सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

केले तपाईंको जीवनलाई उद्देश्‍य दिन्छ?

केले तपाईंको जीवनलाई उद्देश्‍य दिन्छ?

केले तपाईंको जीवनलाई उद्देश्‍य दिन्छ?

केनी नाउँ चलेको एउटा ठूलो दलाल कम्पनीमा जागिर खान्थे, महँगो कार चढ्‌थे अनि एउटा ठूलो सहरको धनीहरू बस्ने इलाकामा बस्थे जहाँ उनको भव्य घर थियो। एक अनुभवी स्काइडाइभर भएकाले हजारौं फिटको उचाइबाट सर्रर तल झर्दाको रोमाञ्चमा उनी रमाउँथे। के यी सबै उपलब्धिहरूमा उनी सन्तुष्ट हुन सके? द वल स्ट्रीट जर्नल पत्रिकाअनुसार उनले यसो भने: “म ४५ वर्षको भइसकें तर म आफ्नो भविष्य अन्धकार देख्छु। . . . मेरो जीवन खोक्रो छ।”

एक दक्ष आइस-स्केटर बन्‍न एलेनले कडा परिश्रम गरिन्‌। नभन्दै उनी आफ्नो लक्ष्यमा पुगिन्‌ पनि। आफूले चाहेजस्तै उनले नाउँ कमाइन्‌। “तर मैले कल्पना गरेको आनन्द खै कता गयो?” भन्दै उनले विलौना गरिन्‌। “मैले असाध्यै एक्लो महसुस गरें। मलाई एकदिन बुढ्यौलीले समात्नेछ, जतिसुकै धन-सम्पत्ति थुपारे पनि जिउनुको अर्थ यति मात्रै हो भने त यसले मेरो जीवनलाई खोक्रो नै छाड्‌नेछ।”

रंगहरू राम्रोसँग प्रयोग गर्न माहिर भनेर नाउँ कमाएका हिडिओले आफूलाई चित्रकलामा अर्पण गरेका थिए। आफूले बनाएका कलाकृतिहरू उनी बिक्री गर्दैनथे किनकि त्यसो गर्नुलाई उनी आफ्नो कला बेच्नुसरह ठान्थे। आफ्नो ९८ वर्षे जीवनको अन्तिम घडीतिर उनले आफ्नो प्रायः कृतिहरू एउटा संग्रहालयलाई अनुदान दिए। उनले आफ्नो सारा जीवन चित्रकलामा अर्पण गरे। तथापि, आफू सिद्ध चित्रकार कहिल्यै पनि हुन नसक्ने सोचले उनी सन्तुष्ट भने हुन सकेनन्‌।

केही व्यक्‍तिहरू, अरूलाई मदत गर्न दिलोज्यान दिएर लाग्छन्‌। हलिउडको कार्यकारी पदमा रहेका एक व्यक्‍तिको उदाहरणलाई लिनुहोस्‌। अमेरिकाको ठूला चलचित्र कम्पनीहरूमध्ये एउटा कम्पनीका उपाध्यक्षको हैसियतमा उनी ख्यातिप्राप्त हस्तीहरूसँग समय बिताउँथे अनि महँगो र आरामदायी इलाकामा बस्थे। बिदा मनाउन कम्बोडिया जाँदा, नोम पेनको एउटा रेष्टुराँमा बेलुकीको खाना खाइरहेको बेला एउटी केटी उनीकहाँ पैसा माग्न आइन्‌। उनले ती केटीलाई एक डलर दिनुका साथै चिसो पनि पिउन दिए। केटी खुसी भइन्‌। तर भोलिपल्ट बेलुकी पनि ती केटीले अझै मागि नै रहेकी थिइन्‌। सतही मदतले मात्र नपुग्ने कुरा उनले महसुस गरे।

एक वर्षपछि, उनले आफ्नो पेशा परिवर्तन गर्ने निर्णय गरे अर्थात्‌ मनोरञ्जनजगत्‌ छाडेर कम्बोडियाका गरिबहरूलाई मदत गर्ने। त्यहाँ उनले एउटा स्कूल खोले जहाँ बस्ने, खाने र शिक्षाको राम्रो बन्दोबस्त थियो। तैपनि, उनी दोहोरो मानसिकताबाट भने मुक्‍त हुन सकेनन्‌—एकातर्फ आफूले गरेका उपलब्धिहरूको कारण पाएको आनन्द र सन्तुष्टि, अर्कोतर्फ आफूमाथि थोपरिएको एकपछि अर्को समस्याहरूको कारण उत्पन्‍न भएको निराशा र पीडा।

माथि उल्लेख गरिएका चारै जनालाई जीवनमा आफ्नो उद्देश्‍य थाह छ जस्तो लाग्थ्यो। तैपनि, कठिन प्रयत्नपछि लक्ष्य प्राप्त गरिसक्दा पनि तिनीहरूले खोक्रै महसुस गरे। तपाईंचाहिं केको लागि बाँच्दै हुनुहुन्छ? तपाईंको जीवनमा कुन कुरा पहिलो स्थानमा आउँछ? तपाईंले अहिले बिताइरहेको जीवनशैलीको कारण पछि पछुताउनुपर्ने छैन भन्‍ने कुरामा के तपाईं ढुक्क हुनुहुन्छ? (w 07 11/15)