सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

होशेको पुस्तकका विशेषताहरू

होशेको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

होशेको पुस्तकका विशेषताहरू

इस्राएलको दस गोत्रे उत्तरी राज्यबाट साँचो उपासना हराइ नै सकेको छ भन्दा पनि हुन्छ। यारोबाम द्वितीयको शासनकालमा इस्राएल भौतिक तवरले समृद्ध भएको छ। तर इस्राएलको त्यो समृद्ध रूप यारोबामको मृत्यु भएलगत्तै बिग्रँदै जान्छ। त्यसपछि अशान्ति र राजनैतिक अस्थिरताको समय चल्छ। एकपछि अर्को गर्दै सिंहासनमा बसेका छ जना राजाहरूमध्ये चार जनाको हत्या हुन्छ। (२ राजा १४:२९; १५:८-३०; १७:१-६) होशेले ५९ वर्षसम्म भविष्यवक्‍ताको रूपमा सेवा गरेको समय, ईसापूर्व ८०४ मा सुरु भएर त्यस अशान्तिको समयसम्म चल्छ।

बाटो बिराएको इस्राएल राष्ट्रप्रति यहोवाले कस्तो महसुस गर्नुभयो, त्यसलाई होशेको विवाहले स्पष्टसित चित्रण गर्छ। इस्राएलको गल्ती उदांग पार्नु अनि इस्राएल र यहूदामाथि भविष्यसूचक न्यायदण्ड घोषणा गर्नु नै होशेको सन्देशको मुख्य विषय हो। कोमल र मन छुने शब्दहरू अनि सशक्‍त र जीवन्त भाषा प्रयोग गरेर होशेले यी कुरा तिनकै नाउँले चिनिने बाइबल पुस्तकमा लेखेका छन्‌। यो पुस्तक परमेश्‍वरको प्रेरित वचनको एउटा भाग हो र यसको सन्देश जीवित र प्रबल छ।—हिब्रू ४:१२.

“एउटी वेश्‍या स्वास्नी ले”

(होशे १:१–३:५)

यहोवा होशेलाई यसो भन्‍नुहुन्छ: “जा, गएर एउटी वेश्‍या स्वास्नी ले।” (होशे १:२) होशेले यो आज्ञा पालन गर्छन्‌ र गोमेरबाट तिनको एउटा छोरो हुन्छ। पक्कै पनि त्यसपछि गोमेरले जन्माएकी अरू दुई बच्चा नाजायज हुनुपर्छ। तिनीहरूका नाउँ लोरुहामा र लोअम्मी राखिन्छ। ती नाउँका अर्थहरूले इस्राएललाई यहोवाले दया गर्न छोड्‌नुभएको र आफ्ना अवफादार जनलाई त्याग्नुभएको कुरालाई संकेत गर्छ।

वास्तवमा आफ्ना विद्रोही जनबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? उहाँ होशेलाई यसो भन्‍नुहुन्छ: “अरू देवताहरूका पछि लाग्ने र दाखका रोटीहरूसित प्रेम गर्ने इस्राएलीहरूलाई परमप्रभुले प्रेम गर्नुभएझैं जा, नाठाकी प्यारी र व्यभिचारिणी स्त्रीलाई प्रेम गर्‌।”—होशे ३:१.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:१—होशेले आफ्नो सेवकाईको दौडान यहूदामा शासन गर्ने चारै जना राजाबारे उल्लेख गर्छन्‌ तर इस्राएलको चाहिं एक जना शासकको मात्र नाउँ लिन्छन्‌, किन? किनभने दाऊदको वंशका राजाहरूलाई मात्र परमेश्‍वरको छानिएका जनहरूको वैध शासक मानिन्थ्यो। उत्तरी राज्यका राजाहरू दाऊदको वंशका थिएनन्‌। यहूदाका राजाहरू मात्र दाऊदको वंशका थिए।

१:२-९—के होशेले साँच्चै नै व्यभिचारिणी स्वास्नी ल्याएका थिए? वास्तवमा होशेले विवाह गरेकी स्त्रीले पछि गएर मात्र अर्कोसित नाजायज सम्बन्ध राखेकी थिई। होशेले बताएका तिनको पारिवारिक जीवन सपना थियो वा दर्शन, त्यसबारे तिनले केही पनि बताएका छैनन्‌।

१:७—यहूदाको घरानालाई कहिले दया देखाइयो र बचाइयो? यो कुरा हिजकियाह राजाको समयमा अर्थात्‌ ईसापूर्व ७३२ मा पूरा भयो। त्यतिबेला, यहोवाले एक जना स्वर्गदूतलाई एकै रातमा १,८५,००० शत्रु सेना मार्न लगाएर यरूशलेममाथि मडारिरहेको अश्‍शूरीहरूको खतरा हटाइदिनुभयो। (२ राजा १९:३४, ३५) त्यसरी यहोवाले यहूदालाई “धनु, तरवार, घोडा र घोडचढीहरूद्वारा” होइन तर एक जना स्वर्गदूतद्वारा छुटकारा दिनुभयो।

१:१०, ११—इस्राएलको उत्तरी राज्य ईसापूर्व ७४० मा पतन भएकोले इस्राएलका छोराहरू कसरी यहूदाका छोराहरूसित ‘एकसाथ मिले?’ ईसापूर्व ६०७ मा यहूदाका बासिन्दालाई बेबिलोनको कैदमा लैजानुअघि नै उत्तरी राज्यका थुप्रै मानिस यहूदा गएका थिए। (२ इतिहास ११:१३-१७; ३०:६-१२, १८-२०, २५) त्यसैले ईसापूर्व ५३७ मा निर्वासित यहूदीहरू आफ्नो ठाउँमा फर्कंदा उत्तरी राज्यका सन्तान पनि त्यसमा समावेश थिए।—एज्रा २:७०.

२:२१-२३—“म मेरो निम्ति [यिज्रेललाई] पृथ्वीमा छर्नेछु, र दया नपाउनेमाथि म दया देखाउनेछु” भन्‍ने यहोवाका यी शब्दहरू कुन कुराको भविष्यवाणी थियो? होशे र गोमेरको पहिलो छोराको नाउँ यिज्रेल थियो। (होशे १:२-४) यिज्रेलको अर्थ “परमेश्‍वरले बीउ छर्नुहुनेछ” हो र यो, ईसापूर्व ५३७ मा यहोवाले विश्‍वासी शेष जनलाई जम्मा गर्ने र तिनीहरूलाई यहूदामा बीउझैं छर्ने कुराको भविष्यसूचक वाणी हो। सत्तरी वर्षसम्म उजाड छोडिएको भूमिमा अब अन्‍न, दाखमद्य र तेल जस्ता असल कुरा उत्पादन गर्नुपर्ने थियो। कवितात्मक शैलीमा यस भविष्यवाणीमा के बताइएको छ भने, उजाड भूमिमा उत्पादन गर्नुपर्ने यी असल कुराले पृथ्वीलाई पौष्टिक तत्त्व दिन अनुरोध गर्नेछ र पृथ्वीले चाहिं आकाशलाई पानी बर्साउन आग्रह गर्नेछ। त्यसपछि, आकाशले चाहिं परमेश्‍वरलाई पानी पार्ने बादल दिन बिन्ती चढाउनेछ। यी सब कुरा आफ्नो देश फर्किने बाँकी रहेका यहूदीहरूको आवश्‍यकतालाई राम्ररी पूरा गर्नकै लागि हो। प्रेरित पावल र पत्रुसले होशे २:२३ लाई आध्यात्मिक इस्राएलका बाँकी रहेकाहरू भेला गर्ने सन्दर्भमा लागू गरे।—रोमी ९:२५, २६; १ पत्रुस २:१०.

हाम्रो लागि पाठ:

१:२-९; ३:१, २. होशेले परमेश्‍वरको इच्छा पालन गर्दै वैवाहिक बन्धनमा स्थिर रहेर गरेको त्यागबारे सोच्नुहोस्‌ त! परमेश्‍वरको इच्छा पूरा गर्ने कुरा आउँदा हामी कुन हदसम्म आफ्ना रुचिहरू त्याग्न राजी हुन्छौं?

१:६-९. यहोवाले शारीरिक व्यभिचारलाई जस्तै आध्यात्मिक व्यभिचारलाई पनि घृणा गर्नुहुन्छ।

१:७, १०, ११; २:१४-२३. यहोवाले इस्राएल र यहूदाबारे गर्नुभएको भविष्यवाणी पूरा भयो। उहाँ जे बोल्नुहुन्छ त्यो जहिले पनि साँचो साबित हुन्छ।

२:१६, १९, २१-२३; ३:१-४. हृदयबाटै पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन यहोवा इच्छुक हुनुहुन्छ। (नहेम्याह ९:१७) अरूसित व्यवहार गर्दा हामी पनि यहोवा जस्तै अनुकम्पापूर्ण र दयालु हुनुपर्छ।

“परमप्रभुको विवाद छ”

(होशे ४:१–१३:१६)

“यस देशका बासिन्दाहरूसित परमप्रभुको विवाद छ।” किन? किनभने “यस देशमा नता सत्यता, न करुणा नता परमेश्‍वरको ज्ञान छ।” (होशे ४:१) इस्राएलका धर्मत्यागी मानिसहरू जालसाजी र रक्‍तपातमा मुछिए अनि तिनीहरूले शारीरिक र आध्यात्मिक व्यभिचार गरे। तिनीहरूले मदतको लागि परमेश्‍वरलाई पुकार्नुको साटो ‘मिश्र देशलाई पुकारे, अश्‍शूरमा गए।’—होशे ७:११.

यहोवा यसरी न्यायदण्ड सुनाउनुहुन्छ: ‘इस्राएललाई निलिहाल्नुपर्छ।’ (होशे ८:८) यहूदाको राज्य दोषमुक्‍त छैन। होशे १२:२ बताउँछ: “यहूदासित परमप्रभुको विवाद छ, र याकूबलाई त्यसको चालअनुसार उहाँले दण्ड दिनुहुनेछ। त्यसको कामअनुसार उहाँले त्यसलाई बदला दिनुहुनेछ।” तर पुनर्स्थापना निश्‍चित छ किनभने परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: ‘म तिनीहरूलाई पातालको शक्‍तिदेखि छुटाउँछु; म तिनीहरूलाई मृत्युदेखि मुक्‍त गर्छु।’—होशे १३:१४.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

६:१-३—“आऊ, हामी परमप्रभुतिर फर्कौं” भन्‍ने को थिए? सायद अविश्‍वासी इस्राएलीहरू यहोवातिर फर्कन एकअर्कालाई प्रोत्साहित गरिरहेका थिए। यदि त्यसो हो भने, तिनीहरूले केवल देखावटी पश्‍चात्ताप गरिरहेका थिए। तिनीहरूको प्रेम “बिहानको कुइरो जस्तै र बिलिजाने शीत जस्तै” क्षणिक थियो। (होशे ६:४) अर्कोतर्फ, त्यसो भन्‍ने व्यक्‍ति होशे पनि हुन सक्छ जसले मानिसहरूलाई यहोवातिर फर्कन बिन्ती गरिरहेका थिए। कुरा जेसुकै होस्‌, दस गोत्रे इस्राएल राज्यका बाटो बिराएका बासिन्दाहरूले साँचो पश्‍चात्ताप देखाएर यहोवातिर साँच्चै फर्कनुपर्थ्यो।

७:४—कुन तरिकामा व्यभिचारी इस्राएलीहरू “गरम पारेको तन्दूर” जस्तै थिए? यस तुलनाले तिनीहरूको हृदयको खराब इच्छा असाध्यै तीव्र थियो भनेर देखाउँछ।

हाम्रो लागि पाठ:

४:१, . यदि हामी यहोवाको अनुग्रह पाउन चाहन्छौं भने उहाँबारे ज्ञान लिइरहनै पर्छ र सिकेको कुरा जीवनमा लागू गर्नै पर्छ।

४:९-१३. यौन अनैतिकता र असुद्ध उपासनामा लाग्नेहरूको यहोवाले लेखा लिनुहुनेछ।—होशे १:४.

५:१. परमेश्‍वरका जनहरूमाझ नेतृत्व लिनेहरूले धर्मत्यागलाई पूर्णतया त्याग्नुपर्छ। नत्र तिनीहरूले कतिपयलाई झूटो उपासनामा लाग्नतर्फ लोभ्याउन सक्छन्‌ र यसरी यो तिनीहरूका लागि ‘पासो र जाल’ बनिरहेको हुन्छ।

६:१-४; ७:१४, १६. मुखले मात्र पश्‍चात्ताप गर्नु कपटीपन र व्यर्थ हो। परमेश्‍वरबाट कृपा पाउन गल्ती गर्ने व्यक्‍तिले हृदयबाटै पश्‍चात्ताप गरेको देखाउनै पर्छ र यो कुरा तिनले “सर्वोच्चतिर” अर्थात्‌ उच्च प्रकारको उपासनातर्फ फर्केर साबित गर्नुपर्छ। तिनको कामकुरो परमेश्‍वरको उच्च स्तरअनुरूप हुनुपर्छ।—होशे ७:१६, NRV.

६:६. पापमा मुछिरहनु भनेको परमेश्‍वरप्रति वफादार प्रेम नभएको संकेत हो। जतिसुकै आध्यात्मिक बलिदान चढाए पनि यस गल्तीको क्षतिपूर्ति हुन सक्दैन।

८:७, १३; १०:१३. “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने सिद्धान्त मूर्तिपूजक इस्राएलीहरूको मामिलामा साँचो साबित भयो।—गलाती ६:७.

८:८; ९:१७; १३:१६. उत्तरी राज्यको राजधानी सामरियालाई अश्‍शूरीहरूले कब्जा गर्दा यस राज्यसम्बन्धी भविष्यवाणीहरू पूरा भए। (२ राजा १७:३-६) परमेश्‍वरले बोलेपछि त्यो पूरा गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं।—गन्ती २३:१९.

८:१४. यरूशलेम र यहूदाको भूमिलाई उजाड पारिनेछ भनेर भविष्यवाणी गरेअनुसारै यहोवाले ईसापूर्व ६०७ मा बेबिलोनीहरूका हातबाट “[यहूदाका] शहरहरूमा आगो” लगाइदिनुभयो। (२ इतिहास ३६:१९) परमेश्‍वर जे बोल्नुहुन्छ त्यो कहिल्यै विफल हुँदैन।—यहोशू २३:१४.

९:१०. साँचो परमेश्‍वरप्रति समर्पित भए तापनि इस्राएलीहरू “बालपोरकहाँ गए, र बाल देवताकहाँ आफूलाई अर्पण गरे।” यदि तिनीहरूको खराब उदाहरणलाई चेतावनीको रूपमा लिन्छौं र यहोवाप्रतिको समर्पण विपरीतको काम गर्नबाट जोगिन्छौं भने हामी बुद्धिमान हौं।— १ कोरिन्थी १०:११.

१०:१, २, १२. हामीले निष्कपट हृदयले परमेश्‍वरको उपासना गर्नुपर्छ। ‘आफ्नो निम्ति धार्मिकतामा बिउ रोप्दा परमेश्‍वरको दयाअनुसार कटनी गर्छौं।’

१०:५. बेतावन (अर्थ “दुःखको घर”) शब्द बेथेललाई (अर्थ “परमेश्‍वरको घर”) दिइएको अपमानजनक नाउँ हो। बेतावनमा भएको बाछोको मूर्तिलाई निर्वासनमा लगिंदा सामरियाबासी आफूले उपासना चढाइरहेको त्यो वस्तु गुमेकोमा शोकित भए। आफ्नै सुरक्षा गर्न नसक्ने निर्जीव मूर्तिमा भरोसा गर्नु कत्ति मूर्खता!—भजन १३५:१५-१८; यर्मिया १०:३-५.

११:१-४. यहोवा आफ्ना जनहरूसित जहिले पनि मायालु ढंगमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरप्रतिको अधीनता कहिल्यै दमनकारी हुँदैन।

११:८-११; १३:१४. आफ्ना जनहरू साँचो उपासनाको लागि पुनर्स्थापित हुनेबारे यहोवाले बोलेको वचन ‘उहाँकहाँ व्यर्थै फर्केन।’ (यशैया ५५:११) ईसापूर्व ५३७ मा बेबिलोनको निर्वासन सकियो र बाँकी रहेका यहूदीहरू यरूशलेम फर्किए। (एज्रा २:१; ३:१-३) आफ्ना अगमवक्‍ताहरू मार्फत यहोवाले भन्‍नुभएका सबै कुरा अवश्‍यै पूरा हुनेछ।

१२:६. निरन्तर कृपा देखाउन, न्याय गर्न र यहोवामा आशा राख्न हामीले अठोट गर्नुपर्छ।

१३:६. इस्राएलीहरू “तृप्त भए र तिनीहरूको हृदय घमन्डी भयो, यसैकारण तिनीहरूले [यहोवालाई] भुलिहाले।” घमन्डी बनाउने कुनै पनि झुकावदेखि हामी जोगिनुपर्छ।

“परमप्रभुको मार्ग ठीक छन्‌”

(होशे १४:१-९)

होशे यस्तो बिन्ती गर्छन्‌: “ए इस्राएल, परमप्रभु आफ्ना परमेश्‍वरतिर फर्केर आइज, किनकि तँ आफ्नो अधर्मले गर्दा पतित भएको छस्‌।” तिनले मानिसहरूलाई यहोवामा यस्तो बिन्ती चढाउन आग्रह गर्छन्‌: “सबै अधर्म दूर गरेर जे असल छ त्यही ग्रहण गर्नुहोस्‌। यसरी हामी बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति चढाउनेछौं।”—होशे १४:१, २.

गलत काम गरेर पश्‍चात्ताप गर्नेहरूले यहोवाकहाँ आएर उहाँको मार्ग स्वीकार्नुपर्छ र उहाँलाई प्रशंसाको बलिदान चढाउनुपर्छ। किन? किनभने “परमप्रभुको मार्ग ठीक छन्‌। धर्मी जन त्यसैमा हिंड्‌नेछन्‌।” (होशे १४:९) थुप्रै मानिस “पछिल्ला दिनहरूमा . . . भयसित परमप्रभु र उहाँका उदारतातिर आउनेछन्‌।” यसमा हामी कत्ति रमाउँछौं!—होशे ३:५. (w 07 9/15)