सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” खोजी गर्ने

“परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” खोजी गर्ने

“परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” खोजी गर्ने

“आत्माले सबै कुरा परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” — १ कोरिन्थी २:१०.

१. भर्खर बाइबल अध्ययन गर्न थालेकाहरूलाई आनन्दित बनाउने केही बाइबल सच्चाइहरू के हुन्‌?

 मसीही मण्डलीका हामी धेरैजसोले सुरुमा सच्चाइ सिक्दाको आनन्दलाई सम्झन सक्छौं। यहोवाको नाउँ किन महत्त्वपूर्ण छ, उहाँले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ, किन केही मानिस स्वर्ग जान्छन्‌ र विश्‍वासी मानिसजातिका लागि कस्तो भविष्य छ भनेर हामीले सच्चाइ सिक्दा थाह पायौं। सच्चाइ पाउनुअघि पनि बाइबल केलाएर हेरेका थियौं होला तर यी कुरा हामीबाट लुकेका थिए जसरी आज धेरैजसो मानिसबाट लुकेका छन्‌। हामी त समुद्रभित्र नाङ्‌गो आँखाले मुगाको ढिस्को हेर्न खोज्ने मानिसजस्तै थियौं। उचित सामग्रीविना उसले समुद्रको गहिराईमा भएका सुन्दर चीजहरूलाई राम्ररी देख्न सक्दैन। तर पानीमा लगाउने चश्‍मा लगाएर समुद्रभित्र पसेमा ऊ रंगीचंगी मुगा, माछा र अन्य मनमोहक प्राणीहरू पहिलो चोटि देखेर रोमाञ्चित हुन्छ। त्यस्तैगरि, कसैले हामीलाई धर्मशास्त्र बुझ्न मदत दिन थाल्दा हामीले पनि “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू[को]” पहिलो झलक पाएका थियौं।—१ कोरिन्थी २:८-१०.

२. परमेश्‍वरको वचनबाट सिक्दा पाइने आनन्द किन अटुट हुन सक्छ?

के हामीले बाइबलका सत्य कुराहरूको झलक लिएर मात्र पुग्छ? “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” भन्‍ने अभिव्यक्‍तिमा परमेश्‍वरको बुद्धि बुझ्नु समावेश छ र यो बुद्धि मसीहीहरूलाई पवित्र आत्माद्वारा प्रकट गरिएको छ तर अरूबाट भने लुकेको छ। (१ कोरिन्थी २:७) यहोवाको बुद्धि असीमित छ र उहाँका तौरतरिकाहरूलाई खोज-अनुसन्धान गरेमा हामी अपार आनन्द पाउन सक्छौं! परमेश्‍वरका तौरतरिकाहरूमा देखिने बुद्धिबारे सबै कुरा त हामी कहिल्यै पनि जान्‍न सक्दैनौं। तर, यदि “परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” निरन्तर खोजी गरिरह्‍यौं भने सुरुमा बाइबलको शिक्षा थाह पाउँदा पाएको आनन्द चिरकालसम्म रहन सक्छ।

३. हामीले आफ्नो विश्‍वासका आधारहरू राम्ररी बुझ्नु किन खाँचो छ?

ती “गहिरा-गहिरा कुराहरूलाई” बुझ्नु किन खाँचो छ? के विश्‍वास गर्छौं मात्रै होइन तर किन विश्‍वास गर्छौं भनेर बुझ्नु हाम्रो विश्‍वासको आधार हो। यसले हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। ‘परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी . . . जाँचेर पत्ता लगाउन’ बाइबलले हामीलाई आफ्नो “तर्कशक्‍ति,” [ NW] चलाउन सल्लाह दिन्छ। (रोमी १२:१, २) यहोवाले हामीलाई कुनै एउटा खास तरिकामा जीवन बिताउन किन भन्‍नुहुन्छ, सो बुझ्दा उहाँको आज्ञा पालन गर्ने हाम्रो संकल्प बलियो हुन्छ। तसर्थ, “गहिरा-गहिरा कुराहरू[को]” ज्ञानले हामीलाई अधार्मिक कार्यमा लाग्ने प्रलोभनको प्रतिरोध गर्ने शक्‍ति दिन सक्छ र “सुकर्ममा जोशिलो” हुन उत्प्रेरित गर्न सक्छ।—तीतस २:१४.

४. बाइबल अध्ययन गर्नुमा के समावेश छ?

गहिरा-गहिरा कुराहरू बुझ्नको लागि अध्ययन गर्नै पर्छ। तर अध्ययन भनेको खरर्र पढ्‌नु मात्र त होइन। अध्ययन गर्नुमा हामीले पहिल्यै जानिसकेको कुरासित नयाँ जानकारीहरू कसरी सम्बन्धित छ भनेर होसियारीसाथ जाँच्नु समावेश छ। (२ तिमोथी १:१३) यसमा त्यहाँ भनिएका कुराहरूको कारण बुझ्नु पनि समावेश छ। बाइबल अध्ययन गर्दा सिकेका कुरालाई बुद्धिमानी निर्णय गर्न र अरूलाई मदत दिन कसरी चलाउन सक्छौं भनेर मनन पनि गर्नुपर्छ। साथै, “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . उपयोगी” भएकोले हाम्रो अध्ययनले “परमेश्‍वरका मुखबाट निस्केको हरेक वचन[लाई]” समेटेको हुनुपर्छ। (२ तिमोथी ३:१६, १७; मत्ती ४:४) बाइबल अध्ययनको लागि मेहनत चाहिन सक्छ! तर यो आनन्ददायी पनि हुन्छ र “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझ्न असाध्यै गाह्रो छैन।

यहोवाले नम्रहरूलाई बुझ्न मदत दिनुहुन्छ

५. “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” कसले बुझ्न सक्छन्‌?

हुन त, तपाईं स्कूलको पढाइमा त्यति तेज हुनुहुन्थेन होला र तपाईंको अध्ययन गर्ने बानी पनि छैन होला। तैपनि तपाईंले “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझ्नु त मेरो लागि आकाशको तारा खसाल्नु जत्तिकै गाह्रो हो भनेर सोच्नु हुँदैन। येशूले पृथ्वीमा सेवा गरेको बेला यहोवाले आफ्नो उद्देश्‍य बुद्धिमान्‌ र समझदारलाई होइन तर अपठित र अजान मानिसहरूलाई प्रकट गर्नुभयो जो उहाँको सेवकद्वारा सिकाइन लायकका थिए। तिनीहरू त स्कूलमा शिक्षा पाएकाहरूको तुलनामा बच्चा जस्ता थिए। (मत्ती ११:२५; प्रेरित ४:१३) “परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको” कुराको सन्दर्भमा प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यस्तो लेखे: “परमेश्‍वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ। किनभने आत्माले सबै कुरा परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी” गर्छ।—१ कोरिन्थी २:९, १०.

६. पहिलो कोरिन्थी २:१० को अर्थ के हो?

परमेश्‍वरको पवित्र आत्माले कसरी “सबै कुरा परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई पनि खोजी” गर्छ? यहोवाले प्रत्येक मसीहीलाई व्यक्‍तिगत तवरमा बाइबलका सत्य कुराहरूको अर्थ खोलिदिनु हुन्‍न। त्यसको साटो उहाँले त्यो अर्थ खोल्न आफ्नो संगठनलाई पवित्र आत्माद्वारा डोऱ्‍याउनुहुन्छ। त्यसै संगठन मार्फत परमेश्‍वरका एकत्रित जनहरूले बाइबल बुझ्ने मदत पाउँछन्‌। (प्रेरित २०:२८; एफिसी ४:३-६) विश्‍वभरि, सबै मण्डलीहरूमा बाइबल अध्ययनको एकै खाले कार्यक्रम सञ्चालन हुन्छ। वर्षौंको दौडान तिनीहरूले सम्पूर्ण बाइबल शिक्षालाई ढाक्‍तछन्‌। मानिसहरूलाई “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझ्न आवश्‍यक मनोवृत्ति अँगाल्न मदत दिनको लागि पवित्र आत्माले मण्डली मार्फत काम गर्छ।—प्रेरित ५:३२.

“परमेश्‍वरका गहिरा-गहिरा कुराहरू[मा]” के-के समावेश छन्‌?

७. किन थुप्रै मानिसले “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझ्न सकेका छैनन्‌?

“गहिरा-गहिरा कुराहरू” भन्‍नेबित्तिकै बुझ्न गाह्रा कुराहरू भनेर हामीले सोच्नु हुँदैन। “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू[को]” ज्ञान धेरैजसो मानिसबाट लुकेको छ। यसको कारण परमेश्‍वरको बुद्धि प्राप्त गर्न कठिन भएर त होइन तर शैतानले मानिसहरूलाई धोकामा पारेर यहोवाले आफ्नो संगठन मार्फत दिने मदत इन्कार गर्न लगाएकोले गर्दा हो।—२ कोरिन्थी ४:३, ४.

८. एफिसीका मसीहीहरूलाई लेखेको पत्रको तेस्रो अध्यायमा पावलले कस्ता गहिरा-गहिरा कुराहरूको उल्लेख गरे?

पावलले एफिसीका मसीहीहरूलाई लेखेको पत्रको तेस्रो अध्यायले देखाएअनुसार “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू[मा]” थुप्रै सत्य कुरा समावेश छन्‌ जुन धेरैजसो यहोवाका साक्षीहरूले राम्ररी बुझेका छन्‌। जस्तै: प्रतिज्ञा गरिएका सन्तानको चिनारी, मानिसजातिबाट स्वर्गीय आशा भएकाहरूको छनौट र मसीही राज्य। पावलले यस्तो लेखे: “जुन कुरो अब पवित्र प्रेरितहरू र अगमवक्‍ताहरूलाई आत्मामा प्रकट भएझैं गरी अरू पुस्ताका मानिसका सन्तानलाई थाह भएको थिएन, अर्थात्‌ . . . येशू ख्रीष्टमा अन्यजातिहरू उहाँका करारका संगी-हकवाला र शरीरका संगी-सदस्य र प्रतिज्ञाका संगी-सम्भागी भएका छन्‌।” “सब कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि दबिरहेको रहस्यको प्रबन्ध के हो मानिसलाई ती सबै झल्काउन” आफूलाई खटाइएको थियो भनेर पावलले भने।—एफिसी ३:५-९.

९. “परमेश्‍वरका गहिरा-गहिरा कुराहरूलाई” बुझ्न पाउनु किन एउटा सुअवसर हो?

“स्वर्गीय स्थानहरूमा” पनि “परमेश्‍वरका नाना प्रकारका ज्ञान मण्डलीद्वारा” प्रकट होस्‌ भन्‍ने उहाँको इच्छा भएको कुरा पावलले बताए। (एफिसी ३:१०) यहोवाले मसीही मण्डलीसित व्यवहार गर्दा देखाएको बुद्धिलाई हेरेर र बुझेर स्वर्गदूतहरूले पाठ सिक्न सक्छन्‌। स्वर्गदूतहरू समेतलाई चासो लाग्ने कुरा हामीले बुझ्न पाउनु कत्ति ठूलो सुअवसर हो! (१ पत्रुस १:१०-१२) त्यसपछि पावल “सबै पवित्र जनहरूसँग” हामीले मसीही विश्‍वासको ‘चौडाइ, लमाइ, उँचाइ र गहिराइ के रहेछ सो बुझ्ने’ कोसिस गर्नुपर्छ भनी भन्छन्‌। (एफिसी ३:११, १८) आउनुहोस्‌, गहिरा-गहिरा कुराहरूको केही उदाहरणलाई अब विचार गरौं जसले हाम्रो समझलाई बढाउन सक्छ।

गहिरा-गहिरा कुराका उदाहरणहरू

१०, ११. बाइबलअनुसार, येशू परमेश्‍वरको स्वर्गीय “स्त्रीको सन्तानको” प्रमुख भाग कहिले हुनुभयो?

१० हामीलाई थाह छ, उत्पत्ति ३:१५ मा उल्लेख गरिएको परमेश्‍वरको स्वर्गीय “स्त्रीको सन्तानको” प्रमुख भाग येशू हुनुहुन्छ। आफ्नो समझलाई बढाउन हामी यस्ता प्रश्‍न सोध्न सक्छौं: ‘येशू कहिले प्रतिज्ञा गरिएको सन्तान हुनुभयो? उहाँ मानव रूपमा पृथ्वीमा आउनुअघि, मानव रूपमा जन्मनुहुँदा, बप्तिस्मा लिनुहुँदा वा उहाँको पुनरूत्थान हुँदा?’

११ परमेश्‍वरले के प्रतिज्ञा गर्नुभएको थियो भने, भविष्यवाणीमा “स्त्री” भनिएको उहाँको संगठनको स्वर्गीय भागले एउटा सन्तान जन्माउने थियो जसले सर्पको शिर कुच्याउने थियो। तर हजारौं वर्ष बितिसक्दा पनि परमेश्‍वरकी स्त्रीले शैतान र त्यसका कुकर्मलाई नाश गर्न सक्ने सन्तान जन्माएन। त्यसैले, यशैयाको भविष्यवाणीमा उक्‍त स्त्रीलाई “बाँझी” र “आत्मामा दुःखित भएकी” भनिएको छ। (यशैया ५४:१, ५, ६) आखिर, बेतलेहेममा येशूको जन्म भयो। तर उहाँको बप्तिस्मापछि पवित्र आत्माद्वारा अभिषिक्‍त भएर जब उहाँ परमेश्‍वरको आत्मिक पुत्र हुनुभयो तब मात्र यहोवाले यस्तो घोषणा गर्नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌।” (मत्ती ३:१७; यूहन्‍ना ३:३) स्त्रीका “सन्तानको” प्रमुख भागले अन्ततः आफूलाई प्रस्तुत गर्नुभयो। पछि, येशूका चेलाहरू पनि पवित्र आत्माद्वारा अभिषिक्‍त भए र परमेश्‍वरका पुत्रहरू भए। आफूलाई धेरै समयसम्म “नजन्माउने बाँझी” जस्ती महसुस गरेकी परमेश्‍वरकी स्त्री अन्ततः हर्षित हुँदै ‘जोर सोरले गाउन’ सकी।—यशैया ५४:१; गलाती ३:२९.

१२, १३. पृथ्वीमा छँदा सबै अभिषिक्‍त मसीहीहरू मिली “विश्‍वासी र बुद्धिमान दास” बनेको हुन्छ भनेर कुन शास्त्रपदहरूले देखाउँछन्‌?

१२ हामीलाई प्रकट गरिएका गहिरा-गहिरा कुराको दोस्रो उदाहरण, मानिसजातिबाट १,४४,००० छान्‍ने परमेश्‍वरको उद्देश्‍यसित सम्बन्धित छ। (प्रकाश १४:१, ४) हामी मानिलिन्छौं, सबै अभिषिक्‍त जनहरू पृथ्वीमा रहँदा “विश्‍वासी र बुद्धिमान दास[को]” भाग हुन्छन्‌ जसले येशूका परिवारलाई ठीक-ठीक समयमा “खान” दिनेथिए भनी उहाँले भन्‍नुभएको थियो। (मत्ती २४:४५) यो बुझाइ सही हो भनेर कुन बाइबल पदहरूले प्रमाणित गर्छ? येशूले आफ्ना भाइहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउने कुनै मसीहीबारे सामान्य अर्थमा पो कुरा गर्नुभएको हो कि?

१३ परमेश्‍वरले इस्राएल राष्ट्रलाई यसो भन्‍नुभयो: “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ।” (यशैया ४३:१०) तर परमेश्‍वरले इस्राएल राष्ट्रलाई आफ्नो दासको रूपमा इन्कार गरिसक्नुभयो भनी इस्वी संवत्‌ ३३, निसान ११ को दिन येशूले त्यस राष्ट्रका नेताहरूलाई भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” येशूले भीडलाई भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २१:४३; २३:३८) परमेश्‍वरको दासको हैसियतमा इस्राएलको घराना न त विश्‍वासी भए न बुद्धिमान्‌ नै। (यशैया २९:१३, १४) पछि त्यही दिन येशूले “विश्‍वासी र बुद्धिमान दास को हो?” भनेर सोध्नुको तात्पर्य यस्तो थियो: ‘कुन चाहिं बुद्धिमान्‌ राष्ट्रले परमेश्‍वरको विश्‍वासी दास हुन इस्राएलको ठाउँ लिनेछ?’ प्रेरित पत्रुसले अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई यसो भन्दै उक्‍त प्रश्‍नको जवाफ दिए: “तिमीहरू त . . . पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ।” (१ पत्रुस १:४; २:९) त्यो आध्यात्मिक राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल” यहोवाको नयाँ दास बन्यो। (गलाती ६:१६) जसरी प्राचीन इस्राएलका सबै सदस्य मिली एउटा “दास” बन्यो त्यसरी नै पृथ्वीमा छँदा सबै अभिषिक्‍त मसीहीहरू मिलेर “विश्‍वासी र बुद्धिमान दास” बनेको हुन्छ। परमेश्‍वरका यी दास मार्फत आध्यात्मिक भोजन “खान” पाउनु कत्ति ठूलो सुअवसर!

व्यक्‍तिगत अध्ययन आनन्ददायी हुन सक्छ

१४. खरर्र बाइबल पढ्‌नुभन्दा बाइबलको गहिरिएर अध्ययन गर्नु किन बढी आनन्ददायी हुन्छ?

१४ शास्त्रपदहरूको नयाँ समझ पाएर आफ्नो विश्‍वास बलियो हुँदा के हामी खुसी हुँदैनौं र? त्यसैकारण त खरर्र बाइबल पढ्‌नुभन्दा बाइबलको गहिरिएर अध्ययन गर्नु बढी आनन्ददायी हुन सक्छ। तसर्थ, मसीही प्रकाशनहरू पढ्‌दा आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यो नयाँ समझ पहिला मैले बुझेको भन्दा कसरी फरक छ? यस लेखमा दिइएको निष्कर्षलाई थप सघाउ पुऱ्‍याउने कुन थप बाइबल पदहरू वा तर्कहरूबारे विचार गर्न सक्छु?’ यदि थप अनुसन्धान गर्नुपर्ने रहेछ भने तपाईंको प्रश्‍नलाई लेखेर राख्नुहोस्‌ र त्यसलाई पछि अध्ययन गर्ने विषय बनाउनुहोस्‌।

१५. कसरी अध्ययन गर्नु आनन्ददायी हुन सक्छ अनि त्यसले कसरी चिरकालीन लाभ पुऱ्‍याउन सक्छ?

१५ कसरी अध्ययन गर्दा तपाईं नयाँ अन्तरदृष्टि पाई आनन्दित हुन सक्नुहुन्छ? उदाहरणका लागि, परमेश्‍वरले मानिसजातिको फायदाका निम्ति बाँधेका विभिन्‍न करारहरूको गहन अध्ययन गरेर हामी आफ्नो समझ बढाउन सक्छौं। तपाईं, येशू ख्रीष्टलाई संकेत गर्ने भविष्यवाणीहरू अध्ययन गरेर वा बाइबलका भविष्यवाणीका किताबहरूमध्ये कुनै एउटाको पद-पद जाँचेर आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङगडम (यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू) किताब तपाईंको भाषामा छ भने त्यसबाट यहोवाका साक्षीहरूको आधुनिक इतिहासलाई पल्टाएर हेर्नु पनि विश्‍वास दह्रो पार्ने एउटा तरिका हो। a प्रहरीधरहरा-का पुराना अंकमा प्रकाशित “पाठकहरूका प्रश्‍न” पुनरावलोकन गर्दा पनि अवश्‍यै तपाईंले कुनै-कुनै पदहरूलाई अझ राम्ररी बुझ्न सक्नुहुन्छ। प्रस्तुत निष्कर्षमा पुग्न, प्रयोग गरिएको धर्मशास्त्रीय तर्कलाई विशेष ध्यान दिनुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो “ज्ञानेन्द्रियको अभ्यास” गर्न र समझशक्‍तिलाई बढाउन मदत पाउनुहुनेछ। (हिब्रू ५:१४) अध्ययन गर्दा आफ्नो बाइबलमा वा कापीमा नोट लेख्दै जानुहोस्‌। यसो गर्दा आफू र आफूले मदत गर्न सक्ने व्यक्‍तिहरूमा तपाईंको अध्ययनले चिरकालीन लाभ पुऱ्‍याउनेछ।

केटाकेटीलाई बाइबल अध्ययनको आनन्द उठाउन मदत गर्नुहोस्‌

१६. केटाकेटीलाई बाइबल अध्ययनको आनन्द उठाउन तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१६ छोराछोरीमा आध्यात्मिक भोक जगाउन आमाबाबुले धेरै मदत गर्न सक्छन्‌। तिनीहरूले गहिरा कुराहरू बुझ्न सक्दैनन्‌ भनी अड्‌कल नकाट्‌नुहोस्‌। पारिवारिक अध्ययनको तयारी गर्दा छोराछोरीलाई अनुसन्धान गर्ने कुनै विषय दिनुभएको छ भने तपाईं तिनीहरूले त्यो अनुसन्धानबाट सिकेका कुरा सोध्न सक्नुहुन्छ। पारिवारिक अध्ययनमा, छोराछोरीलाई आफ्नो विश्‍वासको पक्षमा कसरी बोल्ने र आफूले सिकेको साँचो कुराको प्रमाण कसरी दिने भनी अभ्यास पनि गराउन सक्नुहुन्छ। त्यसबाहेक, बाइबलको भूगोल सिकाउन र साप्ताहिक बाइबल पढाइको भागलाई स्पष्ट पार्न “सी द गुड ल्याण्ड” b (त्यो असल देशलाई हेर्नुहोस्‌) पुस्तिका चलाउन सक्नुहुन्छ।

१७. व्यक्‍तिगत बाइबल अध्ययन गर्ने सन्दर्भमा हामी किन सन्तुलित हुनुपर्छ?

१७ व्यक्‍तिगत बाइबल अध्ययन रमाइलो र विश्‍वास बलियो पार्ने हुन सक्छ। तर यसले गर्दा मण्डलीका सभाहरूको तयारीमा बाधा नपुऱ्‍याउन होसियार हुनुहोस्‌। यहोवाले हामीलाई “विश्‍वासी र बुद्धिमान दास” मार्फत सिकाउने अर्को तरिका सभाहरू हुन्‌। थप अनुसन्धान गर्दा सभाहरूमा अर्थपूर्ण टिप्पणी दिन मदत पाउन सक्नुहुन्छ, जस्तै: मण्डली पुस्तक अध्ययनमा वा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा बाइबलका विशेषताहरू छलफल गर्दा।

१८. “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” अध्ययन गर्न गरिने प्रयास किन खेर जाँदैन?

१८ परमेश्‍वरको वचनको गहिरोसित व्यक्‍तिगत अध्ययन गर्दा यहोवाको नजिक हुन मदत पाउन सक्नुहुन्छ। यस्तो अध्ययनको महत्त्वलाई देखाउँदै बाइबल भन्छ: “पैसाले सुरक्षा दिएझैं बुद्धिले पनि सुरक्षा दिन्छ तर बुद्धिले चाहिं जीवन बचाउँछ।” (उपदेशक ७:१२, NW) तसर्थ, आध्यात्मिक कुराको समझलाई अझ गहिरिएर बुझ्न गरिने प्रयास खेर जाँदैन । खोजी गरिरहनेहरूलाई बाइबल यस्तो प्रतिज्ञा गर्छ: “परमेश्‍वरको ज्ञान प्राप्त गर्ने[छौ]।”—हितोपदेश २:४, ५. (w 07 11/1)

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” के-के हुन्‌?

• हामीले गहिरा-गहिरा कुराहरूको अध्ययन गर्न किन कहिल्यै छोड्‌नु हुँदैन?

• “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझेर आनन्द उठाउने अवसर सबै मसीहीको लागि किन खुल्ला छ?

• “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू[बाट]” तपाईं कसरी पूर्णतया लाभ उठाउन सक्नुहुन्छ?

[प्रश्‍नहरू]