सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाँच्ने भोलिलाई मनमा राख्दै

बाँच्ने भोलिलाई मनमा राख्दै

बाँच्ने भोलिलाई मनमा राख्दै

“भोलिको निम्ति फिक्री नगर।” इस्राएलको एउटा डाँडामा, प्रसिद्धि कमाएको उपदेश दिंदा येशूले यो कुरा भन्‍नुभएको थियो। येशूले थप यसो पनि भन्‍नुभयो: “भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।”—मत्ती ६:३४.

येशूले “भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ” भन्दा के भन्‍न खोजिरहनुभएको थियो होला? के यसले आजको लागि मात्र बाँच्नु बेस हो अनि भोलिप्रति आँखा चिम्ले हुन्छ भन्‍न खोजेको हो? के यो कुरा येशू र उहाँका चेलाहरूको विश्‍वाससँग साँच्चै मेल खान्छ?

“फिक्री नगर”

मत्ती ६:२५-३२ मा पाइने येशूका सम्पूर्ण शब्दलाई तपाईं आफैले पढेर हेर्नुहोस्‌। यसको केही भाग यस्तो छ: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। . . . आकाशका चरा-चुरुंगीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्‍न काट्‌छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। . . . तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ ? अनि लुगा-फाटाको निम्ति तिमीहरू किन फिक्री मान्दछौ ? मैदानका लिली फूललाई विचार गर, ती कसरी बढ्‌दछन्‌। ती न परिश्रम गर्दछ, न धागो कात्दछ, . . . यसकारण के खाउँला ? कि के पिऔंला ? कि के पहिरौंला ?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ।”

येशूले आफ्नो उपदेशको यो भागलाई दुइटा सल्लाह दिएर टुङ्‌ग्याउनुभयो। पहिलो: “पहिले [परमेश्‍वरको] राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” दोस्रो: “यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको बुराइ आजको निम्ति यथेष्ट छ।”—मत्ती ६:३३, ३४.

पिताले तिमीहरूका दरकार जान्‍नुहुन्छ

के तपाईंलाई येशूले आफ्ना चेलाहरू अनि किसानहरूलाई ‘बिउ छर्न, अन्‍न काट्‌न र भकारीमा बटुल्न’ वा आवश्‍यक लुगाफाटाको लागि ‘परिश्रम गर्न र धागो काट्‌नदेखि’ नै निरूत्साहित गरिरहनुभएको थियो जस्तो लाग्छ? (हितोपदेश २१:५; २४:३०-३४; उपदेशक ११:४) पक्कै थिएन। तिनीहरूले काम गर्न बन्द गरेका भए निश्‍चय पनि खान र लाउन केही पनि नभई “फसलको समयमा भीख माग्दै” हिंड्‌नुपर्ने थियो।—हितोपदेश २०:४.

फिक्रीबारे चाहिं के भन्‍न सकिन्छ? के येशूले उहाँका चेलाहरू फिक्रीबाट पूर्णतया मुक्‍त हुन सक्छन्‌ भन्‍न खोजिरहनुभएको थियो? यो कुरो त अव्यावहारीक हुनेथियो। आफूलाई पक्रने रात येशू आफैले पनि गहिरो भावनात्मक पीडा र फिक्रीको अनुभव गर्नुभयो।—लूका २२:४४.

येशूले आधारभूत सत्य मात्र प्रष्ट्याइ रहनुभएको थियो। अचाक्ली फिक्रीले तपाईंलाई कुनै पनि समस्याको हल गर्न कहिल्यै मदत गर्दैन। उदाहरणको लागि, फिक्री गर्दैमा तपाईंको आयु कहिल्यै लम्बिदैंन। यसले हाम्रो “आयुमा एक घड़ी पनि थप्न” सक्दैन भनेर येशूले भन्‍नुभयो। (मत्ती ६:२७, NRV) लामो समयसम्म अचाक्ली फिक्री गर्दा यसले तपाईंको आयु छोट्याउने सम्भावना पो हुन्छ।

येशूको सल्लाह एकदमै व्यावहारीक थियो। हामीले फिक्री गरेका थुप्रै कुराहरू अक्सर हुँदै-हुँदैनन्‌। दोस्रो विश्‍वयुद्धको अँध्यारो दिनको सन्दर्भमा बेलाइती राजनीतिज्ञ विन्स्टन चर्चिलले यो कुरा राम्ररी बुझे। त्यस समयको आफ्ना केही फिक्रीबारे उनले लेखे: “जब म ती फिक्रीहरूलाई फर्केर विचार गर्छु तब म एक वृद्धको कथा सम्झन्छु जसले आफ्नो मृत्युको ओछ्यानमा, उनीसँग थुप्रै फिक्रीहरू भएको तर तीमध्ये प्रायः आफूले भोग्नु नपरेको कुरा बताएका थिए।” साँच्चै हो, हरेक दिनको सामना गर्दै जानु नै बुद्धिमानी हुन्छ—अझ विशेषगरि त्यस बेला, जब हामीले खप्नुपरेको दबाब र समस्याहरूले हामीमा सजिलैसँग ठूलो फिक्री उब्जाउन सक्छ।

‘पहिले परमेश्‍वरको राज्य खोजी गर’

वास्तावमा भन्‍ने हो भने येशूको मनमा आफ्ना श्रोताहरूको शारीरिक र भावनात्मक हितका साथै अझ बढी कुरा थियो। जीवनमा आवश्‍यक पर्ने कुराहरूप्रति फिक्री गर्दा र सर-सम्पत्ति तथा सुखविलासको लागि मरिहत्ते गर्दा महत्त्वपूर्ण कुरा ओझेलमा पर्न सक्छ भन्‍ने कुरा उहाँलाई थाह थियो। (फिलिप्पी १:१०) तपाईं भन्‍नुहोला ‘जीवनमा आवश्‍यक पर्ने कुराहरू प्राप्त गर्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छ र?’ हो छ, परमेश्‍वरको उपासनासित सम्बन्धित आध्यात्मिक कुराहरू। येशूले जोड दिएझैं जीवनमा हाम्रो प्रमुख लक्ष्य ‘परमेश्‍वरको राज्य र उहाँको धार्मिकता खोजी गर्ने’ हुनुपर्छ।—मत्ती ६:३३.

येशूको समयमा धेरै मानिसहरू भौतिक चीजबीजको पछि लागिरहेका थिए। धन-दौलत जम्मा गर्नु नै तिनीहरूको प्रमुख चासोको विषय थियो। तर येशूले भने आफ्ना श्रोताहरूलाई बेग्लै दृष्टिकोण राख्न जोडका साथ सल्लाह दिनुभयो। परमेश्‍वरप्रति समर्पित जनको हैसियतमा तिनीहरूको “सारा कर्तव्य” भनेको ‘परमेश्‍वरको भय राख्नु र उहाँका आज्ञा पालन गर्नु’ थियो।—उपदेशक १२:१३, NRV.

भौतिक सरसम्पत्ति थुपार्ने ध्याउन्‍न अर्थात्‌ “यस संसारको फिक्री र धनसम्पत्तिको मायाले” उहाँका चेलाहरूलाई परमेश्‍वरको उपासना गर्नबाट तर्काएको हुन सक्छ। (मत्ती १३:२२) “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌” भनी पावलले लेखे। (१ तिमोथी ६:९) आफ्ना अनुयायीहरूलाई यो ‘पासोबाट’ जोगिन मदत दिन, तिनीहरूलाई चाहिने सबै चीजबीज स्वर्गमा भएको पितालाई थाह छ भनी येशूले तिनीहरूलाई सम्झना दिलाउनुभयो। “आकाशका चरा-चुरुंगीहरूलाई” गरेजस्तै परमेश्‍वरले तिनीहरूका लागि पनि प्रबन्ध गर्नुहुने थियो। (मत्ती ६:२६, ३२) फिक्रीले आफूलाई थिच्न दिनुको सट्टा भौतिक आवश्‍यकताहरू पूरा गर्नमा आफूले सकेजति गर्ने, बाँकी कुराचाहिं धक नमानी यहोवाको हातमा छोडिदिनु पर्थ्यो।—फिलिप्पी ४:६, ७.

येशूले “भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ” भन्‍नुहुँदा भोलि के हुने होला भन्‍ने चिन्ताले आजको समस्यालाई बढाउने काम मात्र गर्ने हुनाले त्यस्तो अचाक्ली चिन्ता नगर्नु भन्‍न खोज्दै हुनुहुन्थ्यो। अर्को बाइबल अनुवादले उहाँका शब्दहरूलाई यसरी लेखेको छ: “यसकारण भोलिको निम्ति फिक्री नगर, किनकी भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”—मत्ती ६:३४, NRV.

“तपाईंको राज्य आओस्‌”

तर भोलिबारे अचाक्ली चिन्ता गर्न छोड्‌नु र भोलिलाई पूर्णतया बेवास्ता गर्नुबीच आकाश-जमिनको फरक छ। येशूले कहिल्यै पनि आफ्ना चेलाहरूलाई भोलिको बेवास्ता गर्न प्रोत्साहन दिनुभएन। यसको विपरीत, उहाँले तिनीहरूलाई भविष्यबारे गहिरो चासो राख्न जोडका साथ सल्लाह दिनुभयो। तिनीहरूले आफ्नो तत्कालका आवश्‍यकता अर्थात्‌ दिनहुँको भोजनको लागि प्रार्थना गर्नुपर्थ्यो। तर योभन्दा अगाडि, तिनीहरूले भविष्यको कुरा अर्थात्‌ आउँदै गरेको परमेश्‍वरको राज्य र उहाँको इच्छा पृथ्वीमा पूरा हुने दिनको लागि प्रार्थना गर्नुपर्थ्यो।—मत्ती ६:९-११.

हामी नूहको समयका मानिसहरूजस्तो हुनुहुँदैन। तिनीहरू ‘खान, पिउन र विवाह-बारी गर्नमै’ व्यस्त थिए, तिनीहरूले आउँदै गरेको समयबारे “थाहै पाएनथे” [“वास्तै गरेनन्‌,” NW]। त्यसको नतिजा? ‘जलप्रलय आयो र सबलाई स्वात्तै लग्यो।’ (मत्ती २४:३६-४२) भोलि मनमा राख्दै बाँच्न हामीलाई सम्झाउनको लागि प्रेरित पत्रुसले त्यस ऐतिहासिक घटनालाई चलाए। “यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन [“आचरण,” NW] र भक्‍तिमा [“ईश्‍वरभक्‍तिका कार्यहरूमा,” NW] तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकता साथ इच्छा गरेर” बस्न उनले सल्लाह दिए।—२ पत्रुस ३:५-७, ११, १२.

स्वर्गमा धन-सम्पत्ति थुपार

यहोवाको दिनको हामी “उत्सुकता साथ इच्छा” गरौं। यसो गर्दा हामीले आफ्नो समय, शक्‍ति, सीप, स्रोत-साधन र क्षमतालाई कसरी प्रयोग गर्छौं भन्‍ने कुरालाई असर गर्नेछ। “ईश्‍वरभक्‍तिका” कामहरूका लागि समय नै नहुनेगरी भौतिक चीजबीजको खोजमै लिप्त हुनु हुँदैन—चाहे तिनीहरू हाम्रा आवश्‍यकताका कुरा हुन्‌ या सुखविलासका कुरा। आजका कुरालाई मात्र ध्यान दिंदा परिणाम तत्कालै निस्कने जस्तो देखिएला तर त्यसरी प्राप्त गरेका राम्रै कुरा समेत क्षणिक मात्र हुनेछ। ‘आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार्नु’ पृथ्वीमा थुपार्नुभन्दा धेरै बुद्धिमानी कुरा हो भनी येशूले भन्‍नुभयो।—मत्ती ६:१९, २०.

यो तथ्यलाई येशूले भविष्यको निम्ति भव्य योजना बनाउने एक मानिसको दृष्टान्तद्वारा प्रष्ट पार्नुभयो। उसको योजनाले परमेश्‍वरलाई समावेश गरेको थिएन। त्यस मानिसको जमिनले प्रशस्त उब्जनी दियो। आरामदायी जीन्दगी बिताउन, खान, पिउन र आनन्द गर्नको लागि उसले आफ्नो भकारीलाई भत्काएर झनै ठूलो बनाउने निर्णय गऱ्‍यो। यसो गर्नुमा के गलत थियो? आफ्नो परिश्रमको फल चाख्न नपाउँदै ऊ मर्नुपऱ्‍यो। अझ त्योभन्दा पनि दुःखको कुरा त, उसले परमेश्‍वरसँग सम्बन्धै राखेको थिएन। निष्कर्षमा येशूले भन्‍नुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:१५-२१; हितोपदेश १९:२१.

तपाईं के गर्न सक्नुहुन्छ?

येशूले दृष्टान्तमा चलाएको मानिसले जस्तो गल्ती नगर्नुहोस्‌। परमेश्‍वरले भोलिको लागि साँच्नुभएको कुरालाई पत्ता लगाउनुहोस्‌ र त्यसकै सेरोफेरोमा रहेर जीवन बिताउनुहोस्‌। भविष्यमा आफूले गर्ने कुराप्रति परमेश्‍वरले मानिसजातिलाई अन्धकारमा राख्नुभएको छैन। “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन” भनी प्राचीन समयका अगमवक्‍ता आमोसले लेखे। (आमोस ३:७) यहोवाले आफ्नो अगमवक्‍ताहरूद्वारा प्रकट गरेका कुराहरू आज उहाँको प्रेरित वचन बाइबलका पानाहरूमा पाइन्छ।—२ तिमोथी ३:१६, १७.

सारा पृथ्वीलाई नै अभूतपूर्व तरिकामा असर पार्ने भविष्य, बाइबलले प्रकट गरेका कुरामध्ये एउटा हो। येशूले भन्‍नुभयो: “यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन।” (मत्ती २४:२१) कुनै पनि मानवले त्यसलाई रोक्न सक्दैन। निश्‍चय पनि, साँचो उपासकहरूले त्यसलाई रोक्नुपर्ने त कारण नै छैन। किन? किनभने यसै घटनाले पृथ्वीका सम्पूर्ण खराबीलाई नामेट पार्नेछ र “नयाँ आकाश र नयाँ पृथ्वी”, मतलब नयाँ स्वर्गीय सरकार र पृथ्वीमा हुने नयाँ मानव समाजको थालनी गर्नेछ। त्यस नयाँ संसारमा परमेश्‍वरले “[मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”—प्रकाश २१:१-४.

त्यसोभए भविष्यमा हुने त्यस घटनाबारे बाइबलले के भन्छ सो बुझ्न, अहिले नै समय निकाल्नु जायज छैन त? यसो गर्न के तपाईंलाई मदत चाहिन्छ? मदतको लागि यहोवाका साक्षीहरूलाई भेट्‌नुहोस्‌। अथवा यो पत्रिकाको प्रकाशकहरूलाई लेख्नुहोस्‌। अनि हर हालतमा, आजको लागि मात्र होइन भोलिको लागि बाँच्ने संकल्प गर्नुहोस्‌। (w 07 10/15)

[पृष्ठ ५-मा भएको चित्र]

“फिक्री नगर . . . भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ”