चरा पक्रनेको पासोबाट बच्ने
चरा पक्रनेको पासोबाट बच्ने
“[यहोवाले] तिमीलाई शिकारीको [ “चरा पक्रनेको,” NW] पासोबाट . . . बचाउनुहुनेछ।” —भजन ९१:३.
१. “चरा पक्रने” को हो र त्यो किन खतरनाक छ?
सबै साँचो मसीहीहरूले अलौकिक बुद्धि र धूर्त चालहरू भएको आक्रमणकारीको सामना गर्छन्। भजन ९१:३ ले त्यस आक्रमणकारीलाई “शिकारी” अर्थात् “चरा पक्रने” [NW] भनेर चिनाएको छ। त्यो शत्रु को हो? यस पत्रिकाको जून १, १९८३ देखिको अंकले नै त्यो शत्रु शैतान अर्थात् दियाबल हो भनेर स्पष्टसँग चिनाएको छ। चरा पक्रनेले चरालाई पासोमा पार्न खोजेझैं त्यो शक्तिशाली शत्रु यहोवाका जनहरूलाई बहकाएर पासोमा पार्न धूर्ततासाथ लागिपर्छ।
२. शैतानलाई किन चरा पक्रनेसँग तुलना गरिएको छ?
२ प्राचीन समयमा चरालाई त्यसको मीठो आवाज, रङ्गीबिरङ्गी प्वाँख, आहारा र बलि चढाउनको लागि पक्रिन्थ्यो। तथापि, चराहरू स्वभावैले चनाखो र खित्रिक्क केही भयो भने पनि सुइँको पाइहाल्ने र पक्रन त्यति सजिलो नहुने किसिमका हुन्छन्। यही कारणले गर्दा बाइबल समयमा चरा पक्रने मानिसहरू पहिले आफूले पक्रन खोजेको चराको स्वभाव र गुन राम्ररी अध्ययन गर्थे। त्यसपछि तिनीहरूलाई पासोमा पार्न धूर्त तरिका अपनाउँथे। शैतानलाई चरा पक्रनेसँग तुलना गरेर बाइबलले हामीलाई त्यसले प्रयोग गर्ने तरिकाहरू चिन्न मदत गर्छ। शैतानले हामी प्रत्येकलाई व्यक्तिगत रूपमा नै अध्ययन गर्छ। त्यसले हाम्रो आनीबानी र गुनलाई याद गर्छ र जिउँदै पक्रने हिसाबले हामीले नदेख्ने गरी पासो बिछ्याउँछ। (२ तिमोथी २:२६) त्यसको पासोमा पर्नु भनेको आध्यात्मिक रूपमा पतन हुनु हो जसले हामीलाई अनन्त विनाशतर्फ धकेल्न सक्छ। तसर्थ, आफ्नो सुरक्षाको लागि हामीले “चरा पक्रनेको” विभिन्न युक्तिहरूलाई चिन्नै पर्छ।
३, ४. शैतानको युक्ति सिंहको जस्तो कहिले हुन्छ? अनि गोमनको जस्तोचाहिं कहिले हुन्छ?
३ भजनहारले शैतानका युक्तिहरूलाई जवान सिंह र गोमनको युक्तिसँग पनि जीवन्त ढंगमा दाँजेका छन्। (भजन ९१:१३, NRV) यहोवाका जनहरूमाथि सतावट ल्याएर वा उनीहरू विरुद्ध कानुनी कारबाही गराएर कहिलेकाहीं शैतानले पनि सिंहले जस्तै सीधै हमला गर्न सक्छ। (भजन ९४:२०) सिंहरूपी यस्ता आक्रमणले कसै-कसैलाई घुँडा टेकाउन सक्छ। तर प्रायजसो अवस्थामा त्यसरी सीधै आक्रमण गर्दा उल्टै परमेश्वरका जनहरूबीच एकता छाएको छ। तर गोमन सर्पले झैं चाल मारेर गर्ने शैतानको आक्रमणबारे चाहिं के भन्न सकिन्छ?
४ लुकेर बसेको विषालु सर्पले झैं शैतानले पनि आफ्नो अलौकिक बुद्धि चलाएर छली र घातक आक्रमण गर्छ। यसरी त्यसले यहोवाको इच्छाअनुसार होइन तर आफ्नो इच्छाअनुसार गर्न लगाएर परमेश्वरका केही मानिसहरूको सोचाइलाई दूषित बनाएको छ, परिणामस्वरूप दुःखद नतिजाहरू हात लागेको छ। धन्न, हामी शैतानका युक्तिहरूबारे अजान छैनौं। (२ कोरिन्थी २:११) त्यसोभए आउनुहोस्, ‘चरा पक्रनेले’ चलाउने घातक पासोहरूमध्ये चार वटालाई अब विचार गरौं।
मानिसको डर
५. “मानिसको डर” किन एउटा सशक्त पासो हो?
५ सबैले आफूलाई स्वीकारून् र सबैको अनुमोदन पाइयोस् भन्ने मानिसको स्वाभाविक चाहनाबारे पनि “चरा पक्रने” अजान छैन। मसीहीहरू आफू वरपरका मानिसहरूको सोचाइ र भावनालाई वास्तै नगर्ने कठोर मनका त छैनन्। शैतानले यो कुरा बुझेकोले गर्दा नै अरू मानिसले आफूबारे के सोच्लान् भन्ने हाम्रो चिन्ताको फाइदा उठाउन खोज्छ। उदाहरणको लागि, “मानिसको डर” प्रयोग गरेर त्यसले परमेश्वरका केही जनहरूलाई पासोमा पार्छ। (हितोपदेश २९:२५) यदि परमेश्वरको कुनै सेवक मानिसको डरको कारण, यहोवाले निषेध गरेको काम गर्न अरू सँगसँगै लाग्छ वा परमेश्वरको वचनले गर्नू भनेको आज्ञा मान्दैन भने ऊ “चरा पक्रनेको” पासोमा परिरहेको हुन्छ।—इजकिएल ३३:८; याकूब ४:१७.
६. एक जवान व्यक्ति कसरी “चरा पक्रनेको” पासोमा पर्न सक्छ भनेर कुन उदाहरणले देखाउँछ?
६ उदाहरणको लागि, एक जवान व्यक्तिले स्कूलका साथीहरूको दबाबमा आएर चुरोट तान्ला। त्यस दिन स्कूलको लागि घरबाट निक्लँदा चुरोट तान्ने कुरा उसले सोचेको पनि थिएन होला। तर अहिले उसले शरीरलाई हानि गर्ने र परमेश्वरलाई पनि दुःखी तुल्याउने काम गरिरहेको छ। (२ कोरिन्थी ७:१) ऊ गलत काममा कसरी फस्यो? हुनसक्छ, ऊ गलत साथीहरूको संगतमा पऱ्यो अनि ती साथीहरूले आफूलाई नस्वीकार्ने हुन् कि भनेर डरायो। जवानहरू हो, आफूलाई “चरा पक्रनेको” प्रलोभन र पासोबाट जोगाउनुहोस्! जिउँदै पक्राउ पर्नबाट जोगिन सानो भन्दा सानोजस्तो देखिने सम्झौता गर्नदेखि समेत होसियार हुनुहोस्। खराब संगतदेखि अलग बस्न बाइबलले दिएको चेतावनीलाई सुन्नुहोस्।—१ कोरिन्थी १५:३३.
७. शैतानले केही आमाबाबुलाई आध्यात्मिक सन्तुलन गुमाउने हदसम्म कसरी पुऱ्याउन सक्छ?
७ सचेत मसीही आमाबाबु परिवारको भौतिक आवश्यकता पूरा गर्ने धर्मशास्त्रीय जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छन्। (१ तिमोथी ५:८) तर यस सन्दर्भमा शैतानको लक्ष्य भने मसीहीहरूले सन्तुलन गुमाओस् भन्ने छ। हाकिमले थप काम गर्न दिने दबाबको कारण सायद कतिपय मसीहीको सभाहरू छुटाउने बानी नै परिसकेको हुन सक्छ। जिल्ला अधिवेशनमा आफ्ना भाइहरूसँगै मिलेर यहोवाको उपासना गर्नको लागि सम्पूर्ण कार्यक्रममा उपस्थित हुन हाकिमसँग बिदा माग्न सायद तिनीहरूलाई डर लाग्न सक्छ। यो पासोबाट जोगिने उपाय भनेको “सारा भरोसा परमेश्वरमा” राख्नु हो। (हितोपदेश ३:५, ६) यसको साथै, हामी सबै नै यहोवाको परिवारका सदस्य हौं र हाम्रो ख्याल राख्ने जिम्मा उहाँ आफैले उठाउनुभएको छ भनी सम्झँदा सन्तुलन नगुमाउन मदत पाउँछौं। आमाबाबु हो, तपाईंले परमेश्वरको इच्छाअनुसार गर्दा उहाँले तपाईं र तपाईंको परिवारको कुनै न कुनै तरिकामा रेखदेख गर्नुहुन्छ भन्ने कुरामा के विश्वस्त हुनुहुन्छ? वा मानिसको डरको कारण शैतानले तपाईंलाई जिउँदै पक्रेर त्यसको इच्छाअनुसार गर्न पो लगाउने हो कि? प्रार्थनापूर्वक यी प्रश्नहरूमाथि गौर गर्न हामी तपाईंहरूलाई हार्दिक अनुरोध गर्छौं।
भौतिकवादको पासो
८. भौतिकवादको पासोलाई शैतानले कुन तरिकामा चलाउँछ?
८ शैतानले भौतिकवादको प्रलोभनलाई पनि पासोको रूपमा चलाउँछ। यस संसारको व्यापारजगत्ले रातारात धनी हुने योजनाहरूको प्रलोभन तेर्साउँछ जसको कारण कतिपय परमेश्वरका जनहरू समेत ठगिन सक्छन्। कुनै समय यस्तो सल्लाह पनि आउला: “कडा परिश्रम गर। मालामाल भएपछि काममा घोटिरहनु पर्दैन अनि त आनन्दको जीवन बिताउन सकिन्छ। त्यसपछि त अग्रगामी पनि गर्न सकिन्छ।” मसीही मण्डलीमा भाइहरूबाट आर्थिक लाभ उठाउन खोज्ने केहीले यस्ता असन्तुलित तर्कहरू चलाउन सक्छन्। यस्तो किसिमको उक्साइलाई गम्भीरतासाथ विचार गर्नुहोस्। के यसले येशूको दृष्टान्तको “मूर्ख” मानिसको सोचाइलाई झल्काउँदैन र?—लूका १२:१६-२१.
९. केही मसीहीहरू भौतिक कुराको लालचको पासोमा किन पर्न सक्छन्?
९ शैतानले आफ्नो अधीनमा भएको यस दुष्ट रीतिरिवाजलाई यसरी चलाउँछ कि मानिसहरू भौतिक कुरा हासिल गर्नतर्फ लालायित हुन्छन्। यस्तो लालच कुनै मसीहीमा बिस्तारै पस्न सक्छ जसले गर्दा वचनलाई निसासिदिने र “नफल्ने” बनाइदिन्छ। (मर्कूस ४:१९) बाइबल हामीलाई खान र लाउन भएपछि त्यसैमा सन्तुष्ट हुन प्रोत्साहन दिन्छ। (१ तिमोथी ६:८) तर धेरैजना “चरा पक्रनेको” पासोमा परेका छन् किनभने तिनीहरू यो सल्लाह आफूमा लागू गर्दैनन्। आफूलाई बढ्तै महत्त्व दिएको कारण कुनै एउटा खास किसिमको जीवनशैली कायम राख्नै पर्छ भन्ने तिनीहरूलाई लाग्छ कि? हामी आफू नि? कतै भौतिक कुरा हासिल गर्ने चाहनाले साँचो उपासनालाई दोस्रो स्थानतर्फ धकेलेको छ कि? (हाग्गै १:२-८) दुःखको कुरा, आफूलाई बानी परिसकेको जीवनशैलीलाई कायम राख्न आर्थिक संकटको बेला कसै-कसैले आफ्नो आध्यात्मिकतालाई लत्याएका छन्। यस्तो भौतिकवादी मनोवृत्तिले ‘चरा पक्रनेलाई’ खुसी बनाउँछ!
अस्वस्थकर मनोरञ्जनको पासो
१०. हरेक मसीहीले कस्तो आत्म-परीक्षण गर्नुपर्छ?
१० “चरा पक्रनेको” अर्को युक्तिचाहिं असल र खराब छुट्याउन सक्ने मानिसको क्षमतालाई नै कमजोर बनाइदिनु हो। आजका अधिकांश मनोरञ्जन जगत्लाई सदोम र गमोरामा व्याप्त भएजस्तै सोचाइले काबूमा राखेको छ। टेलिभिजनका समाचार र पत्रिकाहरूले समेत हिंसामा बढी जोड दिन्छ र यौनप्रतिको तीव्र चासोलाई सन्तुष्ट पार्न खोज्छ। सञ्चार माध्यममा मनोरञ्जनको नाउँमा देखाइने प्रायः कार्यक्रमहरूले “खराब र असल छुट्याउन” सक्ने मानिसको क्षमतालाई नै धमिलो बनाइदिन्छ। (हिब्रू ५:१४) अगमवक्ता यशैयामार्फत यहोवाले भनेका शब्दहरूलाई सम्झनुहोस्: “धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई अँध्यारो” भन्छन्। (यशैया ५:२०) यस्ता अस्वस्थकर मनोरञ्जनको सहारा लिएर ‘चरा पक्रनेले’ के तपाईंको सोचाइलाई पनि बिस्तारै असर गरिरहेको छ? आत्म-परीक्षण अत्यावश्यक छ।—२ कोरिन्थी १३:५.
११. टिभी सिरियलहरूबारे यो पत्रिकाले कस्तो चेतावनी दिएको थियो?
११ विश्वासका घरानालाई द वाचटावर-ले झन्डै २५ वर्षअघि टिभी सिरियलहरूबारे मायालुपूर्वक चेतावनी दिएको थियो। a लोकप्रिय टिभी सिरियलहरूको झट्टै नदेखिने खालको असरबारे यस्तो भनिएको थियो: “प्रेममा सबै कुरा जायज हुन्छ। उदाहरणको लागि, बिहे नै नगरी गर्भधारण गरेकी एक युवती आफ्नो साथीलाई यसो भन्छिन्: ‘तर म भिक्टरलाई माया गर्छु। मलाई कुनै परवाह छैन . . . उनको बच्चा जन्माउनु नै मेरो लागि सबै थोक हो!’ अनि यस्तो दृश्यमा बजाइने मायालाग्दो धुनले पनि उनले जे गरिरहेकी छिन् त्यसमा कुनै गल्ती छैन भन्ने भान पार्छ। तपाईंलाई पनि भिक्टर मन पर्छ। ती युवतीप्रति तपाईंलाई दया जाग्छ। तपाईंलाई तिनीहरूले जे गरे ‘ठीकै गरे’ जस्तो लाग्छ। ‘तपाईं आफ्नो सोचाइलाई कति चाँडो छक्याउन सक्नुहुन्छ, यो आश्चर्यको कुरो हो’ भनी पछि ठीक सोच राख्न सफल एक दर्शक बताउँछिन्। ‘हामीलाई थाह छ कि अनैतिकता गलत हो। . . . तैपनि मन-मनै मैले पनि त्यसमा भाग लिइरहेको छु भनेर थाह पाएँ।’ ”
१२. कुनै खास टिभी कार्यक्रमबारे दिइएको चेतावनी आज पनि उचित छ भनेर कुन कुराहरूले देखाउँछ?
१२ यी लेखहरू प्रकाशित भएदेखि यता हृदयलाई भ्रष्ट पार्ने यस्ता कार्यक्रमहरू झनै यत्रतत्र पाइने भएका छन्। कतिपय ठाउँमा त यस्ता कार्यक्रमहरू चौबीसै घन्टा प्रसारण गरिन्छ। पुरुष, स्त्री र थुप्रै किशोर-किशोरीहरू बारम्बार यस्ता मनोरञ्जनले आफ्नो मन-मस्तिष्क भर्छन्। तर हामीले चाहिं गलत तर्कहरूद्वारा आफैलाई छक्याउनु हुँदैन। ती भ्रष्ट मनोरञ्जनहरू वास्तविक संसारमा देखिने कुरा जत्तिको खत्तम त छैनन् नि भनेर तर्क गर्नु सरासर गल्ती हुनेछ। आफ्नो घरमा बोलाउने कल्पना समेत नगरेको व्यक्तिद्वारा मनोरञ्जन लिने छनौट गर्नुलाई के कुनै मसीहीले सही ठहऱ्याउन सक्छन्?
१३, १४. टिभी कार्यक्रमबारे पाएको चेतावनीबाट उठाउन सकेको लाभबारे केहीले कस्तो प्रतिक्रिया व्यक्त गरे?
१३ ‘विश्वासी र बुद्धिमान दासले’ यससम्बन्धी दिएको चेतावनीलाई हृदयगंम गर्दा थुप्रैले लाभ उठाएका छन्। (मत्ती २४:४५-४७) बाइबल आधारित स्पष्ट सल्लाह पढेपछि यसले व्यक्तिगत रूपमा तिनीहरूलाई पारेको असरबारे केहीले आफ्नो प्रतिक्रिया लेखेर पठाएका छन्। b एक जनाले यसरी स्वीकारिन्: “तेह्र वर्षसम्म म टिभी सिरियलको कीरा थिएँ। सभाहरू धाउने अनि प्रचारकार्यमा कहिलेकाहीं भाग लिने गरेकीले म आफूलाई सुरक्षित ठान्थें। तर म टिभी सिरियलको यस्तो सांसारिक मनोवृत्ति अपनाउन पुगें: यदि श्रीमान्ले राम्रो व्यवहार गर्दैनन् अनि आफूले श्रीमान्बाट माया नपाएको जस्तो लाग्छ भने अरूसँग नाजायज सम्बन्ध राखे पनि हुन्छ, आखिर यसको जिम्मेवार त ऊ नै हो नि! अनि जब मैले यसलाई ‘जायज’ ठानें, अनैतिक सम्बन्ध राखेर यहोवा र आफ्नो जीवनसाथी विरुद्ध पाप गरें।” उनी बहिष्कृत भइन्। अन्ततः उनको होस खुल्यो, पश्चात्ताप गरिन् र पुनर्स्थापित भइन्। टिभी सिरियलबारे चेतावनी दिइएका लेखहरूबाट यहोवाले घृणा गर्नुहुने मनोरञ्जनलाई तिरस्कार गर्न उनले बल पाइन्।—आमोस ५:१४, १५.
१४ त्यसरी नै, आफ्नो जीवन प्रभावित भएको अर्की पाठकले यसो भनिन्: “मेरो पूरा हृदय यहोवातर्फ छैन रहेछ भनी लेख पढेपछि मैले बुझें अनि म बेस्सरी रोएँ। म अब आइन्दा यस्ता सिरियलहरूको दास बन्दिनँ भनेर मेरो परमेश्वरसँग प्रतिज्ञा गरें।” लेखको लागि कृतज्ञता व्यक्त गरिसकेपछि एक मसीही स्त्रीले आफ्नो लतलाई स्वीकारिन् र यसरी लेखिन्: “यहोवासँगको मेरो सम्बन्धलाई असर गर्ने हो कि भनेर . . . सोचें। ‘सिरियलका पात्रहरूलाई’ मित्र बनाएर म कसरी यहोवाको मित्र बन्न सक्छु र?” त्यस्ता टिभी कार्यक्रमहरूले २५ वर्षअघि त हृदयलाई भ्रष्ट पारेको थियो भने झन् आज कस्तो असर पार्ला? (२ तिमोथी ३:१३) शैतानले बिछ्याउने अस्वस्थकर मनोरञ्जनको हर पासोबाट हामी होसियार हुनै पर्छ, चाहे त्यो टिभी सिरियल, हिंस्रक भिडिओ गेम वा अनैतिक म्युजिक भिडिओ नै किन नहोस्!
व्यक्तिगत मतभिन्नताको पासो
१५. शैतानले कसै-कसैलाई कसरी जिउँदै पक्रेको छ?
१५ यहोवाका जनहरूमाझ फाटो ल्याउन शैतानले व्यक्तिगत मतभिन्नतालाई पनि पासोको रूपमा चलाउँछ। सेवाको विशेष सुअवसर पाएकाहरू समेत यस पासोमा पर्न सक्छन्। कोही-कोही शैतानको पासोमा जिउँदै पक्राउ परेका छन् किनभने तिनीहरूले व्यक्तिगत मतभिन्नताको कारण यहोवाले गर्दा सम्भव भएको शान्ति, एकता र अद्भुत आध्यात्मिक संवृद्धिमा खलल पुग्न दिएका छन्।—भजन १३३:१-३.
१६. हाम्रो एकतालाई खलबल्याउन शैतान कसरी धूर्ततासाथ लागिपरेको छ?
१६ प्रथम विश्वयुद्धको दौडान सीधै आक्रमण गरेर शैतानले यहोवाको संगठनको पार्थिव भागको नामोनिशान मेटाउने दुष्प्रयास गरेको थियो तर सफल भएन। (प्रकाश ११:७-१३) त्यस बेलादेखि शैतान हाम्रो एकतालाई खलबल्याउन धूर्ततासाथ लागिपरेको छ। व्यक्तिगत मतभिन्नताको कारण फाटो ल्याउन दियौं भने हामीले ‘चरा पक्रनेलाई’ ठाउँ दिइरहेका हुन्छौं। यसो गर्दा हामीले हाम्रो व्यक्तिगत जीवन र मण्डलीमा पवित्र आत्मालाई राम्रोसँग काम गर्नबाट बाधा पुऱ्याइरहेका हुन्छौं। यसो भएमा शैतान दंग पर्नेछ किनकि मण्डलीको शान्ति र एकता खलबलिनु भनेको प्रचारकार्यमा बाधा पुग्नु हो।—एफिसी ४:२७, ३०-३२.
१७. व्यक्तिगत मतभिन्नता उत्पन्न हुँदा यसलाई हटाउन केले मदत दिन सक्छ?
१७ सँगी मसीहीसँग व्यक्तिगत मतभिन्नता उत्पन्न हुँदा तपाईं के गर्न सक्नुहुन्छ? पक्कै पनि परिस्थिति सधैं एउटै हुँदैन। तर समस्या देखा पर्नुको कारण जे सुकै भए पनि व्यक्तिगत मतभिन्नतालाई त्यसै थाँती राख्नुपर्ने कुनै कारण छैन। (मत्ती ५:२३, २४; १८:१५-१७) परमेश्वरको वचनमा पाइने सल्लाह उहाँद्वारा प्रेरित हुनुका साथै सिद्ध छ। बाइबलका सिद्धान्तहरू लागू गर्दा कहिल्यै असफल भइँदैन। यसले सधैं राम्रो नतिजा ल्याउँछ!
१८. यहोवाको देखासिकी गर्दा व्यक्तिगत मतभिन्नतालाई सुल्झाउन कसरी मदत पाउँछौं?
१८ यहोवा “क्षमा गर्ने हुनुहुन्छ।” (भजन ८६:५; १३०:४) उहाँको देखासिकी गर्दा हामी उहाँका प्रिय छोराछोरी हौं भन्ने कुरा देखाउँछौं। (एफिसी ५:१) हामी सबै नै पापी छौं र हामीलाई यहोवाको क्षमा नितान्त आवश्यक छ। त्यसैले, अरूलाई क्षमा नदिने झुकाव आफूमा देखियो भने हामी होसियार हुनै पर्छ। हामी पनि येशूको दृष्टान्तको नोकरजस्तै हुन केही बेर लाग्दैन जसले आफ्नो मालिकबाट मिनाहा पाएको ऋणको तुलनामा नगण्य ऋणलाई चाहिं मिनाहा गर्न मानेन। जब यो कुरा मालिकले थाह पाए, क्षमा नदिने त्यस नोकरलाई उनले झ्यालखानामा हालिदिए। दृष्टान्तलाई येशूले यसरी टुङ्ग्याउनुभयो: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।” (मत्ती १८:२१-३५) यो दृष्टान्तलाई मनन गऱ्यौं र यहोवाले हामीलाई कति पटक क्षमा दिनुभएको छ त्यो विचार गऱ्यौं भने भाइबहिनीबीचको व्यक्तिगत मनभिन्नतालाई सुल्झाउने कोसिस गर्दा निश्चय नै मदत पाउनेछौं।—भजन १९:१४.
“परम प्रधानको गुप्त ठाउँमा” सुरक्षित
१९, २०. यो डरलाग्दो समयमा यहोवाको “गुप्त ठाउँ” र ‘छत्रछायालाई’ हामीले कसरी हेर्नुपर्छ?
१९ हामी डरलाग्दो समयमा बाँचिरहेका छौं। यदि हामीले यहोवाको मायालु सुरक्षा नपाएको भए शैतानले हामी सबैलाई सिद्धयाइसकेको हुन्थ्यो। “चरा पक्रनेको” पासोमा नपर्ने हो भने “सर्वशक्तिमानको छत्र छायामनि” रहँदै सुरक्षा पाइने लाक्षणिक ठाउँ अर्थात् “परम प्रधानको गुप्त ठाउँमा बास” गर्नुपर्छ।—भजन ९१:१.
२० यहोवाको सम्झौटा र निर्देशनलाई हामी सधैं सुरक्षाको रूपमा लेऔं, बन्देजको रूपमा होइन। हामी सबैले नै अलौकिक बुद्धि भएको आक्रमणकारीको सामना गर्छौं। यहोवाको मायालु मदतविना त्यसको पासोदेखि कोही पनि जोगिन सक्दैन। (भजन १२४:७, ८) तसर्थ, “शिकारी” अर्थात् “चरा पक्रनेको” [NW] पासोबाट बचाइ रहनुहोस् भनी यहोवालाई प्रार्थना गरौं!—मत्ती ६:१३. (w 07 10/1)
[फुटनोटहरू]
a द वाचटावर, डिसेम्बर १, १९८२, पृष्ठ ३-७.
b के तपाईंलाई याद छ?
• “मानिसको डर” किन एउटा घातक पासो हो?
• भौतिकवादको प्रलोभनलाई शैतानले कसरी चलाउँछ?
• शैतानले कसै-कसैलाई कसरी अस्वस्थकर मनोरञ्जनको पासोमा पारेको छ?
• हाम्रो एकतालाई खलबल्याउन शैतानले कुनचाहिं पासो बिछ्याउँछ?
[प्रश्नहरू]
[पृष्ठ २८-मा भएको चित्र]
कोही-कोही, ‘मानिसको डरको’ पासोमा परेका छन्
[पृष्ठ २९-मा भएको चित्र]
यहोवाले घृणा गर्ने कुराहरूबाट के तपाईंले मनोरञ्जन लिइ रहनुभएको छ?