“उनको दृढ अठोटको मैले प्रशंसा गरें”
“उनको दृढ अठोटको मैले प्रशंसा गरें”
जर्मन लेखक तथा सन् १९९९ का साहित्यतर्फको नोबेल पुरस्कार विजेता गुन्टर ग्रासले सन् २००६ मा आफ्नो आत्मवृत्तान्त प्रकाशित गरे। यस पुस्तकमा उनी ६० वर्षपछिसम्म पनि आफूलाई गहिरो प्रभाव पार्ने एक व्यक्तिको विषयमा बताउँछन्। ती व्यक्ति आफ्नो विश्वासको कारण सतावट खेप्दै बसेका एक मानिस थिए।
फ्रांकफर्टर आल्जेमाइन जाइटुङ भन्ने दैनिक खबर-पत्रिकामा प्रकाशित अन्तरवार्तामा ग्रासले हातहतियार उठाउन इन्कार गर्ने यस असाधारण मानिसको सम्झना गरे। ग्रासले भने कि त्यस मानिसले, “व्याप्त कुनै पनि मानव विचारधारालाई समर्थन गरेनन्। तिनी न त नाजी न कम्युनिस्ट वा समाजवादी थिए। तिनी यहोवाको साक्षी थिए।” ग्रासले ती साक्षीको नाउँ त बिर्सेछन् तर तिनलाई उनले ‘हामी यस्ता काम गर्दैनौं’ भन्ने नाउँ दिए। यहोवाका साक्षीमध्येका अनुसन्धानकर्ताहरूले ती मानिस योआकिम अल्फरम्यान हुन् भनेर पत्ता लगाएका छन्। तिनलाई बारम्बार कुटियो र अपमान गरियो अनि एकान्त काराबासमा राखियो। तर अल्फरम्यान दृढ भइरहे र हातहतियार उठाउन तिरस्कार गरी नै रहे।
“उनको दृढ अठोटको मैले प्रशंसा गरें” भनी ग्रास लेख्छन्। “मैले आफैलाई सोधें: उसले यी सबै कुरा कसरी सहन सकेको होला? ऊ यो कसरी गर्छ?” लामो समयसम्म परमेश्वरप्रतिको तिनको निष्ठा तोडाउने प्रयासपछि, अन्तमा फेब्रूअरि १९४४ मा अल्फरम्यानलाई स्तुथोफ यातना शिविरमा पठाइयो। अप्रिल १९४५ मा तिनी युद्धबाट बाँचेर छुटे र १९९८ मा मृत्यु नहोउञ्जेल यहोवाको वफादार साक्षी भइरहे।
जर्मनीमा अनि नाजीको अधीनमा रहेका अन्य राष्ट्रहरूमा आफ्नो विश्वासको कारण प्रतिशोध भोग्ने १३,४०० साक्षीमध्ये अल्फरम्यान एक थिए। राजनीतिमा तटस्थ रहेर र हातहतियार नउठाएर तिनीहरूले बाइबलको निर्देशन पछ्याए। (मत्ती २६:५२; यूहन्ना १८:३६) लगभग ४,२०० साक्षीहरू यातना शिविरमा हालिए र १,४९० जनाले आफ्नो ज्यान गुमाए। आज पनि, साक्षीहरूको अठोटले धेरै मानिसहरूलाई प्रभावित पारेको छ। उनीहरूले साक्षीहरूको विश्वास स्वीकारेका छैनन् तर तिनीहरूको दृढताको खुलेर प्रशंसा गर्छन्। (w07 10/15)
[पृष्ठ ३२-मा भएको चित्र]
योआकिम अल्फरम्यान