सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कृपा देखाउने—कसरी?

कृपा देखाउने—कसरी?

कृपा देखाउने—कसरी?

“सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” —गलाती ६:१०.

१, २. असल सामरी छिमेकीको दृष्टान्तले कृपाबारे के सिकाउँछ?

 व्यवस्थामा पोख्त एक मानिसले येशूसित कुराकानी गर्ने क्रममा यस्तो प्रश्‍न गरे: “मेरो छिमेकी चाहिं को हो त?” जवाफमा येशूले यो दृष्टान्त बताउनुभयो: “कोही एउटा मानिस यरूशलेमबाट यरीहोतिर गइरहँदा डाँकूहरूको फेला पऱ्‍यो, तिनीहरूले त्यसलाई नाङ्‌गै पारेर पिटे, र अधमरो पारी छोडेर गए। संयोगले कोही एउटा पूजाहारी त्यही बाटो भएर ओर्लिरहेको थियो, औ त्यसलाई देखेर त्यो अर्कोपट्टिबाट तर्केर गयो। औ त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टिबाट तर्केर गयो। तर कोही एउटा सामरी उसको सफरमा त्यो भएको ठाउँमा आयो, र त्यसलाई देखेर तिनको मन दयाले भरियो, औ त्यसकहाँ गएर तेल र दाख-मद्य लगाएर त्यसका घाउहरू बाँधिदियो, र आफ्नै निज पशुमाथि चढाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गऱ्‍यो। औ भोलिपल्ट उसले दुई दिनार झिकेर पौवाका मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ्‌ता खर्च परेको म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ ” त्यसपछि येशूले ती व्यक्‍तिलाई यस्तो सोध्नुभयो: “तिम्रो विचारमा यी तीन जनामा डाँकूहरूको फेला पर्नेको छिमेकी कुन चाहिं ठहरियो?” तब तिनले भने, “जसले त्यसमाथि दया देखायो, त्यही चाहिं।”—लूका १०:२५, २९-३७क.

साँचो कृपा के हो भन्‍ने कुरा घाइते मानिसप्रति उक्‍त सामरीले गरेको व्यवहारबाट कत्ति जीवन्त ढंगमा स्पष्ट हुन्छ! दया वा अनुकम्पाले ओतप्रोत भई ती सामरीले घाइते मानिसलाई मदत गरे। यसबाहेक, त्यस घाइते मानिसलाई ती सामरीले चिनेका पनि थिएनन्‌। कृपा देखाउन राष्ट्र, धर्म वा संस्कृतिले छेक्दैन। असल सामरी छिमेकीको दृष्टान्त बताउनु भएपछि, येशूले प्रश्‍न गर्ने ती व्यक्‍तिलाई यस्तो सल्लाह दिनुभयो: “जाऊ, तिमी पनि त्यसै गर।” (लूका १०:३७ख) हामी पनि यो सल्लाह पालन गर्दै अरूलाई कृपा देखाउन कोसिस गर्न सक्छौं। तर कसरी? हामी आफ्नो दिनचर्यामा कसरी कृपा देखाउन सक्छौं?

“यदि कोही भाइ . . . झुत्रे-झाम्रे छ” भने

३, ४. विशेषगरि मसीही मण्डलीभित्र कृपा देखाउन हामीले किन चासो देखाउनुपर्छ?

प्रेरित पावलले यसो भने: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) त्यसोभए विश्‍वासका घरानातर्फ गरिने कृपाका कार्यमा कसरी प्रशस्त हुन सक्छौं, पहिला हेरौं।

एकअर्काप्रति कृपालु हुन साँचो मसीहीहरूलाई प्रोत्साहन दिंदै चेला याकूबले यसो भने: “दया नदेखाउनेको इन्साफ निर्दयसाथ हुनेछ।” (याकूब २:१३) यी प्रेरित शब्दहरूको प्रसंग केलाएर हेऱ्‍यौं भने कृपा देखाउन सक्ने केही तरिकाहरू थाह पाउन सक्छौं। उदाहरणका लागि, याकूब १:२७ मा यस्तो लेखिएको पाउँछौं: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।” याकूब २:१५, १६ यसो भन्छ: “यदि कोही भाइ या बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको खानालाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई ‘शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ’ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिं तिमीहरू दिंदैनौ भने यसबाट के लाभ छ?”

५, ६. स्थानीय मण्डलीसितको संगतिमा हामी कृपाका कार्यहरूमा कसरी प्रशस्त हुन सक्छौं?

अरूको हेरचाह गर्नु र खाँचोमा परेकाहरूलाई मदत गर्नु साँचो धर्मको एउटा पक्ष हो। हामीले गर्ने उपासना नै यस्तो छ कि तपाईंको भलो होस्‌ भनेर शुभकामना दिंदैमा अरूप्रति चासो देखाइरहेका छौं भन्‍न मिल्दैन। बरु कोमल अनुकम्पाले हामीलाई साँच्चै खाँचोमा परेकाहरूलाई मदत गर्न उत्प्रेरित गर्छ। (१ यूहन्‍ना ३:१७, १८) हो, कृपाका कार्यहरूमा प्रशस्त हुन सक्ने तरिकाहरूमध्ये केही उल्लेख गर्नुपर्दा बिरामी व्यक्‍तिको लागि खाना तयार पारिदिने, वृद्ध भइसकेकालाई घरको कामधन्दामा सघाइदिने, आवश्‍यक परेको बेला सभा जान-आउन सवारीसाधनको प्रबन्ध गरिदिने र खाँचोमा परेकाहरूलाई उदारचित्तका साथ मदत गर्ने जस्ता कुराहरू पर्छन्‌।—व्यवस्था १५:७-१०.

बढ्‌दै गइरहेको मसीही मण्डलीका सदस्यहरूलाई भौतिक रूपमा भन्दा पनि आध्यात्मिक रूपमा मदत दिनु बढी महत्त्वपूर्ण छ। हामीलाई “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर” भनिएको छ। (१ थिस्सलोनिकी ५:१४) ‘वृद्धाहरूलाई पनि बढिया कुराहरूको शिक्षा दिने हुन’ प्रोत्साहन दिइएको छ। (तीतस २:३) बाइबलमा मसीही निरीक्षकहरू चाहिं ‘बतासबाट लुक्ने ठाउँ, र आँधीबेह्रीबाट आड लिने ठाउँजस्तै’ हुनुपर्छ भनी बताइएको छ।—यशैया ३२:२.

७. कृपा देखाउने सन्दर्भमा सिरियाको एन्टिओकमा भएका चेलाहरूबाट हामी के सिक्न सक्छौं?

प्रथम शताब्दीका मसीहीहरूले आफ्नो इलाकाका विधवा, अनाथ र खाँचोमा परेकाहरूलाई हेरचाह अनि प्रोत्साहन दिनुको अलावा अन्य ठाउँका मसीहीहरूका लागि पनि समय-समयमा राहत सामग्रीहरूको प्रबन्ध मिलाउँथे। उदाहरणका लागि, अगमवक्‍ता अगाबसले “सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ” भनेर भविष्यवाणी गरेपछि सिरियाको एन्टिओकमा भएका चेलाहरूले “आफ्ना आफ्ना औकातअनुसार यहूदियामा बस्ने भाइहरूका निम्ति सहायता पठाउने निश्‍चय गरे।” तिनीहरूले आफ्ना दान “बर्णाबास र शावलका हातमा” त्यहाँका प्राचीनहरूकहाँ पठाइदिए। (प्रेरित ११:२८-३०) आज नि? आँधीबेहरी, भूइँचालो वा सुनामी जस्ता प्राकृतिक प्रकोपको चपेटामा परेका भाइहरूलाई मदत गर्न “विश्‍वासी र बुद्धिमान दास[ले]” उद्धार समितिहरूको व्यवस्था मिलाएको छ। (मत्ती २४:४५) यस प्रबन्धलाई सहयोग गर्दै राजीखुसीसाथ आफ्नो समय, प्रयास र स्रोत खर्च गरेर कृपा देखाउन सक्छौं र यो, कृपा देखाउने एउटा उत्तम तरिका हो।

“तिमीहरू मानिसको मुख हेरेर काम गर्नपट्टि लाग्यौ भने”

८. मुख हेरेर काम गर्नु कसरी कृपाको विपरीत हो?

कृपा र प्रेमको “शाही व्यवस्था” विपरीत काम गर्ने एउटा पक्षबारे चेतावनी दिंदै याकूबले यस्तो लेखे: “तिमीहरू मानिसको मुख हेरेर काम गर्नपट्टि लाग्यौ भनेता व्यवस्थाबाट पनि अपराधी ठहरिएर तिमीहरू पाप गर्ने भयौ।” (याकूब २:८, ९) धनी वा नाउँ चलेका व्यक्‍तिहरूप्रति अनुचित कृपा देखाउनाले ‘असहायले सहायताको निम्ति पुकारा गर्दा’ हामी त्यति संवेदनशील नहुन सक्छौं। (हितोपदेश २१:१३) मुख हेरेर काम गर्दा हामीमा भएको कृपालु मनोवृत्ति निसासिन्छ। अरूसित निष्पक्ष व्यवहार गरेर हामी कृपा देखाउँछौं।

९. योग्य व्यक्‍तिहरूप्रति विशेष चासो देखाउनु किन गलत होइन?

निष्पक्ष हुनुको अर्थ के हामीले कहिल्यै कसैलाई विशेष चासो देखाउनै हुँदैन भन्‍ने हो? पक्कै होइन। आफ्ना सहकर्मी इपाफ्रोडाइटसबारे प्रेरित पावलले फिलिप्पीका मसीहीहरूलाई यस्तो लेखे: “यस्ताहरूलाई आदरणीय” ठान। किन? “किनभने मतर्फको तिमीहरूको सेवामा घटी भएको पूरा गर्नालाई आफ्ना प्राणलाई जोखिममा पारेर ख्रीष्टको कामको निम्ति तिनी मृत्युको मुखसम्मै पुगे।” (फिलिप्पी २:२५, २९, ३०) इपाफ्रोडाइटसको विश्‍वासी सेवा विशेष चासोको योग्य थियो। यसबाहेक १ तिमोथी ५:१७ मा हामी यस्तो लेखिएको पाउँछौं: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्‌। विशेष गरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्‌।” असल आध्यात्मिक गुण भएकाहरू पनि कदरका योग्य छन्‌। त्यस्तो चासो देखाउनु कृपावाद होइन।

‘जुन ज्ञान माथिबाट आउँछ त्यो दयाले भरिएको हुन्छ’

१०. हामीले जिब्रोलाई किन वशमा राख्नुपर्छ?

१० जिब्रोको विषयमा याकूबले यसो भने: “यो भयंकर विषले भरिएको चंचल बदमास हो। यसबाट हामीले प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैबाट हामी परमेश्‍वरको सकलमा बनेका मानिसहरूलाई सराप्त पनि छौं। एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्‌।” यसै प्रसंगमा याकूबले अझै यसो भने: “यदि तिमीहरूका हृदयमा कठोर इबी र विरोध छ भने घमण्ड नगर, र सत्यको विरुद्धमा झूट नबोल। यो ज्ञान माथिबाट आउने ज्ञान होइन, तर यो ता सांसारिक, स्वाभाविक र शैतानी ज्ञान हो। किनभने जहाँ इबी र विरोध हुन्छ, त्यहाँ डाह र हरेक किसिमको भ्रष्ट काम हुन्छ। तर जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र, त्यसपछि मिलापी, कोमल, मृदुभाव, दया र बढिया फलले भरिएको, औ पक्षपातरहित र कपटरहित हुन्छ।”—याकूब ३:८-१०क, १४-१७.

११. जिब्रो चलाउँदा हामी कसरी कृपा देखाउन सक्छौं?

११ त्यसैकारण, हामीले आफ्नो जिब्रो जुन तरिकामा चलाउँछौं त्यसबाट हामीमा ‘कृपाले भरिएको’ ज्ञान छ कि छैन, देखाइरहेका हुन्छौं। इबी वा विरोधको कारण हामी घमन्ड गर्छौं, झूट बोल्छौं वा हानिकारक गफ फैलाउँछौं भने नि? भजन ९४:४ यसो भन्छ: “अधर्म काम गर्नेहरू सबै आफै शेखी गर्दछन्‌।” अनि हानिकारक कुराले कत्ति छिट्टै निर्दोष व्यक्‍तिको बदनाम गरिदिन्छ! (भजन ६४:२-४) यसबाहेक, “अनेक झूट” बोलेर “झूटा गवाही [दिनेले]” कत्ति हानि पुऱ्‍याउन सक्छ, विचार गर्नुहोस्‌। (हितोपदेश १४:५; १ राजा २१:७-१३) जिब्रोको दुरुपयोगबारे बताएपछि याकूबले यसो भने: “हे मेरा भाइ हो, यस्तो कुरा हुन नपाओस्‌।” (याकूब ३:१०ख) साँचो कृपा देखाउन हामीले आफ्नो जिब्रो पवित्र, मिलापी र व्यावहारिक तरिकामा चलाउनु आवश्‍यक छ। येशूले भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, ‘हरेक व्यर्थ कुरा जो मानिसहरू बोल्दछन्‌, न्यायको दिनमा तिनीहरूले सबको हिसाब दिनु पर्नेछ।’ ” (मत्ती १२:३६) जिब्रो चलाउँदा कृपा देखाउनु कत्ति महत्त्वपूर्ण छ!

“मानिसहरूका कसूर क्षमा” गर

१२, १३. (क) आफ्नो मालिकलाई ठूलो ऋण चुक्‍ता गर्नुपर्ने नोकरको दृष्टान्तबाट कृपा देखाउनेबारे हामी के सिक्न सक्छौं? (ख) आफ्नो भाइलाई “सात गुणा सत्तरीपल्टसम्म” क्षमा दिनुको अर्थ के हो?

१२ आफ्ना मालिक अर्थात्‌ राजालाई ६ करोड दिनार ऋण तिर्नुपर्ने नोकरबारे येशूले बताउनुभएको दृष्टान्तबाट कृपा देखाउने अर्को तरिका थाह पाउन सक्छौं। ऋण चुक्‍ता गर्ने कुनै उपाय नभएपछि नोकरले दयाको भीख मागे। मालिकले “टिठाएर” तिनको ऋण माफी गरिदिए। तर ती नोकरले तिनलाई १०० दिनार मात्र तिर्नुपर्ने साथी नोकरलाई भेट्टाए र निर्दयतासाथ तिनलाई झ्यालखानामा हालिदिए। मालिकले यो कुरा सुनेपछि माफी पाएका नोकरलाई डाकेर यसो भने: “ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरेको हुनाले मैले तँलाई तेरो त्यो सब ऋण माफी गरिदिएँ। जस्तो मैले तँमाथि दया गरें, तैंले पनि तेरो साथीमाथि दया गर्नुपर्ने थिएन?” त्यसपछि ती मालिकले तिनलाई झ्यालखानाका हाकिमको जिम्मा लगाइदिए। येशूले दृष्टान्तको अन्तमा यस्तो भन्‍नुभयो: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ती १८:२३-३५.

१३ कृपा अर्थात्‌ दया देखाउनुमा क्षमा दिन तत्पर हुनु पनि समावेश छ भन्‍ने कुरा भर्खरै छलफल गरिएको दृष्टान्तबाट छर्लंगै हुन्छ। यहोवाले हाम्रो पापको अत्यन्तै ठूलो ऋण क्षमा गर्नुभएको छ। के हामीले पनि “मानिसहरूका कसूर क्षमा” गर्नु पर्दैन र? (मत्ती ६:१४, १५) येशूले निर्दयी नोकरको दृष्टान्त बताउनुअघि पत्रुसले उहाँलाई यस्तो प्रश्‍न गरेका थिए: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरुँ? के सात पल्टसम्म?” येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म।” (मत्ती १८:२१, २२) हो, कृपालु व्यक्‍ति “सात गुणा सत्तरीपल्टसम्म” मतलब, असंख्य चोटि क्षमा दिन तयार हुन्छ।

१४. मत्ती ७:१-४ अनुसार हामी कसरी दिनहुँ कृपा देखाउन सक्छौं?

१४ कृपा देखाउने अझै अर्को तरिकाबारे येशूले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्‌। किनभने जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ, . . . किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढाचाहिं थाह पाउँदैनौ? अथवा हेर, जब तिम्रो आफ्नै आँखामा मूढा छ भने, कसरी तिमी तिम्रो भाइलाई भन्‍नसक्छौ, ‘पर्ख, मलाई तिम्रो आँखाबाट कसिंगर निकाल्नदेऊ।’ ” (मत्ती ७:१-४) त्यसैकारण, अरूलाई तौलने वा अरूको बढ्‌तै आलोचना गर्ने नभई तिनीहरूका कमजोरीहरू सहेर हामी कृपा देखाउन सक्छौं।

“सबै मानिसतर्फ, . . . भलाइको काम गरौं”

१५. कृपाका कार्यहरू किन सँगी विश्‍वासीहरूमा मात्रै सीमित छैनन्‌?

१५ याकूबको पुस्तकमा विश्‍वासीहरूप्रति कृपा देखाउनुपर्ने कुरामा जोड दिइएको भए तापनि यसको अर्थ कृपाका कार्यहरू मसीही मण्डलीभित्र मात्रै सीमित हुनुपर्छ भन्‍ने होइन। भजन १४५:९ यसो भन्छ: “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।” हामीलाई “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ” र “सबै मानिसतर्फ, . . . भलाइको काम” गर भनी प्रोत्साहन दिइएको छ। (एफिसी ५:१; गलाती ६:१०) हुन त, हामी नता ‘संसारलाई नता संसारमा भएका कुनै चीजलाई प्रेम’ गर्छौं तर यसको अर्थ हामी संसारका मानिसहरूको आवश्‍यकताप्रति भावशून्य हुन्छौं भन्‍ने चाहिं होइन।—१ यूहन्‍ना २:१५.

१६. कृपा देखाउने सन्दर्भमा कस्ता कुराहरूले असर गर्छन्‌?

१६ ‘समय र अवसर’ वा अत्यन्तै कठिन परिस्थितिको सिकार भएकाहरूलाई आफूले सक्नेजति मदत गर्न हामी मसीहीहरू कहिल्यै पछि हट्‌दैनौं। (उपदेशक ९:११) पक्कै पनि, हामीले कसरी र कति मदत गर्न सक्छौं भन्‍ने कुरा परिस्थितिमा निर्भर पर्छ। (हितोपदेश ३:२७) अरूलाई भौतिक तवरमा मदत गर्नु असलै भए तापनि त्यसले त्यो मानिसलाई अल्छी हुन प्रोत्साहन नमिलोस्‌ भनेर पनि हामी होसियार हुन्छौं। (हितोपदेश २०:१, ४; २ थिस्सलोनिकी ३:१०-१२) तसर्थ, साँचो कृपा देखाउने व्यक्‍तिले अनुकम्पा वा सहानुभूति देखाउनुका साथै विवेक चलाउँछ।

१७. मसीही मण्डली बाहिरकाहरूलाई कृपा देखाउने सबैभन्दा उत्तम तरिका कुन हो?

१७ मसीही मण्डलीबाहिर कृपा देखाउने सबैभन्दा उत्तम तरिका तिनीहरूलाई सच्चाइ बताएर हो। किन? किनभने आज अधिकांश मानिसहरू आध्यात्मिक अन्धकारमा छामछाम-छुमछुम गरिरहेका छन्‌। समस्याहरूसित जुझ्ने कुनै उपाय नभएकोले र भविष्यको पनि कुनै आशा नभएकोले धेरैजसो मानिस “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” छन्‌। (मत्ती ९:३६) परमेश्‍वरको वचनको सन्देश ‘तिनीहरूको खुट्टाको निम्ति बत्ती’ हुन सक्छ जसले तिनीहरूलाई जीवनमा आइपर्ने समस्याहरू सामना गर्न मदत दिन्छ। उज्ज्वल आशा राख्न सकिने आधार दिंदै बाइबलले भविष्यबारे परमेश्‍वरको उद्देश्‍य पहिल्यै बताइसकेको हुनाले यो ‘तिनीहरूको बाटोको निम्ति उज्यालो’ पनि हुन सक्छ। (भजन ११९:१०५) बाइबल सच्चाइको अद्‌भुत सन्देश सुन्‍न चाहिरहेकाहरूलाई त्यो सन्देश सुनाउन पाउनु कत्ति ठूलो सुअवसरको कुरा हो! “महा संकष्ट” एकदमै नजिक भएकोले सुसमाचार प्रचार गर्ने र चेला बनाउने काममा जोसका साथ भाग लिने समय अहिल्यै हो! (मत्ती २४:३-८, २१, २२, ३६-४१; २८:१९, २०) कृपाका अरू कुनै पनि कार्य यो जत्तिको महत्त्वपूर्ण छैन।

“भित्रका कुराहरू” देओ

१८, १९. जीवनमा अझ धेरै कृपा देखाउन किन दत्तचित्तका साथ लाग्नुपर्छ?

१८ येशूले भन्‍नुभयो, “भित्रका कुराहरू कृपास्वरूप दान देओ।” (लूका ११:४१, NW) हामीले भित्रैबाट अर्थात्‌ मायालु र इच्छुक भएर असल कार्य गरेका छौं भने त्यो साँचो कृपा हो। (२ कोरिन्थी ९:७) निर्दयी र स्वार्थी अनि अरूको समस्या र दुःखप्रति कुनै चासो नराख्ने यो संसारमा त्यस्तो कृपा कत्ति स्फूर्तिदायी हुन्छ!

१९ त्यसैकारण हामी आफ्नो जीवनमा अझ धेरै कृपा देखाउन दत्तचित्तका साथ लागौं। हामी जति धेरै कृपा देखाउँछौं त्यति नै धेरै परमेश्‍वर जस्तै हुन्छौं। यसले हामीलाई साँच्चै अर्थपूर्ण र सन्तोषजनक जीवन बिताउन मदत गर्छ।—मत्ती ५:७. (w 07 9/15)

तपाईंले के सिक्नुभयो?

• सँगी विश्‍वासीहरूप्रति कृपा देखाउनु किन विशेष गरी महत्त्वपूर्ण छ?

• मसीही मण्डलीभित्र हामी कसरी कृपा देखाउन सक्छौं?

• मण्डली बाहिरका मानिसहरूका लागि हामी कसरी भलाइका काम गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

सामरीले कृपालु व्यवहार गरे

[पृष्ठ १६-मा भएका चित्रहरू]

मसीहीहरू प्रशस्त गरी कृपा देखाउँछन्‌