सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उद्देश्‍यपूर्ण जीवन सम्भव छ!

उद्देश्‍यपूर्ण जीवन सम्भव छ!

उद्देश्‍यपूर्ण जीवन सम्भव छ!

थुप्रै मानिस पैसा अनि यसले किन्‍न सक्ने कुराहरूका लागि बाँचिरहेका छन्‌। नाउँ कमाउनको लागि बाँच्नेहरू पनि नभएका होइनन्‌। अरू कतिपयको लागि चाहिं जीवनको लक्ष्य भन्‍नु नै आफ्नो कलामा सिद्धता प्राप्त गर्नु हो। अनि त्यस्ता व्यक्‍तिहरू पनि छन्‌ जो अरूलाई मदत गर्नकै निम्ति भनेर बाँचिरहेका छन्‌। अर्कोतर्फ, कतिपयलाई चाहिं आफू किन बाँचिरहेको वा केको लागि बाँचिरहेको, पत्तै छैन।

तपाईं नि? म यहाँ किन छु भनेर के तपाईंले कहिल्यै गम्भीरतापूर्वक सोच्नुभएको छ? मानिसलाई जीवनमा साँच्चै नै उपलब्धि हासिल गरेको अनि सन्तुष्टि पाएको अनुभव भएको छ कि छैन हेर्न मानिसहरू पछि लागेका केही लक्ष्यहरूलाई जाँचेर किन नहेर्ने? उद्देश्‍यपूर्ण जीवन केले सम्भव बनाउँछ?

पैसा र आनन्दको आफ्नै ठाउँ छ

उपदेशक ७:१२, NW यसो भन्छ: “पैसाले सुरक्षा दिएझैं बुद्धिले पनि सुरक्षा दिन्छ तर बुद्धिले चाहिं जीवन बचाउँछ।” हो, पैसाको महत्त्व छ। बाँच्नको लागि पैसा चाहिन्छ, अझ यदि परिवारको पेट पालाको जिम्मेवारी तपाईंको हो भने त यो नभई हुँदैन।—१ तिमोथी ५:८.

पैसाले मात्रै दिन सक्ने कुनै-कुनै आनन्दबारे कुरा गर्ने हो भने, पैसाविनाको जीन्दगी त के जीन्दगी? येशू ख्रीष्टले आफ्नो लागि शिर अडाउने ठाउँ पनि छैन भनेर मानि लिनुभयो। तैपनि उहाँ कहिलेकाहीं उत्तम भोजन र दाखमद्यको आनन्द लिनुहुन्थ्यो। साथै, उहाँ महँगो वस्त्र पनि लगाउनुहुन्थ्यो।—मत्ती ८:२०; यूहन्‍ना २:१-११; १९:२३, २४.

तर, येशू सुखविलासकै पछि लाग्न भने बाँच्नुभएको थिएन। उहाँले सही प्राथमिकता तय गर्नुभयो। येशूले भन्‍नुभयो: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” त्यसपछि उहाँले प्रशस्त उब्जनी दिने जमिन भएको एउटा धनी मानिसको दृष्टान्त सुनाउनुभयो। ती धनी मानिसले मनमनै यसरी गुने: “मसित मेरो अन्‍न राख्ने ठाउँ छैन, अब म के गरूँ? . . . म यही गर्नेछु—म आफ्ना भकारीहरू भत्काएर झन्‌ ठूला ठूला बनाउनेछु, औ मेरा सबै अनाज र सम्पत्तिहरू त्यहीं राख्नेछु। औ म आफ्नो प्राणलाई भन्‍नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्‌, खा, पी, र आनन्द गर्‌।” ती धनी मानिसको सोचाइ कहाँनेर गलत थियो? दृष्टान्तको थप भाग यसो भन्छ: “परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस्‌ ती कसको होला?’ ” प्रशस्त अनाज थुपारे तापनि ती मानिसले मरेपछि आफूले थुपारेको सम्पत्तिबाट आनन्द उठाउन पाउने थिएनन्‌। निष्कर्षमा येशूले आफ्ना श्रोताहरूलाई यस्तो पाठ सिकाउनुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:१३-२१.

हो, हामीलाई पैसा चाहिन्छ अनि आनन्दको पनि जीवनमा आफ्नै ठाउँ छ। तथापि, न पैसा न त आनन्द नै हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरतर्फ धनी हुनु, मतलब परमेश्‍वरको अनुमोदन पाउने खालको जीवन बिताउनु नै जीवनमा हामीले पछ्याउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरो हो।

नाउँ कमाउनै पर्छ?

धेरै मानिसहरू नाउँ कमाउनको लागि मात्र बाँच्छन्‌। नाउँ कमाउने इच्छा हुनु, अरूले आफूलाई सम्झिरहून्‌ भन्‍ने चाहना गर्नु आफैमा गलत त निश्‍चय नै होइन। बाइबल आफै यसो भन्छ: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।”—उपदेशक ७:१.

कुनै मानिसले जिन्दगीमा के-कस्ता कामहरू गऱ्‍यो, भन्‍ने हो भने उसको मृत्युको दिनमा ती सबै रेकर्डमा लेखिसकेको हुन्छ। यदि उसले असल कामहरू गरेको छ भने उसको मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो किनभने जन्मेको दिनमा त केही पनि गर्न पाएको हुँदैन, रेकर्ड खाली नै हुन्छ।

उपदेशकको पुस्तकका लेखक राजा सुलेमान थिए। सुलेमानका सौतेनी दाइ अब्शालोमले नाउँ कमाउन चाहे। तर उनका तीन छोराहरू जसद्वारा उनले पछिका पीढीहरूमा पनि आफ्नो नाउँ कायमै राख्न सक्थे, सायद युवावस्थामै मरे। त्यसोभए अब्शालोमले के गरे? बाइबल भन्छ: “अब्शालोमले राजाको बेंसीमा एउटा स्तम्भ लगेर खडा गरेका थिए, किनभने तिनी भन्थे, ‘मेरो नाउँ राख्नलाई मेरो छोरा छैन।’ तिनले त्यो स्तम्भलाई आफ्नै नाउँ दिए।” (२ शमूएल १४:२७; १८:१८) त्यस स्तम्भका भग्नावशेषहरू भेट्टिएका छैनन्‌। तर अब्शालोम भने, आफ्नै पिता दाऊदको राज्यसत्ता हत्याउन षड्यन्त्र रच्ने एक कुख्यात विद्रोहीको रूपमा बाइबलका विद्यार्थीहरूमाझ चिनिन्छन्‌।

आज पनि धेरै व्यक्‍तिहरू आफूले हासिल गरेका उपलब्धिहरूमार्फत चिनिन चाहन्छन्‌। ऋतुअनुसार रुचि पनि फरक-फरक हुने मानिसहरूको नजरमा महिमित हुन खोज्छन्‌। तर, यस्तो ख्याति के हुन्छ? एउटा पुस्तकमा ( कल्चर अफ नार्सिसिज्म) क्रिस्टोफर ल्यास यस्तो लेख्छन्‌: “यो समयमा, जहाँ मानिसको सफलता उसको जवानीपन, तडकभडक र नयाँपनको आधारमा मापन गर्ने गरिन्छ, ख्याति असाध्यै क्षणिक छ। मानिसलाई आफूतर्फ आकर्षित गर्न सफल व्यक्‍तिहरू, यसलाई गुमाउनुपर्ने डरले निरन्तर चिन्तित हुन्छन्‌।” यसैको कारण, थुप्रै ख्यातिप्राप्त हस्तीहरू लागू पदार्थ र रक्सीको सहारा लिन पुग्छन्‌ जसले गर्दा तिनीहरूको अकालमै मृत्यु हुने गर्छ। निश्‍चय नै, ख्याति प्राप्त गर्न खोज्नु व्यर्थ छ।

त्यसोभए हामीले कसको नजरमा असल नाउँ कमाउनुपर्छ त? व्यवस्थाअनुसार हिंड्‌नेहरूको सन्दर्भमा अगमवक्‍ता यशैयामार्फत यहोवाले यसो भन्‍नुभयो: “म मेरो भवनमा र मेरो भित्ताभित्र . . . [तिनीहरूलाई] असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने सदाको नाउँ दिनेछु।” (यशैया ५६:४, ५) परमेश्‍वरप्रति आज्ञाकारी भएको कारण उहाँको अगाडि स्वीकार्य हुनेहरूले ‘स्मारक र नाउँ’ पाउनेछन्‌। परमेश्‍वरले तिनीहरूको नाउँ “सदाको” लागि सम्झनुहुनेछ ताकि तिनीहरू मेटिने छैनन्‌। यस्तो प्रकारको नाउँ कमाउन बाइबलले हामीलाई प्रोत्साहन दिएको छ—हाम्रा सृष्टिकर्ता यहोवाको नजरमा असल नाउँ!

विश्‍वासी मानिसहरूले प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन पाउने समयबारे यशैया भविष्यवाणी गर्दै थिए। त्यस प्रमोदवनमा पाइने “अनन्त जीवन” वास्तवमा “साँच्चै[को] जीवन” हो। मानिसलाई सृष्टि गर्दा परमेश्‍वरले राख्नुभएको उद्देश्‍य आखिर त्यस्तै किसिमको जीवन थियो। (१ तिमोथी ६:१२, १९) यो क्षणिक र असन्तुष्ट जीवन बिताउनुभन्दा अनन्त जीवन पाउने हिसाबले आफ्नो जीवन बिताउनु पर्दैन र?

कला र मानव हितका कार्यहरूको पछि लागेर पुग्दैन

थुप्रै कलाकारहरू कलामा सिद्धता प्राप्त गर्ने इच्छा राख्छन्‌। तर त्यसको लागि यो वर्तमान जीवन अति नै छोटो छ। अघिल्लो लेखमा उल्लेख गरिएका हिडिओ ९० वर्ष पुग्दा उनले आफ्नो कलालाई अझ तिखार्न कडा परिश्रम गरे। कुनै कलाकार आफूले गरेको कामसँग सन्तुष्ट हुने हदसम्म पुग्यो भने पनि आफू जवान र स्वस्थ हुँदा जति गर्न सक्थ्यो त्यति गर्न नसक्ने पनि हुन सक्छ। तर यदि ऊसँग अनन्त जीवन भएको भए नि? आफ्नो कलामा सिद्धता हासिल गर्न सक्ने सम्भाव्यताबारे सोच्नुहोस्‌!

मानव हितका कार्यहरूको पछि लाग्नेबारे चाहिं के भन्‍न सकिन्छ नि? गरिबहरूलाई मदत गर्ने हेतुले दत्तचित्तका साथ लाग्नु र तिनीहरूकै लागि भनेर आफ्नो स्रोत-साधन खर्च गर्नु प्रशंसनीय काम हो। बाइबल भन्छ: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अरूको हितप्रति चासो देखाउँदा निश्‍चय नै सन्तुष्टि मिल्छ। तर कुनै व्यक्‍तिले आफ्नो सम्पूर्ण जीवन नै अरूको हितमा अर्पण गऱ्‍यो भने पनि कति नै मदत गर्न सक्ला र? हामी मानवले अरूको दुःख हटाउन जे जति गर्न सक्छौं त्यो सीमित छ। प्रशस्त भौतिक सम्पत्तिले पनि धेरैले बेवास्ता गरिरहेका र मानिसहरू सन्तुष्ट हुन नसकेका एउटा आवश्‍यकतालाई पूरा गर्न सक्दैन। त्यो आवश्‍यकता के हो?

जन्मजात आवश्‍यकता पूरा गरिनै पर्छ

येशूले डाँडाको उपदेशमा “धन्य आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूकै हो” भन्दा एउटा जन्मजात आवश्‍यकतालाई संकेत गर्नुभयो। (मत्ती ५:३, NW) त्यसकारण, बाइबलअनुसार साँचो आनन्द त सर-सम्पत्ति, ख्याति, कला क्षेत्रमा पाएका उपलब्धिहरू वा मानव हितका कार्यहरूको पछि लाग्नुमा निर्भर छैन। तर आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्नु अर्थात्‌ परमेश्‍वरको उपासना गर्नुमै साँचो आनन्द निर्भर छ।

सृष्टिकर्ता नचिनेकाहरूलाई प्रेरित पावलले उहाँको खोजी गर्न प्रोत्साहन दिए। पावलले यसो भने: “मानिसहरूका निम्ति ठहराएको समय र बासका सीमानाहरू निश्‍चय गरेर पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो, तापनि तिनीहरूले परमेश्‍वरको खोजी गरून्‌, र सायद छामेर भेट्टाऊन्‌ भनेर उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न। किनभने हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ।”—प्रेरित १७:२६-२८.

जीवनमा साँचो आनन्द पाउने एउटा मुख्य तरिका साँचो परमेश्‍वरको उपासना गर्नुपर्ने आवश्‍यकतालाई पूरा गर्नु हो। आध्यात्मिक आवश्‍यकता पूरा गर्दा यसले हामीलाई ‘साँच्चैको जीवनको’ आशा पनि दिन्छ। उदाहरणका लागि, टेरेसालाई लिनुहोस्‌। तिनी अफ्रिकी-अमेरिकी मूलको भए तापनि आफ्नो एक घण्टे टिभी शृङ्‌खलामा मुख्य भूमिका निर्वाह गरेर आफ्नो देशको टिभी कार्यक्रममा इतिहास रच्न सकिन्‌। तर केही समय नबित्दै उनले ती सबै त्यागिन्‌। किन? उनले भनिन्‌: “परमेश्‍वरको वचनको सल्लाह पछ्याउनु नै जीवन जिउने सर्वोत्तम मार्ग हो भनेर म विश्‍वस्त छु।” यौन र हिंसाको गुनगान गाउने टिभी शृङ्‌खलामा भाग लिएर उनले यहोवासँगको सम्बन्धलाई खतरामा पार्न चाहिनन्‌। उनी दर्शकहरूको नजरबाट त हराइन्‌ तर अरूलाई परमेश्‍वरसँग राम्रो सम्बन्ध गाँस्न मदत गर्नको लागि पूर्ण-समय सुसमाचार प्रचारकको सेवा सुरु गरेर साँच्चै नै सन्तोषजनक जीवनको पछि लागिन्‌।

कलाकारितालाई त्याग्ने टेरेसाको निर्णयबारे पहिलाको उनको एक साथीले भनेका कुरालाई यसरी उद्धरण गरियो: “मेरो मन नै भाँचियो। जुन कुराले उनलाई सफलता दिएजस्तो लाग्थ्यो, त्यसलाई नै उनले लत्याएको देख्दा मलाई पटक्कै चित्त बुझेन। तर उनले निश्‍चय नै त्योभन्दा ठूलो र महत्त्वपूर्ण कुरो पाइन्‌।” पछि, टेरेसाको मृत्यु भयो। उनको मृत्युपछि त्यही साथीले यसो भने: “उनी अत्यन्तै खुसी थिइन्‌, र यही नै हो सबैले जीवनमा चाहने ठूलो कुरा। हामीमध्ये कतिले, मैले आनन्दित जीवन बिताइरहेको छु भन्‍न सकौंला र?” परमेश्‍वरसँगको सम्बन्धलाई जीवनमा प्राथमिकता दिनेहरूका लागि, मरेपनि उहाँको राज्यअन्तर्गत पुनरुत्थानको उज्ज्वल आशा छ।—यूहन्‍ना ५:२८, २९.

पृथ्वी र यहाँका मानिसहरूका लागि सृष्टिकर्ताले उद्देश्‍य राख्नुभएको छ। तपाईंले यो उद्देश्‍यलाई बुझेको र पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाएको उहाँ चाहनुहुन्छ। (भजन ३७:१०, ११, २९) स्वर्ग र पृथ्वीका सृजनहार यहोवाबारे अनि उहाँले तपाईंको लागि राखेको उद्देश्‍यबारे सिक्ने समय अहिल्यै हो। तपाईंको इलाकामा बस्ने यहोवाका साक्षीहरू तपाईंलाई यो ज्ञान बुझ्न मदत दिन खुसी हुनेछन्‌। कृपया तिनीहरूसँग सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाका प्रकाशकहरूलाई लेख्नुहोस्‌। (w 07 11/15)

[पृष्ठ ५-मा भएको चित्र]

येशूको दृष्टान्तको धनी मानिसले गरेको तर्कमा गल्ती के थियो?

[पृष्ठ ७-मा भएको चित्र]

के तपाईं पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउन चाहनुहुन्छ?