सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो अन्तस्करणले भनेअनुसार गर्ने

आफ्नो अन्तस्करणले भनेअनुसार गर्ने

आफ्नो अन्तस्करणले भनेअनुसार गर्ने

“शुद्धहरूलाई सबै थोक शुद्धै छन्‌, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन।”—तीतस १:१५.

१. क्रेटका मण्डलीहरूसित पावल कसरी मुछिएका थिए?

 तीनवटा मिसनरी यात्रा सिध्याइसकेपछि प्रेरित पावल पक्राउमा परे र अन्ततः तिनलाई रोममा पठाइयो जहाँ तिनले दुई वर्ष कैदमा बिताए। मुक्‍त भएपछि तिनले के गरे? त्यसपछि तिनी एक चोटि तीतससित क्रेटको टापुमा गए। तिनले तीतसलाई यस्तो लेखे: “मैले तिमीलाई क्रेटमा छोडें, कि तिमीले त्यहाँ चाहिंदो कुराहरूको सुधार गर्नू, र . . . धर्म-गुरुहरू नियुक्‍त” गर्नू। (तीतस १:५) तीतसलाई सुम्पिएको यस काममा, अन्तस्करणले राम्ररी काम नगरिरहेका मानिसहरूसित व्यवहार गर्नु पनि समावेश थियो।

२. क्रेटको टापुमा तीतसले कस्तो समस्याको सामना गर्नुपऱ्‍यो?

पावलले तीतसलाई मण्डलीका प्राचीनहरूको योग्यताबारे सल्लाह दिए अनि त्यहाँका “धेरैजसो मानिसहरू वशमा नआउने, बकबादी, छली” छन्‌ भनी बताए। तिनीहरूले ‘अनुचित कुराहरू सिकाइ सिकाइकन घरहरू बिगारिरहेका थिए।’ तीतसले तिनीहरूलाई ‘हप्काइरहनुपर्ने’ थियो। (तीतस १:१०-१४; १ तिमोथी ४:७) पावलले तिनीहरूको मन अनि अन्तस्करण “बिटुलिएका” छन्‌ भने र यसो भन्दा तिनले राम्रो लुगामा मसीको दाग लागेको अर्थ बुझाउने शब्द चलाए। (तीतस १:१५) ती पुरुषहरूमध्ये केही यहूदी पृष्ठभूमिका हुन सक्छन्‌ किनभने तिनीहरू ‘खतना गर्नै पर्छ’ भन्‍नेहरू थिए। आज मण्डलीहरूमा खतना गर्नै पर्छ भन्‍ने विचारधारा राख्ने मानिसहरू नभए तापनि पावलले तीतसलाई दिएको सल्लाहबाट अन्तस्करणबारे धेरै कुरा सिक्न सक्छौं।

बिटुलिएका अन्तस्करण भएकाहरू

३. पावलले तीतसलाई अन्तस्करणबारे के लेखे?

पावलले कस्तो अवस्थामा अन्तस्करणबारे कुरा गरे, याद गर्नुहोस्‌। “शुद्धहरूलाई सबै थोक शुद्धै छन्‌, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र समझसमेत [“अन्तस्करण,” NW] बिटुलिएका हुन्छन्‌। तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्‌ भनी तिनीहरू भनी टोपल्छन्‌, तर . . . आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्‌।” कुरा स्पष्ट छ, ‘विश्‍वासमा पक्का हुन’ त्यतिबेला कसै-कसैले परिवर्तनहरू गर्नुपरेको थियो। (तीतस १:१३, १५, १६) तिनीहरूको बिटुलिएको अन्तस्करणको कारण तिनीहरूलाई शुद्ध र अशुद्धबीच भिन्‍नता छुट्याउन गाह्रो भइरहेको थियो।

४, ५. मण्डलीमा कसै-कसैको कस्तो कमजोरी थियो र यसले तिनीहरूलाई कसरी प्रभावित गऱ्‍यो?

त्यसको झन्डै दस वर्षअघि मसीही परिचालक निकाय, साँचो उपासक बन्‍न खतना गर्नु आवश्‍यक छैन भन्‍ने निष्कर्षमा पुगेको थियो र तिनीहरूले यो जानकारी मण्डलीहरूमा पनि पठाए। (प्रेरित १५:१, २, १९-२९) तैपनि ‘खतना गर्नै पर्छ’ भन्‍नेहरू क्रेटमा अझै थिए। तिनीहरूले “अनुचित कुराहरू सिकाई” परिचालक निकायसित सहमत नभएको स्पष्ट पारे। (तीतस १:१०, ११) टेढो विचार राख्दै तिनीहरूले व्यवस्थामा दिएको खाना र शुद्धतासम्बन्धी नियमहरूलाई नै बढवा दिइरहेका हुन सक्छन्‌। तिनीहरूले येशूको समयका आफ्ना अग्रजहरूले जस्तै व्यवस्थाका कुरालाई बढाइचढाइ गर्नुका साथै यहूदी दन्त्यकथा र मानिसहरूका आज्ञालाई बढवा दिएको हुन सक्छ।—मर्कूस ७:२, ३, ५, १५; १ तिमोथी ४:३.

त्यस्तो सोचाइले तिनीहरूको न्यायशक्‍ति, नैतिक चेतना अनि अन्तस्करणमा नराम्रो असर पाऱ्‍यो। पावलले यस्तो लेखे: “अशुद्ध र अविश्‍वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन।” तिनीहरूको अन्तस्करण यत्ति टेढो भएको थियो कि तिनीहरूको काम र लेखाजोखा गर्ने सम्बन्धमा तिनीहरूको अन्तस्करण भरपर्दो डोऱ्‍याइ हुनै छोड्यो। यसबाहेक, तिनीहरूले सँगी विश्‍वासीहरूलाई व्यक्‍तिगत विषयहरूको आधारमा तौलिने गर्थे, जुन विषयमा दुई व्यक्‍तिले आ-आफ्नै तरिकामा निर्णय गर्न सक्थे। त्यसैले क्रेटका मसीहीहरूले जुन कुराहरूलाई अशुद्ध भनिरहेका थिए त्यो वास्तवमा अशुद्ध थिएन। (रोमी १४:१७; कलस्सी २:१६) तिनीहरूले परमेश्‍वरलाई चिनेका छौं भनी टोपले तापनि तिनीहरूको कामले त्यसको प्रमाण दिंदैनथ्यो।—तीतस १:१६.

“शुद्धहरूलाई . . . शुद्धै”

६. पावलले कुन दुई प्रकारका मानिसहरूबारे उल्लेख गरे?

पावलले तीतसलाई लेखेको कुराबाट हामी कसरी लाभ उठाउन सक्छौं? पहिला तिनले गरेको तुलनालाई याद गर्नुहोस्‌: “शुद्धहरूलाई सबै थोक शुद्धै छन्‌, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र समझसमेत [“अन्तस्करण,” NW] बिटुलिएका हुन्छन्‌।” (तीतस १:१५) पावलले यसो भन्‍नुको अर्थ नैतिक तवरमा शुद्ध मसीहीको लागि सबै थोक पूर्णतया शुद्ध र उचित हुन्छ भन्‍ने त पक्कै होइन। किनभने पावलले एउटा अर्को पत्रमा व्यभिचार, मूर्तिपूजा, प्रेतवाद आदिमा लाग्नेहरू “परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्‌” भनी बताइसकेका थिए। (गलाती ५:१९-२१) तसर्थ पावलले नैतिक तथा आध्यात्मिक तवरमा शुद्ध र अशुद्ध दुई प्रकारका मानिसहरूबारे सामान्य अर्थमा बताइरहेका थिए भन्‍ने निष्कर्षमा हामी पुग्नुपर्छ।

७. हिब्रू १३:४ ले केलाई निषेध गर्छ तर कस्तो प्रश्‍न उठ्‌छ?

साँचो मसीहीहरू बाइबलले किटेरै निषेध गरेको कुराहरूबाट मात्र अलग रहनुपर्छ भन्‍ने होइन। उदाहरणका लागि यो स्पष्ट कथनलाई विचार गर्नुहोस्‌: “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ।” (हिब्रू १३:४) यो पदले आफ्नो पति/पत्नीबाहेक अरूसित नाजायज सम्बन्ध राख्न निषेध गर्छ भनेर गैर-मसीहीहरू र बाइबलबारे केही कुरा थाह नभएकाहरूले समेत भन्‍न सक्छन्‌। विवाहित पुरुष वा स्त्रीले आफ्नो पति वा पत्नीबाहेक अरूसित राख्ने यौन सम्बन्धको बाइबलले निन्दा गर्छ भन्‍ने कुरा बाइबलको यो पद र अन्य पदहरूबाट स्पष्ट हुन्छ। तर दुई अविवाहित व्यक्‍ति मुख-मैथुनमा संलग्न हुन्छन्‌ भने नि? थुप्रै किशोरकिशोरी यसमा कुनै हानि छैन किनभने यौनसम्बन्ध नै राखेको त होइन नि भन्‍ने दाबी गर्छन्‌। के कुनै मसीहीले मुख-मैथुनलाई शुद्ध कुराको रूपमा लिन सक्छन्‌?

८. मुखमैथुनको सन्दर्भमा मसीहीहरूको विचार संसारका थुप्रै मानिसहरूको विचारभन्दा कसरी फरक छ?

आफ्नो पति/पत्नीबाहेक अरूसित नाजायज सम्बन्ध राख्नु र व्यभिचार गर्नु (ग्रीक, पोरनिया) परमेश्‍वरको लागि अस्वीकार्य छ भनी हिब्रू १३:४ र १ कोरिन्थी ६:९ ले स्पष्ट पार्छ। व्यभिचारमा के-के समावेश छ? पोरनिया भन्‍ने ग्रीक शब्दले प्राकृतिक होस्‌ वा पतित तरिकामा, कामुक भएर जननेन्द्रिय खेलाउनुलाई पनि बुझाउँछ। यसमा धर्मशास्त्रीय आधारअनुसार गरिएका विवाहभन्दा बाहिरका सबै प्रकारको अवैध यौन सम्बन्ध समावेश छ। त्यसैले, मुख-मैथुन पनि यसमा समावेश छ, चाहे संसारका थुप्रै किशोरकिशोरीलाई त्यसो गर्नुमा कुनै आपत्ति छैन भनिएको होस्‌ वा तिनीहरू आफै त्यस्तो निष्कर्षमा पुगेका नै किन नहोऊन्‌। साँचो मसीहीहरू आफ्नो सोचाइ र कार्यलाई “वशमा नआउने, बकबादी, छली” मानिसहरूको विचारद्वारा डोरिन दिंदैनन्‌। (तीतस १:१०) तिनीहरूले पवित्र धर्मशास्त्र बाइबलको उच्च स्तरलाई पक्रिराख्छन्‌। मुख-मैथुनको लागि बहाना खोज्नुको सट्टा तिनीहरूले बाइबलअनुसार यो व्यभिचार अर्थात्‌ पोरनिया हो भनेर बुझेका छन्‌ र त्यहीबमोजिम तिनीहरू आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिन्छन्‌। aप्रेरित २१:२५; १ कोरिन्थी ६:१८; एफिसी ५:३.

भिन्‍नाभिन्‍नै आवाज, भिन्‍नाभिन्‍नै निर्णय

९. “सबै थोक शुद्धै छन्‌” भने अन्तस्करणले कस्तो भूमिका खेल्छ?

तर पावलले “शुद्धहरूलाई सबै थोक शुद्धै छन्‌” भन्‍नुको अर्थ के हो? यहाँ पावलले त्यस्ता मसीहीहरूलाई संकेत गर्दै थिए जसले आफ्नो सोचाइ र नैतिक चेतना परमेश्‍वरको प्रेरित वचनमा पाइने उहाँको स्तरअनुरूप ढालेका थिए। त्यस्ता मसीहीहरू परमेश्‍वरले सीधै निन्दा नगरेको विषयहरूमा सँगी विश्‍वासीहरूले भिन्‍नाभिन्‍नै निर्णय गर्न सक्छन्‌ भनी मानिलिन्छन्‌। आलोचनात्मक हुनुको सट्टा परमेश्‍वरले निन्दा नगर्ने कुराहरू “शुद्धै” छन्‌ भनेर तिनीहरू स्वीकार्छन्‌। बाइबलमा तोकेरै स्पष्ट निर्देशन नदिएको जीवनका पक्षहरूमा सबैको सोचाइ एउटै हुन्छ भन्‍ने तिनीहरू आस गर्दैनन्‌। यसका केही उदाहरण हामी विचार गरौं।

१०. विवाह समारोह (वा अन्त्येष्टि) कसरी एउटा चुनौतीको कारण हुन सक्छ?

१० यस्ता थुप्रै परिवार छन्‌ जसको पति वा पत्नी मात्र मसीही हुन्‌। (१ पत्रुस ३:१; ४:३) यस्तो स्थितिमा कुनै नातेदारको विवाह वा अन्त्येष्टि जस्ता कार्यक्रम हुँदा विभिन्‍न चुनौतीहरू आइपर्न सक्छ। पति यहोवाको साक्षी नभएका मसीही पत्नीको स्थितिबारे सोच्नुहोस्‌। तिनीहरूको एक जना नातेदारले विवाह गर्दैछन्‌ र विवाह समारोह चाहिं स्थानीय धार्मिक परम्पराअनुसार हुनेछ। (वा नातेदार, हुनसक्छ पतिको बुबा वा आमाको मृत्यु भएको छ र अन्त्येष्टि स्थानीय धार्मिक चलनअनुसार हुनेछ।) ती दम्पतीले पनि निम्तो पाएका छन्‌ र पति आफ्नी पत्नी पनि सँगै गएको चाहन्छन्‌। त्यहाँ जाने या नजानेबारे पत्नीको अन्तस्करणले के भन्छ? उनले के गर्नेछिन्‌? यी दुई सम्भाव्यतालाई विचार गर्नुहोस्‌।

११. स्थानीय धार्मिक परम्पराअनुसार हुने विवाह समारोहमा जाने/नजाने सन्दर्भमा एक मसीही पत्नीले कस्तो तर्क गर्न सक्छिन्‌ र उनी कस्तो निष्कर्षमा पुग्छिन्‌, व्याख्या गर्नुहोस्‌।

११ “महान्‌ बेबिलोन” अर्थात्‌ झूटा धर्मको विश्‍व साम्राज्यबाट “निस्केर आओ” भन्‍ने बाइबलको गम्भीर आज्ञालाई बहिनी सुनिता गहिरिएर सोच्छिन्‌। (प्रकाश १८:२, ४) जुन धार्मिक परम्पराअनुसार विवाह समारोह हुनेवाला छ, उनी पनि एक समय त्यही धर्म मान्थिन्‌ र समारोहको बेला, उपस्थित सबैलाई धार्मिक कार्य जस्तै: देउतालाई केही चढाउन, प्रार्थना गर्न, भजन गाउन वा धार्मिक इशारा गर्न लगाइन्छ भनी उनलाई थाह छ। उनी त्यस्तो कुनै कार्यमा सहभागी नहुन कटिबद्ध छिन्‌, त्यहाँ उपस्थित समेत हुन चाहँदिनन्‌ अनि आफ्नो निष्ठा तोड्‌ने दबाबमा पर्नै चाहँदिनन्‌। सुनिता आफ्नो पतिको आदर गर्छिन्‌ र तिनलाई साथ दिन चाहन्छिन्‌ जो बाइबलको सिद्धान्तअनुसार उनका शिर हुन्‌। तर उनी धर्मशास्त्रीय सिद्धान्तमा सम्झौता पनि गर्न चाहँदिनन्‌। (प्रेरित ५:२९) त्यसैले उनले कौशलता साथ आफ्ना पतिलाई तिनले त्यहाँ जाने विचार गरे तापनि आफू चाहिं जान नसक्ने कुरा बताउँछिन्‌। उनले ‘म गएर पनि केही कार्यहरूमा भाग लिन इन्कार गरें भने तपाईंलाई अप्ठ्यारो मात्र हुन सक्छ, त्यसैले म नजानु नै बेस हुन्छ’ भनेर बताउन सक्छिन्‌। यस्तो निर्णयले उनको अन्तस्करण सफा रहन्छ।

१२. स्थानीय धार्मिक परम्पराअनुसार हुने विवाह समारोहको निम्तो पाउँदा केहीले कस्तो तर्क गर्नुका साथै के गर्ने निर्णय लिन सक्छन्‌?

१२ निशा पनि झन्डै-झन्डै त्यस्तै दोधारमा पर्छिन्‌। उनी आफ्नो पतिको आदर गर्छिन्‌ र यहोवाप्रति वफादार रहिरहन पनि कटिबद्ध छिन्‌। साथै उनी बाइबल प्रशिक्षित अन्तस्करणले भनेअनुसार गर्छिन्‌। सुनिताले विचार गरेका जस्तै बुँदाहरूमा विचार गरेपछि उनले प्रार्थनापूर्वक मे १५, २००२ को प्रहरीधरहरा-मा प्रकाशित “पाठकहरूका प्रश्‍न” गहिरिएर पढ्‌छिन्‌। तीन जना हिब्रू ठीटाहरूले मूर्तिपूजा हुने ठाउँमा उपस्थित हुनको लागि दिइएको उर्दी पालन गरेका तर मूर्तिपूजामा भने भाग नलिएर आफ्नो निष्ठा कायम राखेको कुरा उनी सम्झिन्छिन्‌। (दानियल ३:१५-१८) उनले आफ्नो पतिसित जाने तर त्यहाँ कुनै पनि धार्मिक कार्यमा भाग नलिने निर्णय गरेर आफ्नो अन्तस्करणको आवाजअनुसार गरिरहेकी छिन्‌। स्पष्टसित तर कौशलता साथ आफ्नो पतिलाई उनको अन्तस्करणले के गर्न दिन्छ र के गर्न दिंदैन भनी बताउँछिन्‌। आफ्नो पतिले साँचो उपासना र झूटा उपासनाबीचको भिन्‍नता बुझ्नेछन्‌ भनेर निशा आशा गर्छिन्‌।—प्रेरित २४:१६.

१३. दुई मसीहीहरूले भिन्‍नाभिन्‍नै तरिकामा निर्णय गर्दैमा किन अन्योलमा पर्नु पर्दैन?

१३ ती दुई मसीहीहरूले भिन्‍नाभिन्‍नै निर्णय गरेको कारण जसले जे गरे पनि केही फरक पर्दैन वा ती दुईमध्ये एक जनाको अन्तस्करण कमजोर छ भन्‍ने हो? अहँ, होइन। त्यस्तो विवाह समारोहको बेला बजाइने संगीत र सजावटका कुराहरूसम्बन्धी आफ्नो पहिलाको अनुभव सुनिताले बिर्सेकी छैनन्‌। त्यसैले त्यहाँ जानु आफ्नो लागि खासगरि खतरनाक हुनेछ भन्‍ने निष्कर्षमा उनी पुग्छिन्‌। अनि यस्ता धार्मिक विषयमा पतिले पहिला गरेको व्यवहारलाई विचार गर्दा उनको अन्तस्करणलाई असर गर्न सक्छ। त्यसैले उनले जे निर्णय गरिन्‌ त्यही नै आफ्नो लागि उत्तम छ भनी उनी विश्‍वस्त छिन्‌।

१४. व्यक्‍तिगत निर्णय गर्ने विषयहरूमा मसीहीहरूले के कुरा मनमा राख्नुपर्छ?

१४ के त्यसको अर्थ निशाको निर्णय गलत थियो? त्यो अरूले भन्‍ने कुरा होइन। विवाह समारोहमा जाने तर कुनै धार्मिक कार्यमा भाग नलिने उनको निर्णयको अरूले निन्दा वा आलोचना गर्नु हुँदैन। कुनै खास खानेकुरा खाने/नखानेबारे व्यक्‍तिगत निर्णय गर्ने सन्दर्भमा पावलको सल्लाहलाई सम्झनुहोस्‌: “खानेले नखानेलाई तुच्छ नठानोस्‌, र नखानेले खानेलाई दोष नलगाओस्‌, . . . त्यो ता आफ्नै मालिकको निम्ति खडा हुन्छ। अथवा पतित हुन्छ त्यो खडा हुनसक्छ, किनभने त्यसका मालिकको त्यसलाई खडा गराउने शक्‍ति छ।” (रोमी १४:३, ४) निश्‍चय पनि, कोही पनि साँचो मसीहीले आफ्नो प्रशिक्षित अन्तस्करणको डोऱ्‍याइलाई बेवास्ता गर भनेर अरूलाई भन्‍ने छैनन्‌ किनभने त्यसो गर्नु त जीवन बचाउने सन्देश भएको आवाजलाई बन्द गर्नु जत्तिकै हुन्छ।

१५. अरूको अन्तस्करण र भावनाको किन गम्भीरतापूर्वक ख्याल गर्नुपर्छ?

१५ माथिको उदाहरणलाई अझै विचार गर्दा ती दुवै मसीहीहरूले थप पक्षहरूमा विचार पुऱ्‍याउनुपर्छ। त्यसमध्ये एउटा हो, अरूमा पर्ने असर। पावलले हामीलाई यस्तो सल्लाह दिए: “यो विचार गर, कि कसैले आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो, अथवा लोट्‌ने कारण नगरिदिओस्‌।” (रोमी १४:१३) सुनितालाई मण्डलीमा वा उनको परिवारमा पहिला निकै खलल पुऱ्‍याएको त्यस्तै खालको अवस्थाबारे थाह हुन सक्छ साथै उनले चाल्ने कदमले उनको छोराछोरीलाई ठूलो असर पार्न सक्छ। त्यसको विपरीत, त्यस्तो छनौटले उनको मण्डली वा समाजमा कुनै खलल नपुगेको निशालाई थाह हुन सक्छ। दुवै बहिनीहरू र हामी सबैले के कुरा बुझ्नुपर्छ भने उचित तरिकामा प्रशिक्षित अन्तस्करण, अरूमा पर्ने असरबारे संवेदनशील हुन्छ। येशूले यस्तो भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटालाई बाधा देला, त्यसको निम्ति ता एउटा जाँतोको ढुंगा त्यसको घिच्रोमा झुण्डाएर अगाध समुद्रमा डुबाइदिनु बढिया हुनेथियो।” (मत्ती १८:६) यदि कसैले अरूलाई ठेस लाग्ने कुरालाई बेवास्ता गर्छ भने क्रेटका केही मसीहीहरूको जस्तै तिनको पनि अन्तस्करण बिटुलिएको हुन सक्छ।

१६. समयको दौडान मसीहीहरूमा कस्तो परिवर्तनको आशा गर्न सक्छौं?

१६ मसीहीहरूको आध्यात्मिक विकास निरन्तर भइरहनुपर्छ। साथै आफ्नो अन्तस्करणको आवाज सुन्‍ने र यसले भनेअनुसार गर्ने सन्दर्भमा पनि प्रगति गर्दै जानुपर्छ। भर्खरै बप्तिस्मा लिएका प्रकाशलाई विचार गरौं। तिनको अन्तस्करणले तिनलाई आफूले पहिला गर्ने गरेको सबै गैर-धर्मशास्त्रीय कुराहरू, जस्तै मूर्तिपूजा वा रगतबाट अलग रहन भन्छ। (प्रेरित २१:२५) वास्तवमा भन्‍ने हो भने, परमेश्‍वरले निषेध गरेका कुराहरूसित अलिकति मात्र मिल्ने जस्तो देखिने कुराबाट समेत अलग रहन तिनी बडो होस पुऱ्‍याउँछन्‌। तर अर्कोतर्फ, तिनलाई स्वीकार्य लागेका कुराहरू जस्तै, केही टिभी कार्यक्रमलाई अरूले किन तिरस्कार गर्छन्‌ भनेर चाहिं तिनी अन्योलमा छन्‌।

१७. समय र आध्यात्मिक विकासले कुनै मसीहीको अन्तस्करण र निर्णयलाई कसरी असर गर्न सक्छ, उदाहरणसहित बताउनुहोस्‌।

१७ समयको दौडान प्रकाश परमेश्‍वरको ज्ञानमा बढ्‌दै जान्छन्‌ र परमेश्‍वरसित नजिक हुन्छन्‌। (कलस्सी १:९, १०) यसले कस्तो असर पार्छ? तिनको भित्री आवाजले निकै प्रशिक्षण पाइसकेको छ। अहिले प्रकाश आफ्नो अन्तस्करणको आवाज धेरै सुन्‍ने भएका छन्‌ साथै धर्मशास्त्रीय सिद्धान्तहरू होसियारी साथ विचार गर्छन्‌। परमेश्‍वरले निषेध गरेका कुराहरूसित “मिल्ने जस्तो” लागेर पहिला आफू अलग रहने गरेका कुराहरू वास्तवमा परमेश्‍वरको सोचाइ विपरीत रहेनछन्‌ भनेर तिनले बुझेका छन्‌। यसबाहेक, बाइबल सिद्धान्तहरू अझ राम्ररी बुझ्न सक्ने भएकोले र आफ्नो राम्ररी प्रशिक्षित अन्तस्करणको आवाजले भनेअनुसार गर्न इच्छुक भएकोले, अहिले तिनी आफ्नो अन्तस्करणलाई पहिला स्वीकार्य लाग्ने टिभी कार्यक्रमहरू नहेर्न उत्प्रेरित भएका छन्‌। हो, तिनको अन्तस्करण निखारिएको छ।—भजन ३७:३१.

१८. हामीसित आनन्दित हुने कस्तो कारण छ?

१८ अधिकांश मण्डलीहरूमा मसीही जीवनको विभिन्‍न चरणमा पुगेका व्यक्‍तिहरू हुन्छन्‌। कोही-कोही विश्‍वासमा नयाँ हुन्छन्‌। हुनसक्छ, कुनै-कुनै विषयमा तिनीहरूको अन्तस्करणले केही आवाज दिंदैन, चुपचाप छ तर अरू कुनै विषयमा चाहिं चर्कै आवाज दिन्छ। त्यस्ताहरूलाई परमेश्‍वरको डोऱ्‍याइअनुरूप चल्न र आफ्नो प्रशिक्षित अन्तस्करणले भनेअनुसार गर्न समय र मदतको खाँचो पर्छ। (एफिसी ४:१४, १५) खुसीको कुरा, सोही मण्डलीमा बाइबल सिद्धान्तहरूको गहिरो ज्ञान र अनुभव भएका अनि परमेश्‍वरको सोचाइअनुरूप आफ्नो अन्तस्करणलाई ढालिसकेका व्यक्‍तिहरू पनि हुन सक्छन्‌। परमेश्‍वरलाई ग्रहणयोग्य कुराहरू नैतिक र आध्यात्मिक तवरमा “शुद्धै” ठान्‍ने त्यस्ता ‘शुद्ध’ व्यक्‍तिहरूबीच हुन पाउनु कस्तो आनन्दको कुरा हो! (एफिसी ५:१०) त्यस हदसम्म उन्‍नति गर्दै जाने र सत्यको सही ज्ञान र ईश्‍वरीय भक्‍तिअनुसार आफ्नो अन्तस्करणलाई कायम राख्ने लक्ष्य हामी सबैले राखौं।—तीतस १:१. (w 07 10/15)

[फुटनोटहरू]

a मार्च १५, १९८३ को द वाचटावर-को पृष्ठ ३०-३१ मा विवाहित दम्पतीहरूको सन्दर्भमा छलफल गरिएको छ र त्यसमा यसो पनि भनिएको छ: “तिनीहरूले परमेश्‍वरको नजरमा अशुद्ध सबै कुराहरूप्रति घृणा उत्पन्‍न गर्नुपर्छ। यसमा पतित ठानिने यौन क्रियाकलापहरू पनि समावेश छ। विवाहित जोडीहरूले आपसमा यस्तो तरिकामा व्यवहार गर्नुपर्छ जसले गर्दा तिनीहरूको अन्तस्करण सफा रहिरहनेछ। . . . तिनीहरूले विशेष गरी यो कुरा मनमा राख्नुपर्छ कि यौन सम्बन्ध आदरणीय, हितकर र कोमल मायाको अभिव्यक्‍ति हुनुपर्छ। यसमा पक्कै पनि आफ्नो पति वा पत्नीलाई निराश तुल्याउने वा हानि पुऱ्‍याउने केही पनि कुरा समावेश हुनु हुँदैन।—एफिसी ५:२८-३०; १ पत्रुस ३:१, ७.”

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• क्रेटका केही मसीहीहरूको अन्तस्करण किन बिटुलिएको थियो?

• संवेदनशील अन्तस्करण भएका दुई मसीहीहरूले किन भिन्‍नाभिन्‍नै निर्णय गर्न सक्छन्‌?

• समय बित्दै जाँदा हाम्रो अन्तस्करण कस्तो हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको नक्सा]

(For fully formatted text, see publication)

सिसिली

ग्रीस

क्रेट

एसिया माइनर

साइप्रस

भूमध्यसागर