सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेला बनाउन तपाईंलाई मदत गर्न सक्ने गुणहरू खेती गर्नुहोस्‌

चेला बनाउन तपाईंलाई मदत गर्न सक्ने गुणहरू खेती गर्नुहोस्‌

चेला बनाउन तपाईंलाई मदत गर्न सक्ने गुणहरू खेती गर्नुहोस्‌

“गएर सबै देशका जातिहरूलाई चेला बनाओ।”—मत्ती २८:१९.

१. प्राचीन समयमा परमेश्‍वरका केही सेवकले कस्ता सीप अनि मनोवृत्ति विकास गर्न सिक्नुपऱ्‍यो?

 यहोवाको इच्छा पूरा गर्न उहाँका सेवकहरूले कहिलेकाहीं केही खास सीप सिक्नैपर्छ अनि मनोवृत्ति पनि विकास गर्नैपर्छ। उदाहरणका लागि, परमेश्‍वरको आज्ञा पाएपछि अब्राहाम र सारा ऊरजस्तो सम्पन्‍न सहर छोडेर पालमा बस्न थाले। सहरको सुखसुविधामा बसेका अब्राहाम र साराले पालमा जीवन बिताउनुपर्दा निश्‍चय पनि नयाँ सीप अनि गुणहरू सिक्नुपऱ्‍यो। (हिब्रू ११:८, ९, १५) त्यसैगरि, इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजाने जिम्मेवारी पाएपछि यहोशूले साहसी हुन सिक्नैपऱ्‍यो। तिनले यहोवामाथि भरोसा गर्न सिक्नुपऱ्‍यो अनि उहाँको व्यवस्थाको ज्ञान हासिल गर्नुपऱ्‍यो। (यहोशू १:७-९) बजलेल र ओहोलीआब सिपालु कारिगर थिए। तर परमेश्‍वरको आत्मा पाएपछि तिनीहरू पहिलेभन्दा झन्‌ सिपालु भए र यहोवाको बासस्थान अनि त्यससित सम्बन्धित अरू कुरा राम्ररी बनाउनुका साथै निर्माण कार्यको निरीक्षण गर्न सके।—प्रस्थान ३१:१-११.

२. चेला बनाउने कामसित सम्बन्धित कुन प्रश्‍नहरू हामी छलफल गर्नेछौं?

त्यसको सयौं वर्षपछि, येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यो आदेश दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) येशूका चेलाहरूले पाएको यो जिम्मेवारी मानिसजातिले पाएका सबैभन्दा विशेष अनि ठूलो जिम्मेवारी हो। उसोभए, चेला बनाउने काम पूरा गर्न कस्ता गुण चाहिन्छन्‌? अनि ती गुण हामी कसरी विकास गर्न सक्छौं?

परमेश्‍वरप्रतिको गहिरो माया देखाउनुहोस्‌

३. चेला बनाउने आज्ञाले हामीलाई के देखाउने मौका दिन्छ?

मानिसहरूसित कुरा गरेर साँचो परमेश्‍वरको उपासना गर्न मनाउनु चानचुने कुरा होइन। त्यसो गर्न सक्न हामीले यहोवालाई गहिरो माया गरेको हुनुपर्छ। यहोवालाई कत्तिको माया गर्छु भनी देखाउन प्राचीन समयका इस्राएलीहरूले उहाँका आज्ञाहरू मनतनले मान्‍नुपर्थ्यो, उहाँलाई मनपर्ने बलिदान चढाउनुपर्थ्यो, अनि भजन गाएर उहाँको प्रशंसा गर्नुपर्थ्यो। (व्यवस्था १०:१२, १३; ३०:१९, २०; भजन २१:१३; ९६:१, २; १३८:५) चेला बनाउने काममा अगाडि बढिरहेका हामी मसीहीहरू पनि परमेश्‍वरका आज्ञा मान्छौं र यहोवालाई कत्तिको माया गर्छौं भनेर देखाउन उहाँ अनि उहाँका उद्देश्‍यहरूबारे मानिसहरूलाई बताउने काम पनि गर्छौं। तर यसरी मानिसहरूसित कुरा गर्दा हामी निर्धक्क भएर बोल्न सक्नुपर्छ। परमेश्‍वरले दिएको आशाबारे आफूलाई मनमा लागेको कुरा ठीक अनि सुहाउँदो शब्द चलाएर बताउन सक्नुपर्छ।—१ थिस्सलोनिकी १:५; १ पत्रुस ३:१५.

४. यहोवाको विषयमा सिकाउन पाउँदा येशू किन रमाउनु हुन्थ्यो?

येशू यहोवालाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यसैले त, यहोवाका उद्देश्‍यहरू, राज्य अनि साँचो उपासनाबारे कुरा गर्न पाउँदा उहाँ असाध्यै रमाउनुहुन्थ्यो। (लूका ८:१; यूहन्‍ना ४:२३, २४, ३१) अझ उहाँले “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो” समेत भन्‍नुभयो। (यूहन्‍ना ४:३४) भजनरचयिताले भनेको यो कुरा पनि येशूलाई सोह्रै आना सुहाउँथ्यो: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ। मैले ठूलो सभामा धार्मिकताको सुसमाचार प्रकट गरेको छु। हेर्नुहोस्‌, म मेरा ओठहरू बन्द गर्नेछैनँ, हे परमप्रभु, तपाईंलाई थाहै छ।”—भजन ४०:८, ९; हिब्रू १०:७-१०.

५, ६. चेला बनाउन जुरमुऱ्‍याउने मुख्य गुण के हो?

भर्खरै बाइबल अध्ययन गरेर सत्य सिक्न थालेका नयाँ मानिसहरू यहोवाप्रतिको मायाले ओतप्रोत भएर कहिलेकाहीं उहाँ र उहाँको राज्यबारे यति निर्धक्क भएर कुरा गर्छन्‌ कि, सुन्‍ने मानिसहरू बाइबलले के भन्दो रहेछ भनेर जाँच्न उत्सुक हुन्छन्‌। (यूहन्‍ना १:४१) तसर्थ, चेला बनाउने काम गर्न हामीलाई जुरमुऱ्‍याउने मुख्य गुण वास्तवमा परमेश्‍वरप्रतिको माया नै हो। त्यसैले, आउनुहोस्‌ परमेश्‍वरको वचन नियमित तवरले पढेर अनि मनन गरेर हामी यो मायालाई सधैं ताजा बनाइराखौं।—१ तिमोथी ४:६, १५; प्रकाश २:४.

येशू ख्रीष्ट जोसिलो शिक्षक हुनुको कारण पनि निस्सन्देह यहोवाप्रतिको माया नै थियो। तर उहाँलाई जोसिलो प्रचारक बन्‍न अरू गुणले पनि मदत गरेको थियो कि? अवश्‍य! उसोभए, अर्को कुन गुणले गर्दा येशू चेला बनाउने काममा सफल हुन सक्नुभयो?

मानिसहरूप्रति मायालु चासो देखाउनुहोस्‌

७, ८. येशू मानिसहरूलाई कसरी हेर्नुहुन्थ्यो?

येशू मानिसहरूको ख्याल गर्नुहुन्थ्यो। उहाँ तिनीहरूमा गहिरो चासो लिनुहुन्थ्यो। भनौं भने, पृथ्वीमा आउनअघि स्वर्गमा परमेश्‍वरको “कारीगर” भएर सेवा गर्दाखेरि पनि उहाँलाई मानिसजातिसित सम्बन्धित कुराहरू मन पर्थ्यो। (हितोपदेश ८:३०, ३१, NRV) पृथ्वीमा हुँदा अरूको भावना बुझिदिने मायालु स्वभावको भएकोले मानिसहरू उहाँसित झ्यामिन्थे र उहाँसित कुरा गर्दा मन हलुको भएको महसुस गर्थे। (मत्ती ११:२८-३०) यहोवाले देखाउनेजस्तै माया अनि दया येशूले देखाउनुभयो। येशूको त्यस्तो गुणले गर्दा नै मानिसहरू एक मात्र साँचो परमेश्‍वरको उपासना गर्न आकर्षित भए। सबै थरिका मानिस येशूको कुरा चाख लिएर सुन्थे। किनकि उहाँ गहिरो चासो लिएर उनीहरूको पीडा अनि परिस्थिति बुझिदिनुहुन्थ्यो।—लूका ७:३६-५०; १८:१५-१७; १९:१-१०.

एकपटक एक जना मान्छेले अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर सोध्दा येशूले “त्यसमाथि नजर गरी त्यसलाई माया गरेर” जवाफ दिनुभयो। (मर्कूस १०:१७-२१) त्यसैगरि येशूले बेथानीमा शिक्षा दिएका केही खास व्यक्‍तिहरूबारे हामी बाइबलमा यस्तो लेखिएको पाउँछौं: “येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।” (यूहन्‍ना ११:१, ५) येशू मानिसहरूको यत्ति धेरै ख्याल गर्नुहुन्थ्यो कि, आराम गर्नुपर्ने बेलामा समेत आराम नगरी उहाँ तिनीहरूलाई सिकाउनुहुन्थ्यो। (मर्कूस ६:३०-३४) येशूले यस्तो मायालु अनि गहिरो चासो लिएकोले नै मानिसहरूलाई साँचो उपासनातर्फ आकर्षित गर्न आजसम्म कोही पनि उहाँजति सफल हुन सकेको छैन।

९. चेला बनाउने काममा सफल पावलको मनोवृत्ति कस्तो थियो?

प्रेरित पावल पनि आफूले सुसमाचार सुनाइसकेका मानिसहरूको असाध्यै ख्याल राख्थे। उदाहरणका लागि, थिस्सलोनिकामा मसीही धर्म अँगाल्ने मानिसहरूलाई तिनले यसो भने: “तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढतै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” प्रेरित पावलले दिएको मायालु मदतले गर्दा थिस्सलोनिकामा भएका केहीले ‘मूर्तिपूजा त्यागेर जीवित परमेश्‍वरको उपासना’ गर्न थाले। (१ थिस्सलोनिकी १:९; २:८) येशू अनि पावलले जस्तै मानिसहरूको साँच्चै ख्याल गऱ्‍यौं भने हामीले सुनाउने सुसमाचारले “अनन्त जीवनका लागि नियुक्‍त भएका” मानिसहरूको हृदय छुन सक्नेछ।—प्रेरित १३:४८.

आत्मत्यागी मनोभाव देखाउनुहोस्‌

१०, ११. चेला बनाउने काममा सफल हुन आत्मत्यागी मनोभाव किन चाहिन्छ?

१० चेला बनाउन सिपालु मसीहीमा पाइने अर्को गुण आत्मत्यागी मनोभाव हो। पैसा कमाउनु, सरसामान जोरजाम गर्नु, उनीहरूको निम्ति निश्‍चय पनि महत्त्वपूर्ण कुरा होइन। हुन पनि, येशूले “धनीहरू कस्तो कठिनसँग परमेश्‍वरको राज्यभित्र पस्छन्‌” भन्‍नुभएको थियो। यो कुरा सुन्दा चेलाहरूले अचम्म मानेका थिए। तर येशूले फेरि तिनीहरूलाई यसो भन्‍नुभयो: “बालक हो, धन-सम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्‍वरको राज्यभित्र पस्नु कस्तो कठिन छ। धनी मानिस परमेश्‍वरको राज्यभित्र पस्नुभन्दा ता बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो छ।” (मर्कूस १०:२३-२५) येशूले आफ्ना अनुयायीहरूलाई सरल जीवन बिताउने सुझाव दिनुभयो। किनकि त्यसो गर्दा, चेला बनाउने काममा पूरापूर ध्यान दिन सकिन्थ्यो। (मत्ती ६:२२-२४, ३३) आत्मत्यागी मनोभावले चेला बनाउन किन मदत गर्छ?

११ किनकि, येशूले आज्ञा दिनुभएका सबै कुरा सिकाउन धेरै प्रयास गर्नुपर्छ। चेला बनाउन चाहने मसीहीले अक्सर हरेक हप्ता जिज्ञासु व्यक्‍तिसित बाइबल अध्ययन गर्ने कोसिस गर्छ। धेरैभन्दा धेरै सोझा मानिसहरू भेट्टाउन सकियोस्‌ भनेर कतिपय प्रकाशकहरूले धेरै व्यस्त हुनुपर्ने जागिर छोडेर सानोतिनो काम गरेका छन्‌। आफ्नो इलाकामा बसोबास गर्ने भिन्‍नै जातका मानिसहरूलाई प्रचार गर्न हजारौं मसीहीहरूले नयाँ भाषा सिकेका छन्‌। कतिले भने आफ्नो घरदेखि टाढाको जिल्ला अथवा देशमा बसाइँ सरेर अझ धेरै कटनी गर्ने कोसिस गरेका छन्‌। (मत्ती ९:३७, ३८) आत्मत्यागको भावना छैन भने, यीमध्ये कुनै पनि काम गर्न सकिंदैन। तर चेला बनाउने काममा सफल हुन अरू गुण पनि चाहिन्छ।

धैर्य गर्नुहोस्‌ तर समय खेर नफाल्नुहोस्‌

१२, १३. चेला बनाउँदा धैर्य गर्नु किन महत्त्वपूर्ण छ?

१२ चेला बनाउन हामीलाई मदत गर्ने अर्को गुण हो, धैर्य। हो, हामीले सुनाउने सन्देशले तुरुन्तै येशूको चेला बन्‍ने हौसला दिए तापनि, अक्सर चेला बनाउन निकै समय लाग्नुका साथै धैर्यको खाँचो पर्छ। (१ कोरिन्थी ७:२९) येशूले के प्रचार गरेको अनि किन प्रचार गरेको हो, सायद उहाँको सौतेनी भाइ याकूबलाई थाह थियो। तैपनि कुनै कारणले गर्दा तिनी केही समयसम्म येशूको चेला बनेनन्‌। आफ्नो भाइ चेला बनेन भनेर के येशू अधीर हुनुभयो? अहँ, हुनुभएन। (यूहन्‍ना ७:५) यद्यपि, येशू ख्रीष्टको मृत्युपछि तर इस्वी संवत्‌ ३३ को पेन्तिकोसअघि, छोटो समयभित्रै याकूब पक्कै पनि चेला बनिसकेको हुनुपर्छ। किनकि, याकूब आफ्नी आमा, साख्खै दाजुभाइ अनि प्रेरितहरूसित प्रार्थना गर्न भेला भएका थिए भनेर बाइबलले संकेत दिन्छ। (प्रेरित १:१३, १४) जे-होस्‌, याकूबले राम्रो प्रगति गरे र पछि मसीही मण्डलीमा ठूल-ठूला जिम्मेवारीहरूसमेत वहन गरे।—प्रेरित १५:१३; १ कोरिन्थी १५:७.

१३ मसीहीहरूले किसानले जस्तै धैर्य गर्नैपर्छ। किनकि बीउ अंकुराउन समय लागेजस्तै हाम्रो सन्देश सुन्‍ने व्यक्‍तिलाई परमेश्‍वरको ज्ञान बुझ्न, यहोवालाई माया गर्न अनि ख्रीष्टको जस्तो मनोभाव विकास गर्न समय लाग्छ। यो कुरालाई जोड दिंदै याकूबले यसो भने: “हे भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खी रहन्छ। तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।” (याकूब ५:७, ८) याकूब यस पदमा “प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर” भनेर सँगी विश्‍वासीहरूलाई बिन्ती गर्दै थिए। येशू पृथ्वीमा हुँदा आफ्ना चेलाहरूले नबुझेका कुरा धैर्य गरेर व्याख्या गर्नुहुन्थ्यो अनि उदाहरण दिएर बुझाउनुहुन्थ्यो। (मत्ती १३:१०-२३; लूका १९:११; २१:७; प्रेरित १:६-८) हामी अहिले प्रभु येशू ख्रीष्टको आगमनको समयमा बाँचिरहेको छौं। त्यसैले चेला बनाउँदा हामीले उहाँले जस्तै धैर्य गर्नुपर्छ। अहिले हाम्रो समयमा येशूको अनुयायी बन्‍ने मानिसहरूलाई हामीले हतार नगरी अनि झिंझो नमानी सिकाउनु आवश्‍यक छ।—यूहन्‍ना १४:९.

१४. चेला बनाउने काम गर्दा धैर्य गर्नु आवश्‍यक भए तापनि, समय खेर नफाल्न हामीले के गर्नुपर्छ?

१४ दुःखको कुरा, हामीले जति नै धैर्य गरे तापनि हामीसित बाइबल अध्ययन गर्ने धेरैजसो मानिसको हृदयमा परमेश्‍वरको वचनको बीउ पटक्कै अंकुराउँदैन। (मत्ती १३:१८-२३) त्यसैले, यस्ता मानिसलाई मदत गर्ने चित्तबुझ्दो कोसिस गरिसकेपछि पनि हाम्रो केही लागेन भने, उनीहरूसित समय खेर फाल्नुभन्दा बरु, सत्यको कदर गर्ने अरू मानिस खोज्नु बुद्धिमानी हुनेछ। (उपदेशक ३:१, ६) तर यस सन्दर्भमा हामीले कुन कुरा बिर्सनुहुँदैन भने, बाइबलको शिक्षा मन पराउने मानिसहरूलाई समेत उनीहरूको दृष्टिकोण, झुकाव अनि प्राथमिकता परिवर्तन गर्न धेरै समय लगाएर मदत गर्नु आवश्‍यक हुन सक्छ। त्यसैले, उचित मनोवृत्ति विकास गर्न चेलाहरूलाई गाह्रो भइरहेको बेला येशूले धैर्य गरेझैं हामी पनि धैर्य गरौं।—मर्कूस ९:३३-३७; १०:३५-४५.

सिकाउने कला विकास गर्नुहोस्‌

१५, १६. चेला बनाउने काम गर्दा सरल ढंगमा सिकाउनु अनि पहिल्यै राम्ररी तयारी गर्नु किन महत्त्वपूर्ण छ?

१५ परमेश्‍वरलाई माया गर्नु, मानिसहरूको ख्याल गर्नु, आत्मत्यागी हुनु अनि धैर्य गर्नु—चेला बनाउने कामलाई सफल बनाउने महत्त्वपूर्ण गुणहरू हुन्‌। तर यसका साथसाथै हामीले सिकाउने कला विकास गर्नु पनि खाँचो छ। किनकि, सिकाउने कला छैन भने अरूले प्रस्ट बुझ्नेगरि सिकाउन सक्दैनौं। उदाहरणका लागि, महान्‌ गुरु येशू ख्रीष्टलाई नै लिनुहोस्‌। उहाँले भन्‍नुभएका थुप्रै कुरा किन गहकिला थिए? किनकि ती प्रस्टै बुझ्न सकिने अनि सरल हुन्थे। सरल भन्‍ने बित्तिकै सायद तपाईंले येशूका निम्न वाणीहरू सम्झनुभयो होला: “आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार।” “पवित्र चीज कुकुरहरूलाई नदेऊ।” “बुद्धिचाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” “जे-जे सिजरका हुन्‌ सिजरलाई, र जे-जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” (मत्ती ६:२०; ७:६; ११:१९; २२:२१) तर येशूले यस्ता छोटा वाणीहरू सुनाएर मात्रै शिक्षा दिनुभएन। आवश्‍यक परेको बेला उहाँ बेली-बिस्तार लगाएर छर्लङ्‌ग पार्नुहुन्थ्यो। उसोभए, येशूले जस्तै सबैले बुझ्नेगरि सिकाउन हामीले के गर्नुपर्छ?

१६ पहिल्यै तयारी गर्नुपर्छ। हो, सबैले बुझ्नेगरि सरल तरिकामा सिकाउन हामीले राम्ररी तयारी गरेको हुनैपर्छ। तयारी नगरी अध्ययनमा जाने प्रकाशकले बाह्रसत्ताइस कुरा गर्छ। आफूलाई थाह भए जति जम्मै कुरा गरेर उसले विद्यार्थीलाई मुख्य कुरा ठिम्याउने अवसरै दिंदैन। अर्कोतिर पहिल्यै राम्ररी तयारी गर्ने प्रकाशकले विद्यार्थीको विभिन्‍न पक्ष विचार गर्छ; आफूले सिकाउन लागेको विषयबारे मनन गर्छ र विद्यार्थीलाई चाहिने जति मात्र विषयवस्तु छानेर प्रस्ट बुझ्नेगरि सिकाउँछ। (हितोपदेश १५:२८; १ कोरिन्थी २:१, २) विद्यार्थीले के-कति कुरा बुझिसकेको छ, त्यसलाई ध्यानमा राख्दै अध्ययनको दौडान कुन-कुन बुँदामाथि जोड दिने हो, उसले पहिल्यै सोच्छ। हो, अध्ययन गर्ने विषयबारे धेरै चाखलाग्दा कुरा थाह होला तर अनावश्‍यक जानकारी दियो भने विद्यार्थीले प्रस्टसित बुझ्न सक्दैन।

१७. विद्यार्थीलाई बाइबलको शिक्षा बुझाउन हामी कसरी तर्क चलाउन सक्छौं?

१७ येशू आफ्ना श्रोताहरूलाई तथ्य कुरा बताउनुका साथै तर्क चलाएर बुझाउनु पनि हुन्थ्यो। उदाहरणका लागि, एकपटक उहाँले यस्तो प्रश्‍न सोधेर तर्क गर्नुभयो: “ए शिमोन, तिमी के विचार गर्छौ? पृथ्वीका राजाहरूले महसूल वा कर कोसँगबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?” (मत्ती १७:२५) बाइबलको कुरा व्याख्या गर्न पाउँदा हामीलाई असाध्यै रमाइलो लाग्छ होला। तर त्यसो भन्दैमा आफू मात्रै बोलेको बोल्यै गर्नु उचित होइन। किनकि त्यसो गर्दा, विद्यार्थीले आफ्नो मनको कुरा बताउने अथवा गृह बाइबल अध्ययनको बेला जवाफ दिने मौका पाउँदैन। अर्कोतिर, हामीले प्रश्‍नमाथि प्रश्‍न सोधेर विद्यार्थीलाई अप्ठेरो पार्नु पनि हुँदैन। बरु, तिनको दृष्टिकोणलाई ध्यानमा राख्दै कुरा गरेर, राम्रा उदाहरणहरू चलाएर, विचारणीय प्रश्‍न गरेर हामीले बाइबल आधारित प्रकाशनमा दिइएका शास्त्रीय बुँदाहरू बुझाउनुपर्छ।

१८. “शिक्षण कला” विकास गर्नुमा के-के समावेश छ?

१८ बाइबलले ‘शिक्षण कलाबारे’ चर्चा गरेको छ। (२ तिमोथी ४:२, NW; तीतस १:९, NW) शिक्षण कला भनेको विद्यार्थीलाई सिकेका कुरा सम्झन मदत गर्नु मात्रै होइन। हामीले बाइबल विद्यार्थीलाई सत्य अनि झूट, असल अनि खराब, बुद्धि अनि मूर्खताबीचको भिन्‍नता बुझाउने कोसिस गर्नुपर्छ। हामीले यसरी भिन्‍नता बुझायौं र यहोवालाई हृदयदेखि माया गर्न मदत गऱ्‍यौं भने, यहोवाको आज्ञा यो कारणले मान्‍नुपर्ने रहेछ भनेर बाइबल विद्यार्थीले बुझ्नेछ।

चेला बनाउने काममा जोसिलो भई भाग लिनुहोस्‌

१९. चेला बनाउने काममा कसरी सबै मसीहीले मदत गर्छन्‌?

१९ मसीही मण्डली चेला बनाउने संगठन हो। नयाँ व्यक्‍ति चेला बन्दा उसलाई भेट्टाउने अनि बाइबल अध्ययन गराउने प्रकाशक मात्र होइन यहोवाका सबै साक्षीहरू खुसी हुने कारण छ। बच्चा हराउँदा मानिसहरू समूह-समूह बनाएर चारैतिर खोज्न गए पनि तीमध्ये कुनै एउटा समूहले मात्र हराएको बच्चा फेला पार्छ। जुनसुकै समूहले फेला पारे तापनि बच्चालाई उसको आमाबाबुकहाँ पुऱ्‍याउँदा हराएको बच्चा खोज्न जाने सबै नै खुसी हुन्छन्‌। (लूका १५:६, ७) त्यसैगरि, चेला बनाउने काम पनि एक जना प्रकाशकले नभई पूरै मण्डली मिलेर गर्ने काम हो। किनकि, येशूको सम्भावित चेला खोज्ने काममा सबै मसीहीहरू भाग लिन्छन्‌। अनि चाहे जोसुकैले भेटेको होस्‌, नयाँ व्यक्‍ति राज्यभवनमा उपस्थित हुन थालेपछि मण्डलीका सबैले नै उसलाई साँचो उपासनाको कदर गर्न केही न केही मदत गर्छन्‌। (१ कोरिन्थी १४:२४, २५) त्यसैले हरेक वर्ष हजारौं मानिस येशू ख्रीष्टका नयाँ चेला बन्दा, हामी सबैजना खुसी हुन सक्छौं।

२०. बाइबलका सत्य वचन सिकाउन चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ?

२० अरूलाई यहोवा अनि उहाँको साँचो उपासनाबारे सिकाउन नचाहने मसीही को होला र? तैपनि, अथक प्रयास गर्दा गर्दै थुप्रै वफादार मसीहीहरूले नयाँ व्यक्‍तिलाई सिकाउने मौका नपाइरहेका हुन सक्छन्‌। यदि तपाईं तीमध्ये हुनुहुन्छ भने, यहोवालाई अझ धेरै माया गरिरहनुहोस्‌, मानिसहरूको ख्याल गर्न नछाड्‌नुहोस्‌, आत्मत्यागी हुनुहोस्‌, धैर्य गर्नुहोस्‌ अनि सिकाउने कला विकास गरेर अझ सिपालु शिक्षक बन्‍ने कोसिस गर्नुहोस्‌। सबैभन्दा मुख्य कुरा, बाइबलको सत्य वचन सिकाउने आफ्नो धोको यहोवालाई निरन्तर प्रार्थना गरेर बताउनुहोस्‌। (उपदेशक ११:१) चेला बनाउने कामले परमेश्‍वरको महिमा गर्छ र यहोवाको सेवा गर्न तपाईंले गर्ने हर कुराले त्यो कामलाई टेवा पुऱ्‍याउँछ भनेर ढुक्क हुनुहोस्‌। (w 07 11/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामी परमेश्‍वरलाई कत्तिको माया गर्छौं भनेर चेला बनाउने कामले कसरी जाँच्छ?

• चेला बनाउन सिपालु हुन कुन-कुन गुण चाहिन्छ?

• ‘शिक्षण कलामा’ के-के समावेश छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

चेला बनाएर मसीहीहरूले परमेश्‍वरलाई असाध्यै माया गर्छु भनेर देखाउँछन्‌

[पृष्ठ २३-मा भएको चित्र]

चेला बनाउन चाहने मसीहीले किन अरूमा चासो लिनैपर्छ?

[पृष्ठ २४-मा भएको चित्र]

चेला बनाउन सिपालु हुन चाहिने केही गुण के-के हुन्‌?

[पृष्ठ २५-मा भएको चित्र]

चेला बनाउने काममा भइरहेको उत्तरोत्तर प्रगति देखेर सबै मसीही खुसी हुन्छन्‌