सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरू

ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

ओबदिया, योना र मीकाको पुस्तकका विशेषताहरू

“परमप्रभु परमेश्‍वरले . . . ओबदियालाई देखाउनुभएको दर्शन।” (ओबदिया १) बाइबल पुस्तक ओबदियाको सुरुको पदमा यसो भनिएको छ। ईसापूर्व ६०७ मा लेखेको यस पुस्तकमा ओबदियाले आफ्नो नाउँबाहेक आफूबारे अरू केही कुरा बताएका छैनन्‌। ओबदियाको पुस्तकभन्दा दुई शताब्दीअघि लेख्न सिध्याइएको पुस्तकमा अगमवक्‍ता योनाले मिसनरी काममा आफूले अनुभव गरेको कुरा इमानदारी साथ बताएका छन्‌। मीकाले ६० वर्षसम्म अगमवक्‍ताको रूपमा काम गरे र यो समयावधि, ओबदिया र योनाले भविष्यवाणी गरेको समयको बीचमा पर्छ अर्थात्‌ ईसापूर्व ७७७ देखि ईसापूर्व ७१७ सम्म। मीकाले आफूबारे यति मात्रै बताएका छन्‌, तिनी “मोरेशेत [गाउँका]” हुन्‌ र तिनीकहाँ परमेश्‍वरको वचन “यहूदाका राजाहरू योताम, आहाज र हिजकियाहको शासनकालमा” आएको थियो। (मीका १:१) मीका अगमवक्‍ता गाउँले जीवनसित परिचित थिए भन्‍ने कुरा आफ्नो सन्देशलाई जोड दिन तिनले चलाएका उदाहरणहरूबाट स्पष्ट हुन्छ।

एदोम “सदाको निम्ति नष्ट हुनेछ”

(ओबदिया १-२१)

एदोमको सन्दर्भमा ओबदिया यसो भन्छन्‌: “तेरो भाइ याकूबमाथि गरेको जबरदस्तीको निम्ति शर्मले तँलाई ढाक्नेछ, र तँ सदाको निम्ति नष्ट हुनेछस्‌।” याकूबका सन्तान इस्राएलीहरू विरुद्ध एदोमीहरूले गरेका हिंस्रक कार्यहरू ओबदियाको मनमा ताजै छ। ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरूशलेमलाई नाश गर्दा एदोमीहरू ‘अर्कोतिर उभिए’ र आक्रमणकारी “विदेशीहरू[सित]” तिनीहरूले साँठगाँठ बढाए।—ओबदिया १०, ११.

तर याकूबको घरानाको पुनर्स्थापना हुन्छ। ओबदिया यस्तो भविष्यवाणी गर्छन्‌: “उम्केका जत्ति ता सियोन डाँडामा रहनेछन्‌, त्यो पवित्र रहनेछ।”—ओबदिया १७.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

५-८—एदोमको विनाशलाई राती लुट्‌न आउने डाँकूहरू र दाख टिप्नेहरूसित तुलना गरेर हेर्नुले के अर्थ राख्छ? यदि एदोममा चोरहरू आएका भए तिनीहरूले आफूलाई चाहिएको कुरा मात्र लैजाने थिए। खेतालाहरू आएका भए तिनीहरूले सिलाबाला छोड्‌ने थिए। तर एदोमको पतन हुँदा त्यसले “भरोसा राखेका मित्रहरू” अर्थात्‌ बेबिलोनीहरूले त्यसको सबै धन खोजी-खोजी लुटेर लैजाने थिए।—यर्मिया ४९:९, १०.

१०—एदोम कसरी ‘सदाको निम्ति नष्ट भयो’? एदोम वास्तवमै सरकार र जनतासहितको पृथ्वीको एक क्षेत्रमा अवस्थित एउटा राष्ट्र थियो जुन भविष्यवाणी गरिएझैं नामेट भएर गयो। बेबिलोनी राजा नाबोनिडसले ईसापूर्व छैठौं शताब्दीको बीचतिर एदोममाथि विजय हासिस गरे। ईसापूर्व चौथो शताब्दीसम्ममा एदोमको भूमि नबातियनहरूले ओगटिसकेका थिए र एदोमीहरू चाहिं यहूदियाको दक्षिणी भागमा पर्ने नेगेबको इलाकामा बसोबास गर्न बाध्य भए। त्यो ठाउँ पछि गएर इदुमिआ नाउँले चिनियो। इस्वी संवत्‌ ७० मा रोमीहरूले यरूशलेम नाश गरेपछि एदोमीहरूको अस्तित्व नै रहेन।

हाम्रो लागि पाठ:

३, ४. एदोमीहरू उच्च पहाड र गहिरो खोंचहरूमा बस्थे। त्यसैले सामरिक महत्त्वको हिसाबले त्यो ठाउँ एकदमै राम्रो थियो। तसर्थ तिनीहरूले आफूलाई एकदमै सुरक्षित ठानेर आफैलाई धोका दिइरहेका थिए। तर परमेश्‍वरको न्यायबाट उम्कन सकिंदैन।

८, ९, १५. ‘परमप्रभुको दिनमा’ मानव बुद्धि र शक्‍तिले सुरक्षा दिन सक्दैन।—यर्मिया ४९:७, २२.

१२-१४. परमेश्‍वरका सेवकहरूमाथि आइपर्न सक्ने समस्याहरू देखेर दंग पर्नेहरूका लागि एदोमीहरू चेतावनीमूलक उदाहरण हुन्‌। यहोवा आफ्ना जनहरूमाथि गरिएको दुर्व्यवहारलाई हल्कासित लिनुहुन्‍न।

१७-२०. याकूबको सन्तानको पुनर्स्थापनासम्बन्धी यो भविष्यवाणी बाँकी रहेका इस्राएलीहरू ईसापूर्व ५३७ मा बेबिलोनबाट यरूशलेम फर्कंदा पूरा हुन थाल्यो। यहोवाले भनेको कुरा सधैं पूरा हुन्छ। उहाँका प्रतिज्ञाहरूमा हामी पूरै विश्‍वस्त हुन सक्छौं।

“निनवे नाश हुनेछ!”

(योना १:१–४:११)

“त्यस ठूलो शहर निनवेमा जा, र त्यसको विरुद्धमा” न्यायको सन्देश “करा” भन्‍ने परमेश्‍वरको आज्ञा पालन गर्नुको सट्टा योना अर्कै दिशामा भाग्छन्‌। “समुद्रमा एउटा ठूलो बतास” र “एउटा विराट माछा” चलाएर यहोवाले योनालाई फेरि ठीक बाटोमा ल्याउनुहुन्छ र अश्‍शूरीहरूको राजधानीमा जान तिनलाई दोस्रो चोटि भन्‍नुहुन्छ।—योना १:२, ४, १७; ३:१, २.

योना निनवे जान्छन्‌ र यो सुस्पष्ट सन्देश घोषणा गर्न थाल्छन्‌: “अबको चालीस दिनमा निनवे नाश हुनेछ!” (योना ३:४) तिनले प्रचार गरेपछि आसै नगरेको नतिजा प्राप्त हुन्छ र यो देखेर योनालाई ‘रीस उठ्‌छ।’ योनालाई दयाको पाठ सिकाउन यहोवाले “एउटा कुभिण्डोको रूख” उमार्नुहुन्छ।—योना ४:१, ६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:३—के निनवेको क्षेत्र साँच्चै ‘वारपार गर्न तीन दिन लाग्ने’ थियो? हो, थियो। प्राचीन समयमा निनवे भन्‍नाले उत्तरमा खोर्साबाद र दक्षिणमा निम्रुदसम्म फैलिएको ठाउँ पनि बुझिन्थ्यो। निनवेसँग जोडिएको सबै ठाउँलाई हेर्दा १०० किलोमिटर लम्बाइ भएको चतुर्भुज आकारको मानचित्र बन्थ्यो।

३:४—निनवेबासीहरूलाई प्रचार गर्न के योनाले अश्‍शूरीहरूको भाषा सिक्नुपऱ्‍यो? योनाले अश्‍शूरीहरूको भाषा पहिल्यै जानेको वा चमत्कारी ढंगमा त्यो भाषा बोल्ने क्षमता पाएको हुन सक्छ। अथवा तिनले आफ्नो सुस्पष्ट सन्देश हिब्रूमा बताएको र अरू कसैले उल्था गरिदिएको पनि हुन सक्छ। यदि तिनको सन्देश उल्था गरिएको हो भने तिनका शब्दहरूले मानिसहरूमा त्यो सन्देश बुझ्ने जिज्ञासा अझै बढाएको हुनुपर्छ।

हाम्रो लागि पाठ:

१:१-३. राज्य प्रचार गर्ने र चेला बनाउने काममा पूरापूर भाग नलिन जानाजानी अरू कामको लागि तालिका मिलाउनु भनेको गलत मनसायको संकेत हो। भन्‍ने हो भने, त्यसो गर्ने व्यक्‍ति परमेश्‍वरले दिएको कामबाट भागिरहेको हुन्छ।

१:१, २; ३:१०. यहोवाको कृपा एउटा राष्ट्र, जाति वा एउटा विशेष समूहमा सीमित छैन। “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।”—भजन १४५:९.

१:१७; २:१०. योनाले माछाको पेटमा बिताएको तीन दिन, तीन रातले येशूको मृत्यु र पुनरुत्थानलाई भविष्यसूचक ढंगमा चित्रण गर्छ।—मत्ती १२:३९, ४०; १६:२१.

१:१७; २:१०; ४:६. यहोवाले योनालाई उर्लंदो समुद्रबाट बचाउनुभयो। साथै, परमेश्‍वरले “एउटा कुभिण्डोको रूख उमार्नुभयो, र योनाको शिरमा त्यो छाया होस्‌ र तिनको दुःख हरण होस्‌ भनेर त्यसलाई बढाउनुभयो।” वर्तमान समयका यहोवाका उपासकहरूले तिनीहरूलाई परमेश्‍वरले सुरक्षित राख्नुका साथै छुटकारा दिनुहुन्छ भनेर परमेश्‍वर र उहाँको करुणामा भरोसा राख्न सक्छन्‌।—भजन १३:५; ४०:११.

२:१, २, ९, १०. यहोवा आफ्ना सेवकहरूको प्रार्थना र बिन्ती सुन्‍नुहुन्छ।—भजन १२०:१; १३०:१, २.

३:८, १०. साँचो परमेश्‍वरले विपत्ति ल्याउने आफ्नो इच्छा ‘बदल्नुभयो’ र “उहाँले सो गर्नुभएन।” किन? किनभने निनवेबासीहरू “आफ्ना कुमार्गबाट फिरेर आए।” त्यस्तै गरी आज पनि पापीहरूले साँचो पश्‍चात्ताप गरेमा परमेश्‍वरको न्यायदण्डबाट बच्न सक्छन्‌।

४:१-४. कुनै मानिसले परमेश्‍वरको कृपालाई बाँधेर राख्न सक्दैन। परमेश्‍वरको कृपालु तरिकाहरूको आलोचना नगर्न हामी होसियार हुनुपर्छ।

४:११. यहोवाले १,२०,००० भन्दा धेरै निनवेबासीहरूप्रति धैर्य देखाएजस्तै आज पनि संसारभरि राज्यको सन्देश प्रचार गर्न लगाएर धैर्य देखाउनुभएको छ किनभने उहाँ ‘दाहिने र देब्रे हातै चिन्‍न’ नसक्ने मानिसहरूलाई टिठाउनुहुन्छ। के हामीले पनि आफ्ना इलाकाका मानिसहरूलाई टिठाउँदै राज्य प्रचार गर्ने र चेला बनाउने काममा जोसका साथ भाग लिनुपर्दैन र?—२ पत्रुस ३:९.

‘तिनीहरूका कपाल मुढाइनुपर्छ’

(मीका १:१–७:२०)

मीकाले इस्राएल र यहूदाको पाप पर्दाफास गर्छन्‌ र तिनीहरूको राजधानीले भोग्ने विनाश र त्यसको पुनर्स्थापनाको प्रतिज्ञाबारे भविष्यवाणी गर्छन्‌। सामरिया “मैदानमा ढुङ्‌गाको थुप्रो” हुनेछ। मूर्तिपूजामा लागेको कारण इस्राएल र यहूदा ‘मुढाइन’ अर्थात्‌ बेइज्जत हुन योग्यका छन्‌। तिनीहरूलाई कैदमा पठाएर तिनीहरूको “सबै कपाल मुढाएर गिद्धको झैं” बनाइने थियो। यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “हे याकूब, म निश्‍चयनै तिमीहरू सबैलाई भेला गर्नेछु।” (मीका १:६, १६; २:१२) भ्रष्ट नेता र झूटा अगमवक्‍ताहरूको कारण यरूशलेम पनि “भत्केको ढेर बन्‍नेछ।” तर यहोवाले “[आफ्ना जनहरूलाई] जम्मा” गर्नुहुनेछ। “बेतलेहेम एप्राता[बाट]” “एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ।”—मीका ३:१२; ४:१२; ५:२.

के यहोवाले इस्राएललाई पक्षपात गर्नुभएको हो? होइन। के उहाँले चाहेका कुराहरू एकदमै कडा छन्‌? अहँ, छैनन्‌। यहोवाले आफ्ना उपासकहरूलाई केवल “न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू” भन्‍नुभएको छ। (मीका ६:८) तर मीकाका समयका मानिसहरू यति खराब भएका थिए कि “तिनीहरूमध्येका सबैभन्दा असल चाहिं काँढाजस्तै . . . , सबैभन्दा सोझो चाहिं झाडीको काँढाभन्दा खराब” थिए जसले नजिक आउने जसलाई पनि हानि पुऱ्‍याउनुका साथै पीडा दिन्थे। तर अगमवक्‍ता यस्तो प्रश्‍न गर्छन्‌: “[यहोवा] जस्तो परमेश्‍वर को छ?” परमेश्‍वरले आफ्ना जनहरूलाई फेरि कृपा देखाउनुहुनेछ र ‘तिनीहरूका सबै पाप समुद्रको गहिराइमा फालिदिनुहुनेछ।’—मीका ७:४, १८, १९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१२—‘इस्राएलका बचेकाहरूलाई जम्मा गर्ने’ भविष्यवाणी कहिले पूरा भयो? यस भविष्यवाणीको पहिलो पूर्ति ईसापूर्व ५३७ मा भयो जब बचेका यहूदीहरू बेबिलोनको निर्वासनबाट आफ्नो जन्मभूमि फर्के। आधुनिक समयमा चाहिं यस भविष्यवाणीको पूर्ति “परमेश्‍वरका इस्राएलमा” भएको छ। (गलाती ६:१६) सन्‌ १९१९ देखि अभिषिक्‍त मसीहीहरू “गोठमा भेडा[झैं]” जम्मा गरिएका छन्‌। “अरू भेडा[को]” “ठूलो भीड[को]” साथ पाएर विशेष गरी सन्‌ १९३५ देखि तिनीहरू “हल्ला गर्ने भीड” भएका छन्‌। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) तिनीहरूले सँगसँगै साँचो उपासनालाई बढाउने काम गर्छन्‌।

४:१-४—“पछिल्ला दिनमा” यहोवाले कसरी “धेरै जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढा टाढासम्मका सामर्थी जातिहरूको झगडाको फैसला गर्नुहुनेछ”? “धेरै जातिहरू” र “सामर्थी जातिहरू” भन्‍ने अभिव्यक्‍तिले राष्ट्रिय समूह वा राजनैतिक शक्‍तिलाई बुझाउँदैन। बरु, यी अभिव्यक्‍तिहरूले सबै राष्ट्रबाट आएका यहोवाको उपासक बनेका मानिसहरूलाई बुझाउँछ। यहोवाले आध्यात्मिक अर्थमा इन्साफ र झगडाको फैसला गर्नुहुनेछ।

हाम्रो लागि पाठ:

१:६, ९; ३:१२; ५:२. सामरियालाई मीकाकै जीवनकालमा अर्थात्‌ ईसापूर्व ७४० मा अश्‍शूरीहरूले तहसनहस पारे। (२ राजा १७:५, ६) राजा हिजकियाहको शासनकालमा अश्‍शूरीहरू यरूशलेमसम्म आइपुगे। (२ राजा १८:१३) ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरूशलेमलाई जलाइदिए। (२ इतिहास ३६:१९) भविष्यवाणी गरेझैं “बेतलेहेम एप्राता[मा]” मसीहको जन्म भयो। (मत्ती २:३-६) यहोवाको भविष्यसूचक वचन कहिल्यै विफल हुँदैन।

२:१, २. परमेश्‍वरको सेवा गरेको दाबी चाहिं गर्ने तर “राज्य र उहाँको धार्मिकता खोजी” गर्नुको सट्टा धनको पछि लाग्नु कत्ति खतरनाक हुनेछ।—मत्ती ६:३३; १ तिमोथी ६:९, १०.

३:१-३, . यहोवा आफ्ना जनहरूमाझ जिम्मेवारी सँभाल्ने व्यक्‍तिहरू न्यायी तरिकामा चलेको चाहनुहुन्छ।

३:४. यहोवाले हाम्रो प्रार्थनाको जवाफ देऊन्‌ भन्‍ने चाहन्छौं भने हामीले पाप गर्ने बानी बसाल्नु हुँदैन वा दोहोरो जीवन बिताउनु हुँदैन।

३:८. हामीलाई सुम्पिएको सुसमाचार प्रचार गर्ने काममा न्यायको सन्देश पनि छ र यो काम हामीले यहोवाको पवित्र आत्माको बल पाएमा मात्र पूरा गर्न सक्छौं।

५:५. मसीहबारेको भविष्यवाणीले हामीलाई के आश्‍वासन दिन्छ भने जब परमेश्‍वरका जनहरूलाई शत्रुहरूले आक्रमण गर्नेछन्‌ “सात [पूर्णतालाई बुझाउँछ] गोठाला” र “आठ मुखिया” अर्थात्‌ थुप्रै योग्य मानिसहरूलाई परमेश्‍वरका जनहरूमाझ अगुवाइ लिन खडा गरिन्छ।

५:७, ८. थुप्रै मानिसहरूका लागि अभिषिक्‍त मसीहीहरू “परमप्रभुबाट आएको शीत” अर्थात्‌ परमेश्‍वरबाट पाएको आशिष्‌ साबित भएका छन्‌। यस्तो हुनुको कारण के हो भने उहाँले राज्यको सन्देश घोषणा गर्न अभिषिक्‍त मसीहीहरूलाई चलाउनुहुन्छ। अभिषिक्‍त जनहरूलाई “अरू भेडा[ले]” प्रचारकार्यमा सक्रियता साथ सहयोग गरेर मानिसहरूलाई आध्यात्मिक स्फूर्ति दिन मदत गर्छन्‌। (यूहन्‍ना १०:१६) अरूलाई साँचो स्फूर्ति प्रदान गर्ने यस काममा भाग लिन पाउनु कत्ति ठूलो सुअवसर!

६:३, ४. हामीले यहोवा परमेश्‍वरको अनुकरण गर्दै अरूसित मिल्न नसक्ने वा आध्यात्मिक तवरमा कमजोर व्यक्‍तिहरूप्रति समेत दया र अनुकम्पा देखाउनुपर्छ।

७:७. यस दुष्ट रीतिरिवाजको अन्तमा समस्याहरूको सामना गर्दा हामी निराश हुनुपर्दैन। बरु, मीकाले जस्तै हामीले ‘परमेश्‍वरको बाटो हेर्नुपर्छ।’

७:१८, १९. यहोवा हाम्रा पापहरू क्षमा दिन इच्छुक हुनुभएकोले हामी पनि आफू विरुद्ध पाप गर्नेहरूलाई क्षमा दिन इच्छुक हुनुपर्छ।

‘परमेश्‍वरको नाउँमा हिंडिरहनुहोस्‌’

परमेश्‍वर र उहाँका जनहरू विरुद्ध लड्‌नेहरू ‘सदाको निम्ति नष्ट हुनेछन्‌।’ (ओबदिया १०) तर ईश्‍वरीय चेतावनी पालन गर्दै ‘कुमार्गबाट फिरेर’ यहोवाको रीसलाई रोक्न सक्छौं। (योना ३:१०) “पछिल्ला दिनमा” अर्थात्‌ यी “आखिरी दिनमा” साँचो उपासना सबै झूटा धर्महरूभन्दा उच्च पारिंदैछ र आज्ञाकारीहरू यसतर्फ ओइरिएर आउँदैछन्‌। (मीका ४:१; २ तिमोथी ३:१) त्यसैकारण हामी ‘सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌न’ कटिबद्ध होऔं।—मीका ४:५.

ओबदिया, योना र मीकाको पुस्तकले हामीलाई कस्तो अमूल्य पाठ सिकाउँछ! यी पुस्तकहरू २,५०० वर्षभन्दा अघि लेखिएको भए तापनि यसका सन्देशहरू अझै “जीवित र प्रबल” छन्‌।—हिब्रू ४:१२. (w 07 11/1)