सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यहोवाको नाममा शरण लिनुहोस्‌”

“यहोवाको नाममा शरण लिनुहोस्‌”

“यहोवाको नाममा शरण लिनुहोस्‌”

“एउटा दीन र नम्र जातिलाई म छोडिराख्नेछु, र तिनीहरूले परमप्रभुको नाउँमा विश्‍वास गर्नेछन्‌ [ ‘यहोवाको नाममा शरण लिनेछन्‌,’ NW]।”—सप. ३:१२.

१, २. अब चाँडै कस्तो प्रतीकात्मक आँधीबेहरीले मानवजातिलाई प्रहार गर्नेछ?

 आँधीबेहरी आएकोले वा बेस्सरी असिना परेकोले के तपाईंले कहिल्यै पुलमुनि शरण लिनुपरेको छ? आँधीबेहरी आउँदा वा असिना पर्दा पुलमुनि ओत लिए मात्र पुग्न सक्छ तर भुमरी वा तुफान आउँदा भने पुलमुनि ओत लिएर मात्र नपुग्न सक्छ।

तर एउटा बेग्लै किसिमको आँधीबेहरी आउँदैछ जसले मानिसजातिको अस्तित्वलाई समेत खतरामा पार्छ। यो ‘बर्बादीको दिन’ अर्थात्‌ प्रतीकात्मक आँधीबेहरीको दिन हो। यहोवाको यस “भयानक दिन”-ले सम्पूर्ण मानवजातिलाई असर गर्नेछ। तर यसबेला हामी शरण पाउन सक्छौं। ( सपन्याह १:१४-१८ पढ्‌नुहोस्‌) अब चाँडै सुरु हुने यहोवाको “क्रोधको दिनमा” हामी कसरी शरण लिन सक्छौं?

बाइबलकालीन आँधीबेहरीको दिन

३. इस्राएलको दस-गोत्रे राज्यमाथि कस्तो भयानक “आँधीबेह्री” आयो?

यहोवाको दिनको सुरुवातमा पृथ्वीका सम्पूर्ण झूटा धर्मको विनाश हुनेछ। त्यसबेला कसरी शरण पाउन सकिन्छ भनी बुझ्न हामी परमेश्‍वरका पुरातन जनहरूको इतिहासलाई हेर्न सक्छौं। ईसापूर्व आठौं शताब्दीका यशैयाले इस्राएलको धर्मत्यागी दस-गोत्रे राज्यमाथि आएको यहोवाको न्यायलाई मानिसहरूले रोक्न नसक्ने भयानक “आँधीबेह्री”-सित तुलना गरे। ( यशैया २८:१, २ पढ्‌नुहोस्‌) अश्‍शूरले ती राज्यमाथि आक्रमण गर्दा उक्‍त भविष्यवाणी ईसापूर्व ७४० मा पूरा भयो र ती दस-गोत्रमध्ये एप्रैम सबैभन्दा प्रमुख थियो।

४. ईसापूर्व ६०७ मा यहोवाको “भयानक दिन”-ले यरूशलेममाथि कस्तो प्रहार गऱ्‍यो?

पछि ईसापूर्व ६०७ मा यरूशलेम र यहूदा राज्यविरुद्ध यहोवाको “भयानक दिन” आउँदा अविश्‍वासी इस्राएलले न्याय भोग्नुपऱ्‍यो। यहूदाका मानिसहरू पनि धर्मत्यागी भएकोले त्यस्तो घटना घटेको थियो। नबूकदनेसरको अधीनमा भएका बेबिलोनीहरूले यहूदा र यसको राजधानी यरूशलेमलाई धम्क्याए। ती यहूदावासीहरूले “झूटको शरणस्थान” अर्थात्‌ मिश्रसितको राजनैतिक गठबन्धनसित मदत मागेका थिए। तथापि, विनाशकारी असिनाले जस्तै बेबिलोनीहरूले त्यस “शरणस्थान”-लाई बगाइदिए।—यशै. २८:१४, १७.

५. सम्पूर्ण झूटा धर्मको विनाश हुँदा परमेश्‍वरका जनलाई सामूहिक रूपमा के हुनेछ?

यरूशलेममाथि प्रहार गरेको यहोवाको भयानक दिन, हाम्रो समयमा धर्मत्यागी चर्चजगत्‌माथि आउने न्यायको सङ्‌केत थियो। साथै “महान्‌ बेबिलोन” अर्थात्‌ झूटा धर्मको विश्‍व साम्राज्यको बाँकी भाग नाश हुनेछ। त्यसपछि सैतानको दुष्ट संसारको बाँकी भागहरूलाई विनाश गरिनेछ। तर सामूहिक रूपमा परमेश्‍वरका जन बच्नेछन्‌ किनभने तिनीहरूले यहोवामा शरण लिइरहेका छन्‌।—प्रका. ७:१४; १८:२, ८; १९:१९-२१.

प्रतीकात्मक र शाब्दिक शरण

६. यहोवाका जनले कसरी शरण पाउन सक्छन्‌?

परमेश्‍वरका जनले अहिले यस अन्तको समयको दौडान पनि कसरी शरण पाउन सक्छन्‌? प्रार्थनापूर्वक “[परमेश्‍वरको] नाउँको सोच” गरेर अनि जोसिलो भई उहाँको सेवा गरेर हामी प्रतीकात्मक शरण पाउँछौं। ( मलाकी ३:१६-१८ पढ्‌नुहोस्‌) तर परमेश्‍वरको नामको सोच गरेर मात्र पुग्दैन भनी हामी बुझ्न सक्छौं। यस्तो लेखिएको छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।” (रोमी १०:१३) यहोवाको नाम पुकार्नु र उहाँबाट उद्धार पाउनुबीच सम्बन्ध छ। असल मन भएका थुप्रै मानिसले उहाँको साक्षीको रूपमा सेवा गर्ने साँचो ख्रीष्टियनहरू र उहाँको सेवा नगर्नेहरूबीचको भिन्‍नता देख्न सक्छन्‌। अनि यी साँचो ख्रीष्टियनहरूले श्रद्धापूर्वक “उहाँको नाउँको सोच” गरिरहेका छन्‌।

७, ८. प्रथम शताब्दीका ख्रीष्टियनहरूले कुन अर्थमा शाब्दिक रूपमै उद्धार पाए र आज पनि कस्तो समानता छ?

हाम्रो उद्धार भनेको प्रतीकात्मक शरण पाउनु मात्र होइन। परमेश्‍वरका जनलाई शाब्दिक अर्थमै उद्धार गर्ने प्रतिज्ञा गरिएको छ। यसको उदाहरण हामी इस्वी संवत्‌ ६६ मा सेस्टियस ग्यालसको नेतृत्वमा आएको रोमी फौजले यरूशलेमलाई आक्रमण गरेपछि भएको घटनामा देख्छौं। येशूले त्यस महासङ्‌कष्टको दिन “घटाइनेछन्‌” भनी भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१५, १६, २१, २२) यो भविष्यवाणी त्यतिबेला पूरा भयो जब रोमी फौज सहरलाई घेरा हाल्न छोडेर अचानक फर्क्यो, जसले गर्दा केही “मानिस,” खासगरि साँचो ख्रीष्टियनहरू ‘बच्न’ सके। तिनीहरू उक्‍त सहर र वरपरका इलाका छोडेर भाग्न सफल भए। कोही-कोही यर्दन पारि गए अनि त्यस नदीको पूर्वपट्टिका डाँडाहरूमा शरण पाए।

ती ख्रीष्टियनहरू र आज परमेश्‍वरका जनबीच हामी समानता पाउन सक्छौं। विगतमा प्रथम शताब्दीका ख्रीष्टियनहरूले शरण खोजे र परमेश्‍वरका अहिलेका सेवकहरूले पनि त्यस्तै गर्नेछन्‌। तर यस पटक भने कुनै खास भौगोलिक स्थानमा भाग्नुपर्ने छैन किनभने साँचो ख्रीष्टियनहरू संसारभरि छरिएका छन्‌। तैपनि धर्मत्यागी चर्चजगत्‌को विनाश हुँदा यहोवा र उहाँको डाँडारूपी सङ्‌गठनमा शरण लिएर ती “चुनिएकाहरू” र तिनीहरूका वफादार सँगीहरू सामूहिक रूपमा शाब्दिक रूपमै बच्नेछन्‌।

९. कसले यहोवाको नाम मेटाउन प्रयास गरेका छन्‌? एउटा उदाहरण दिनुहोस्‌।

अर्कोतर्फ, आफ्ना अनुयायीहरूलाई परमेश्‍वरबारे नसिकाएकोले र परमेश्‍वरको नामलाई घृणा गरेकोले चर्चजगत्‌ आउनै लागेको विनाश भोग्न योग्यको छ। तर मध्ययुगमा परमेश्‍वरको व्यक्‍तिगत नाम युरोपभरि निकै चलनचल्तीमा थियो। त्यो नामलाई टेट्राग्रामाटन भनिने चार हिब्रू अक्षरले सङ्‌केत गर्छ र त्यसलाई अङ्‌ग्रेजीमा अक्सर YHWH (वा JHVH) भनेर लेखिन्छ। यो नाम सिक्कामा, घरको अगाडिको भित्तामा, थुप्रै पुस्तक तथा बाइबलमा अनि केही क्याथोलिक र प्रोटेस्टेन्ट चर्चहरूमा समेत देखिन्थ्यो। तर आजकल भने बाइबल अनुवाद र अन्य ठाउँबाट परमेश्‍वरको नामलाई हटाउन थालिएको छ। जस्तो कि, जून २९, २००८ मितिको आधिकारिक पत्रद्वारा रोमन क्याथोलिक चर्चले टेट्राग्रामाटनको ठाउँमा “परमप्रभु” राख्ने निर्देशन दियो। भ्याटिकनले पनि क्याथोलिक धार्मिक समारोहको भजन र प्रार्थनामा परमेश्‍वरको व्यक्‍तिगत नामको प्रयोग वा उच्चारण नगर्न निर्देशन दियो। अनि चर्चजगत्‌का र अन्य धर्मका नेताहरूले पनि आफ्ना लाखौं उपासकहरूबाट साँचो परमेश्‍वरको चिनारी लुकाएका छन्‌।

परमेश्‍वरको नाम पवित्र पार्नेहरूका लागि सुरक्षा

१०. आज परमेश्‍वरको नामको कसरी आदर गरिंदैछ?

१० अन्य धर्मको विपरीत यहोवाका साक्षीहरू परमेश्‍वरको नामको आदर र महिमा गर्छन्‌। यसलाई मर्यादित तरिकाले प्रयोग गरेर उनीहरू यो नाम पवित्र पार्छन्‌। यहोवामाथि भरोसा राख्नेहरू देखेर उहाँ रमाउनुहुन्छ अनि आफ्ना जनलाई आशिष्‌ दिन र बचाउन उहाँ जेसुकै बन्‍न सक्नुहुन्छ। “उहाँमाथि भरोसा राख्नेहरूलाई [अर्थात्‌, “उहाँमा शरण लिनेहरूलाई,” NW] उहाँले चिन्‍नुहुन्छ।”—नहू. १:७; प्रेषि. १५:१४.

११, १२. प्राचीन यहूदामा यहोवाप्रति विश्‍वासी रहनेहरू को थिए र वर्तमान समयमा कसले यस्तै गरेका छन्‌?

११ प्राचीन यहूदाका धेरैजसो मानिस धर्मत्यागी भए तापनि “परमप्रभुको नाउँमा विश्‍वास गर्ने” अर्थात्‌ यहोवाको नाममा शरण लिनेहरू कोही-कोही थिए। ( सपन्याह ३:१२, १३ पढ्‌नुहोस्‌) हो, परमेश्‍वरले बेबिलोनीहरूलाई अविश्‍वासी यहूदामाथि कब्जा जमाउन र त्यहाँका मानिसहरूलाई कैदमा लान दिनुभयो। यहूदालाई यसरी सजाय दिए तापनि यर्मिया, बारूक र एबेद-मेलेकजस्ता केही व्यक्‍तिलाई भने बचाउनुभयो। तिनीहरू धर्मत्यागी राष्ट्रको “बीचमा” बसिरहेका थिए। कतिपय भने कैदमा हुँदा विश्‍वासी भइरहे। ईसापूर्व ५३९ मा कोरेसको नेतृत्वमा आएको मादी र फारसले बेबिलोनलाई परास्त गऱ्‍यो। धेरै समय बित्न नपाउँदै कोरेसले बाँकी रहेका यहूदीहरू आफ्नो मातृभूमि फर्कन सक्ने उर्दी जारी गरे।

१२ साँचो उपासनाको पुनःस्थापनाबाट लाभ उठाउनेहरूलाई यहोवाले बचाउनुहुनेछ र तिनीहरूलाई देखेर उहाँ रमाउनुहुनेछ भनेर सपन्याहले भविष्यवाणी गरे। ( सपन्याह ३:१४-१७ पढ्‌नुहोस्‌) हाम्रो समयमा पनि यो साँचो साबित भएको छ। स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भएपछि यहोवाले अभिषिक्‍त जनमध्ये बाँकी रहेका विश्‍वासी जनलाई महान्‌ बेबिलोनको झूटा धार्मिक शिक्षाहरूबाट छुटकारा दिनुभयो। अनि अहिलेसम्म पनि उहाँ तिनीहरूलाई देखेर रमाउनुहुन्छ।

१३. सबै राष्ट्रका मानिसहरूले कस्तो मुक्‍ति पाइरहेका छन्‌?

१३ पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरू पनि महान्‌ बेबिलोनबाट निस्केका छन्‌ र झूटा धार्मिक शिक्षाहरूबाट मुक्‍त भएका छन्‌। (प्रका. १८:४) त्यसैले, “हे पृथ्वीका दीन जन हो . . . परमप्रभुको [“यहोवाको,” NW] खोजी गर” भन्‍ने सपन्याह २:३ मा गरिएको भविष्यवाणीको मुख्य पूर्ति अहिले हाम्रो समयमा भइरहेको छ। चाहे स्वर्गको आशा होस्‌ या पृथ्वीको, सबै राष्ट्रका दीन जन अर्थात्‌ नम्रहरूले अहिले यहोवाको नाममा शरण लिइरहेका छन्‌।

परमेश्‍वरको नाम कुनै जन्तर होइन

१४, १५. (क) कसै-कसैले जन्तरको रूपमा के प्रयोग गर्छन्‌? (ख) शुभ-लक्षणको रूपमा के प्रयोग गर्नु हुँदैन?

१४ केही इस्राएलीहरूको सोचाइमा उनीहरूलाई शत्रुहरूबाट जोगाउने जन्तर भनेको मन्दिर थियो। (यर्मि. ७:१-४) पहिले पनि इस्राएलीहरूले करारको सन्दूकलाई युद्धमा तिनीहरूलाई जोगाउने शुभ-लक्षण ठानेका थिए। (१ शमू. ४:३, १०, ११) महान्‌ कन्स्टेन्टाइनले युद्धमा आफ्ना सिपाहीहरूको सुरक्षा हुने आशामा तिनीहरूको ढालमा ग्रीक अक्षरहरू, खीरो कोरे। यी अक्षरहरू ग्रीकमा “ख्रीष्ट” भन्‍ने पदवीको सुरुका दुई अक्षर थिए। अनि ‘तीस वर्षीय युद्ध’ लडेका स्वीडेनका राजा गुस्ताफ अडोल्फ द्वितीयले पृष्ठ ७ मा देखाइएको कवच लगाएका थिए भन्‍ने अनुमान गरिएको छ। याद गर्नुहोस्‌, त्यस कवचमा इहोवा (Iehova) नाम प्रस्टै देखिनेगरि कोरिएको छ।

१५ दुष्ट स्वर्गदूतहरूले आक्रमण गर्दा परमेश्‍वरका केही सेवकहरूले ठूलो स्वरमा यहोवाको नाम लिएर उहाँमा शरण पाएका छन्‌। तैपनि परमेश्‍वरको नाम भएको कुनै वस्तुलाई जन्तरको रूपमा लिनु हुँदैन वा त्यसमा सुरक्षा दिने शक्‍ति छ भन्ठानी त्यसलाई शुभ-लक्षणको रूपमा प्रयोग गर्नु हुँदैन। यहोवाको नाममा शरण लिनुको अर्थ यो होइन।

आज हामी कसरी शरण लिन्छौं?

१६. आज हामी कसरी प्रतीकात्मक रूपमा शरण लिन सक्छौं?

१६ आज परमेश्‍वरका जनहरूले सामूहिक रूपमा पाइरहेको प्रतीकात्मक सुरक्षित अवस्थामा हामी शरण पाउँछौं। (भज. ९१:१) यस सुरक्षालाई खतरामा पार्न सक्ने लहडहरूबारे “विश्‍वासी र बुद्धिमान्‌ दास” अनि मण्डलीका एल्डरहरूले हामीलाई सजग गराउँछन्‌। (मत्ती २४:४५-४७; यशै. ३२:१, २) भौतिकवादबारे हामीले कति पटक चेतावनी सुनिसकेका छौं, सोच्नुहोस्‌ त! अनि त्यस्ता चेतावनीले परमेश्‍वरसितको हाम्रो सम्बन्ध बिग्रनदेखि कसरी सुरक्षा दिएको छ, विचार गर्नुहोस्‌ त! अनि यहोवाको सेवामा निष्क्रिय पार्न सक्ने निश्‍चिन्त मनोभाव विकास गर्नुका खतराबारे के भन्‍न सकिन्छ? परमेश्‍वरको वचन भन्छ: “निर्बुद्धिहरूचाहिं आफ्नै निश्‍चिन्तताले गर्दा नाश हुन्छन्‌। तर जसले मेरा वचन सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।” (हितो. १:३२, ३३) नैतिक रूपमा स्वच्छ रहने प्रयास गरेर पनि हामी प्रतीकात्मक रूपमा सुरक्षित रहिरहन मदत पाउँछौं।

१७, १८. आज लाखौंलाई यहोवाको नाममा शरण लिन केले मदत गरिरहेको छ?

१७ सारा पृथ्वीमा राज्यको सुसमाचार प्रचार गर भनी येशूले दिएको आज्ञा पालन गर्न विश्‍वासी दासले दिएको प्रोत्साहनबारे पनि विचार गर्नुहोस्‌। (मत्ती २४:१४; २८:१९, २०) मानिसहरूलाई परमेश्‍वरको नाममा शरण लिन मदत गर्ने एउटा परिवर्तनबारे सपन्याहले उल्लेख गरे। हामी यस्तो लेखिएको पाउँछौं: “त्यस बेला देश-देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको [“यहोवाको,” NW] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।”—सप. ३:९.

१८ यो शुद्ध भाषा के हो? यो शुद्ध भाषा यहोवाको प्रेरित वचनमा पाइने उहाँ र उहाँको उद्देश्‍यबारे सत्य कुरा हो। अरूलाई परमेश्‍वरको राज्यबारे सही कुरा बताउँदा र यसले कसरी उहाँको नाम पवित्र पार्नेछ भनी बुझाउँदा, परमेश्‍वरको सार्वभौमिकता उच्च पार्ने कुरालाई जोड दिंदा र विश्‍वासी मानिसहरूले पाउने अनन्त आशिष्‌बारे रमाइलो कुराकानी गर्दा तपाईंले शुद्ध भाषा बोलिरहनुभएको हुनेछ। थुप्रैले यो प्रतीकात्मक भाषा बोलिरहेकोले गर्दा बढ्‌दो सङ्‌ख्याले ‘यहोवाको नाम पुकारिरहेका छन्‌’ र “एकै हृदयको भएर” अर्थात्‌ काँधमा काँध मिलाएर उहाँको सेवा गरिरहेका छन्‌। हो, संसारभरि अहिले लाखौंले यहोवामा शरण पाइरहेका छन्‌।—भज. १:१, ३.

१९, २०. बाइबल समयमा “झूटको शरणस्थान”-मा भर पर्नु कसरी बेकार साबित भयो?

१९ संसारमा मानिसहरूले पार लगाउनै नसकिने जस्ता समस्याहरूको सामना गर्नुपरेको छ। समस्याहरूले गर्दा व्याकुल भएर थुप्रैले समाधानको लागि परमेश्‍वरको स्तरबाट चुकेका मानिसहरूको मुख ताक्छन्‌। अथवा प्राचीन इस्राएल कहिलेकाहीं मदतको लागि छिमेकी राष्ट्रहरूसित गठबन्धन गरेर तिनीहरूमा भर परेझैं अहिलेका मानिसहरू पनि समाधानको लागि राजनैतिक सङ्‌गठनमा भर पर्छन्‌। तर तपाईंलाई थाहै छ त्यसो गर्दा इस्राएललाई कुनै फाइदा भएन। आज पनि कुनै सरकार वा संयुक्‍त राष्ट्रसङ्‌घले मानिसजातिका समस्याहरू पूर्ण रूपमा समाधान गर्न सक्नेछैन। त्यसोभए राजनैतिक सङ्‌गठन र तिनीहरूसितको गठबन्धनलाई शरणस्थानको रूपमा लिएर केही फाइदा हुन्छ र? बाइबलले भविष्यसूचक ढङ्‌गमा तिनीहरूलाई “झूटको शरणस्थान” भनेको छ। तपाईंले तिनीहरूप्रति यस्तै दृष्टिकोण राख्नु उचित हो किनकि तिनमा आशा राख्ने सबै जना निराश मात्र हुनेछन्‌। यशैया २८:१५, १७ पढ्‌नुहोस्‌।

२० चाँडै यहोवाको दिनको प्रतीकात्मक असिनाले पृथ्वीमाथि प्रहार गर्नेछ। मानव परियोजना, आणविक सुरक्षा वा धनले मानिसलाई बचाउन सक्नेछैन। यशैया २८:१७ भन्छ: “असिनाले झूटको शरणस्थान बगाएर लैजानेछ, र पानीले लुक्ने ठाउँ डुबाइदिनेछ।”

२१. सन्‌ २०११ को वार्षिक पदअनुसार चल्दा हामी कस्तो लाभ उठाउन सक्छौं?

२१ अहिले र भविष्यमा पनि परमेश्‍वरका जनहरूले आफ्ना परमेश्‍वर यहोवामा साँचो सुरक्षा पाउनेछन्‌। “यहोवाले लुकाउनुभएको छ” अर्थ लाग्ने सपन्याहको नामले लुक्ने ठाउँ यहोवा नै हुनुहुन्छ भनेर सङ्‌केत गर्छ। त्यसैले सन्‌ २०११ को वार्षिक पदले भनेझैं “यहोवाको नाममा शरण लिनुहोस्‌” भन्‍ने बुद्धिमानी सल्लाह उपयुक्‍त छ। (सप. ३:१२, NW) अहिले पनि विश्‍वस्त भएर उहाँमाथि भरोसा राख्दै हामी यहोवाको नाममा शरण लिन सक्छौं र लिनु पनि पर्छ। (भज. ९:१०) यस प्रेरित आश्‍वासनलाई हामी दिनहुँ सम्झिराखौं: “परमप्रभुको [“यहोवाको,” NW] नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।”—हितो. १८:१०.

के तपाईंलाई याद छ?

• हामी अहिले कसरी यहोवाको नाममा शरण लिन सक्छौं?

• हामी किन “झूटको शरणस्थान”-मा भर पर्नु हुँदैन?

• भविष्यमा हाम्रो लागि कस्तो शरणस्थानको आश्‍वासन दिइएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २०११ को वार्षिक पद हो: “यहोवाको नाममा शरण लिनुहोस्‌।” — सपन्याह ३:१२, NW.

[पृष्ठ ७-मा भएको चित्रको स्रोत]

Thüringer Landesmuseum Heidecksburg Rudolstadt, Waffensammlung “Schwarzburger Zeughaus”