सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌

चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌

चेला बनाउन सिपालु शिक्षकको अनुकरण गर्नुहोस्‌

“यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ।”—लूका ८:१८.

१, २. पृथ्वीमा हुँदा येशूले मानिसहरूसित गरेको व्यवहारलाई तपाईंले किन ध्यान दिनुपर्छ?

 चेला बनाउने आफ्नो भूमिका पूरा गर्दै महान्‌ शिक्षक येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ।” (लूका ८:१६-१८) येशूको चेला भएकोले अरूलाई सिकाउँदा तपाईंले पनि यो सिद्धान्त पालन गर्नुपर्छ। आध्यात्मिक निर्देशनलाई ध्यान दिएर सुन्‍नुभयो भने तपाईं ती निर्देशन पालन गर्न र प्रभावकारी राज्य उद्‌घोषक बन्‍न सक्नुहुनेछ। हुन त येशूको आवाज अहिले साँच्चै सुन्‍न सकिंदैन तर उहाँले भनेका अनि गरेका कुराहरू बाइबलमा पढ्‌न सकिन्छ। त्यसोभए, पृथ्वीमा हुँदा येशूले मानिसहरूसित गरेको व्यवहारबारे बाइबलमा के लेखिएको छ?

सुसमाचार प्रचार गर्न र बाइबलको कुरा सिकाउन येशू सिपालु हुनुहुन्थ्यो। (लूका ८:१; यूहन्‍ना ८:२८) चेला बनाउन हामीले प्रचार गर्नुका साथै सिकाउनुपर्छ। तर केही मसीहीहरू प्रचार गर्न सिपालु भए तापनि सिकाउन भने त्यत्ति सफल हुन सकेका छैनन्‌। प्रचार गर्दा सन्देश सुनाए मात्र पुग्छ तर यहोवा र उहाँको उद्देश्‍यबारे सिकाउन भने शिक्षक र विद्यार्थी घनिष्ठ हुनु अक्सर आवश्‍यक हुन्छ। (मत्ती २८:१९, २०) तर कसरी घनिष्ठ हुने? चेला बनाउन सिपालु शिक्षक येशूको अनुकरण गरेर।—यूहन्‍ना १३:१३.

३. येशूको अनुकरण गर्दा चेला बनाउने तपाईंको प्रयासमा त्यसको कस्तो असर पर्छ?

येशूले जस्तै सिकाउनुभयो भने प्रेरित पावलले दिएको यो सल्लाह तपाईंले पालन गरिरहेको हुनेछ: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल। हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कलस्सी ४:५, ६) चेला बनाउने काम गर्दा हामीले येशूको अनुकरण गर्ने प्रयास गर्नुपर्छ। यसरी येशूको अनुकरण गर्दै सिकाउँदा व्यक्‍तिविशेषलाई तिनको आवश्‍यकताअनुसार ‘जवाफ दिन’ सक्नुहुनेछ।

येशू बोल्न प्रोत्साहित गर्नुहुन्थ्यो

४. येशूसित अरूको कुरा सुन्‍ने राम्रो बानी थियो भनेर किन भन्‍न सकिन्छ?

सानो छँदादेखि येशू अरूको कुरा सुन्‍नुहुन्थ्यो र उनीहरूलाई आफ्नो विचार व्यक्‍त गर्न प्रोत्साहित गर्नुहुन्थ्यो। जस्तै, १२ वर्षको छँदा उहाँका आमाबाबुले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर “सुन्दै र सोद्धै” गरिरहेको भेट्टाए। (लूका २:४६) येशूले मन्दिरमा आफ्नो ज्ञान प्रदर्शन गरेर शिक्षकहरूलाई अप्ठेरोमा पार्नुभएन। हो, उहाँले प्रश्‍नहरू त सोध्नुभयो तर उहाँले मन्दिरमा मुख्यतः अरूको कुरा सुन्‍नुभयो। उहाँले परमेश्‍वर र मानिसहरूको अनुग्रह पाउनुको एउटा कारण अरूको कुरा सुन्‍ने उहाँको राम्रो बानी पनि हुन सक्छ।—लूका २:५२.

५, ६. येशू आफ्ना चेलाहरूको कुरा सुन्‍नुहुन्थ्यो भनेर हामी कसरी भन्‍न सक्छौं?

बप्तिस्मा लिएर मसीहको रूपमा अभिषिक्‍त भएपछि पनि येशूले मानिसहरूको कुरा सुन्‍ने बानी छोड्‌नुभएन। श्रोतालाई नै बिर्सेर येशू एकोहोरो आफू मात्र बोलेर सिकाउने गर्नुहुन्‍नथ्यो। उहाँ अक्सर एकछिन रोकिनुहुन्थ्यो, श्रोताहरूलाई आफ्नो विचार व्यक्‍त गर्न लगाउनुहुन्थ्यो र तिनीहरूको कुरा सुन्‍नुहुन्थ्यो। (मत्ती १६:१३-१५) जस्तै, मार्थाका भाइ लाजरसको मृत्यु भएपछि उहाँले मार्थालाई यसो भन्‍नुभयो: “बाँच्ने र मलाई विश्‍वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन।” त्यसपछि उहाँले तिनलाई सोध्नुभयो: “के तिमी यो विश्‍वास गछ्‌र्यौ?” अनि मार्थाले “हो प्रभु, तपाईं संसारमा आउने परमेश्‍वरका पुत्र खीष्ट हुनुहुन्छ भनी मैले विश्‍वास गरेकी छु” भनेर जवाफ दिंदा येशूले पक्कै पनि ध्यान दिएर सुन्‍नुभयो। (यूहन्‍ना ११:२६, २७) यसरी मार्थाले आफ्नो विश्‍वास व्यक्‍त गरेको सुन्दा येशू औधी हर्षित हुनुभएको हुनुपर्छ।

एकपटक, थुप्रै चेलाले उहाँलाई त्यागेर हिंडेपछि येशूले प्रेरितहरूको विचार बुझ्न खोज्नुभयो। उहाँले सोध्नुभयो: “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” शिमोन पत्रुसले यस्तो जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा त तपाईंसँग छन्‌, औ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्‍वास गरेका र जानेका छौं।” (यूहन्‍ना ६:६६-६९) प्रेरितहरूको यो कुरा सुनेर येशू धेरै खुसी भएको हुनुपर्छ। हाम्रा बाइबल विद्यार्थीले पनि यस्तै विचार व्यक्‍त गर्दा हामीलाई धेरै खुसी लाग्नेछ।

येशू अरूको आदर गर्दै कुरा सुन्‍नुहुन्थ्यो

७. थुप्रै सामरीले येशूलाई किन विश्‍वास गरे?

येशू मानिसहरूको ख्याल गर्नुहुन्थ्यो र आदरभावसहित तिनीहरूको कुरा सुन्‍नुहुन्थ्यो। उहाँ चेला बनाउन सिपालु हुनुको अर्को कारण यो हो। उदाहरणको लागि, एकपटक सुखारमा याकूबको इनारनेर सामरी आइमाईलाई साक्षी दिंदा येशू आफै मात्र बोलिरहनुभएन; उहाँले सामरी आइमाईको कुरा पनि सुन्‍नुभयो। येशूले तिनमा धर्मप्रतिको झुकाव देख्नुभयो। त्यसैले आत्मा र सत्यतामा पुज्न चाहनेहरूलाई परमेश्‍वर खोज्दै हुनुहुन्छ भनेर उहाँले तिनलाई बताउनुभयो। येशूले तिनलाई आदर गर्नुभयो र चासो देखाउनुभयो। त्यसैले त्यस सामरी आइमाईले येशूको विषयमा अरूलाई बताइन्‌ र तिनको “बातले गर्दा त्यस शहरबाट सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्‍वास गरे।”—यूहन्‍ना ४:५-२९, ३९-४२.

८. मानिसहरूलाई आफ्नो विचार व्यक्‍त गर्न प्रायः मनपर्ने भएकोले कुराकानी थाल्न त्यसले कसरी मदत गर्छ?

मानिसहरू आफूलाई लागेको कुरा प्रायः बताउन चाहन्छन्‌। जस्तै, प्रथम शताब्दीतिरका एथेन्सवासीहरू आफ्नो विचार व्यक्‍त गर्न र नौलो जानकारी सुन्‍न मन पराउँथे। त्यसैले त पावलले एथेन्स सहरको अरैयापागसमा प्रभावकारी भाषण दिन सके। (प्रेरित १७:१८-३४) प्रेरित पावलले जस्तै अहिले तपाईंले पनि यसो भनेर घरधनीसित कुराकानी थाल्न सक्नुहुन्छ: “म यस विषयमा [कुनै खास विषयमा] तपाईंको विचार बुझ्न चाहन्छु।” त्यसपछि तिनको कुरा सुन्‍नुहोस्‌। त्यसबारे केही टिप्पणी गर्नुहोस्‌ वा प्रश्‍न गर्नुहोस्‌। अनि बाइबलले उक्‍त विषयमा के भन्छ, मायालु ढंगमा देखाउनुहोस्‌।

येशू हरेक विषयमा कुरा गर्न सक्नुहुन्थ्यो

९. येशूले ‘धर्मशास्त्रको अर्थ खोलिदिनुअघि’ क्लेओपा र तिनका सहयात्रीलाई के गर्न दिनुभयो?

येशू हरेक विषयमा कुरा गर्न सक्नुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्‍ने बानी त उहाँसित थियो नै, मानिसहरू के सोच्दैछन्‌, त्यो पनि अक्सर येशूलाई थाह हुन्थ्यो र के जवाफ दिनुपर्छ उहाँ जान्‍नुहुन्थ्यो। (मत्ती ९:४; १२:२२-३०; लूका ९:४६, ४७) जस्तै, येशूको पुनरुत्थान भएको केही समयपछि उहाँका दुई चेला यरूशलेमबाट इम्माउसतिर गइरहेका थिए। सुसमाचारको पुस्तक यसो भन्छ: “जब तिनीहरू बातचीत मार्दै सवाल जवाफ गर्दैथिए, तब येशू आफै नजीक आएर तिनीहरूका साथसाथै जानुभयो। तर तिनीहरूले उहाँलाई नचिनून्‌ भनेर तिनीहरूका आँखा बन्द भएका थिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरू हिंड्‌दै आपसमा के कुराको वादविवाद गरिरहेछौ?’ औ तिनीहरू उदास देखिएरै खडा भए। तिनीहरूमध्ये क्लेओपाले उहाँलाई भने, ‘तपाईं यरूशलेममा परदेशी हुनुहुन्छ? र यी दिनमा त्यहाँ भएका घटनाहरू तपाईंलाई थाहै छैन?’ उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘के कुरा?’ ” त्यसपछि तिनीहरूले येशू नाउँ भएको नासरीले मानिसहरूलाई शिक्षा दिएको, चमत्कार गरेको अनि उहाँ मारिएको कुरा बेलिविस्तार लगाए। महान्‌ शिक्षकले ती दुई चेलाको जम्मै कुरा ध्यान दिएर सुन्‍नुभयो। कुराकानीको सिलसिलामा तिनीहरूले येशू मृत्युबाट ब्यूँतनुभयो अरे भनेर पनि बताए। येशूले उत्तिनखेरै त्यो कुरा मिथ्या हो कि तथ्य, प्रस्ट पार्न सक्नुहुन्थ्यो। तर उहाँले क्लेओपा र तिनका सहयात्रीलाई मनको सबै कुरा बताउन दिनुभयो। ती दुई चेलाको जम्मै कुरा सुनेपछि येशूले अन्तमा मात्र ‘धर्मशास्त्रको अर्थ खोलिदिएर’ तिनीहरूले बुझ्नुपर्ने कुरा बताइदिनुभयो।—लूका २४:१३-२७, ३२.

१०. प्रचारमा भेटिने मानिसहरूको धार्मिक आस्था तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ?

१० कहिलेकाहीं कुनै-कुनै घरधनीको धार्मिक आस्थाबारे तपाईंलाई केही पनि थाह नहुन सक्छ। त्यतिखेर तपाईंले “प्रार्थनाबारे मानिसहरूको राय कस्तो छ भनेर बुझ्न खोज्दै छु” भन्दै घरधनीको आस्था पत्ता लगाउन सक्नुहुन्छ। त्यसपछि यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “के तपाईंलाई हाम्रो प्रार्थना कसैले सुनिरहेको छ जस्तो लाग्छ?” घरधनीको जवाफले तिनको दृष्टिकोण र धर्मबारे धेरै कुरा बुझ्न हामीलाई मदत गर्न सक्छ। धर्मकर्ममा आस्था राख्ने व्यक्‍ति रहेछन्‌ भने तिनको दृष्टिकोणबारे अझै अरू कुरा बुझ्न यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “तपाईंको विचारमा के परमेश्‍वरले सबैखाले प्रार्थना सुन्‍नुहुन्छ? अथवा उहाँले नसुन्‍ने खालका प्रार्थना पनि छन्‌ कि?” यस्ता प्रश्‍नहरू सोध्दा घरधनीले धक नमानी कुराकानी गर्न सक्छन्‌। कुराकानीको दौडान, बाइबल पल्टाएर देखाउने मौका पाउनुभयो भने तिनको आस्थामा धक्का नपुग्नेगरि बाइबल पद देखाउनुहोस्‌। घरधनीलाई तपाईंको कुरा मन पऱ्‍यो भने तपाईंसित फेरि भेट्‌न राजी हुन सक्छन्‌। तर घरधनीले तपाईंलाई थाहै नभएको कुरा सोधे भने नि? त्यसोभए, अनुसन्धान गर्नुहोस्‌ र फेरि भेट्‌न गएर “नम्रता र श्रद्धासाथ” ‘आफ्नो आशाको विषयमा जवाफ दिनुहोस्‌।’—१ पत्रुस ३:१५, NRV.

येशू योग्य व्यक्‍तिहरूलाई सिकाउनुहुन्थ्यो

११. सिक्न को योग्य छ अनि को छैन भनेर तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ?

११ परमेश्‍वरको वचन सिक्न को योग्य छ अनि को छैन, सिद्ध पुरुष येशू प्रस्टै थाह पाउन सक्नुहुन्थ्यो। तर हामीसित त्यस्तो क्षमता छैन। त्यसैले “अनन्त जीवनका लागि नियुक्‍त भएका” मानिसहरू खोज्न हामीलाई निकै गाह्रो हुन्छ। (प्रेरित १३:४८) प्रेरितहरूलाई पनि गाह्रो भएको थियो। त्यसैकारण येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनी सोधपूछ गर [“खोज,” NRV]।” (मत्ती १०:११) येशूका प्रेरितहरूले जस्तै तपाईंले पनि बाइबलको कुरा सुन्‍न अनि सिक्न चाहनेहरू को-को छन्‌ भनेर खोज्नैपर्छ। भेटेजति सबैको कुरा ध्यानसित सुनेर अनि तिनीहरूले कस्तो विचार व्यक्‍त गर्छन्‌, त्यो याद गरेर तपाईं योग्य व्यक्‍तिहरूलाई भेट्टाउन सक्नुहुन्छ।

१२. चासो दिने व्यक्‍तिलाई तपाईं कसरी निरन्तर मदत दिन सक्नुहुन्छ?

१२ चासो देखाउने मानिसहरूलाई भेटिसकेपछि तिनलाई बाइबलमा भएका सत्य कुरा कसरी सिकाउने भनेर सोच्नु राम्रो कुरा हो। तपाईंले त्यस व्यक्‍तिबारे याद गर्नुभएका कुराहरू नोट गर्नुभयो भने तिनलाई निरन्तर आध्यात्मिक मदत दिन सक्नुहुनेछ। तिनको आस्था, मनोवृत्ति वा परिस्थितिबारे अझ धेरै कुरा थाह पाउन, पुनःभेट गर्दा ध्यान दिएर सुन्‍नुहोस्‌।

१३. बाइबलबारे मानिसहरूको विचार तपाईं कसरी बुझ्न सक्नुहुन्छ?

१३ मानिसहरूलाई परमेश्‍वरको वचन कस्तो लाग्छ, त्यसबारे बताउन तपाईं कसरी प्रोत्साहन दिन सक्नुहुन्छ? कुनै-कुनै इलाकामा “के तपाईंलाई बाइबलको कुरा बुझ्न गाह्रो लाग्छ?” भनेर सोधे मात्र पनि पुग्छ। आध्यात्मिकताप्रति त्यस व्यक्‍तिको दृष्टिकोण के छ, उक्‍त प्रश्‍नको जवाफले बुझ्न मदत गर्छ। अर्को तरिका बाइबल पद पढ्‌नु र “यो कुरा तपाईंलाई कस्तो लाग्यो?” भनेर सोध्नु हो। तपाईंले पनि येशूले जस्तै उपयुक्‍त प्रश्‍नहरू सोधेर प्रचार कार्यमा राम्रा नतिजाहरू प्राप्त गर्न सक्नुहुनेछ। तर एउटा कुरामा भने होसियार हुनैपर्छ।

येशू प्रभावकारी तरिकामा प्रश्‍नहरू प्रयोग गर्नुहुन्थ्यो

१४. मानिसहरूलाई केरकार नगरीकन तपाईं कसरी तिनीहरूको विचार बुझ्न सक्नुहुन्छ?

१४ मानिसहरूलाई अप्ठेरोमा नपारीकन तिनको विचार बुझ्न खोज्नुहोस्‌। यस सन्दर्भमा येशूको अनुकरण गर्नुहोस्‌। किनकि येशू मानिसहरूलाई केरकार गरेर प्रश्‍न गर्नुहुन्‍नथ्यो; बरु विचार गर्नुपर्ने खालका चाखलाग्दा प्रश्‍नहरू सोध्नुहुन्थ्यो। येशू दयालु हुनुहुन्थ्यो त्यसैले मानिसहरू उहाँलाई आफ्नो मनको कुरा बताउन सजिलो मान्थे। (मत्ती ११:२८) थरी-थरीका मानिसहरू उहाँसित निर्धक्क भएर आफ्नो चिन्ता पोख्न सक्थे। (मर्कूस १:४०; ५:३५, ३६; १०:१३, १७, ४६, ४७) त्यसैगरि, मानिसहरूले बाइबल अनि बाइबलको शिक्षाबारे आफूलाई लागेको कुरा अप्ठेरो नमानी बताऊन्‌ भन्‍ने चाहनुहुन्छ भने तिनीहरूलाई केरकार गरेर सोधपूछ गर्ने बानी तपाईंले छोड्‌नैपर्छ।

१५, १६. तपाईं मानिसहरूसित धर्मको विषयमा कुराकानी कसरी थाल्न सक्नुहुन्छ?

१५ प्रभावकारी तरिकामा प्रश्‍न सोध्नुका साथै केही रोचक कुरा बताएर र तिनको जवाफ सुनेर पनि तपाईं मानिसहरूलाई कुराकानी गर्न प्रोत्साहन दिन सक्नुहुन्छ। उदाहरणको लागि येशूले निकोदेमसलाई भन्‍नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्नसक्‍तैन।” (यूहन्‍ना ३:३) येशूका यी शब्दहरू यत्ति रोचक थिए कि निकोदेमस नबोलीकन अनि येशूको कुरा नसुनीकन बस्नै सकेनन्‌। (यूहन्‍ना ३:४-२०) तपाईं पनि मानिसहरूलाई त्यसैगरि कुरा गर्न प्रोत्साहित गर्न सक्नुहुन्छ।

१६ हिजोआज अफ्रिका, पूर्वी युरोप अनि ल्याटिन अमेरिकाजस्ता थुप्रै मुलुकमा च्याउसरी उम्रिरहेका नयाँ-नयाँ धर्म चर्चाको विषय भएको छ। यस्तै इलाकामा तपाईं यसरी कुराकानी थाल्न सक्नुहुन्छ: “नानाभाँतिका नयाँ धर्म देखेर मलाई चिन्ता लागिरहेको छ। तर चाँडै सबै जातिका मानिसले एउटै साँचो धर्म मान्‍नेछन्‌ भन्‍ने आशा मैले राखेको छु। के तपाईंलाई पनि त्यस्तै होस्‌ जस्तो लाग्छ?” यसरी तपाईंले आफ्नो आशाबारे घरधनीले सोच्दै नसोचेको कुरा गरेर तिनलाई आफ्नो विचार व्यक्‍त गर्न लगाउन सक्नुहुन्छ। अनि हो वा होइन जस्तो एक शब्दमा जवाफ दिए पुग्ने प्रश्‍नहरू सोध्दा मानिसहरूलाई त्यसको जवाफ दिन सजिलो लाग्छ। (मत्ती १७:२५) घरधनीले तपाईंको प्रश्‍नको जवाफ दिएपछि एउटा वा दुइटा शास्त्रपद देखाउँदै कुरा गर्नुहोस्‌। (यशैया ११:९; सपन्याह ३:९) यतिखेर घरधनीले कुरा गर्दा ध्यान दिएर सुन्‍नुभयो र तिनको विचारधारा याद गर्नुभयो भने अर्को पटक कुन विषयमा कुरा गर्ने, त्यो निधो गर्न तपाईंलाई सजिलो हुन सक्छ।

येशू केटाकेटीको कुरा सुन्‍नुहुन्थ्यो

१७. येशू केटाकेटीको पनि कुरा सुन्‍न इच्छुक हुनुहुन्थ्यो भनेर कसरी थाह पाउन सक्छौं?

१७ वयस्कको मात्र होइन, येशू केटाकेटीको पनि कुरा सुन्‍न इच्छुक हुनुहुन्थ्यो। केटाकेटीहरू कस्ता खेल खेल्छन्‌ र के कुरा गर्छन्‌, त्यो येशूलाई थाह थियो। कहिलेकाहीं येशू केटाकेटीलाई नजिक आओ भनेर निम्तो पनि दिनुहुन्थ्यो। (लूका ७:३१, ३२; १८:१५-१७) येशूको उपदेश सुन्‍ने जमातमा केटाकेटी पनि थुप्रै हुन्थे। साना केटाहरूले ठूलो स्वरमा मसीहको प्रशंसा गर्दा येशूले त्यो याद गर्नुभयो र त्यसै हुनेछ भनेर भविष्यवाणी गरिएको थियो भनेर उल्लेख गर्नुभयो। (मत्ती १४:२१; १५:३८; २१:१५, १६) अहिले थुप्रै केटाकेटी येशूका चेला बनिरहेका छन्‌। केटाकेटीलाई येशूका चेला बन्‍न तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१८, १९. छोराछोरीलाई येशूको चेला बन्‍न तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

१८ छोराछोरीलाई आध्यात्मिक तवरमा मदत गर्न तपाईंले उसको कुरा सुन्‍नैपर्छ। उसले के सोच्छ र उसको कुन-कुन सोचाइ यहोवाको सोचाइसित मेल खाँदैन, त्यो तपाईंलाई थाह भएकै हुनुपर्छ। छोराछोरीले जेसुकै भने तापनि झिंजो नमानीकन पहिले उसको प्रशंसा गर्नुहोस्‌! त्यसपछि उपयुक्‍त शास्त्रपद देखाएर उसलाई यहोवाको विचार बुझाउनुहोस्‌।

१९ वयस्क मानिसको जस्तै केटाकेटीको पनि विचार वा भावना बुझ्न प्रश्‍न सोध्न सकिन्छ। तर वयस्कलाई जस्तै केटाकेटीलाई पनि केरकार गरेर सोधपूछ गरेको मन पर्दैन। त्यसैले छोराछोरीलाई तीनथुप्रो गाह्रो प्रश्‍न सोध्नुको साटो आफ्नो विषयमा केही कुरा बताए कसो होला? जस्तै, विषय हेरेर त्यसबारे आफूलाई कुनै समय कस्तो लाग्थ्यो र किन, त्यो बताउनुहोस्‌। त्यसपछि “के तिमीलाई पनि त्यस्तै लाग्छ?” भनेर सोध्नुहोस्‌। यसरी प्रश्‍न सोध्यो भने छोराछोरीलाई जवाफ दिन सजिलो हुनेछ र तपाईंले ऊसित प्रोत्साहनदायी अनि मदतकारी छलफल गर्ने मौका पनि सायद पाउनुहुनेछ।

चेला बनाउन सिपालु शिक्षकको अनुकरण गरिरहनुहोस्‌

२०, २१. चेला बनाउने काम गर्दा अरूको कुरा राम्ररी सुन्‍नु किन जरुरी छ?

२० छोराछोरीसित छलफल गर्दा होस्‌ वा अरूसित, उनीहरूको कुरा राम्ररी सुन्‍नु अत्यन्तै जरुरी छ। यसो गर्नु वास्तवमा उनीहरूलाई माया गर्नु हो। उनीहरूको कुरा सुनिदिंदा तपाईंले एकातिर नम्रता देखाइरहेको हुन्छ भने अर्कोतिर बोल्ने व्यक्‍तिलाई आदर र मायालु चासो पनि देखाइरहेको हुन्छ। हो, मानिसहरूले बोल्दा उनीहरू कस्ता विचार वा भावना पोख्दैछन्‌, त्यसलाई पनि ध्यान दिनैपर्छ।

२१ चेला बनाउने काममा व्यस्त हुँदा घरधनीको कुरा सधैं ध्यानसित सुन्‍ने गर्नुहोस्‌। तिनको कुरा ध्यानसित सुन्‍नुभयो भने बाइबलको कुनचाहिं कुरा बताउँदा तिनीहरूलाई आकर्षक लाग्नेछ, त्यो तपाईंले राम्ररी बुझ्न सक्नुहुनेछ। त्यसपछि येशूले जस्तै विभिन्‍न तरिका प्रयोग गर्दै सिकाउने कोसिस गर्नुहोस्‌। यसो गर्दा तपाईंले चेला बनाउन सिपालु शिक्षकको अनुकरण गरिरहनुभएको हुनेछ र आफ्नो सेवाको कामबाट आनन्द अनि सन्तुष्टि पाउनुहुनेछ। (w 07 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मानिसहरूलाई आफ्नो विचार व्यक्‍त गर्न येशूले कसरी प्रोत्साहन दिनुभयो?

• येशू किन आफ्ना चेलाहरूको कुरा सुन्‍नुहुन्थ्यो?

• प्रचार कार्यमा तपाईं कसरी प्रश्‍नहरू चलाउन सक्नुहुन्छ?

• छोराछोरीलाई आध्यात्मिक तवरमा मदत गर्न तपाईं के गर्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

प्रचार गर्दा अरूको कुरा सुन्‍नुहोस्‌

[पृष्ठ ३०-मा भएको चित्र]

छोराछोरीलाई आध्यात्मिक तवरमा मदत गर्दा हामीले येशूको अनुकरण गरिरहेका हुन्छौं