सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन

यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन

यहोवाले भनेका कुरा कहिल्यै फरक पर्दैन

“परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ।”—यहोशू २३:१४.

१. यहोशू को थिए र उनले आफ्नो जीवनको अन्ततिर के गरे?

 उनी प्रभावशाली र निडर सेनापतिका साथै विश्‍वासी र निष्ठावान्‌ व्यक्‍ति थिए। उनी मोशा सँगसँगै हिंड्‌थे र इस्राएल राष्ट्रलाई भयानक उजाडस्थान पार गराएर दूध र मह बग्ने देशसम्म डोऱ्‍याउन यहोवाले उनलाई नै छान्‍नुभएको थियो। यी अति आदरणीय व्यक्‍ति यहोशू थिए र उनले आफ्नो जीवनको अन्ततिर इस्राएलका बूढा प्रधानहरूलाई मन छुने बिदाइ भाषण दिए। निस्सन्देह, त्यो भाषण सुन्‍नेहरूको विश्‍वास बलियो भयो। यसले तपाईंको विश्‍वासलाई पनि बलियो बनाउन सक्छ।

२, ३. यहोशूले इस्राएलका बूढा प्रधानहरूलाई सम्बोधन गर्दा इस्राएलको परिस्थिति कस्तो थियो र उनले के भने?

बाइबलमा बताइएको यो परिस्थितिको मनमा चित्र कोर्नुहोस्‌: “अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए, यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका बूढा प्रधानहरूलाई, तिनीहरूका कुलनायकहरूलाई तिनीहरूका न्यायकर्त्ताहरूलाई, र तिनीहरूका अधिकारीहरूलाई बोलाएर भने, ‘म वृद्ध भएँ अनि निकै उमेर खाइसकें।’ ”—यहोशू २३:१, २.

यहोशू ११० वर्ष पुग्नै लागेका थिए। उनी परमेश्‍वरका जनहरूको इतिहासको एउटा एकदमै रोमाञ्चक समयमा थिए। यहोवाका शक्‍तिशाली कार्यहरू र उहाँका थुप्रै प्रतिज्ञा पूरा भएको उनले आफ्नै आँखाले देखेका थिए। त्यसरी प्रत्यक्ष अनुभव गरेको कारण पूर्ण विश्‍वस्तताका साथ उनले यो कुरा भनेका थिए: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।”—यहोशू २३:१४.

४. यहोवाले इस्राएलीहरूलाई कस्ता आश्‍वासन दिनुभयो?

यहोशूको जीवनकालमा यहोवाले भनेका कुन-कुन कुरा साँच्चै पूरा हुन आए? यहोवाले इस्राएलीहरूलाई दिएका तीन वटा आश्‍वासनबारे हामी विचार गर्नेछौं। पहिलो, परमेश्‍वरले तिनीहरूलाई दासत्वबाट छुटकारा दिनुहुने थियो। दोस्रो, उहाँले तिनीहरूलाई सुरक्षा दिनुहुने थियो। तेस्रो, उहाँले तिनीहरूलाई सँभाल्नुहुने थियो। यहोवाले वर्तमान समयका आफ्ना जनहरूलाई पनि त्यस्तै आश्‍वासन दिनुभएको छ र हामीले आफ्नै जीवनकालमा ती पूरा भएको देखेका छौं। तर, उहाँले वर्तमान समयमा के गर्नुभएको छ, त्यसबारे छलफल गर्नुअघि यहोशूको समयमा उहाँले गरेका कार्यहरूलाई विचार गरौं।

यहोवा आफ्ना जनहरूलाई छुटकारा दिनुहुन्छ

५, ६. यहोवाले इस्राएलीहरूलाई मिश्रबाट कसरी छुटकारा दिनुभयो र यसबाट के स्पष्ट भयो?

मिश्रको दासत्वमा परेको कारण इस्राएलीहरूले यहोवालाई पुकार्दा उहाँले सुन्‍नुभयो। (प्रस्थान २:२३-२५) जलिरहेको पोथ्राबाट यहोवाले मोशालाई यसो भन्‍नुभयो: “[मेरा जनहरूलाई] मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश अर्थात्‌ दूध र मह बहने . . . देशमा ल्याउनलाई म ओर्लिएको छु।” (प्रस्थान ३:८) यहोवाको यो वचन पूरा भएको देख्दा इस्राएलीहरू कत्ति रोमाञ्चित भए होलान्‌! फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट जान नदिंदा परमेश्‍वरले अब नील नदीको पानीलाई रगत बनाउनुहुनेछ भनी मोशाले तिनलाई भने। यहोवाले भनेको त्यो कुरा फरक परेन। नील नदीको पानी रगतमा परिणत भयो। नदीका माछाहरू स्वाहा भए र नदीको पानी खानै नहुने भयो। (प्रस्थान ७:१४-२१) फिरऊन हठी भइरहे र यहोवाले प्रत्येक विपत्तिमा अग्रिम चेतावनी दिंदै अरू नौ वटा विपत्ति ल्याउनुभयो। (प्रस्थान अध्याय ८-१२) दसौं विपत्तिले मिश्रमा पहिले जन्मेकाहरू सबैलाई मारेपछि भने फिरऊनले इस्राएलीहरूलाई जान दिए र इस्राएलीहरू पनि मिश्रबाट गइहाले!—प्रस्थान १२:२९-३२.

त्यस छुटकाराले इस्राएललाई चुनिएको राष्ट्रको रूपमा ग्रहण गर्न यहोवालाई सम्भव तुल्यायो। त्यसले यहोवालाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने परमेश्‍वरको रूपमा महिमित गऱ्‍यो जसले भनेका कुरा कहिल्यै फरक पर्दैन। त्यस छुटकाराले यहोवा अन्य राष्ट्रका देवताहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ भनेर देखायो। त्यस छुटकाराबारे पढ्‌दा हाम्रो विश्‍वास बलियो हुन्छ। त्यो छुटकारा पाउँदा इस्राएलीहरूलाई कस्तो महसुस भएको हुनुपर्छ, कल्पना गर्नुहोस्‌ त! यहोवा “सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ” भन्‍ने कुरा शत प्रतिशत सही हो भनेर यहोशूले बुझे।—भजन ८३:१८.

यहोवा आफ्ना जनहरूलाई सुरक्षा दिनुहुन्छ

७. यहोवाले इस्राएलीहरूलाई फिरऊनको सेनादेखि कसरी सुरक्षा दिनुभयो?

यहोवाको दोस्रो आश्‍वासन थियो—आफ्ना जनहरूलाई सुरक्षा दिने। त्यसबारे के भन्‍न सकिन्छ? इस्राएलीहरूलाई मिश्रबाट छुटाएर प्रतिज्ञा गरिएको देशमा लैजाने यहोवाको प्रतिज्ञामा यो आश्‍वासनबारे स्पष्टै नभनिए पनि त्यसको छनक भने पाइन्थ्यो। रीसले चूर भएका फिरऊन सयौं रथसहितको शक्‍तिशाली सेना लिएर इस्राएलीहरूलाई खेद्‌दै आएको घटना सम्झनुहोस्‌। विशेषगरि इस्राएलीहरू पहाड र समुद्रको बीचमा फँसेको जस्तो देख्दा त्यो घमन्डी व्यक्‍ति कत्ति विश्‍वस्त भएको हुनुपर्छ! तर त्यति नै बेला परमेश्‍वरले तिनीहरूको बीच बादलको खामो खडा गरेर आफ्ना जनको सुरक्षा गर्नुभयो। मिश्रीहरूपट्टि अँध्यारो र इस्राएलीहरूपट्टि चाहिं उज्यालो भयो। उता बादलको खामोले मिश्रीहरूलाई अघि बढ्‌न रोकिराख्दा यता मोशाले चाहिं लौरोले लाल समुद्रको पानीलाई दुई भाग पारे र यो, इस्राएलीहरूका लागि उम्कने बाटो भयो भने मिश्रीहरूका लागि चाहिं फन्दा। यहोवाले आफ्ना जनहरूलाई विजयी तुल्याउँदै फिरऊनको शक्‍तिशाली सेनालाई सर्वनाश पार्नुभयो।—प्रस्थान १४:१९-२८.

८. (क) उजाडस्थानमा र (ख) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्दा इस्राएलीहरूले कस्तो सुरक्षा पाए?

लाल समुद्र पार गरेपछि इस्राएलीहरू यस्तो ठाउँमा भौंतारिए जसलाई “विषालु सर्प र बिच्छुहरू भएका निर्जल र रूखो भूमि भएका विशाल र भयानक जङ्‌गल” अर्थात्‌ उजाडस्थान भनिएको छ। (व्यवस्था ८:१५) यहोवाले त्यहाँ पनि आफ्ना जनहरूलाई सुरक्षा दिनुभयो। अनि तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्दा नि? शक्‍तिशाली कनानी सेनाले तिनीहरूलाई रोक्न खोजे। तर यहोवाले यहोशूलाई यसो भन्‍नुभयो: “तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिने देशमा जा। तेरो जीवनभरि तेरो सामने कोही मानिस खडा हुनसक्ने छैन। जसरी म मोशासँग रहें, त्यसरीनै म तँसँग रहनेछु, म तँलाई धोखा दिनेछैनँ। औ तँलाई त्याग्नेछैनँ।” (यहोशू १:२, ५) यहोवाले भनेका यो कुरा पनि फरक परेन। लगभग ६ वर्षभित्र यहोशूले ३१ जना राजालाई हराए र प्रतिज्ञा गरिएको देशको ठूलो भू-भागमाथि नियन्त्रण जमाए। (यहोशू १२:७-२४) यहोवाको सुरक्षात्मक हेरचाहविना त्यो विजय सम्भव थिएन।

यहोवा आफ्ना जनहरूलाई सँभाल्नुहुन्छ

९, १०. यहोवाले आफ्ना जनहरूलाई कसरी उजाडस्थानमा सँभाल्नुभयो?

यहोवाको तेस्रो आश्‍वासन थियो—आफ्ना जनहरूलाई सँभाल्ने। अब त्यसलाई विचार गर्नुहोस्‌। मिश्रबाट छुटकारा पाएलगत्तै परमेश्‍वरले इस्राएलीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट रोटी वर्षाउनेछु, औ मानिसहरूले दिनहुँ बाहिर गएर दिनदिनको हिस्सा बटुल्नेछन्‌।” भनेअनुसारै परमेश्‍वरले “स्वर्गबाट रोटी” वर्षाउनुभयो। “इस्राएलीहरूले त्यो देखेर आपसमा भन्‍नलागे, ‘यो के हो?’ ” त्यो मन्‍न थियो, यहोवाले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको रोटी।—प्रस्थान १६:४, १३-१५.

१० यहोवाले इस्राएलीहरूलाई उजाडस्थानमा ४० वर्षसम्म हेरचाह गर्नुभयो। उहाँले त्यहाँ खानेकुरा र पानीको प्रबन्ध गरी दिइरहनुभयो। उहाँले तिनीहरूको जीउको लुगा फाट्‌न र खुट्टा सुनिन समेत दिनुभएन। (व्यवस्था ८:३, ४) यहोशूले यी सब आफ्नै आँखाले देखेका थिए। प्रतिज्ञा गरेअनुसारै यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिनुभयो, सुरक्षा दिनुभयो र सँभाल्नुभयो।

वर्तमान समयमा छुटकारा

११. सन्‌ १९१४ अक्टोबरमा ब्रूक्लिन बेथेलमा के घोषणा गरियो? यसको अर्थ, अब यहोवाले के गर्ने समय आएको थियो?

११ हाम्रो समयमा नि? सन्‌ १९१४, अक्टोबर २ शुक्रबार बिहान, त्यस बखत बाइबल विद्यार्थीहरूमाझ नेतृत्व लिइरहेका भाइ चार्ल्स टेज रसल न्यु योर्कस्थित ब्रूक्लिन बेथेलको डाइनिङ रूममा प्रवेश गरे। तिनले प्रसन्‍न मुद्रामा सबैलाई अभिवादन गरे। त्यसपछि बस्नुअघि तिनले खुसीसाथ यस्तो घोषणा गरे: “अन्य जातिहरूको समयको अन्त भएको छ; तिनीहरूका राजाहरूलाई दिइएको दिन समाप्त भयो।” फेरि एक पटक ब्रह्‍माण्डका सार्वभौम यहोवाले आफ्ना जनहरूको खातिर कदम चाल्ने समय आएको थियो। अनि उहाँले त्यो कदम चाल्नु पनि भयो!

१२. सन्‌ १९१९ मा कस्तो छुटकारा पाइयो र त्यसको परिणाम के भयो?

१२ त्यसको ठीक पाँच वर्षपछि यहोवाले आफ्ना जनहरूलाई झूटो धर्मको शक्‍तिशाली विश्‍व साम्राज्य “महान्‌ बेबिलोन[बाट]” छुटकारा दिनुभयो। (प्रकाश १८:२) हामीमध्ये धेरैले त्यो रोमाञ्चक छुटकारा देखेनौं। तैपनि, हामी त्यस छुटकाराको परिणाम स्पष्टै देख्छौं। यहोवाले साँचो उपासना पुनर्स्थापना गर्नुभयो र उहाँको उपासना गर्न तीव्र इच्छा गर्नेहरूलाई एकताबद्ध पार्नुभयो। यो कुरा, भविष्यवक्‍ता यशैया मार्फत अग्रिमवाणी गरिएको थियो: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌।”—यशैया २:२.

१३. यहोवाका जनहरूमाझ कस्तो बढौती भएको तपाईंले देख्नुभएको छ?

१३ यशैयाका ती शब्दहरू साँच्चै पूरा भयो। सन्‌ १९१९ मा बाँकी रहेका अभिषिक्‍त जनहरूले साहसका साथ विश्‍वभरि प्रचार अभियान थाले। त्यस अभियानले साँचो परमेश्‍वरको उपासनालाई माथि उचाल्यो। सन्‌ १९३० को दशकमा “अरू भेडा[लाई]” पनि भेला गर्न थालिएको स्पष्ट भयो। (यूहन्‍ना १०:१६) सुरुमा हजारौं, त्यसपछि सयौं-हजार र अहिले लाखौं-लाख मानिस साँचो उपासनाको पक्षमा उभिरहेका छन्‌! प्रेरित यूहन्‍नालाई दिइएको दर्शनमा तिनीहरूलाई “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको सबै कुलको र मानिसको, र भाषा-भाषाहरूको एक ठूलो भीड” भनिएको छ। (प्रकाश ७:९) आफ्नो जीवनकालमा तपाईंले के देख्नुभएको छ? तपाईंले सुरुमा सच्चाइ सिक्दै गर्दा यहोवाका साक्षीहरू संसारभरि कति थिए? अहिले, तिनीहरू ६७,००,००० भन्दा बढी छन्‌। यहोवाले आफ्ना जनहरूलाई महान्‌ बेबिलोनबाट छुटकारा दिएर यो उल्लेखनीय बढौतीको ढोका खोलिदिनुभयो जुन आज हामी विश्‍वव्यापी तवरमा देखिरहेका छौं।

१४. कस्तो छुटकारा आउन बाँकी नै छ?

१४ यहोवाले अर्को एउटा छुटकारा दिन अझै बाँकी छ—यसले पृथ्वीका सबै मानिसलाई समेट्‌नेछ। उदेकलाग्दो ढंगमा शक्‍ति प्रदर्शन गरेर यहोवाले उहाँको विरोध गर्ने सबैलाई हटाउनुहुनेछ र आफ्ना जनहरूलाई धार्मिकताले बास गर्ने नयाँ संसारमा प्रवेश गराउनुहुनेछ। दुष्टताको अन्त भएको र मानव इतिहासकै सबैभन्दा महिमित युगको सुरुआत भएको हेर्न पाउनु कत्ति आनन्ददायी हुनेछ!—प्रकाश २१:१-४.

हाम्रो समयमा यहोवाको सुरक्षा

१५. वर्तमान समयमा यहोवाको सुरक्षा किन चाहिएको छ?

१५ हामीले थाह पाइसकेका छौं, यहोशूको समयका इस्राएलीहरूलाई यहोवाको सुरक्षा चाहिएको थियो। वर्तमान समयका यहोवाका जनहरूलाई चाहिं उहाँको सुरक्षा चाहिंदैन र? अवश्‍यै चाहिन्छ! येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) वर्षौंको दौडान यहोवाका साक्षीहरूले थुप्रै मुलुकमा तीव्र विरोध र क्रूर सतावट भोग्दै आएका छन्‌। तैपनि, यहोवा आफ्ना जनहरूको साथमा हुनुहुन्छ भनेर स्पष्ट छ। (रोमी ८:३१) ‘हाम्रो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि’ राज्य प्रचारकार्य र शिक्षणकार्यलाई रोक्न सक्नेछैन भनी उहाँको वचन हामीलाई आश्‍वस्त पार्छ।—यशैया ५४:१७.

१६. यहोवा आफ्ना जनहरूको सुरक्षा गर्नुहुन्छ भन्‍ने कुराको तपाईंले कस्तो प्रमाण देख्नुभएको छ?

१६ संसारको घृणाको बावजूद यहोवाका जनहरू फल्दै-फुल्दै गएका छन्‌। तिनीहरू २३६ मुलुकमा फस्टाइरहेका छन्‌ र वास्तवमा यो, हामीलाई नाश गर्न वा चुप गराउन खोज्नेहरूबाट बचाउन यहोवा हाम्रो साथमा हुनुहुन्छ भन्‍ने कुराको सशक्‍त प्रमाण हो। तपाईंको जीवनकालमा परमेश्‍वरका जनहरूलाई कठोरसाथ दबाउन खोजेका शक्‍तिशाली राजनैतिक वा धार्मिक नेताहरूको नाउँ सम्झन सक्नुहुन्छ? तिनीहरूलाई के भएको छ? तिनीहरू अहिले कहाँ छन्‌? तिनीहरूमध्ये धेरैजसो त मोशा र यहोशूको समयका फिरऊन जस्तै नामेट भइसकेका छन्‌। विश्‍वासीपूर्वक मर्ने यहोवाका वर्तमान सेवकहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? तिनीहरू यहोवाको स्मरणमा सुरक्षित छन्‌। तिनीहरूका लागि त्यो जस्तो सुरक्षित ठाउँ अरू कतै छैन। सुरक्षाको सन्दर्भमा यहोवाले भनेका कुरा साँचो साबित भएको स्पष्ट छ।

आज यहोवा आफ्ना जनहरूलाई सँभाल्नुहुन्छ

१७. आध्यात्मिक भोजनको सन्दर्भमा यहोवाले कस्तो आश्‍वासन दिनुभयो?

१७ यहोवाले उजाडस्थानमा आफ्ना जनलाई सँभाल्नुभयो र आज पनि सँभाल्नुहुन्छ। “विश्‍वासी र बुद्धिमान दास” मार्फत हामीलाई आध्यात्मिक भोजन दिनुहुन्छ। (मत्ती २४:४५) वर्षौं-वर्षौंसम्म गुप्तमा राखिएको आध्यात्मिक सच्चाइको ज्ञान हामीले पाइरहेका छौं। स्वर्गदूतले दानियललाई यसो भनेका थिए: “यी वचनहरूलाई गुप्तमा राख, र अन्तको समयको लागि यो पुस्तकमा छाप लगाएर बन्द गरिराख। धेरै जना यता र उता जानेछन्‌ र साँचो ज्ञान प्रशस्त हुनेछ।”—दानियल १२:४, NW.

१८. आज साँचो ज्ञान प्रशस्त छ भनेर किन भन्‍न सकिन्छ?

१८ अहिले हामी अन्तको समयमा बाँचिरहेका छौं र साँचो ज्ञान वास्तवमै प्रशस्त भएको छ। संसारभरि नै पवित्र आत्माले सच्चाइका प्रेमीहरूलाई साँचो परमेश्‍वर र उहाँका उद्देश्‍यहरूको सही ज्ञानतर्फ डोऱ्‍याएको छ। आज संसारमा बाइबल प्रशस्त पाइन्छ। त्यसैगरि बाइबलमा भएका अनमोल सच्चाइ बुझ्न मदत दिने प्रकाशनहरू पनि प्रशस्त छन्‌। उदाहरणको लागि, अध्ययन सहायक बाइबलले वास्तवमा के सिकाउँछ? a किताबको विषय सूचीलाई विचार गर्नुहोस्‌। यसका केही अध्यायहरू यस प्रकार छन्‌: “परमेश्‍वरबारे साँचो शिक्षा के हो?,” “मरिसकेकाहरू कहाँ छन्‌?,” “परमेश्‍वरको राज्य के हो?,” “परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?” यस्ता प्रश्‍नहरूमा मानिसहरूले गहिरिएर सोचेको हजारौं वर्ष भइसक्यो। अहिले यी प्रश्‍नका जवाफ सजिलै पाइन्छ। वर्षौं-वर्षसम्म मानिसहरूको अनभिज्ञता र मसीहीजगत्‌को धर्मत्यागी शिक्षाको बावजूद पनि परमेश्‍वरको वचन प्रबल भएको छ। यसले उहाँको सेवा गर्न तीव्र इच्छा राख्नेहरूलाई सँभाल्दै आएको छ।

१९. कस्ता प्रतिज्ञाहरू पूरा भएको तपाईंले देख्नुभएको छ र तपाईं कस्तो निष्कर्षमा पुग्नुभएको छ?

१९ आफ्नै आँखाले देखेका कुराहरूको आधारमा हामी अवश्‍यै यसो भन्‍न सक्छौं: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।” (यहोशू २३:१४) यहोवा आफ्ना जनहरूलाई छुटकारा दिनुहुन्छ, सुरक्षा दिनुहुन्छ र सँभाल्नुहुन्छ। उहाँले कुनै-कुनै प्रतिज्ञा आफूले ठहराएको समयमा पूरा गर्नुभएको छैन भनेर के तपाईं औंला ठडाउन सक्नुहुन्छ? सक्नुहुन्‍न, असम्भव छ। हामी बुद्धिमानी भई परमेश्‍वरको भरपर्दो वचनमा भरोसा गर्छौं।

२०. हामी किन विश्‍वस्त भई भविष्यको बाटो हेर्न सक्छौं?

२० भविष्यबारे नि, के भन्‍न सकिन्छ? हामी धेरैजसोले प्रमोदवनमा परिणत भएको आनन्ददायी पृथ्वीमा बस्ने आशा राख्न सक्छौं भनी यहोवाले हामीलाई बताउनुभएको छ। हामीमध्ये थोरैको ख्रीष्टसित स्वर्गमा शासन गर्ने आशा छ। हाम्रो आशा जेसुकै भए तापनि, यहोशू जस्तै विश्‍वासी भइरहने हरेक कारण हामीसित छ। जब हाम्रो आशा साकार हुने दिन आउनेछ तब यहोवाले गर्नुभएका सबै प्रतिज्ञाहरूलाई फर्केर हेर्नेछौं र हामी पनि यसो भन्‍नेछौं: ‘ती सबै पुगेको छ।’ (w 07 11/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यहोवाले दिएका कस्ता आश्‍वासनहरूको पूर्ति यहोशूले देखे?

• परमेश्‍वरले दिएका कस्ता आश्‍वासनहरू पूरा भएको तपाईंले देख्नुभएको छ?

• परमेश्‍वरले भनेका कुराहरूको सन्दर्भमा हामी कुन कुराबारे निश्‍चित हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

यहोवा आज आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ