुरमुरिन सक्छौं। यो उदाहरणलाई विचार गर्नुहोस्‌: “मोनालिसाको” चित्र लियोनार्दो दा भिन्चीले बनाएको हो भनेर थाह पाएकोले कला इतिहासकारहरूलाई भिन्चीका सीप तथा उनले प्रयोगमा ल्याएका सामग्रीहरूको अनुसन्धान गर्नबाट रोकेको छैन। त्यसैगरी, रचनाकार हुनुहुन्छ भनेर स्वीकार्दैमा उहाँका रचना र सृष्टिका जटिलताका बारेमा छानबिन तथा खोज-अनुसन्धान गर्न हामी कदापि पनि निरुत्साहित हुनु पर्दैन।

बाइबलले थप खोज-अनुसन्धान गर्नदेखि हामीलाई रोक्नुको सट्टा वैज्ञानिक र आध्यात्मिक दुवै प्रश्‍नको खोजी गर्न हौसला दिएको छ। प्राचीन समयका राजा दाऊदले आश्‍चर्यजनक तरिकाले बनिएको आफ्नो शरीरलाई गौर गरे। फलस्वरूप उनले यसो भने: “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) वास्तवमा, सृष्टिकर्ताले कुलपिता अय्यूबलाई यसरी प्रश्‍न सोधेको कुरा बाइबलले बताएको छ: “के तैंले पृथ्वीको विस्तृत फैलाउलाई बुझेको छस्‌?” (अय्यूब ३८:१८) कुरो स्पष्ट छ, सोधपुछ गर्न वा अनुसन्धान गर्न बन्देज लगाइएको कुनै पनि छनक हामी अय्यूबलाई सोधिएको यस प्रश्‍नमा पाउँदैनौं। बरु, प्रमुख रचनाकारले यहाँ त उहाँको हातका सीपहरू अध्ययन गर्न पो आग्रह गर्नुभएको छ। हाम्रो वरिपरि भएका रचनाहरूका लागि श्रेय पाउन योग्य व्यक्‍तिबारे हाम्रो समझ अझ बढाउन अगमवक्‍ता यशैयाले गरेका यो आग्रहलाई पनि विचार गर्नुहोस्‌: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌?” साँच्चै, यशैया ४०:२६ मा उल्लेख गरिएको तथ्य आइनस्टाइनको प्रख्यात समीकरण E=mc2 सित ठ्याक्क मिल्छ। यो तथ्यअनुसार ब्रह्‍माण्ड ठूलो शक्‍ति र सामर्थ्यको एउटा स्रोतद्वारा बनिएको थियो।

तर यो कुरा पनि साँचो हो कि सृष्टिसम्बन्धी हरेक प्रश्‍नका जवाफ सधैं सजिलै पाइन्छ भन्‍ने छैन। यसो हुनुको एउटा कारण त संसारलाई बुझ्ने हाम्रो क्षमता सीमित र हाम्रो ज्ञान अपूरो छ। अय्यूबले यो कुरो बुझेका थिए। पृथ्वीलाई शून्यतामा झुन्ड्याउनुहुने र पानीका घैला बोकेको बादललाई पृथ्वीमाथि बन्द गरी राख्नुहुने सृष्टिकर्ताको अय्यूबले प्रशंसा गरे। (अय्यूब २६:७-९) तर, यी काम “उहाँको शक्‍तिको एक छेउ मात्र हुन्‌” भन्‍ने कुरा पनि उनलाई थाह थियो। (अय्यूब २६:१४) पक्कै पनि अय्यूब आफू वरिपरिको संसारबारे अझ धेरै कुरा थाह लगाउन चाहन्थे। त्यसैगरी, दाऊदले पनि आफ्नो सीमिततालाई यसरी मानि लिए: “यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्‍चर्यपूर्ण छ। ती उच्च छ, म त्यहाँसम्म पुग्नैसक्‍तिनँ।”—भजन १३९:६.

सृष्टिकर्ताको अस्तित्वलाई स्वीकार्दा यसले वैज्ञानिक उपलब्धिहरूमा कुनै बाधा पुऱ्‍याउँदैन। भौतिक वा आध्यात्मिक कुराप्रतिको विस्तृत ज्ञानको खोज असीमित छ, कहिल्यै सिद्धिंदैन। विस्तृत ज्ञान भएका व्यक्‍तिको रूपमा परिचित प्राचीन समयका एक राजाले नम्रतापूर्वक यस्तो लेखे: “उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्‌।”—उपदेशक ३:११, NRV.

“परमेश्‍वर भनेको खाडल पुर्ने माध्यम मात्रै”?

कसै-कसैले तर्क गर्छन्‌, परमेश्‍वर भनेको त कुनै प्रामाणिक वैज्ञानिक आधार नपाएपछि जबरजस्ती घुसाइने “समाधान” मात्र हो। अर्को शब्दमा भन्‍नुपर्दा यस्तो दाबीले परमेश्‍वर जो रचनाकार हुनुहुन्छ उहाँ “खाडल पुर्ने माध्यम” जस्तो मात्र हो भन्‍ने देखाउँछ। मानौं मानिसले कुनै कुरालाई वैज्ञानिक तरिकामा व्याख्या गर्न नसकेपछि यो त “परमेश्‍वरले” गरेको हो भनेर सजिलै भन्छन्‌। तर यहाँ भनिएको खाडल के हो? के यो हाम्रो ज्ञानमा देखिएको सानो कमी मात्र हो? निश्‍चय नै होइन। यो त डार्विनको क्रमविकास सिद्धान्तको विश्‍वसनीयतामा परेको ठूलो खाडल हो। जीव-विज्ञानको कतिपय पक्षमा देखिएको यो खाडल अर्थात्‌ कमजोरीलाई क्रमविकासको सिद्धान्तले कुनै हालतमा पुर्न सकिरहेको छैन। निष्पक्ष भएर भन्‍ने हो भने, ती क्रमविकासका पक्षधरहरू जो अप्रमाणित कुराहरूमा विश्‍वास गर्छन्‌, तिनीहरूले डार्विनको सिद्धान्तलाई “खाडल पुर्ने माध्यम मात्रै” बनाइरहेका हुन्छन्‌।

बाइबलमा उल्लेख गरिएको सृष्टिकर्ता “खाडल पुर्ने माध्यम मात्रै” त हुनुहुन्‍न। तर उहाँको क्रियाकलापले सृष्टिका हर क्षेत्र तथा पक्षलाई ढाक्छ। भजन रचयिताले यहोवा परमेश्‍वरका सम्पूर्ण सृजनशील कार्यलाई जोड दिंदै यसो भने: “जीवनको मूल तपाईंसँग छ। तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं।” (भजन ३६:९) उहाँलाई ‘स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुहुनेको’ रूपमा पनि व्याख्या गरिएको छ। (प्रेरित ४:२४; १४:१५; १७:२४) असलै कारणले गर्दा प्रथम शताब्दीका एक शिक्षकले ‘सबै कुरा परमेश्‍वरले सृजनुभयो’ भनी लेखे।—एफिसी ३:९.

साथै, परमेश्‍वरले नै “आकाशको शासन गर्ने नियमहरू” अर्थात्‌ पदार्थ र शक्‍तिलाई नियन्त्रण गर्ने भौतिक नियम बनाउनुभयो जसबारे वैज्ञानिकहरू आजसम्म पनि अध्ययन-अनुसन्धान गर्दैछन्‌। (अय्यूब ३८:३३) उहाँको रचना पूर्ण र उद्देश्‍यसहितको छ। पृथ्वीलाई विभिन्‍न किसिमका अचम्मलाग्दा जीवहरूले भर्ने उद्देश्‍य पूरा गर्न उहाँ अघि बढिरहनुभएको छ।

रचना र स्वविवेक

अब अन्तमा स्वविवेकले के भन्छ, त्यो बुझ्नु आवश्‍यक छ। विविध वैज्ञानिक सिद्धान्तहरूको आधिकारिकताबारे समग्रमा टिप्पणी गर्दै विज्ञानका लेखक जोन होर्गनले यसो भने: “प्रमाणहरूमा विश्‍वास गर्ने कुनै ठोस आधार नभेटिंदा डोऱ्‍याइको लागि स्वविवेक चलाउन लाज मान्‍नु पर्दैन।”

जीवन आफ-से-आफ वा संयोगवश आएको भनेर दाबी गर्नु पछाडि के कुनै तुक छ? क्रमविकासको सर्वव्याप्त मान्यताको बावजूद वैज्ञानिक लगायत अन्य थुप्रै दिग्गज व्यक्‍तिहरू बुद्धिमान्‌ सृष्टिकर्ता छ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। विज्ञानका एक प्राध्यापकले लेखे: “बहुसंख्यक सर्वसाधारणहरूले जीवनको रचना नै गरिएको हो भन्‍ने कुरामा विश्‍वास गरेको स्पष्टै देखिन्छ।” किन? धेरै मानिसहरू प्रेरित पावलको यो भनाइसँग पक्कै पनि सहमत हुनेछन्‌: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ।” (हिब्रू ३:४) त्यसपछि पावल यस्तो तार्किक निष्कर्षमा पुग्छन्‌: “सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” बाइबलको दृष्टिकोणअनुसार, एउटा घर बनाउन त कुनै रचनाकार र निर्माणकर्ता चाहिन्छ भने जटिल जीवनचाहिं दुर्घटनावश अस्तित्वमा आयो भन्‍नु त मिल्ने कुरा हुँदै होइन।

जसले रचनाकार तथा सृष्टिकर्तालाई अस्वीकार गर्छ, तिनीहरूको सन्दर्भमा बाइबल यसो भन्छ: “मूर्खले आफ्नो मनमा भनेको छ, ‘ईश्‍वर छैन।’ ” (भजन १४:१) ईश्‍वरको अस्तित्वलाई नस्वीकार्नेहरूको भजनहार निन्दा गर्छन्‌। निष्पक्ष भएर वास्तविकतालाई स्वीकार्नुको सट्टा कुनै व्यक्‍ति आफ्नो व्यक्‍तिगत विचारधाराबाट प्रभावित हुन सक्छ। अर्कोतर्फ, बुद्धिमान्‌ र बुझकी मानिसले सृष्टिकर्ताको अस्तित्वलाई नम्रतासाथ स्वीकार्छ।—यशैया ४५:१८.

सर्वोच्च रचनाकार हुनुहुन्छ भन्‍ने कुरा थुप्रै समझदार व्यक्‍तिहरूका लागि छर्लङ्‌ग छ।

तपाईं रचनाकारलाई चिन्‍न सक्नुहुन्छ

यदि आफूलाई कसैले रचेको व्यक्‍तिको रूपमा हामी लिन्छौं भने हामी केका लागि रचिएका थियौं? हाम्रो जीवनको उद्देश्‍य के हो? विज्ञानले मात्र यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन सक्दैन। यी महत्त्वपूर्ण विवादहरूको विश्‍वसनीय र सन्तोषजनक जवाफ चाहिन्छ। अनि यस सन्दर्भमा बाइबलले ठूलो भूमिका खेल्न सक्छ। बाइबलले यहोवालाई सृष्टिकर्ताको रूपमा मात्र होइन तर उहाँले गर्ने हरेक कामको पछाडि केही ठोस कारण भएको उद्देश्‍यकर्ताको रूपमा पनि चिनाउँछ। बाइबलले हाम्रो भविष्य र आशाबारे बताउँदै मानिसजातिका लागि परमेश्‍वरको उद्देश्‍य प्रकट गर्छ।

तर को हुनुहुन्छ यहोवा भनेको? उहाँ कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ? हाम्रा महान्‌ रचनाकारलाई एक वास्तविक व्यक्‍तिको रूपमा चिन्‍न यहोवाका साक्षीहरू तपाईंलाई निम्तो दिन्छन्‌। तपाईं उहाँको नाउँ र उहाँका गुणहरू तथा मानिसजातिलाई उहाँले गर्नुहुने व्यवहारबारे सिक्न सक्नुहुन्छ। उहाँको वचन बाइबलका पानाहरूद्वारा तपाईंले उहाँका उत्कृष्ट रचनालाई हेर्नु मात्र नभई रचनाकारको रूपमा उहाँको महिमा गर्नु पनि किन आवश्‍यक छ भनी बुझ्नुहुनेछ।—भजन ८६:१२; प्रकाश ४:११. (w 07 8/15)

[पृष्ठ ४-मा भएको चित्र]

माइकल एन्जेलो

[पृष्ठ ५-मा भएका चित्रहरू]

रचनाकारप्रतिको विश्‍वास विशुद्ध विज्ञानसँग मेल खान्छ

[पृष्ठ ६-मा भएको चित्र]

घुलमिल हुने क्षमता र विविधता एउटा दक्ष रचनाभित्र पाइने अनेकताको प्रमाण हो

[पृष्ठ ७-मा भएका चित्रहरू]

रचनाको लागि रचनाकार चाहिन्छ