सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌

विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌

विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌

“यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।”—उत्प. २:२४.

१. यहोवा किन हाम्रो आदरको योग्य हुनुहुन्छ?

 विवाहका आरम्भक यहोवा परमेश्‍वर साँच्चै हाम्रो आदरको योग्य हुनुहुन्छ। हाम्रो सृष्टिकर्ता, सार्वभौम र स्वर्गमा बस्नुहुने बुबा भएकोले “हरेक असल वरदान र हरेक उत्तम उपहार” दिने व्यक्‍ति उहाँ नै हुनुहुन्छ भनी सही वर्णन गरिएको छ। (याकू. १:१७; प्रका. ४:११) यसरी उहाँले आफ्नो महान्‌ प्रेम देखाउनुभएको छ। (१ यूह. ४:८) उहाँले हामीलाई जे-जति सिकाउनुभएको छ, हामीबाट जे-जति माग गर्नुभएको छ, हामीलाई जे-जति दिनुभएको छ ती सबै हाम्रै हित र फाइदाका लागि हुन्‌।—यशै. ४८:१७.

२. यहोवाले पहिलो विवाहित दम्पतीलाई कस्तो निर्देशन दिनुभयो?

परमेश्‍वरले दिनुभएका “असल” वरदानमध्ये विवाह पनि हो भनी बाइबल बताउँछ। (हितो. १९:१४) पहिलो विवाह गराइदिंदा यहोवाले आदम र हव्वालाई विवाह सफल बनाउन सुस्पष्ट निर्देशन दिनुभयो। ( मत्ती १९:४-६ पढ्‌नुहोस्‌) परमेश्‍वरको निर्देशन पछ्याएका भए तिनीहरू सधैंका लागि खुसी हुन सक्ने थिए। तर तिनीहरूले मूर्ख भई परमेश्‍वरको आज्ञा अवहेलना गरे र दुःखदायी परिणाम भोगे।—उत्प. ३:६-१३, १६-१९, २३.

३, ४. (क) आज धेरैले विवाह अनि यहोवा परमेश्‍वर दुवैको कसरी अनादर गरिरहेका छन्‌? (ख) हामी यस लेखमा कस्ता उदाहरणहरू विचार गर्नेछौं?

त्यस पहिलो दम्पतीले जस्तै आज धेरैले वैवाहिक जीवनमा निर्णयहरू गर्नुपर्दा यहोवाको डोऱ्‍याइको खासै वास्ता गर्दैनन्‌ वा पटक्कै वास्ता गर्दैनन्‌। कतिले वैवाहिक बन्धनलाई ठाडै इन्कार गर्छन्‌ भने कतिले विवाहलाई आफ्नै इच्छाअनुसारको परिभाषा दिन खोज्छन्‌। (रोमी १:२४-३२; २ तिमो. ३:१-५) तिनीहरू विवाह परमेश्‍वरको वरदान हो भन्‍ने यथार्थलाई बेवास्ता गर्छन्‌ अनि यस वरदानको अनादर गरेर यस वरदान दिने यहोवा परमेश्‍वरको पनि अनादर गर्छन्‌।

कहिलेकाहीं परमेश्‍वरका कोही-कोही जनसमेत विवाहप्रति यहोवाले राख्ने स्पष्ट दृष्टिकोण राख्नदेखि चुकेका छन्‌। केही ख्रीष्टियन दम्पती छुट्टिएर बस्ने निर्णय गर्छन्‌ वा धर्मशास्त्रीय आधारविना नै सम्बन्धविच्छेद गर्छन्‌। यसो हुन नदिन के गर्न सकिन्छ? उत्पत्ति २:२४ मा पाइने परमेश्‍वरको निर्देशनले विवाहित ख्रीष्टियनहरूलाई आफ्नो वैवाहिक बन्धन बलियो बनाउन कसरी मदत गर्न सक्छ? अनि विवाह गर्ने विचार गरिरहेकाहरूले यसको लागि कसरी तयारी गर्न सक्छन्‌? आउनुहोस्‌, अब हामी दिगो विवाहको प्रमुख तत्त्व यहोवाप्रतिको आदर हो भनी प्रस्ट पार्ने बाइबलकालीन तीन सफल विवाहलाई विचार गरौं।

वफादारी विकास गर्नुहोस्‌

५, ६. जकरिया र इलीशिबाको लागि कस्तो अवस्था चुनौतीपूर्ण भएको हुनुपर्छ र तिनीहरूले आफ्नो वफादारीको कस्तो इनाम पाए?

जकरिया र इलीशिबाले सबै कुरा ठीक-ठीक किसिमले गरेका थिए। दुवैले परमेश्‍वरप्रति वफादार व्यक्‍तिलाई आफ्नो जोडीको रूपमा छानेका थिए। जकरियाले वफादार भई पुजारीको काम गरेका थिए र दुवैले परमेश्‍वरको व्यवस्था यथासक्दो पालन गरेका थिए। हो, तिनीहरू कृतज्ञ हुनुपर्ने कारण थुप्रै थियो। तर यहूदामा तिनीहरूको घर जानुभएको भए त्यहाँ तपाईंलाई एउटा कुराको कमी खट्‌किने थियो। तिनीहरूको बालबच्चा थिएन। इलीशिबा बाँझी थिइन्‌ र तिनीहरू दुवैको उमेर ढल्किसकेको थियो।—लूका १:५-७.

पुरातन इस्राएलमा सन्तान जन्माउनुलाई एकदमै महत्त्वपूर्ण ठानिन्थ्यो र परिवार पनि अक्सर ठूलो हुन्थ्यो। (१ शमू. १:२, ६, १०; भज. १२८:३, ४) त्यतिबेलाका इस्राएली पुरुषले आफ्नी पत्नीले सन्तान नजन्माएको खण्डमा जालझेल गरेर सम्बन्धविच्छेद समेत गर्ने गर्थे। तर जकरिया भने वफादार भई इलीशिबासँगै बसे। तिनले आफ्नो वैवाहिक बन्धन तोड्‌ने सजिलो बाटो रोजेनन्‌, तिनकी पत्नीले पनि त्यसो गरिनन्‌। हुनत सन्तान नहुँदा तिनीहरू दुःखी थिए तर विश्‍वासी भएर सँगै यहोवाको सेवा गरिरहे। अन्ततः वृद्धावस्थामा चमत्कारपूर्ण ढङ्‌गमा छोरा जन्माउन दिएर यहोवाले तिनीहरूलाई ठूलो इनाम दिनुभयो।—लूका १:८-१४.

७. इलीशिबा अर्को कुन तरिकामा पतिप्रति वफादार भइन्‌?

इलीशिबाले अर्को तरिकामा देखाएको वफादारी पनि प्रशंसनीय छ। उनको छोरा यूहन्‍नाको जन्म हुँदा जकरियाले बोल्न सकेनन्‌ किनभने परमेश्‍वरको स्वर्गदूतलाई प्रश्‍न गरेकाले तिनको बोली बन्द भएको थियो। यहोवाको स्वर्गदूतले भनेअनुरूप छोराको नाम “यूहन्‍ना” राख्नुपर्छ भनेर जकरियाले कुनै न कुनै तरिकामा आफ्नी पत्नीलाई थाह दिएको हुनुपर्छ। छिमेकी र आफन्तहरूले बच्चाको नाम बुबाको जस्तै जकरिया राख्न चाहेका थिए। तर इलीशिबाले वफादार भई आफ्नो पतिको निर्देशन पालन गरिन्‌। उनले भनिन्‌: “अहँ, हुँदैन! उसको नाम यूहन्‍ना राख्नुपर्छ।”—लूका १:५९-६३.

८, ९. (क) वफादारीले वैवाहिक बन्धनलाई कसरी बलियो बनाउँछ? (ख) पति-पत्नीले आपसमा वफादारी देखाउन सक्ने खास तरिका के-के हुन्‌?

जकरिया र इलीशिबाले जस्तै आज पनि विवाहित दम्पतीहरूले निराशा र अन्य चुनौतीको सामना गर्छन्‌। वफादारीविनाको विवाह सफल हुन सक्दैन। बेमतलबको जिस्क्याइ, अश्‍लील सामाग्री, अवैध यौनसम्बन्ध र अन्य कुरा आदरणीय विवाहको लागि खतरनाक हुन्छ। यसले विवाहित जोडीबीचको भरोसालाई कहिल्यै सपार्न नसक्नेगरि भताभुङ्‌ग पार्न सक्छ। जब विवाहित जोडीबीचको भरोसा टुट्‌छ, तब प्रेम सेलाउँदै जान्छ। कुनै-कुनै अर्थमा, वफादारी भनेको घर वरिपरि लगाइने पर्खालजस्तै हो, जसले घरभित्र रहेकाहरूलाई अपरिचित व्यक्‍तिहरू र अन्य खतराबाट जोगाएर केही हदसम्म सुरक्षा दिन्छ। त्यसैकारण पति र पत्नी एक-अर्काप्रति वफादार हुँदा तिनीहरू ढुक्क भई सँगै बस्न र मनको भावना एक-अर्कालाई पोख्न सक्छन्‌। यसरी तिनीहरूबीचको प्रेम बढ्‌दै जानेछ। हो, वफादारी अत्यावश्‍यक छ।

यहोवाले आदमलाई भन्‍नुभयो: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ।” (उत्प. २:२४) यसको अर्थ के हो? साथीहरू र आफन्तहरूसित पहिले जुन सम्बन्ध थियो, विवाह गरिसकेपछि त्यसलाई छाँटकाँट गर्नुपर्ने हुन्छ। पति-पत्नीले आफ्नो समय र ध्यान सर्वप्रथम आफ्नो जोडीलाई नै दिनुपर्छ। अब उसो तिनीहरूले आफ्नो जोडीसितको सम्बन्धलाई नै असर गर्नेगरि आफ्ना साथी वा आफन्तलाई प्राथमिकता दिन सक्दैनन्‌। साथै परिवारमा निर्णय गर्दा वा आपसमा कुनै मतभेद हुँदा तिनीहरूले आमाबाबुलाई हस्तक्षेप गर्न दिनु हुँदैन। दम्पती एक-अर्कासँग मिलिरहनै पर्छ। यो परमेश्‍वरले दिनुभएको निर्देशन हो।

१०. वफादारी विकास गर्न विवाहित जोडीहरूलाई केले मदत गर्नेछ?

१० बेग्लाबेग्लै धार्मिक विश्‍वास भएको परिवारमा समेत वफादार हुँदा इनाम पाइन्छ। पतिको धार्मिक विश्‍वास बैग्लै भएको एउटी बहिनी भन्छिन्‌, “यहोवाले मलाई पतिको अधीनमा बस्न र उहाँको गहिरो आदर गर्न सिकाउनुभएकोमा म असाध्यै कृतज्ञ छु। वफादार भएकोले गर्दा हाम्रो ४७ वर्ष लामो दाम्पत्य जीवनमा दिगो प्रेम र आदर रहिरहेको छ।” (१ कोरि. ७:१०, ११; १ पत्रु. ३:१, २) त्यसैले आफ्नो विवाहित जोडीलाई सुरक्षित महसुस गराउन कडा प्रयत्न गर्नुहोस्‌। तपाईंको लागि आफ्नो जोडी नै संसारमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति हो भनेर आफ्नो बोली र व्यवहारद्वारा आश्‍वस्त पार्ने तरिकाहरू खोज्नुहोस्‌। आफ्नो वशमा भएसम्म तपाईं र तपाईंको जोडीबीच कसैलाई वा कुनै कुरालाई पनि आउन नदिनुहोस्‌। ( हितोपदेश ५:१५-२० पढ्‌नुहोस्‌) सुखी दाम्पत्य जीवन बिताएको ३५ वर्षभन्दा लामो समय भइसकेका रन र जानेट यसो भन्छन्‌, “परमेश्‍वरले हामीबाट चाहनुहुने कुरा वफादार भई गरेकोले हाम्रो विवाह सुखी अनि सफल भएको छ।”

एकताले वैवाहिक बन्धनलाई बलियो बनाउँछ

११, १२. अक्वीला र प्रिस्किलाले यी क्षेत्रमा कसरी एक-अर्कालाई सहयोग गरे: (क) घरमा? (ख) आफ्नो पेसामा? (ग) ख्रीष्टियन सेवामा?

११ प्रेषित पावलले आफ्ना घनिष्ठ मित्रहरू अक्वीला र प्रिस्किलाबारे कुरा गर्दा ती दुई जनालाई सधैं सँगसँगै उल्लेख गरे। परमेश्‍वरले पति र पत्नी “एउटै जीउ” हुनुपर्छ भन्‍नुभएको कुराको राम्रो उदाहरण यस एकताबद्ध दम्पती थिए। (उत्प. २:२४) घरमा, आफ्नो पेसामा अनि ख्रीष्टियन सेवामा उनीहरूले सधैं सँगसँगै काम गरे। उदाहरणको लागि, पावल पहिलो पटक कोरिन्थ आउँदा अक्वीला र प्रिस्किलाले तिनलाई आफ्नो घरमा बस्न न्यानो निमन्त्रणा दिए। त्यसपछि पावलले आफ्नो गतिविधि विस्तार गर्न केही समयको लागि उनीहरूकै घर प्रयोग गरेको हुनुपर्छ। पछि एफिससमा बस्दा मण्डलीको सभा सञ्चालन गर्न उनीहरूले आफ्नो घर प्रयोग गरे र अपोल्लसजस्ता नयाँ व्यक्‍तिलाई सत्यबारे अझ स्पष्टसित बताउन उनीहरू दुवैले मदत गरे। (प्रेषि. १८:२, १८-२६) यो जोसिलो दम्पती पछि रोम गए र त्यहाँ पनि उनीहरूले आफ्नो घरमा मण्डलीको सभा सञ्चालन गर्न दिए। पछि उनीहरू एफिसस फर्के र त्यहाँ भाइहरूलाई बलियो बनाए।—रोमी १६:३-५.

१२ केही समयको लागि अक्वीला र प्रिस्किलाले पनि पावलसँग एउटै काम अर्थात्‌ पाल बनाउने काम गरे। यस क्षेत्रमा पनि उनीहरूले सँगै काम गरेको पाउँछौ, उनीहरूले कुनै प्रतिस्पर्धा वा झगडा नगरी एक-अर्कालाई सहयोग गरे। (प्रेषि. १८:३) तर उनीहरूको वैवाहिक बन्धनलाई बलियो बनाएको कुरा ख्रीष्टियन गतिविधिमा सँगै बिताएको समयले नै थियो। कोरिन्थ, एफिसस वा रोम जहाँ भए पनि उनीहरू “ख्रीष्ट येशूमा . . . सहकर्मीहरू” भनेर चिरपरिचित भए। (रोमी १६:३) जहाँ सेवा गरे तापनि उनीहरूले राज्य प्रचारकार्य फैलाउन सँगसँगै काम गरे।

१३, १४. (क) विवाहित जोडीबीचको एकतामा कस्ता परिस्थितिले बाधा पुऱ्‍याउन सक्छ? (ख) “एउटै जीउ”-को रूपमा आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउन जोडीहरूले के-के गर्न सक्छन्‌?

१३ निस्सन्देह, लक्ष्य र गतिविधि एउटै हुँदा वैवाहिक बन्धन बलियो हुन्छ। (उप. ४:९, १०) दुःखको कुरा, आज धेरै दम्पतीले एक-अर्कासँग त्यति समय नै बिताउँदैनन्‌। उनीहरू आ-आफ्नै पेसामा धेरै घण्टा खटिन्छन्‌। कोही-कोही कामको सिलसिलामा धेरै यात्रा गर्छन्‌ वा घरमा पैसा पठाउन एक्लै विदेश जान्छन्‌। तर केही विवाहित जोडी घरैमा पनि एक्लो महसुस गर्छन्‌ किनभने उनीहरू टिभी हेर्न, सोख पूरा गर्न, खेल खेल्न, भिडियो गेम खेल्न वा इन्टरनेट चलाउन आफ्नो समय बिताउँछन्‌। के तपाईंको परिवारको अवस्था पनि यस्तै छ? छ भने एक-अर्कासँग धेरै समय बिताउन के तपाईं आफ्नो परिस्थितिलाई छाँटकाँट गर्न सक्नुहुन्छ? खाना पकाउने, भाँडा माझ्ने वा बगैंचामा काम गर्ने जस्ता दिनहुँ गरिने काम सँगै गरे कसो होला? छोराछोरीको स्याहार वा आफ्नो वृद्ध आमाबाबुलाई मदत गर्ने काममा सँगै भाग लिन सक्नुहुन्छ कि?

१४ सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको उपासनासित सम्बन्धित गतिविधिमा नियमित तवरमा एकसाथ समय बिताउनुहोस्‌। दैनिक पद छलफल गर्दा र पारिवारिक उपासनामा भाग लिंदा परिवारको सोचाइ र लक्ष्य एउटै बनाउने राम्रो मौका मिल्छ। प्रचारकार्यमा पनि सँगै भाग लिनुहोस्‌। सम्भव भएमा सँगै अग्रगामी सेवा गर्ने कोसिस गर्नुहोस्‌, तपाईंको परिस्थितिले एक महिना वा एक वर्षको लागि मात्र दिन्छ भने पनि गर्नुहोस्‌। ( १ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) आफ्नो पतिसँगै अग्रगामी सेवा गरेकी एउटी बहिनी यसो भन्छिन्‌, “सँगै समय बिताउन र अर्थपूर्ण कुराकानी गर्न हामीलाई मदत गरेको एउटा कुरा प्रचारकार्य थियो। हामी दुवैको लक्ष्य प्रचारकार्यमा भेटेका मानिसहरूलाई मदत गर्ने भएकोले मलाई लाग्छ, हामी साँचो अर्थमा जोडी थियौं। हामी पति-पत्नीको रूपमा मात्र नभई साथीको रूपमा पनि घनिष्ठ भयौं।” अर्थपूर्ण गतिविधिमा सँगै भाग लिंदा तपाईंको रुचि, प्राथमिकता र आनीबानी बिस्तारै तपाईंको जोडीसित मिल्दै जानेछ र पछि गएर अक्वीला र प्रिस्किलाजस्तै झन्‌झन्‌ “एउटै जीउ”-जस्तो भएर सोच्न, महसुस गर्न र व्यवहार गर्न थाल्नुहुनेछ।

वैवाहिक जीवनमा परमेश्‍वरलाई पहिलो स्थानमा राख्नुहोस्‌

१५. सफल वैवाहिक जीवनको महत्त्वपूर्ण तत्त्व के हो? व्याख्या गर्नुहोस्‌।

१५ वैवाहिक जीवनमा परमेश्‍वरलाई पहिलो स्थानमा राख्नुको महत्त्व येशूलाई थाह थियो। यहोवाले गराइदिनुभएको पहिलो विवाह येशूले देख्नुभएको थियो। आदम र हव्वाले परमेश्‍वरको आज्ञा पालन गरुन्जेल तिनीहरू कति खुसी थिए तर आज्ञा पालन नगर्दा तिनीहरूले कस्तो समस्या भोग्नुपऱ्‍यो, त्यो उहाँ आफैले देख्नुभएको थियो। त्यसैले अरूलाई सिकाउँदा येशूले उत्पत्ति २:२४ मा पाइने आफ्नो बुबाको निर्देशन दोहोऱ्‍याउनुभयो। उहाँले यो कुरा पनि थप्नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:६) त्यसैले यहोवाप्रतिको गहिरो आदर आज पनि सुखी र सफल वैवाहिक जीवनको महत्त्वपूर्ण तत्त्व हो। यूसुफ र मरियम, जो पृथ्वीमा येशूका आमाबाबु थिए, उनीहरूले यस सन्दर्भमा उत्कृष्ट उदाहरण बसाले।

१६. यूसुफ र मरियमले आफ्नो पारिवारिक जीवनमा परमेश्‍वरलाई पहिलो स्थान दिएको कसरी देखाए?

१६ यूसुफले मरियमलाई दया र आदर देखाउँथे। यूसुफले मरियम गर्भवती भएको सुरुमा थाह पाउँदा वास्तवमा मरियम कसरी गर्भवती भएकी हुन्‌ भनेर स्वर्गदूतले बताइसकेका थिएनन्‌। तैपनि यूसुफले मरियमसित दयालु व्यवहार गर्ने विचार गरिसकेका थिए। (मत्ती १:१८-२०) विवाहित दम्पतीको रूपमा उनीहरूले सिजरको उर्दीअनुसार गरे र मोशाको व्यवस्था पनि राम्ररी पालन गरे। (लूका २:१-५, २१, २२) यरूशलेमका महत्त्वपूर्ण धार्मिक चाडहरूमा पुरुषहरू मात्रै भेला हुनुपर्थ्यो तर यूसुफ र मरियम भने ती चाडहरू मनाउन प्रत्येक वर्ष सपरिवार उपस्थित हुन्थे। (व्यव. १६:१६; लूका २:४१) यी तथा अन्य तरिकामा यस ईश्‍वरभीरु दम्पतीले यहोवालाई खुसी बनाउने प्रयास गरे र परमेश्‍वरको उपासनासित सम्बन्धित कुराप्रति गहिरो आदर देखाए। त्यसैले पृथ्वीमा सुरुतिर आफ्नो छोरा येशूको हेरविचार गर्न यहोवाले यूसुफ र मरियमलाई छान्‍नुभएकोमा छक्क मान्‍नुपर्दैन।

१७, १८. (क) विवाहित दम्पतीले आफ्नो पारिवारिक जीवनमा परमेश्‍वरलाई पहिलो स्थान दिन सक्ने तरिका के-के हुन्‌? (ख) यसो गर्दा उनीहरूले कस्ता लाभ उठाउनेछन्‌?

१७ के तपाईं पनि आफ्नो पारिवारिक जीवनमा परमेश्‍वरलाई पहिलो स्थानमा राख्नुहुन्छ? उदाहरणको लागि, महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा के तपाईं सर्वप्रथम बाइबल सिद्धान्तहरू अनुसन्धान गर्नुहुन्छ, त्यसबारे प्रार्थना गर्नुहुन्छ अनि त्यसपछि परिपक्व ख्रीष्टियनबाट सल्लाह खोज्नुहुन्छ? अथवा आफूलाई वा परिवार र साथीहरूलाई जे ठीक लाग्छ, त्यसैअनुसार समस्या सुल्झाउन खोज्नुहुन्छ? के तपाईं विश्‍वासी दासले विवाह अनि पारिवारिक जीवनबारे प्रकाशित गरेको थुप्रै व्यावहारिक सुझाव लागू गर्ने प्रयास गर्नुहुन्छ? अथवा तपाईं स्थानीय चलन वा लोकप्रिय सांसारिक सल्लाहअनुसार पो चलिहाल्नुहुन्छ कि? के तपाईं नियमित रूपमा सँगै प्रार्थना तथा अध्ययन गर्ने, परमेश्‍वरको उपासनासित सम्बन्धित लक्ष्य राख्ने अनि परिवारको प्राथमिकताबारे कुरा गर्ने गर्नुहुन्छ?

१८ सुखद दाम्पत्य जीवन बिताएको ५० वर्ष भइसकेको रे भन्छन्‌, “सुल्झाउनै नसक्ने समस्या त हामीले कहिल्यै भोग्नुपरेन किनकि ‘तीन सुताले बाटिएको डोरीको’ एउटा सुताको रूपमा हामीले यहोवालाई राख्यौं।” ( उपदेशक ४:१२ पढ्‌नुहोस्‌) यसै कुरालाई डेनी अनि ट्रिना यसरी सहमति जनाउँछन्‌, “हामी दुवै मिलेर परमेश्‍वरको सेवा गरेकोले हाम्रो वैवाहिक बन्धन अझै बलियो भएको छ।” उनीहरूले सुखी वैवाहिक जीवन बिताएको ३४ वर्षभन्दा धेरै भइसक्यो। आफ्नो वैवाहिक जीवनमा तपाईंले यहोवालाई सधैं पहिलो स्थानमा राख्नुभयो भने उहाँले तपाईंलाई सफल हुन मदत गर्नुहुनेछ र प्रचुर मात्रामा आशिष्‌ दिनुहुनेछ।—भज. १२७:१.

परमेश्‍वरको वरदानलाई आदर गरिरहनुहोस्‌

१९. परमेश्‍वरले विवाहको वरदान किन दिनुभयो?

१९ आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ। तर यहोवाको सेवकले भने बेग्लै दृष्टिकोण राख्छन्‌। परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न वरदानको रूपमा विवाहको प्रबन्ध गर्नुभएको हो भनेर तिनलाई थाह छ। (उत्प. १:२६-२८) आदम र हव्वाले यस वरदानको आदर गरेका भए पूरै पृथ्वी परमेश्‍वरका आनन्दित र उहाँको स्तरअनुरूप चल्ने सेवकहरूले भरिएको सुन्दर बगैंचा हुने थियो।

२०, २१. (क) विवाहलाई हामीले किन पवित्र ठान्‍नुपर्छ? (ख) अर्को हप्ता हामी कुन वरदानबारे अध्ययन गर्नेछौं?

२० सबैभन्दा महत्त्वपूर्ण कुरा हो, परमेश्‍वरका सेवकहरू विवाहलाई यहोवाको महिमा गर्ने मौका ठान्छन्‌। ( १ कोरिन्थी १०:३१ पढ्‌नुहोस्‌) हामीले बुझ्यौं कि वफादारी र एकता कायम गर्दा अनि परमेश्‍वरलाई पहिलो स्थानमा राख्दा यहोवा खुसी हुनुहुन्छ र यसले वैवाहिक बन्धनलाई बलियो बनाउँछ। त्यसैले चाहे हामी विवाहको लागि तयारी गरिरहेका हौं, वैवाहिक बन्धनलाई बलियो बनाइरहेका हौं वा त्यसलाई जोगाउन प्रयास गरिरहेका हौं, हामीले सबैभन्दा पहिला यो कुरा बुझेकै हुनुपर्छ: विवाह ईश्‍वरीय अनि पवित्र प्रबन्ध हो। यस सत्यलाई मनमा राख्यौं भने वैवाहिक जीवनमा निर्णयहरू गर्नुपर्दा यथाशक्य परमेश्‍वरको वचनमा आधारित निर्णयहरू गर्न उत्प्रेरित हुनेछौं। यसरी हामी विवाहको वरदानको मात्र होइन तर यो वरदान दिने यहोवा परमेश्‍वरको पनि आदर गर्छौं।

२१ यहोवाले हामीलाई दिनुभएको वरदान विवाह मात्र त निश्‍चय नै होइन। अनि जीवनलाई आनन्दमय बनाउने एक मात्र मार्ग पनि होइन। अर्को लेखमा हामी परमेश्‍वरले दिनुभएको अर्को बहुमूल्य वरदानबारे छलफल गर्नेछौं। त्यो हो—अविवाहित रहने वरदान।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• वफादारीले विवाहित ख्रीष्टियनहरूलाई कस्तो असर पार्नुपर्छ?

• एकताबद्ध भई सँगै काम गर्दा वैवाहिक बन्धन किन बलियो हुनेछ?

• विवाहित जोडीहरूले परमेश्‍वरलाई पहिलो स्थानमा राख्न सक्ने केही तरिका के-के हुन्‌?

• विवाहका आरम्भक यहोवालाई हामी कसरी आदर देखाउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

सँगै मिलेर काम गर्दा विवाहित दम्पतीहरू एकताबद्ध हुन सक्छन्‌