सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूका पिता कृपालु हुनुहुन्छ”

“तिमीहरूका पिता कृपालु हुनुहुन्छ”

“तिमीहरूका पिता कृपालु हुनुहुन्छ”

“जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।”—लूका ६:३६.

१, २. कृपा एउटा मनमोहक गुण हो भनेर येशूले शास्त्री तथा फरिसीहरू र उहाँका अनुयायीहरूलाई भनेका शब्दहरूबाट कसरी थाह पाउन सक्छौं?

 मोशाको व्यवस्थामा झन्डै ६०० वटा नीतिनियम थिए। इस्राएलीहरूले मोशाको व्यवस्थाका ती नीतिनियम पालन गर्नुपर्ने भए तापनि कृपा अर्थात्‌ दया देखाउनु पनि उत्तिकै महत्त्वपूर्ण थियो। कठोर मनोभाव देखाउने फरिसीहरूलाई येशूले के भन्‍नुभयो विचार गर्नुहोस्‌। “म दया चाहन्छु, तर बलिदान होइन” भनी परमेश्‍वरले आज्ञा गर्नुभएको छ भनी औंल्याउँदै येशूले विभिन्‍न दुई समयमा तिनीहरूलाई हप्काउनुभयो। (मत्ती ९:१०-१३; १२:१-७; होशे ६:६) येशूले आफ्नो सेवकाईको अन्ततिर यसो भन्‍नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसीहरू हो, कपटीहरू! किनकि तिमीहरू पदीना र सूँप र जीराको दशौं भाग दिन्छौ, औ व्यवस्थाका तीभन्दा गहकिला कुराहरू, अर्थात्‌ न्याय, दया र विश्‍वास छोड्‌दछौ।”—मत्ती २३:२३.

येशूले कृपालाई धेरै महत्त्व दिनुहुन्थ्यो भन्‍ने कुरामा दुई मत छैन। उहाँले आफ्ना अनुयायीहरूलाई भन्‍नुभयो: “जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।” (लूका ६:३६) तर यस विषयमा “परमेश्‍वरका देखा-सिकी गर्ने” हुन कृपाको साँचो अर्थ थाह पाउनु आवश्‍यक छ। (एफिसी ५:१) यसबाहेक, कृपाका फाइदाहरू बुझ्दा जीवनमा अझ धेरै कृपा देखाउन हामी उत्प्रेरित हुनेछौं।

खाँचोमा परेकाहरूप्रति कृपा देखाउने

३. कृपाको साँचो अर्थ सिक्न हामीले किन यहोवालाई हेर्नुपर्छ?

भजनरचयिताले यसरी गाए: “परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।” (भजन १४५:८, ९) यहोवा “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर . . . हुनुहुन्छ।” (२ कोरिन्थी १:३) कृपा देखाउने व्यक्‍तिले अरूसित कोमल ढंगमा व्यवहार गर्छ। यो, परमेश्‍वरको व्यक्‍तित्वको एउटा महत्त्वपूर्ण भाग हो। उहाँको उदाहरण र निर्देशनबाट हामी कृपाको साँचो अर्थ सिक्न सक्छौं।

४. यशैया ४९:१५ ले हामीलाई कृपाबारे के सिकाउँछ?

यशैया ४९:१५ मा यहोवा भन्‍नुहुन्छ: “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र?” यहाँ ‘टिठाउनु’ भनेर अनुवाद गरिएको हिब्रू शब्द र माथि उद्धृत भजन १४५:८, ९ मा कृपा शब्द बुझाउने हिब्रू शब्दबीच नजिकको सम्बन्ध छ। यहोवालाई कृपालु हुन उत्प्रेरित गर्ने भावनालाई अक्सर दूध खुवाउने आमाले आफ्नो बच्चाप्रति महसुस गर्ने स्नेहसित तुलना गरिएको छ। सायद बच्चालाई भोक लागेको वा अरू केही चाहिएको हुन सक्छ। अनुकम्पा वा सहानुभूतिले ओतप्रोत भई आमाले बच्चालाई चाहिएको कुरा पूरा गरिदिन्छिन्‌। आफूले कृपा देखाएकाहरूप्रति यहोवा त्यस्तै कोमल भावना राख्नुहुन्छ।

५. इस्राएलीहरूको सन्दर्भमा यहोवाले आफू “कृपामा धनी” भएको कसरी देखाउनुभयो?

तर मनमा कोमलताको भावना जाग्नु एउटा कुरा हो भने खाँचोमा परेकाहरूका लागि यसलाई व्यवहारमा उतार्नु अर्को कुरा हो। झन्डै ३,५०० वर्षअघि आफ्ना उपासकहरू मिश्रको दासत्वमा पर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गर्नुहोस्‌। उहाँले मोशालाई भन्‍नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैंले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बहने, . . . देशमा ल्याउनलाई म ओर्लिएको छु।” (प्रस्थान ३:७, ८) इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्‍त गरेको झन्डै ५०० वर्षपछि यहोवाले तिनीहरूलाई यसरी याद दिलाउनुभयो: “मैले इस्राएललाई मिश्र देशबाट निकालेर ल्याएँ। तिमीहरूलाई सताउने मिश्रीहरू र सबै राज्यहरूबाट मैंले तिमीहरूलाई मुक्‍त गरें।” (१ शमूएल १०:१८) यहोवाका धार्मिक स्तरहरूबाट तर्किएको कारण इस्राएलीहरू बारम्बार कठिन अवस्थामा परे। तैपनि यहोवाले तिनीहरूलाई अनुकम्पा देखाउनुभयो र पटक-पटक बचाउनुभयो। (न्यायकर्त्ता २:११-१६; २ इतिहास ३६:१५) यसबाट मायालु परमेश्‍वरले खाँचो, खतरा वा कठिनाइमा परेकाहरूप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, स्पष्ट हुन्छ। यहोवा “कृपामा धनी” हुनुहुन्छ।—एफिसी २:४, NRV.

६. कृपा देखाउने सन्दर्भमा येशू ख्रीष्टले कसरी आफ्नो पिताको नकल गर्नुभयो?

पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्टले कृपा देखाउने सन्दर्भमा आफ्ना पिताको दुरुस्त नकल गर्नुभयो। “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया रहोस्‌” भन्दै दुई जना अन्धाले येशूलाई पुकार्दा उहाँले के गर्नुभयो? ती अन्धाहरूले येशूलाई चमत्कारद्वारा तिनीहरूको दृष्टि फर्काइदिन बिन्ती गर्दैथिए। येशूले तिनीहरूलाई देख्न सक्ने बनाइदिनुभयो तर उहाँले त्यो चमत्कार मनमा माया नपलाई त्यतिकै गरेको चाहिं होइन। बाइबल भन्छ: “येशूले टिठाएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले देख्नलागे।” (मत्ती २०:३०-३४) टिठाउनु भएकै कारण उहाँले अन्धा, भूत लागेका, कोरी र रोगी केटाकेटीका आमाबाबुलाई राहत दिनुभयो।—मत्ती ९:२७; १५:२२; १७:१५; मर्कूस ५:१८, १९; लूका १७:१२, १३.

७. यहोवा परमेश्‍वर र उहाँका पुत्रको उदाहरणबाट कृपाबारे के सिक्छौं?

यहोवा परमेश्‍वर र येशू ख्रीष्टको उदाहरणबाट के स्पष्ट हुन्छ भने कृपाका दुई पाटा छन्‌—खाँचोमा परेकाप्रति अनुकम्पा, सहानुभूति वा करुणा महसुस गर्नु अनि राहत हुने कामद्वारा देखाउनु। कृपालु हुन यी दुवै कुरा आवश्‍यक छन्‌। बाइबलमा हेऱ्‍यौं भने कृपाले अक्सर खाँचोमा परेकाहरूप्रति गरिने दयालु कार्यलाई संकेत गर्छ। तर न्यायिक मामिलामा कृपा कसरी देखाइन्छ? के यसमा गल्ती गर्नेलाई सजाय दिनबाट पछि हट्‌नु जस्ता गलत ठानिने कामहरू पनि समावेश छ?

पाप गर्नेहरूप्रति कृपा देखाउने

८, ९. दाऊदले बेतशेबासित पाप गरेपछि तिनीप्रति देखाइएको कृपामा के समावेश थियो?

प्राचीन इस्राएलका राजा दाऊदले बेतशेबासँग राखेको नाजायज सम्बन्धबारे अगमवक्‍ता नातानले तिनीसित कुरा गरेपछि के भयो, विचार गर्नुहोस्‌। दाऊदले पश्‍चात्ताप गर्दै यस्तो प्रार्थना गरे: “तपाईंको करुणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर। तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जो खराबी छ, त्यही गरेको छु।”—भजन ५१:१-४.

दाऊद हृदयदेखि नै दुःखित भए। यहोवाले तिनको पाप क्षमा गर्नुभयो अनि तिनी र बेतशेबाको सजायलाई कम गरिदिनुभयो। मोशाको व्यवस्थाअनुसार दाऊद र बेतशेबा दुवैलाई मृत्युदण्ड दिइनुपर्ने थियो। (व्यवस्था २२:२२) तिनीहरू पापका सबै परिणामबाट बच्न त बचेनन्‌। तैपनि तिनीहरूको ज्यान चाहिं बच्यो। (२ शमूएल १२:१३) परमेश्‍वरको कृपामा गल्तीलाई क्षमा दिनु पनि समावेश छ। तर उचित सजाय दिनदेखि भने उहाँ पछि हट्‌नुहुन्‍न।

१०. न्याय गर्दा यहोवाले कृपा देखाउनुहुने भए तापनि उहाँको कृपालाई हामीले किन हल्कासित लिनुहुँदैन?

१० “एउटै मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश” भएको हुनाले र “पापको ज्याला मृत्यु” भएकोले सबै मानिस मृत्युको योग्य छन्‌। (रोमी ५:१२; ६:२३) हामीलाई न्याय गर्दा यहोवा कृपा देखाउनुहुन्छ। त्यसमा हामी साँच्चै कृतज्ञ हुन सक्छौं! तर, परमेश्‍वरको कृपालाई हल्कासित नलिन हामी होसियार हुनै पर्छ। “[यहोवाका] सबै काम न्यायसंगत छन्‌” भनी व्यवस्था ३२:४ मा बताइएको छ। कृपा देखाउँदा परमेश्‍वरले न्यायका सिद्ध स्तरहरूलाई बेवास्ता गर्नुहुन्‍न।

११. बेतशेबासित दाऊदले गरेको पापको छिनोफानो गर्दा यहोवाले उचित ढंगमा न्याय गरेको कसरी देखाउनुभयो?

११ दाऊद र बेतशेबाको सन्दर्भमा भन्‍ने हो भने मृत्युदण्डको सजायलाई कम गर्न पहिला तिनीहरूको पाप क्षमा हुनुपर्ने थियो। पाप क्षमा गर्ने अधिकार इस्राएली न्यायकर्ताहरूलाई दिइएको थिएन। यो मामिला तिनीहरूको हातमा सुम्पिएको भए तिनीहरू मृत्युदण्ड दिन बाध्य हुन्थे। व्यवस्थाअनुसार त्यसै गर्नुपर्ने थियो। तर दाऊदसित बाँधेको करारको कारण यहोवा तिनलाई क्षमा दिन सकिने कुनै आधार छ कि भनेर हेर्न चाहनुहुन्थ्यो। (२ शमूएल ७:१२-१६) यसैकारण “हृदयको जाँच” गर्नुहुने “सारा पृथ्वीका न्यायकर्त्ता” यहोवा परमेश्‍वरले यो मामिला आफैले हेर्ने छनौट गर्नुभयो। (उत्पत्ति १८:२५; १ इतिहास २९:१७) परमेश्‍वरले दाऊदको हृदय पढ्‌न, तिनले साँच्चै पश्‍चात्ताप गरेका हुन्‌ कि होइनन्‌ त्यो लेखाजोखा गर्न र तिनलाई क्षमा दिन सक्नुभयो।

१२. पापी मानिसहरूले कसरी परमेश्‍वरको कृपा पाउन सक्छन्‌?

१२ जन्मजात पापको कारण पाउने मृत्युको सजायबाट हामीलाई छुटाउन सम्भव बनाएर यहोवाले देखाएको कृपा उहाँको न्यायबमोजिम छ। न्यायको स्तर नतोडि पापको क्षमा सम्भव बनाउन यहोवाले आफ्ना पुत्र येशू ख्रीष्टको छुटकाराको बलिदानको प्रबन्ध गर्नुभयो। यो, उहाँले देखाएको कृपाको सबैभन्दा महान्‌ अभिव्यक्‍ति हो। (मत्ती २०:२८; रोमी ६:२२, २३) जन्मजात पापको कारण पाउने मृत्युको सजायबाट हामीलाई जोगाउन सक्ने परमेश्‍वरको कृपा पाउन हामीले “पुत्रमाथि विश्‍वास” गर्नै पर्छ।—यूहन्‍ना ३:१६, ३६.

कृपा र न्यायका परमेश्‍वर

१३, १४. परमेश्‍वरले देखाउने कृपाले के उहाँको न्यायलाई कमजोर बनाउँछ? व्याख्या गर्नुहोस्‌।

१३ यहोवाको कृपाले उहाँका न्यायका स्तरहरू तोड्‌दैन भनेर त थाह पायौं, तरै पनि यसले कुनै तरिकामा उहाँले गर्नुहुने न्यायमा असर गर्छ कि? के कृपाले ईश्‍वरीय न्यायको प्रभावलाई कमजोर बनाउँछ? अहँ बनाउँदैन।

१४ अगमवक्‍ता होशे मार्फत यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “म तँलाई सधैंको निम्ति स्वास्नी तुल्याउनेछु। म धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर तँलाई स्वास्नी तुल्याउनेछु।” (होशे २:१९) यी शब्दहरूबाट के स्पष्ट हुन्छ भने यहोवाले देखाउने कृपा सधैं न्यायलगायत उहाँका अन्य गुणहरू अनुरूपै हुन्छ। यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु, . . . पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने” हुनुहुन्छ। (प्रस्थान ३४:६, ७) यहोवा कृपा र न्यायको परमेश्‍वर हुनुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌।” (व्यवस्था ३२:४) उहाँले देखाउने कृपा जस्तै उहाँको न्याय पनि सिद्ध छ। यी दुई गुणमध्ये कुनै पनि एउटा भन्दा अर्को श्रेष्ठ छैन र एउटाले अर्कोको प्रभावलाई कम गर्दैन। बरु, यी दुवै गुण एकअर्काका पूरक हुन्‌।

१५, १६. (क) ईश्‍वरीय न्याय कठोर छैन भनी कुन कुराले देखाउँछ? (ख) यहोवाले यस दुष्ट रीतिरिवाजको न्याय गर्नुहुँदा उहाँका उपासकहरू कुन कुराबारे विश्‍वस्त हुन सक्छन्‌?

१५ यहोवाको न्याय कठोर छैन। न्यायको प्रायः कानुनी आशय हुन्छ र फैसला सुनाएपछि अक्सर गल्ती गर्नेलाई उचित सजाय दिनुपर्ने हुन्छ। तर ईश्‍वरीय न्यायमा योग्य व्यक्‍तिहरूले मुक्‍ति पनि पाउन सक्छन्‌। उदाहरणका लागि, सदोम र गमोराका दुष्ट मानिसहरूलाई नाश गर्दा कुलपिता लूत र तिनका छोरीहरू भने बचाइए।—उत्पत्ति १९:१२-२६.

१६ यहोवाले वर्तमात दुष्ट रीतिरिवाजमाथि न्याय गर्नुहुँदा “आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” साँचो उपासकहरूको ‘ठूलो भीडलाई’ बचाउनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। त्यसरी तिनीहरू “महा सङ्‌कष्टबाट” बच्नेछन्‌।—प्रकाश ७:९-१४.

किन कृपालु हुने?

१७. कृपालु हुनुपर्ने एउटा मुख्य कारण के हो?

१७ यहोवा र येशू ख्रीष्टको उदाहरणबाट हामी पक्कै पनि साँचो कृपा के हो भनी सिक्न सक्छौं। कृपालु हुनुपर्ने एउटा मुख्य कारण बताउँदै हितोपदेश १९:१७ यसो भन्छ: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” एकअर्कासितको व्यवहारमा कृपालु हुँदै यहोवा र उहाँको पुत्रको अनुकरण गर्दा उहाँ प्रसन्‍न हुनुहुन्छ। (१ कोरिन्थी ११:१) अनि कृपाले कृपा नै फलाउने भएकोले अरू पनि कृपालु हुन प्रोत्साहित हुन्छन्‌।—लूका ६:३८.

१८. हामीले किन कृपालु हुन प्रयास गर्नुपर्छ?

१८ कृपा थुप्रै असल गुणहरूको संगम हो। यसमा अनुग्रह, प्रेम र भलाइ मुछिएको छ। अनुकम्पा वा सहानुभूतिका भावनाले कृपालु कार्यहरू गर्न उत्प्रेरणा दिन्छ। ईश्‍वरीय कृपाले न्यायको सन्दर्भमा सम्झौता नगर्ने भए तापनि यहोवा रीस गर्नमा ढिलो हुनुहुन्छ र गल्ती गर्नेहरूलाई पश्‍चात्ताप गर्न धीरजी भई पर्याप्त समय दिनुहुन्छ। (२ पत्रुस ३:९, १०) त्यसैले कृपा धीरजसित सम्बन्धित छ। कृपा, परमेश्‍वरको आत्माका फल लगायत अन्य थुप्रै असल गुणका संगम हो। त्यसैले कृपा देखाउँदा हामी यी गुणहरू खेती गर्ने अवसर पाउँछौं। (गलाती ५:२२, २३) हामी कृपालु हुन प्रयास गर्नु कत्ति महत्त्वपूर्ण छ!

“धन्य दयावन्तहरू”

१९, २०. कृपाले कुन तरिकामा न्यायमाथि दिग्विजय गर्दछ?

१९ जीवनमा हामी किन सधैं कृपालु अर्थात्‌ दयालु हुनुपर्छ भनी चेला याकूब हामीलाई बताउँछन्‌। तिनले लेखे: “दयाले इन्साफमाथि दिग्विजय गर्दछ।” (याकूब २:१३ख) यहोवाका उपासकहरूले अरूप्रति देखाउने कृपाबारे याकूब बताउँदै थिए। दयाले इन्साफमाथि दिग्विजय गर्दछ भनी कुन अर्थमा भन्‍न सकिन्छ भने मानिसहरूले “परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा” दिने समयमा उहाँले तिनीहरूका दयालु कार्यहरूलाई विचार गर्नुहुन्छ र उहाँको पुत्रको छुडौतीको बलिदानको आधारमा क्षमा दिनुहुन्छ। (रोमी १४:१२) निस्सन्देह, बेतशेबासँग पाप गर्दा दाऊदलाई कृपा देखाइनुको एउटा कारण तिनी आफै कृपालु मानिस भएकोले गर्दा हो। (१ शमूएल २४:४-७) अर्कोतर्फ, कृपा अर्थात्‌ “दया नदेखाउनेको इन्साफ निर्दयसाथ हुनेछ।” (याकूब २:१३क) त्यसैले ‘निर्दयीहरूलाई’ परमेश्‍वरले ‘मृत्युका योग्यहरूको’ सूचीमा राख्नु कुनै छक्कलाग्दो कुरा होइन!—रोमी १:३१, ३२.

२० येशूले डाँडाको उपदेशमा यसो भन्‍नुभयो: “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।” (मत्ती ५:७) यहोवाको कृपा पाउन चाहनेहरू आफै पनि कृपालु हुनुपर्छ भनी यी शब्दहरूले कति सशक्‍त ढंगमा स्पष्ट पार्छ! यसपछिको लेखमा हामी आफ्नो दैनिक जीवनमा कसरी कृपालु हुन सक्छौं, त्यो छलफल गर्नेछौं। (w 07 9/15)

तपाईंले के सिक्नुभयो?

• कृपा भनेको के हो?

• कृपा कुन-कुन तरिकामा देखाइन्छ?

• कुन तरिकामा यहोवा कृपा र न्यायका परमेश्‍वर हुनुहुन्छ?

• हामी किन कृपालु हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

खाँचोमा परेकाहरूप्रतिको यहोवाको कोमल भावनालाई एउटी आमाले बच्चाप्रति महसुस गर्ने स्नेहसित तुलना गर्न सकिन्छ

[पृष्ठ १२-मा भएको चित्र]

दाऊदलाई कृपा देखाएर के यहोवाले आफ्नो न्याय भंग गर्नुभयो?